कविता

चर्को मध्यान्न

–सुविद गुरागाईं

२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे
यो त्यही बेला हो
जतिबेला तिमीलाई आभास थिएन
कुनै प्रलयको
तिम्रो बलौटे विश्वासमाथि
एउटा थोपा पहिलो धक्का दिन
उत्तेजित भइसकेको थियो
रति विश्वास थिएन तिमीलाई
तित्रीगाछी भङ्गालोले नाघ्ने बेला भयो
कुविचारको सिमाना
डङ्गर गिद्धको लोपोन्मुख छाया
चर्को मध्यान्नमा
स्थानीय जडताको सिनोगन्धमाथि
लालयित भइबसेका साक्षी सिमलका रुखहरू
एक–अर्कामा कस्दै थियौ अपत्यारको डोरीले
भयभित म खलखल
न रुनु, न हाँस्नु, न पागल हुनु
हेर्दा–हेर्दै बग्न लागेको अन्तिम सीमास्तम्भ
डब्लू पी १९५ अब्लिक ९ नजिकै
पोलियो उद्दार टोली
फोटो सेसनमा रमाइरहेको भद्दा दृश्य
क्षतविक्षत चेतना कुल्चिएर पूर्वतिर
ओ ! घटिया इन्जिनियर,
खण्डन विज्ञप्ति लेख्दालेख्दै किन भागेको ?
हराएको सात हजार बिघा जमिन हुँदै
रानीगञ्ज भन्सारको किनारै–किनार
भर्खर दुई लाख ६५ हजार क्युसेक पुगेको छ
हाम्रो आवेग र दरिद्रता
पर्ख एकछिन अरू रमिता सङ्कलन गर
र, नयाँ पटकथा लेख ओस्कार जित्न
विस्थापित र सट्टाभर्ना सपनाहरूको ।
भ्रष्ट मधेस मुद्दाको ।
रोटी, बेटी र पानी सम्बन्धको ।
दशगजा हराएको ।
०००

धर्म सापेक्षताको पक्षमा
– सुविद गुरागाई

कृपया जसले ‘राज्य भनेको धर्म निरपेक्ष हुनुपर्छ,’ ‘राज्यको कुनै धर्म हुँदैन,’ आदि भनिरहेको छ, सारमा उसले धर्म शब्दको अर्थ नबुझेजस्तो लाग्छ । धर्म भनेको अविधा अर्थमा धारण गर्नु हो । सत्य जे हो, त्यो धर्म हो । समय, परिस्थिति, व्याख्या आदि अनुसार सत्य फरक–फरक हुन सक्छ भन्नेहरू पनि छन् । तर, यो भ्रम हो । पूरा कुरा बुझ्न बाँकी रहेको अवस्था हो । सत्यलाई बुझ्नु, त्यसलाई आफूमा धारण गर्नु र सोहीअनुरूप कर्तव्य निर्वाह गर्नु, मानव धर्म हो । यसको एउटा उदाहरण हेरौं । अहिंसा परमो धर्म भनिन्छ । यसको अर्थ हो, म कुनै पनि प्रकारको हिंसा गर्दिनँ भन्ने विचार मनमा लिनु र सोहीअनुरूप व्यवहार गर्नु । निश्चय नै हिंसा पाप र अहिंसा ठूलो धर्म हो । असल आचरण, सदाचार धर्म हो ।
लक्षणा अर्थमा धर्म नीति हो, नियम हो । कर्तव्य हो । अनुशासन हो । उज्यालो, ताप दिनु सूर्य (घाम)को धर्म हो । पोल्नु आगोको, तीर्खा मेट्नु पानीको धर्म हो । आँपको रुखले आँप नै फलाउनु त्यो रुखको धर्म हो भने आँपको रुखले अरू केही फलाउनु वा फल्न थाल्नु अधर्म । दिनरात भइदिएर, आफ्नो अक्ष र कक्षमा घुमिदिएर पृथ्वीले अहिलेसम्म आफ्नो धर्म निर्वाह गरिरहेको छ । माटोको धर्म सिर्जना उमार्नु र बिरुवाको धर्म सिर्जित हुनु हो । यात्रीलाई लक्षित गन्तव्यमा प¥याउनु सवारी चालकको धर्म हो । अँध्यारोबाट उज्यालोतर्फ जाने बाटो देखाउनु गुरुको धर्म हो । त्यो बाटोमा हिँड्नु शिष्यको धर्म हो । त्यसैगरी, किसानको धर्म के हो ? चिकित्सकको धर्म के हो ? प्रहरीको धर्म के हो ? सैनिकको धर्म के हो ? न्यायाधीशको धर्म के हो ? पत्रकारको धर्म के हो ? तपाईलाई थाहा नै छ । नबुझेकालाई कुरा बुझाउनु नेतृत्व, सहजकर्ता, लेखक–कवि आदि समाजका अगुवा वर्गको धर्म हो ।
परिवारको, समाजको, राज्यको अर्थात् हरेक वर्ग समुदायको एउटा धर्म हुन्छ । जङ्गलको एउटा धर्म हुन्छ । बाघको एउटा धर्म हुन्छ । सबैले आफ्नो गच्छे र क्षमताले भ्याएसम्म धर्म धानेका हुन्छन् । व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण, मूल वृत्ति, प्रकृति वा स्वभाव धर्म हो, जुन स्वाभाविक र सहज हुन्छ । कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य धर्म हो । स्वर्ग प्राप्त गर्न सकिने लोक–विश्वास भएका सनातनीहरूका अनुसार पुण्य कार्य धर्म हो ।
ठोस, तरल, ग्यास, अणु–परमाणु आदि जुनसुकै आकार–प्रकार भएका पदार्थको आ–आफ्नै धर्म हुन्छ । आकार नभएका भनिएकाहरूको पनि एउटा धर्म हुन्छ । निराकार केही छैन । मात्र हामीले त्यसको आकार थाहा पाउन वा व्याख्या गर्न बाँकी हो । ब्रह्माण्डको आकार गोलो, लाम्चो, चारपाटे वा अन्य कस्तो प्रकारको छ ? अहिलेसम्म वैज्ञानिकहरूले भन्न सकेका छैनन् । यसको अर्थ, ब्रह्माण्ड निराकार छ भन्ने होइन । यो कत्रो छ ? कति परसम्म छ ? खोजी हुन बाँकी छ । भनिनँ बाँकी छ ।
अहिले अधर्मले धर्मलाई जितेको छ भनिन्छ । तर, होइन । समाज यदि आफ्नो गतिमा चलिरहेको छ, मान्छे बस्न लायक छ भने हामीले बुझ्नुपर्छ, त्यहाँ धर्मले अधर्मलाई पछारेको छ । विभिन्न तह र तप्काले आ–आफ्नो काम इमानदारीपुर्वक गरिरहेका छन् र नै यो समाज चलिरहेको छ । नत्र समाजको जुइँना उहिल्यै खुस्किसकेको हुन्थ्यो । सानो उदाहरण हेरौं । यहाँ पत्रकारहरू ‘पित पत्रकारिता’ गर्छन् भन्ने आरोप छ । के साँच्चै यहाँ पत्रकारहरूले आफ्नो धर्म निर्वाह गरेका छैनन् ? यदि सबै पत्रकारहरूले लत्तो छोड्ने हो भने समाजमा पत्रकारिताको काम हुनै सक्तैन । पुर्खाहरू ‘हृदयमा हरि हुनुपर्छ,’ भन्थे । यसको अर्थ हो, हरेक मानवको अन्तरआत्मामा प्रज्ञा र करुणाको भाव विकास गर्नुपर्छ । धर्मको ख्याल हुनुपर्छ । निश्चय पनि यदि कुनै मानवमा दया, माया, सेवा, दान, त्याग जस्ता कार्मिक भाव छन् भने ऊ मानव धर्म सापेक्ष हुन्छ ।
त्यस्तै, निरपेक्ष केही हुँदैन । सबै यो पृथ्वी, विश्व ब्रह्माण्ड, यहाँका हावा, पानी, ढुङ्गा, माटो, वनस्पति, प्राणी आदिसँग सापेक्षित भएर विकास वा पतन हुने हुन्छ । जसले राज्य भनेको धर्म निरपेक्ष हुन्छ वा हुनुपर्छ भनिरहेका छन्, त्यो विचार पनि निरपेक्ष होइन । यही समाजको सापेक्षतामा विकास भएको एउटा वैकल्पिक विचार हो । एक पक्षबाट सोचिएको कुरा हो । खासमा यो विचार धर्मको खोल ओडेका कठमुल्लावादीहरूको व्यवहारले क्षुब्ध भएर व्यक्त गरिएको प्रतिक्रिया मात्र हो । यो पनि सापेक्षतावादी सिद्धान्तकै एउटा अङ्ग हो ।
यो विश्व ब्रह्माण्डमा कुनै पनि कुरो निरपेक्ष छैन । निरपेक्ष भनेको शून्य हो । शून्य केही हुँदैन । अङ्कमा शून्य देखाउनुप¥यो भने पनि वरपरबाट गोलो घेराको सहारा लिनुपर्छ । कुनै पनि सिर्जनाका लागि एउटा आधार चाहिन्छ । पृथ्वीको जन्म, जीव, वनस्पति, सभ्यता–संस्कृति, दर्शन–विचार आदिको उत्पत्ति र विकास सबै सापेक्षताको सिद्धान्त अन्तर्गत भएका तथ्य हुन् । विश्वमा कुनै पनि कुरा आँफैंमा स्वतन्त्र नभई अर्कासँग कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त सापेक्षवाद हो । यस अर्थमा गहिरिएर मनन गर्दा के साँच्चै कुनै पनि राज्य धर्म निरपेक्ष हुन्छ ? वा हुन सक्छ ?
‘धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता हो । सबैले आफ्नो धर्म मान्न पाउने, सबै धर्मको सम्मान हुने अवस्था हो,’ भन्नेहरू पनि केही सङ्ख्यामा छन् । उनीहरू राज्यको धर्म हुन्छ वा हुँदैन भन्ने पक्षमा तटस्थ हुन चाहनेहरू हुन् । तर, यसमा पनि धर्म सापेक्षताको पर्याप्त अंश छ । राज्यले सबै धर्मको अस्तित्व स्वीकार गर्नुपर्छ, अर्थात् सबै धर्मलाई सम्मान हुने वातावरण बनाउनुपर्छ भन्नु धर्म सापेक्षता हो । कुनै पनि राज्यले उसको धर्म जे हो त्यो पहिचान, अङ्गीकार र पालना गर्नु–गराउनुपर्छ भन्ने तर्क यसमा छ । राज्य गैर–धार्मिक हुनै सक्दैन । राज्य समानता, न्याय र धर्म संस्थापनाका लागि मानिसहरूद्वारा निर्मित एउटा विशेष अवधारणा हो । त्यसकारण पनि राज्य धर्म सापेक्ष हुनुपर्छ । राज्य धार्मिक हुनुपर्छ । राज्य न्यायिक हुनुपर्छ । म धर्म मान्दिनँ, म धर्म निरपेक्ष हुन्छु भन्न राज्यले पाउँदैन । राज्य भनेको लोककल्याणकारी हुनुपर्छ । लोकको कल्याण गर्नु राज्यको धर्म हो । यस अर्थ पनि राज्य धर्म सापेक्ष हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत् नेपाली शब्दकोशमा ‘निरपेक्ष’ शब्दको अर्थ, ‘१. कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने । २. कुनै चासो नराखिएको; उपेक्षित । ३. असम्बन्धित; सम्बन्धदेखि मुक्त,’ लेखिएको छ । के हामीले राज्यको धर्मको सवालमा चाहेको त्यस्तै हो । जसले जे गरे पनि हुने ? धर्मको हेक्का, डर नभएको समाज वा राज्य ? भर्खर जन्मिएको बच्चाको हेरचाह र सुरक्षा गरेर पशु समुदायले त आफ्नो धर्म निर्वाह गर्छ भने मानव समुदायमा त्यति पनि विवेक हुन्न ?
हालै एक जना मित्रले फेसबुकमा ‘गाईको मासु खानेहरू मङ्गल ग्रहमा पुगिसके । गाईको पिसाब खानेहरू पृथ्वीमै छन्,’ भन्दै आफ्नै अज्ञानता झल्काउने पोस्ट राखे । खासमा गोराहरू गाईको मासु खाएका कारणले मङ्गल ग्रहमा पुगेका होइनन् । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक,’ लेखेको धेरै वर्षपछि मात्र पश्चिमाहरूले चन्द्रमामा पाइला टेकेको तथ्य ती मित्रलाई थाहा नभएको उनको कुराबाट झल्किन्छ । महाभारतकालीन समयमा विज्ञानको जुन विकास भएको कल्पना पूर्वको पवित्र भूमिमा गरिएको थियो, त्यतिको कल्पना आजसम्म पनि पश्चिमाहरूले गर्नसकेका छैनन् । क्षणमै मान्छे अलप हुने र क्षणमै मान्छे प्रकट हुने वैज्ञानिक उपलब्धि ऊ बेला कल्पना गरिएको थियो । त्यसतो उच्चतम् क्षमता विकास गर्न अझ कति वर्ष लाग्ने हो ?
आज संसारमा क्रिस्चियन धर्म सापेक्ष राष्ट्रहरू छन् । इस्लाम धर्म सापेक्ष राष्ट्रहरू छन् । बौद्ध धर्म सापेक्ष राष्ट्रहरू छन् । तर, जब हिन्दू धर्म सापेक्ष राष्ट्रको कुरा उठ्छ, ‘अहँ हुँदैन !’ भनिन्छ । किन ? अमेरिका जस्तो सम्पन्न र अग्रणी राष्ट्रका राष्ट्रपति ‘बाइबल’मा हात राखेर ‘ईश्वर’का नाममा सपथ खान्छन् । त्यो क्रिश्चियन धर्म सापेक्षता हो कि होइन । यदि होइन भने हाम्रा राष्ट्रपतिलाई ‘गीता’मा हात राखेर ‘ईश्वर’ का नाममा सपथ खान कसले र किन रोकिराखेको छ ?
अहिले धर्म परिवर्तन गराउनेहरूको मेला लागेको छ । खासमा दुःखी, गरिब, भेदभावमा परेका, सीमान्तकृत समुदायका हिन्दू सनातनीलाई छानी–छानी धर्म परिवर्तन गराइँदै छ । यसका लागि प्रयोग भएकाहरूले प्रेम, विवाह, औषधि, पढाइ र नोकरीलाई आवश्यकताअनुसार हतियार बनाएका छन् । यो आपत्तिजनक प्रवृत्तिलाई लक्षित गर्दै अखिल विश्व गायत्री परिवार, हरिद्वारका तर्फबाट केही दिनअघि एउटा जिज्ञासा सार्वजनिक गरिएको थियो । गायत्री परिवार भन्छ, ‘भोक’भन्दा ठूलो धर्म र ‘रोटी’भन्दा ठूलो ईश्वर यदि कतै छ भने कृपया देखाइदिनुहोला, हामी पनि धर्म परिवर्तन गर्न चाहन्छौं । तर, धर्म परिवर्तन गराउन चाहनेहरूले निकै दिन बितिसक्दा पनि यो जिज्ञासाको चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।
नेपाली माटोमा जन्मे हुर्केका सिद्धार्थ गौतम, बुद्ध (ज्ञानी) भएर आजन्म हिन्दू धर्ममा सुधारको कुरा गरे । मूर्ति पूजा परम्परा र अन्धविश्वास प्रवृत्तिको विरोध गरेर बुद्धले हिन्दू धर्म संस्थागत गर्न ठूलो गुन लगाए । ‘अप्पो दिप भवः’ भनेर बुद्धले संसारभरिका मानव समुदायलाई आफूभित्र विद्यमान ‘उज्यालो’ रुपी ‘ईश्वर’ चिन्न र धर्म सापेक्ष हुन प्रेरित गरे ।
सारमा, हामी आफ्नो ‘तपोभूमि’मा पुर्खाहरूले विकास गरेको पूर्वीय सभ्यताबाट जति विमुख हुन खोज्दै छौं, उति आफ्नो पहिचान र राष्ट्रियता कमजोर बनाउँदै छौं । दुःख लाग्छ, हामी हाम्रो धरातलीय यथार्थ र गौरवशाली इतिहास बिर्सेर पश्चिमाहरूको नक्कल गर्दै के हुन उद्यत छौं ? जबकि उनीहरू नै भन्दै छन्, ‘गीताभन्दा उत्कृष्ट दर्शन अरू छैन ।’ हेनरी डेभिड थोरोलाई, ‘भागवत् गीताको तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्तै निरीह लाग्छ ।’ मेरिना क्रिस्टिनाका लागि ‘गीता अत्यन्त प्रिय ठहरिएको छ ।’ विलियम रोवर्टस्का अनुसार वेदमा लेखिएका कुराले अनन्त सत्यलाई प्रस्तुत गर्छन् ।’ आर्थर भर्सलुइ भन्छन्, ‘हामीले वेदान्ततिर फर्कनु आवश्यक छ, किनकि उपनिषद्हरूले आदिमकालदेखि प्राप्त हुने विशुद्ध तत्व–मीमांशाको ज्ञान प्रदान गर्छन् ।’
यसरी पश्चिमाहरूले गीताको प्रशंसा त्यसै गरेका होइनन् । गीता जीवनको दर्शन हो । यसमा भनिएको छ, धर्मो रक्षति रक्षतः । अर्थात् तिमी धर्मको रक्षा गर । धर्मले तिम्रो रक्षा गर्नेछ ।
०००
bisnuprasad.bg@gmail.com
लुतो फाल्ने पर्व

– सुविद गुरागाई

फाल्नुपर्ने केही शब्द बाँकी छन्
शब्दकोशमा
अर्थको खोजीमा शब्दहरू
पिल्सिइरहेका छन्
मनभित्र ।

अराजनीतिक
अपवित्र
अनैतिक
भ्रष्टाचार
कुसंस्कार व्याप्त छ मान्छे
फोहोर समय छ ।

‘सयमा दस पाँच धनी गनिनु
अरूले तिनको करिया बनिनु
विधिको यदि यै छ विधान भने
अब त्यो विधिको पनि आयु पुग्यो ।’

महत्वपूर्ण थियो कविको आग्रह
अफसोच !
कविता सङ्ग्रहका पानाहरू
च्यातिएछन् जिरा–मरिच पोको पार्न
सडकमा फालिएको भेटें ।

जो फालिनुपथ्र्यो, ती यथावत् छन्
छिः !
किन बाँकी छन् ती शब्दहरू
शब्दकोशमा ?
०००
असफल राष्ट्र

– सुविद गुरागाईं

'सफलता खोज्दा–खोज्दै जीवन बिताएँ ।
बुद्ध हुन हिँड्दा–हिँड्दै यौवन बिताएँ ।'...
मनका भाव र काफियाको तालमेल नभएपछि गजलगोले सोच्यो– पशुपतिनाथको कृपाले यो राष्ट्र अहिलेसम्म असफल भइसकेको रहेनछ । यदि राष्ट्र असफल भएको भए, पूरै गजल त के मत्ला–ए–उलासमेत फुर्न छोड्थ्यो होला । तखुल्लससम्म पुग्ने त सोच पनि हुँदैनथ्यो होला । गजलगोहरूले लेख्न छोडेपछि गायकहरूले पनि गाउन छोड्थे होलान् । गायकी र वाद्यवादनमा नेपाली घराना बन्दै गएको सन्दर्भ पनि बीचैमा छोडिन्थ्यो होला ।
कविहरू कविता लेख्न छोड्थे होलान् । पत्रकारहरू समाचार छाप्न छोड्थे होलान् । गुरुहरूले प्रवचन बन्द गर्थे होलान् । शिक्षकहरू पढाउन छोड्थे होलान् । छात्रछात्राहरूले पढ्न छोड्थे होलान् । राजनीति गर्न खोज्नेहरूले त्यस्तो विचार त्याग्थे होलान् । चालकहरूले यात्रा रोक्थे होलान् । ज्यामीहरू भारी बिसाउँथे होलान् ।
चित्रकारले कोर्दा–कोर्दैको मूर्त–अमूर्त चित्र अधुरो छोड्थे होलान् । खेलाडीहरूले खेल्न, किसानहरूले खन्न, मजदुरहरूले काम गर्न र चिकित्सकहरूले बिरामी जाँच्न छोड्थे होलान् । कलाकारहरूले देखाउँदा–देखाउँदैको अभिनय थाती राख्थे होलान् । कथाले मागेपछि निर्देशकहरूले रिल लाइफ प्याक–अप गर्थे होलान् । मूर्तिकारले छिनो, सूचीकारले सियो, कुचिकारले कुचो थन्क्याउँथे होलान् । धामी–भाँक्रीले मन्छिन लागेको भाकल छोड्थे होलान् ।
युवाबिना डेटिङ स्पट र हिल स्टेसनहरू सुनसान हुन्थे होलान् । पण्डितहरू लगन छैन भन्थे होलान् । हात हेर्नेहरू कर्मवादी हुन्थे होलान् । पाहुनाहरू होमस्टेबाट फर्किन्थे होलान् । पाइलटहरू ह्याङ्गरबाट बाहिरिन्थे होलान् । अभियानकर्मीहरू प्रपोजल मिलाउन छोड्थे होलान् । प्रयोगकर्ताहरूले सामाजिक सञ्जालको लक्ष्मणरेखा नाघ्थे होलान् ।
सडक बालकहरू जुर्मुराउँथे होलान् । कबाडी सङ्कलक र फेरीवालहरू सङ्गठित हुन्थे होलान् । ठेला, रिक्सा, सिटी सफारीहरू थन्किन्थे होलान् । नागा बाबा, जोगी, मगन्ते, पागलहरू भीडको एउटा भाग हुन्थे होलान् । कर्मचारीहरू दस्तखत गर्न, माझीहरू माछा मार्न छोडेर रमितामा सहभागी हुन्थे होलान् । बिचौलिया, वेश्याहरू पनि सडकमा आउँथे होलान् । कुकुरहरू जोड–जोडले रुन्थे होलान् । बन्दीहरूले जेल–ब्रेक गर्थे होलान् ।
रेडियोहरूले शोक धून बजाउँथे होलान् । घाटे वैद्य र मानिस पोल्ने मानिसहरू पूर्ण तयारीमा बस्थे होलान् । अबिर यात्राको तयारी पूर्ण हुन्थ्यो होला । सिपाहीहरू खाँडो जगाउन तम्तयार हुन्थे होलान् । ट्राफिकहरू सडक–छेउ लाग्थे होलान् । समय उकुसमुकुस हुन्थ्यो होला । धैर्यताको सेतुबन्ध भत्किन्थ्यो होला ।
पुजारी, लामा, पादरी, मौलवीहरूले प्रार्थना रोक्थे होलान् । दृष्टिविहीनहरू चलमलाउँथे होलान् । ध्वजा–पताकाहरू फह¥याइन्थे होलान् । सुस्त मनस्थितिहरू पनि पछिपछि लाग्थे होलान् । जताततै पाञ्चजन्य गुञ्जिन्थ्यो होला । रिसल्लाहरू जेब्राक्रस छिचोलेर अघि बढ्थे होलान् ।
राष्ट्र असफल भए नुन, तेल, बेसाहा पाइन छोड्थ्यो होला । बजारहरू बन्द हुन्थे होलान् । गाडीहरू गुड्न, इन्जिनहरू चल्न छोड्थे होलान् । ग्यास, दाउरा, बिजुली, पानीको चरम अभाव हुन्थ्यो होला । खान पाइन छोडेपछि, लाउन पाइन छोडेपछि सेक्युरिटी गार्डहरू, गृहिणीहरू, अगुवाहरू, पछुवाहरूसहित कोही पनि सरोकारवालाहरू घरमा चुप लागेर बस्ने थिएनन् होला । जनता घरबाट सलक्ष्य सडकमा निस्कन्थे होलान् । र, भन्थे होलान्– 
‘आज कि म छैन कि त्यो छैन !
थाहा हुन्छ अब को–को छैन ।’
०००
bisnuprasad.bg@gmail.com


मिस यु सिकिया !

    – सुविद गुरागाई
    ठेठी भाषामा कनेल भनिने पहेंलो फूललाई हामी करबिरे भन्थ्यौं । त्यही फूलको रस चुसेर मेरो बालापन हुर्केको हो । विशेषगरी तराईमा पाइने यो फूलको फेदमा लुकेको रस महभन्दा कम मिठो हुन्न । साथीहरूमाझ म बाल–अन्वेषक, अगुवासरह थिएँ । सानोमा यो फूल यसरी चुस्नुपर्छ भनेर मैले धेरै साथीहरूलाई सिकाएँ । अथवा भनौं, मैले मिठो मानी–मानी चुसेको देखेर अजय, सन्तोष, विष्णु, लैलुन र अरू धेरै साथीहरूले करबिरे चुस्न जाने । तर, करबिरे फूलसँग मात्र होइन, समग्र मधेससँग मेरो कार्मिक सम्बन्ध कम स्मरणीय, लोभलाग्दो र मायालु छैन ।
    २०२४ साल कात्तिक ५ गते आइतबार बिहान पाँच बजेतिर (दोस्रो पटक भाले भर्खरै बासेको थियो रे !) जैविक प्रक्रिया पूरा गरेर मेरो आगमन भएको भोलिपल्ट आमाले रोपिदिनुभयो, मेरो सालनालसहित रगत, बबिया वडा नम्बर ३ (सुनसरी)को माटोमा । यो पृथ्वीमा ।
    जलेबिया मितबा (आमा भन्नुहुन्छ, उहाँ मेरो बुबाको गाँजा खाने साथी हो । विधिपूर्वक मित लगाइएको थिया रे !)को छोरा थियो, मिल्ने बालसखा, मुसलमान । उसको वास्तविक नाम के थियो थाहा छैन । सबै जना सिकिया–सिकिया भन्थे । म पनि उसलाई सिकिया नै भन्थें । सँगसँगै घर थियो । नाङ्गै कुद्थ्यौं । धूलो खेल्थ्यौं । सैजुन, सरिफा, कपास, मेवाका बुटाहरू चढ्थ्यौ । सेवइ खान्थ्यौं । आमाले कम्मरमा कन्दनी बाँधिदिनुभएको थियो, कन्दनीमा पुवाँलोका दाना जस्ता फलामका दाना झुन्ड्याइएको हुन्थ्यो । छुन्दु्रङ–छुन्दु्रङ बज्ने ।
    एउटा टिनको बाकसको माथिपट्टिको भाग थियो, एकापट्टि डोरी बाँधेर गाडी भन्दै तान्थ्यौं । कहिले नहरको डिलमा, कहिले घरअगाडिको डगरमा झगडा पनि हुन्थ्यो । मिल्थ्यो पनि औधि, भात खानै बिर्सेर । कहिले झ्यानामती (मैले सिमीलाई दिएको नाम)को झ्याङतिर, कहिले बेलचन्डाको बोटमा लहसिन्थ्यौं । पटुवा घारीमा माछा मार्न जान्थ्यौं । तर, पटुवाघारीतिर जान एक प्रकारले प्रतिबन्ध नै थियो । त्यतातिर वनलाकड (सम्भवतः स्याल वा ब्वाँसो) आउँछ र बच्चालाई लान्छ भन्ने डर देखाइएको थियो ।
    एकदिन केही खाली सिसि, केही टालाहरू र अरू खत्र्याङखुत्रुङ हालेर भाँडाकुटी खेल्ने भन्दै बाकसको बिर्को तान्दै थिएँ, ऊ घचेद्दै थियो । एउटा घरमै पालेको सँगसँगै खेल्ने खैरो–खैरो कुकुर पनि थियो, छेउमै सुतिरहेको । छेउमै घ्यारर्र आवाज आएको सुनेर बिचरा अत्तालिएछ कि क्या हो, मलाई क्याक्क पारिहाल्यो ।
    सिकिया नौ दुई एघार भयो । म चिच्याउँदै रोएको सुनेर आमा आत्तिँदै–कराउँदै आउनुभयो । रगत, घाउ धोइदिनुभयो । घाउमा कपडा डढाएर, सिन्दुर फिटेर के–के लगाइदिनुभयो । त्यो बेला कुकुरले टोकेपछि रेबिज हुनु निश्चित थियो । अहिले जस्तो पाखुरामा तीन सुई लगाएर ढुक्क हुने जमाना थिएन । अनेक तीर्थ–व्रत गरेर, पूर्णिमा (चन्द्रमा) भाकेर पाएको छोरो । यस्तोमा अनिकालको बीउ जोगाउनुपर्ने आमाको मनोदशा र मेरो उपचारसँग सम्बन्धित गतिविधि उल्लेख्य थियो ।
    कहिले इनरुवा कहिले विराटनगर धाएर, एक्काईस सुई लगाउनुप¥यो रेबिजको, त्यो पनि पेटमा । इनरुवामा एकजना ‘मुजिया’ डाक्टर (कम्पाउन्डर) थिए । तिनले पनि एक–दुई वटा सुई हानेको सम्झिन्छु । सुई र दबाइ खान भनेपछि म सानै देखि नडराउने मान्छे । सुई लगाउँदा अरू केटाकेटी झैं म नरोएको देखेर डाक्टरहरू पनि छक्क पर्थे । सुई लगाएको भोलिपल्ट भुँडी सुनिएर डमडम । दिनरात सेक्दाको दास्ती । आमा भन्नुहुन्छ, त्यही घटनापछि मैले जीउ लिन नसकेको हो ।
    अहिले जलेबिया मितबाको छोरा सिकिया कहाँ छ, थाहा छैन । जिउँदो छ कि मरिसक्यो ? जिउँदो भए सायद उसले पनि मलाई सम्झिरहेको होला, विद्याधर, एउटा पहडिया बालसखाको रूपमा । मलाई अहिले पनि उसको सम्झना आउँछ, माया लाग्छ । बीचमा उसका बारेमा जानकारी राख्न नपाएकोमा धेरै पछुतो छ । त्यतिबेला म पत्रकार थिइनँ, कोट्याइ–कोट्याइ सोध्ने । जतिबेला पत्रकार भएँ, त्यतिबेला ऊ मेरो परिदृश्यबाट हराइसकेको थियो ।
    मितबा पातलो–पातलो मान्छे, प्रायः चौकी (खाट)मा बसेको देख्थें, घुम्लुङ कम्बल ओड्न मन पराउने । गुइँठाको घुर ताप्न म प्रायः उहाँहरूकै आँगनमा पुग्थें । आफ्नै बाको चाहिँ त्यति स्पष्ट सम्झना छैन । बालाई ‘झ्याम्ले बुढा’ भन्थें रे ! काखमा गयो कि दारी दलिदिने भएकाले परपरै तर्किन्थें रे ! सायद यो पनि मरिहाल्छ भनेर त्यति वास्ता गर्दैनथे, बाबै । म छ वर्षको हुँदा–नहुँदा बाबै आफैं बाटो लागे, २०३१ साल असोजमा । १९९० साल फागुनका मान्छे, ४१ वर्ष पाँच महिनासम्म दुनियाँ देखे । मजाले चिलिम ताने, टिबि लगाए, तीन वर्ष खुन छादे । धरान, विराटनगर, फारबिसगन्ज कतैका डाक्टरले पनि बचाउन सकेनन् । टिबि हुनु भनेको मर्नु बराबर नै थियो त्यो बेला ।     अस्पताल धाउँदाका दिनहरू सम्झँदै आमा भन्नुहुन्छ, ‘विराटनगरमा त झन् देउता जस्ता डाक्टर आएका छन्, जान्ने–जान्ने छन् भन्थे, तर केही गर्न सकेनन् । खालि सुई लाउँथे, निको हुन्छ भन्थे ।’
    मेरो बालसखा सिकियाको त्यस्तो नाम हुनुमा पनि एउटा कथा छ । सात–आठ जना छोराछोरीहरू लगालग मरेपछि बल्ल–तल्ल अडिएको रहेछ त्यो चाहिँ । त्यो पनि मर्छ भनेर बचाउने उपायस्वरूप उनीहरूको तल्कालीन जातीय परम्परा (सायद अन्धविश्वास)अनुसार एउटा ढक्कीमा हालेर सिकिया (घैला वा अरू भाँडा झुन्ड्याएर राख्न बनाइएको पटुवाको मोटो जालो)मा झुन्ड्याइएको थियो रे ! त्यसैले उसको नाम नै सिकिया भएको थियो । सिकिया मियाँ ।
    आमाका अनुसार उहाँको पनि पहिलो पटक छोरा नै जन्मिएको थियो । जन्मिएको केही घण्टामैै गयो । त्यसपछि लगालग पाँच वटी छोरी भए । त्यसपछि अढाई वर्षको अर्को छोरा पनि काखमै गयो । अन्तिममा मेरो पालो आयो । यसो गर्दा पो बाँच्छ कि उसो गर्दा पो बाँच्छ कि ! छोरी–छोरी मात्र पाई भनेर, घर–समाज, पतिसमेतबाट हेपिएकी एउटी महिलाको ऊ बेलाको सकस र छटपटी अहिले वर्णन गर्न नसकिने । कतिपटक त बुबाले माथि टाँडबाटै हुत्याएर तल पु¥याइदिनुभएको थियो रे, गोबरको थुप्रोमा ।
    त्यही क्रममा कसैले छोरा बचाउने उपाय सिकाइदियो । बेच्नुपर्छ । बेच्न त बेच्ने तर कसलाई बेच्ने ? किन्नेले मेरै हो भनेर लगिदियो भने आपत ! छिमेकी दिदी हरि चापागाईलाई बेच्ने सल्लाह भएछ । मभन्दा चार–पाँच वर्ष जेठी, उसले लगे पनि फरक नपर्ने ठानेर, पाँच रूपैयाँमा बेचिएछ । त्यसरी बेचिएकाले मलाई पनि जिस्क्याउँदा मान्छेहरू बेचे–बेचे भन्थे । मान्छेहरूले आमालाई मलाई बचाउने अर्को उपाय पनि सिकाएका रहेछन् । सिकाइएअनुसार उहाँले मलाई जुठेल्नामा पनि मिल्काउनुभएको थियो रे । आमा रिसाउँदा कतिपटक ‘जुठे मोरोे’ भनेको सुनेको छु ।
    ती दिनहरूमा जमुवा बाधमा हाम्रो पनि थुप्रै खेत थियो । बुबालाई गाँजा खाँदै, राजमार्गमा काम गर्न आउने पहाडतिरका केटी–आइमाईहरूलाई जिस्क्याउँदै ठिक्क । सबै घर–व्यवहार, गोठ–खेत, बजार आमाले गर्नुपर्ने । धानको बोझ लादेर गोरुगाडी आफैं हाँक्नुपर्ने । भैंसी आफैं चराउनुपर्ने । २०२४ सालमा ठूलो रौदी (खडेरी) लाग्यो । वरपर घाँस पाइन छोड्यो । हाम्रो घरछेउको खेतमा धान पसाउने बेला भएको थियो । एकदिन सत्तेरतिरका यादवहरूले खेतमा लहलहाउँदो धान चर्न भैंसी हुलिदिएछन् । आमाले देखेर ‘धपाउन जानु न’ भन्नुभएछ । जवाफमा बुबाले ‘आ, को जान्छ तिनीहरूको लाठी खान,’ भन्दै कम्बल घुम्लुङ ओडेर पो सुत्नुभएछ ।
    यी र यस्ता अनेकन स्मृतिहरूसँग म खुसी थिएँ, छु । कसैले माने पनि नमाने पनि, म पनि मधेसको एउटा भूमिपुत्र हुँ ! सोच्छु, मधेस अर्थात् मेरो मातृभूमिसँग कर्मले जोडिएको नाताको डोरी न मैले कहिल्यै चुँडाउन सक्छु, न मधेसले मलाई कुनै कुरामा हटक गर्न सक्छ ।
०००
bisnuprasad.bg@gmail.com



जिन्दगीको पहिलो गीत
– सुविद गुरागाईं

मलाई माफ गर्नू साथीहरू हो !
खोजेको बेला भेटिइन भने ।
सोचेको बेला देखिइन भने ।
पर्खेको बेला आइपुगिन भने ।
०००
चढ्न बाँकी छ अलिकति माथि ।
बढ्न बाँकी छ अलिकति अघि ।
देखिइन चाहन्छु अझै आँखामा ।
सुनिन चाहन्छु नवीन पाखामा ।
मलाई माफ गर्नू साथीहरू हो !
बिर्सेको बेला सम्झिइन भने ।
कुनै पनि खबर पठाइन भने ।
०००
म पुगुँला कहाँ चासो भइरहोस् !
आफन्त ओठमा हाँसो रहिरहोस् !
म हुन्छु सायद उज्यालो खोज्दै ।
काम लाग्ने केही सिर्जना रोप्दै ।
मलाई माफ गर्नू साथीहरू हो !
परेको बेला सघाइन भने ।
सोधेको बेला बताइन भने ।
०००
अलिकति अझै कुहुन चाहन्छु ।
यो माटो सम्झेर नुहुन चाहन्छु ।
गुलाफझैं काँडा सजाउनु छ ।
नयाँ ठाउँ आफ्नो बनाउनु छ ।
मलाई माफ गर्नू साथीहरू हो !
बोलाएको बेला फर्किइन भने ।
भनेको ठाउँमा पर्खिइन भने ।
०००
हुन्छु कि हुन्न भोलि म सबैको ।
दुख्ने पोहो कि प्रिय मन कसैको ।
बिस्तारी माया छुटाउनु पनि छ ।
मलामी अझै बनाउनु पनि छ ।
मलाई माफ गर्नू साथीहरू हो !
दोधारमा बाटो समाइन भने ।
बिदाइको आँसु पचाइन भने ।
०००

bisnuprasad.bg@gmail.com
तस्बिरका लागि नवीन गड्तौलाजीलाई धन्यवाद


सिकाइमा प्रश्नै–प्रश्न

– सुविद गुरागाई
‘हातका मैला सुनका थैला के गर्नु धनले ?’
नेपाली जनजीवनमा उखान नै बनेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सोधाइ कस्तो खालको प्रश्न हो ? के हामीलाई यो र यस्ता अनेकौं प्रश्नका बारेमा थाहा छ ? अनि, यतिबेला यो प्रश्नको औचित्य के छ ?
यसरी, के ? किन ? कहाँ ? कहिले ? कुन ? को ? कसरी ? थियो, छ, हुनेछ ? यस्तै अनेकौं जिज्ञासाहरूले हामी जहिले पनि लखेटिइरहेका हुन्छौं । जीवनको मूलबाटो, चौबाटो, दोबाटोमा प्रश्नहरू आइरहेका हुन्छन्, प्रश्नहरू गइरहेका हुन्छन् । कवि सरुभक्तले देखेजस्तो मान्छे, मान्छे, मान्छे, मान्छे, मान्छे–मान्छेका बीचमा प्रश्नै–प्रश्न, प्रश्नै–प्रश्न, प्रश्नै–प्रश्न छन् । सात अर्बको मनमा, दिमागमा खर्बौ प्रश्नहरू छन् । भनिन्छ, यदि हाम्रो मनमा कुनै जिज्ञासा छैन भने हामीमा चेतना पनि छैन । यस्तो पृष्ठभूमिमा विचार गरौं, के हामीलाई आफ्नो जिज्ञासा सही तरिकाले व्यक्त गर्न आँउछ ? के हामीलाई प्रश्न सोध्न आउँछ ?
त्यसो त जीवनमा थुप्रै विरोधाभासहरू छन् । एकरेखीय बाटोमा हिँडिरहेको हुँदैन प्रश्न पनि । एकाथरिहरू भन्छन्, प्रश्न सोध्न सजिलो छ, जे सोधे पनि हुन्छ । कसैले जवाफ देओस्–नदेओस् । तर, अर्कोथरिको भनाइमा प्रश्न गर्न सजिलो छैन । प्रश्न गर्न पनि साहस चाहिन्छ । धेरैलाई प्रश्न गर्नै आउँदैन । कतिपयलाई प्रश्न गर्नुपर्छ भन्नेसमेत थाहा छैन । कतिलाई प्रश्न गर्नुपर्छ भन्ने थाहा छ, तर व्यक्त गरिरहेका हुँदैनन् । त्यसो त, हामीले प्रश्न गर्न नजानेर पनि होला, कतिपय आउनैपर्ने उत्तरहरू सतहमा नआएका !
त्यसो भए म फेरि सोधौं, के तपाईलाई थाहा छ, प्रश्नका बारेमा ? आकास खस्यो भने के हुन्छ ? यो पनि एउटा प्रश्न नै हो । हामीले सुन्दै आएको लोककथामा आधारित यो कस्तो प्रकारको प्रश्न हो ? यसबाहेक के–के हुन्छन् प्रश्न ? कस्ता हुन्छन् प्रश्न ? यसबारेमा हामीले आफूले आफूलाई नै अहिलेसम्म नसोधेकोे किन ? सायद हामीलाई थाहा छैन, सही ढङ्गले प्रश्न सोध्नु भनेको नै समाधानको पहिलो सोपान हो ।
मान्छेको जीवन लाखौं प्रश्नहरूका बीचबाट अघि बढिरहेको हुन्छ । अनेकन प्रकारका प्रश्नहरू सामुन्ने राखेर हामी परीक्षा दिइरहेका हुन्छौं । जीवनभरि मात्र होइन मृत्युपर्यन्त पनि मान्छेको अस्तित्व अनेक प्रश्नहरूको घेरामै रहेको हुन्छ । त्यसैले रुसोले भनेका होलान् ः मान्छे स्वतन्त्र जन्मिन्छ तर त्यसपछि ऊ अनेक प्रकारका साङ्लोले बाँधिएको हुन्छ । यस्तो किन हुन्छ ? प्रश्नको सिलसिला यसरी नै सुरु हुन्छ ।
तर, सोधिएका सबै प्रश्नको जवाफ हुन्छ नै भन्ने छैन । समाजमा, बहसमा ‘अन्डा पहिले कि चल्ला ?’ भन्ने अनुत्तरित प्रश्नको पनि आफ्नै ठाउँ छ । यसोदा मातासँग नन्दलाल (कृष्ण)ले गरेको सवाल–जवाफ त हामीलाई थाहै छ । राधा किन गोरी ? म किन कालो ? परम्परागत रूपमा सुनिँदै आएको यो प्रश्न मात्र होइन, देवर्षि नारदले ‘नारायणका सबभन्दा ठूला भक्त को हुन् ?’ भनेर राखेको जिज्ञासाको निरुपण हुन बाँकी नै छ । यदि सही ढङ्गले प्रश्न गरिएको छैन भने जवाफ पनि सही ढङ्गको पाइएको छैन । यदि यो अज्ञानताका कारण सतहमा आउनुपर्ने उत्तरहरू आएका छैनन् भने भन्न सकिन्छ, तिनका बारेमा जान्न पाउने हाम्रो अधिकारमा प्रभाव परिरहेको छ । यसरी, प्रश्न सही नहुनाले सार्वभौम सूचनाको अधिकार प्रभावित हुनु राम्रो हो र ?
कुनै सूचना वा जानकारी प्राप्त गर्नका लागि वा कुनै शङ्का समाधानका लागि प्रयोग गरिने भाषिक अभिव्यक्ति हो, प्रश्न । सवाल, जिज्ञासा, खोज, कुतूहल, उत्सुकता, उत्कण्ठा, खसखस आदि प्रश्नका पर्यायवाची शब्द हुन् । आचार्य रजनिशका अनुसार प्रश्नहरूका तीन वर्ग छन् । पहिलो वर्ग कुतूहलता हो । ती बाहिरी प्रश्न हुन्, जो मस्तिष्कमा उत्पन्न हुन्छन् । दोस्रो वर्गमा जिज्ञासा पर्छन्, जुन अलिकति आन्तरिक हुन्छन् । यस्ता प्रश्नहरू अन्तस्करणमा उत्पन्न हुन्छन् । तेस्रो वर्गमा मुमुक्ष पर्छन्, जो सबैभन्दा भित्री चेतमा उत्पन्न हुन्छन् । मुक्तिका लागि हुने–गरिने यस्ता प्रश्न भित्री चेतनाबाट आउँछन् । मुमुक्ष तीर्खा हो, ज्ञानको भोक हो । मुमुक्षुहरू मोक्षका लागि सधैं प्रश्नवत् हुन्छन् ।
ओशो दर्शनका अनुयायी कलाकार विक्रमश्रि प्रश्न गर्नु भनेको जान्नु हो भन्छन् । बिनाउत्तर, बिनाकारण प्रश्नहरू सतहमा आउँदैनन् भन्ने उनलाई लाग्छ । ‘एकान्तमा भएका बेला ‘म को हुँ ? कहाँबाट आएँ ? म किन यो पृथ्वीमा आएँ ? अहिले के गरिरहेको छु ? रुख भनेको के हो ? देवता को हुन् ?’ आदि प्रश्न हरेक मान्छेका मनमा आउँछन्,’ कलाकार श्रि भन्छन्, ‘मेरो मनमा पनि यिनै प्रश्नहरू आउँछन् ।’
प्रश्न यथावत् छ । यो सनातनदेखि थियो । अनन्तसम्म रहनेछ । भनिन्छ, प्रारब्धमा मान्छेले एउटा नयाँ ध्वनि सुने, एउटा त्यसअघि कहिल्यै नदेखेको उज्यालो देखे, अनुभूत गरे । त्यसपछि मान्छेको मनमा जिज्ञासा उत्पन्न भयो, ‘के हो यो ? यसलाई के नाम दिने ?’ सम्भवतः संसारको पहिलो प्रश्न त्यही थियो । त्यसैको आवश्यकता र खोज बढ्दै जाँदा त्यो अमूर्त अनुभूतिलाई मानिसले ‘ईश्वर’ नाम दियो ।
पहिले आफैं प्रश्न सोध्ने र आफैं जवाफ दिने ‘प्रश्नोत्तर’ शैलीमा कविता लेख्ने परम्परा थियो । चन्द्रमामा मान्छेले पाइला टेक्नुभन्दा धेरै अगाडि महाकवि देवकोटाले लेखे, ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।’ यस्ता दूरदर्शी प्रश्नकर्ता देवकोटाका केही प्रश्नहरू आज पनि हाम्रो मार्ग–निर्देशक बनेका छन् । तीमध्ये उनका केही प्रश्नहरू अझ पनि अनुत्तरित नै छन्, ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ?’ ‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ?’
०००

मानिसका मनमा हुने सबै जिज्ञासाले प्रश्न बन्ने हैसियत राख्दैनन् । संसारमा सबै प्रश्नको उत्तर हुँदैन र आउँदैन पनि । सबै फूल टिप्न नपाए झैं, सबै रस आस्वादन गर्न नमिले झैं, धेरै पुस्तक पढ्न बाँकी रहे झैं मानिसको जीवनमा निरुपण हुन बाँकी केही न केही तुस रहिरहेको हुन्छ । त्यसैले होला शिक्षक–लेखक पेशल आचार्यका मनमा निकै अघिदेखि सङ्ग्रहित प्रश्न छ, ‘किताब पढेर, रुख चढेर, बाटो हिँडेर कहिले सकिन्छ ?’
महाकवि पर्सिविस सेलीका अनुसार हामी जति अध्ययन गर्दै जान्छौं, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । अर्थात्, हामी जति प्रश्नहरू गर्दै जान्छौं, त्यति समाधानहरू पाउँदै जान्छौं । अनि, जति समाधानहरू पाउँदै जान्छौं, क्रमशः थाहा हुँदै जान्छ, अब यसपछि हामीले उत्खनन गर्नुपर्ने, खोज्नुपर्ने के हो ? सत्य के हो ? के सूर्य सधैं पूर्वबाट उदाउँछ भन्ने सिकाइ सत्य हो ? सूर्य ईशान र आग्नेय दिशामा देखिइरहँदा पनि हामी त्यसलाई पूर्व नै ठानिबस्छौं, त्यस्तै सिकाउँछौं किन ? सारमा, हामीलाई गुरुहरू व्यावहारिक, विज्ञानसम्मत हुन किन प्रेरित गर्न सकिरहेका छैनन् ?
गजलगो सुरेश सुवेदी आफूलाई बेला–बेलामा सोध्ने गर्छन्, ‘जीवन के हो ? म को हो ?’ यसमा थप जिज्ञासा पनि छ, उनको मनमा यस्तो प्रश्न किन बारम्बार आइरहन्छन् ? ‘म आफूले आफूलाई नै सबैभन्दा नजिकको, सबैभन्दा बढी चिनेको पाउँछु,’ सुवेदी भन्छन्, ‘सायद त्यसैले यो प्रश्न म आफूलाई बेला–बेलामा गरिरहेको हुन्छु । र, सायद चित्तबुझ्दो जवाफ नपाउञ्जेल सोधिरहनेछु !’ कसैले उनलाई यही प्रश्न सोधेमा उनको जवाफ हुन्छ, ‘जीवन भोगाइ हो ।’ तर, यो जवाफबाट उनी आफैं सन्तुष्ट छैनन् । जीवनको अद्भूत रहस्यको समाधान त्यतिले मात्र हुन सक्ला भन्ने उनलाई लागेको छैन । प्रश्न बाँकी नै छ ।
लिसनर्स क्लब नेपालका महासचिव हरिराम पौडेलका मनमा धेरै प्रश्नहरूको उतार–चढाव भइरहन्छ । ‘देशको प्रतिकूल परिस्थितिले आफ्नो अनि सन्तानको भविष्यमाथि प्रश्नचिन्ह लगाइरहन्छ,’ पौडेल भन्छन्, ‘मेरो मनमा, मेरो भविष्यले कस्तो मोड लेला ? छोरीहरूलाई कसरी सक्षम बनाउन सकिएला ? भन्ने प्रश्नले सधैं घोचिरहन्छ ।’
लेखक प्रवीण बानियाँले फेसबुकमा केही बालबालिका तुइनमा झुन्डिएर गण्डकी तर्दै गरेको फोटो पोस्ट गरेर छेउमा कवितात्मक क्याप्सन लेखे, ‘यी नानीहरू झुन्डिएका हुन् कि झुन्डिएका हुन् जिन्दगीका सपनाहरू ? अनि, यसरी कलिला सपनाहरू झुन्डिदै–झुन्डिदै कहाँसम्म पुग्छन् होला ? झोलाभरि सुकिला अक्षरहरू बोकेर सुदूर गाउँको पाठशाला हिँडेका यी नानीहरू यो देशको सपना पढ्छन् कि यो देशको दुःख र कष्टका कथाहरू पढ्छन् ? फरक प्रसङ्गमा बानियाँ भन्छन्, ‘यौटै प्रश्न अक्सर सोध्नेहरू छन् । किन भइस् पत्थर ? सोध्नेहरू छन् । जथाभावी घाउ लगाएर आफैं, भेटेपिच्छे खबर सोध्नहरू छन् ।’
साँच्चै, कहिलेकाहीं हामी कतिपय प्रश्न सोध्नका लागि सोधिरहेका हुन्छौं । खाना भइसक्यो ? आरामै हुनुहुन्छ ? मलाई चिन्नुहुन्छ ? मेरो माया लाग्दैन हो ? हात्ती पढेर ठूलो भएको हो र ? आँपको रुखमा आँप नफले के फल्छ ? यस्ता अनेक प्रश्नहरू छन्, जसको जवाफमा मुसुक्क हाँसे पुग्छ । शब्दहरू जोडेर केही भन्नैपर्छ भन्ने छैन ।
एउटा मिथकीय उदाहरण हेरौं । अकबरले वीरबललाई आँखा भएका अन्धा खोजेर ल्याउन अह्राएका थिए । यस्तो जटील समस्या समाधानका लागि वीरबल सहरको एक छेउमा बसेर जुत्ता सिउन थाले । सबैभन्दा बुद्धिमान मानिएका मन्त्री यस्तो अवस्थामा देखिएपछि धेरै मान्छेले सोधे, ‘के हो, वीरबल के गरेको यो ?’ जुत्ता सिएको देखी–देखी ‘के गरेको ?’ भनेर सोध्नेहरूलाई वीरबलले केही जवाफ दिएनन् । बरु सेना लगाएर समाउँदै दरबारमा उपस्थित गराए । साँझसम्ममा, दरबारको बैठक कक्षमा आँखा भएर पनि नदेख्नेहरूको भीड जम्मा भइसकेको थियो ।
सिद्धान्ततः सोधिने प्रश्न तीन प्रकारका हुन्छन् । पहिलो, सोध्नै पर्ने ः मेरो बुबाको नाम के हो ? दोस्रो, सोध्दा राम्रो हुने ः आकासमा कति ताराहरू होलान् ? तेस्रो, सोध्न सकिने ः तपाई असफल कसरी हुनुभयो ? यसरी, वर्गीकृत तीनमध्ये सोध्न सकिने प्रश्नको समूहमा ‘मेरो जन्म कहाँबाट भयो ?’, ‘शङ्ख  बजेको आवाज सुनेपछि हात्ती के सोचेर भाग्छ होला ?’ जस्ता ‘नसोधे पनि हुने’ मानिएका प्रश्नहरू ओभरल्याप भएका हुन्छन् ।
०००

‘मेरो क्षमताअनुसारको उपलब्धि यति नै हो ?’ पत्रकार, उप–प्राध्यापक अर्जुन उप्रेतीका मनमा खेलिरहने अनेकौं प्रश्नमध्ये अहिलेका लागि मुख्य प्रश्न यही हो । अरूलाई सोध्नुप¥यो भने भन्ने जिज्ञासामा उप्रेतीले भने, ‘तपाईको प्रगति के हुँदै छ ? भनेर सोध्छु ।’
प्रस्टै छ, सकारात्मक सोच र महत्वाकाङ्क्षा भए जिज्ञासा पनि सकारात्मक नै हुन्छन् । सफल मान्छेले भन्छ, ‘यसमा के सम्भव छ ? त्यो पत्ता लगाऔं, त्यो गरौं ।’ तर, असफल मान्छे भन्छ, ‘यसमा के असम्भव छ ? पहिले त्यो खोजौं, बाहिर निकालौं, बाँकी रहेको जम्मै सफलता हो ।’
गीतकार विजय श्रेष्ठ सानोका एउटा साथीले भनेको सम्झिएर अझ पनि भावुक हुन्छन् । उनले भनेका थिए, ‘तँ बीउ होस्, तैले कुहुनैपर्छ !’ यतिबेला उत्तरार्धमा आएर श्रेष्ठको मनमा त्यही पृष्ठभूमिबाट उब्जेको प्रश्न छ, ‘अझै कुहुन पुगेन मैले ?’ सम्झिल्याउँदा केही भन्न मन लाग्दैन, चोट पर्छ । तर, पनि कहिलेकाहीं मनमा तर्कना आउँछ, ‘कालापानीको गीत लेख्ने–गाउनेहरूले के पाउने यो देशमा ?’
जब श्रेष्ठले ‘हाम्रा बडा पृथ्वी बाले भनेका, एकता नै बल हो,’ बोलको गीत रेकर्ड गराए, रेडियो नेपालको तत्कालीन सेन्सर बोर्डका एक सदस्यले सोधेछन्, ‘तपाई पृथ्वीनारायण शाहको छोरा हो ? होइन भने, पृथ्वीनारायण शाहलाई ‘बडा बा’ किन भनेको ?’
‘जवाफमा के भन्नु ?’ श्रेष्ठ भन्छन्, ‘उसको अज्ञानतामा हाँस्नुबाहेक मसँग कुनै जवाफ थिएन ।’
‘मान्छे किन यति धेरै गम्भीर छ ?’ बीचमा छ वर्ष अस्ट्रेलिया बसेर हाल केही समय नेपालमै रमाइरहेका धिरज भट्टराई भन्छन्, ‘यो मेरो मनमा खेलिरहेको अनुत्तरित प्रश्न हो ।’ उनलाई कहिलेकाहीं ‘म मात्र खुसी छु कि जस्तो,’ लाग्छ । ‘वास्तवमा मान्छेको जीवन त्यति जटील छैन, जति मान्छे हुँदै नभएको जटीलतालाई सोचेर सिरियस छ !’ भट्टराईले भने ।
‘मान्छे सधैं बिहान उठ्नुपर्ने हो, तर कुनै एक दिन मान्छे उठेन भने के हुन्छ ?’ गीता दर्शनबाट प्रभावित उनले थपे, ‘केही हुँदैन । ताराहरू उसरी नै चम्किनेछन्, जसरी हिजो ऊ ज्युँदो हुँदा चम्किन्थे । सबै चिज आफैं भइरहेका छन् । जब हामी आफैं बाँच्न नजानेर अन्धाधुन्ध बाँचिरहेका छौं भने सबैथोक व्यवस्थित गर्ने प्रयत्नमा, बेकारमा किन यो गम्भीरता ?’
प्रश्नहरू समय–समयमा परिवर्तन भइरहन्छन् । वातावरणको सापेक्षतामा जिज्ञासा विकसित हुने क्रममा यतिबेला सामाजिक कार्यकर्ता विष्णु दवाडीलाई ‘म जे काम गर्दै छु, जहाँ काम गर्दै छु, त्यो काम परिवारबाट टाढा बसेर किन गर्दै छु ?’ भन्ने खुल्दुली भइरहेको छ । सरसफाइ अभियानका लागि क्रियाशील दवाडी मान्छेले कुरा बुझेर पनि बुझ पचाएको देख्दा विस्मित हुन्छिन् । ‘मान्छेहरू किन कुरा बुझ्दैनन् ?’ आफ्नो मनमा अचेल बारम्बार खेलिरहेको प्रश्नबारे उनले भनिन्, ‘मान्छेहरू किन यस्तो व्यवहार गरिरहेका छन् ?’ अहिले कामको सिलसिलामा चित्त नबुझेका कुराले प्रमुखता पाए पनि यी जिज्ञासा भने स्थायी होइनन् ।
गुणरत्नमालाका सर्जक जगन्नाथ गुरागााईं मानिसलाई अनेकौं स्थायी प्रश्नहरूसँग साक्षात्कार गराउँछन् । तिनै प्रश्नहरूका माझमा उनले सोधेका छन्, ‘के हो इज्जत ? के हो निशा (नशा) ? के हो अमृत ?, के छ विष झैं ?’ महाभारत कालमा सत्यवादी, धर्मात्मा मानिएका युधिष्ठिरको परीक्षा लिन यक्षले यस्तै प्रश्न गरेका थिए, जुन प्रश्न आज पनि हामी कोट गर्ने गर्छौं । उनले सोधेका थिए, ‘धनभन्दा ठूलो के छ ? पानीभन्दा पातलो के हो ? भूमिभन्दा भारी के छ ? परदेशको सच्चा मित्र को हो ?’
पछिल्लोपटक ‘प्रेमको बकपत्र’ शीर्षकमा शृङ्खला कविता रचयिता शशि थापा पण्डितको पुस्तासम्म हस्तान्तरण हुँदै सोधिँदै–भनिँदै आएका केही स्थायी प्रश्न छन् । ‘प्रेम के हो ?, माया के हो ?, यौन के हो ?, यौनिकता के हो ?’
०००

पत्रकारितामा सही तरिकाले प्रश्न गर्न सिकाइन्छ । फाइभ डब्लु वान एच अर्थात् छ‘क’सँग सम्बन्धित प्रश्नमा आधारित सूचना सङ्कलन र सम्प्रेषण गरिन्छ पत्रकारितामा । सामान्यतयाः पत्रकारहरू अन्तर्वार्तामा अन्तहीनता रुचाउँदैनन् । उनीहरू जे हो त्यही तत्काल सोध्न–लेख्न चाहन्छन् । आधारमा जवाफ अपेक्षित प्रश्न सोध्ने तरिका विविध प्रकारका छन् । ‘तपाई प्रधानमन्त्री बन्न चाहनुहुन्छ कि चाहनुहुन्न ?’ जस्ता बन्द प्रश्न, ‘तपाई राजनीति गर्न चाहनुहुन्छ, हो ?’ जस्ता पुछ«े प्रश्न र ‘तपाई कसरी यो निर्णय गर्ने अवस्थामा पुग्नुभयो ?’ जस्ता खुला प्रश्न सोधिन्छन् । अर्को, विचारसहितको जिज्ञासा अर्थात् सोध्नेद्वारा आफ्नो भनाइ थोपरिएको प्रश्न पनि हुन्छ । यसमा सोध्नेले चाहेको शब्द अरूको मुखबाट आओस् भन्ने अपेक्षा हुन्छ । जस्तै, कसैले नेपाल फेरि हिन्दू राष्ट्र हुनुपर्छ भन्यो भने अरूले त्यसको विरोध किन गर्नुप¥यो ? के उसले त्यस्तो भन्न पाउँदैन ? अनि, यसरी सोध्ने क्रममा ‘मैले यो भनें भने ठिक भनेको हुन्छ कि बेठिक भनेको हुन्छ ?’ जस्ता अनेकौं शैली थेगो–प्रश्नका रूपमा नै विकसित भइरहेका छन् ।
पत्रकार हिमाल दहालका अनुसार प्रश्न सोध्न कि विषयवस्तु केही जानेको हुनुपर्छ कि केही नजानेको हुनुपर्छ । संविधानको कुरा गरौं । संविधानका बारेमा त्यसले प्रश्न सोध्छ, जसलाई थाहा छ, संविधान भनेको के हो ? संसारमा त्यसका लागि कस्ता–कस्ता अभ्यासहरू भएका छन् ? राम्रा–नराम्रा पक्ष के छन् ? र, आफ्नो ठाउँको अभ्यासमा त्यस्तो किन भइरहेको छैन ? भन्ने थाहा छ । कि त्यसले सोध्छ, जसलाई संविधान भनेको के हो थाहै छैन । त्यस्तै, जिज्ञासु विद्यार्थीले पनि कि आफूले सुने–जानेको कुरा पुष्टि गर्न वा नजानेको थाहा पाउन प्रश्न सोध्ने हो ।
संविधान बनाउन भइरहेको सकसको सन्दर्भ बीचमा विवेकशील नेपालीहरूका तर्फबाट सामाजिक सञ्जालमा एउटा प्रश्न आयो, ‘संविधान खोइ ?’ शिरानमा कवि शाम्ब ढकालका तर्फबाट एउटा टिप्पणी पनि टाँसिएको थियो, ‘हामी योभन्दा बढी पनि भन्न सक्छौं तर अहिले यति नै !’
नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखरको मनले यतिबेला एउटा विशेष प्रश्न अनुभूत गरिरहेको छ । ‘आखिर के छ जातमा ?’ यात्री सोध्छन्, ‘मान्छेहरू जातलाई किन ठूलो बनाइरहेका छन् ?’ साँच्चै जात, धर्म, भूमिबारे अनेक प्रश्न उठाइएका छन् अचेल । कति प्रश्न जायज छन्, कति नाजायज पनि छन् । तर, यात्रीले जान्न चाहेका यस्ता पेचिला प्रश्नको जवाफ कहाँबाट मिल्ला ? कसले देला ?
शिक्षक पत्रिकाका सल्लाहकार सम्पादक केदार शर्माका अनुसार प्रश्नकर्ता धेरै प्रकारका हुन्छन् ।  ‘कडा प्रश्न सोध्ने’ व्यक्तिका रूपमा नाम कमाउन चाहने व्यक्तिहरूको सञ्चार क्षेत्रमा ठुलो उपस्थिति छ । स्रोता–पाठकले जान्न चाहने खालका प्रश्न सोध्नु प्रश्न गर्नेहरूको धर्म नै हो तर ‘नायक हुन’का लागि गरिएका प्रश्न परै छुट्टिन्छन् ।
जान्नका लागि वा जवाफ पाउन होइन, आफ्नो उपस्थिति देखाउन मात्र प्रश्न सोध्ने धेरै छन् । उनीहरू ‘तर पनि...’ भन्दै दोहोरिएका प्रश्न सोधिरहेका हुन्छन् । कोही भने ‘मैले पनि जानेको छु,’ भन्ने मात्र देखाउन अप्ठ्यारा शब्द र सन्दर्भ राखेर प्रश्न सोध्छन्, तर त्यसको जवाफ सुन्ने धैर्य उनीहरूमा हुन्न । नया“ कुरा जान्न होइन, आफूले जानेको कुरामा सही थापिमाग्न सोध्ने वा आफूले चाहेको जस्तो जवाफ खोज्न चाहने आग्रही प्रश्नकर्ताहरू सबभन्दा धेरै हुन्छन् । उनी थप्छन्, ‘यसको अर्थ राम्रो प्रश्न सोध्ने मान्छे छैनन् भन्ने होइन । राम्रो प्रश्नकर्ता हुन चाहने व्यक्ति अध्ययनशील र राम्रो स्रोता हुनुपर्छ ।’
‘मान्छेका मनका सबभन्दा ठुला प्रश्न जीवन र जगतस“ग सम्बन्धित हुन्छन्,’ शर्मा भन्छन्, ‘तर, जतिसुकै वैज्ञानिक उत्तर भए पनि त्यस्ता प्रश्नका उत्तर सबैलाई चित्तबुझ्ने खालका हु“दैनन् । कारण हो, हामीलाई उत्तर हैन, आफूले मन पराएको उत्तरमा सहमति चाहिएको हुन्छ ।’ यतिबेला मनमा रहेको कुनै अनुत्तरित प्रश्न चाहि“ के हो त ? भन्ने जिज्ञासामा शर्माले भने, ‘यति धेरै जड तत्त्वहरूको समन्वय गरेर विधाताले चेतनाको सृष्टि कसरी ग¥यो होला ?’
०००

पहिले, बुझ्न थालेदेखि, किशोर हुँदा आफ्नो खासै बुझाइ थिएन । अरूबाट प्राप्त थोरै बुझाइमा धेरै काम गर्न सकिने क्षमता थियो । वैकल्पिक विचार मञ्चका संयोजक डम्बर खतिवडा हिजोआज यस्तै कुरा सोचेर गम्भीर हुन्छन् । किनकि अहिले उनीसँग थुप्रै बुझाइहरू छन् तर ती बुझाइका लागि काम गर्ने समय छैन । पैसा छैन । यस्तै विरोधाभास छ । ‘यो विरोधाभास किन भएको होला ? यो असजिलोमा मान्छेलाई कसले हालेको होला ?,’ खतिवडा भन्छन्, ‘यसमा हामी आफैं दोषी छौं कि अरू पनि कोही दोषी छन् ? अचेल मेरो मनमा यस्तै प्रश्न खेलिरहन्छन् ।’
‘किन हाम्रा सपनाहरू पूरा हुँदैनन् ?’ लेखक, राजनीतिक विश्लेषक केशव दाहालको मनमा सबैभन्दा बढी खेलिरहने प्रश्न हो यो । ‘किन हामी आफ्नै सपनाहरूको मलामी जान अभिशप्त छौं ?’ दाहाल भन्छन्, ‘किन हामी विगत ७० वर्षदेखि एउटै सपना (समृद्धिको सपना) पूरा हुने दिन पर्खेर बसिरहेका छौं ?’
‘सगरमाथाको उचाइ कति घटबढ भइरहेको छ ? विविधको शासन स्थापित गर्न किन सकस परिरहेको छ ? परिवर्तन अहिले नगरे कहिले गर्ने ? किन मिलेको छैन पढाइ ? सामान्य ज्ञानका विद्यार्थीहरू, कानुन, अधिकार र शिक्षाका सरोकारवालाहरू हरसमय यस्तै प्रश्नको सेरोफेरोमा हुन्छन् । ‘केटा के हो ? केटी के हो ?’ लेखिका कमला भसिन प्रश्नको माध्यमबाट समाज, विशेषगरी किशोर–किशोरीलाई लैङ्गिक विभेदविरुद्ध सचेत बनाउन चाहन्छिन् । कवि प्रोल्लास सिन्धुलीय सोध्छन्, झन्डालाई डिभी प¥यो भने के हुन्छ ? कथाकार÷नाटककार विजय मल्लको ‘कोही किन बर्बाद होस् ?’ भन्ने प्रश्नबाट प्रेरित धेरै शैक्षिक थलोहरू आज बालमैत्री बनेका छन् । ‘रुखबाट छुट्टिएको स्याउ भुइँतिर नै किन गयो ? माथितिर किन गएन ?’ यही एउटा जिज्ञासाले एउटा विद्यार्थी वैज्ञानिक न्युटन भयो । ‘मानिस दुखी किन हुन्छ ? के दुःख हटाउने उपाय छैन ?’ यस्तै जिज्ञासाले राजकुमार सिद्धार्थ, गौतम बुद्ध बने ।
विशेषगरी, यतिबेला शिक्षामा गुणस्तरीयताको सवाल उठेको छ । पाठ्यक्रम समयानुकूल नभएको, शिक्षा लिने–दिने, बुझ्ने–बुझाउने, सिक्ने–सिकाउने तरिकामा प्रश्नचिन्ह लागेको छ । यो पृष्ठभूमिमा सरोकारवालाहरू सोध्छन्, के शिक्षाको गुणस्तरीयता विद्यार्थीले ल्याउने अङ्कबाट थाहा हुन्छ ? के सफलता औपचारिक परीक्षाबाट मात्र मापन गर्न सकिन्छ ? के हाम्रो विद्यालय शिक्षालाई बिनापरीक्षाको बनाउन मिल्दैन ?
सायद यस्तै चिन्तनबाट प्रेरित भएर शिक्षकहरूलाई रिफ्रेसर तालिमहरूमा बताउन थालिएको छ, तपाईका विद्यार्थीहरूलाई जवाफ दिन होइन, प्रश्न गर्न तयार पार्नुहोस् । जब बालकले सही ढङ्गले प्रश्न गर्न जान्नेछ, तब उसले आफ्ना प्रश्नहरूको चित्तबुझ्दो हल पनि खोज्नेछ । यसमा माक्सिम गोर्कीको विचार समीचिन छ । भन्छन्, ‘जनतालाई किताबहरू सुम्पिदिनुस्, तब उसले आफैंले आफ्ना प्रश्नहरूको हल भेट्टाउनेछ ।’
हिन्दीमा बाल–सुलभ व्यवहार र मनोविज्ञानसँग सम्बन्धित एउटा गीत गाइएको छ, ‘तेरे मासुम सवालों से परेशान हुँ मैं ।’ अर्थात् केटाकेटीहरू अबोध हुन्छन्, अनेक प्रश्न गर्छन् । ठुला मान्छेलाई झर्को लागुञ्जेल सोधिरहन्छन् र आफूलाई चाहिने ज्ञान सङ्ग्रहित गर्छन् । तर, उमेर पढ्दै जाँदा प्रश्न सोध्ने गति किन घट्दै जान्छ ? यो ह्रासको जवाफदेही को हो ?
‘नेपालको सबैभन्दा राम्रो जिल्ला कुन हो ?’ कहिलेकाहीं यस्ता प्रश्नहरूले लक्षित उत्तरदातालाई अलमलमा पार्छन् । नेपाली विषयको मौखिक परीक्षामा शिक्षकले सोधे, ‘तिमीलाई मनपर्ने चार वटा फूलहरू कुन–कुन हुन् ?’ जवाफमा विद्यार्थीले भने, ‘मलाई गुलाबबाहेक अरू फूल मन पर्दैन सर ।’ अब त्यस्तो प्रश्न सोध्ने शिक्षकलाई के भन्ने ? त्यस्तो जवाफ दिने विद्यार्थीलाई नम्बर दिने कि नदिने ? यहाँ प्रश्न नम्बरसम्म मात्र सीमित छैन । मुख्य सवाल के हो भने, त्यस्तो जे भने–लेखे पनि हुने, अलमलिने प्रश्न किन सोध्छन्, शिक्षकहरू ?
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार प्रश्नले केटाकेटीलाई खोज्न प्रेरित गर्छ । चुप पनि लगाउँछ । कतिपय प्रश्न आफैंलाई दिक्क पार्ने खालका पनि हुन्छन् । त्यसैले सिकाइमा प्रश्नको भूमिका महत्वपूर्ण हुन्छ ।
‘विडम्बना हाम्रा शिक्षकहरूले प्रश्न बनाउन पनि जानेनन्, सोध्न पनि जानेनन्,’ कोइरालाले भने । भन्न त शिक्षकहरू पढेलेखेको मान्छे व्यावहारिक, व्यावसायिक र उत्पादनमुखी हुनुपर्छ भन्छन् । विद्यार्थीलाई त्यस्तै बनाउन पनि चाहन्छन् । तर, गुरुहरूको काम गराइको शैली, प्रश्न सोधाइको तरिकामा सङ्गति मिलेको देखिएन भन्ने गुनासो छ उनलाई । ‘एउटै प्रश्नले बालकलाई व्यावहारिक पनि बनाउँछ, व्यावसायिक, राष्ट्रवादी, जनवादी के–के बनाउन खोजेको हो, त्यही बनाउँछ,’ कोइरालाले भने, ‘तर, यो तथ्य अझै सिकाउन सकिएन हाम्रा शिक्षकलाई । झन् बालकको तहसम्म त यो कुरा कहिले पुग्ला ?’
०००

bisnuprasad.bg@gmail.com