‘यक्ष प्रश्न’को घेरामा माओवादी

– सुविद गुरागाई
‘अरूलाई हे¥यौं पटक–पटक, माओवादीलाई हेरौं एकपटक’ भन्दै २०६२–०६३ सालको जनआन्दोलनपछि निर्वाचन मैदानमा आएको माओवादीलाई जनताले विश्वास गरेकै हुन् । केही गरेर देखाउने मौका दिएकै हुन् । तर, माओवादी नेतृत्वले जनअपेक्षा विपरीत जे–जस्ता गतिविधिहरू त्यस अवधिमा देखायो, त्यसले संविधानसभाको दोस्रो निर्वाचनमा रामकुमारी चौधरी ‘रोजिना’जस्ता प्रतिबद्ध कार्यकर्तालाई जनताबाट अनुमोदित हुन समस्या प¥यो । यो कुराबाट माओवादी नेतृत्व अझै किन सार्वजनिक रूपमा आत्म–आलोचित छैन ? वा, उसको व्यवहारमा त्यो किन देखिँदैन ?
एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वसँग चार प्रश्न भन्दै इटहरीमा यसका प्रवक्ता दीनानाथ शर्मासँग पहिलो समकालीन जिज्ञासा राखियो । यसमा हामी प्रशस्त आत्म–आलोचित छौं । हामीले यो विषयमा पार्टीभित्र गम्भीर समीक्षा गरेका छौं । यो कुरा रामकुमारीजीलाई पनि थाहा छ । औपचारिक फेस–सेभिङको सिलसिला यसरी सुरु भयो ।
माओवादी लगायत जुन पार्टी पनि प्रतिपक्षमा हुँदा वा सत्तामा नहुँदा राष्ट्रियताका चर्काचर्का कुरा गर्ने चलन छ । त्यो बेला पार्टीहरूले मेची–महाकाली जागरण यात्राको यस्तो अभियान चलाउँछन् कि लाग्छ, अब चाहिँ सीमा सरोकारका लागि जनता, युवापुस्ता जागिसके । मार्चपास, जनजागरण, टायर–दहन, नेपाल बन्द, घोर–भत्सर्ना आदि–इत्यादि आन्दोलनको आँधी–बेहरीले दशगजा वरपरका फोहोर र अतिक्रमणहरू निश्चित व्यवस्थापन हुनेछन् । तर, पार्टीहरू जब सत्तामा जान्छन् तब तिनलाई न कालापानी बिझाउँछ, न सुस्ता दुख्छ । न सुनसरीको रानीगञ्ज भन्सारसहित सात हजार बिघा नेपाली भू–भाग कोसी ब्यारेज निर्माणको बहानामा भारतमा विलय पारिएको कुराले पोल्छ । औपचारिक–अनौपचारिक कुनै पनि भ्रमण, भेटघाटको एजेन्डा बन्दैन, सीमा सरोकारको यो कुरा । यस्तो किन गर्नुहुन्छ तपाईहरू ? माओवादी नेतृत्वसमक्ष दोस्रो जिज्ञासा राखियो ?
सीमा मिचिएको कुरा जहिले पनि हाम्रो प्राथमिकतामा पर्दै आएको छ । त्यस विषयमा हामी गम्भीर छौं । तर, सडकमा गरिएको अहिलेको जस्तो राजनीतिक अभ्यासले मिचिएको भूमि फर्काउन सकिँदैन भन्ने कुरामा पनि हामी प्रस्ट छौं । यसका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदाय र विशेषज्ञमार्फत् कुटनीतिक पहल गर्नुपर्छ । यसमा हामी चुकेका छैनौं । फेरि यो विषय आजका भोलि समाधान हुने कुरा पनि होइन । जवाफदेही नेतृत्वको धाराप्रवाह भनाइलाई यस्तै शब्दहरूमा टिप्न भ्याइयो ।
जब–जब तपाईहरूसँग कसैले सहकार्य गर्छ, सँगै हिँड्न थाल्छ, त्यो बेला कमल थापा होस्, दुर्जकुमार राई होस्, चाहे जोसुकै होस्, त्यसतो व्यक्ति तपाईहरूका लागि अति प्रिय हुन्छ । राष्ट्रवादी हुन्छ । दुधले नुहाएको हुन्छ । तर, जब कसैले तपाईहरूको काम–कारवाहीप्रति विमति राख्दै नोट अफ् डिसेन्ट लेख्छ । दोबाटोबाट मोडिएर अलग्गै हिँड्ने अभ्यास गर्छ, त्यसपछि ऊ घनघोर अराष्ट्रिय तत्व हुन्छ । उसमा फोहोरै–फोहोर देखिन थाल्छ । पागलसम्म भन्न पनि पछि पर्नुहुन्न । यस्तो किन गर्नुहुन्छ तपाईहरू ? अनपेक्षित पृष्ठभूमिमा तपाईहरूको अघिल्लो कुरा पत्याउने कि पछिल्लो ?
हामीले, कसैले पनि बाबुरामजीलाई पागल भनेको छैन । कहीं–कतैबाट यस्तो कुरा आएको छ भने त्यो गलत छ, पूर्णतः भ्रमपूर्ण छ । हामीले भनेको के मात्र हो भने, उहाँ हामीसँग रहँदादेखि नै माक्र्सवादको मुख्य पथ (प्रचण्ड–पथ) त्यागेर ओरालो जाने राजनीतिक गोरेटोमा हिँड्दै हुनुहुन्थ्यो । हामीले उहाँलाई पटक–पटक सचेत पनि गरायौं । उल्टै हामीलाई नै त्यही बाटोमा लाने प्रयास गर्नुभयो । तर, सक्नुभएन । यतिबेला उहाँ त्यही पतनको मार्गमा हिँड्ने अभ्यासको उत्कर्षमा हुनुहुन्छ । पचास वर्षभन्दा बढी समयको उहाँको राजनीतिक जीवन बल्ल यहाँसम्म आइपुग्यो । अब पचास वर्ष बाँच्नु होला–नहोला । यो अवधिमा उहाँले देशलाई नयाँ शक्ति भन्दै अर्को अँध्यारो भासमा पु¥याउने हुनुभयो भन्ने चिन्ता सर्वत्र छ । हाम्रो चिन्ता पनि त्यही हो । हामी अहिलेसम्मका अनुभवका आधारमा उहाँ वा अरू कोहीका कारणले देश अँध्यारो गर्तमा नभासियोस्, प्रतिगमनमा नजाओस् भनेर रोक्न बल गरिहेका छौं, माओवादी नेतृत्वले भन्यो – हामी यस विषयमा प्रस्ट र अत्यन्तै गम्भीर छौं ।
चौथो प्रश्न दुनियाँवादी होइन, सरकारवादी फौजदारी अभियोगसँग जोडियो । ओखलढुङ्गाका बालकृष्ण ढुङ्गेल प्रकरणबाट पीडित भएका परिवारका तस्बिरहरू अखबारमा आइरहन्छन् । अपराधपीडित आमा–दिदीका रोदनहरू रेडियोमा एकपछि अर्को शृङ्खलामा सुनाइन्छन् । चुहाएका आँसुका दृश्यहरू टेलिभिजनका पर्दामा देखाइन्छन् । अदालतले अपराधका विपक्षमा फैसला पनि गर्छ । तर, यति हुँदा–हुँदै पनि तपाईहरू खासगरी माओवादी नेतृत्वको मन चाहिँ किन पोल्दैन ?
यस प्रकरणमा अब हाम्रो जवाफ सुन्नुस् । यसरी एक–एक व्यक्ति छानेर द्वन्द्व कालका राजनीतिक मुद्दालाई फौजदारी अभियोग लगाउँदै, ब्युँताउँदै जाने हो भने अहिलेको शान्ति–प्रक्रियाको स्थिति के हुन्छ ? समाज र मुलुकको राजनीतिक स्थिति कहाँ पुग्छ ? अहिले सबैको राजनीतिक सहमतिमा प्राप्त संविधान, गणतन्त्र आदि संस्थागत हुँदै गरेका उपलब्धिहरूको नियति के हुन्छ ? पक्कै पनि हामी कसैले फेरि यो मुलुकलाई लामो सशस्त्र द्वन्द्वमा लान चाहेको होइन होला । मुलुकमा भाँडभैलो मच्चाउन खोजेको होइन होला । फेरि रगतको खोलो बगाउन चाहेको होइन होला । त्यसैले हामी के भनिरहेका छौं भने यसरी एक–एक गरेर होइन, समग्रमा... !
होइन, यो त एउटा केटाले एउटी केटीलाई मन पराएर अन्तर्जातीय विवाह गरेको घटना र त्यससँग जोडेर गरिएको अपराधको कुरा होइन र ? यसलाई द्वन्द्वकालको राजनीतिक मुद्दा हो भनेर एउटै धोक्रोमा हाल्न मिल्छ र भन्या ?
कसले भन्यो तपाईलाई यो कुरा ? ... सर्वोच्च अदालतले नै स्वीकार र प्रमाणित गरिदिइसक्यो अनि ? ... सर्वोच्च अदालत नै सबैथोक होइन । राजनीतिक गणित मिलाउने, राजनीतिक मुद्दा निरुपण गर्ने राजनीतिक तरिका र सुत्रहरू हुन्छन् । अघि मैले जवाफ दिँदै थिएँ, तपाईले पूरै कुरा नै सुन्नुभएन । हामीले अदालतको अपमान गर्छौं भनेका पनि छैनौं । कानुनी राज्यको उपहास नहोस् भन्नेमा पनि हामी सचेत नै छौं । तर, हाम्रो भनाइ कति मात्र हो भने, हामी भन्दै छौं, सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो काम नसकुञ्जेल यसरी नानाथरि निकायबाट द्वन्द्वकालका मुद्दालाई जथाभावी गिजोल्ने काम नगरियोस् ।
पाँचौ जिज्ञासाका लागि निर्धारित समय पुगेन । कमरेडहरूलाई अर्कै कार्यक्रममा पुग्नुपर्ने हतारो भयो । जिज्ञासा चाहिँ के थियो भने, तपाईहरू गरिब, सर्वहारा वर्गको नेतृत्व गर्छौं भन्नुहुन्छ । उनीहरूको उत्थानका लागि राजनीति गरेको भन्नुहुन्छ । पहिले–पहिले त्यस्तै देख्न पाइन्थ्यो पनि । तर, अचेल त्यो एकादेशको कथा भयो । अचेल तपाईहरू पनि अरूले जस्तै आवश्यकताभन्दा बढी सुकिलो–मुकिलो हुनुभयो । सरकारी र अन्य सुविधा भनेपछि मरिहत्ते गर्ने हुनुभयो । पार्टीका लागि उठेको पैसामा भ्रष्टाचारको गन्ध मिसाउनुभयो । राजधानी र सुविधासम्पन्न ठाउँमा नेताका महल ठडिए । चन्दादाता महान् ठान्दै जो पायो त्यही मान्छेलाई पार्टीमा उच्च आसनहरू दिनुभयो । कम्युनिस्ट सिद्धान्तको व्यावहारिक परिपालनामा भन्दा पुँजीपतिको भींड जम्मा गरेर त्यसैमा रमाउन थाल्नुभयो । जनताका घरमा, कम्युनमा बस्ने परिपाटी त्यागेर ठेकापट्टा कमिसनको आर्जन मिठो मान्न थालेको देखियो । तपाईहरूलाई मईला लामा र जेबि टुहुरेहरू जेसुकै गाउन्, जतासुकै जाउन् भने जस्तो लाग्न थाल्यो । जब यिनै कुराहरू गर्नुथियो भने सुरुमा हामी अरूहरूले जस्तो यस्ता आलोचनायोग्य कामहरू चाहिँ गर्दैनौं भनेर किन भन्नुभएको ?
साँच्चै यदि यही भूमिकासहित पाँचौं जिज्ञासा राखिएको भए, प्रवक्ता शर्माले के जवाफ दिनुहुन्थ्यो होला ? मैले त्यसै अनुमानका भरमा भन्ने कुरा आएन । तर, उहाँको जवाफको सारमा के चाहिँ अवश्य जोडिन्थ्यो भने, यस विषयमा हामी प्रशस्त आत्म–आलोचित छौं । तथापि बहुलवादी प्रतिस्पर्धाको राजनीतिमा सबै कुरा हामीले सोचे जस्तो सरल रेखामा हुँदैन । हामीले गल्तीहरूबाट सिक्दै, ती गल्तीहरू नदोहो¥याउने सार्वजनिक बाचा गरेका छौं । अनि, सङ्क्रमणकालीन यो बेलामा सम्पूर्ण देशभक्त र राष्ट्रवादी शक्तिहरूलाई गोलबद्ध गर्दै, प्राप्त उपलब्धिको रक्षा र लोकतन्त्र संस्थागत गर्नका लागि बाँकी राजनीतिक मुद्दा निरुपण गरेर जन–अपेक्षा अनुरूप आर्थिक विकासको कार्य दिशामा अघि बढ्न प्रतिबद्ध छौं ।
यहाँनेर एउटा अर्को जिज्ञासा पनि समीचिन छ । इतिहासमा एक रात, केही दिनपछि आफैं हावाले उडाएर लैजाने कसिङ्गर रुक्माङ्गत कटवाललाई कुचोले नबढारी भएन । घमासान जुँगाको लडाइँ देखाउनुप¥यो । बन्दा–बन्दैको अरुण तेस्रो रोकेर एमालेले र आफ्नै बहुमतको सरकार ढालेर काङ्ग्रेसजनले जुन देशविरोधी हर्कत देखाए, त्यसले मुलुकलाई राजनीतिक–आर्थिक विकासको कोर्समा स्वाभाविक ढङ्गले अघि बढ्न अझै अवरोध गरिरहेकै छ । त्यही स्तरको गल्ती, एकप्रकारले बालहठ भन्न सुहाउने काम नयाँ नेपाल बनाउन चाहने माओवादीले चाहिँ किन गर्नुप¥या थियो ?
यतिबेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सुगर–कोटेड भारत भ्रमणको हट–केकका सन्दर्भमा पार्टीको मुख मिठ्याइ वा चित्त दुखाइ के छ ? सरकार एकपक्षीय ढङ्गले चल्यो भन्ने तपाईहरूको जुन आरोप छ, त्यसमा सरकारबाट माओवादीका मन्त्रीहरू फिर्ता बोलाउने प्लान पनि छ कि ? मधेस आन्दोलनमा पृथकतावादी विचारको मात्रा बढी छ भन्ने तपाईहरूको ठहरको आधार के हो ? वैद्य, मातृका, विप्लव आदि संरचना फेरि माओवादीमै टाँसिन आउने भनिएको एक साताको समय कहिले पूरा हुन्छ ? एकीकरण साँच्चै हुन्छ कि राजनीतिक फन्डा मात्र हो ? वैद्य माओावादीसँग सम्मिलित हुन तपाईहरू बढी लालायित हुनुहुन्छ कि उहाँहरूमा त्यस्तो लालसाको मात्रा बढी छ ? एकातिर चुलो छुट्टिएकालाई जोड्न तपाईहरू आतुर भइरहनु भएको छ तर अर्कोतिर चुलो छुट्याएर जानेहरूको सङ्ख्या पनि उत्तिकै छ, अनि ? नयाँ शक्तिका नाममा माओवादीबाट पहिरो जाने क्रम किन रोक्न नसक्नु भएको ? बाबुरामजीसँग पनि एकीकरण हुने कुनै सम्भावना छ कि ? मुलुकमा तपाईहरूले भन्दै आएको राजनीतिक सङ्क्रमण–काल कहिले सकिन्छ ? आर्थिक विकासको चाहनाले कहिले गति लिन्छ ? नेपाली युवाहरू २०–२५ हजार रूपैयाँ तलबका लागि खाडी जाने क्रम भङ्ग कहिले हुन्छ ? समकालीन ताजा समाचार अर्थात् ‘हि सेड, सि सेड’ जर्नालिज्मका लागि यति प्रश्नहरू नै पर्याप्त थिए ।
कमरेड छक्क पर्नुभयो, असामयिक भनिदिए हुने भन्ने लागिरहेका ‘फरक’ प्रसङ्ग कोट्याउँदा । तपाई कुन पत्रिकाको हो ? कमरेडलाई खसखस लाग्यो । अहिले कुनै पत्रिकामा छैन तर म लामो समयदेखि सुनसरी क्षेत्रमा रहेर पत्रकारिताको गतिविधिसँग सम्बन्धित छु । तपाईका यहाँका साथीहरूले मलाई चिन्नुहुन्छ । यति भनेपछि कमरेड आश्वस्त हुनुभयो, बिना सन्दर्भ बालकृष्ण ढुङ्गेलको प्रश्न उठाउने मान्छे कम से कम ‘र’ को एजेन्ट वा नयाँ शक्तिको प्रवक्ता चाहिँ होइन ।
अहिलेको दिल्ली अर्थात् ऊ बेलाको हस्तिनापुरमा युधिष्ठिर र भाइहरू सत्य, न्याय र शान्ति स्थापनाको मार्गमा थप अघि बढ्नुअघि यक्षरूपी जनताले (जनता भनेका राजनीतिक दलका भाग्य निर्माता हुन्, भगवान् हुन् भनिएको सन्दर्भमा ।) परीक्षा लिएका थिए । परीक्षामा ‘मान्छेको सच्चा मित्र को हो ?’ लगायत यक्ष–प्रश्नहरू सोधिएका थिए । नेतृत्वले ती प्रश्नको यथोचित जवाफ दिएपछि मात्र पाण्डवहरूका लागि जारी धर्मयुद्धमा विजयी हुने बाटो खुलेको थियो । यता, उहिलेको त्रिपुर (भक्त, कान्ति, ललित) अर्थात् अहिलेको बृहत् नेपाल–मण्डलको सेरोफेरोमा यो लेखाइको पाश्र्व र अन्तर्यमा माओवादी पनि त्यही सङ्घारमा उभिएको छ । नेतृत्वको जवाफले जनताको चित्त नबुझुञ्जेल कमरेडहरूले थप अघिल्लो यात्राका लागि बोर्डिङ–पास पाउनेवाला छैनन् । प्रवक्ता र अध्यक्ष कमरेडले महाभारतको प्रस्तुत ‘मिथक’को अर्थ बुझ्नुभएकै होला । अन्यथा उहाँहरू वा अरू कसैले यो टेक्नोलोजीको जमानामा नबुझिएका कुराहरू गुगल दाइलाई सोध्दा हुन्छ ।
स्पष्टीकरण – यहाँनेर सम्झेर लेख्ने बेलामा शब्दहरू केही तल–माथि परेका हुनसक्छन् तर उल्लिखित सन्दर्भका जिज्ञासा तथा पात्रहरू कुनै पनि काल्पनिक होइनन् । कसैलाई काल्पनिक लागे त्यो संयोग मात्र हुनेछ ।
०००
bisnuprasad.bg@gmail.com
कविता
कविताको सीमान्त
– सुविद गुरागाई

थपक्क सडकमा सुतेको थियो
उत्तानो परेर मरेको मान्छे
अनुहारमा रातो पोतिएको थियो
आफू जितेर आएको योद्धाको नासिका वरपर
च्यापच्याप आलो रगत
कसैले दलेको होइन
आलो वंशाणु र क्लोनको अद्भूत क्षमतामा
कमिला आएर लत्पतिन बाँकी थियो
नापिरहेका थिए नीला बर्दीवालहरू
मृत्युदेखि खाल्डोसम्मको दूरी
थपक्क जहाँ टिपर अधकचल्टिएको थियो

भर्खरै मेरा केही शुभेच्छुकहरू
बेखबर त्यहींबाट पूर्व लागेका थिए
म पनि छेऊ हुँदै आएँ
तर, कसैलाई थाहा भएन ऊ
धरानबाट हतारिएर कहाँ हिँडेको थियो ?
तर, उसलाई देख्नासाथ मैले थाहा पाएँ
भर्खर छ अर्बको विश्वबाट घट्यो एउटा पाठक
खलासीको पुरुषार्थले
अझै थुप्रै दिन मोटरसाइकलमा
हिँड्नुपर्ने यात्रा रोकियो ।
फेरि एउटा अर्को गल्ती
फेरि एउटा अर्को खेल समाप्त
सिद्धान्तका लागि आत्मा नमरे पनि
रहनुपर्ने थियो बाँकी अझै केही दिन
कोही जीवित हुँदा अरूलाई आउने आनन्द
घट्यो कविता पढ्ने एक जना पाठक ।

अहँ ! हुँदैन, यो क्रमभङ्ग गरौं
कारण चाहे जेसुकै होस्
शब्दहरूको अकाल मृत्यु रोकौं यार !
बचाऔं पाठक
नत्र यसरी त
हाम्रो अभिव्यक्ति पनि मर्छ एकदिन
र, समस्या हुन्छ कसका लागि लेख्ने ?
०००
bisnuprasad.bg@gmail.com

एक युगमा एक दिन

– सुविद गुरागाई

आधा गिलास भरियो
आधा बाँकी छ
आधा माग पूरा भो
आधा सङ्घीयता आयो
आधा गणतन्त्र संस्थागत भो
आधा मधेस आयो
आधा लिम्बुवान पाइयो
आधा थरुहट हुने भो
आधा मगरात मिल्यो
आधा किरात बहसमा आयो
आधा स्वार्थ सतहमा आयो
आधा इच्छा पूरा भो
आधा बहिस्करण हट्यो
आधा अधिकार लिइयो
आधा चित्र कोरियो
आधा खोला तरियो
आधा बाटो हिँडियो
आधा बाँकी छ ।
...
एक युगमा एक दिन
उत्सव मनाउन राज्यले
बाइबल प्रार्थना गर्न भनेन
कुरान पढ्न भनेन
त्रिपिटक सुनाउन भनेन
गीता बाँड्न पनि भनेन
हिन्दू संस्कार आत्मसात गर्दै
दीपावली गर्न भन्यो
आकासदीप बाल्न भन्यो
रातो अबिर लगाउन भन्यो
आधा मनले कुरा बुझ्यो
आधा हिन्दू राष्ट्र देखियो
आधा बाँकी छ ।
...
पृष्ठभूमिमा जोजो नाचे
उनीहरूमध्ये आधा
जनआन्दोलनमा सहभागी थिए
आधा थिएनन्
सङ्घीयता प्रस्ताव गर्नेहरू
आधा समर्थनमा
आधा बिरोधमा छन्
स्वतन्त्रता पूर्ण छैन
आधा बाँकी छ
आधा पहुँच पुग्यो
आधा पहिचान खुल्यो
आधा चित्त बुझ्यो
विधान सर्वस्वीकार्य भएन
आधा नयाँ नेपाल देखियो
आधा कविता भनियो
आधा बाँकी छ ।
०००
bisnuprasad.bg@gmail.com

धैर्यको बाँध फुट्नुअघि
– सुविद गुरागाई

धैर्यको बाँध फुट्न बाँकी छ । तर, त्यस्तो सम्भावना टिलपिल हुँदै छ ।
२०६५ भाद्र २ गते सप्तकोसीको बाँध (तटबन्ध) फुटेको सम्झन्छु । एक साताअघि पश्चिम कुसाहास्थित तित्रिगाछी तालनजिकै कोसी कटान सुरु भएको सूचना पठाए भान्टाबारीस्थित हाम्रा संवाददाता सज्जाद आलमले । म इटहरीबाट प्रकाशित हुने ‘जनलक्ष्य’ दैनिक समाचारपत्रको सम्पादकले पत्याइनँ त्यसलाई । कोसीको बाँध त्यति सजिलै के फुट्छ होला भन्ने लाग्यो । अनि, ‘जनजीवन आतङ्कित हुनसक्ने’ ठानेर समाचार प्रकाशित नगर्ने निर्णय गरें । दुई दिनपछि सज्जादले फोन गरेर ‘समाचार किन नछापेको दाइ ? कटान तटबन्धमा आइपुग्न अब सय मिटर पनि बाँकी छैन,’ भन्दै गुनासो गरे ।
त्यसपछि मेरा कान ठाडा भए । कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय छेउ घर भएका राजकुमार सिंहलाई फोन गरेर क्रस–चेक गरें । उनले पनि पाँच दिनदेखि कटान जारी रहेको जानकारी दिए । कटानले तित्रीगाछी ताल छोइसकेको, बाँध छेउका बासिन्दामध्ये केही विराटनगर, इनरुवा, लौकहीलगायत सुरक्षित स्थानमा पुगिसकेको बताए । केही स्थानीय बाँधमा रहेका गाछीहरू तारले एक–आपसमा बाँधेर क्षति कम होस् भन्ने उपायमा लागेको, प्रायः घरमा आफ्नो थाँतथलो छोडेर अन्त जान नमान्ने बुढाबुढी र केही भाग्नसक्ने युवाहरू मात्र भएको उनको भनाइ थियो ।
समाचार छापें । तर, प्रहरी उपरीक्षक यादवराज खनाल, प्रमुख जिल्ला अधिकारी दुर्गा भन्डारी, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीलगायत सरोकारवालाहरूले ‘बाँध फुट्ने’ कुरा पत्याएनन् । बरू अधिकारीहरू समाचार गलत भएको भन्दै ‘खण्डन गर्ने’ मनस्थितिमा देखिए । सदरमुकाम इनरुवास्थित पत्रकारहरू वीरेन्द्र केएम, इकवाल अहमदलगायतसँग प्रजिअ भन्डारीले ‘तपाईहरूले जनतामा भ्रम सिर्जना हुने गरी यस्तो नचाहिँदो समाचार नलेख्नुपर्ने, तपाईहरू अन्तर्यामी हो,’ भनी गुनासो गरे । इकवालले पठाएको कोसी बाँध फुट्न लागेको जानकारी इमेज रेडियोबाट प्रशारण भएपछि गृह मन्त्रालयबाट सुनसरी प्रशासनलाई दबाब परेको रहेछ । अधिकारीहरू त कोसी फुट्दैन भन्नेमा कतिसम्म विश्वस्त देखिए भने त्यही दिन १० बजेतिर विराटनगरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर मोहन भट्टराई, प्रजिअ भन्डारी, उपरीक्षक खनाललगायतको टोली कोसी ब्यारेज पुलमा भेला भए । सुनसरीका कृष्ण जुनेली, सप्तरीका जितेन्द्र खड्गालगायत पत्रकारहरू पनि रिपोर्टिङका लागि ब्यारेज पुगेका थिए । भारत सुपोलका डिएम सरिफ आलम तथा कोसी प्रोजेक्टका केही इन्जिनियरहरू पनि आएका थिए । दुई देशका सरोकारवालाहरूबीच बैठक भयो ।
बैठकपछि नेपाली पक्षलाई आश्वस्त पार्दै पत्रकारहरूलाई इन्जिनियर भट्टराईले ब्रिफिङ गरे, ‘कोसी बाँध फुट्ने सम्भावना छैन । कटान भइरहेको स्पोर नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । टोलीले केही घण्टामै स्थिति नियन्त्रणमा लिनेछ । कोसी ब्यारेज र तटबन्धको पानी नियन्त्रण र बहाव क्षमता साढे तीन लाख क्युसेकभन्दा बढी छ । अहिले एक लाख ८६ हजार क्युसेक पानी भएको बेला कोसी तटबन्ध फुट्छ भन्ने अनुमान गलत हो ।’
इन्जिनियरको दाबीपछि वस्तुस्थिति र अधिकारीहरूको खण्डनबारे कृष्ण जुनेलीले एभिन्युज र अरू पत्रकारले आ–आफ्नो मिडियामा टेलिफोन लाइभ गरे । सबै फर्किने तयारी गर्दै थिए, कोसी ब्यारेज प्रहरीलाई तित्रिगाछीमा सिपेज बढेर पानीले तटबन्ध नाघिसकेको जानकारी आयो । सब भगाभाग भए । इन्जिनियरहरू भारतको वीरपुरतिर लागे । प्रजिअको टोली हतार–हतार कोसीटप्पुतिर हानियो । पत्रकारहरू पनि लाखापाखा भए । दिउँसो साढे १२ बजेको थियो ।
तित्रिगाछी ताल नजिकै रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय परिसर छेउ र बाँध क्षेत्रमा मान्छेको ‘मेला’ लागिसकेको थियो । चरा–चुरुङ्गी र आरक्षका जीव–जनावरहरूको आर्तनादले पूरै वातावरण कोलाहलमय बनेको थियो । ब्यारेजबाट प्रहरी–प्रशासनको टोली त्रासद् रमिता हेर्न घटनास्थल भर्खर पुगेको थियो । नेपाल टेलिभिजनका संवाददाता कृष्ण भट्टराई भुल्केली एउटा रुखमा चढेर पानीले धक्का दिँदैगरेको दृश्य रेकर्ड गर्दै थिए, तटबन्ध फुटिहाल्यो । पानी पूर्व–दक्षिणतिर बस्तीक्षेत्रमा जताततै फिँजारिन थाल्यो । नजिकै एक जना स्थानीय कुन्युबाट पराल तान्दै थिए, केही सेकेन्डमै उनी पानीमा पौडी खेल्न थालेको दृश्य क्यामेरामा कैद भयो । पछि उनी मरे, बाँचे ? केही थाहा भएन ।
कटान यति तीव्र थियो कि दुई मिनेटमै करिब ५० मिटर वर रहेको रुख तल पानीको धार आइपुग्यो, जसमा पत्रकार भुल्केली चढेका थिए । विचरा हत्तपत्त उत्रिए र सप्तकोसी एफएमका संवाददाता राम प्रधानसँग मोटरसाइकलमा नौ–दुई एघार भए । सम्भावित जोखिम व्यवस्थापनका लागि वस्तुस्थिति बुझ्न गएका अधिकारकर्मीहरू राजेन्द्र पोखरेल र भेषराज आसे बाँधछेउ पुगेका मात्र के थिए, पानीको मुस्लो उडेको देखेर सातोपुत्लो गयो ।
दिउँसो दुई बजेको थियो । अहिल्यै र यति सजिलै फुट्दैन होला भन्ने ठानिएको कोसीको बाँध हेर्दा–हेर्दै फुट्यो । त्यही–बेला रेडियोमा सशस्त्र द्वन्द्वका नाइके पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको समाचार प्रसारित हुँदै थियो ।
त्यसपछि के भयो ? कति मान्छे मरे, कति क्षति भयो, कति विस्थापित भए ? राहत र उद्धारको काममा कति विलम्ब र चलखेल भयो ? सबै तपाईको रेकर्डमा छँदै छ । यही घटना छिमेकी चीनमा भएको भए २४ घण्टाभित्र बाँध र सडक जस्ताको त्यस्तै भइसक्थ्यो । हामीलाई भने भत्किएको तटबन्ध र राजमार्ग टाल्न पाँच वर्षभन्दा बढी समय लाग्यो । लाग्यो के भन्नु अझै नेपाली जनजीवनमा त्यसको बाछिटा बाँकी नै छ ।
त्यसअघि धरान, इटहरी, भेडेटारतिरका कोही राई, लिम्बू वा बाहुन–क्षेत्रीका छोराछोरी हरिनगरा पुगेर सकुसल फर्किएलान् कि नफर्किएलान् भन्ने त्रास थियो ‘मधेस’मा । प्रतिक्रियामा देवानगञ्ज, घुस्की, नरसिंहतिरका मेहता र यादवहरू बराहक्षेत्र दर्शन गरेर फर्किन सक्दैनन् होला भन्ने भय पनि उत्तिकै थियो ।
कुराको उठान यसरी भयो । २०६४ माघ ५ गते लहान राजमार्गमा गोली चल्यो । रमेश महतो सहिद भए । त्यसपछि मधेस आन्दोलन चर्कियो । राजनीतिक उद्देश्यको आन्दोलनमा साम्प्रदायिक उग्रता यसरी थपियो कि त्यसले सनातनदेखि मिलेर बसेका मधेसी र पहाडे मूलका भनिएका दाजुभाइ, दिदीबहिनी, मितबा–आमा र छोराछोरीबीच फाटो बनाइदियो । सडकमा रूख ढालेर, टायर बालेर अधिकार माग्ने क्रममा जातीय द्वन्द्वको आगो पनि सल्काइयो ।
स्थिति काबुबाहिर जान उद्यत हुँदै थियो । म हाम्रो समाज पहिलेकै जस्तो शान्त र घृणामुक्त कसरी होला भन्ने सोच्दै थिएँ । कहिलेकाहीं प्रकृतिले पनि मनको कुरा बुझ्छ जस्तो लाग्छ । त्यही–बेला मधेस आन्दोलनको दुस्प्रभावले बाटो बिराउनुअघि कोसीको पानीले आफ्नो धार परिवर्तन ग¥यो । हिमालको चीसो पानी जति–जति तातिएको मधेसी बस्तीमा थपिन थाल्यो, उति–उति सहयोगी र उद्दारकर्मीहरू जुट्दै गए । त्यसरी उद्दारका लागि घटनास्थल पुगेका सेना, प्रहरी, अधिकारकर्मी, पत्रकार, राहत बोकेका, खटिएका अधिकतर हातहरू पहाडे मूलका थिए । सुष्मा कोइराला मेमोरियल ट्रस्टकी सुजाता कोइराला कता–कताबाट एक ट्रक चामल, तेल र सारीहरू मागेर, जम्मा गरेर राहत बाँड्न इनरुवा आइपुगिन् । सबभन्दा पहिले विराटनगरबाट मारवाडी समुदायका मानिसहरू राहत लिएर आए । तर, उपेन्द्र यादवहरू भने महिना बित्न लाग्दा पनि राहत बोकेर कटान क्षेत्रमा आएको समाचार लेख्न पाइएन ।
तिनै दिनमा मधेसतिरका भूमिपुत्र, पीडितहरूले बुझे, मधेस आन्दोलनलाई जातीय विद्रोह वा काठमाडौंमा हुने भनिएको ‘भैया’ मार्का व्यवहारगत असन्तुष्टिसँग जोड्नु गल्ती भइरहेको रहेछ । ‘हामीले आफ्नो छिमेकमा बस्ने दाजुभाइहरूप्रति गलत धारणा बनाइरहेका रहेछौं,’ उद्दार कार्य हुँदै गर्दा धरानबाट कटान पुगेर पत्रकार सीता मादेम्वाले बिबिसि नेपाली सेवामा गल्ती अनुभूत भएको स्थानीय आवाज मिसाइन् ।
बिस्तारै मधेसमा जलकुम्भी झारझैं फैलिन लागेको जातीय घृणा र द्वन्द्व घट्दै गयो । पहाडे समुदायका छिमेकीलाई भाग्न बाध्य पारेपछि समाज ‘एक्लो’ र ‘खल्लो’ भएको, विकासको पारो निकै तल झरेको अनुभव राजविराजतिरकाहरूलाई भयो । फर्केर आउने पहाडे समुदायका मान्छेहरूलाई फुलमाला लगाएर स्वागत गरिने अभिव्यक्तिहरू सार्वजनिक भए । हार्दिक निम्तो पाएपछि कतिपय छिमेकीहरू बाबु–बाजेले तराईको जङ्गल फाँडेर आर्जिएको पुरानो थाँतथलो फर्किए । जनजीवन सामान्य अवस्था उन्मुख भयो ।
भन्नु उसो होइन, कोसी तटबन्ध भत्किँदा नेपाल र भारतको बिहारमा अपुरणीय धनजनको क्षति भयो । तर, मलाई अझ पनि लागिरहेकै छ, अकल्पनीय त्यही दुर्घटनापछि हो, मधेसमा मर्दाका मलामी र ज्युँदाका जन्ती फेरि सँगसँगै हुनथालेको ।
त्योभन्दा केही वर्षअघि च्छो–रोल्पा ताल फुट्ने व्यापक हल्ला चल्यो । भनिन्छ, सबैथोक लुकाउने ठाउँ हुन्छ, डर लुकाउने ठाउँ हुँदैन । हल्लाको प्रभाव यति तीव्र प¥यो कि तल कोसी किनार प्रकाशपुर, राजाबासतिरका बासिन्दा धमाधम सस्तोमा जग्गा बेच्दै विराटनगर, इटहरीतिर बसाइँ सर्दै गरे । केहीले मरे पनि यहीं मर्ने हो भन्दै खसी–बोका, सुँगुर, पाडा काटेर ‘अन्तिम’ भोज खाए–खुवाए ।
म समाचारपत्रको जल्दोबल्दो रिपोर्टर थिएँ । स्थलगत रिपोर्टिङ गर्दागर्दै यति त्रस्त भइसकेको थिएँ कि कथम्कदाचित् राजाबासमा बाँध फुटेर पानी इनरुवासम्म आइहाल्यो भने कम्मर–कम्मरसम्म होला, त्यो बेला जोगाउनुपर्छ भनेर दराजको तल्लो खण्डमा राखिएका महत्त्वपूर्ण फायल, कागज र फोटोहरू माथिल्लो खण्डमा सारेको थिएँ ।
धन्न ! विदेशबाट आएकासहितका विशेषज्ञले तालमा तल दुलो पार्न सफलता प्राप्त गरेको अर्को समाचार सुन्न पाइयो । अकल्पनीय खतरा तत्काललाई ट¥यो । तर, अझै पनि बिबिसिले सम्झाउँदै छ, च्छो–रोल्पा ताल कुनै पनि बेला फुट्न सक्ने डर पूर्णतया हटिसकेको छैन ।
२०७२ वैशाख १२ गते प्रलयकारी भुइँचालोले पहाडको जग नराम्ररी हल्लायो । यस्तै बेलामा हो छिमेकीले छिमेकीलाई सम्झिने । मधेसका साथीहरू राहत सामग्रीसहित पहाड उक्लिए । यो दृश्य सामाजिक सद्भाव बिगारिएको–बिग्रिएको स्थिति सामान्य हुँदै गएको यथार्थ झल्काउने एउटा कोसेढुङ्गा थियो ।
तर, यस्तो सामाजिक यथार्थ र आवश्यकताविरुद्ध फेरि उचालिँदै छन् मान्छे । अनेकखाले डर र चिन्ता थपिँदै छन् । बीचमा पानी धमिलो बनाएर माछा मार्न पल्केकाहरू फेरि सक्रिय हुँदै छन् । निकै लामो समयसम्म तुस रहने द्वन्द्वमा धकेलेर, मिलेर बस्न चाहिरहेको समाजलाई डुबाउन खोजिँदै छ । फेरि कोसी बाँध फुट्नुपूर्वको अवस्थामा पुग्दै छौं हामी । समाजको वस्तुगत यथार्थ विश्लेषण र चिन्तनको खडेरी बढ्दै छ । भड्काउन र भड्किन चाहनेहरूको मात्रा थपिँदै छ । अमुक जातिलाई सोझो भन्दै उचाल्ने र थेचार्ने कसरतबाजहरू पाखुरामा तेल घसेर सुरिँदै छन् । यस्तोमा कुनै पनि जातिको भावना र धैर्यको बाँध भत्किन बेर लाग्दैन ।
तर, कुनै पनि वस्तु, क्षेत्र, विचार, सिद्धान्त र सपना सीमाहिन हुँदैन । जेको पनि एउटा निश्चित समय र सीमा हुन्छ । यद्यपि टीकापुर, रौतहट, सुर्खेत, भारदहमा भएका पछिल्ला घटनाक्रमले अझै मान्छेको चेत खुलेको देखिँदैन । आफ्नो ठाउँमा उही पुनरावृत्ति गराउन उद्यत छन् मान्छे । लाग्छ, कुनै नरमेध यज्ञको तयारी जोडतोडले चलिरहेको छ । आगोमा घिउ थप्नेले थपिरहेका छन् । सङ्घीयताका नाममा असन्तोष र हिंसा मच्चिएको छ ।
सारमा, परिस्थितिमा फुकाउन निकै समयलाग्ने गाँठो पारिँदै छ । इटहरी र कोसी ब्यारेजमा लिम्बुवान चाहनेहरू चोक कब्जा गर्छन्, झन्डा गाड्छन् । झुम्का, दुहवीमा थारुवान स्वायत्त राज्यको बोर्ड र पाल टाँगेर मान्छे बसेका छन् । इनरुवामा मधेस प्रदेसका लागि झाडु, लाठी र पुतला जुलुस जारी छ । मात्र १८ किलोमिटरको सेरोफेरोमा देखिएको यो ‘रामलीला’ कहिले सकिन्छ ? न रमितेलाई थाहा छ, न अभिनयकर्ता, न निर्देशकलाई थाहा छ । यस्तो पृष्ठभूमिमा आम नेपालीको धैर्यको बाँध फुट्न अब धेरै दिन बाँकी छैन । तर, कहिले कुन रूपमा कसरी फुट्छ र त्यसको परिणाम कति भयावह हुन्छ ? आँकलन गर्न गाह्रो छ । यद्यपि अहिलेको परिस्थिति विचार गर्दा त्यो दिन नजिकिँदै छ जस्तो लाग्छ । तराई, मधेस, भित्री मधेस, पहाड, उपत्यका, हिमाल, पठार जताबाट फुटे पनि अति भएपछि धैर्यको बाँध फुट्छ । यो द्वन्द्वको विज्ञानसम्मत नियम नै हो । तर, यो कुराबाट बेखबरहरू अलिकति धक्का दिँदैमा के फरक पर्ला र ! भन्ने बालहठ समातेर बसेका छन् ।
विडम्बना यसरी कसैले जनताको धैर्यको बाँध फुट्नै लागेको छ भन्दा धेरैले पत्याइरहेका छैनन् । लाग्छ, उनीहरू अज्ञात प्रलयको प्रतीक्षामा छन् । तर, जसलाई जेको प्रतीक्षा भए पनि म विश्वस्त छु, नेपाली जनताको धैर्यको बाँध फुट्छ एकदिन । त्यसपछि को कहाँ पुग्छन्, के हुन्छ, अहिले नै कसरी भन्नु ?
यहाँनेर एउटा अर्को जिज्ञासा पनि समीचिन छ । कि, हामी यसरी जानी–नजानी अझ कतिपटक सामाजिक सद्भावको दहमा ढुङ्गा फाल्दै जाने ? त्यसरी मैलिएको एकताको पानी पुनः सङ्लो बनाउन र जातीय सद्भावको महत्त्व बुझाउन अमुक नदी, पोखरी र तालको बाँध कतिपटक फुट्नुपर्ने हो ? कतिपटक भुइँचालो जानुपर्ने हो ?
...

bisnuprasad.bg@gmail.com




खोजेको हामीले के हो ?
– सुविद गुरागाई

‘खोजेको हामीले के हो ? सोचेको हामीले के हो ?
यो हो कि अथवा त्यो हो ? रोजेको हामीले के हो ?’
साँच्चै खोजेको हामीले के हो ? अहिले सडकदेखि सदनसम्म जे–जस्तो जनमत सङ्कलित हुँदै छ, के त्यो आफ्नो उद्देश्यमा प्रष्ट छ ? सडकमा देखिएकामध्ये बहुदा मानिसहरूको मनमा छ, छोराछोरीहरूले राम्रो पढ्न पाएनन् । उनीहरूको भविष्य बिग्रिने भो । फेरि त्यही मनमा शिक्षकहरूले विद्यालय बन्द गरिदिएनन् भन्ने गुनासो पनि छ । बाल अधिकार आत्मसात गर्नुपर्छ, बालबालिकालाई राजनीतिक उद्देश्यले प्रयोग गर्नु हुँदैन भन्ने हामी हरेकलाई थाहा छ तर अमुक राज्यको सिमाना हेरफेर गराउन हामी नै बालबालिकाको अर्धनग्न जुलुस निकाल्छौं ।
बन्द कुनै पनि अर्थमा ठिक होेइन, बन्द सदाका लागि बन्द गरौं भन्नेहरूको बहुमत छ । तर, त्यसैभित्र बन्दको मौन समर्थन गर्नेहरूको सङ्ख्या कम छैन । कहिले सङ्घीयता चाहिन्छ भन्ने कहिले अखण्डता हाम्रो लक्ष्य हो भन्ने गोलचक्करमा घुमिरहेको छ, ‘एक युगमा एक पटक आउने’ भनिएको संविधान निर्माणको पटकथा । यसरी समाजमा जताततै अलमलै अलमल व्याप्त किन छ ? के पटक–पटकको आन्दोलन र बलिदानको प्रतिफल हामीले चाहेको यही हो ? सडकमा हात बनाएर ‘देखियो तिम्रो नयाँ  नेपाल पनि,’ र ‘बरु पुरानै नेपाल ठिक थियो,’ भन्ने अभिमत किन थपिन थालेको छ ?
‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक,’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्प्रेरणाले वर्षौं बितिसक्दा पनि नेपाली मनलाई नछोएको किन ? मुलुक समृद्ध बनाउने लक्ष्य, सपना नेपाल बन्दको अनपेक्षित रिहर्सलले सफल हुन्छ ? पटक–पटक बलिदान र सत्ता परिवर्तन गर्न गराउन सक्ने हाम्रो क्षमतामा प्रश्नचिन्ह किन बाक्लिँदो छ ? हामी दिशाहीन यायावर कहिलेसम्म हुने ? कुहिरोको काग भएर सँधै हावामा गोता खाइरहनु हाम्रो अभीष्ट हो ? होइन भने ‘निश्चित लक्ष्य नभएको मानिस साँच्चै बाँदर जस्तै हुन्छ,’ भन्ने लक्षणा–अर्थ चरितार्थ गर्दै हामी आफूमा कस्तो प्रवृत्ति हुर्काउँदै छौं ?
जनताले चाहेको सङ्घीय लोकतान्त्रिक नेपालको नयाँ संविधान बन्ने, घोषणा गर्ने तिथि किन सरेकोस¥यै गर्छ ? मुलुकका जिम्मेबार तथा जनताप्रति उत्तरदायी भएको दाबी गर्ने राजनीतिक दलहरू किन विषयको जटिलताप्रति साँच्चिकै गम्भीर हुन सकिराखेका छैनन् ? राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, नैतिक सवालमा जनता र मुलुकलाई समृद्ध बनाउने खाका कोर्ने काममा किन खेलाँची भइराखेको छ ? सकेसम्म समय लम्ब्याउने, तन्काउने र अरूलाई आफ्ना एजेन्डामा लतार्ने पट्यारलाग्दो बाघचाल खेल किन चलिरहेको छ ? विडम्बना हामी त्यही विलम्बताको आत्मरतिमा रमाइरहेका छौं ।
हामीलाई आफ्नो गाउँ–ठाउँ, आफ्नो मुलुक समृद्ध बनाउन औधि मन छ, सँगसँगै विदेशमा काम गर्न जान पाइएन, पासपोर्ट–भीसामा छुट पाइएन भन्ने चित्त–दुखाइ पनि उत्तिकै छ । यस्तो पृष्ठभूमिमा हाम्रो यो निःशुल्क राम–रमिता हेराइको क्रमभङ्ग कहिले होला ? हामी पलपल महत्वपूर्ण समय किन खेर फालिरहेका छौं ? के हामीलाई थाहा छैन, ‘जसले समयलाई बर्बाद गर्छ, त्यसलाई समयले बर्बाद गर्छ,’ भन्ने ? कि हामी हाम्रो राजनीतिक संस्कार र समाजिक व्यवहार अरूले समृद्ध बनाइदेला भनेर पर्खिराखेका छौं ? होइन भने आज हामीले हामीलाई यसरी प्रश्न गर्नुपर्ने अवस्था किन आइलागेको छ ?
संसारमा कुनै पनि आमूल परिवर्तन र समृद्ध समाजको निर्माण जनता नताती भएको थाहा छ ? प्रतिक्षा गर्नेले तिनै कुराहरू मात्र पाउँछन्, जो अगाडि जानेले छोडेका हुन्छन् भन्ने सुन्नुभएको छ ? बाटोे, घर, समाज र देश आफूले चाहेअनुकूल बनाउने आफ्नो दायित्व भुलेर हामी कतै अरूप्रति अनावश्यक निर्भर त भइरहेका छैनौं ? हामीले प्रयोग गर्ने बाटोमा किन खाल्डाखुल्डी परेको छ ? सवारीवाला, पैदलयात्री, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग आदि सरोकारवालाहरू किन आ–आफ्नो भूमिकामा सही तरिकाले प्रस्तुत हुन सकेका छैनन् ? बनाउनुपर्ने सडक, पुल किन समयमै बन्दैनन् ? सडकपेटी प्रयोग गरेर किन पैदलयात्रीहरू आरामले आफ्नो गन्तव्यमा जान पाउँदैनन् ? भएका जेब्राक्रसबाट हिँड्न किन चाहँदैनन् मान्छेहरू ?
सडकको यो उदहारण किन हाम्रो सदनमा पनि मिल्छ ? हाम्रा राजनीतिक नेतृत्व र पार्टीहरू किन हामीले सोचेजस्ता हुन सकेका छैनन् ? किन जुन जोगी पनि कानै चिरिएका मात्र आउँछन् ? किन हाम्रो समृद्धिको सनातन सपनालाई तुहाइएको छ ? किन हामी यो बेथिति स्वीकार गरिहेका छौं ? हामी कतै ‘सक्छौ प्रतिकार गर नत्र स्वीकार गर’ भन्ने यथास्थितिवादी चिन्तनबाट मनोग्रसित भएका त होइनौं ? फेरि, स्वीकार के गर्ने ? के हामी अक्षम छौं भनेर स्वीकार गर्ने ? हामीले मन मारेका छौं, हार खाएका छौं भनेर स्वीकार गर्ने ? कि हामी सधैं अरूद्वारा शासित हुन योग्य छौं भनेर स्वीकार गर्ने ?
हाम्रो परिसरमा अरूले आहा ! भन्नेखालको फूल रोप्न अझै बाँकी छ किन ? हाम्रो घरआँगन परिसर किन फोहोर व्याप्त छ ? हाम्रा कार्याकक्षहरू किन हामीले चाहेअनुकूल छैनन् ? कर्मचारीहरू किन भ्रष्टाचारमा लिप्त छन् ? घुस लिने–दिने दुवै राष्ट्रका सत्रु हुन् भन्ने दिव्य–उपदेश हामीलाई थाहा छ तर किन घुस दिन्छौं र लिन्छौं ? हाम्रा व्यापारीहरू किन मिसावट र छलीमा मग्न छन् ? हामी सामान किन्नुअघि त्यसको गुणस्तरप्रति किन सचेत छैनौं ? कलमजीवीहरू किन भ्रमजीवी देखिएका छन् ? हामी आफ्नो अधिकार खोज्दा अरूको अधिकारको सम्मान गर्न किन सक्दैनौं ? हामीमा यो चेत र चिन्तन कहिले आउँछ ?
गुट्काको खोल किन डस्टबीनमा छैन ? घरमा होल्डर छ तर त्यसमा बल किन छैन ? बसको छतमाथि मान्छे किन छन् ? थाहा छ, खाना खानुअघि साबुन पानीले हात धुनुपर्छ । तर, साबुन पानी हात हाम्रो व्यावहारिक जीवनमा सँगसँगै हुन किन सकिरहेको छैन ? पान खाएर जताततै थुक्ने बानी किन बनेको छ ? मान्छे नभएको कोठामा पङ्खा–हिटर किन चलिरहेका हुन्छन् ? सडक बत्ती दिनभरि किन बलिरहेको देख्न पाइन्छ । सडक बनाइसकेको पनि हुँदैन, खन्न हतार भइसक्छ किन ? के हामी बिना योजना काम गरिरहेका छौं ? हामी किन साना–ठूला कुनै पनि कुरामा गम्भीर छैनौं ? हामी जहाँ पालो पर्खिनुपर्ने ठाउँ हो, बैंक काउन्टर, बसस्टप, अस्पताल आदिमा हतार गर्छौं तर समाज तथा राजनीतिक यथास्थिति परिवर्तन र नयाँ सिर्जनाका लागि हतार गर्दैनौं किन ? ‘यहाँ यस्तै छ’ भनेर किन आफ्नो निरिहतामा गौरव गर्छौँ ? ‘नेपाली समय’ यस्तै हो भनेर हामी आफ्नो गम्भीर भुललाई किन सामान्यीकरण गर्छौंं ?
प्रष्ट छ, हाम्रो पढाइअनुसार व्यवहार मिलेको छैन । गुरुहरू लज्जित र विद्यार्थीहरू दिग्भ्रमित छन् । व्यक्ति एक्लैमा पनि समयमा आएको चेतनाको ठूलो मूल्य हुन्छ भन्ने सत्य हामीले बिर्सिएका छौं । हामीभित्रको स्वाभिमान, मान्छे हुनुको चेत र अन्तरआत्मा ‘कोमा’ उन्मुख छ । यस्तोमा प्रलय पनि आफैं होस् भन्ने चाहना राख्नु गम्भीर गल्ती हो भन्ने हामीलाई कसले बुझाइदिने ? के हामी अरूको इसारामा नाच्नुपर्ने कठपुतली हौं ? होइन भने कसैले धागो बाँधेर हाम्रा हातखुट्टा नचाइरहेको आभास किन भइरहेको छ ?
आफूले आफूलाई परिवर्तन नगरी, सबै खालका बेथितिप्रति प्रश्न नगरी सही जवाफ आउँदैन भन्ने हामीलाई थाहा छ, तर प्रश्न गरिएको छैन । बाहिर जनवादी तर भित्र व्यक्तिवादी नेताहरूलाई खबरदार गर्न सडकमा नओर्ली यथास्थितिबाट परिवर्तन हुन अझै वर्षौ लाग्छ भन्ने चेत हामीमा कहिले खुल्छ ? कक्षामा शिक्षक सिकाउँछ, समाजमा कोही पनि मान्छे दलित हुँदैन, कसैलाई पनि दलित भन्नुहुँदैन, कसैलाई पनि त्यस्तो व्यवहार गर्नुहुँदैन । विद्यार्थी प्रश्न गर्छ, त्यसो हो भने संविधानको अनुसूचीमा केही जातिलाई दलित हुन् भनेर किन उल्लेख गरिएको हो ? के जवाफ दिने शिक्षलले ? सनातनदेखि चलिआएको विकृति निमिट्यान्न पार्न चाहिने वास्तविक जागरण हाम्रो व्यवहारमा आउने कहिले ? त्यसको सट्टामा संविधानको प्रस्तावनामै दलित शब्द लेख्न लगाएर र दलित आयोग नै बनाएर पनाति पुस्तासम्म पनि किन दलित पहिचान र व्यवहारलाई संस्थागत गर्न उद्यत किन छौं हामी ?
‘जवाफै आएन किन ? सोधेको हामीले के हो ?
धमिलो किन छ विचार ? घोलेको हामीले के हो ?’
यतिबेला अनेक प्रश्नहरू सतहमा छन् तर चित्तबुझ्दो जवाफ आएको छैन । अगुवाहरू उत्तरदायी नभएकैले अनुयायीहरू प्रश्नको दलदलमा भासिएका हुन् । अहिले हाम्रासामु प्रश्नहरू तेर्सिएका मात्र छैनन्, तिनका बीचमा घातक स्वीकारोक्ति पनि छ, जुन पृष्ठभूमिमा मेरो गोरूको बाह्रै टक्का भन्नेहरू बढ्दै छन् । मैले भनेको ठिक, अरूले भनेको बेठिक । मैले गरेको तर्क, अरूले गरेको कुतर्क । मलाई भए पुग्छ, अरूलाई जेसुकै होस् । मलाई आफ्नो अधिकारसँग मात्र चासो छ, अरूको अधिकारका लागि अरू नै बोलुन् । यस्तै–यस्तै विरोधाभास बोकेर अखण्डता भए पनि ठिकै ठान्ने सङ्घीयतावादीहरू एकपछि अर्को थपिँदै छन् । एकातिर जनमतको कदर गर्छौं भनिन्छ, अर्कोतिर बहुमत जनताले भनेको मान्ने इच्छाशक्ति देखाइँदैन ।
हाम्रो अहिलेको बढ्दो अज्ञानता र मौनता स्वयम्का लागि घातक छ । तर, यो सवालको गम्भीरता बुझ्न अझ कति दिन लाग्छ ? हामी हाम्रा सपनाहरूको मुख्य आधार संविधान निर्माण गर्ने समय खेर फाल्ने कथित ‘आदरणीय नेता’हरूको तमासा हेरेर कति दिनसम्म मौन बस्ने ? हामी किन स्वीकार गर्ने यो घातकस्थिति ? किन समयछँदै सडकमा आएर खबरदारी नगर्ने ? हाम्रो सदनलाई हामीले खबरदारी नगरे कसले गर्छ ? परिवर्तन सम्भव छ, परिवर्तन हुन सक्छ, परिवर्तन गर्न सकिन्छ भन्ने हामीलाई थाहा छ । तर, परिवर्तन अहिले नगरे कहिले गर्ने ? ‘एक युगमा एक दिन अवश्य आउँछ’ भनेर कति दिन पर्खिने ? अहिले संविधान बन्न नदिन नानाथरी चलखेल भइरहेको छ । तर, त्यसलाई बुझ्न सक्ने ल्याकत हामीमा किन छैन ? प्रतिगमनविरुद्ध जनदबाब सिर्जना गर्ने काममा किन विलम्व भइराखेको हो ? कि हामीलाई नयाँ संविधान चाहिएको छैन ?
नयाँ मुलुक बनाउँछौं भन्नेहरूले बनाएको आठ प्रदेशको खाका केही हप्ता र छ प्रदेशको सीमाङ्कन केही दिन टिक्यो । अहिले पासा फालिएको सात प्रदेशकोे नक्सा कति घण्टा टिक्ने हो ? थाहा छैन । राज्य बनाउने जस्तो विषय भाँडाकुटी खेल भइरहेको छ । यस्तोमा प्रष्ट छ, प्रदेश सीमाङ्कनका प्रस्तावकहरू विज्ञको रायसापेक्ष हुन सकेका छैनन् । अगुवाहरूको राजनीतिक चेत र अभीष्ट अस्पष्ट छ । तर, यस्तो पिपलपाते नेतृत्व र तिनका अनुयायीहरूलाई अहिलेकै अवस्थामा कहिलेसम्म बेहोर्नुपर्ने हो हामीले ? के हामी यिनलाई दण्डित गर्ने क्षमता राख्दैनौं ? अझ कतिदिन भइराख्ने हामी यो बेथितिको साक्षी ? कहिलेसम्म भइराख्ने ‘जो अगुवा उही बाटो हगुवा’ उखान चरितार्थ गर्ने माउतेहरूको पछुवा ?
तराईतिर प्रहरीको गोली थाप्न निहुँ खोज्दै जानेलाई ५० लाख दिने चर्चा चलाइएको छ । आफ्ना छोराछोरीलाई पढ्न विदेश पठाएर (सुरक्षित राखेर) अरूका छोराछोरीहरूलाई मर्न उक्साउन किन उद्दत छन् अगुवाहरू ? यो सीमान्त मुलुकमा सजिलो छ, गरिबलाई ललिपप देखाएर लोभ्याउन । यस्तोमा कुनै ८० वर्ष सक्रिय जीवन बाँच्ने सोचिरहेको युवाले बाँकी जीवन जति मिहिनेत गरे पनि ५० लाख सञ्चित गर्न सक्दिनँ होला भन्ने निष्कर्ष निकाल्यो भने त्यो मुलुकका लागि कति प्रत्युत्पादक हुन्छ ? कति दुर्भाग्यपूर्ण र भयावह हुन्छ यसपछिको दृश्य ?
कहिले पहिचानको तर्क अघि सारिन्छ र भनिन्छ, मधेसमा पहाडको जमिन एक इन्च मिसाउनुहुँदैन । कहिले सामथ्र्यको आधार अघि सारिन्छ र भनिन्छ, तराईलाई चुरे पहाड नभइहुँदैन । बालहठ भने पनि शिखण्डी तर्क भने पनि यस्ता अलमलहरूमा समर्थन जुट्दै जाँदा हात लाग्ने बाँकी सिकाइ उपलब्धि के हो ? कल्पना गरिएको छैन ।
‘सुनेको हामीले के हो ? बुझेको हामीले के हो ?
यो कस्तो लाग्दै छ अर्थ ? बोलेको हामीले के हो ?’
लेखक, प्राध्यापक, डाक्टर बद्रीविशाल पोखरेलले हालै सामाजिक सञ्जालमा आफ्नो एउटा विशेष जिज्ञासा र चित्त–दुखाइ पोस्ट गरे । उनका अनुसार ‘सङ्घीयताबारे अहिले जे–जस्ता आन्दोलन भइरहेका देखिन्छन्, यो अरू केही दिन चलिरहने हो भने यस खालको सङ्घीयतालाई जनताले नै खै कसरी लिने हुन् ? संविधान बन्न नदिन केही नामधारी लेखक लागिपरेका रहेछन् । यस्ता लेखकमा किशोर नेपाल, कृष्ण खनाल, सिके लाल, खगेन्द्र सङ्ग्रौला रहेछन् । यिनले धेरैजसो जनता भड्काउने लेख लेखिरहेका छन्...।’
यसरी मुलुकका स्वनामधन्य प्राध्यापक, लेखक अगुवाहरूमै दिशाभ्रम भएपछि कसको के लाग्छ ? जिज्ञासा स्वाभाविक हुन्छ, एकपछि अर्को यस्ता कामहरू, विवादास्पद निर्णयहरू किन, कसको लहडमा हुँदै छन् ? अनि, आफ्नो निर्णयमा टिकिरहने नैतिक साहसबाट नेतृत्व किन स्खलित हुँदै छ ? नेतृत्व मूर्खताको हद पार गर्न किन लागिपरेको छ ? ‘पाजी, उल्लु, गधा, गोरु, कुकुर, बाँदर’ जस्ता विशेषण दिन लायकहरू अझ कति थपिने हुन् ? जे हो त्यो भन्दा–बोल्दा कसलाई के को आपत्ति ? नेपाल हिन्दू बहुल राष्ट्र भएकोमा कसैलाई कुनै शङ्का छ ? यदि छैन भने कसैले यो देशलाई ‘हिन्दू बहुल मुलुक’ बनाउनुपर्छ भन्दा अर्कोलाई टाउको दुख्नुपर्ने किन ? हुँदै नहुने ‘निरपेक्ष’ शब्द प्रयोग नगरौं भन्दा निरपेक्ष पक्षधरहरूसँग लिँडेढिपीबाहेक कुनै मौलिक तर्क छैनन् । आफ्नो पक्षमा विश्वसनीय उदाहरण नपाएपछि उनीहरू सनातन संस्कृतिको अवशेषका रूपमा रहेका बलि, छुवाछुत, बोक्सी, महिनाबारी जस्ता कुप्रथाको प्रचार गर्छन् र हिन्दू राष्ट्र हुँदैन भन्छन् । तर, दिनदिनै ती कुप्रथारूपी जलकुम्भीहरू सफा गर्दै, डढाउँदै लगिएको र केही समयपछि तिनलाई निर्मूल पार्ने दिशातिर सनातनी समाज अग्रसर रहेको सकारात्मक प्रयासहरूको चर्चा गर्न उनीहरूलाई लज्जाबोध हुन्छ ।
सति, कमारा–कमारी जस्ता कुप्रथाहरू सनातनी समाजबाट उन्मूलन भइसके । अहिले भग्नावशेषका रूपमा रहेका विभेदका ऐजेंरुहरू क्रमशः कम हुँदैछन् । समाजमा शिक्षा र चेतना बढ्दै जाँदा सबैखाले विभेदहरू पुरानो पुतको अवसानसँगै अब एक दशक पनि टिक्नेवाला छैन । तर, विडम्बना समाजको यस्तो स्वाभाविक गतिलाई दिग्भ्रमित पार्ने प्रयासहरू बढेका देखिँदैछन् । हामी मिलेर बस्छौं भन्दा, ‘अहँ हुँदैन, हामी अलग–अलगै हुनुपर्छ, हामी आफ्नो आफ्नो पहिचान अलग्गै बनाउँछौं, हामी मिसिन सक्दैनौं,’ भनिदैछ । भनाइँदैछ । तर, हामी सोचौं, के हामी स्व–प्रेरणाले यो विभेदको, अज्ञानताको स्थिति अझ सघन बनाउन चाहिरहेका छौं ? हामी कसका लागि यो सब गरिरहेका छौं ?
‘हामी किन फेरि थप अँध्यारोमा रमाउन बानी परिरहेका छौं ?
हामी बुझेरै कि नबुझेर यो बेथितिमा ल्याप्चे लगाइरहेका छौं ?’
०००
bisnuprasad.bg@gmail.com

गजल
– सुविद गुरागाई

खोजेको हामीले के हो ?
सोचेको हामीले के हो ?

यो हो कि अथवा त्यो हो ?
रोजेको हामीले के हो ?

जवाफै आएन किन ?
सोधेको हामीले के हो ?

धमिलो किन छ विचार ?
घोलेको हामीले के हो ?

यो कस्तो लाग्दै छ अर्थ ?
बोलेको हामीले के हो ?
०००
bisnuprasad.bg@gmail.com

कविता

चर्को मध्यान्न

–सुविद गुरागाईं

२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे
यो त्यही बेला हो
जतिबेला तिमीलाई आभास थिएन
कुनै प्रलयको
तिम्रो बलौटे विश्वासमाथि
एउटा थोपा पहिलो धक्का दिन
उत्तेजित भइसकेको थियो
रति विश्वास थिएन तिमीलाई
तित्रीगाछी भङ्गालोले नाघ्ने बेला भयो
कुविचारको सिमाना
डङ्गर गिद्धको लोपोन्मुख छाया
चर्को मध्यान्नमा
स्थानीय जडताको सिनोगन्धमाथि
लालयित भइबसेका साक्षी सिमलका रुखहरू
एक–अर्कामा कस्दै थियौ अपत्यारको डोरीले
भयभित म खलखल
न रुनु, न हाँस्नु, न पागल हुनु
हेर्दा–हेर्दै बग्न लागेको अन्तिम सीमास्तम्भ
डब्लू पी १९५ अब्लिक ९ नजिकै
पोलियो उद्दार टोली
फोटो सेसनमा रमाइरहेको भद्दा दृश्य
क्षतविक्षत चेतना कुल्चिएर पूर्वतिर
ओ ! घटिया इन्जिनियर,
खण्डन विज्ञप्ति लेख्दालेख्दै किन भागेको ?
हराएको सात हजार बिघा जमिन हुँदै
रानीगञ्ज भन्सारको किनारै–किनार
भर्खर दुई लाख ६५ हजार क्युसेक पुगेको छ
हाम्रो आवेग र दरिद्रता
पर्ख एकछिन अरू रमिता सङ्कलन गर
र, नयाँ पटकथा लेख ओस्कार जित्न
विस्थापित र सट्टाभर्ना सपनाहरूको ।
भ्रष्ट मधेस मुद्दाको ।
रोटी, बेटी र पानी सम्बन्धको ।
दशगजा हराएको ।
०००