दिनभर राजन मेहतासँग
– सुविद गुरागाई

नियमित आकस्मिकताको एउटा मोडमा म दिनभर इनरुवा नगर–प्रमुख राजन मेहतासँग थिएँ ।
बाटोमा संयोगले भेट भएको थियो । म घुमाउरो कुरा गर्न जान्दिनँ ।
‘गुरु, डुम्राहा घुम्न जाऊँ,’ उनले भने ।
डुम्राहा मेरो तेस्रो मातृभूमि हो । पहिलो बबिया । दोस्रो इनरुवा । तेस्रो डुम्राहा । अहिले सोलोडोलो सबै इनरुवा भएको छ ।
यसो हेरेको नगरपालिकाको गाडीमा उनी र ड्राइभरबाहेक कोही थिएन । उनको बडीगार्ड नवीन पनि थिएन । नवीन राना मेरो साथी हो, सानोमा सँगै पढेको ।
उखरमाउलो गर्मी थियो । गाडीबाट एसीको चीसो हरक आइरहेको थियो ।
‘ओके छ त !,’ भन्दै म गाडीमा चढेँ ।
रेडक्रस बस्ती हुँदै गाडी अगाडि लाग्यो । पहिले हिँडेर पुग्थ्यौँ कक्रु–कुरुवा हेलिँदै, कहिले बङ्कुलुवा, कहिले अर्ता । कहिले आँप, काँक्रा चोर्न । कहिले सुनसरी, कक्रु–कुरुवामा नुहाउन । कतै–केही भेटिएन भने जिरायत जिन्दावाद छँदै थियो । सिजनअनुसार आँप, काँक्रा, बयर, उखु कति खानु ! खाँदा–खाँदा आँखा रातो हुन्थ्यो । बेलुका आमाको गाली खायो, मस्त निदायो । निदायो भन्दा पनि सँगै पढ्ने, सँगै खेल्ने केटीहरू सम्झियो । तिनका राम्रा नराम्रा पक्षहरूको विश्लेषण ग¥यो । त्यतिले पुगेन भने श्रीदेवी, अमृता सिंहहरू त छँदै थिए । सपनामा बोलाउनेबित्तिकै सर्लक्क आउँथे ।
मेरो बालसखा दिवाकर सापकोटाको कामत, खेती थियो बङ्कुलुवामा । बङ्कुलुवा पुगेपछि म एकपटक फेरि नोस्टाल्जिक भएँ ।
...
किशोरवयमा सुरज सुब्बा, अजय मण्डल, हेमनारायण पोद्दार सन्तोष तिवारी, विष्णु भट्टराई, राजकुमार शाही, सञ्जय लुइटेल, अनुज पराजुली आदि साथीहरू अबेलासम्म सँगै हुन्थ्यौँ । दिनभर बेताल, मोटु–पतलु, आक्साका कमिक्स, साहित्यिक किताब, हिन्दी बाल उपन्यास, फिल्म कलियाँ, मायापुरी, सरिता, मुक्ता, कादम्बिनी पढ्यो । राति जूनको उज्यालोमा नरनारी र त्यस्तै खालका किताबमा रमायो । बेलाबेलामा  नवीन नेपाल, सुशील दाहाल, भोला दाहाल, अनील झा, शैलेन्द्र नेपाल, टीकेन्द्र राणाहरू पनि सँगै हुन्थे ।
दाइ–साथी कनिष्ट भट्ट र गुणानन्द झाहरूसँग जोडिएका प्रसङ्ग बेग्लै छन् ।
भाइ–साथी जीवराज दाहालहरूसँग मिलेर सन्तोषको एउटा कोठामा लाइब्रेरी नै बनाएका थियौँ हामीले । नेपालीमा कामना फिल्मी पत्रिका, अहिलेको साप्ताहिक जस्तो आकारमा भर्खर–भर्खर छापिन थालेको थियो । त्यो पनि कदेखि ज्ञसम्म सबै पढिन्थ्यो । विज्ञापन पनि बाँकी राखिदैनथ्यो ।
छिमेकमै गङ्गाबहादुर कार्की दाइको घर थियो । डुम्राहाबाट आएर पन्तहरूको घरेडी किनेर कार्की दाजुभाइ (गङ्गा–सूर्य)ले नयाँ पक्की घर बनाएका थिए ।
घरपछाडि कबड्डी खेल्न पुग्ने ठाउँ थियो । गङ्गा दाइका छोरीहरू सुभद्रा, सुशीला, टीकाहरू मसँग साँझमा कबडी खेल्ने साथी थिए । टिममा दिदी–साथी रेनुका अर्यालसहित सञ्जीव अर्याल, अजय, दिवाकर, गुणानन्द, भाइ अरुण कार्की, निर्मल कार्की आदि हुन्थे ।
सुशीला त क्लासमेट पनि थिइन् । उनले पहिलोपल्ट टेस्ट हो कि एसएलसी पास गर्न सकिनन् । दोस्रोपल्ट गरिन् । उनी पास भएको थाहा पाएर मैले राम्रा अक्षरमा बधाई तथा शुभकामनाका शब्दहरू एउटा पोस्टकार्डमा लेखेर हुलाकमार्फत् पठाएको थिएँ । उनी मसँग भन्दा पनि दिवाकरसँग अलि क्लोज थिइन् । दिवाकरसँग सुशीला मात्र होइन, धेरै केटीहरू क्लोज हुन्थे । मालती, आरती, मञ्जुला आदि अनेक नाम छन् ।
त्यस्तो ‘प्ले व्वाइ’ जस्तो मेरो साथी दिवाकर आज साइभक्त जोगी भएर बिहे नगरी बसेको छ । सम्झिँदा पनि अचम्म लाग्छ ।
...
यता, मेरो पोस्टकार्ड हात परेपछि सुशीलाले तमास गरिन् ।
खाम खोल्दा पनि नखोली ‘विद्याधरलाई राम्ररी सम्झाउनू, यहाँ मलाई केके लेखेर पठाएको रहेछ, यो उसैलाई दिनू,’ भन्दै सोझै आमालाई लगेर दिइछन् । साँझमा घर आउँदा, आमा रोएर तमास ।
‘छिनमै लहर उठेर आउँछ, छिनमै शान्त हुन्छ ।
छिनमै मुटु दुखेर आउँछ, छिनमै शान्त हुन्छ ।
रुझ्न पनि पाइएन लौ ! मनै भिज्ने गरी,
छिनमै पानी दर्केर आउँछ छिनमै शान्त हुन्छ ।’
यो शायरी मैले अलि जान्ने भएपछि लेखेको । त्यो बेला यस्ता कुरा सोच्न सकिन्थ्यो, न लेख्न आउँथ्यो । केटाकेटी बुद्धि थियो ।
त्यो रात रिस र आवेगमा बित्यो । सपनामा कतिपल्ट बदला लिएँ थाहा छैन । बिहान मन शान्त भइसकेको थियो ।
मान्छे चिन्नू, नचिनाउनू भन्छन् । उनको केटाकेटी व्यवहारलाई त्यसै पचाइदिएँ । ‘भोलि जान्छु, सोझै गङ्गा दाइसँग कुरा गर्छु । सुशीलाले नराम्रो पारिन् भन्छु । लु, यो पोस्टकार्डमा नराम्रो कुरा के लेखेको छ भन भन्छु । तिनलाई नथर्काई त्यसै कहाँ छोड्छु !,’ भन्ने व्यापक योजना बनाएको थिएँ । तर, बिहान ‘हलेदो भनेर जानिसकेपछि किन कोट्याइरहनु,’ भन्ने उखान सम्झेँ । फेरि यही कुरालाई लिएर मैले झगडा चर्काएँ भने हाम्रो कबड्डी टिम प्रतिबन्धित हुने खतरा थियो । कबड्डी खेल्ने चौरसँगै दक्षिणतिर तित्रीको झ्याम्म परेको ठुलो रुख थियो । अजय, सुरज र मैले दिनभर लुकीलुकी रसियन किताब पढ्ने ठाउँ । त्यो पनि खोसिन सक्थ्यो ।
त्यसैले मनमा उठेजति तरङ्ग–तर्कनाहरू सबै अजयलाई भनेँ र आफू ठण्डाराम भएँ ।
एसी गाडीमा बसेर बालवयका यस्तै–यस्तै कुराहरू सोच्दै थिएँ, ड्राइभरले गाडी अर्ता पु¥याएर ठिक्क गङ्गा दाइको आँगन अगाडि बाटोमा रोक्यो ।
...
‘एकदिन यसैगरी गाडीमा बसेका बेला तपाई बाटोभरि खेमराज दाइसँग बोल्नु नै भएन रे हो ?’
‘को खेमराज ?’
‘खेमराज पोखरेल । हाम्रो पूर्व मेयर सा’ब ।’
‘कसले भन्यो तपाईलाई ? खेमराज काका मसँग यसरी गाडीमा बस्नु नै भएको छैन,’ राजनले भने ।
यो प्रकरणमा सत्यता के हो ? म त्यतापट्टि जान्नँ । हाम्रोमा एउटा समस्या छ । अग्रजहरूलाई लागिरहन्छ, अनुजहरूले आफूसँग केही सोधुन्, केही सल्लाह दिन पाइयोस् । आफ्ना अनुभवहरू सुनाउने वातावरण बनोस् । अनुजहरूलाई चाहिँ त्यसको ठिक विपरीत लागिरहेको हुन्छ । अग्रजहरूले कुरा–परिस्थिति बुझेर सल्लाह–सुझाव दिए हुने । भएका कमी–कमजोरी सच्याउने अवसर दिए हुने ।
तर, यस मामलामा म अलि फरक छु । कोही अग्रज होस् चाहे अनुज । आफूले थाहा पाएका राम्रा कुरा सेयर गर्न समय पर्खिरहनु हुँदैन । कसैले सोधोस् चाहे नसोधोस्, कोही बोलोस् चाहे नबोलोस्, सकारात्मक, प्रेरक कुरा, कथा–कहानी, कविता–चुट्किला, प्रश्न जे छ मनमा त्यो तत्काल बाँडिहाल्नुपर्छ । केहीबेरपछि मरिन्छ–बाँचिन्छ, कसलाई के थाहा ?
‘अस्ति, राजन मेहताका १४१ बुँदे घोषणा–पत्रमा कति बुँदा कार्यान्वयन भइसके दाइ ? भनेर शशी कोइराला भाइहरूले सोध्दै थिए !’ मैले प्रसङ्ग बदलेँ ।  
जवाफमा उनले अग्रज कला–साहित्य सर्जकलाई समेटेर प्रज्ञा प्रतिष्ठान गठन तथा पत्रकार सहयोग कोषका लागि केही रकम व्यवस्थापन गरेको बताए ।
यतिबेला आफू विकास–निर्माणका सवालमा नगरबासीको सोच र इनरुवाबाहिर रहेका शुभेच्छुकहरूको भावनाको चेपुवामा परेको उनको भनाइ छ । एकातिर इनरुवामा चौडा सडक भएन भनेर बाहिर बस्नेहरू दबाब दिन्छन्, अर्कोतिर बाटोका लागि घरअगाडिको जग्गा दिन बहुदा नगरवासीहरू तयार छैनन् ।
‘यस्तो परिस्थितिमा हाम्रो आदर्श घोषणा–पत्रको हविगत के हुन्छ ? लु तपाई आफैँ भन्नुस् !’
उनले प्रश्न मैतिर ते¥स्याइदिए ।
...
‘एमालेको बहुमत छ । भैँसी सुन्दरी प्रतियोगिता समयमै गर्ने भनेर केही भैँसीहरूको व्यवस्थापन पनि गरिसकेको थिएँ । त्यस्तो प्रतियोगिता नगर्ने भनेर नगरसभाले ठाडै अस्वीकार गरिदियो । केही फरक र राम्रा कुरा गर्न खोज्यो, पास हुनै दिँदैनन् । कसरी काम गर्ने ?’
उनले भनेका कुरा अलिअलि हो–हो जस्तो पनि लाग्छ । अलि–अलि होइन–होइन जस्तो पनि लाग्छ । खाने मुखलाई जुँगाले छेक्दैन भन्छन् । तर, इनरुवाको राजनीतिक अल्पमत र बहुमतको गोलचक्करमा घोषणा–पत्रका कुन–कुन कुरा भुमरिएर जाने हुन्, अहिले अनुमान गर्न गाह्रो छ । चार वर्ष अझै बाँकी छ ।
एकदिन नगरपालिकाअगाडिको चिया दोकानमा म थिएँ । छेउमा कालुराम गुरुङ पनि थिए । तीन नम्बर वडाका वडाध्यक्ष । सुरुमा चिन्दा उनी मालपोतमा लेखापढी गर्थे । पछिल्लो समय उनैलाई नगरको प्रवक्ता बनाइएको थियो । काम गर्ने वातावरण नभएको भन्दै अहिले प्रवक्ताबाट राजीनामा दिएका छन् ।
प्रसङ्ग उनैले उक्काए । राजन मेहताले चुनाव जितेपछिको पहिलो पत्रकार सम्मेलनमा बाँडेको ५९ बुँदे कार्यतालिकाको कुरा थियो ।
‘कस्तो हावा–हावा कुरा रै’छ भने त्यसमा,’ उनले भने, ‘चार–पाँच वटा बुँदामा चाहिँ मैले स्वार्रर रातो मसीले केरिदिएँ ।’
त्यसमा भएका सबै कुरा मैले नै ड्राफ्ट गरेको हो भन्ने सायद उनलाई थाहा थिएन त्यो बेला ।
‘के थियो हौ त्यस्तो, त्यसमा गर्नै नसकिने कुरा ?,’ विस्मित हुँदै मैलै सोधेँ । उनलाई म पत्रकार हुँ भन्ने कुरा चाहिँ राम्ररी थाहा छ ।
उनले आफूले असम्भव भनी काटेका विभिन्न बुँदाहरूमध्ये पत्रकारितासँग जोडिएको एउटा बुँदा सुनाए ।
२६ औँ बुँदा ।  नगरका पत्रकारहरू सङ्गठित गरी ६ महिनाभित्र रङ्गीन अखबार निकाल्न पत्रकार तथा सरोकारवालाहरूसँग अन्तक्र्रिया गर्ने । कार्ययोजना बनाउने ।
‘छ महिनाभित्र इनरुवाबाट रङ्गीन पत्रिका निकाल्न सकिन्छ ?, उनले प्रश्न आफैँ सिर्जना गरे र जवाफ पनि आफैँले दिए, ‘कुनै हालतमा निकाल्न सकिँदैन ।’
अब के भन्ने यस्ता जन–प्रतिनिधिलाई । कुरै नबुझी प्रतिक्रियावादी भइदिन्छन् । त्यो बुँदामा पत्रिका निकाल्ने होइन, निकाल्ने बारेमा सरोकारवालासँग अन्तक्र्रिया गर्ने प्रसङ्ग उल्लेख छ । पत्रकार र सरोकारवाला भेला गरेर अन्तक्र्रिया गर्छुु भन्नु कुन पहाड उचाल्ने कुरा हो ?
म फिस्स हाँसे मात्र । उनी आफैँ पत्रिका प्रकाशन व्यवसायसँग पनि जोडिएका मान्छेलाई कुनै जवाफ फर्काउनु उचित लागेन ।
राजन मेहताले नगरसभामा मलाई सहयोग भएन भनेको सुन्दा अचानक मैले पुरानो यो घटना सम्झिएँ ।
...
गङ्गा दाइको घरअगाडि एउटा शिव मन्दिर रहेछ । त्यसैको साधारणसभामा नगरप्रमुख निम्त्याइएका रहेछन् ।
धेरैपछि गङ्गा दाइसँग भेट भयो । इनरुवाका छिमेकी गङ्गाराम मण्डल सरसँग भेट भयो । सुरज खड्कासँग पनि भेट भयो । नेत्रे–नेत्रे भन्थ्यौँ हामी । साह्रै मिल्ने साथीमध्येको एक हो ऊ । अरुण भाइसँग भेट भयो । म स्वयम्मा एउटा हिन्दूवादी अभियन्ता त छँदै थिएँ ।
एक प्रकारले निकै भावनात्मक वातावरण थियो त्यहाँ । साँचो अर्थमा अथिति भएर पुगेको । आयोजकले कार्यक्रमको पूर्व सूचना दिएर बोलाइएको थिइनँ म ।
बिचमा मेरो बोल्ने पाली आयो ।
अलिकति धर्मका विषयमा बोलेँ । भनेँ, ‘यो देशमा अदालतले हत्यारा प्रमाणित गरेको, धर्म निरपेक्षतावादी भनिएको बालकृष्ण ढुङ्गेललाई फूलमाला लगाएर जेलबाट निकालिन्छ र हिन्दू धर्म जागरणका लागि आफूलाई आहुति दिन तयार श्रीनिवासलाई घोक्रेठ्याक लगाएर जेलमा कोचारिन्छ । तर पनि हिन्दूहरूमा जागरण आउँदैन । के हुँदैछ यो देशमा ? मनैदेखि आदर गर्न मन लाग्ने हिन्दूवादी नेता किन छैन कोही ?
अलिकति घोषणा–पत्रका विषय बोलेँ । ‘डुम्राहा, भिठ टोलअन्तर्गत पर्ने रामधुनी वन क्षेत्रको संरक्षण गरी, ताल, झोलुङ्गे पुल, मिनी चिडियाखाना, चिल्ड्रेन पार्कसहितको पर्या–पर्यटन एवम् वनभोजस्थलका रूपमा विकास गर्ने । त्यहाँसम्म जान–आउन नगरको मुख्य बजारबाट दुई लेनको सडक निर्माणका लागि केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गर्ने,’ कुरा घोषणा–पत्रमा छ । यदि सबै मिलेर यो काम गर्न सकियो भने डुम्राहाको कायापलट हुनेछ । यो गर्न सकिन्छ । चार वर्षमा यसको परियोजना प्रस्ताव तयार गरी केही काम थाल्न सकियो भने इटहरीले तालतलैयाबाट जति फाइदा लिइरहेको छ, त्यो भन्दा कम हुने छैन यहाँ । तर, यसका लागि डुम्राहाका सबैले खबरदारी गर्नुप¥यो । साथ पनि दिनुप¥यो ।
बाँकी बालककालमा आफूले अर्ताको धूलोमाटोमा लडीबुडी खेलेको कुरा गरेँ ।
‘हैट्, गुरु के थाहा मलाई,’ फर्किने बेलामा राजन मेहताले भने, ‘मैले जानी–नजानी तपाईलाई, तपाईकै घरको आँगनमा पो लिएर गएँछु ।’
०००
bisnuprasad.bg@gmail.com

मिसन खरमयुर
– सुविद गुरागाई

‘नमस्ते ! म राजकुमार । तपाईलाई चराहरूको स्वर्ग कोसीटप्पुमा स्वागत छ ।’
वर्ड–वाचर राजकुमार सिंहसँग पहिलो भेट २४ आरडीको हावा महलनेर भएको थियो । उनी स्थानीय संरक्षण कार्यकर्ता रहेछन् । चराको फोटो खिच्न चाहने सौखिन पर्यटकहरू आएका बेला घुमाउने, चरा चिनाइदिने, अतिथि सत्कारको व्यवस्था मिलाउने गर्दा रहेछन् ।
‘नमस्ते !’ जवाफमा मैले यति मात्र भनेँ ।
मलाई सबै कुरा नौलो लागिरहेको थियो र त्यसरी आफूलगायत सेरोफेरोको वातावरण नौलो हुनुको आनन्द लिइरहेको थिएँ । म को हुँ ? म कहाँको हुँ ? सोधीखोजी गर्नुपर्ने कुनै आवश्यकता अनुभव भइरहेको थिएन ।
‘महोदय, तपाईको परिचय ?’ दाहिने हात अघि बढाउँदै राजकुमारले सोधे ।
मैले हात मिलाएँ मात्र । केही बोलिनँ । वास्तविकतामा म को हुँ, के हुँ आफूलाई नै थाहा नभएपछि म के बोल्नु ?
‘विष्णुप्रसाद ।’ म चुप लागेको देखेर गुलाबीले भने ।
‘इन्ट्रेस्टिङ, आफ्नो नाम पनि अर्काले भनिदिनुपर्ने !’
‘इन्ट्रेस्टिङ त तपाई हुनु हुँदोरहेछ । चराहरूको पनि स्वर्ग हुन्छ र ?’ म बोलेँ ।
उता श्रीलङ्का टप्पु, यता कोसीटप्पु माझमा कोसी नदी, गरैया धार । विशेष–विशेष प्रजातिका चराहरूका लागि चर्चित ठाउँ । गुलाबीसँगको कुराकानी, राजकुमारसँगको पहिलो भेट अनि हिजो माछा इञ्जिनियरले भेटेको किताब बेलुका आगाको उज्यालोमा हल्का र बिहान ५० पाना जति हेरेको भरमा यति जानकारी भइसकेको थियो । तर, यो चराहरूको स्वर्ग भन्ने पदावली चाहिँ मेरा लागि नौलो थियो ।
‘अब चराहरूको स्वर्ग भने पनि चराहरूको राजधानी भने पनि नेपालमा संसारभरिका चराहरूले यो जत्तिको मन पराएको ठाउँ अर्को छैन । जहाँसम्म स्वर्गको कुरा छ, यो ठाउँ सौखिन र व्यावसायिक बर्ड–वाचरहरूका लागि पवित्र तीर्थस्थल हो । हिन्दूहरूको पशुपतिनाथ, मुसलमानहरूको मक्का–मदिना, बौद्धहरूको लुम्बिनी, इसाइहरूको जेरुसलम भनेजस्तो ! विश्वमै दुर्लभ गुलाबी टाउके हाँस र सानो खरमयुर यहाँ सजिलै देख्न पाएर धन्य–धन्य भएका धेरै पर्यटकहरू छन् ।’
राजकुमारको धाराप्रवाह जानकारी गुलाबी र मैले ट्वाल्ल परेर सुनिरह्यौँ ।
‘अस्ति जर्मनबाट आएको फोटो पत्रकारहरूको एउटा टोलीले, मैले तित्रिगाछी तालनेर गुलाबी टाउके हाँस देखाइदिएँ भनेर खुसी हुँदै यो बाइनाकुलर नै उपहार दिएर गए । उनीहरूको कार्ड पनि दिएर गए,’ उपहार पाएको बाइनाकुलर घाँटीमा झुन्ड्याइरहेका राजकुमारले पर्सबाट कार्ड निकाल्दै भने ।
‘यस्तो वाइनाकुलर र तपाईलाई कामलाग्ने एउटा किताब त उहाँ दाइसँग पनि छ,’ मैले गुलाबीतिर देखाउँदै भनेँ ।
‘कुन किताब हो हेरुँ त ।’
गुलाबीले झोलाबाट बाइनाकुलर र किताब निकालेर राजकुमारलाई दिए ।
‘ओहो ! यो त हेल्म फिल्ड गाइड्स पो रहेछ । संसारका चराहरूका बारेमा विशेष जानकारी दिने किताब । कोसी क्याम्पमा बसेका गेस्टहरूले हाम्रो किताब र वायनाकुलर घारीमै छुट्यो भन्दै थिए । फोटो खिच्न खरमयुर खोज्दै खर–घारीतिर गएका थिए रे ! नजिकै अर्ना देखेर सब भागाभाग भएछन् । कहाँ भेट्नुभो तपाईहरूले ?’
‘हिजो हाम्रो केटाले भेटाएर ल्याए’थियो,’ गुलाबीले ठेटी मिसाउँदै भने, ‘माछा इन्जिनियरले एउटा बच्चा तित्रा पनि पक्डेछ । त्यसकै छेउमा भेटेछ यो पनि ।’
‘भन्न त अर्ना देखेर भागेको भने कि विष्णुप्रसाद सर !,’ राजकुमारले रमाइलो पाराले भने, ‘यहाँका सबै भैँसीहरूको सिङ लामै हुन्छ । देखे होलान् कुनै झर्ना चर्दै गरेको । चरा खोज्दै आ’को कुइरेका लागि के अर्ना के झर्ना !’
...
त्यसपछि सुरु भयो मिसन खरमयुर ।
दुर्लभ सानो खरमयुर बारेको खोजी । सङ्कटापन्न चरा । स्थानीय भाषामा बच्चा तित्रा ।
राजकुमारका अनुसार बच्चा तित्रा, खरमयुर, खर मुजूर जे भने पनि यसको अङ्ग्रेजी यसको नाम बेङ्गाल फ्लोरिक्यान हो । प्राणी–शास्त्रमा हर्बरोप्सिस बेङ्गालेन्सिस भनिन्छ । ग्रुइफर्मिस अर्डर ओटिडी परिवारमा  पर्ने  अति दुर्लभ र भुइँमा नै गुड लगाउने यो पन्छीको सङ्ख्या नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा गरी पुग–नपुग हजारको सङ्ख्यामा होला । यसका दुई उपप्रजाति छन् । क्याम्बोडिया र भियतनाममा ब्लान्दिनी उपप्रजाति पाइन्छन् भने भारत र नेपालमा बेङ्गालेन्सिस उपप्रजाति । गेरु–मैला, छिर्केमिर्के, घाँसकै रङसँग मिल्दो–जुल्दो, लामो घाँटी, लामो खुट्टा हुने यो चराको सङ्ख्या नेपालमा ६५ देखि सय वटासम्म रहेको अनुमान गरिएको छ ।
राजकुमारको खरमयुरसम्बन्धी जानकारी गजबको रहेछ । हामीले चाख मानेर सुनेको देखेर उनी धाराप्रवाह बोल्दै गए ।
कोसीटप्पु वन्यजन्तु आरक्ष, कोसी ब्यारेज क्षेत्र, चितवन, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा आरक्षको विशेषगरी सिरुले ढाकिएको घाँसे मैदान र सिमसार यस चराको मुख्य बासस्थान हो । घाँसेमैदान घट्दै जानाले संसारभरिमै  यसको सङ्ख्यामा छिटोछिटो कमी आउँदै छ ।
बच्चा कोरल्ने बेला नेपाली भू–भागमा देखिए पनि केही समयपछि प्रायः हराउने हुँदा खरमयुर नेपालका लागि ग्रीष्म ऋतुमा ढिलोगरी आउने आगन्तुक चरामा गनिन्छ । अति सङ्कटापन्नको सूचीमा समावेश खरमयुरका लागि कोसीटप्पु विश्वमै परिचित ठाउँ हो । बच्चा कोरल्नका लागि कोसीटप्पु खरमयुरको रोजाइको गन्तव्य हो भन्दा फरक पर्दैन ।
...
‘सर्वहारी खरमयुरहरू आहाराका बेला प्रायः स्थिर हुने र विचार पु¥याएर आफ्नो चाल चल्ने गर्छन्,’ राजकुमारले भने, ‘यिनको अर्को विशेषता चाहिँ निकै रमाइलो छ, ।’
‘कस्तो रमाइलो ?’ मैले सोधेँ ।
‘बच्चा कोरल्ने बेलामा खरमयुरका भालेहरू कहिले जमिनमा उफ्रँदै, कहिले हावामा उड्दै विभिन्न खालका आकर्षक नाचहरू देखाउने गर्छन्,’ उनले भने ।
‘प्रकृतिको विचित्र लीला,’ मैले भने, ‘पोथीले दुःख बेहोरिरहेका बेला भालेहरू खुसी हुने कुरा साँच्चिकै रमाइलो रहेछ ।’
‘तपाई त कवि पनि हो कि क्या हो ?,’ राजकुमारले सोधे ।
‘खोइ !,’ म फिस्स हाँसे मात्र । आफ्ना बारेमा केही थाहा नभएको मान्छेले आफू कवि हो कि के हो कसरी भन्नु !
‘खरमयुरलाई कोसीटप्पुमा लामो समयसम्म टिकाउन सक्यौँ र त्यो कुरा संसारभर पु¥याउन सक्यौँ भने,’ राजकुमारले आफ्नो जानकारी बिट मार्दै भने, ‘हाम्रो क्षेत्र पनि चितवनको सौराहाभन्दा कम हुने छैन ।’
‘बाफ रे ! बच्चा तित्राको यति धेरै महत्त्व रहेछ,’ राजकुमारको कुरा सुनेर छक्क परेका गुलाबीले भने, ‘हामीलाई त के थाहा, केटाहरूले मारेर ल्यायो भने पकायो दारुसँग खायो ।’
‘बन्दर क्या जाने अदरखका स्वाद,’ राजकुमारले एउटा चल्तीको हिन्दी उखान भने ।
‘बन्दर–सन्दरको कुरा होइन, हामीलाई थाहा नभएर मात्र हो,’ गुलाबीले प्रतिवाद गर्दै भने, ‘अब हामी पनि दुर्लभ चराहरू मार्दनौँ, केटाहरूलाई पनि नमार्न भन्छौँ । बरु अरू कुन–कुन चराहरू छन्, मार्न नहुने ?’
‘मार्न त कुनै चराहरू पनि मार्न हुँदैन, कानुन लाग्छ,’ राजकुमारले भने ।
‘गाउँले केटाहरूले कानुनले भनेको मान्दैन बरु हामीले भनेको मान्छ,’ गुलाबीले भने, ‘बच्चा तित्राबाहेक अरू जोागउनुपर्ने चराहरू कुन–कुन हुन् ?’
‘गुलाबी टाउके हाँस, रेडिसियल डक (चखेवा), हाँडीफोर गरुड (काकाकुल), डङ्गर गिद्ध ...’
‘गिद्ध र काकाकुल त हामी खाँदैनौँ, घिन लाग्छ,’ राजकुमार बोल्दा–बोल्दै  गुलाबीले भने, ‘जोगाउनुपर्ने चराहरू त हामीलाई चिनाउनुपर्छ नि !’
‘यही त विडम्बना छ,’ राजकुमारले गुलाबीलाई उल्लाउँदै भने, ‘कोसीटप्पुको मधुवन–शुक्रबारे क्षेत्रमा हरेक चरा गणनाका बेला करिब एक दर्जनको सङ्ख्यामा रेकर्ड हुने गर्छन्, तर गाउँलेलाई त्यसको महत्त्व थाहा छैन ।’
...
‘अघि अर्ना कि झर्ना के भन्दै हुनुहुन्थ्यो नि ?’
राजकुमार र गुलाबीको रमाइलो कुराकानी केही बुझे–बुझे जस्तो केही बुझ्न खोजे जस्तो गर्दै मैले सोधेँ ।
‘मुख्य रूपमा कोसीटप्पु बुवलिस बुवालिस प्रजातिको अर्ना (जङ्गली भैँसी) संरक्षण गर्न तोकिएको नेपालको एक मात्र ठाउँ हो । तर, आफ्नै बासस्थानमा विचराहरूको अनुवांशिकी सङ्कटमा परेको छ । वनटप्पुमा चर्न आउने झर्नाहरूका कारण वास्तविक अर्नाको पहिचान हराउँदै गएको छ,’ राजकुमारले भने ।
‘कसरी ?’ मैले सोधेँ । यी सबै कुरा म पहिलोपल्ट सुनिरहेको थिएँ । राजकुमारका कुरा थप रुचिकर हुँदै थिए । म आफू पनि पहिचानको सङ्कट बेहोरिरहेको भएर होला ।
‘वनटप्पु वन्यजन्तु आरक्ष घोषणा हुनुभन्दा अघिदेखि नै रघु बहरखेरका सन्तान र अरू गाउँलेहरूले गाई–भैँसी चराउने चरन क्षेत्र हो । मुख्य वन क्षेत्रबाट गाउँले भैँसीहरू निकाल्न आजसम्म कुनै माइकलालाको तागत पुगेको छैन । सयौँ घरेलु भैँसीसँग दुई–तीन सय अर्ना मिसिएपछि के हबिगत हुन्छ ? तपाई आफैँ सोच्नु न !
कुरैकुरामा मैले बुझेँ, कोसीटप्पुलाई स्थानीय भाषामा वनटप्पु भनिँदो रहेछ । राजकुमारले झर्ना भनेको चाहिँ घरेलु भैँसीहरूलाई दिइएको उपमा रहेछ ।
‘गरैया टप्पुतिर त अर्ना पाडा समातेर तालिम दिने र भारततिर लगेर महँगो दाममा बेच्ने तालिम–केन्द्रहरू पनि छन्,’ गुलाबीले राजकुमारको होमा हो थप्दै भने ।
‘तिमीहरू त्यही चरा मार्दै, रक्सी खाँदै बस । तालिम केन्द्रमा के–के हुन्छ रमिता हेर्दै बस । त्यस्ता तालिम केन्द्रमा दूध–दही जति पनि फ्रिमा खान पाइन्छ भन्ने सुनेको छु, त्यही खाऊ बस ।’
हुन त गुलाबीले राम्रै कुरा भनेका थिए जस्तो लाग्छ । तर, गुलाबीको कुरा सुनेर राजकुमार बिच्किहाले । ‘माछा इन्जिनियर र आफूलाई माछा मार्नेहरूको नेता भन्छौ तर कोसीमा जनकपुर काँटी माछा सिद्धिन लागिसके चिन्ता केही छैन,’ उनले भने ।
‘त्यो त हो, हामी गरिब मान्छेले जति भने पनि सरकारले सुन्दैन त के गर्नु !’ गुलाबी पनि यो कुरामा क्षुब्ध नै रहेछन् ।
‘हैट्, यस्तो आपसमा झगडा हुने कुरा नगरौँ हामी । बरु सरकारले केही गरे पनि नगरे पनि संरक्षणका लागि आफ्नातर्फबाट के गर्न सकिन्छ, गाउँलेहरू मिलेर खोजी गरौँ,’ मैले कुरैकुरामा तातेको वातारण सामान्य बनाउन सहजीकरण गर्दै भनेँ, ‘अरू गाउँलेहरू भेला गरेर भोलि छलफल गर्दा राम्रो हुन्छ । अहिलेलाई जाऔँ, कुरामा धेर अल्झियो भने तपाईलाई नै माछा मार्न ढिलो हुन्छ फेरि ।’
‘ले, हम्रा आरु जाइछियै अखनी, तुँ ई किताब ले । कुइरेके खुबके घुमा, बैठ । (हुन्छ, अब हामी जान्छौँ, तँ यो किताब ली, कुइरेलाई मजाले घुमाउँदै बस्,’ यति भनेर गुलाबी तित्रीगाछी तालतिर लागे । किताब राजकुमारलाई दिँदै, वायनाकुलर घाँटीमा भिर्दै म पनि गुलाबीको पछि–पछि लागेँ ।
राजकुमार भन्दै थिए, ‘ताल जाने बाटोमा अलि होस् गरेर जानुहोला है । शोभाकलीको माया सम्झेर आसामबाट आएका मत्ताहरू त्यतैतिर देखिएका थिए हिजो ।’
०००
bisnuprasad.bg@gmail.com


थाँती रहेको अन्तरङ्ग
– सुविद गुरागाई

एक साँझ म लक्ष्मी खतिवडासँग छु ।
उनकै घरमाथि एकान्तमा उनी र म मात्रै छौँ । २०४४ सालदेखिका साथी ।
एकातिर उनी छिन् । एकातिर म छु । बिचमा रेकर्डर छ ।
उनीसँग भेट नभएको, यसरी छेउमै नबसेको लामो समय भइसकेको थियो ।
आज संयोग जुरेको छ ।
माया लाग्छ मलाई लक्ष्मीको । उनका धेरै कुराहरू मन पर्छन् । केही कुराहरूमा आलोचनात्मक समर्थन छ । केही कुराहरू पटक्कै मन पर्दैनन् ।
मसँग अनन्त जिज्ञासाहरू छन् ।
सुरुमा कवि हुन मन बनाएकी केटी आज त्यो भावनाबाट कासौँ टाढा पुगिसकेको देख्छु ।
‘तिमी त हिजोआज राजनीति गर्छु भन्दै हिँडिरहेको सुन्छु ।  कस्तो खालको राजनीति गर्दैछौ तिमी ?’
सुरुमा मैले यस्तै सोधेँ ।
जवाफमा सुरुमा उनी मतिर हेर मुसुक्क हाँसिन् । सायद यत्रो दिन म उनका बारेमा अपडेट नभएको व्यङ्ग्य थियो त्यो ।
‘पहिलो कुरा म राजनीति गरिरहेकी छु भन्ने कुरा नै मान्न तयार छैन,’ उनले भनिन्, ‘मैले गरेको चिज आजसम्म राजनीति भइसकेको छैन ।’
त्यसपछि सुरु भयो उनीसँग अन्तरङ्ग कुराको सिलसिला । उनी भन्दै गइन् । म सुन्दै गएँ ।
राजनीति नै गरेको कुरा गर्ने हो भने विपीले गर्नुभयो राजनीति । किसुनजीले गर्नुभयो । गणेशमानजीले गर्नुभयो । अलिअलि गिरिजाबाबुले गर्नुभयो होला । बाँकी बचेखुचेको सुशील दाइले गर्नुभयो होला । आजको पार्टी नेतृत्व त राजनीति गर्दै छैन । म एउटा बबुरो, एउटा भातृसंस्थाको कार्यकर्ता नाथेले राजनीति गर्छु भन्नु मेरो आफ्नो भाषामा भन्दा समसामयिक हो, उपयुक्त हो जस्तो मलाई लाग्दैन ।
...
देश लामो सङ्क्रमणकालबाट गुज्रिरहेको छ ।
यो सङ्क्रमणकालमा तपाई देशप्रति, आफ्नो समुदायप्रति, आफ्नो समाजप्रति तपाई जिम्मेबार नहुने, म नहुने, अर्को नहुने हुँदै गर्दा सिङ्गो जमाज, सिङ्गो राष्ट्र गैरजिम्मेबारीको बाटोमा उन्मुख भएको मेरो अनुभूति छ । र, मैले सबै थोकले म थेग्न सक्छु, मैले गर्न सक्छु भन्ने मेरो धारणा रहेन । म जत्तिको चेतना भाको, लड्न–भिड्न सक्ने क्षमता भाको मान्छे पनि चुप लागेर बस्यो भने अथवा पलायन भयो भने अथवा अवसरको मात्र खोजीमा गयो भने देशको अवस्थाको बारेमा राति बिछ्यौनमा निदाउनु अगाडिको स्वैर–कल्पनामा चाहिँ देशलाई उन्नत बनाउँछु, देशलाई एउटा दिशा दिन्छु, देशलाई विकासको अग्रगमनमा लैजान्छु अथवा देशलाई सम्पन्नताको यात्रामा लिएर जान्छु भन्ने कुरा गर्नेबाहेक अरू विकल्प मसँग बाँकी रहँदैन ।
तसर्थ पनि म जे गर्दैछु, जहाँबाट गर्दैछु, जसरी गर्दैछु, केही न केही गर्दैछु । त्यो केही न केही गर्दैछु भनेको चाहिँ मेरो समाजप्रति, मेरो राष्ट्रप्रति, मेरो समुदायप्रति, मेरो देशप्रति कहीँ न कहीँ जिम्मेबारीका कारण मैले काम गरिरहेको हो । आफूले सके जति र आफ्नो ठाउँबाट इमानदार प्रयत्नहरू गरौँ सुधारका निमित्त भन्ने कुरामा म लागेकी छु ।
...
समाज पनि दोहोरो चरित्रको छ ।
समाज घुस नखाऊ भन्छ तर चिरञ्जीवी वाग्लेलाई बहिस्कार गर्दैन । एकातिर लक्ष्मी खतिवडाले कमाइन भनेर दबाब दिन्छ । अर्कोतिर घुस नखाऊ भन्छ । कमाउनु त प¥यो तर के गरेर कमाउने त ? उद्योग छैन, व्यापार छैन, व्यवसाय छैन । घुस नखाए के गरेर कमाउने ? म त कम्तीमा एडभोकेट हुँ, लयर हुँ, अलिकति पढेकी छु, केही गरेर दालरोटीको जोहो गरौँला । राजनीति गर्ने एउटा सामान्य मान्छेले कमाउने के गरेर ? घुसै खानुप¥यो । घुस नखाऊ भन्छ । इमानदारिता अपेक्षा गर्छ । तर, सँगसँगै सामाजिक, पारिवारिक प्रेसर जसरी भए पनि कमाऊ भन्नेमा रहन्छ । समाजै दोहोरो मापदण्डमा छ । समाजले कि चिरञ्जीवी वाग्लेहरूलाई बहिस्कार गर्नसक्नुप¥यो, नीति–नियम, कानुन, आदर्श मान्ने हो भने । होइन भने यो ढोँगी समाजबाट तपाई अपेक्षा के गर्नुहुन्छ ? म त केही पनि अपेक्षा गर्दिनँ ।
...
आज म फ्रयाङ्कली एउटा कुरा भन्छु । तपाई कति कोट गर्नु होला, कति नगर्नु होला ।
मैले फ्रयाङ्कली कुरा गरिरहेकी छु । यो देशको एउटा विचित्र कुरा भनुँ । हाम्रा नेताले, हाम्रा मान्छेले, हाम्रो देशले ऋषि धमलालाई पत्रकार बनाउँछ क्या । सुविद गुरागाईहरू कहाँ हुन्छन्, अत्तोपत्तो छैन । कहाँ छन् यार ? कसले चिन्छ सुविद गुरागाईहरूलाई ? कसले सुन्छ सुविद गुरागाईहरूलाई ?
तपाईलाई एउटा पिस भन्दिऊँ । किशोर नेपाल चिन्नुभा छ नि ! वरिष्ठ पत्रकार । किशोर नेपालले एउटा टिभी कार्यक्रम चलाउँथे । गाउँ–गाउँ जान्थे, मान्छेहरू भेला पारेर इन्टरभ्यु लिन्थे ।
त्यो कार्यक्रम चलाउने सिलसिलामा उनी गरा’न्, बर्दिया । सुन्नुस् कुरा । बर्दियामा त्यो कार्यक्रम–सार्यक्रम सकियो । सकिएपछि एउटाले आएर सोधेछ । उसले चिनेको पत्रकार, टिभीमा चर्को आवाजमा जम्मैसँग बोल्ने भनेको त ऋषि धमला हो ।
सुरुमा किशोर नेपाललाई लक्षित गरेर त्यो सामान्य किसानले गाउँकै मान्छेलाई सोधेछन्, ‘को हुन् यी ?’
यी पत्रकार हुन्, काठमाडौँबाट आएका, ठुलो पत्रकार हुन् भनेर अर्कोले भनिदिएको रहेछ ।
त्यसपछि ती किसान किशोर नेपालको छेउमा गएछन् र सोधेछन्, ‘तपाई कहाँबाट आउनु’भा रे ?’
‘म काठमाडौँबाट आएको,’ नेपालले भनेछन् ।
‘अनि तपाई ऋषि धमलालाई पनि चिन्नुहुन्छ ?’ भनेर त्यो मान्छेले सोधेछन् ।
सामान्य अवस्था भएको भए त्यो फटिचर, त्यो बेकार भन्थे होलान्, तर इन्भारोमेन्ट त्यस्तो थियो कि नेपालले त्यसो भनेनन् ।
‘भाइ हुन्, चिन्छु, राम्रो छ,’ आदि–इत्यादि भनेछन् ।
तर, चार पाइला अगाडि के हिँडेका थिए, ‘कस्तो हावा कुरा गर्ने मान्छे रै’छ । कहिले टिभीमा देखिँदैन । ऋषि धमलालाई चिन्छु भन्छ यार । चिन्छ जस्तै लागेन,’ भनेर ती किसानले भनेको किशोर नेपालको कानमा परेछ ।
...
मैले तपाईलाई जोड्न चाहेको के हो भने समग्र राज्यको पुनःसंरचना, राज्यको संरचना, राज्यको रूपान्तरभित्र सिन्डिकेट छ ।
दलितबाट कसलाई नेता बनाउने त्यो सिन्डिकेट छ ।
महिलाबाट कसलाई बनाउने त्यो सिन्डिकेट छ ।
कुन एनजिओलाई फन्डिङ गर्ने सिन्डिकेट छ । कुन एनजिओको मालिक–मालिक्निलाई स्कार्पियो चढाउने सिन्डिकेट छ ।
को मजदुरलाई नेता बनाउने, को थर्ड जेन्डरको मान्छेलाई नेता बनाउने त्यो पनि सिन्डिकेट छ ।
लेट मी क्लियर अल दि थिङस् ।
र, अर्को कुरा तपाईलाई जोडे मैले ।
योभन्दा नि ठुलो ब्युरोक्रेसीको सिन्डिकेट छ ।
पलिटिसियन त्यति करप्ट छैनन् । मैले आफूलाई जोगाउन खोजिनँ । तपाईलाई क्लियर गरेँ मैले । ब्यरोक्रेसी भनेको त स्थायी सरकार हो नि । तपाई–हामीलाई थाहा छ, ब्युरोक्रेसीले इमानदारीसाथ चाहने हो भने केही न केही परिवर्तन सम्भव छ ।
ल, पलिटिसियन त छ–छ महिनामा चेन्ज होला रे, नौ महिनामा मन्त्री चेन्ज होला रे ! तर पोलिसी लेभलका कुराहरू सबै मन्त्रीले मात्रै गर्ने होइन नि । त्यसलाई ड्राइभ गर्ने भनेको कहीँ न कहीँ ब्युरोक्रेसीले हो । भनेपछि ब्यरोक्रेसी जिम्मेबार छैन । ब्यरोक्रेसी शुद्ध छैन । त्यो पनि एउटा प्रमुख कारण हो, देश रूपान्तरणको मार्गमा जान पाइरहेको छैन ।
...
तपाईलाई मैले ठ्याक्कै यहाँ जोड्न चाहेँ ।
माओवादी अन्तद्र्वन्द्वमा देश फसेको कारण सत्र हजार नागरिकले यो वा त्यो बहानामा ज्यान गुमाए । म मान्दिनँ, प्रचण्डले, बाबुरामले अथवा मोहन वैद्यले, अथवा बादलले अथवा अर्को कल्ले कुर्सी मात्रै पाउनलाई सत्र हजार मान्छे मारे भन्ने कुरा म मान्दिनँ । म काङ्ग्रेस हुँ । तर, म मान्दिनँ ।
कुनै न कुनै परिवर्तनको खाका त थियो होला नि उनीहरूको दिमागमा । आमूल परिवर्तनका लागि लडेको भनेर हिँड्थे । त्यो सशस्त्र क्रान्ति, त्यो सङ्घर्ष गएर कहाँ टुङ्गियो ? १२ बुँदेमा गएर । १२ बुँदे कहाँ पुग्यो ? १२ बुँदे त टायँ–टायँ फिस भो ।
ठुलोभन्दा ठुलो परिवर्तनको अभीष्ट राखेर भएका जति पनि युद्ध छन्, जति पनि आन्दोलन छन्, ती समग्र परिवर्तनलाई व्यवस्थित नगरिकन, समग्र परिवर्तनलाई लक्ष्य बिन्दूमा नपु¥याएकन तुहिएका अनेक उदाहरण छन्, नेपालमा । हाम्रो देशमा ।
अब हामीलाई चाहिएको परिवर्तन के हो त भन्दा फेरि हिजो प्रचण्ड, बाबुरामले असल नियतले सत्र हजार मान्छे मारेका थिए परिवर्तनका लागि तर उनीहरू एउटा गन्तव्यमा पुगेनन्, त्यो तुहियो, त्यसो हुँदा अब हामी फेरि बन्दुक बोकेर जाऊँ भन्ने मेरो कुरो होइन ।
अबको परिवर्तन नेपाललाई साँच्चिकै समुन्नतिको मार्गमा लैजाने, अत्यन्तै घरेलु स्वरोजगार उन्मुख क्षेत्रमा युवालाई जोड्ने र वैचारिक रूपमा सशक्त, दुई छाकको ठाउँमा एक छाक खान्छु तर राष्ट्रका लागि केही गर्छु भन्ने भावनासहितको जेनेरेसन पैदा गर्न सक्यौँ र त्यो दिशाको आन्दोलन हामीले लिएर जान सक्यौँ भने नेपाल जोगिन्छ । अन्यथा म त देशकै भविष्य अन्धकार देख्दै छु ।
...
थोरै राजनीतिसँग जोडिएको एउटा जल्दोबल्दो विषय आरक्षणको कुरा गरौँ । आरक्षणको प्रक्रियामा देश गएको धेरै समय भएको छैन । आरक्षणको कन्सेप्ट कहीँबाट निर्देशित हो भन्ने कुरामा सन्देह छैन । तर, आरक्षण र समावेशिता भनेको आफैँमा नराम्रो कुरा होइन ।
प्रश्न हाम्रो नियतमा छ ।
ंहामी त्यसको अभ्यास जसरी गरिरहेका छौँ, समस्या त्यसमा छ । भाइसन बर्देवा, मानबहादुर दियालीहरूको छोरो अथवा छोरीले आरक्षण पाउने तर नुन बोक्ने भारिया कोही देवकोटाको छोराछोरीले आरक्षण नपाउने ? राज्यले नियमन गर्न नसकेको यही कुरामा छ ।
तपाईलाई म एउटा फोटो देखाउँछु । कर्णालीको चार वटा जिल्ला गएर आएँ म । त्यहाँका क्षेत्री–ब्राम्हणको हालत भनेको हाम्रोतिरका दलित भनिएकाहरूको हालत त्यति खराब कहिले पनि देखेको छैन मैले ।
फेरि, अर्को कुरो पनि म यहाँ जोड्छु है । जातीय विभेदको कुरा छ । छुवाछुतको कुरा छ । महोत्तरीमा एउटा घटना भएको थियो । म लयर पनि हुँ । अलिकति प्रयाक्टिसमा पनि भएको हुँदा ।
एउटा बाहुनको छोरो दलित भनिएको कोही व्यक्तिले लग्यो । बाहुन चुप लागेर बस्यो । दलित भनिएकोले त्यो बाहुनको छोरो घरबाट निकालिदियो । दलित भनिएको व्यक्ति अकुत सम्पत्तिको मालिक थियो, धनाढ्य थियो । बाहुन गरिब थियो । जातीय कुरो मात्रै पनि छैन क्या विभेदमा, पहिला त पहुँचकै कुरा छ नि । बुझ्नुभएन के ! त्यसले गर्दा म चाहिँ एज–ए–होल आरक्षणको विरोध गर्दिनँ । आरक्षणलाई व्यवस्थित गर्नलाई जुन संयन्त्र बन्नुपथ्र्यो अथवा आरक्षणलाई लक्षित समुदाय, वर्गकै घरमा पु¥याउने जुन वातावरण बन्नुपथ्र्यो, ती खालका संरचनाहरू विकसित नगरिकन कोरा परिकल्पनामा आरक्षण दिँदा केही समस्याहरू दे्खिएका छन् । तिनको नियमन हुनु जरुरी छ ।
...
तपाई–हामी हिजोका दिनमा फर्केर हेरौँ । हिजो–अस्तिसम्म हामी कि खोलामा कि कुनै पानीको खाल्डो छेउछाउ गएर, त्यो पनि भएन भने लोटामा पानी बोकेर घारीतिर वा गन्हाउने साधारण चर्पीमा गएर दिशा–पिसाब गथ्यौँ । आज सामान्य आर्थिकस्तरको मान्छेको पनि सोच र व्यवहारमा धेरै परिवर्तन आएको छ । यो परिवर्तनका लागि कतै न कतै हाम्रो पनि हात छ । त्यसैले नेपाली काङ्ग्रेसले लिएका खुला नीतिहरूले देश बिगा¥यो भन्ने कुरा म मान्न तयार छैन ।
वैदेशिक रोजगारीका हजार नराम्रा पाटा होलान् । तर, यो अवधिमा हाम्रा धेरै युवाले विदेश देखे । त्यहाँका मान्छेले काम गरेको देखे । देश बनाएको देखे । त्यो अनुभव पक्कै पनि हाम्रो समाज रूपान्तरणका लागि काम लाग्नेछ । लागिरहेकै छ ।
इभेन माओवादी जनयुद्धकै हजार वटा नराम्रा पाटा होलान् तर जनयुद्धले दिएको चेतनालाई त हामीले नजर–अन्दाज गर्न मिल्दैन नि । त्यसैगरी वैदेशिक रोजगारीले पनि युवाहरूमा केही न केही चेतना दिएको छ ।
निम्न मध्यम वर्गीय र उच्च मध्यम वर्गीय परिवारका छोरीले केही काम गर्लान्, छोराले ढलेको लोटा उठाउँदैनन्, तपाईलाई थाहा छ । यहाँ निहुरेर, लोटा उठाएर चुठ्न तयार नभएको केटो, एउटा नागरिक, हाम्रो देशको एउटा युवा, तरुण, यहाँ हुँदा आमाले कट्टु धोइदिनुपर्छ उसको, त्यो मान्छे गएर विदेशीको गुहु सोहोर्छ ।
काम गर्ने भावना त विकसित भयो नि ! पैसा आउँछ भनेपछि काम गर्ने । यहाँ घरको ट्वाइलेट सफा नगर्ने । हो कि होइन भन्नु न ?
०००
bisnuprasad.bg@gmail.com

सोलुको ताजा सम्झना
– सुविद गुरागाई

जसोतसो जिन्दगी चल्दै छ यार !
सम्बोधन उसैलाई जोसँग यो सम्बन्धित छ ।
आराम छु र गाथमा पनि आराम रहोस् भनी राष्ट्रदेव श्री पशुपतिनाथसँग दिनरात कामना गरिरहेको छु ।
इटहरीमा बस्छु । यतै पत्रकारिता र शिक्षणको काममा रमाएको छु ।
केही दिनअघि काठमाडौँ बसाइ सर्ने जोड प्रयास गरेको थिएँ । तर, स्कुलको सरुवा मिलाउन सकिनँ र हार खाएर अझै केही वर्ष पूर्वमै बस्ने निर्णय गरें ।
जागिर खान अझै १० वर्ष बाँकी छ । छोड्न माया लाग्यो ।
काठमाडौँ फर्पिङका श्याम केसी सरसँग म्याचुअल सरुवाको मेलो मिल्यो भने काठमाडौँ छिरिन्छ होला ।
त्यसपछि मानसरोवर, त्यसपछि पुट्टपर्र्ती, त्यसपछि समुद्र, त्यसपछि कता ? थाहा छैन ।
आमा हुनुहुन्न ।
एउटी बुढी दुई वटा छोरा छन् । एउटा १२ को जाँच दिँदै, एउटा होटल मेनेजमेन्टमा १२ सकेर एभिएसन क्र्यु पढ्दै ।
एउटा उपन्यास लेख्ने रहर छ ।
हिन्दू राष्ट्र पुनःबहालीका लागि सकेको सहयोग गरिरहेको छु ।
यता यो भन्दा अरू नयाँ केही छैन । त्यता के छ ?
राधा दिदी, दीपक रोकाया, राजन खत्रीहरू अचेल कहाँ छन् ? के गर्दै छन् ?
हिक्मत, साम्ब, लक्ष्मीहरूले चिठी नलेखेको कति भो ?
यस्तै सोच्दै सोलुको ताजा सम्झना गरिरहेको छु ।
यहाँनेर एउटा कुरा सुरुमै स्पष्ट पार्न चाहन्छु साथीहरूलाई कि फन्टुस फिक्सन म लेखिरहेको छुइनँ । मभित्र कोही छ जसले मलाई यी सब लेखाइरहेछ । यो सिलसिला कहिले सकिन्छ थाहा छैन । यति थाहा छ, मैले भेटेका, चिनेका, पढेका, सङ्गत गरेका जति सबै कुनै न कुनै अर्थमा फन्टुस फिक्सनका पात्रहरू हुन् । र, अहिलेसम्मको अनुभवमा मूल कथा भन्दै जाँदा बाटोमा, जमघटमा जो–जो भेटिन्छन्, ती जोडिँदै जान्छन् । जोडिँदै जाँदा मेरै वा कसैको निजी जिन्दगीमा केही हस्तक्षेप जस्तो अनुभव भएमा, संयोग मात्र हुनेछ ।
...
‘दुनियाँको तमासा हेर्न लायक छ ।
रङ्गमञ्च छ रित्तो एक्लो नायक छ ।’
पाश्र्वबाट परिदृश्य प्रष्ट हुँदै आउँछ । निर्देशक कोही छैन । जुँगाको रेखी बिस्तारी बाक्लो हुँदै गएको एउटा केटो छ, नायक । त्यो मै हुँ । नायिका हुन्छे, माइली । मैले अहिलेसम्म कतै–कुनै सन्दर्भमा उल्लेख नगरेकी पात्र । फेल्दारेको दोबाटोमा भेटिएकी एउटी ठिक्ककी, गोरी केटी । उमेर अन्दाजी उन्नाईस वर्ष । माथि गेप्चुकामा दिदी–भिनाजुसँग बस्थी ।
जीवन सङ्घर्षको सगरमाथा आरोह गर्ने क्रममा त्यसैको फेद सोलुखुम्बूमा रमाएका दिनहरूमा मलाई जुन फूल देख्यो, त्यही राम्रो लाग्थ्यो । खिरिलो उमेरको कुरा । लामजुरा पासको हिउँमा चिप्लेको, रसिला स्याउ, आरूबखडाका फूलहरू र हँसिला सेर्पिनीहरूको सामीप्यताले गजल लेखनमा बान्की भरिएको अघाउँजी सम्झना छ ।
‘कमिनी माइलीसँग जोगिएरै बस्नु है सर ! त्यसलाई त हिस्टेरिया लागेको छ भन्ने सुनेको छु,’ घरबेटी हजुरबा परिस्थिति सम्झाउँछन् । सम्झाउँछन् के भन्नु, मन चोर्न खोज्छन् । शारीरिक रूपमा केही अपाङ्ग भए पनि यस्तो–उस्तो कुरामा खल्ली छन्, बूढा । नाम लालबहादुर बस्नेत ।
‘कसरी थाहा भो बाबै, माइलीलाई हिस्टेरिया छ भन्ने कुरा ?,’ म पनि रसिक हुँदै कुरा लम्ब्याउन खोज्थेँ ।
‘कुन दिन आइलाग्छ अनि थाहा पाउनुहुन्छ,’ बाबैको जिस्क्याइ यथावत् हुन्थ्यो  ।
फेल्दारे भीरमा एउटै मात्र घर थियो । त्यसैको एउटा कोठामा थियो, बाबैको साधारण चिया–पसल । बसिबियाँलो । मकैबारीमा बाँदर रुँग्ने मेलो । अर्को कोठामा हाम्रो डेरा थियो । हाम्रै लागि पार्टेसन गरिएको । हाम्रो भन्नाले संखुवासभा, चन्दनपुरका साथी श्यामकृष्ण श्रेष्ठ र म । साहित्यिक नाम श्याम विरही श्रेष्ठ । दुवै अविवाहित । दुवैको साहित्यमा रुचि । दुवैका अक्षर राम्रा । दुवै जय नेपालवाला पार्टी । तर, फुर्सदको बेला म बाहिरफेर घुम्न मन पराउने, उनी कोठैमा हुन्थे । बिपी र समाजवाद पढी बस्थे ।
माइलीको कुरामा खासै ध्यान दिँदैनथे । माइली बारीको काम सघाउन कहिले मेस्की (घरबेटीको मूलघर) कहिले फेल्दारे आइरहन्थी ।
दिनाङ्क २०४९ मङ्सिर ३० गते । सोलुखुम्बूको उत्तरवर्ती मञ्जु गाउँबाट चिठी लेखेका थिए विरहीले । दसैँ अघिसम्म हामी सँगै थियौँ । एउटै स्कुलमा पढाउँथ्यौँ । कमलामाई प्रावि गोली, मैली । पछि उनी सरुवा भएर मञ्जु प्रावि पुगे । म राजनीतिक दबाबमा प्रअ बनाएर बुद्ध प्रावि गोली तानिए । एक्लो भए पनि डेरा उही फेल्दारेमै थियो ।
म माइलीको कुरा गर्दै थिएँ ।
...
गाउँलेहरू महिना–दुई महिनामा नुहाएको, लुगा धोएको देख्थेँ । आफू परियो पक्का मधेसी । हप्ता–दस दिन भयो कि सिकसिको लागिहाल्थ्यो । नुहाउन तलमाथि जे भए पनि लुगा चाहिँ दुई–तीन दिनमा धोइरहनुपर्ने । डेरानजिकै घुमाउरोमा खोल्सो थियो । खोल्साको पानीलाई पूर्वतिर अलिकति बङ्ग्याएर बाँँसको धारो बनाएको थियो । घाम लागेका बेला म प्रायः खोल्सामा भेटिन्थेँ । नलागेका बेला कोठामा हुन्थेँ, रेडियो सुन्दै ।
एउटा ओरिजिनल फिलिप्स रेडियो थियो । फारबिसगञ्जबाट जोगबनी हुँदै भन्सार नतिरी सोलुखुम्बू पु¥याएको, म आफैँले । रेडियो नेपाल, अल इन्डिया, विविध भारती, सिआरआई, रेडियो सिलोन जे–जे टिप्छ त्यही सुनिन्थ्यो । कलैयाबाट कुर्वान हवारी, सोनम हवारी, बेगम ताजमा हवारी । झापा गौरादहबाट कल्पना ताजपुरिया, राजन ताजपुरिया, विष्णु ताजपुरिया, लक्ष्मी ताजपुरिया र साथीहरू । चार मिनेटको गीतमा सात मिनेटको फर्माइस हुन्थ्यो ।
खासमा बिबिसि हिन्दी, उर्दू, नेपाली जुन भाषाको भए पनि नसुनी नहुने । कतै केही सिप नलागे इङ्लिस र बङ्गाली भाषाका कार्यक्रम पनि सुनिन्थ्यो र बुझ्ने प्रयास गरिन्थ्यो ।
माइली पनि रेडियो सुन्न पल्केकी थिई । म कोठामा हुँदा सुनेर बाहिर बस्थी । खोल्सामा हुँदा खोल्समै पुग्थी ।
‘कति पानीको किरो हुनुपरेको सरलाई !’
घरबेटीकी छोरी राधा दिदीले एकदिन ‘हाम्रो सर त पानीको किरो हो किरो !’ भनेको सुनेकी थिई माइलीले ।
अनेक बहाना गर्दै बोल्न खोज्थी । के खोज्छस् कानो आँखो । म पनि धेरै मन–पेट दिन चाहनन्थेँ, तर जिस्किने मौका भने बाँकी राख्दिनथेँ ।
‘किरो होइन, जुका भन न जुका,’ म भन्थेँ ।
‘साँच्चै जुका नै हो कि के हो तपाई,’ ऊ हाँस्दै बोल्थी ।
‘धेर पानी खोज्दै छेउ–छेउ नआऊ, टोक्ला नि जुकाले फेरि !’ म इत्तरिन्थेँ ।
‘टोके त हुन्थ्यो नि !’ उ पनि पासो थाप्थी ।
...
म बाहुनको छोरो, ऊ कामीकी छोरी । म आफूलाई जान्ने–बुझ्ने ठान्ने सहरको केटा, ऊ दुनियाँ नदेखेकी दुर्गमकी केटी । म आई ए पास गरेको, ऊ साउँ अक्षर नपढेकी । म गाउँको मास्टर, ऊ सामान्य खेताला । म पच्चीसको, ऊ उन्नाईसकी । उमेर मिल्दोजुल्दो भए पनि के–के सोच्थेँ, चुप लाग्थेँ । खासै मिल्ने छेकछन्द देख्दिनँथेँ ।
फेरि, ‘कमिनी माइलीसँग जोगिएरै बस्नु है सर ! त्यसलाई त हिस्टेरिया लागेको छ भन्ने सुनेको छु,’ घरबेटी बाबैको पूर्व–सूचनाले पनि राम्रै सवलीकरण गरेको थियो ।
खासमा माइलीसँग मेरो कुनै लगाव, कुनै प्रेम थिएन । मात्र, शारीरिक आकर्षण थियो । हिँड्दा–हिँड्दै हाँचबाट छुट्टिएर केहीबेर भेटिएका मकुना र ढोईको जम्काभेट जस्तो ।
यो मेरो कुरा भयो । उसको मप्रति कुनै प्रेमिल भावना थियो वा थिएन ? त्यो म यसै भन्न सक्तिनँ । अथवा यसो भनौँ, उसलाई मैले त्यो कुरा भेटमा कहिल्यै सोधिनँ वा सोध्न आवश्यक ठानिनँ ।
अब खास प्रसङ्गमा आऊँ ।
मलाई प्रअ बनाएर ल्याइएको बुद्ध प्राविको चौरमा शनिबारे हाट लाग्थ्यो । डेरा भएको ठाउँ फेल्दारेबाट स्कुल वा हाट आउन एक घण्टाभन्दा बढी समय लाग्थ्यो । बिचमा मेस्की गाउँ थियो । एकदिन हाटमा अलि बढी नै अलमल भयो । छकालमा रेडियो घन्काउँदै डेरा फर्किँदै गर्दा बाटैमा साँझ परिहाल्यो । गड्याङ–गुडुङ, पानी पर्ला–पर्ला जस्तो पनि भयो । मेस्कीमा (घरबेटीकै मुलघरमा) बस्ने निधो गरेँ ।
घरमा बाबै थिएनन् । राधा दिदी पनि आफ्नै घरतिर गएकी रहिछन् । आमै मात्र थिइन् । झ्यार्र पानी परिहाल्यो । साँझको पानी कतिखेर रोकिन्छ भन्न सकिने स्थिति थिएन ।
माइली त्यहीँ आएकी रहिछे ।
...
हजुरआमा सर आए भन्दै, खुसी हुँदै दूधरोटी पकाउने तर्खरमा लाग्नुभयो ।
दूधरोटी भनेको तपाईलाई थाहा होला । पिठाको डल्लोलाई पेडा जस्तो गोलो–गोलो बनायो अनि भकभक उम्लिरहेको दूधमा हाल्यो, केहीबेर पकायो, निकाल्यो खायो । छ भने चिनी हाले पनि हुन्छ । नभए पानी नहालेको दूधमा पकाको डल्लो त्यसै पनि गुलियो हुने ।
अँगेनामा चढाएर मलाई झर्काको थालमा दिइसकेपछि हजुरआमा सिलाबरे थालमा दूधरोटी पस्केर दैलातिर लाग्नुभो ।
‘त्यो चाहिँ कसलाई नि ?’ मैले सोधेँ ।
‘छिँडीमा माइली छे, त्यसैलाई ।’
‘ए... यीँ बस्छे माइली आज ?,’ छक्क पर्दै मैले सोधेँ ।
‘कहाँ जान्छे त राति अब !’ हजुरआमाले भन्नुभो ।
म केही नबोली चुपचाप खाइबसेँ । हजुरआमा धन्दा सकेर माथि टाँडमा उक्लिनुभयो । म त्यहीँ अँगेना छेऊको ओछ्यानमा पल्टिएँ ।
विविध भारती सकियो, बिबिसि सकियो, रेडियो नेपाल सकियो । भोलि बिहान प्रशारण हुने कार्यक्रमको रूपरेखा पनि सकियो । तर, मलाई राति बाह्र बजिसक्दा पनि निद्रा परेन ।
अँगेनो भएको कोठो ठुलो थियो । बिचमा ढोका थियो, भित्रैबाट आग्लो लगाउन मिल्ने । त्यसपछि छिँडी कोठा थियो । छिँडी कोठामा पनि अर्को ढोका थियो । त्यसको उत्तरतिर सिँढी थियो, माथि जाने । दक्षिणतिर भुइँमा सुतेकी थिई, माइली ।
बिचमा पिसाब फेर्ने बहानामा म बाहिर निस्किएँ । चकमन्न, निस्तब्ध थियो आँगनभरि । मनमा भने एकपछि अर्को तारा सल्बलाइरहेका थिए । के गरुँ, के नगरुँ !
अलिअलि डर, अलिअलि सङ्कोच, अलिअलि लाजको अवस्था थियो ।
तर, त्यसरी आँगनमा टोलाएर कतिबेर बसिरहनु ?
केहीबेरपछि सुस्तरी सुरुको आग्लो लगाएँ र हजुरआमाले नसुन्ने गरी एकछिन माइलीसँग गफ गरेँ ।
दस मिनेटपछि म अँगेनाको डिलमा यथावत् थिएँ । कतिखेर भुसुक्क भएँछु, थाहै पाइनँ । बिहान उठ्दा माइली गइसकेकी थिई ।
‘अस्ति मेस्कीमा माइलीसँग निकैबेर गफ गर्नुभो रे नि सरले !’ एकदिन राधा दिदीले जिस्क्याउँदा पो थाहा भयो, त्यो दिन बूढीआमै त्यतिबेलासम्म सुत्नु भएकै रहेनछ ।
माइलीसँगको सान्निध्यता त्यति नै हो । त्यस दिनदेखि फेरि ऊसँग भेट भएको छैन ।
त्यही अविस्मरणीय रातको सम्झनामा पछि मैले एउटा गजल लेखेको थिएँ –
‘दाग रै’छ त्यसैले नै बद्नाम मेरो जून छ हजुर !
घाम लाग्दा नपग्लिने त्यस्तो हिमाल कुन छ हजुर ?’
०००
bisnuprasad.bg@gmail.com

फिजीकरणको नेपाली रिमिक्स
– सुविद गुरागाई

रोटी–बेटीको सम्बन्धमा अपेक्षाविपरीत चीसो अनुभव थपिएको धेरै भयो ।
नेपाल र भारतबीच सनातनदेखि रहिआएको भनिएको सम्बन्ध चिसिएको मात्र छैन, दशगजा सेरोफेरोका नेपाली मनहरूमा पटक–पटक तुसारापात हुँदै आएको छ । जङ्गेपिलर वरपर जाडो थपिएको थाहा पाएर दिल्लीको मानसिकता पनि बेला–बेलामा कठ्याङ्ग्रिने गर्छ ।
पृष्ठभूमिमा कालापानी छ । लिपुलेक छ । सुस्ता दुखेको छ । झवाहा मौजा, लिलजा डुबान, रानीगञ्ज भन्सार, जिरो आरडी समूल विलय भएको वर्षौ भइसक्यो । खोजखबर छैन ।
साक्षी कोसी ब्यारेज छ । अब त त्यो पनि बूढो भइसक्यो ।
प्रशासनले हेर्दा–हेर्दै ‘अन्तिम’ सीमास्तम्भ कोसीले बगायो । डब्लु पी २०८ एचपी १०७ । कोशीब्यारेज तथा सेतुबन्ध बस्तीलाई नेपाली ठाउँ हो भनी भारतको जमीनसँग छुट्याउने सीमास्तम्भ प्रशासनलाई सूचना दिँदादिँदै कोसी कटानमा प¥यो । २०६२ असार ११ गते करनाल दैनिकमा फोटोसहित सूचना छापियो । कसैको कान हुनुपर्ने जति ठाडो भएन ।
सुनसरीको कोसी ब्यारेजदेखि सप्तरीको गोबरगडासम्म नापी–नक्सामा सीमाङ्कन खाली छ आज पनि । लेन्डुप दोर्जीलाई दुख्दैन यस्ता कुराले । काम चलेकै छ ।
...
चमक–दमकसहित गणतन्त्र नेपालको संविधान घोषणा भएको दिन २०७२ असोज ३ गते ।
१५९ वर्षअघि जङ्गबहादुर राणा र जहानियाँ शासनको उदय भएको दिन असोज ३ गते ।
१९०३ असोज २ गते राति ।
जङ्गबहादुरले भाइहरूसमेत भएर प्रधानमन्त्री फत्तेजङ्ग शाह, अभिमानसिंह, दल भञ्जन, वीरकिशोर पाण्डे, खड्गविक्रम आदि ४० जनाको हत्या गरेको घटनालाई नेपालको इतिहासमा कुख्यात र प्रतिगमनको कालो दिनका रूपमा सम्झिने गरिन्छ ।
आधुनिक नेपालका राजनीतिक दलहरूले हामीलाई अग्रगमनको उज्यालो चिनाउन त्यही तिथि रोजे । नभन्दै, आधा ठाउँमा दिपावली भयो, आधा ठाउँमा ब्ल्याक–आउट । कालो दिन कालै भइरह्यो, आधा नेपाली मनमा ।
संविधान घोषणा गर्नु चार दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा आएका विदेश सचिव एस जयशङ्करले संविधानसभाको जारी प्रक्रिया १०–१५ दिन रोकेर तराई–मधेसमा भइरहेको आन्दोलनको सुनवाइ गर्न आग्रह गरेका थिए । तर, नेपाली ‘सार्वभौम’ नेताहरूले निर्धारित तिथिमै ‘नेपाली कागज’बाट बनेका संविधानका पाँच प्रतिमा हतार–हतार हस्ताक्षर गरे । आफूलाई नेपालीको परम मित्र, असली शुभचिन्तक दाबी गरेर कहिले नथाक्ने भारतीयहरू यो घटनाले कुँढिए । जिउँदाको जन्ती, मर्दाको मलामी हुने असल छिमेकीको मर्यादा बिर्सेर आवातजावत गर्ने मूल नाकामा गजबार हालिदिए । संविधान लेखेबापत सबैभन्दा नजिकको छिमेकीबाट नेपालीले बधाईको साटो चाडबाडको मुखमा अघोषित नाकाबन्दी उपहार पाए । यसले आम नेपाली मनमा एकाएक भारतविरोधी भावना चुलिन पुग्यो । यद्यपि यो नाकाबन्दीले दुख मात्र दिएन, नेपाली राष्ट्रियता प्रवर्धनमा कोसेढुङ्गाको काम पनि ग¥यो । कम से कम २०४६ सालपछिको नेपाली पुस्ताले भारतीय हेपाहा व्यवहार बुझ्ने राम्रो अवसर पाए । भारतीय सुन्तले, सेतो, हरियोलाई कुरीकुरी लाग्नेगरी नेपाली रातो, सेतो, निलो तिरङ्गा गालामा टाँसेर यति धेरै सेल्फी खिचेको यसअघि कहिल्यै देखिएको थिएन ।
...
‘जनकपुरधाम भारतको भूमि हो,’ भारतीयहरू यस्तै ठान्छन् ।
धार्मिक भ्रमण भन्दै नेपाल घुम्न आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई सम्बोधनसहित सांसद कीर्ति आजादले भारत बिहारका केही भूभाग र नेपालको जनकपुर समेटेर मिथिला राज्य गठन गर्नुपर्ने विचार सार्वजनिक गरे । बिहारका मुख्यमन्त्री नितिशकुमारलाई पनि साक्षी राख्दै कीर्ति आजादले ‘दुई सय वर्ष पहिले नेपाल र भारतबिच भएको सन्धिका कारण मिथिलाको राजधानी जनकपुरधामको भूभाग नेपालतर्फ परेको र अब त्यो सन्धिको औचित्य सकिएकाले जनकपुर भारतमा विलय गराउनुपर्ने,’ उनको तर्क छ ।
नेपाललाई फिजीकरण गर्ने भारतीय प्रयासका अनेकन प्रमाण सामाजिक सञ्जालमा भेटिन्छन् । संविधान घोषणाको पूर्व सन्ध्यामा आधिकारिक रूपमा होइन–होइन भन्दै भारतीय पक्षद्वारा नेपालको संविधानमा संशोधन गर्नुपर्ने शीर्षकमा सात बुँदे सुझाव अगाडि सारिएको थियो । भारतको भनिएको उक्त सात बुँदे सुझावको पहिलो बुँदामा जनसङ्ख्या आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने माग गरिएको छ । दोस्रो, तेस्रो र चौथो बुँदामा न्यायको हकअन्तर्गत ‘समानुपातिक’ शब्द राखिनुपर्ने, राष्ट्रका विशिष्ट पदहरूमा अङ्गीकृत नागरिकता पाउने व्यक्तिले पनि अवसर पाउनुपर्ने र राज्यसभामा पनि प्रान्तीय जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने भनिएको छ । पाँचौँ बुँदामा कञ्चनपुर, कैलाली सुनसरी, झापा र मोरङ मधेस राज्यमा आउनुपर्छ भन्ने माग उल्लेख छ । छैठौँ बुँदामा हरेक २० वर्षमा निर्वाचन क्षेत्र पुनःनिर्धारण गरिने भनी गरिएको व्यवस्था गलत भएको तर्क गरिएको छ । सातौँ बुँदामा नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले स्वतस्फूर्त नागरिकता पाउनुपर्ने दाबी गरिएको छ ।
संसारमा कतै नभएको र स्वयम् भारतमा पनि सोनिया गान्धीलाई विदेशमा जन्मेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिमा जान रोकिराखेको परिप्रेक्ष्यमा नेपालमा चाहिँ वंशज र अङ्गीकृत नागरिकतावाला दुवैलाई एउटै व्यवहार हुनुपर्छ भन्ने विवादास्पद तर्क गरिएको छ । तर, जसको सरोकारका लागि यो माग गरेको भनिएको छ, उनीहरू अधिकतरले सार्वजनिक रूपमा यो माग नेपाली मधेसीहरूको होइन भनिरहेका छन् ।
यसले भारत कालान्तरमा नेपालमा फिजीकरण भएको हेर्न चाहन्छ भन्ने सङ्केत मिल्छ ।
...
फिजीमा सन् १९७७ मा भारतको दबाबमा भारतीय मूलका नागरिकहरूलाई नागरिकता दिने निर्णय गरियो । १९८७ सेप्टेम्बर २८ देखि १९९० जुलाई २४ सम्म फिजी संविधान विहीनताको अवस्थामा थियो । यो संवैधानिक शुन्यताको फाइदा उठाएर भारतले उक्त अवधिसम्म फिजीमा रहेका सबै भारतीयलाई नागरिकता दिनुपर्ने भनी दिएको दबाबअनुसार नयाँ संविधानको धारा २० मा फिजीमा जन्मेका जुनसुकै व्यक्ति नागरिक हुने प्रावधान राख्न लगायो । साथै, सोही ऐनमा कुनै बालक निजको बाबुले फिजीको नागरिकता लिनुभन्दा पहिले विदेशमा जन्मेको भए पनि नागरिकता पाउने प्रावधानसमेत राखियो ।
सन् १८८१ मा पाँच सय ८८ को सङ्ख्यामा रहेका भारतीयको जनसङ्ख्या सन् १९९६ सम्म आइपुग्दा तीन लाख ३९ हजार पुग्यो । यही नागरिकता प्रकरणको आडमा संसद्मा ७१ सिटमध्ये ३७ सिट भारतीय नागरिकहरूको हातमा गयो भने भारतीय नागरिक महेन्द्र चौधरी प्रधानमन्त्रीमा विजयी भए ।
भारतले नेपाली भूमिमा पनि उही प्रयोग परीक्षण गर्न चाहेको देखिन्छ । वंशज र अङ्गीकृत नागरिकतावाला दुवैलाई समान सम्बोधन हुनुपर्छ भन्ने मागले सच्चा नेपाली मधेसका भूमिपुत्रहरूलाई कुनै फाइदा हुने छैन । २०२७ सालमा सर्लाही जिल्लाबाट अङ्गीकृत नागरिकता लिएका बिहार सोनवर्षाका राजेन्द्र महतो तथा सन् २००४ मा भारतको उत्तर प्रदेश गाजियावादस्थित खोना मकानपुर नगरपरिषद् चुनावका उम्मेदवार, दोहोरो नागरिकताधारी केदारनन्दन चौधरीजस्ता एक–दुई जनाको कुरा बेग्लै हो ।
सतही रूपमा हेर्दा यी सुझावहरू एउटा असल छिमेकीले दिएको सल्लाह जस्तो लाग्छ । तर, यसको पाश्र्व नियत ठिक छैन । यसमा केही नेपाली संस्करणका लेन्डुप दोर्जीहरूलाई मोहरा बनाएर लाल–किल्लाबाट शासनको बाघचाल खेल्ने मनासय घोलिएको छ ।
तर, वीर नेपाली जातिको नयाँपुस्ता ग्रेटर नेपालको सपना देखिरहेको छ, जुन कुरा भारतलाई थाहा नै होला ।
...
आज पनि नेपालका विद्यालयहरूमा पूर्वको तिष्टा नदीदेखि पश्चिम किल्ला काँगडासम्म नेपाली भूभाग हो भन्ने गीत गाइन्छ । सन् १९५० को सुगौलीलगायत असमान सन्धि–सम्झौताहरूले नेपाली भूमि गुमेको धरातलीय यथार्थ हो । यो सन्धिबाट नेपालले आफ्नो अधीनस्थ भूमिको दुई तिहाई भू–भाग गुमाउनुपरेको थियो ।
त्यसलाई चुनौती दिँदै अन्तर्राष्ट्रिय अदालत हेगमा भारतविरुद्ध मुद्दा हाल्ने पर्याप्त आधार–प्रमाणहरू नयाँ नेपाली पुस्तासँग रहेकोबारे भारतीय गुप्तचर ‘र’का एजेन्टहरू सचेत छन् । सम्भवतः त्यसैकारण नेपालमा राजनीतिक स्थिरता र स्थायी शान्ति भएमा नयाँ पुस्ताले यसबारेमा प्रश्न गर्नेछ भन्ने भयले भारतीयहरू नेपाली समाज निरन्तर सङ्क्रमित बनाइरहन चाहन्छन् । त्यसैबाट सङ्क्रमित डिजेहरूले नेपाली माटोमा बज्दाबज्दैको लोकगीत हटाएर फिजीकरणको झ्याउरे रिमिक्स घन्काएको सुन्न पाइन्छ बेला–बेलामा ।
संविधान संशोधन प्रस्तावको ह्याङओभर बाँकी नैे छ । ‘मधेस प्रदेश, नभए देश’ बोलको हिन्दी रिमिक्स तयार गर्ने मुम्बैया स्टुडियो सञ्चालकहरूको सक्रियता उस्तै छ । त्यही लयमा कतिपय नेपाली अगुवा–पछुवाहरू स्वरमा स्वर खापिरहेछन् । मदमत्त मृदङ्गियाहरू जथाभावी ढोल ठोकेर त्यसलाई अझ भद्दा बनाइरहेछन् ।
यता भारतलाई दिनुपर्ने केही सुझावहरू हामीसँग पनि छन् । तीमध्ये सुनसरीको कोसीमा ब्यारेज निर्माणका क्रममा भीमनगर, मुसहरनिया, रानीगन्ज मौजाका सीमाहरू भत्काएर निर्माण सम्पन्न भएपछि आफूखुसी स्तम्भ गाड्दै सात हजार बिघा नेपाली भूभाग भारतमा विलय गराएको घटना सप्रमाण छ । योसहित भारतीयहरूबाट अतिक्रमित नेपालको ५४ स्थानको भूमि भारतले तत्काल नेपाललाई फिर्ता गर्नुपर्छ भन्ने हाम्रो पहिलो सुझाव हो । भारतीय व्यवहारले नेपाली राष्ट्रितामा खलल पुगेका र भारतले अविलम्ब स्वीकार गर्नुपर्ने अन्य सुझावहरू हुन्, १९५० को सुगौली सन्धि पुनरावलोकन गर, चीनसँग गरेको लिपुलेक सम्झौता खारेज गर र कालापानीबाट भारतीय सेना हटाऊ ।
भारतको आन्तरिक मामिलामा पनि नेपाली सुझाव मिसाउन बाँकी छ । ‘गोर्खाल्यान्डको माग, मोदीको माग’ भन्दै भारतीय जनता पार्टीले त्यहाँबाट चुनाव जितेकाले दार्जिलिङबासीप्रति राजनीतिक बेइमानी गर्न पाइँदैन । त्यहाँका नेपालीभाषीलाई गोर्खाल्यान्ड देऊ । नेपालीहरूको दोस्रो, तेस्रो, चौथो र पाँचौँ सुझाव छ, शिखहरूलाई खालिस्तान देऊ, पटेलहरूलाई पनि आरक्षण देऊ, भूमि–अधिकरण बिल खारेज गर र दिल्लीलाई पूर्ण राज्यको मान्यता देऊ । सोनिया गान्धी प्रधानमन्त्री–राष्ट्रपति हुन पाउने बाटो खुला गर भन्ने हाम्रो छौठौँ सुझाव हो । त्यसैगरी हाम्रो सातौँ सुझाव हो, जम्मु–कास्मिरमा सधैँ विवाद भइरहने हुँदा आधा पाकिस्तानलाई देऊ, आधा तिमी राख । हुन्छ ?
...
यसैबीच, चितवन–पर्साको ठोरीस्थित अतिक्रमितमध्ये ८३ र ८४ नम्बर सीमास्तम्भ साविककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड अर्थात् ९६ रोपनी नेपाली भूमि नेपालले फिर्ता पाउने समाचार सार्वजनिक भयो । भारतले नवलपरासीको सुस्ता, लिपुलेक, कालापानीलगायत नेपाली दाबी छोड्न दबाबस्वरूप यो घटना परिदृश्यमा आएको हुनसक्छ । बर्दियाको वन पैदावर र चुरेको गिट्टी–बालुवा बेरोकटोक भारत लान दिइयोस् भन्ने मनासय पनि त्यसमा मिसिएकै छ । नेपाली भूमि जलमग्न भए पनि सीमा क्षेत्रमा बाँध बनाएर भारतीय खेत पटाउन पानी चाहनु उसको सनातन लोभ हो ।
भारतीय प्रधानमन्त्रीका विशेष दूतले नेपाली सञ्चारमाध्यममार्फत् मुलुकका अरू जिल्ला टुक्र्याए जस्तै सुनसरी जिल्लाको दक्षिणी भागलाई दुई नम्बर प्रदेशमा मिसाउन नेताहरू किन तयार भएनन् भन्ने प्रतिप्रश्न गरेका थिए । यो तहको सूचना उनले कसरी पाए ? यसरी तल्लोस्तरमा उत्रिएर नेपाली राजनीतिक मैदानमा कोही भारतीय खेलाडीलाई निर्वाध पेनाल्टी हान्ने आमन्त्रण कसले दियो ? पक्कै पनि नेपाल आमाकै केही सन्तानले विपक्षीको डिबक्समा जानी–जानी हेन्ड गरेर आत्मघाती गोलका लागि अवसर सिर्जना गरिदिएको हुनुपर्छ ।
तर, यो सिलसिला आजदेखि चलेको होइन । पछिल्लो संस्करणमा लोकतन्त्रका हिमायती र राष्ट्रवादी भनिएका नेताहरूकै संलग्नताले नेपाली मन विलिनो बनाएको छ ।
यहाँनेर यो निसङ्कोच भन्न सकिन्छ कि भारतीयहरू आफ्नो मनले अतिक्रमणको नाङ्गो नाच देखाउन उद्दत भएका होइनन् । हाम्रै केही मान्छेहरू छन्, जो यो सब गर्न उनीहरूलाई सूचना दिइरहेका छन्, उक्साइरहेका छन् । नाकाबन्दीका बेला भारतीय भूमिबाट नेपालतिर ढुङ्गा हान्नेमा ९० प्रतिशतभन्दा बढी नेपाली हात फोकस इन भएका तस्बिरहरू देखिएका थिए । सिद्धान्ततः तस्बिरको खण्डन हुँदैन । त्यसैले हामी हाम्रा लाजलाग्दा पोजहरू दिन बन्द गरौँ । नेपाली भएर फिजीकरणको भद्दा हिन्दी रिमिक्समा रमाउन छोडौँ ।
०००
bisnuprasad.bg@gmail.com
माया गर्नु नगर्नु मर्जी हजुरकै ।
जालमा पर्नु नपर्नु मर्जी हजुरकै ।
लाली फुल्नू रहरले सधैँ शिखरमा,
बेँसी झर्नु नझर्नु मर्जी हजुरकै ।
धेरै छन् लगाउने नजर हजुरमा,
आँखा तर्नु नतर्नु मर्जी हजुरकै ।
उता एक्लो जिन्दगी बित्ला कसरी ?
यता सर्नु नसर्नु मर्जी हजुरकै ।
छाडिदिन्छु दुनियाँ हजुर सम्झेर,
विश्वास गर्नु नगर्नु मर्जी हजुरकै ।
– सुविद गुरागाई
यथार्थभित्र लुकेको परीक्षाको कथा
– सुविद गुरागाई

मातृभूमि साप्ताहिक, वर्ष –२, अङ्क –४६ ।
२०४५ साल मङ्सिर ७ गते मङ्गलबार ।
सुविद गुरागाई बाइलाइनमा ‘छापिएको यथार्थभित्र लुकेको परीक्षाको कथा’ आज हुबहु तपाईलाई सुनाउँदै छु ।
इतिहास विषयको परीक्षा चलिरहेको छ । प्रमाणपत्र तह द्वितीय खण्ड मानविकीका छात्रछात्राहरू परीक्षा दिइरहेका छन् । सिम्बल नम्बर ०९१६९–७ पनि परीक्षा भवनको पुछारमा आफ्नो निम्ति तोकिएको ठाउँमा बसेर परीक्षा दिइरहेको छ ।
ऊ आज एकदम खुसी देखिन्छ । प्रश्नपत्रमा सोधिएका सजिला प्रश्नहरू देखेर, ऊ आफ्नो मूल्याङ्कनको सम्भाव्य परिणाम सोचेर खुसी हुन्छ । आज उसको अन्तिम परीक्षा हो । एकपटक मनलाई संवेदनशील बनाउँछ, घोरिन्छ र प्रश्नहरूको उत्तर लेख्न सुरु गर्छ । आज ऊ सम्भाव्य जितको उन्मादमा छ ।
अहिले करिब दुई घण्टा सकिएको छ । सोधिएका पाँच वटा प्रश्नहरूमध्ये चार वटाको उत्तर दिइसकेको छ । समय हेर्छ, अझै एक घण्टा बाकी छ । फेरि पाँचौँ प्रश्नको उत्तर लेख्न थाल्छ ।
ऊ लेख्दै हुन्छ । अचानक उसलाई अल्छी लागेर आउँछ र हाई गर्छ । हाई गर्ने क्रम रोकिँदैन, दुई–तीन पटक लगातार चल्छ । मानिसले रोगलाई आफ्नो वशमा पार्न सक्ने भए अमर हुन्थ्यो होला । तर, त्यसो कहिल्यै हुँदैन । हाम्रो शारीरिक संरचना अनौठोको छ । उसलाई यो हाई गर्ने व्यथाले सताएको करिब एक महिना भइसकेको छ । परीक्षाको तयारी गर्नुेपर्ने भएकाले रोग अस्पतालसम्म लग्न भ्याएको छैन । आज पनि रोगले असमय च्याप्यो ।
केही बेरपछि ऊ शान्त हुन्छ । त्यसैबीच उसले आफूलाई पूर्वावस्थामा ल्याउनुअगावै परीक्षा भवनमा विद्यार्थी गतिविधि हेरिरहेका ‘अब्जर्भर’ले ऊ नजिकै आएर बोलाउँछन् –
‘भाइ !’
‘हजुर सर !’ ऊ कसैले आफूलाई बोलाउँदै छ भनेर प्रत्युत्तर दिन्छ ।
‘तरिका भएन भाइ,’ अब्जर्भरको कठोर वाक्य ।
ऊ आफूमाथि भएको अप्रत्यासित शब्द आक्रमणले आत्तिन्छ र ‘मैले बुझिन सर ! के तरीका भएन ?’ भन्छ । ऊ आफूमाथि थोपरिएको दोषको कारण जान्न चाहन्छ ।
‘धेरै डिस्कस नगर्ने भाइ पाँच वर्षका लागि जाइएला नि !’
‘मैले कुरा अझै बुझिन सर !’ उसको वाक्य कमजोर हुँदै जान्छ । गालाहरू एउटा सम्भाव्य डरले राता हुँदै जान्छन् । उसले केही कुरा बुझिनँ भने पनि उसको मनमा चिसो पसिसकेको छ कि यी महाशय ऊप्रति कस्तो अवधारणा राख्दै छन् ।
वादविवाद त्यत्तिकै हुन्छ । केहीबेरपछि उनी कक्षाको गतिविधि निरीक्षण गरेर बाहिरिन्छन् । सबै शान्त छन् । तर, ऊ तिनको गतिविधि हेर्दै छ । ऊ बाहिर गएर सुपरिटेन्डन्टलाई भेट्छन् । सुपरिटेन्डन्टबाट केही निर्देशन लिएर फेरि परीक्षा भवनभित्र पस्छन् । र, सिम्बल नम्बर ०९१६९–७ सहित प्रवेशपत्रबाट उसको नाम टिपेर लैजान्छन् ।
...
ऊ परीक्षा दिएर निस्कन्छ । बाहिर हल्लीखल्ली छ । आज एक जना विद्यार्थी दुई वर्षका लागि निष्कासित गरियो रे ! ऊ स्तब्ध हुन्छ । को रहेछ त्यो ? कतै मै त हैन ? हुन सक्छ । मनमा चिसो पसेर आउँछ । ऊ दौडन्छ क्याम्पस कार्यालयतिर । क्याम्पस प्रमुखलाई सोध्छ । कर्मचारीलाई सोध्छ । उनीहरूको जवाफले चित्त बुझ्दैन । परीक्षा गार्डलाई सोध्छ । चित्त बुझ्दैन । स्वयम् सुपरिटेन्डन्टलाई भेट्छ, जवाफ पाउँछ, ‘हामीलाई थाहा छैन ।’
उसलाई लाग्छ यिनीहरू ढाँटिरहेका छन् । उसलाई षडयन्त्रमा धकेलिरहेका छन् । अनि बिन्ती गर्छ –
‘सर ! आखिर मेरो के दोष छ र ?’
ऊ छटपटिन्छ । रुन मन लाग्छ उसलाई ।
‘त्यो पनि हामीलाई थाहा छैन ।’
ऊ खिन्न हुन्छ ।
...
चिया पसल । त्यो चिया पसल उसैको हो । आजसम्म यही साधारण चिया पसलले उसलाई पढाउँदै छ । उसकी विधुवा आमा । विद्यालयमा छउञ्जेल उसकी आमाले सत्र जनालाई भनसुन गरेर निःशुल्क पढाएकी हुन् । विद्यालय जीवनमा ऊ जेहेनदार विद्यार्थी थियो र निरपेक्ष गरिब । गरिब त ऊ अहिले पनि छ । आफ्नो छोराबाट थुप्रै आशा राखेर, ऋण गरेर भए पनि छोरालाई क्याम्पसमा पढाउँदै छिन् उसकी आमा ।
यिनै कुराहरू सोच्दै हुन्छ चिया पसलमा बसेर ऊ । आमा ग्राहकलाई चिया बनाएर दिन तल्लीन छिन् ।
‘भाइ !’ अचानक उही पुरानै आवाज, ‘के छ त हालखबर ?’
समय साँझपख । ऊ भस्किन्छ । तन्द्रा भङ्ग हुन्छ ।
अब्जर्भर आफ्ना साथीहरू सहित चिया पसलमा आउँदै गरेको देख्छ ।
‘सर ! साथीहरू भन्दै छन्, तपाईले मलाई दुई वर्षका लागि निष्कासित गरिदिनुभयो रे ! यो के भएको सर ?’ ऊ प्रश्नको उत्तर दिनुको साटो प्रश्न गर्छ ।
‘त्यो हामीलाई थाहा हुन्न भाइ । पछि त्रिविले परीक्षाफल प्रकासित गरेपछि थाहा भइहाल्छ नि !’
‘कस्तो कुरा गर्नुहुन्छ सर ! लेखकलाई आफ्नो कथावस्तु थाहा नभएर कसलाई हुन्छ त ? मेरो गल्ती के थियो सर ? म चुप लागेर लेखिरहेको बेला तपाईले नै त पहिले बोलाउनुभएको हो सर ।’
‘भो–भो धेर साहित्य छाँट्नुपर्दैन । तिम्रो कुरा गराइ नै त्यस्तै छ । आज बिहान परीक्षा भवनमा तिमीले मसँग डिस्कस गर्दा मेरो इज्जत कति रह्यो र ! मेरो आत्म–सम्मानमा चोट पुगेन त ? मैले तरिका भएन भन्दा चुप लागेर लेखेको भए भइहाल्थ्यो नि !’
‘चुप कसरी लाग्ने सर ? मैले गल्ती नै नगरेपछि,’ ऊ प्रतिवाद गर्छ । ऊ विश्वस्त थियो, उसले केही गल्ती गरेकै छैन ।
‘त्यो त ठिकै छ । तर, तिमीजस्तै सबैले मसँग डिस्कस गरेको भए के हुन्थ्यो थाहा छ ? परीक्षाको वातावरण भङ्ग हुँदैनथ्यो ?’
‘तपाई वातावरणको दाबी गर्नुहुन्छ सर ! वातावरण कसका निम्ति ?’
‘विद्यार्थीका निम्ति ।’
‘विद्यार्थीका निम्ति हो भने परीक्षा हलको नजिकैबाट कुद्ने थोत्रा बस, ट्रयाक्टरले के वातावरण खलबल्याउँदैनन् ?’
‘जेसुुकै होस् त्यो हामीलाई मतलब छैन ।’
‘त्यसो भए सर म निष्कासन भएँ त ?’
‘त्यो हामीलाई थाहा छैन । भनिहालेँ नि त्यो पछि थाहा हुन्छ ।’
‘त्यसो भए ठिकै छ सर ! मेरो दुई वर्षको मेहनतसहित मेरो जिन्दगी बिगार्न आँट्नुभएछ । राम्रै हो सर ! मलाई आफ्नो दुई वर्ष बिग्रेकोमा पिर छैन । तर, अनाहकमा विद्यार्थीहरूमाथि गरिने अत्याचारको म पछिसम्म नै विरोध गर्नेछु । हाम्रा पनि आफ्ना मान्छे होलान्,’ बोल्दाबोल्दै उसको स्वर रुञ्चे हुन्छ ।
‘हामी परीक्षा भवनभित्र त्रिविले दिएको अधिकार पालन गर्छौँ र बदमास विद्यार्थीलाई सजाय दिन्छौँ ।’
ऊ निरुत्तरित भयो । आफूमाथि बदमास शब्दको प्रयोग गर्दा बदमास कस्तालाई भन्छन्, उसले जान्न सकेन ।
...
त्रिवि अतिरिक्त क्रियाकलाप निर्देशनालय । निर्देशकको कार्यालय कोठा ।
ऊ आफ्नो व्यथा पोख्न गाउँबाट राजधानी आएको छ । साथीभाइहरूसँग आउने भाडासमेत खोजमेल गरेर । उसलाई पूरा विश्वास छ, उसको समस्यालाई यहाँकाले बुझिदिने छन् ।
‘सर, म सुनसरीबाट आएको । मेरो एउटा ठुलो समस्या छ सर ! मैले उताबाट चिठी पनि लेखाएर ल्याएको छु ।’
‘खै चिठी दिनुस् त ।’
उसले चिठी झिकेर दियो । चिठी दिइसकेपछि –
‘बस न भाइ ! के छ समस्या नढाँटिकन भन ।’
उसले आज्ञा पायो र बेलिबिसतार लायो । ‘क’देखि ‘ज्ञ’सम्म । एक रत्ति नढाँटी समस्या सुनाइसकेपछि –
‘केही हुँदैन भाइ ! नआत्तिनु । मैले समस्या बुझेँ । परीक्षा हलमा यस्ता वादविवादहरू प्रायः परी नै रहन्छन् । फेरि अब्जर्भरलाई विद्यार्थी निष्कासन गर्ने अधिकार नै हुँदैन ।’
‘तैपनि सर मलाई त डर लागिरहेको छ । मलाई षडयन्त्रमा फसाइँदै छ । कृपया बचाइदिनु प¥यो सर ! म ठुलो आशा लिएर आएको तपाईलाई भेट्न ।’
‘भनिहालेँ नि केही हुँदैन भनेर । नआत्तिनु । तिम्रो नाम र ठेगाना टिपाऊ । केही भएछ भने म मिलाइदिन्छु ।’
...
आज असोज ९ गते ।
परीक्षाफल प्रकासित भएको दिन । मन खुसी छ । उसको परीक्षाफल निश्चय नै राम्रो हुन्छ । अस्ति आएदेखि ऊ यतै काठमाडौँमा छ । दुःख सहेर पनि रोजगारको आशामा ।
ऊ परीक्षाफल बुझ्न परीक्षा नियन्त्रक कार्यालय, जमल आइपुग्यो । भित्तामा परीक्षाफल थियो । ऊ एकछिन त शून्य भयो । केही निर्णय नै लिन सकेन । परीक्षाफलमा निम्न विद्यार्थीहरूले परीक्षा भवनमा अनैतिक कार्य गरेकाले निजहरूको सम्पूर्ण परीक्षा रद्द गरी आगामी वर्ष त्रिवि अन्तर्गगतका क्याम्पसमा दर्ता नलिने भनी लेखिएको ठिक मुन्तिर सात वटा सिम्बल नम्बरहरू लहरै थिए । त्यसैको तेस्रो क्रममा उसको सिम्बल नम्बर थियो । उसलाई भाउन्न छुटेर आयो ।
रुन मन लाग्यो । सकेन । उसका वरिपरि विधुवा आमाका सपनाहरू घुमे । तिनीहरूले जिस्क्याए । उसले मनमनै सोच्यो – ‘रानीपोखरीले यतिबेला मलाई शान्ति दिनसक्छ ।’
‘धत् ! आत्महत्या गर्नु लाछीहरूको काम हो,’ मनले मानेन ।
यसअघि उसले नसोचेको होइन । तर, अब कसैलाई भेट्नु बेकार थियो । नेपालका यस्ता बहादुरहरूले अब केही लछारपाटो लाग्दैन, उसलाई लाग्यो ।
ऊ आफूमाथि खसेको पहाड चुपचाप सहिरहेकै छ ।
...
तिथिमिति सहित तपाईले यो जुन कथा सुन्नुभयो, यसको सेरोफेरोमा मेरो आशा निकै शिथिल भइसकेको थियो । अब के गर्ने ?
मरता क्या न करता । डुबतेको तिनकेका सहारा । जिसका कोही नही होता, खुदा होता है । मायाले संसार थेग्दैन । नानाथरी विचारका पानीफोकाहरू भुक्क फुल्दै, फ्याट्ट फुटेदै गरिरहेका थिए ।
२०४५ कात्तिक ५ गते आइतबार ।
पञ्चायत उत्कर्षका दिनहरू थिए । पञ्चहरू जति थेत्तरा भए पनि राजासँग चाहिँ डराउँथे । राजाले भनेको मान्थे ।
कसैलाई निकै अन्याय भयो भने अन्यायमा परेकाहरूले बिन्तीपत्र हाल्थे । बिन्तीपत्र राजाका कर्मचारीले पढ्थे । सुनुवाइका लागि तत्काल निर्देशन दिन्थे । त्यसको जानकारी हुलाकबाटै घरमा आइपुग्थ्यो । केही काम पनि हुन्थ्यो । कामै भएन भने पनि कम से कम कसैले त सुन्यो आफ्नो पीडा भन्ने आनन्दानुभूति हुन्थ्यो ।
दसैँको सेरोफेरोमा मैले पनि दरवारमा बिन्तीपत्र हाल्ने निर्णय गरेँ । साथीहरू महेश पोखरेल, हरिकृष्ण पोखरेल र म राजा वीरेन्द्रको हातबाट दसैँको टीका लगाउन बिहानै लैनचौरको लाइनमा मिसियौँ । राति आठ बजेतिर बल्ल पालो आयो । मैले आफ्नो भएभरको बेलिबिस्तार लेखेर खामबन्दी गरेको बिन्तीपत्र गोजीमा बोकिराखेको थिएँ ।
टीका लगाइदिँदै गर्दा मैले अचानक गोजीबाट खाम निकालेँ र राजातिर बढाएँ । एडिसिहरू अचानक सक्रिय भए । उनीहरूले मेरो हातमा अचानक देखिएको खाम खास्न लाग्दै थिए, राजा आफैँले एक स्टेप अघि सरेर मेरो हातबाट खाम लिए र एडिसिलाई दिए ।
त्यहीबेला क्लिक, क्लिक, क्लिक । आँखाभरि बिजुली चम्के जस्तो भयो । दरबारको कुनै कर्मचारीले मलाई धकेलेर अगाडि बढाइसकेका थिए । फर्केर हेरेँ, राजा मुसुमुसु हाँसिरहेका थिए ।
...
bisnuprasad.bg@gmail.com