इटहरेली कविको होमलञ्च


सुविद गुरागाईं
कविता किन लेखिन्छ ? सनातनदेखि एउटा पुस्ताले अर्को पुस्तालाई सोध्दै आएको सामान्यज्ञानको जवाफ दिनु उति सजिलो छैन । नामका लागि, दामका लागि वा आत्मसन्तुष्टिका लागि ? आफ्ना लागि वा अरूका लागि ? यसमा अनेक अलमलहरू छन् । कतिलाई लाग्छ, आखिर काम गर्ने उर्जाशील समय कल्पनाको उडानमा किन व्यतित गरिरहेछन् कविहरू ?
हामी कवितामा समुद्रमा, खोलामा, तालमा, पोखरीमा वा धारामा टिलपिल पानी देखेर ‘वाह पानी ! क्या पानी !’ भन्दै रमाएजस्तो नियतिबाट अलिकति भित्र पस्न नसकेको हो कि भन्ने समकालीन अनुभूति छ । हावामा पानीको पर्याप्त मात्रा हुन्छ, कलात्मक विज्ञानसम्मत तरिकाले बुझ्ने–बुझाउने तरिकाको नितान्त अभावै छ । यसका लागि उचित रूपमा सोच्नु र उचित रूपमा लेख्नु जरुरी छ । उसैगरी उचित सिर्जनाहरूले उचित पाठक तथा स्रोता पनि पाउनैपर्छ ।
बुझ्नेका लागि कविता धेरै शब्द चाहिँदैन । भोको घर, सेतो धरती, जनताको भरिया, परेवा सेता–काला, ल्याम्पोस्टबाट खसेको जून, घर फर्किरहेको मानिस, तमोसोत्सव, देश खोज्दै जाँदा, जूनको आगोे, पागल बस्ती, यो जिन्दगी खोई के जिन्दगी ?... आदि पदावलीले सुन्ने–पढ्नेलाई एउटा पूर्ण कविताको चरम सन्तुष्टि दिइसक्छन् । पाठक–स्रोताको मनमा प्रतिक्रियाको पहिरो जानुअघि थाहा हुन्छ, यी साहित्यिक छन्, यिनमा कविता छ । इमर्सनले त भाषण पनि एउटा क्षुद्र किसिमको कविता हो भनेका छन् ।
भर्खर अन्तर्राष्ट्रिय उपाधि जितेको सम्मानित कविताको होमलञ्चमा विशिष्ट उपस्थितिले इटहरेली कवि गणेश खड्काको खुलेरै प्रशंसा ग¥यो । अग्रज स्रष्टा बद्रीविशाल पोखरेलले भने, खड्काका कविता जीवनका लागि हो । सुन्नेका मनमा तर्कनाका हजार ज्वारहरू आए–गए । समुद्री किनारमा क्षितिज हेर्दै बसेको यायावरीको जीउ लहरले बिस्तारै छोएर गएजस्तो आनन्ददायक थियो समय ।
स्रष्टा फाउन्डेसनले जुटाइदिएको प्रतिनिधि जमघटमा कवि खड्काका कवितासँग पहिलो साक्षात्कारको विशिष्ट अवसर थियो । यो धरतीमा भएका अनेक सुन्दर सिर्जनाहरूमा एउटा अर्को सिर्जना थप्न साधनारत कविसँग अपेक्षा गर्ने धेरै ठाउँहरू देखिए । यद्यपि कविता सबैले लेख्छन् तर सबै कवि हुँदैनन् । त्यसमाथि धेरै कविहरू चिनिएकै हुँदैनन् । कवि खड्का पनि अहिलेसम्म विलुप्त नै थिए । भर्खर थाहा हुँदैछ, उनीभित्र सुन्दर कविता सिर्जना गर्ने पर्याप्त रेडियम लुकेको रहेछ ।
अग्घोर मानवेत्तर मान्छेजस्ता आकृतिहरू
युद्धोन्मादमा आकासको फैलावट र
धर्तीको विशालता सीमातिक्रमण गरेर
मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’को
खण्डित भागबन्डा लगाउँछन्...
‘अविजित प्रदेशका अविजेय योद्धाहरू’ शीर्षक राखेर खड्काले लेखेका यस्तै शब्दहरूले नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका लागि निर्णायकहरूको मन छोयो । नभन्दै, कविताले तेस्रो अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा पहिलो भएर एक हजार डलरको ‘हेम–सरिता पाठक काव्य पुरस्कार’ जित्यो । त्योभन्दा ठूलो कुरा, खड्कालाई इटहरीले निकै ‘मिस’ गरिरहेको थियो, जुन आत्मआनन्द सार्वजनिक हुने अवसर मिल्यो । कुनै सिलौटे ढुङ्गामा कलापारखीले बुद्ध आकृति पहिचान गरेजस्तो ।
खड्का २०५२ सालतिर रङ्गकर्मी पहिचानमा निकै रुचाइएका थिए । नाटक लेखन, निर्देशन र अभिनयका लागि चिनिँदा–चिनिँदै उनी बीचमा कता गए, न धनकुटालाई थाहा भो, न इटहरीलाई । केही समय, जनतालाई काम र माम दिन नसक्ने राजधानीको गन्धे हावा सुँघेर अघाएपछि बनीबुतोका लागि पूर्वी अफ्रिकी मुलुक ससेल्स पुगेका रहेछन् । जमघटमा थाहा भयो, सेसेल्सबासी आफूलाई अफ्रिकी भन्न उति रुचाउँदा रहेनछन् । म सोचिरहेको थिएँ, खड्काका कवितामा पनि सात समुद्र पारीका विशेषगरी अफ्रिकी पीडाका यस्तै अनुभूति होलान् । तर, म गलत रहेंछु । उनी त त्यति सुदूरमा पुगेर पनि बेला–कुबेला नेपालकै मायामा लछ«प्प हुँदा रहेछन्, सायद हामीभन्दा बढी ।
मधेसका सहकालहरू
समानुपातिक भएर सर्लक्क
कर्णाली प्रवेश गरुन्
दुःख बाँडियोस्–सुख बाँडियोस्
भोक बाँडियोस्–भोजन बाँडियोस्
तर कदाचित्
देश भागबन्डा नलागोस् ।
मैथ्यु आर्नोल्डले कविता जीवनको आलोचना (समीक्षा) हो भनेका छन् । विल्सनका विचारमा कविता अनुभूतिले रङ्गिएको विवेक हो । कवितामा सौन्दर्य भएर मात्र पुग्दैन, सुन्नेको हृदयलाई डोहो¥याएर लैजाने शक्ति तिनमा हुनुपर्छ भन्छन्, होरेस ।
कसैले कविता अस्वीकृत विद्यालय हो भनेका छन्, जति अध्ययन गरे पनि हुने । जे अर्थ लगाए पनि हुने । आफूलाई चाहिए जति आनन्द लिन पाइने । कोही भन्छन्, कविता खुला विश्वविद्यालयमा पढिने परिष्कृत विधा हो, यसमा कविले आफूखुसी अध्ययन गर्न पाउनुपर्छ । अनि कवि ? महाकवि पर्सिविस शेलीका शब्दमा भन्दा कवि संसारको अस्वीकृत व्यवस्थापक हो । कवि खड्कामा पनि अरू नाम चलेका ‘अस्वीकृत व्यवस्थापक’हरूमा जस्तै पागलपन र प्रेमिल भावका पर्याप्त लक्षणहरू छन् । ‘मनोवाञ्छा’मा उनले सुनाए,
मनका पटाङ्गीनीहरू मुकुलित पुष्पझैं
अकलुषित परागसेंचन गर्दै
अथाह÷अखन्डित÷अक्षत
कसैले हिम्मत गर्न नसकेको भर्जिन भूमिमा
समदर्शी बिजनको गर्भाधान गरेर
अकिञ्चन बस्तीको परिसरभरि
ढकमक्क पक्रिउन्
वंशको अक्षुण्णता कायम राख्दै...
कलरिजका अनुसार कविता विज्ञानविपरीत विधा हो । यसको मुख्य लक्ष्य आनन्द हो, सत्य होइन । तर, विज्ञान र आनन्द दुवैको सेरोफेरामा खड्काका कविताहरू छन् । उनी जीवन भोगाइको संवेदनालाई उत्तोलक सिद्धान्तसँग जोडेर कथन गर्न रुचि राख्छन् । ‘कोप्चेरो स्वार्थको जङ्गली भूत लागेर÷मपाइँत्वको आत्मश्लाघाले ग्रस्त÷ हिनताबोधको सियाशिकारीले भेटेका÷विचारका लघुताभास...’ जस्ता छाडा अन्धविश्वासहरूलाई विज्ञानको लङ्गौटी लगाउन मन पराउँछन् ।
समीक्षकहरू भन्छन्, खड्काका कविता गाउँघरतिरकै सरल र मिठा विम्ब हुन् । केही टर्रा पनि छन् । तर, टर्रा भए पनि ती औषधीय गुणयुक्त छन् । हामीले देखेभोगेका पैतृक विम्बहरू उनले लोकजीवनबाट टपक्क उठाएका छन् । कविताका लागि भित्रैबाट मन छुने स्वाभिमानी प्रतीकहरू सजाउन खड्का सिपालु छन् ।
युद्ध भित्र बाहिर जहाँबाट गरे पनि
मान्छेले मान्छेलाई मार्ने
सबैभन्दा ठूलो अपराध हो ।
आफैं मारेर आफैं क्रियापुत्री बस्नुपर्ने
अन्ततः युद्ध जितेर पनि हार्नुपर्ने...
सुविचारको कल्पवृक्ष झाँगियोस् ।
जमघटमा कलाकार विक्रमश्रिले कविलाई भने, सबै नेपालीले गर्व गर्नलायक कविता बनाएकोमा कवि खड्कालाई धन्यवाद ! जवाफमा कविले प्रष्टीकरण दिए, ‘सबै नेपालीले गर्व गर्न लायकको कविता लेखिन (लेख्न) बाँकी छ ।’
थाहा छैन, नदीको पानीले कति वर्षदेखि कति ढुङ्गाहरूलाई चुम्यो होला ? कति वरपरका बोट–बिरुवाहरूलाई छुँदै, कति फड्के तर्नेहरूलाई बिदाइको हात हल्लाउँदै, कति फोहोर गर्नेहरूसँग चित्त दुखाउँदै अघि बढ्यो होला ? कति छेस्का–काँडाबाट घोचियो होला ? कति माटो–कमेरोसँगै धमिलयिो होला ? कति खोला–खोल्सीसँग रउसिँदै बास बस्यो होला ? जे–जस्तो परे पनि नदीले सङ्गीतको आनन्द सिर्जना गर्नमा रति पनि सम्झौता गरेको छैन । कवि खड्काले जीवन भोगाइको यस्तै अनुभूतिले अनेक शब्द–चित्र बनाएका रहेछन् । कारनायलले सङ्गीतमय विचारलाई कविता भनेका छन् । विश्व साहित्यमा पहुँच बनाएका खड्का पनि कविताका लागि निरन्तर यस्तै शब्द–सङ्गीत एरेन्ज गरिरहेछन् ।
नेपाल प्रायः चुनावको हल्ला चलाएर विदेशी मुद्रा भिœयाउन सिपालुहरूको मुलुक बन्दै गएकोमा कवि खड्काको चित्त कुँडिएको रहेछ । भूपि शेरचनले ‘यो हल्लै–हल्लको देश’ भनेको तीन दशकको अन्तरालमा कवि खड्काले हल्लावाजहरूलाई ‘धतुरेहरू’ को संज्ञा दिए र आफूलाई विद्यमान परिपाटी किमार्थ मन नपरेको तर्क लेखे ।
फेक नोट आर्जित पोस्टर टाँसेर
रातोदिन गरिरहुन् इमानको निर्वाचन
मेरो स्वकीय अडान रक्षार्थ म
पूर्वोक्त धतुरेहरूको पक्षमा
मतदान गर्दै–गर्दिनँ ।
खड्काले अरू कतिपय कविले जस्तो मिडियामैत्री हुने अवसर पाउलान्–नपाउलान् भन्न गाह्रो छ । किनकि उनले नेपाली कविता साहित्यमा सकारात्मक हस्तक्षेप गरिसकेको खबर निकै दिन बितिसक्दा पनि हामीसम्म आइपुग्न पाएको थिएन । तर, यो धरतीले सिँचाइ सुविधा पहुँचको अवसरबाट जति नै वञ्चित गरे पनि हावामा भएका पानी–कणहरू सञ्चित गरेर भोलिका दिनमा नेपाली कविता फाँटमा आफूलाई जीवन्त बनाइराख्न सक्ने लोभलाग्दो क्षमता उनमा छ । नाहकमा बेवास्ता किन गर्ने ?
०००
तस्बिर : नवीन गड्तौला
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1333-nagarik-05-april-2013/2-nagarik.html

आलोचक जिल्याउँदै मुसायरा

सुविद गुरागाईं

‘यी सानै उमेरदेखि मन हर्न लागे ।
यिनै सुन्दरीले जुलुम गर्न लागे !’
युवाकवि मोतीराम भट्टले युवावयमै नेपाली गजल लेखन, वाचन र गायन परम्परालाई निकै उचाइमा पु¥याएको योगदान एकदिन भुसुक्कै बिर्सिए गजलका आलोचक (समालोचक !) कृष्ण गौतमले । प्राध्यापन पेसाबाट भर्खरै सेवा निवृत गौतमलाई विराटनगरमा संयोजित गजलीय सुगन्धले लबालब भरिएको एक कार्यक्रममा सहासा सम्झिएँ मैले ।
त्यहाँ मेरो ठाउँमा यदि उनी अतिथि हुन्थे भने सायद लाजले टाउको निहुराउँथे । १८ वर्षअघि मनमा रहेको गजलबारेको कलुसित विचारले उनलाई मज्जैले काउकुती लाउँथे सायद ।
जतिबेला गजल लेखन परम्पराको पुनर्जागरण हुँदै ज्वार–भाटा (कतिपयको विचारमा बाढी) आउन थालेको थियो, विद्यार्थीलाई नेपाली साहित्यिक मर्म बुझ्न सिकाउने गौतमको मनमा नेपाली गजलबारे निकै फोहोरी विचारहरू थिए । दृष्टिकोण बरालिएको थियो ।
‘म देख्दैछु उनको सवारी हुँदै छ ।
मेरो मुटु चोर्ने तयारी हुँदै छ ।’
‘वाह–वाह ! वाह केशव, क्याबात ! धेरै राम्रो !’ म फ्ल्यासब्याकबाट मञ्चमा फर्किएँ । अगाडि अनाम मण्डलीका गजलगो केशव भट्टराईका शब्द र प्रस्तुति शैलीबाट प्रभावित श्रोताको प्रतिक्रिया थियो । गजल बुझ्ने पूर्वेली दर्शक–स्रोता भेट्टाएपछि रौसिएका भट्टराईले जम्दै गएको मुसायरामा उत्तिकै बहरबद्ध भएर दोस्रो गजल पनि सुनाए ।
‘कस्तो ग¥यौ बिदाइ रुँदै छन् उनी त ।
चिठ्ठी सबै जलाई रुँदै छन् उनी त ।’
‘साँच्चै राम्रो !’ यसपटक मभित्रको गजलगोलाई पनि चित्त बुझ्यो । बहरमा निकै राम्रो मत्ला बुन्दै गजल सिर्जना गर्न सक्ने युवाहरूको एउटा क्याराभान थियो मेरासामु । तिनका आँखामा मैले आलोचकहरूप्रति आशङ्का देखें । र, मैले उनै गौतमलाई सम्झिएँ, जसले २०५१ वैशाखको गरिमामा समकालीन गजल स्रष्टालाई गाली गर्दै लेखेका थिए, ‘नेपालीमा करुणा र शोकका कवि देवकोटा होलान्, घिमिरे होलान्, गिरी होलान्, गालीब हुन सक्तैनन् ।’ तर, अफसोच उनको किटानी दाबीविरुद्ध माइक्रोफोनमा पूर्वेली गजल गायक जेबी थुलुङ थिए ः
‘तिम्रा लागि मै बद्नाम हुन मञ्जुर ।
तिम्रा लागि तामा तुलसी छुन मञ्जुर ।
तिम्रा सपना देख्नु मेरो गल्ती हो भने,
तिम्रा लागि आँखा आँसुले धुन मञ्जुर ।’
लयसँगै साथ दिने तालीहरू थपिएपछि मुसायराको वातावरण थप सुगन्धमय हुँदै थियो । सँगै म आलोचकका कच्चा शब्दहरू सम्झिँदै थिएँ । गजल लेखनमा लागेका समकालीन पुस्तालाई होच्याएर उनले लेखे, ‘...त्यस्ता युवाहरू जसमध्ये कयौं नाकबाट दूध आउने केटाहरू होलान्, कयौं कुखुरे बैंशका तरुना होलान्, होलान् कयौं गधा पच्चीसीका ठिटाहरू ! ... तिनै व्यक्ति रैथाने भएर गजलको पौवामा रहने छाँट छ, जसको न अन्त फड्कने ह्याउ छ, न कुनै ठूलो योग दिने क्षमता नै ।’
‘कतै जितमा छु कतै हारमा छु ।
म यस्तै अनौठो समाचारमा छु ।
कहाँ भेट्दछ्यौ भित्र बसेर एक्लै,
तिमी खोल ढोका म सङ्घारमा छु ।’
मण्डलीकै सुरेश सुवेदी गजलमा समाचार भन्न खप्पिस रहेको सूचना पाएपछि प्रष्ट भयो १८ वर्षको यो अवधि खेर गएको रहेनछ । त्यसो त सुवेदीहरूले गौतमको पूर्वाग्रह उही बेला थाहा पाएनन् होला । तर, थाहा पाएर पनि समयले आलोचकहरूलाई मुखभरिको जवाफ दिने ठानेर समकालमा गजलको पुनर्उत्थानमा जुटेको तीस–चालीस दशकको पुस्ताको योगदानको आलोकमा नै सुवेदीहरूले प्रज्वलित हुने मौका पाएको भन्नुमा अत्युक्ति छैन । नभन्दै अग्रज पुस्ताको योगदान सम्झिरहेका छन् जय गौडेल, जसले मुसायरामा सुरुमा बुँद रानाका शब्दहरू राखे, ‘मरुभूमिमा परेँ र त गजलकार भएँ... बुँदका निम्ति मरेँ र त गजलकार भएँ ।’
त्यसपछि उनले गजलका मिसराहरू चोरी हुन थालेकोमा चित्त दुखाए । लगत्तै यस्तो साहित्यिक दुव्र्यवहारमा पनि गजलगोकै जित निहित रहेको भनी मन सम्झाउँदै गौडेलले आफ्नो सुनाए ः
‘नसोध किन पिएर आएँ ।
च्यातियो छाती सिएर आएँ ।
मन थियो बाँकी मसँग एउटा,
त्यो पनि उनलाई दिएर आएँ ।
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेजस्तो आलोचकको काम हो कपालको पनि छाला, खोज्ने सर्जकहरूको काम हो आलोचकहरू कुरी–कुरी लाग्ने गरी सिर्जनमा रमाउने । आलोचक गौतमको कडा टिप्पणी (पूर्वाग्रही धारणा)को मैले समकालीन गजलको विद्यार्थीका नाताले ‘असान्दर्भिक र हास्यास्पद’ भन्दै तत्काल प्रतिवाद गरेको थिएँ । ‘कालोलाई सेतो देख्ने र कालोलाई सेतो भन्ने’ गौतमका विचार टिप्पणी गर्नलायक समेत नरहेको मेरो तर्क रह्यो ।
क्रमशः ज्ञानुवाकर पौडेल, बुँद राना, मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जल, रासा, पदम गौतम, घनश्याम न्यौपाने, राजेश्वर रेग्मी, सुनिल पुरी, श्रेष्ठ प्रिया पत्थर आदिले नेपाली साहित्यमा अँध्यारो बाँकी रहेको एउटा पाटोमा गजलको उज्यालो सञ्चित गरेका हुन्, जसको व्याज नेपाली साहित्यले अहिले पनि खाइरहेको छ ।
‘प्युने बसेछ बानी गल्ती भएछ मेरै ।
जीवन भयो खरानी गल्ती भएछ मेरै ।
साथी सराब मेरो बिर्सन्छु भन्छु प्युँछु,
यस्तै छ जिन्दगानी गल्ती भएछ मेरै ।’
मुजारे बहरमा शैलेन्द्र अधिकारीलाई सुनेपछि गजल लेख्ने मात्र होइन आफैंले मुसायरामा सही ढङ्गले प्रस्तुत गर्ने विवधा पनि हो भन्ने मान्यतालाई अनाम मण्डलीले दुरुस्त बनाइसकेको भान भयो । खुसी लाग्यो पूर्वका युवाहरू पनि मुसायरामा सकारात्मक हस्तक्षेप गर्दै अघि बढिरहेको देखेर ।
‘अरे ! ओठमा लाली, आम्मामामा ।
सबभन्दा काली, आम्मामामा ।
नचिनेरै यो मन हैरान थियो,
आफ्नै दाइकी साली, आम्मामामा ।
गण्डकी पुत्र, ज्योति जङ्गल, सुमन पोखरेलहरूले गजल सुनाउन साझाको पुस्तक मेला विराटनगरमा काठमाडौबाट बोलाएका मण्डलीका अग्रज सदस्य प्रभाती किरणलाई जीबी गजलको यो स्वतन्त्र प्रस्तुतिले निकै छोएछ । सार्वजनिक जीवनमा बहरमा गजल लेखनको अभ्यास र वकालत गरिरहेका किरणले जीबी धून सुनेपछि मसँग भने, ‘गजल बहरमै लेख्दा मात्र राम्रो सुनिन्छ भन्ने होइन रहेछ, शब्द छनोट र प्रस्तुतिको शैलीले आफैं स्वतन्त्र छन्द पछ्याउँदो रहेछ । मिलाएर प्रेमपूर्वक भनियो भने तिनले पनि मञ्च पाउँदा रहेछन् ।’
मुसायराको त्यो अपूर्व मञ्चमा अनामका घनश्याम पथिक, रुपक अलङ्कारहरूले दोहो¥याएर गजल सुनाए । ‘दुनियाँले नछेकेको मेरो सहर तिमीलाई... कसैसँग नसाटेको मेरो रहर तिमीलाई...’ भन्ने सीमा आभाषका भ्यालेन्टाइन स्पेशल शब्दहरूअघि र पछि मुसायरामा विवश बलिभद्र कोइराला, चक्रपाणि अधिकारी, टीका आत्रेय, हेमन्ता क्षितिजहरूले एकपछि अर्को गर्दै गजल मनहरूलाई आनन्दित पारेका थिए । त्यसै मेसोमा पूर्वमा नेपाली गजलको फूलबारी सजाउन लागिपरेका एक माली मधु पोखरेलले बहरमै आम मान्छेका तर्फबाट खबरदारी थपे ।
‘अझै रात पर्दैछ नबजाऊ ताली ।
स्वाभिमान मर्दैछ नबजाऊ ताली ।’
सुनेपछि मलाई लाग्यो, अहिले गजल लेख्नका लागि लेख्ने मात्र होइन बहरमै कालजयी मिसराहरू सिर्जना गर्ने, शेरहरू गुन्गुनाउन बाध्य पार्ने परम्पराको विकासक्रम उत्कर्षमा आइपुगेको छ । गजल सिर्जनाहरूले नेपाली साङ्गीतिक आकासको आधाभन्दा बढी भागमा हस्तक्षेप गरिसकेका छन् । अब गजल लेखन, प्रस्तुति तथा गायनलाई समेटेर टिकट सो गर्दै व्यावसायिक बनाउन मजाले सकिन्छ । गजल लेख्ने, सुनाउने मात्र होइन, बुझ्ने, सुन्नेहरूको जमात पनि ठूलै भइसकेको छ । गजलले नेपाली गीत र कवितालेखनमा रमाएका स्रष्टालाई पनि मोहनी लगाउँदै छ । किटेरै भनौं, कवितामा आफ्नो उपस्थिति प्रमाणित गर्न सफल मनु मन्जिलहरू पनि एक–दुई पटक गजलको सम्मोहनमा परिसकेका छन् ।
नेपाल गजल प्रतिष्ठानसम्बद्ध अगुवा गजलगो शेखर ढकालका शब्दमा भन्दा गजल लेख्ने धेरै छन् तर प्रकाश आङदम्बे, केपी लम्साल, सुन्दर कुरुप, अमला अधिकारी, कपिल अञ्जान, मिलन समीर आदि गजलमा समर्पित पुस्ताको चर्चा गर्दा छुटाउन नहुने केही नाम हुन् । अहिले गजलमा सुन्दर काव्य लेख्ने त्यस्तो पुस्ता हुर्किसकेको छ, जसले गजल कुनै विधा होइन भन्नेलाई विचार परिवर्तन गर्न बाध्य बनाउँदै छ । 

धु्रवे फिक्सन

धु्रवे फिक्सन

–सुविद गुरागाईं

‘हेलो सर ! ध्रुवे यहाँ छ !’
फोन गर्नेले पैसा तिर्नु नपर्ने हेलो सरकारको टेलिफोन नम्बर ११११ मा मैले बिहीबार बिहानै सूचना चुहाइदिएँ ।
‘कहाँ छ त्यो अधर्मी ?’ उताबाट स्थायी सरकारको कोही प्रतिनिधिको खस्रो आवाज सुनियो ।
‘यहाँ, हाम्रो पानीपियाको जङ्गलमा...’ मैले थप सुराकी गरेँ ।
मैले एकदिनअघि मात्र धु्रवे हात्तीका बारेमा पत्रिकामा पढेको थिएँ । सरकारले धु्रवेका नाममा ‘रेडकर्नर नोटिस’ नै जारी गरेको अवस्था छ । यसरी कसैलाई पनि ‘मस्ट वान्टेड’ फौजदारी अपराधीको सूचीमा राखिसकेपछि त्यसबारे पहिलो सूचना दिने व्यक्तिलाई सरकारले राम्रै पुरस्कारको पनि व्यवस्था गरेको हुन्छ ।
‘कहाँ हो यो पानीपियाको जङ्गल भनेको ?’ सरकारका मान्छेहरु प्रस्ट हुन चाहिरहेका थिए ।
विचराहरु यो मध्य जाडोमा धु्रवे खोज्दा–खोज्दा लखतरान भएका थिए । एकातिर चितवनबासीको र अर्कोतिर हाकिमहरुको दबाबका माझ राष्ट्रसेवकले दिन–रात भन्न पाएका थिएनन् । संरक्षणवादी कार्यकर्ताको दबाब पनि सँगसँगै थियो ।
तर, नेपालको कानुनमा उल्लिखित ‘हात्ती बहुलायो भने मार्न पाइन्छ’ भन्ने झिनो र विवादास्पद आधारको फेर समातेर कर्मचारीहरु संरक्षण र वैकल्पिक उपायका नाराहरु कुल्ँिचदै जङ्गल–जङ्गल भौंतारिइरहेका थिए ।
‘भन्न त भनिहाल्छु नि सर, तर सूचना दिने मान्छेलाई केही पुरस्कारको व्यवस्था पनि छ कि !’ मोही माग्नु, ढुङ्ग्रो के लुकाउनु !
‘हुन्छ, पुरस्कारका लागि सिफारिस पनि गरौंला, ...अब भन्नुहोस्, कहाँ छ पानीपिया ?’
‘हाम्रो सुनसरीको चारकोसे जङ्गलमा, तरहरा र शान्तिनगरको बीचमा...’ मैले ‘पुरस्कार पाइहालिन्छ कि’ भन्ने सोचलाई ‘रेडकर्नर नोटिसवालाका बारेमा सूचना दिनु नागरिकको कर्तव्य पनि हो’ भन्ने विचारमा अनुवाद गरेर खुलस्त बताइदिएँ ।
कृतज्ञ हुँदै उताबाट भनियो, ‘धेरै–धेरै धन्यवाद छ !, तपार्इं साह्रै बुझ्झकी मान्छे हुनुहँुदोरहेछ । कृपया त्यहीँ बस्दै गर्नुहोला !’
०००

गडडड... घ्यार्रर्रर ... गर्दै सेउती खोलातिरबाट जङ्गलमाथि आर्मीकलरको हेलिकप्टर देखियो । हेर्दाहेर्दै हर्बल तेल उत्पादक कम्पनी पसिरमा रहेको दुर्लभ हाँडीफोर (काकाकुल) चराको स्थायी बासस्थान ठूलो सिमलको रुख छुँला–छुँलाजस्तो गरेर छेकारो मार्दै हेलिकप्टर म उभिएको ठाउँमाथि आइपुग्यो । हेलिकप्टरको कर्कस आवाजले विचरा हाँडीफोरका बचेराहरु साह्रै त्रसित भएछन् क्यार ! च्याउँ–क्याउँ गर्दै कराएको प्रस्ट सुनियो । शान्त वातावरणमा एकाएक हुनपुगेको मानवीय घृष्टताविरुद्ध जोडी काकाकुलले गुँडबाट बाहिर निस्केर चिहानघारीमाथि एक फन्को लगाए र फेरि गुँडमै फर्किए ।
सुरुमा चीलजत्रो देखिएको हेलिकप्टर हात्तीभन्दा ठूलो भएर क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परिसरको खुला खेतमा थपक्क बस्यो ।
मैले सूचना दिएको एक घन्टाजसो भएको थियो । धु्रवे फायरलाइनको बाटो हुँदै तालतलैया मार्गमा प्रवेश गरिसकेको थियो । हात्ती लम्केको र घोडा चम्केको भन्छन्, एक घन्टामा त धु्रवे कहाँबाट कहाँ पुगिसक्यो होला ! सोच्दा–सोच्दै यस्तो तर्कना आउनासाथ मन चिसो भयो । तै, प्रमाणका लागि मैले ‘नेपाल वान’को स्टिकर टाँसिएको क्यामेरामा पानीपिया खण्डमा दिउँसै धु्रवे देखिएको र फायरलाइनतिर गएको फुटेज लिइराखेको थिएँ ।
मान्छे डढाउने घाटनेर उभिएको म बिस्तारै हेलिकप्टर भएतिर अघि बढेँ । हेलिकप्टरबाट बन्दुकवाला चार जना, डाक्टरजस्ता दुई जना, पाइलट एक जना र एक जना सामान्य लुगा लगाएका मान्छे फुत्त–फुत्त बाहिर निस्किए । सामान्य लुगा लगाएका मान्छेले मोबाइलमा फोन डायल गरेको देखेँ । मैलाई खोजेको हुनुपर्छ भन्ने लागेर म उनीहरु भए नजिकै पुगेँ । नभन्दै हो रहेछ । मैले ध्रुवे देखेको फुटेज देखाइदिएँ ।
‘वाह ! ठीक छ !’ खोजेकोजस्तै दृश्य देखेर उनी उत्तेजित भए ।
‘खै, कहाँ हो त यो ठाउँ ?’ खुसीले तरङ्गित हुँदै उनले सोधे ।
‘ठाउँ त यतै हो सर, तर... !’ म अलि झोक्राएँ ।
‘के तर ?’ उनको मनको प्यालामा एक टुक्रो बरफ कक्टेल भएर खस्यो ।
मैले ध्रुवे शान्तिनगरी सामुदायिक वन हुँदै तालतलैयातिर गएको बेलिबिस्तार लगाएँ र भने, ‘भर्खरै त्यता गएको हो सर, खोज्न जानुपर्छ, म पनि तपाईंहरुसँगै जान्छु, धेर टाढा गएको छैन होला ।’
‘जङ्गलमा छिरेको हात्ती र बालुवामा छिरेको सियो भेट्न धेरै गाह्रो हुन्छ भाइ !’ उनी लल्याकलुलुक भए । बोलीबाटै थाहा हुन्थ्यो, उनी चितवनमा दुई साताअघिदेखि जारी ‘धु्रवे खोज अभियान’मा सहभागी एक असफल अभियन्ता थिए ।
‘यताको चारकोसे जङ्गल चितवनको जस्तो घना छैन सर, मानवीय अतिक्रमणले गर्दा पातलिएर टाँट भएको छ ।’ मैले उनलाई आश्वस्त पार्न खोजेँ ।
०००
तरहरामा पूर्वाञ्चलकै नामी सेकुवा खाजा खाने क्रमसँगै उनले यताउति विभिन्न ठाउँमा फोन गरे । उनले कोसीटप्पु आरक्ष, सुनसरी प्रहरी, वन कार्यालय र जिल्ला प्रशासनका हाकिमलाई फोनबाटै जानकारी गराए र आवश्यक मद्दतका लागि आग्रह गरे ।
टोली तरहरामै बसेर गौंडा ढुक्ने निस्कर्षमा पुग्यो । मैले पनि त्यतै रात बिताउने सोच बनाएर अफिसमा खबर गरेँ । उताबाट, ‘त्यो त एक्सक्लोसिभ हुन्छ, भएको फुटेज पठाउनु, यता हामी ब्रेकिङ–स्क्रोल चलाउने छौं !’ भने न्युज चिफ मुकुन्द दाइले । टोली प्रमुखले पनि सूचनादाता सँगै नबस्नु भन्न सकेनन् ।
उनी जनावरको मनोविज्ञान बुझ्ने मानिस रहेछन् । कोसीटप्पुबाट रम्भाकलीसहितको टोली मगाए । साँझ छ बजेतिर माहुते, पछुवा र रेन्जरको टोली रम्भाकलीलाई लिएर तरहरा आइपुग्यो । युनिफाइड फोर्स पनि आयो । केही पुलिस र केही आर्मी थिए ।
उनले रम्भाकलीलाई खुट्टामा सिक्री बेरेर, रेन्जपोस्टको आँगनमा गाडिएको मुड्कोमा बाँध्न लगाए । दुई जना प्राविधिक ‘शिकारी’लाई बन्दुकसहित नजिकैको बूढो रुखमा चढ्न लगाए र रातभरि कुर्न लगाए । हामी तरहरा बजारमा आगो ताप्दै गौंडा ढुकिबस्ने भयौँ ।
उता, प्रियाको माया नपाएर बहुलाहाको धुव्रेलाई रम्भाकली तरहरामा एक्लै भएको गन्ध, ‘के खोज्छस् कानो ? आँखो’झैँ भएछ । नभन्दै, घुम्दै–फिर्दै, राति दुई बजेतिर धुव्रे रेञ्जपोस्टको आँगनमा देखियो ।
०००

‘ड्याम्म... !’ चितवनमा जारी असफल अभियान र जनविरोधको कहानी चाख मानेर सुन्दै आगो तापिरहेका हामी  गोली चलेको आवाजले झस्कियौँ ।
‘लाखे–लाखे, उपायले काम गरेजस्तो छ,’ भन्दै उनी उफ्रेको देखेर अरु पनि ज¥याकजुरुक उठ्यौँ । रम्भाकली बाँधिएको ठाउँनेर पुग्दा बिचरा ध्रुवे अत्तालिँदै शान्तिनगरको ग्राभेल बाटो कटेर कृषिकेन्द्रको खुला खेततिर भाग्दै रहेछ । रम्भाकलीको गन्ध सुँघ्दै आएको धु्रवेले केही गर्नु अगावै वन प्राविधिकले बन्दुकबाट हानेको ‘गोली’ त लठ्याउने औषधि भएको सुई ‘डोपिङ गरेको’ पो रहेछ ।
सुँढमा गोली (डोपिङ) लागेर अत्तालिएको बिचरा धु्रवे भाग्नै सकेन । पाँच सय मिटर पर पुगेपछि, ठाउँको ठाउँ ठिङ्ग उभियो ।
‘ल, अब छ–सात घन्टालाई काम पुग्यो !’ ती सचिवस्तरीय कर्मचारीले भने, ‘कोही डराउनुपर्दैन, छ–सात घन्टा यसले हलचल गर्न सक्तैन ।’
म नजिक पुगेर क्यामेरा अन गर्दा, कुहिरोभित्र एक्लो र निरिह धु्रवे ‘कोमा’मा पुगिसकेको थियो । विचरा प्राकृतिक रुपमा सर्वाङ्ग थियो, सार्वजनिक ठाउँमा लुकाउनुपर्ने अङ्ग पनि लुकाउन भ्याएको थिएन ।
केहीबेरमा उनीहरुले रम्भाकलीलाई ठेल्न लगाएर धु्रवेलाई भुइँमा पछारे । र, हेलिकप्टरबाट करौंतीलगायतका औजार ल्याएर ध्रुवेको दुईवटै दारा काटिदिए ।
‘यसरी दारा काटेर के हुन्छ र ? के धु्रवेले अब बदमासी गर्न छोड्छ ?, सरकारले मार भनेकै छ, मारिदिए भइगयो नि !’ मैले ती वन–प्रकृतिविज्ञ कर्मचारीबाट एकैपटक तीनवटा जिज्ञासाको समाधान चाहेँ ।
‘बडो राम्रो प्रश्न सोध्नुभो पत्रकारजी ! दारा काटिएको मत्ता र रुखबाट लडेको बाँदर आफ्नो समुदायबाट बहिस्कृतजस्तो हुन्छ, आफ्नो समुदायमा अरुका अगाडि कहिले पनि फुर्ती–फार्ती गर्न सक्दैन । ध्रुवेले पनि अब कुनै बदमासी गर्ने छैन ।’
त्यसपछि, प्रशासनले माइकिङ ग¥यो, ‘दुई घन्टापछि धु्रवे बिउँझिने छ, त्यसबीचमा सबै आफ्नो घर गइसक्नु होला, अन्यथा हुने क्षतिको सरकार जवाफदेही हुनेछैन ।’
बिहानैदेखि बराम लागेका रमितेहरु एक–एक गर्दै घट्न थाले । राष्ट्रसेवकहरु पनि फर्किए । दिउँसो दुई बजेतिर धु्रवे ‘चिरनिन्द्रा’को स्थितिबाट बाहिर आयो र लाजले मुन्टो निहुँराउँदै शान्तिनगरी सामुदायिक वनतिर लाग्यो ।
नभन्दै त्यस दिनदेखि धु्रवे आतङ्ककारी भएर गाउँ–बस्तीमा देखापरेको छैन ।

bisnuprasad.bg@gmail.com

बहुलायो ध्रुबे

बहुलायो ध्रुबे


गजल
सुविद गुरागाईं

माया नपाएर बहुलायो ध्रुबे ।
नजिर बनाएर बहुलायो ध्रुबे ।

गरुँ के मनलाई कहाँ जाऊँ अन्त ?
अनेक सोच आएर बहुलायो ध्रुबे ।

सम्झी–सम्झी स्वार्थी दुनियाँको सत्य,
हरेस् धेर खाएर बहुलायो ध्रुबे ।

एक्लै बिन्दास हुँदै मायालुको सधैँ,
गीत गुन्गुनाएर बहुलायो ध्रुबे ।

यति माया गर्यो मायालाई किन ?
गजल लेख्न लाएर बहुलायो ध्रुबे ।

bisnuprasad.bg@gmail.com
गजल

–    सुविद गुरागाईं

लहर आयो गयो मनमा छोएर हल्का ।
जाँदा–जाँदै माफी माग्यो रोएर हल्का ।

किन आयो किन गयो ? भनेन केही,
जिन्दगीमा अनुभूति भएर हल्का ।

नीलो–नीलो हुँदै थियो चाहना मेरो,
फिका पा¥यो गाढा माया धोएर हल्का ।

पानी–पानी भयो कठै दुनियाँ सबै,
हाँस्दा माया आँसु थोपा रोकेर हल्का ।

कसो गरुँ, के पो गरुँ बनायो त्यसै,
पुराना ती घाउ–खाटा फोएर हल्का ।

खुसी थ्यो कि दुखी थियो पाइनँ बुझ्न,
मर्छु होला मनमा पिर बोकेर हल्का ।

०००
(इटहरी–२, हलगडा, सुनसरी)
bisnuprasad.bg@gmail.com
लम्सालको गर्भमा अर्को महाकाव्य

–सुविद गुरागाईं
एकै देश अनेक जात थरमा राई र लिम्बू म हुँ,
साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे म हुँ ।
राज्यै छैन र राजवंश भनिने त्यै राजवंशी म हुँ,
गनगाई र सतार पूर्वतिरका पूर्वीय थारु म हुँ ।
चण्डी पालम गाउँदै रस भरेँ कोसी तरेँ पश्चिम,
सेतो सोलु पुगेँ र स्याब्रु धूनमा चाखेँ हिमाली रङ ।
तोङ्बा तान्न र टोक्न टक्क सुकुटी कैले सिकेँ खै कुन्नि !
सल्लेरी हिउँ फाँटमा सगरको माथा उभेको मुनि ।
यस्तै–यस्तै अनुभूत गर्दै महाकवि नवराज लम्साल र सार्वजनिक हुन बाँकी एउटा पात्र काव्य शर्माको टोली यतिबेला देश दौडाहामा छ । कवि लम्सालसँग वर्तमान यथार्थको फिक्सन पात्र काव्य शर्मा मेची हुँदै कोसी तरिसकेको छ । भीमदत्त नगरपालिका छिचोल्दै महाकाली पुग्ने र वास्तविक अनुभूत गर्ने लक्ष्यमा अघि बढ्दै छ । सुदुरपश्चिम पुगेर फर्केपछि कविले के लेख्छ ?
जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि निकै पुरानो मिथक हो । एकाकी लाग्ने यो मिथकमा आधुनिकताले थपेको छ, जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् अनुभवी ।
सबै कुरो थाहा हुँदा–हुँदै महाकवि लम्सालको सहयात्री काव्य शर्मा के लेख्ने मुडमा छ ? जिज्ञासा थाहा पाएर काव्य शर्मा मौन भयो । उसलाई थाहा थियो, सोध्नेले यो नजानेर सोेधेको होइन, हियाउन खोजेको पनि होइन ।
‘जे देख्छ त्यही लेख्छ !’ लम्सालले सहयात्रीको बचाउ प्रयत्न गरे । जवाफ सनातनी थियो । प्रिय लेखकबाट पारदर्श व्यवहारको आस गर्छ पाठक । अर्थात् ? जिज्ञासाको चुच्चो उही टुङ्गोमा थियो ।
देशको मूल जरोमा जातीय सद्भाव, एकता, मेलमिलाप र आपसी सम्मान छ तर बाहिर अतिवादको फोहोर, पात–पतिङ्गर, धूलो–मैलो र माकुराको जालोले लछ«प्पै छोपेको छ । त्यसलाई पन्छाएर उजिल्याउन कविको यो दौडाहाले सहयोग गर्छ भन्ने लम्साललाई लागेको छ ।
तर, मन–गर्भमा हुर्किरहेको भ्रुण महाकाव्यको नामाकरण भने भइसकेको छैन । प्रष्ट छ, महाकविको नयाँ काव्यको विषय प्रस्तुति नयाँ भए पनि नाम नयाँ हुने छैन । नेपाली शब्दकोशमा भएका हजारौंमध्ये कुनै एक शब्दले कुनै एकदिन कविको मन छुनेछ र फुर्नेछ नाम । तर, यतिबेला उपयुक्त नामको खोजीमा कुनै तन्नेरी वयको केटालाई दीर्घकालीन उपयुक्त यौनसाथीको खोजीजस्तो हुट्हुटी जागेको कविको मनमा ।
यतिबेलै मुलुकमा नाम र पहिचानको सङ्घर्ष चलेको छ । अतिवादको सेक्रिन घोलिएको यो सङ्घर्षको पृष्ठभूमि प्रस्तावित महाकाव्यको थिम बनेको छ । ‘थिम खेलिरहेको छ मनमा, थिम र विषयवस्तु मूल कुरा हो,’ लम्साललाई लाग्छ, ‘राजनीतिक नेताको आँखाले देखेको देश हामीले धेरै हेरिसक्यौं, हेरौं काव्य शर्मा अर्थात् कविका आँखाले छामेका देश कस्तो हुन्छ !’
दक्षिण एसियाका शिक्षालयमा भेटिने एउटा साझा शैक्षिक सामग्री हो, छडी । दक्षिण एसियाका मात्र किन, संसारकै कवि–लेखकहरुको मनमा एउटा साझा समस्या छ । उनीहरु जति वर्षपछि भेट्दा पनि आफ्नो कृति वा रचनाको वास्तविक समीक्षा हुन बाँकी नै छ भन्ने ठान्छन् ।
इटहरी–विराटनगर करिडोरमा केहीबेर कवि टोलीसँग घुलमिल हुँदा थाहा भो महाकवि लम्साल पनि नेपाली समीक्षकहरुसँग असन्तुष्ट रहेछन् । सुरुमै भने, मेरो आदर्श पात्र कर्णलाई समाजले अझै बुझेकै छैन ।
बृहत् महाकाव्य महाभारतका अनेकौं पात्रमध्ये कर्णलाई लम्सालले मुख्य हिरो मानेका छन् । ‘महाभारतमा कर्णमाथि चार–पाँच वटा अपराध भएको छ,’ आफ्नो सपना र छन्दमा जीवन्त रहेका पात्र कर्णका बारेमा लम्साल भन्छन्, ‘कर्ण आफ्नो समयमा चिन्न बाँकी सत्य थिए ।’
जन्मिनेबित्तिकै आमाद्वारा खोलामा फ्याँकिएका कर्ण राजवंशका हुँदा–हुँदै पनि सइसको घरमा हुर्किनुप¥यो । द्रोेणाचार्यसँग पढ्न जाँदा रथ तान्नेको छोरा राजा–महाराजाका छोरा पढ्ने ठाउँमा पढ्न पाउँदैन भनियो । अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धारी घोषणा गर्नुअघि कर्णले सार्वजनिक चुनौती दिएका थिए । तर, सर्वसाधारण भनेर उनलाई प्रतिस्पर्धामा भाग नै लिन दिइएन । महाभारत पढ्दा यस्तै अन्यायको शृङ्खला भेटेपछि लम्साल टुङ्गोमा पुगे, संसारमा कर्ण नैै उनको प्रिय पात्र हो । कर्ण नै हिरो हो ।
तर, महाभारतमा दुर्योधनले मित्र कर्णलाई हस्तिनापुर मातहतको  अङ्ग देशको भूमि उपहार दिएको र कर्णले पनि राजा हुन स्वीकार गरेको घटना गणतन्त्रवादी कवि लम्सालका लागि अस्वीकार्य थियो । जनस्तरबाट सङ्घर्षले खारिएको आफ्नो आदर्शपात्र कर्णको त्यो स्वीकारोक्ति तर्कद्वारा स्थापित गर्न छ महिना लागेछ । ‘भोक, पानी, निद्रा हराएको थियो, कर्णलाई कसरी राजा स्वीकार गर्ने ? मात्र त्यति एउटा तर्कनामा छ महिना बित्यो,’ लम्सालले भने, ‘तर एकदिन साँझमा हल निस्कियो र त्यो रात मजाले सुतेँ ।’
जब कर्णलाई निरन्तरको अपमानबाट बचाउन राजा बनाउने प्रसङ्ग अगाडि आयो, कर्णले एउटा प्रश्न गरे, यदि मजस्तो सर्वसाधारणलाई कुनै पनि देशको राजा बनाउन मिल्छ भने, हस्तिनापुरको राजसिंहासनमा कुरुवंशकोबाहेक अर्को मान्छे बस्न किन हुँदैन ?’
यही प्रश्नको फेरो समातेर लम्सालले कर्णको मुखबाट गणतन्त्रको पहिलो चेतनायुक्त स्वर उराले ः
‘म अङ्ग देशको राजा साँच्चै भएँ भने तर,
हस्तिनापुरको चाहिँ अर्को बन्न हुँदैन र ?’
त्यो बेला नै जनताको कब्जामा पनि राज्य हुनसक्छ भनेर तर्क गर्ने कर्णले अत्यन्त अपमान गरिएको बेला आफ्नो अस्तित्व स्वीकार गर्दै इज्जत दिने दुर्योधनको मित्र–ऋण तिर्न राज्य स्वीकार गर्नुलाई परिस्थितिले सिर्जना गरेको स्वाभाविक तथ्य मान्छन् लम्साल ।
कर्ण सुखभोगका लोभी थिएनन्, दानवीर थिए तर अधिकतर मान्छेले वास्तविकता नबुझेझैँ गरिरहेका छन् । लम्सालको चित्त दुखाइ त्यसैमा हो ।
‘पाइलैपिच्छे सगरमाथा’ तथा ‘आगो छोपेर कतिञ्जेल’ कविता सङ्ग्रह, ‘धूनभित्र धूनबाहिर’ गीत सञ्चयन, ‘कर्ण’ महाकाव्यपछि नेपाली वाङ्मयलाई लम्सालको पाँचौ कोसेली हुनेछ प्रस्तावित महाकाव्य ।
तर, शार्दूलबिक्रीडित छन्दको त्यो महाकाव्य कति समयको प्रतिक्षापछि गर्भबाट बाहिर आउँछ, स्वयम् महाकविलाई नै थाहा छैन । समयको महिमा अपरम्पार छ, जति पनि लाग्न सक्छ । जोन मिल्टनले प्याराडाइज लस्ट महाकाव्य ४० वर्ष लगाएर पूरा गरे । संसारका दस उत्कृष्ट महाकाव्यमा पर्छ प्याराडाइज लस्ट । लामो समय लगाएर, धेरै सर्ग लेखेर कृति उत्कृट हुने होइन, उदाहरण देवकोटाको मुनामदन छँदैछ । मोतीरामले कम उमेरमै गजललाई स्थापित गराएका हुन् ।
‘कति समय लाग्छ थाहा छैन, २०७० भरिमा ल्याउन पाए हुन्थ्यो भन्ने छ,’ लम्सालले भने ‘अहिले त्यसैमा टुकुर–टुकुर लागिरहेको छु, जागिर, घर–परिवारबाट टाढा कतै एकान्तमा मोवाइल स्वीचअफ गरेर ल्यापटपमा सात दिन जति बस्न पाएँ भने सक्छु होला !’
परिस्थिति सहज–असहज केही हुँदैन कविका लागि । दोबाटो–चौबाटो जहाँ पनि तर्कना फुरिरहेकै हुन्छ । मिस्टर सुखदुःख एट जिमेल डट कममा प्रायः देखभेट हुने महाकवि लम्सालको गर्भको छिपछिपेमा परिस्थितिले अर्को महाकाव्यको भ्रुण रोपिसकेको छ । गर्भाधान प्राकृतिक हो ।
साहित्यिक मधुवनमा पुनः प्रशारण भइरहने शास्त्रीय कवि, बिबिसीका कला संवाददाता लम्साल अनौपचारिक गफमा थोरै आशङ्कित देखिए । केहीबेर नीलोभित्ता हेरेर टोलाएपछि भने, ‘प्लिज ! यो महाकाव्य फाँटको स्कुप हो, साथी सम्झेर सेयर गरेको मात्र हुँ, मिडियामा सार्वजनिक गर्न बाँकी छ ।’
०००

डेजीको गालामा रङ

सुविद गुरागाईं
०००
उनको गालामा सजिलै रङ लगाउन पाउनु, मेरा लागि यो अन्तिम अवसर हो । फागुको रङमा तराई लछ«प्पै भिज्ने दिन फागुन २५ गते त्यो शुभसाइत जुर्नेवाला छ, जसको मलाई तीव्र प्रतीक्षा छ ।
विज्ञानलेखक बालकृष्ण समको नियमित आकस्मिकताको सिद्धान्तअनुसार उनी पनि त्यो घडीको मधुर पर्खाइमा छिन् ।
हाम्रो रङसहित भेटको अर्थ सांस्कृतिक शब्दकोशमा मात्र छ । म मधेसमा जन्मेको पहाडे अनुहारको भूमिपुत्र । उनी विशुद्ध मधेसी वाला । हाम्रो विषय पनि एउटै, समाजशास्त्र । दुवै सामाजिक अन्तर्घुलनको मात्रावृद्धिसँगै रमाउन मन पराउने । उनलाई दसैँमा पिङ खेल्न, तिहारमा सेलरोटी खान र भैलो खेल्न खुब मनपर्ने । मलाई छठ, होली, समाचकेवा आफ्नैजस्तो लाग्ने ।