रि–भिजिटेड काठमाडौँ !
– सुविद गुरागाई

काउन्ट–डाउन सुरु ।
...
लक्ष्य नजिकिँदै छ । चुनौती थपिँदै छ । सकस बढ्दै छ । समयसीमा घट्दै छ । कथाको माग जे छ, छँदै छ । सहरले आइज भन्दै छ, गाउँले नजा भन्दै छ । दोबाटोमा देख्छु पागल, तारा झर्ने दिन गन्दै छ । देख्दिनँ कोही सन्तुष्ट यहाँ यो भीडमा आफ्नो मान्छे, त्यही भीडमा मिसिनलाई यो मन उत्ताउलो बन्दै छ ।
...
कस्तो होला मेरो मृत्यु ? खासगरी नेपाली ड्राइभरहरूले एकपछि अर्को गर्दै धर्म छोडिरहेको बेला कसले भन्न सक्छ, भोलि के होला ? पाश्र्वमा नमरी बाँचे कालले साँचे, चन्द्रागिरि कटेर चीसोसँग पौँठेजोरी खेल्नु छ । जे होला देखा जाला !
...
दुनियाँ अपेक्षित गतिमा छिटो–छिटो अगाडि बढिरहेको छ ।
‘यो ठाउँमा किरासरि मान्छे भइसके अनि बस्ने ठाउँ के पाइन्छ ?’ राजधानीमा, बसमा उभिइरहेकी महिलाले सकस मान्दै भनिन् ।
‘अरू कुरा त ठिकै छ, तर त्यो किरा भनेको चाहिँ अलि कस्तो–कस्तो सुनियो । त्यो किराको ठाउँमा पुतली भन्नुभए राम्रो हुने थियो कि !’
उनले मलाई चिनिनन्, हाँसिन् मात्र ।
...
प्रकाश नेपाली, सुविद गुरागाई संवार्ता ः
‘ओहो ! गुरागाईजी, के छ ?’
‘सर नमस्कार ! राम्रो छ सर ।’
‘अचेल यतै इटहरीमै बस्नुहुन्छ होइन ?’
‘हो सर, चोकबाट उत्तर हलगडा टोल छ, त्यतै छ बसाइ ।’
‘ए, अरू नयाँ खबर सुनाउनुस् !’
‘अब काठमाडौँबासी हुने योजना बनाउँदै छु, हेरौँ के हुन्छ ?’
‘ए, लु राम्रो । इनरुवाबाट यहाँ आउनुभयो, राम्रै भएको देखिरा’छौँ । राम्रै गर्दै हुनुहुन्छ । काठमाडौँ जाने भन्दा त्यो पनि राम्रै हो !’
‘योजना त बनाइयो सर तर सबै योजनाहरू पूरा हुन्छन् नै भन्ने हुन्न ।’
‘राम्रै हुन्छ । तपाई जत्तिको मान्छेले राम्रै गर्नुहुन्छ भन्ने विश्वास छ ।’
‘खै सर, अब सप्रिने हो कि बिग्रिने हो, अहिले नै कसरी भन्नु ?’
‘काठमाडौँ ठुलो ठाउँ हो, राम्रै हुन्छ । मान्छेले ठाउँ छोडेपछि नयाँ उपलब्धि भेट्टाउने सम्भावना बढ्छ ।’
‘धन्यवाद सर, तपाईहरू जस्तो शुभेच्छुक हुनुहुन्छ र त मलाई पनि के–के के–के योजना बनाइबस्न मन लाग्छ ।’
...
‘पहाड गाउँमा हुँदा नाताको हिसाबले ठूलाबाउ पर्ने, गाउँका ठालुहरूले नै मेरो बुबालाई बीउ चोरको बात लगाए । काठमाडौँ पाकशाला बसेर प्रथमा पास गरेको मान्छे । हेपेको, थिचोमिचो, भेदभाव गरेको मन नपर्ने । हामीले भनेको मान्दैन, यसलाई तह लगाउनुपर्छ भनेर आफन्तले नै बिनाबित्थामा बीउ चोरको बात लगाएपछि बुबाले निकै चित्त दुखाउनुभयो । तर, त्यो नेगेटिभ अवस्थाले पोजेटिभ काम ग¥यो । बीउ चोरको बात लागेपछि बुबा दुई छोराहरू केदार र बद्री लिएर धरान झर्नुभयो । २०२० सालको कुरा हो यो । त्यसरी तराई झरेको हुनाले त्यो नेगेटिभबाट पोजेटिभ भयो, बद्रीविशाल प्रोफेसर–डाक्टर भयो ।’
‘इटहरी चोकका सिटौलाहरूलाई पान्थरे लिम्बूहरूले खेदे । अब ती खेद्नेहरूमध्ये कतिपय त्यहाँ पान्थरमा अझ पनि पुरानो कट्टु लगाएर हल्लिराका होलान् । तर, यहाँ चोकका सिटौला अरबपति–खरबपति भए । नेगेटिभबाट पोजेटिभ हुन्छ । भन्नाले कुनै मान्छेले थाँतथलो छोड्न बाध्य हुनुप¥यो भने पनि त्यसको प्रगति नै हुन्छ । नयाँ ठाउँमा नयाँ सिर्जना हुन्छ । इखले गर्छ नि त !’
...
भनिन्छ, जुन ठाउँमा विद्वानको सम्मान हुँदैन, सीपको कदर हुँदैन, त्यो ठाउँमा बस्नु हुँदैन । ओत लाग्न ठुलो रुखको छहारी रोज्नू, बास बस्न अग्लो धुरी भएको घर खोज्नू भन्छन् बूढापाकाहरू ।
जब–जब म मोटरसाइकल हाँकिरहेको हुन्छु, अगाडि हेर्दा परसम्म सवारी–साधन र मान्छेहरूले सडक डम्म भरिएको देख्छु । तर, जब म त्यही ठाउँमा पुग्छु, त्यही भीडमा म पनि सजिलै अटाइरहेको हुन्छु । म पुग्दा त्यहाँ मेरा लागि ठाउँ खाली भइसकेको हुन्छ । अनि लाग्छ, केहीबेर अघि म व्यर्थमा डराएको रहेँछु ।
...
काउन्ट डाउन जारी छ । उतार–चढाव जारी छ ।
सुझावसँगै गाली गर्नेहरू छन् । रिसाएझैँ गर्दै माया गर्नेहरू पनि छन् । आफ्नौ मलामीहरूसँग टाढिने दिन सूत्रबद्ध बनाउँदै आर्यघाट अलि मास्तिर श्लेष्मान्तकको टाउकोमा आशावादी डङ्गर छाया भुइँ झर्न खोज्दै छ, बाँकी जिन्दगीका लागि । हर्ने–भर्ने लिने–दिने उनै शिवजीको भजन गुन्गुनाउँदै गर्दा हरिभक्तको जस्तो फ्याट्ट चुँडिन, देवकोटा जस्तो प्राविधिक गल्ती हुन बेर छैन !
...
मलाई माफ गर्नू साथीहरू हो ! खोजेको बेला भेटिइनँ भने । सोचेको बेला देखिइनँ भने । पर्खेको बेला आइपुगिनँ भने । दोधारमा बाटो समाइनँ भने । बिदाइको आँसु पचाइनँ भने ।
मैले लेखेको जिन्दगीको पहिलो गीत कालापानीमा खुकुरी पखाल्छु भन्दै गीत गाउने विजय श्रेष्ठ दाइले संयोगवश मन पराइदिनुभयो ।
‘हो, यस्तो चाहिँ लेख न तिमी ! यो त अहिलेसम्म तिमीले लेखेको जम्मै लेखाइको सार खिचे जस्तो छ ।’
मेरो अहोभाग्य ! दाइको सकारात्मक टिप्पणीले गद्गद !’
...
म  : सयौँ अप्ठेरा घुमाउरोहरूमा बाँचेर, सघन तुँवालो छिचोलेर बिहानै सहर आइपुग्दा मनले माटोको गीत गायो – भाग्य लहरमा लहरी–लहरी, पुगेँ यस मरुस्थलमा कसरी ? तर खेद छैन तिम्रो आकृति, कोरिएको छ यो हृदयभरि । सिद्धिचरण श्रेष्ठ बाबैको शब्दमा यतिबेला सामान्य रिमिक्स गर्न मन लाग्यो, मेरो प्यारो सुनसरी !
दिनेश पौडेल : हिँड्ने बेलामा घरबारी बेचेर सगर्व डुक्रिँदै हिँड्यौ, अहिले गोहीको आँसु चुहाउँदै ‘मेरो प्यारो सुनसरी’ रे !
म  : ओहो सर, घर–जग्गा बेच्दैमा वा भनौँ संसारको जुनसुकै कुनामा बस्दैमा आफ्नो जन्मभूमिसँग साइनो टुट्छ र ? ‘जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी’ भन्ने माया–मोहको जालो मर्नुअघिसम्म पनि रहिरहँदैन र ! फेरि तपाईहरू हुनुहुन्छ नि त्यहाँ, त्यो माटोमा मैले रोपेका बिरुवा, सिर्जना, गरेका काम सम्झिराख्ने । मलाई माया गरिराख्ने !
दिनेश पौडेल  : लौ त शुभ यात्रा ! फर्केर आउँदै गर्नुहोला ।
...
‘तैलेँ यहाँ आउनुपर्छ र मलाई काममा सघाउनुपर्छ,’ काठमाडौँले मसँग फेरि अपेक्षा गर्दै छ ।
मैलेँ भनेँ, ‘हुन्छ, म अब कम्तीमा पाँच वर्षका लागि तँसँग बस्छु । तर, त्यस्तो मायालु वातावरण तैँले बनाउनुपर्छ ।’
‘ओके छ त !’ उसले भन्यो ।
उसलाई थाहा छ, घोडा जबसम्म आफ्नो काममा रमाउँदैन, तबसम्म घोडसवारले घोडचढीको आनन्द लिन सक्दैन । र, घोडा रमाउने वातावरण बनाउने काम उही घोडसवार हुन चाहने (सइस) को हो ।
...
सुविद गुरागाईको सम्भावित महाभिनिस्क्रमणका लागि दिनेश पौडेलको माया –
‘सँगै हाँस्थ्यौँ, खेल्थ्यौँ । यसै सहरलाई संसार मानेर जीवनको अर्थ खोज्थ्यौँ । थोरै थियो होला, तर पुगेकै थियो । सानै भए पनि आफ्नै सहर थियो । अचानक खबर सुनायो फेसबुकले, मेरो त्यो सहयात्री अचानक एउटा भयानक समुद्रमा हाम्फाल्दै छ, कुन बूँद बन्ला ऊ त्यस मानिसको महासागरमा ? घर छँदाछँदै किन मेरो साथी पाहुना बनेर रमाउने चेष्टा गरिरहेको छ ? त्यो काठमाडौँलाई नचिन्या हो र ? पर्स मोटो छउन्जेल ज्वाइँलाई भन्दा आदर गरेजस्तो गर्छ, माया पनि गरेजस्तो गर्छ, दुःख–सुख के छ ? सोधखोज गर्छ । खल्ती दुब्लो छ भन्ने थाहा पायो भने आची पुछेको टालोझैँ पर हुत्याउँछ र महानगरपालिकाको ट्रयाक्टरले ओखरपौवा पु¥याउँछ । पीर पर्दैन ?
...
सहरमा ठाँटो जमाउने चीसो छ । मौसमको मिजाज ठिक छैन ।
यही बेला हो, बर्डस् अफ् प्याराडाइज (स्वर्गको चरा) फुल्ने । खङ्ग्रङ्ग पत्करसँगै हावा चुमिरहेको धूलोले एकाबिहानै सामूहिक बलात्कार गरेको मन पर्दैन कविलाई । खाल्डोमा छताछुल्ल, उदाङ्ग माया मात्र छैन । अधकचल्टिएका धेरै सेनेटरी प्याड र कन्डमहरूले ओखरपौवा भरिँदो छ ।
...
यो सहरले मलाई पागल बनाउने भो । कवि, प्रेमी, आवारा केके हुनुपर्ने हो ? गर्छ आफू नाजायज पर्दाभित्र बसेर, मैले गर्दा भएको आरोप लगाउने भो । अरू जस्तो होइन मेरो माया भन्नेले, फकाउँदै लगेर भीरबाट खसाउने भो । हिँडेका ती पाइला गोरेटा सम्झेर एक्लै, रुनु, हाँस्नु, के गर्नु ? राम्रै सताउने भो ।
...
भनिन्छ १२ वर्षपछि फर्किन्छ खोलो । २० वर्षपछि फुल्छ बाँस । मन मिलेपछि, माया भएपछि जे पनि हुन्छ । संसारमा असम्भव भन्ने केही छैन ।
ईश्वरले तँ चिता म प¥याउँछु भन्छ रे ! त्यस्तै, एउटा सुखद् घटना हुन लाग्दै छ, मेरो जीवनमा । २० वर्षपछि फेरि ऐतिहासिक फर्पिङ नगर फर्किने अनुमति पाउँदै छु । धन्यवाद शुभेच्छुकहरू !
...
जिन्दगी रोएर बित्छ भने क्षणिक हाँसो किन ? ना २ ख ६१६१ । दक्षिणकाली यात्रामा बाटोमा दुई वटा टिपर ठोक्किएर लामो जाम भयो । त्यसमध्ये ब्रेक फेल भएर ठोक्काउने टिपरको पछाडि यस्तै लेखिएको थियो ।
यस्तै आँसु–हाँसो जिन्दगीको कथा समेटिएको ट्रक साहित्यको दोस्रो संस्करण व्यवस्थापन गर्न खोज्दै छु । कमल ढकालजीसँग कुरा भा’छ । कभर–अपमा ‘जनताको भरिया’ लेख्ने सल्लाह भा’छ ।
...
जयराम – केटिएम खाल्डोमा अब गर्ने योजना के हो नि दाइको ?
म – योजनै–योजना छन् । योजनाको भारीले किचिएर मरेँ भने मलामी तिमीहरू नै त हौ नि !
जयराम – मलामी हामी हौँ तर त्यसबारे सोच्ने पनि बेला भा’छैन ।
म – अहिले गर्नुपर्ने केही खास रहरहरू पनि छन् ।
जयराम – जस्तै ?
म – शिवरात्रिमा पशुपति जाने, डुल्ने, रमाइलो गर्ने ।
जयराम – नाङ्गा बाबा हुन लाग्नु भा ?
म – अहिले पनि के कम छु त ?
जयराम – हा हा हा ! बिन्दास बुढा !
म – ओके, नाइस टु टक यु । किप इन टच ।
...
दुखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे – बालकृष्ण सम ।
ईश्वर बराल, ईश्वर घिमिरे, ईश्वर ढकाल, ईश्वर रौनियार, ईश्वर पोख्रेल, ईश्वर भट्टराई, ईश्वर कोइराला, ईश्वर गिरी, ईश्वर आचार्य, ईश्वरलाल श्रेष्ठ, ईश्वरचन्द्र ढुङ्गेल, ईश्वरमणि ओझा, ईश्वर आचार्य, ईश्वर दाहाल, ईश्वरी महत, ईश्वरी पराजुली । मेरो इन बक्समा जो–जो ईश्वरहरू हुनुहुन्छ, महिला–पुरुष, कृपया तत्–तत् ठाउँमै रहनुहोला । म ईश्वर भेट्न आउँदै छु ।
...
कम–ब्याक चन्द्रागिरि :
यतिबेला काठमाडौँको अटोग्राफमा लेख्न मन लागेको कुरा – रोउँ भने हाँस्छन् सबै, हाँसु भने कुरा काट्छन् । भित्रभित्रै विरोध गर्छन्, केही होइन भनी ढाँट्छन् । बाहिर देख्छु जून जस्तो मनमा कालो लुकाएर ! भलाद्मी जो धेरै हुन्छन्, मौका पर्दा जुठो चाट्छन् ।
अहिलेलाई यति भनेँ । सरोकारवालाहरूसँग सेल्फी खिच्न बाँकी छ ।
...
‘तिमी फन्टुस ! कुरै बुझ्दैनौँ ।’
‘म फन्टुस ? के भनेको त्यो ?’
मेरो मनमा अर्को खलपात्र जन्मियो । उही फन्टुस कहिले नायक भइदिन्छ, कहिले खलपात्र ।
यस्तो किन हुन्छ ? आफूलाई नै आश्चर्य लाग्छ । म कहिलेकाहीँ सानो कुरालाई ठुलो बनाउँछु, कहिले ठुलो भनिएकोलाई सामान्य ठान्छु ।
जस्तो कि अहिले भइरहेछ ।
...
प्रभु तिमी मेरो माया गर स्वीकार ! तिमीबिना केही छैन जीवनको सार । आजसम्म कमाएको आनन्द मैले, तिमी पाए त्याग्छु सबै सुख बार–बार ।
पशुपति आउने भक्तहरूको जय ! आउन नसक्ने भक्तहरूको पनि जय ! कोही आए कोही गए । बराबरी भए ।
...
काउन्ट डाउन जिरो । नेपाल गए कपालसँगै बर्मा कर्मसँगै ।
...
म : धन्यवाद, श्याम केसी । छवि लुइटेल । ठाकुर बेल्बासे । स्वागत नेपाल । बसन्तप्रकाश उपाध्याय । हिक्मत थापा । शाम्ब ढकाल । रमेश पौडेल । हरिराम पौडेल । कृष्ण आचार्य । कमल ढकाल । कृष्ण सर्वहारी । छत्र क्षितिज । व्याकुल पाठक । घनेन्द्र ओझा । अश्विनी कोइराला । कौशल भट्टराई । गोविन्द बुइँपाली । पेशल आचार्य । विपिन किरण । सुनिल पुरी । शम्भु भण्डारी । जयन्ता पोखरेल । लोचना शर्मा । वीरेन्द्र केएम । बलराम प्यासी । विनोद ढकाल । महेश गुरागाई । सनत सापकोटा । विवश वस्ती । नरेश ज्ञवाली । सन्दीप दाहाल । राजकुमार शाही ।
सिएन गौतम : फेरि काउन्ट डाउन सुरु ?
म : सरी ल ! यसपटक म हल्लखल्ल गर्ने मुडमा छैन ।
०००
bisnuprasad.bg@gmail.com


पुरानो डेट सम्झेर
– सुविद गुरागाई

‘पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर, मुटुमा मेरो भक्कानो फुट्यो कलेजो थरर,’ मलाई मनपर्ने भाइ विधान श्रेष्ठले गाएको शब्दबाट अभिप्रेरित भएर म आज जीवनको मध्यमा आफ्ना पुराना दिनहरू सम्झिरहेछु ।
प्रेम दिवसको सान्दर्भिकता आत्मसात गर्ने क्रममा भ्यालेन्टाइन डेका दिन मैले लेखेँ, ‘गजब भो मैले पनि मायाको अनुभव गरेँ, परेलीमा अल्झिएर आँसुको दहमा झरेँ,’ तर, यो गजलको बाँकी सेरहरू मैले चार दिनपछि मात्र पूरा गरेको थिएँ । कारण यो लेखाइ मेरो तत्कालीन भ्यालेन्टाइनप्रति समर्पित थियो, र सोको अनुभवको दोस्रो चरण मैले चार दिनपछि मात्र पार गर्ने मौका पाएको थिएँ । ‘के भयो यो किन भयो ? तिम्रो माया बुझ्न खोज्दा, भक्कानिँदै, मूच्र्छा पर्दै कतिपटक ज्युँदै मरेँ ।’
यो सन्दर्भ समयानुकूल मेरो जीवनको ११ औँ संस्करण हो । तर, यसभन्दा अघिका थुप्रै प्रसङ्गहरू मलाई रोमाञ्ेिचत र अभिप्रेरित पार्न सहायक थिए ।
किशोरवयमा सबभन्दा मनपर्ने, स्कुल सँगै पढ्ने केटी साथी थिइन्, सुशीला । त्यो बेला भ्यालेन्टाइन डे मनाउने र सबभन्दा नजिक मानेको साथीलाई डेटको उपमा दिने प्रचलन थिएन ।
२०४० सालतिर नयाँ वर्ष, विजया दशमी आदि मौका पर्खँदै पोस्टकार्डमा हिन्दी, अङ्ग्र्रेजी वा नेपाली रूपान्तर सायरी लेखेर प्रेम अभिव्यक्त गर्ने साङ्केतिक तरिकाले किशोरा जीवनशैलीमा ठाउँ हस्तक्षेप गर्न थालेको थियो ।
त्यसमा पनि एकजनालाई मात्र पोस्टकार्ड दिँदा अरूले थाहा पाउँछ, जिस्क्याएर हैरान पार्छन् भन्ने सघन भय हुन्थ्यो । त्यसबाट जोगिन उनको सहेली समूहलगायत केही केटा साथीलाई पनि पोस्टकार्ड दिएको थिएँ, विषयलाई सामान्यीकरण गर्दै । मनमा, बुझ्नुपर्नेले कुरा बुझुन् र नबुझ्नुपर्नेले नबुझुन् भन्ने आशय हुन्थ्यो ।
म उनलाई माया गर्थेँ । म कक्षा ‘प्रथम’ भएकाले पिकनिक वा कतै शैक्षिक भ्रमणमा जाँदा उनी पनि मेरो साथ चाहन्थिन् । भावुक मनले व्यवहार–विश्लेषणपछि उनका मनमा पनि मेराप्रति केही छ भन्ने लख काट्थ्यो । तर, परिस्थिति थियो कि साथीभाइले जिस्क्याउने स्थिति बन्दा पनि म न आफ्ना कुरा भन्न सक्थेँ, न उनले नै खुलेर केही बताइन् ।
ती दिनहरूमा आफ्नो पहिलो प्रेमका बारेमा सोच्दा म आफूलाई निकै सुधारिएको, संयमित, भलादमीजस्तो पाउँथे । भेटमा कथम्कदाचित् प्रेम र शरीर सुख प्राप्तिको गफ गरेँ भने उनले मन दुखाउलिन् भन्ने डरले म आफैँमा सीमित हुन पुग्थेँ । एक प्रकारको आत्मरतिको स्थितिमा म थिएँ । पछि, उनका बारेमा चासो राख्दै उनको गाउँसम्म पनि पुगेको थिएँ । तर, उनको बिहे भैसकेको जानकारी लिएर त्यहाँबाट खाली हात फर्केको थिएँ ।
उनलाई सम्झिँदा म अहिले पनि रूपनीमा पश्चिमबाट जाने बस रोकिने स्टेन्ड सम्झिन्छु, जहाँ म उनीतिर फर्केर बिदाइको हात हल्लाइरहेको थिएँ । सम्झनाका केही शब्द उनकै लागि हुन्, जसलाई मैले २०४२ सालमा त्यही स्टेन्डमा ‘बाई ! बाई !’ भन्दै बिदा दिएको थिएँ । लगत्तै फर्केर हेर्ने साहस पनि थिएन त्यो बेला । जतिबेला मैले फर्केर हेरेँ, उनलाई अन्नपूर्ण बसले निकै पर पु¥याइसकेको थियो । साँच्चै एउटा साथीको सम्झनाले निकै फरक पार्दोरहेछ जिन्दगीमा । अन्नपूर्ण बससँग जोडिएको मेरो किशोरवयको अर्को कथा पनि छ ।
सानोमा कसैले ‘तिमी कोसँग बिहे गर्छाै ?’ भनेर सोधेमा म सहजै विमलातिर देखाइदिन्थेँ रे ! उमेर पुगेपछि उनीसँग पनि भेट र फोटो साटासाट भयो । मलाई भेट्नेबित्तिकै बिचरी लाजले रातो हुन्थिन । तर, मैले उनमा आफूले दीर्घ मित्रताका लागि खोजेकी केटीको प्रतिमूर्ति देख्नै सकिनँ । मनले मानेन । त्यो बेला मसँग शिक्षकको जागिर र पढाइको घमन्ड थियो ।
जागिर प्रारम्भका दिनमा साहित्यिक अभिरुचि र पत्राचारको सिलसिलासँगै जयन्ता धेरै नजिक भइन् । इनरुवा डुल्न र घरमै भेट्न पनि आइन् । सुनसरीतिरकै कुनै केटासँग घरजम गर्ने उनको इच्छा थियो । पत्रमित्रता हुँदै मन नजिकिए पनि शरीरको कुरामा भने आँट गर्न सकिनँ । मेरो अवधारणामा बसेकीजस्ती पातली, अग्ली नभए पनि उनको सामीप्यता मेरो गजलमा बान्की भर्न सहायक बन्यो । पहिलो भेटमा उनीसँग छुट्टिएपछि लेखेको थिएँ, ‘तिमी नै भन सपनामा भ्रमहरू पालेर के गरुँ ?, महल भयो खण्डहर जब गमला साँचेर के गरुँ ?’ यस्ता अनेकौँ भावनामय शब्द लेखेर मनका कुरा पछिसम्म पनि आदान–प्रदान भइरहन्थ्यो । हालैका दिनमा पनि उनीसँग भेट भएको थियो । विराटनगरमा एउटा कार्यक्रममा भेट हुँदा फोटो खिच्ने कुरा आयो । उनले ‘ल ! तिमीले कति नजिक आएर फोटो खिच्न सक्छौ, खिच,’ भनिन् । यो कुरा सुन्नेको प्रतिक्रिया चाहिँ म तपाईलाई पछि सुनाउँछु ।
पत्रमित्रता ती दिनहरूमा अचेलको नेटमित्रता, मुहार पुस्तिका जत्तिकै प्रिय माध्यम थियो नजिक हुने । दैनिकजसो हुलाकीलाई चिया खुवाउन अलग्गै पैसाको जोहो गर्नुपथ्र्याे ।
पत्रमित्रताकै माध्यमबाट लक्ष्मीसँग पनि मेरो निकटताको सम्बन्ध रह्यो । केटी भए पनि केटाजस्तो बानी–व्यवहार देखेर मैले उनलाई मित्रतामै सीमित राख्न चाहेँ । घर आउने–जाने गर्थिन् । सायद उनले पनि मेरो मनोदशा बुझेकी थिइन् । मेरो परिवारमा हामीबीच मित्रताको मात्र साइनो भएको प्रष्टीकरण दिने गर्थिन् । बबितासँग घरजम सुरु भएको पहिलो दिन पनि सोही अनुभूति दिलाउन आएकी थिइन् । उनी आज पनि बिहे नगरी बसेकी छन् । चर्चित छन् । मित्रता अझै पनि छ । धेरै साथीहरूलाई थाहा छ ।
जागिरको सिलसिलामा पहाडको एउटा बेँसीमा गोमासँग भेट भयो । जागिर, तराईको केटो, परिवारको पनि सहमति भएको आधारले बिचरी मेरासामु लल्याकलुलुक भइन् । घर फर्किादै गर्दा दोबाटोको चौतारीसम्म सँगै आएर उनले प्रेममय सायरीहरूसहितको पत्र र पाँच रुपैयाँ पैसा मेरो हातमा हालिदिएकी थिइन् । पत्र पढेर, बिचरीको मलाई प्रभावित गर्ने तरिका देखेर खुसी भएको थिएँ । पहाडकी केटीले त्यतिसम्म आँट गर्नु, मलाई गजब लागेको थियो । उनले दिएको पैसाले किनेको ‘मधुपर्क’ अझै पनि मेरो घरमा छ । सायद मेरो खोजी अर्कै केही थियो । उनमा पनि मन बस्न सकेन ।
बाटोमा यात्राको क्रममा एकदिन सरस्वती भेटिइन् । बहादुरामा राति सँगै, संयोगले एउटै सिरकमा बास प¥यो । सामान्य औपचारिकताबाहेक केही भएन । भोलिपल्ट बिहान लाजले शिर निहुराउँदै चार घन्टा जति अझ अगाडि, सिस्नेरी फेदी पुगेपछि हाम्रो बाटो छुट्टिएको थियो । उनको परिस्थिति अलग थियो, मेरो अलग । उनी कुनै स्कुलकी कक्षा १० की छात्रा थिइन्, म कुनै स्कुलको शिक्षक । हाम्रो कुरा मिल्थ्यो पनि होला, तर यात्रामा उनका बुबा साथै थिए । बाटोको कुरा बाटोमै सकियो । तर, सम्झना सकिएको छैन ।
कलेज पढ्दाका दिनमा कुसुमसँग भने नोट साटासाट गर्ने, एकान्तमा घन्टौ सँगै बस्ने, सिनेमा हेर्न जाने, फोटो खिच्ने हुँदाहुँदै निकै नजिकिएछ । मेरो साहित्यिक लेखन मन पराउने उनले मलाई ‘फन्टुस’ संज्ञा दिएकी थिइन् । एकदिन साँझमा बस स्टेन्ड चोकमा भेट भयो । कुरै कुरामा ‘तिम्रो फन्टुससँग बिहे गछ्र्याै कुसुम ?’ भनेर सोधेँ । उनले सजिलै ‘यस विषयमा बुबासँग कुरा गर, बुबाआमाले जसलाई दिनुहुन्छ त्यसैसँग जान्छु’ भनिन्न् । उनको जवाफले म अवाक बनेँ । कारण म जैसी केटालाई पहाडका बाहुन बाबुआमाले छोरी देलान् भन्ने मलाई लागेन । त्योभन्दा अघि म उनको पहाड घर गएको पनि थिएँ । पछि गइनँ ।
पाँच वर्षपछि भेटमा, ‘तिमीले मेरो बुबासँग कुरै गरेनौ, गरेको भए पक्कै पनि मलाई सोध्नुहुन्थ्यो र कुरा मिल्थ्यो,’ भन्थिन् । त्यो बेला मैले तिम्रो पो जवाफ चाहेको थिएँ, तिम्रो बुबाको हो र ! भन्दै आफ्नै बचाउको तर्क राखेको थिएँ । घटना जे भए पनि हाम्रो सम्बन्ध नहुनु रहेछ, भएन ।
बिचमा एकदिन उनको फोन आयो ।
‘के हो सुविद, अचेल हामीलाई सम्झिँदा पनि सम्झिँदैनौ त ?’ फोनमा उनको गुनासो थियो ।
‘नसम्झेको त होइन तर सम्झना सार्वजनिक हुँदा तिम्रो व्यक्तिगत जीवनमा खलल पुग्ला भनेर ध्यान नदिएको मात्र हो !’ मेरो स्पष्टीकरण थियो ।
‘तिमीसँग बोलेर जित्न गाह्रो छ फन्टुस !’ उनले खाटा बसेको घाउतिर लक्षित गरिन् । थप २० मिनेट जति अन्तक्र्रिया चल्यो । सारमा उनको भनाइ थियो, ‘हामीले अहिलेका केटाकेटीले जस्तो लभ गर्न जानेनछौँ, त्यो बेला ।’
पछिल्लो पटक फोनमा कुरा हुँदा धान रोप्दै थिइन् ।
‘फन्टुस फिक्सन’ उपन्यास लेख्दै छु !’ उनलाई थाहा नै छ यो कुरा तर पनि सन्दर्भ अघि बढाउन केही न केही भन्नु नै थियो ।
‘लु, राम्रो !,’ उनले भनिन्, ‘तर, जे पायो त्यही नलेख है फेरि, मार्दिन्छु नि !’
‘म जे पायो त्यही लेख्छु जस्तो लाग्छ हो तिमीलाई ?’ मैले ठट्यौली प्रश्न सोधेँ ।
‘त्यो त विश्वास छ !’ उनले भनिन् । यसको अपडेट यति हो अहिलेलाई ।
युवा दिनहरूमा दीपा आइन् । पारिवारिक वातावरण र जातपात मिलेको थियो । तर, तिनीसँग पनि कुनै उल्लेख्य सम्बन्ध बन्न सकेन । तिनले मैले दारी पालेको देखेर मलाई ‘बूढो’ उपमा दिएको कहिल्यै भुल्दिनँ ।
यसैबीच, स्वेता थिइन् एउटी, यात्राकी साथी । उनीसँग लुकीलुकी खुब घुमियो । हाँस्न, बोल्न र साथ दिन सिपालु थिइन् । कोसीका गङ्गेटिक डल्फिन, गोलघर र स्ट्रिट मोटरसाइकल पनि साक्षी हुन्, हाम्रो डेटिङको । तर, परिस्थिति यिनीसँग पनि अनुकूल भएन ।
त्यसैगरी, १२ वर्षअघि १४ फेब्रुअरीका दिन साथीहरूबाट नम्बर पाएर प्रभालाई ‘ह्याप्पी भ्यालेन्टाइन !’ भन्दै एसएमएस पठाएको थिएँ । तीन दिनपछि फोन गरिन् । फोन र एसएमएसबाटै मित्रता कायम राख्ने बाचा–बन्धन भयो, भेट नगर्ने अघोषित सहमतिसहित ।
मलाई विषय जुनसुकै होस्, तर्क गर्नेसक्ने केटीसाथीको खोजी रहन्छ । उनले दुई वर्ष करिब त्यो ग्यापलाई पूरा गरिन् । विराटनगर, इटहरी, पोखरा, काठमाडौँ जहाँ भए पनि उनले मेरो आवश्यकता अनुकूलको समयमा झर्काे मानेको कहिल्यै थाहा भएन । फेसबुकमा मेरो प्रोफाइल हेरेपछिको एकदिन, काठमाडौँमा आफैँले दैनिक तरकारी पकाउनुपर्ने जीवनमा प्रवेश गरेको थाहा भयो ।
समयले उनलाई आफ्नै दुनियाँमा व्यस्त बनाइरहेको छ, मलाई आफ्नै ।
अर्काे एउटा डेटको अनुभव पनि छ मसँग । जुनुबाट परिचय भएर पशुपति कैलासडाँडामा डेटिङसम्म आउँदा थाहा भयो, उनको नाम हेमा रहेछ । फलैँचामा मेरो बसाइ केटाको जस्तो तर उपस्थिति दाजुको जस्तो भयो सायद । उनले व्यावहारिक कुरा गरिन्, मैले आदर्शका । वरिष्ठ उप–सम्पादक पद र नामका कारण अरू सामान्य केटाजस्तो हुन नसक्ने तर इमान्दारीपूर्वक मित्रता कायम राख्ने बाचा गरेर हाँसी–खुसी छुट्टिएको भोलिपल्टदेखि उनको फोन र म्यासेज आउन छोड्यो । घटनाले छोइएर लेखेँ, ‘मेरो चोखो मायालाई बिटुलो पा¥यौ तिमीले, आँखाबाट आफूलाई ओरालो झा¥यौ तिमीले ।’
उनले खोजेको मान्छे म थिइनँ सायद । सम्झना नासो छोडेर उनी टाढिइन् । एक प्रकारले जे भयो, राम्रै भयो ।
सुवानीको कथा जे छ, छँदै छ । तपाईलाई जस्तै उनलाई पनि थाहा छ म फन्टुस फिक्सन लेख्दै छु ।
यसबाहेक अरू उल्लेख गर्न अयोग्य भ्यालेन्टाइन अनुभव पनि केही छन्, मेरो नामसँग समयले जोडेका । कतै आफूले अस्वीकार गरेका, कति आफू अस्वीकृत भएका । तिनका बारेमा पनि पछि मौका मिलाएर चर्चा गर्ने मन छ । जीवनका ‘सेता–काला दिनहरू’ लेख्दा कतिसम्म इमान्दार हुन मन लाग्ला थाहा छैन ।
यो लेखाइको शीर्षक मैले सुरुमा ‘असफल भ्यालेन्टाइन’ राखेको थिएँ । सुनेर साथीहरूले तर्क गरे प्रेम असफल कहिले हुँदैन । प्रेममा प्राप्ति नै हुनुपर्छ भन्ने होइन । प्राप्तिको व्यग्रतामा त स्वार्थ लुकेको हुन्छ । चाहनामा प्रेमले न्यून ठाउँ पाउँछ ।
अनि, ‘पुरानो डेट ?’ पदमजी गौतमले भने, ‘डेट त झन् जुन बेला सम्झियो, त्यही बेला रिफ्रेस हुने कुरा हो, पुरानो कसरी हुन्छ ?’
०००


bisnuprasad.bg@gmail.com


आइ लभ गोबर ! खासगरी गाईको
– सुविद गुरागाई

नियमित आकस्मिकताको घनचक्करमा रुमलिँदै हिँडिरहेका बेला अचानक एउटा खास मोडमा द्वारिकलाल दाइसँग भेट भयो ।
यो कुनै संयोगवश जुरेको भेट थिएन । पूरै नियोजित थियो । भेट हुनु एकदिन अघि नै नागरिक समाजले उहाँहरूलाई सम्मान गर्न तरहरामा आयोजना गरेको कार्यक्रममा उहाँले यसको जनाउ दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘मलाई इटहरीका एक जना पत्रकार मित्रले खुला–पत्र लेख्नुभएछ । मैले उहाँलाई भोलि चिया खान घर बोलाएको छु ।’
मैले पनि फेसबुकमा पोस्ट गरेको थिएँ ।
अर्थात् हाम्रो भेट पूरै योजनाबद्ध थियो ।
यसकारण उहाँको लिभिङ रुममा म र नवीनजी पुगेका थियौँ ।
उहाँले आफ्नो सम्पूर्ण समय आफू सिम्पल लिभिङ हाइ थिङ्किङ वाला मानिस भएको प्रमाणित गर्न खोज्नुभयो ।
भन्नुभयो, ‘सरी है सुविदजी ! मैले तपाईलाई टायल–गलैँचा ओछ्याएको कोठामा स्वागत गर्न सकिनँ । यहीँ काठको गोठजस्तो घरमा बोलाएँ ।’
त्यसपछि इलेक्ट्रिक केतलीमा उम्लिरहेको पानी ग्रीन लिफ राखिएको सिसावाला जारमा हाल्दै भन्नुभयो –
‘यी हेर्नुहोस्, म चिया पनि तपाईलाई आफैँ बनाएर खुवाउँछु ।’
‘मेरो कोठामा आउँदा तपाईलाई गोबर गन्हायो होला ! के गर्नु श्रीमती तल भकारो सोहोर्दै छिन्,’ उहाँले थप्नुभयो, ‘आमा पनि कता खेततिर काम गर्न जानुभा छ । चिया बनाएर दिने मान्छे पनि कोही छैन ।’
‘साँच्ची कति वर्ष पुग्नुभो सुविदजी तपाई ?’ एकाएक दाइले प्रसङ्ग बदल्नु भयो ।
‘पचास वर्ष भएँ दाइ ।’
‘पचास वर्ष ?’
‘हो त, चौबीस सालको मान्छे हुँ म ।’
‘ए हो र ! कुन महिना ?’
‘कात्तिक ।’
‘म पनि चौबीस सालकै हुँ । तर, म चाहिँ मङ्सिरको परेँ । तपाई मभन्दा एक महिना जेठो पर्नुभयो ।’
‘तर सरी दाइ !’ मैले जम्लाहात गर्दै भनेँ, ‘म बाँचुञ्जेल तपाईलाई दाइ नै भन्छु ।’
त्यसपछि तपाई सजिलै अनुमान गर्नसक्नुहुन्छ, दाजु–भाइका बिचमा के कुरा भए । के अपेक्षित थियो ?
०००
खासमा उहाँलाई मलाई भेटेर दुई वटा कुरामा प्रष्ट हुन मन रहेछ ।
‘त्यो तपाईले इटहरी वडा नम्बर एकमा एमाले हार्नुको कारण लेख्नुभएको थियो नि !’
‘माफ पाउँ दाइ,’ मैले बिचैमा कुरा काटेँ, ‘मैले एमाले हार्नुको कारणबारे कुनै पोस्ट लेखेको छुइनँ । मैले काङ्ग्रेसले जित्नुका कारणहरू लेखेको थिएँ ।’
‘उही त हो नि कुरो । म बुझ्छु त्यति त !’
‘हजुर दाइ ।’
‘त्यो तपाईले एक नम्बर वडामा एमाले चुनाव हार्नुको कारण म हो भनेर लेख्नुभो नि ! तर वास्तविकता त्यो होइन । बरु मेरो कारणले अढाइ सय जति भोट बढी आए । त्यहाँ हार्नुको कारण अर्कै छ । वडाका केही साथीहरूका कारण हामी हारेका हौँ ।’
‘ए, यस्तो आन्तरिक कुरो त मलाई के थाहा !’
‘त्यही भएर लेख्नेले पूरै कुरा बुझेर लेख्नुप¥यो । विश्लेषण सही हुनुप¥यो ।’
त्यसपछि उहाँले मेरो पोस्टमा चित्त नबुझेर महेश्वर कार्कीजीलाई ‘सतही विश्लेषण’ भन्ने टिप्पणी लेख्न लगाएको सुनाउनुभयो ।
‘यो त ठिकै छ कि दाइ ! तर, चुनावको सेरोफेरोमा मेरो मनलाई एउटा कुराले कुटुकुटु खाइरहेको थियो ।’ मैले भनेँ ।
‘के कुरा ?’
‘थारुहरूको जातीय सङ्गठनले यसपटक चुनावमा थारू उम्मेदवारलाई मात्र भोट हाल्न आन्तरिक उर्दी जारी गरेको थियो रे भन्ने सुनेँ । तर, यस्तो भन्नुहुँदैन कसैले । न थारुले, न बाहुनले, न लिम्बूले, न अरू कसैले !’
‘यसमा मेरो कुनै संलग्नता छैन । म त जातीय राजनीतिको पक्षधर होइन । राजनीतिको आधार वर्गीय हुनुपर्छ भन्ने मान्छे हुँ ।’  दाइले भन्नुभयो ।
त्यसपछि जनताको बहुदलीय जनवादका कुरा भए । उहाँ कस्तो खालको कम्युनिस्ट हो भन्ने कुरा भए । जब सिद्धान्तहरूको कुरा आयो, मैले एकाएक मेरा साथी डम्बर खतिवडा सम्झेँ । सायद द्वारिक दाइलाई थाहा छैन होला, डम्बरजीको नाम अकिञ्चन खतिवडा पनि हो । डम्बरजी एउटा राम्रो कथाकार पनि हो । उहाँले लेखेको ‘सन्ध्या गुप्ताको आत्मकथा’ शीर्षकको कथा सायद द्वारिक दाइले पढ्न पाउनु भएको छैन । पञ्चायतविरुद्ध मानपुर, सिङ्गियातिर लुकीलुकी रसियन किताबहरू पढ्दै गर्दा, सञ्जय थापाका किताबहरू पढ्न साथीहरूलाई प्रेरित गर्दै गर्दा, कवि गोकुल जोशीको स्मृतिमा आयोजित कविता गोष्ठीमा हामीलाई इनरुवातिरबाट बोलाउँदै गर्दा, रातभरि सर्टभित्र लुकाएर नेकपा मालेका दस्तावेजहरू ओसारपसार गर्दैगर्दा डम्बरजीको नाम कमरेड ‘बसन्त’ थियो । मलाई लाग्छ, द्वारिक दाइको डम्बरजीसँग २०४६ सालपछि मात्र भेट भएको हो । जतिखेर डम्बरजी इनरुवामा एमाले पार्टी कार्यालयमा कार्यालय सचिव भएर बस्न थाल्नुभयो । पार्टी कार्यालयभित्रै एउटा स्तरीय पुस्तकालय सिर्जना गरेर हामी कम्युनिस्ट इतर सिद्धान्त मान्ने केटाहरूलाई पनि आकर्षित गर्न रचनात्मक कामहरू गरेर देखाउन थाल्नुभयो ।
तर, यी सब कुरा मैले द्वारिक दाइसँग गरिनँ ।
‘सिद्धान्तको कुरा गर्दा डम्बरजीको प्रतिभा एमालेभित्र अटाउन नसकेको सम्झिन्छु कहिलेकाहीँ !’ मैले यति मात्र भनेँ ।
‘डम्बरजीको कुरा अर्कै छ,’ दाइले भन्नुभयो, ‘उहाँ आफ्नै कारणले पार्टीमा अटाउनुभएन । त्यो बेला उहाँले अलिकति बढी नै महत्त्वकाङ्क्षा राख्नुभयो ।’
‘अनि तपाई चाहिँ सांसदको चुनाव नलड्ने कहिले ?’ म सोध्थेँ ।
‘के गर्नु जब टिकट दिने कुरा हुन्छ, मलाई हार्ने ठाउँमा मात्र टिकट दिन खोज्छन्, बरु त्योभन्दा राम्रो लड्दिनँ भन्यो, मन सम्झायो बस्यो ।’ डम्बरजीको जवाफ हुन्थ्यो ।
तर यी सब कुरा पनि मैले द्वारिक दाइसँग गरिनँ । किनकि मलाई डम्बरजीका बारेमा त्यति कुरा थाहा थियो, जति उहाँलाई थाहा थिएन ।
०००
‘त्यो मैले चन्दा माग्न आएका बालबालिकालाई हपारेँ भन्ने कुरा चाहिँ कसले के सुनाइदियो तपाईलाई ?’
द्वारिक दाइ मैले उहाँलाई लेखेको खुला–पत्रको अलिकतिभित्र छिर्नुभयो त्यसपछि ।
‘माफ पाउँ दाइ !,’ मैले भनेँ ‘त्यो तपाईको भेटघाट होटल छेउको घरमा सरस्वती पूजाको चन्दा होस् कि शैक्षिक भ्रमणका लागि सहयोग माग्न आएका भाइबहिनीहरूसँग भित्र आँगनमा तपाईले अलि ठूलो स्वरमा बोल्दै गर्दा म बाहिर आफैँ गेटमा उभिइरहेको थिएँ ।’
‘ए, त्यो हर्दियाको स्कुलको मास्टर हो तपाई ?’
‘हजुर दाइ !’
‘म पनि पहिले मास्टर थिएँ । सुरुमा स्कुलको काम छोडेर राजनीतिमा आउँभन्दा त्यति सम्भावना देखेको थिइनँ । तर, हुँदै हुँदै गर्दा पछि राम्रै भयो ।’
त्यस बिचमा दाइले दुई पटक हरियो पत्ति चिया कपमा सारेर चिनी अलग्गै राखेर हामीलाई दिइसक्नु भएको थियो ।
‘तपाईहरू चिनी कति राख्नुहुन्छ, लिनु है ! के गर्नु आफूले त चिनी खान्नँ । चिनी रोग लागेको छ, बिहान लिफ टि मात्र खान्छु,’ दाइले भन्दै गर्दा सिँढीतिरबाट एउटा मान्छे, लुसुलुसु माथि उक्लियो ।
‘ए, ए, ए, उसलाई रोक रोक !,’ दाईले एक जना सहयोगीलाई भन्नुभयो, ‘लाऊ, यो पचास रुपियाँ देऊ उसलाई ।’
पैसा पाएर त्यो मान्छे सरक्क सिँढी ओर्लियो ।
‘देख्नुभो यस्ता छन् मेरा जनता !,’ दाइले भन्नुभयो, ‘त्यो मान्छे रक्सी खान पैसा माग्न आएको थियो । नदिएको भए ऊ यहीँ कोठामा आउने थियो र हामीलाई डिस्टर्व गर्ने थियो ।’
‘दाई तपाईले कोही एक जना पत्रकारलाई प्रेस सल्लाहकार नियुक्त गर्नुप¥यो पहिले,’ मैले आगन्तुक दरपियाका कारण भङ्ग भएको क्रम जोड्दै भनेँ ।
त्यहाँ हामी बिच इटहरीको पत्रकारिताको सवाल आउनु जरुरी थियो । समग्र पत्रकारिताको कुरा आउनु जरुरी थियो । किनभने मैले खुला–पत्रमा पत्रकारहरूलाई सार्वजनिक कार्यक्रममा डाइलग नदिन, पत्रकारको अपमान हुने शब्द नबोल्न, पत्रकारितासँग कुनै समस्या भए पत्रकार महासङ्घका प्रतिनिधिहरूसँग बसेर समस्याको समाधान गर्न सुझाएको थिएँ ।
‘यो मैले गर्ने कुरा हो । मैले गर्छु वा के गर्छु, त्यो मेरो काम हो ।’ दाइले जवाफ दिनुभयो ।
मैले सुनेको थिएँ, कसैलाई पनि नमागेको सल्लाह दिनुहुँदैन । त्यसले उल्टो काम गर्न सक्छ । तर, मेरो कुरा सुनेर दाइ रिसाउनु भएन । उहाँ मसँग हाँसीहाँसी कुरा गरिरहनुभएको थियो ।
‘ल त सुविदजी, तपाईसँग अलि लामै कुरा गर्न मन थियो । तर, समय मिलेन । पछि फेरि कुरा गराँैला !’
दाइले समयको महत्त्व बुझाउन हिजोआज जुन प्रयास गरिरहनुभएको छ, त्यसको म प्रशंसक हुँ । ढिलो–चाँडो हामी सबैले समयको महत्त्व र माग बुझ्नैपर्छ ।
‘हुन्छ दाइ, फेरि भेटौँला !’
त्यसपछि दाइ हाँसपोसातिर लाग्नुभयो । म बालग्रामतिर ।
०००
अब अलिकति गोबर र खरानीको कुरा गरौँ ।
पञ्चायतकालमा परिवर्तन चाहने अग्रगामी युवाहरू कोही गोबर हुन्थे । कोही खरानी हुन्थे । कम्युस्टि जतिलाई खरानी र काङ्ग्रेस जतिलाई गोबर भनिन्थ्यो । तर, मैले गोबरको सन्दर्भ यो राजनीतिक प्रसङ्गसँग जोड्न खोजेको होइन ।
गोबर त हाम्रो सनातन संस्कृतिसँग जोडिएको वस्तु हो ।
जतिबेला म सानो थिएँ, आमाले, दिदीहरूले हाम्रो घरको कोठा–चोटा, आँगन सबैतिर गोबर पानी घोलेर मजाले लिप्नुहुन्थ्यो । गोबरले लिपेको देखेपछि हामीले घरमा कुनै चाडवाड वा सराद आदि भएको जनाउ पाउँथ्यौँ र खुसीले रमाउँदै आँगनमा उफ्रिन्थ्यौँ । खासगरी त्यो दिन टीका लगाएर पैसा पाइने भो भन्ने हाम्रो अन्तर्यमा हुन्थ्यो । चाडवाडमा, सरादमा चेलीबेटीहरूलाई खोजी–खोजी टीका लाइदिएको र पैसा दिएको मलाई मन पर्दैनथ्यो । मलाई पनि पैसा चाहियो भनेर माग्थेँ । छोराहरूलाई पैसा दिने होइन, बरु छोराहरूले चेलीबेटीहरूलाई पो  दिनुपर्छ भनेर आमा–दिदीहरूले सम्झाउन खोज्नुहुन्थ्यो । तर, म मान्दिनथेँ । बरु, रोइदिन्थेँ । रोएपछि मलाई पनि पैसा दिनै पथ्र्यो ।
सानोमा गुइँठा बनाउन काम लाग्छ, घरको भित्ता लिप्ने माटोमा भुससँग मिसाउन काम लाग्छ भनेर दिदीहरू बाटोमा, खेतमा, चरउतिर गोबर टिप्न पठाउँथे, ढक्की बोकेर । हामी पनि जे भेटियो त्यही टिपेर ल्याउँथ्यौँ । कुन गाईको गोबर, कुन भैँसीको गोबर ! एकै ठाउँ हाल्यो, ल्यायो । हुन्डीमुन्डी ।
अलि ठुलो भएपछि पनि जब–जब म आमाले, गाईको गोबरले लिपेको ठाउँमा पुग्थेँ, गोबरबाट आउने एक प्रकारको सुगन्धले मन छुन्थ्यो । मजा आउँथ्यो । तर, यसको फाइदा के छ ? बेफाइदा के छ, त्यो बेला हामीलाई केही थाहा थिएन ।
पछि बुझ्दै जाँदा गोबर, खासगरी गाईको गोबर हाम्रो संस्कृतिमा आउनु, त्यसले हाम्रो भान्सा वरपर सम्मानजनक ठाउँ पाउनुका अनेकौँ वैज्ञानिक कारणहरू रहेछन् । स्वाथ्यका दृष्टिकोणले । औषधीय गुणका कारणले । मनोवैज्ञानिक कारणले । आवश्यकताका कारणले पनि । गोबर निकै शक्तिशाली इन्धन रहेछ । प्राङ्गारिक मल हुने, विद्युत्–ताप उत्पादन गर्न सक्ने अद्भूत क्षमता छ गोबरसँग । आइ लभ गोबर । मलाई गोबर मन पर्छ । त्यसमा पनि गाईको गोबरसँग मेरो विशेष सम्बन्ध छ । एउटा हिन्दूवादी अभियन्ता हुनुको विशेष साइनो पनि छ, योसँग मेरो ।
तर, द्वारिक दाइले मेरो भावना बुझ्नुभएन । चाहना बुझ्नुभएन ।
त्यसैले म अझै छक्क परिरहेको छु, त्यो दिन द्वारिक दाइले मलाई उहाँको घरमा जाँदा ‘तपाईलाई यहाँ आउँदा गोबर गन्हायो होला किन भन्नुभयो ? के सोचेर भन्नुभयो ?’
सायद मेरा बारेमा उहाँका मनमा अझै कुनै इन्फेरिओटी कम्प्लेक्स कायमै छ । हीनता–भाव बाँकी नै छ ।
०००
bisnuprasad.bg@gmail.com
इनरुवाको ग्राउन्ड रियालिटी
– सुविद गुरागाई

मैले अक्षर चिन्दा इनरुवाको नाम इनर्वा थियो ।
राष्ट्रिय वाणिज्य बैङ्कको चेकमा होस् कि साइनबोर्ड इनर्वा पढेको थिएँ मैले । सिडियो कार्यालय, थाना, मालपोतका साइनबोर्डमा पनि त्यस्तै देख्थेँ । मैले थाहा पाउँदा–पाउँदै इनर्वा, इनरुवा भयो । तर, सबभन्दा पहिले कसले लेख्यो इनरुवा शब्द ? इनर्वालाई इनरुवा बनायो कसले ? कसको दिमागमा सबभन्दा पहिले यो कुरा आयो ? धेरैलाई थाहा छैन ।
त्यो बेला सप्तरीमा अर्को इनर्वा थियो, सिराहामा पनि इनर्वा थियो । मैथिलीमा ‘र’ अक्षरलाई विशेष शैलीमा छिटो उच्चारण गरिने हुँदा यो ठाउँलाई पनि इनर्वा नै भनिन्थ्यो ।
२०१५ सालको चुनाव हुनुभन्दा अघिको कुरा हो यो । सेरोफेरोको ग्राम विकास केन्द्र भुटाहामा थियो । यहाँका जिमीदार, पटुवारीहरूले रसिदमा इनर्वा नै लेख्थे । ती दिनहरूमा कर्णबहादुर मगर (पछि कर्णसिंह मुरुङ्जय), गोपाल कोइराला, ददिराम पराजुली, रघुनाथ अधिकारी, पण्डित हरिप्रसाद घिमिरे, पण्डित फणिराज नेपाली (भट्टराई) आदि साहित्यिक मनहरूको समूह थियो । बेला–बेला साहित्यिक सङ्गतिहरू हुन्थे ।
भगवती मन्दिर अगाडि चौरमा एउटा ठुलो करबिरेको रुख थियो । त्यही रुख तल महाकवि देवकोटाका साकुन्तल, सुलोचना महाकाव्य र अरू साहित्यिक रचनाहरू सुन्ने–सुनाउने काम हुन्थ्यो । शब्द–शब्दको अर्थ खोज्ने, बुझिनेगरी मिलाई–मिलाई उच्चारण गर्ने अभ्यास हुन्थ्यो ।
इनर्वामा काठको घर बनाउन भोजपुरिया, छपरिया, दरभङ्गिया मिस्त्रीहरू आउँथे । उनीहरू इनर्वा भन्न जान्दैनथे । इनरुवा भन्थे । उनीहरूले इनरुवा उच्चारण गरेको यहाँका लेखनमा रुचि भएका युवाहरूलाई मन पथ्र्यो । स्थानीय बूढापाकाहरू पनि इनर्वा त सप्तरी, सिराहातिरको लवजमा हुन्छ, यो त इनरुवा हो भन्थे । त्यसैलाई टपक्क टिपेर समकालीन युवाहरूले आफ्नो रचनाको अन्तमा, डायरीमा नाम–ठेगाना लेख्दा, साथीहरूलाई टिपाउँदा इनरुवा लेख्न–टिपाउन थाले ।
२०१० सालमा महानन्द सापकोटा इनर्वा आउनुभयो ।
उहाँ आएपछि एउटा सानो टिनको टहरो जोडेर स्कुलको सामान्य सुरुवात गर्नुभयो । स्कुललाई औपचारिक रूप दिन अर्थ सङ्कलन अभियान थालियो । त्यही क्रममा महानन्द गुरुले फणिराज नेपालीलाई नाटक लेख्न भन्नुभयो । गोपाल कोइराला, लावण्य सापकोटा, प्रमुनारायण लाल कर्ण, उमेश कर्ण, सविता श्रेष्ठ ‘चलन’ आदि कलाकार भए । टोली गाउँ–गाउँमा नाटक देखाउँदै हिँड्यो ।
सहयोग सङ्कलन अभियान सकिएपछि विश्वनाथ धर्मशालामा स्कुल स्थापित भयो । प्रस्तावित भगवती मिडिल स्कुल ।
स्कुलको ठेगाना लेख्दा ‘इनर्वा’ लेख्ने कि ‘इनरुवा’ लेख्ने भन्ने कुरा आयो । युवाहरूले आफ्ना रचना, डायरीहरूमा इनरुवा लेख्न थालिसकेका थिए । सरकारी कागजपत्रमा चाहिँ ‘इनर्वा’ नै थियो । महानन्द गुरुले इनरुवा लेखेकै ठिक हुन्छ भन्नुभो ।
यसरी इनर्वा, इनरुवा भयो ।
०००
नाम बदलिए पनि इनरुवाको ग्राउन्ड रियालिटी बदलिएको छैन ।
हिजो जे सोच थियो, आज पनि त्यही छ । फरक यति छ, आज जहाँ इनरुवा गेट बनाइएको छ, त्यहाँ कोसीको एउटा भङ्गालोको पानी बग्न आइपुग्थ्यो । अहिलेको होलीमा पनि कोसीकै भङ्गालो जस्तो पानी हुन्थ्यो । गोही हुन्थे । पानी खान आएका, तर्दै गरेका बाच्छा मात्र होइन, गाई नै टोक्थे । जङ्गला मुलुक थियो । दबदबे हिलोमा गोरुगाडा भासिन्थे । दिउँसै बाघ कराउँथ्यो । र, बबियातिरबाट गाई–भैंसी चराउन आएका हाम्रा आमाहरू भागाभाग हुन्थे । आज त्यो छैन ।
तर, इनरुवाका कवि–लेखक, शुभचिन्तकहरूको मनमा यो ठाउँ देखेर हुने पीडा अनुभूति हिजो जे थियो, आज पनि उस्तै छ ।
‘हिउँदमा ठुला नेताहरू घुमफिरमा आउँदा,
इनरुवा कलिलो बाँस नुहेझैँ नुहिदिन्छ ।
वर्षामा सडक भरी–भरी पोखरी जमाउनु पर्दा,
इनरुवा जाँडको निगार कुहेझैँ कुहिदिन्छ ।
साथी हो ! त्योभन्दा पर्तिर केही छैन मेरो इनरुवा,
भए पनि पानीटङ्की माथिबाट सबै चुहिदिन्छ ।’
सप्तकोसी साप्ताहिक, वर्ष–६ अङ्क ३८, २०४५ साल साउन ६ गते । मैले लेखेको मुक्तक ।
जन आन्दोलनको घोषणा हुन बाँकी थियो त्यो बेलामा ।
केही दिनपछि गणेशमानसिंह, गिरिजाप्रसाद कोइरालाहरू जनआन्दोलनको घोषणा गर्न इनरुवा आएका थिए । हामी रामबहादुर बस्नेत दाइको घरको आँगनमा थियौँ । २०४६ साल माघको तेस्रो हप्ता । जनआन्दोलनका कमाण्डर सिंहले त्यहाँ आँगनको उत्तरतिर भएको काठको मञ्चबाट पहिलोपटक पञ्चायती व्यवस्थाविरुद्ध मुठ्ठी उठाएर जनआन्दोलन सुरु भएको घोषणा गरेका थिए । तीन पटक । गिरिजाप्रसाद कोइरालाले पनि हामीलाई तीन पटक जय नेपाल भन्न लगाएका थिए । ती दिनहरूमा काङ्ग्रेसीहरूका पछाडि–पछाडि हिँड्नु र जय नेपाल भन्नु कम्ती जोखिमपूर्ण थिएन । तापनि हामी पछ्याउँदै हरिनगरासम्म गएका थियौँ । लौह पुरुष गणेशमान सिंहको भाषण सुन्नु थियो । यो प्रसङ्गका बारेमा पछि भन्छु । अहिले चाहिँ त्यही जनआन्दोलन घोषणा भएको मञ्चतिर फर्कौँ ।
माल पाएर के गर्नु, चाल पाउनु पर्छ । इनरुवाले आफ्नो माटोमा जनआन्दोलन घोषणा भएको मञ्चको ऐतिहासिक महत्त्व बुझेन । यो घटना इतिहासमा एकदिन शङ्खधर शाख्वाले दासमोचन गर्न अमुक घाटको बालुवा किनेभन्दा कम महत्त्वको होइन । जुन माटोमा पञ्चायतविरुद्ध ऐतिहासिक जनआन्दोलन घोषणा भयो, त्यसको इनरुवाले राजनीतिक फाइदा लिन सकेन । ‘यसपटक वार कि पार हुनुपर्छ । अब म बूढो भइसकेँ,’ सिंहले भनेको हामीले भुइँमा ओछ्याइएको परालमा बसेर सुनेका थियौँ । तर, इनरुवा यो कुरामा न वार भयो, न पार भयो । बीचमै कुहिरोमा कतै अलमलियो । यो कुरा यतिमै मात्र सीमित हुँदैन । पञ्चायत ढलेपछि २०४७ साल साउन ६ गते विपि जयन्तीका दिन गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाहरू फेरि त्यो मञ्च सम्झेर इनरुवा आएका थिए । तर, यी सब कुरा इनरुवाले बिर्सिसके जस्तो लाग्छ । बिचमा २०५४ असोज १३ गते ‘जनआन्दोलन घोषणा भएको मञ्चको व्यथा’ शीर्षकमा नेपाल समाचारपत्रमा र अलिपछि ‘करनाल’मा बाइलाइन समाचार लेखेर मैले ध्यानाकर्षण त गराएँ तर त्यो ऐतिहासिक मञ्चको गौरव संरक्षण गर्न आजसम्म नगरले चासो देखाएको थाहा छैन । मञ्चको मात्र के कुरा यस्ता अनेकन धरोहरहरूबारे आज इनरुवा बेखबर छ । पत्रकारहरू त्यस्ता खबर दिनुपर्ने दायित्व ठान्दैनन् । इनरुवाको जन–तत्पर, सिर्जनशील पुस्तकालय खोइ ? कर्णसिंह मुरुङ्जय, रघुनन्दन महतो, मोहन विरही, जयन्त भट्टराई, श्यामलाल मिश्र, गुणेश्वर झा, रवीन्द्र चक्रवर्ती आदि नामहरू बिर्सँदो छ इनरुवाले । इतिहास बिर्सँदो छ, माटोले । इनरुवाको ग्राउन्ड रियालिटी यही हो । धन्न ! भाषाशास्त्री महानन्द सापकोटाको योगदान सम्झिने, केही काम गर्ने योजनाको आरम्भमा म पनि सहभागी हुन पाएको थिएँ । तथापि महानन्द वाटिका निर्माणको काम अझै अधुरै छ ।
जे कुराबाट फाइदा लिनु पर्ने हो, इनरुवाले त्यसबाट फाइदा लिन सकेको छैन ।
०००
‘फुङ्ग धूलो उडेर कुहिरो लागे जस्तो
फोहोरले किचेर बेहोस भएको जस्तो
उजाड भएको छ,
जस्तो कोसीको बगर
साँच्चै वृद्ध भएछ अब इनरुवा बजार ।’
सरोज बराल लेख्छन्, इनरुवाको तीतो यथार्थ, ‘धेरै सन्तान छन् रे यसका पनि ÷ देश–विदेश सबैतिर छरिएका ÷ यहीँको धूलोमा खेलेर उन्नति गरे ÷ अब बिर्सिएछन् क्यारे ÷ बूढो इनरुवा बजार ।’
कवि हृदयले देखेको बूढो बजारको एउटा भित्तामा मैले देख्दा–देख्दै एकदिन धर्के सर्ट, नीलो जिन्स पेन्टवाला भाइ पिसाब फेर्न थाल्यो । भित्तामा सेतो अक्षरमा लेखिएको छ – ‘थुक्क ! कुकुर जस्तो भित्तामा मुत्न (पिसाब फेर्न) लाज लाग्दैन ।’ र, छेउमै सानो अक्षरमा स्मरणीय विकल्प पनि सुझाइएको छ, ‘पछाडि बाँसघारीमा जानुस् ।’
पढेलेखेकै जस्तो देखिन्थ्यो त्यो भाइ । तर, पढे–लेखेर मात्र नहुँदो रहेछ, समाज परिवर्तन । एकान्त र भिंडमा मान्छे अविवेकी भइदिन्छ । जुन बजारमा व्यवस्थित सार्वजनिक शौचालय हुँदैन, त्यहाँ भित्ताहरूमा देख्न सकिन्छ, त्यस ठाउँको ग्राउन्ड रियालिटी । इनरुवामा सेन्सर ढोका छ, नियमित बिजुली छैन । होटलका सौचालयमा कमोट छ, साबुन छैन । घरमा होल्डर छ, बल छैन । पङ्खा–एसी चलिरहेको छ, कर्मचारी छैन । हरेकलाई आ–आफ्नो पहिचान चाहिएको छ, इतिहासको सम्झना छैन ।
विके शिवानीका अनुसार ९० प्रतिशत समस्याको कारण हाम्रो आफ्नै सोच हो । यो मननीय अभिव्यक्ति इनरुवामा मेरो जुन साथीको घरको भित्तामा टाँसिएको छ, उही साथीमा रूपान्तरको समस्या देख्छु । छोरीले फेसबुक चलाएको मन पर्दैन । नेटमा धेरै ध्यान दिए भने पढाइ बिग्रिन्छ भन्छ । नेट तथा ग्याजेटलाई अध्ययन–अनुसन्धानका हकमा कसरी उपयोग गर्न सकिन्छ, थाहा छैन । गुगल अर्थबारे सुनेको छैन । लाग्छ, समयको हावा कतातिर बगिरहेको छ, ऊ बेखबर छ । इनरुवाको अर्को ग्राउन्ड रियालिटी ।
०००
‘साठी वर्ष पुगिसक्नुभो तपाई ?’
अशोक ओझा दाइलाई सोधेँ ।
‘कहाँ पुग्नु ! भर्खर ५७ वर्ष पुगेँ । प्रभुनारायण सरले जन्म–मिति त्यही लेखिदिनुभएछ । त्यही सदर भयो,’ अशोक दाइले मनको वह पोख्नुभयो, ‘सुरु–सुरुमा त मलाई केही जस्तो लागेको थिएन । अहिले फिल हुँदै छ भाइ ।’
अशोक दाइलाई अझै राष्ट्र–सेवक हुन मन थियो । काम गर्न मन थियो । तर, समय नपुगी मन मार्नुप¥यो । यो सवालमा ‘म पनि पीडित भएँ,’ भन्नेहरू थुप्रै भेटिन्छन्, इनरुवाका सडकहरूमा । तर, यो न्युज–पेगमा कुनै समाचार पढ्न पाइएको छैन । अर्थात्, अझै न्युज–सेन्स राम्ररी विकास भएको छैन इनरुवामा ।
म सुनसरी प्राविबाट चार कक्षा पढ्न भगवती स्कुलमा सरेपछि प्रभुनारायण लाल कर्ण सरसँग मेरो भेट भयो । उत्तरबाट दक्षिण फर्केको कोठामा । लामो एउटा लौरो छेउमा हुन्थ्यो । बग्रेल्ती कागज, रजिष्टर र रसिदहरूका माझमा उहाँको जिन्दगी बित्यो । मैले भेट्दा उहाँ पढाउनु हुन्थेन । स्कुलको क्लर्क हुनुहुन्थ्यो । हाम्रा विवरणहरू उहाँले जे लेखिदियो, त्यही हुन्थे । अलि सचेत अभिभावक–विद्यार्थीले उहाँका कमजोरी भेटे औँल्याउँथे पनि । धेरैलाई चासो हुँदैनथ्यो ।
यतिबेला त्यही चासो नहुनुको फल भोग्दैछ इनरुवा । हिजोको एउटा सानो भूलले आज इनरुवामा उमेर नपुगी सेवा निवृत्त हुनेहरूको सङ्ख्या थुप्रिँदो छ ।
तर, हामीले प्रभुनारायण सरलाई दोष लगाएर उम्किन मिल्दैन । आज पनि स्कुल, पञ्जिकाधिकारी र प्रमुख जिल्ला अधिकारीको रजिस्टरमा जन्म–मिति हुबहु नमिल्नेहरू बग्रेल्ती छन् । यसमा हाम्रा अभिभावक, शिक्षक र कर्मचारीको चेतनाको स्तर प्रतिविम्बित भइरहेको छ ।
०००
हावा खाने केटाहरू ।
अचेल कतिपय युवाहरू साँझ पर्नासाथ नगर क्षेत्रभित्र पर्ने पुलेसा र सडकपेटीहरूको दुवैपट्टि ‘साँझको हावा खाने’ निहुँले जमात बनाएर बस्ने गरेको देखिन्छ । जथाभावी टिप्पणी गर्ने यी उरन्ठेउला केटाहरूका माझबाट चेलीबेटीहरूले एक्लै दोक्लै कसरी बाटो हिँड्ने ? (२०४६ जेठ १५ गते आइतबार ।)
पुछारको चिठी ।
इनरुवा नगर पञ्चायतको बस बिसौनी चोकदेखि गुदरी बजारसम्मको करिब एक किलोमिटर पिच सडकमा एक हजारभन्दा बढी ठाउँमा खाल्डाखुल्डी परेका छन् । यसलाई ‘सामान्य ज्ञान’भित्र समावेश गर्न मिल्दैन र ? (२०४६ साउन २५ गते बुधबार ।)
बाटोको सट्टा खेतमा ।
हाम्रो नगर पञ्चायतमा परेवा, कुखुरा आदिका फोहोरहरू सोहरेर सडकमा मिल्काउने चलन छ । त्यो फोहोरलाई मलको रूपमा खेतबारीमा मिल्काउने गरेमा बारीमा चाउरिएका मूला मल पाएर सप्रिन्थे कि ! (२०४६ कात्तिक १९ गते आइतबार ।)
सुविद गुरागाई, इनरुवा १÷३ सुनसरी, नाम–ठेगााना उल्लेख गरी गोरखापत्र दैनिकमा सम्पादकलाई चिठी छापिएका केही विवरणहरू तिथि–मितिसहित सुनाएँ तपाईलाई ।
अब तपाई नै भन्नुस् – २८ वर्षअघि इनरुवाको जे सोच र व्यवहार थियो, जे समस्यासँग इनरुवा जुझिरहेको थियो, त्यसमा आज कति परिवर्तन आएको छ ? कति सचेतना थपिएको छ ?
२८ वर्ष भनेको त तीन दशक हो । अर्थात् तीन पुस्ता । खोलो पनि फर्किन्छ १२ वर्षमा, बाँस पनि फुल्छ । तर, हामी के गर्दैछौँ ?
साँच्चै भनुँ, न रिसाउनु नि फेरि !
हामीले योजनाबद्ध भएर बाँच्न जानेनौँ कहिल्यै । मिलेर काम गर्न र आफ्नो श्रमको मूल्य तोक्न पनि जानेनौँ । यस बिचमा आततायीहरूले मेरो दाइ–साथी शम्भू घिमिरेलाई घरबाट थुतेर लगेर मारेर नहरछेउको बकाइनाको रुखमा झुन्ड्याइदिए । अहँ ! हामीले अनुसन्धान पूरा गरेनौँ त्यसको । बुहारीहरू मारिए र बाँसका बोटमा झुन्ड्याइए । अहँ, हामीले यसलाई पनि गम्भीरतापूर्वक लिएनौँ । ‘हत्या प्रमाणित हुन सकेन,’ शीर्षकमा मैले समाचार लेखेँ । समाजले सुनेको नसुन्यै ग¥यो । सीता सदालगायत चेलीहरूको बलात्कार भयो । बलात्कारी को–को थिए ? अझै थाहा हुन सकेको छैन । अपराध प्रमाणित गर्नुपर्ने कति फाइल र प्रमाणहरू मुसाले खाए । कतिमा धमिरा लागे । कति धूलोमा पुरिए । बचे–खुचेका केही भुइँचालोमा परे ।
जिल्लाकै इतिहास बनेको सुनसरी प्राविको हत्या भयो । हामी रमिते भयौँ । हेर्दाहेर्दै ध्रुव बस्नेत, जगदीश सापकोटा, विनोद चौलागाई जस्ता युवा असामान्य स्थितिमा पुगे । हामी हेरी नै रह्यौँ । हेर्दा–हेर्दै सुनसरी खोला विषाक्त भयो, हामी केही बोलेनौँ । धान फल्ने खेतमा घर उम्रिए, हामी खुसी भयौँ । सँगै खेल्दै हुर्केका नानीहरूका दिमागमा तँ मधेसी, तँ पहाडी भनेर झगडाको बीउ रोपिदियौँ र दङ्ग प¥यौँ ।
बाँकी, आधा समय मच्छर मारेर र आधा समय खुला ठाउँमा दिशा–पिसाब गरेर बितायौँ हामीले !
०००
bisnuprasad.bg@gmail.com


फन्टुस फिक्सनको उद्घाटन
– सुविद गुरागाई

सुरुमै कथा भन्दिनँ ।
सुरुमा कविता पनि भन्दिनँ ।
सुरुमा गजल पनि सुनाउँदिनँ ।
जबसम्म कथाले माग्दैन, तबसम्म यी काम गर्नुको कुनै मजा छैन । सुरुमै सबैथोक भनिहालें भने, निश्चित रूपमा उप्रान्त बाँकी म जे भन्न खोज्दैछु, त्यो सुनाउनु र नसुनाउनुको कुनै अर्थ रहँदैन । त्यसो त सुरुमै म केमा सहमत छु भने, पछि तपाई पनि सहमत हुनुहोला, एउटा लामो कथावाचकले कम से कम त्यति धैर्य चाहिँ देखाउनै पर्छ । श्रोता पनि त्यहीस्तरको र त्यति नै समयवाला भेटिनु पर्छ । नत्र त लेख्नेले लेख्ने हो, नपढ्नेले नपढिदिइसकेपछि सक्किगो नि ! हेर्ने कोही नभएको ठाउँमा एक्लै सेल्फी खिचेर रमाउनु के रमाउनु ? मजा त तब आउँछ कि देख्नेले किकर लेखोस्, सेल्फीको बिन्दास दिवाना÷दिवानी !
तर, यो सबै मैले भन्दै आएको कुरा हो । यसमा नयाँ, नवीन, नूतन केही छैन । त्यति हो कतिले सुन्नु भएको होला, कतिले सुन्न पाउनुभएको छैन होला । यदि आजसम्मको जिन्दगीमा तपाईले मलाई कुनै दिन कहीं–कतै कुनै मोडमा तपाईको जिन्दगीको आधा घन्टाभन्दा बढी समय दिनुभएको रहेछ भने तपाईलाई फन्टुस फिक्सनका बारेमा पक्कै पनि केही न केही थाहा छ । किनकि इमानदारीपूर्वक जतिबेला तपाईसँग मैले यसको चर्चा गरेको छु, यसको एउटा पात्र तपाई पनि हो भनेर पक्कै भनेको हुँला ।
यति भनिसकेपछि यसभन्दा उताका बाँकी कुराहरू पढ्नुस् म भन्दिनँ । मेरो साथी स्वागत नेपालले भने जस्तो प्लिज नपढ्नुस् ! पनि भन्दिनँ । किनकि सुरुमा त्यो आलेखको शीर्षक नपढ्नुस् मात्रै थियो । अगाडि प्लिज थपेर सम्पादन गर्ने र छाप्न लगाउने मान्छे मै हुँ । विचरालाई हजार रुपैयाँ पारिश्रमिक दिउँला भनेर त्यो लेख्न लगाएको थिएँ । पछि पाँच सय रुपैयाँमा आउनुप¥यो । तैपनि आफ्नो खल्तीबाट हाल्नुपर्ने भो । दिएको छुइनँ । दिन्छु कुनै दिन ।
फन्टुस फिक्सनको उद्घाटन यसरी गरुँला वा होला भन्ने लागेको थिएन । केदार दाइलाई, महेन्द्र विष्टलाई, अकिञ्चन खतिवडा, साम्ब ढकाल, स्वागत नेपाल, कृष्ण सर्वहारी, धिरज भट्टराई र तपाईलाई सुनाउँदा अनि मनमनै कल्पना गर्दा अर्कै कुरा भनेको थिएँ मैले । सम्झना छ ? छैन भने पनि केही छैन । तपाईको सजिलोका लागि अलिकति रिक्याप गरुँ म ।
खासमा त्यसको स्टार्टिङमा के थियो भने, यो कथानकको मूल नायक म आफैं हुन्छु । म जस्ता अरू पनि होलान् धेरै । तर, यहाँ चाहिँ मै मात्र हुँ । प्रारम्भकी नायिका हुन्छिन्, सुवानी । वास्तविक जिन्दगीमा म सुवानीलाई तपाई नै भन्छु । तपाई मात्र किन, अझ दिदी नै भन्छु । आवश्यक प¥यो र तपाईलाई सुन्न इच्छा भयो भने पछि उनको वास्तविक नाम पनि भनुलाँ । तर, यो सिनमा चाहिँ मैले तिमी नै भन्नुपर्छ । अब उपन्यासकै नायिका सोचिसकेपछि त्यसमा अलिअलि फिक्सन त हुनै प¥यो नि ! नत्र न भन्नेलाई मजा आउँछ, न सुन्नेलाई मजा आउँछ, न जसका बारेमा भनिएको हो उसलाई नै मजा आउँछ ।
हामी एउटै गाडीमा बसेर चतरा जाँदै हुन्छौं । उनकै गाडीमा । ड्राइभर छ एउटा, त्यसको नाम अहिले बिर्सिएँ । कोही मत्थु थियो जस्तो लाग्छ । तर, त्यतिखेर उसले खाएको थिएन । हामीतिर ध्यान दिएको पनि थिएन । कि दिएको थियो, थाहा छैन ।
हामी पछाडिको सिटमा बसेका थियौं । अब एउटै सिटमा बसेपछि बेलाबेलामा गाडी हल्ँिलदा यसो हल्काफुल्का टच त भइहाल्छ । म बिहे गरेको केटा उनी अहिलेसम्म बिहे नगरेकी केटी । म बिहे गरेको केटा मात्र होइन, खाइखेली गरेको पत्रकार भन्दा पनि हुन्छ । तर, त्यस्तो केही भल्गर होइन ।
ड्राइभर आफ्नै सुरमा खड्याङ–खुडुङमा धूलो उडाउँदै गाडी हाँक्दै थियो । गाडीको नम्बर र ब्रान्ड चाहिँ भन्दिनँ । फ्याट्ट तपाईले उनलाई चिन्नुभयो भने सिचुएसन अर्कै हुन सक्छ ।
हामी बुढेसकालमा डेटिङमा जाँदैछौं । बुढेसकाल नै भनौं, जीवनको आधा उमेर बाँचिसकेपछिको कुरा हो यो । यहाँनेर अलिकति फिक्सन छ । तर, के फिक्सन छ, त्यो भन्दिनँ । आफैं पत्ता लगाउनुहोला ।
जाँदाजाँदै बयरवनदेखि अलिकति पूर्व त्यो खहरेले बगाको गेगर थुप्रेको, अलि सुनसान, अलि जङ्गल–जङ्गल परेको ठाउँ छ । त्यहाँ पुगेपछि मैले सोधेँ ।
‘सुवानी ! एउटा कुरा सोधुँ ?’
‘के कुरा ? सोध न ! सोध्नलाई पनि अनुमति लिनु पर्छ र ?’
‘होइन, तिमी रिसाउँछ्यौ कि भनेर । अप्ठेरो मान्छ्यौ कि भनेर ।’
‘किन रिसाउने ? तिमी पत्रकार मान्छे, सोध्न मिल्ने नै कुरा सोध्छौ होला नि !’
‘तिमीले अहिलेसम्म बिहे किन नगरेको ?’
‘ए, यति जाबो कुरा ! मन लागेन त्यसैले । सिम्पल छ एन्सर ।’
पत्रकारजीलाई यति उत्तरले मात्र चित्त कहाँ बुझ्थो र ! मलाई थाहा छ उनले आफूले बिहे नगर्नुका कारणहरू केके भनिन् । तर, यतिबेला तपाईलाई म फन्टुस फिक्सनको उद्घाटनको सिन सम्झाउँदै छु ।
अलिकति पश्चिम लागेपछि फेरि त्यस्तै अलिकति सुनसान ठाउँ आयो ।
‘ल, ठिक छ, त्यसो भा एउटा अर्को कुरा सोधुँ ?’
‘तिमीले सोध्न खोजेको कुरा, जान्न चाहेको कुरा के हो थाहा छैन । तर, तिम्रो यो प्रश्न सोध्ने स्टायल चाहिँ मन प¥यो है ।’
‘धन्यवाद ! सङ्गत कसको छ थाहा छैन ? खरबुजेको देखकर खरबुजा रङ बदलता है ।’
‘कोइसन भन न कोइसन, सायरी होइन ।’
‘भन्दै छु त !’
‘सुन्दै छु नि म पनि !’
‘साँच्चै सोधुँ होइन त ?’
‘सोध न बाबा !’
‘साँच्चै ?’
‘साँच्चै !’
म कलेजको जमानामै यसो केटीहरूको अनुहार हेरेर आज तिम्रो मिन्स भाको छ हो भनेर सोध्ने मान्छे । सुवानीसँग त के लजाउनु थियो र ? त्यो मिन्सको कुरा चाहिँ कसलाई सोधिस् नि भन्नुहोला फेरि । एउटा ठुलै सेलिब्रिटीकी छोरीलाई सोधेको थिएँ मैले । इनरुवामा भगवती स्कुलको फिल्डमा पिपलको छाहरीमा बसेका बेला सोधेको थिएँ उनलाई । उनको नाम तपाईलाई थाहा पाउने इच्छा छ भने पछि त्यो पनि भनुँला । अहिले चाहिँ त्यही दिनको प्रश्नमा फर्किऊँ ।
‘ल, नरिसाऊ है त !’
‘हुन्छ ।’
‘तिम्रो जीउमा अहिलेसम्म कसैले हात हालेको छ कि छैन ?’
‘.... .... ....!’
‘.... .... ....!’
‘तिमी आफैं बुझ न । यसको उत्तर मैले के भन्नु ? मिलाएर बुझ्दा भैहाल्छ नि !’
अब म के बुझ्नु ? आफ्नै मनले फिक्सन गरेर के बुझ्नु ?
त्यसपछि चतरा आयो । फुल्ठेगौंडा पनि आयो । अरू कता–कता कुरा घुमे । मेरो मास्टरी जागीर, सोलुखुम्बूका स्याउ जस्ता राता गाला, उनको क्याम्पस जमाना र कालिम्पोङका हरिया सपनाहरूका कुरा भए । तर, मैले सुवानीको मुखबाट सुन्न चाहेको जवाफ आएको थिएन ।
पुल्ठेगौंडाका बारेमा अलिकति बयान गरुँ । उहिलेको कुरा सम्झिनू । सम्झिनू कि ऊ बेला त्यहाँ जङ्गलै–जङ्गल थियो । सुम्निमा सम्झिनू, पारुहाङ सम्झिनू । बिपी कोइरालाको उपन्यासका पात्र । केटा बाहुनको छोरा थियो, केटी किराती । ऊ बेला कोसी मुखबाट बाहिर आफूखुसी फैलिएर बग्थ्यो । अनेक भङ्गाला थिए । बाँध बाँधेको थिएन । नहर बनाको थिएन । बस्ती बसेको थिएन । समय अन्तरमा नहर बन्यो, बस्ती बस्यो, जङ्गल मासियो । आवश्यकता अनुसार बाँध बनाइयो, कोसी खुम्चियो ।
बेलाबेलामा कोसीलाई त्यसरी खुम्चिनुपरेको मन पर्दो रै’नछ । सप्तकोसी न हो आखिर । नेपालको सबैभन्दा ठुलो नदी । ऊ पनि के कम । काट्दै आउँछ, पूर्वतिर आसामको जङ्गलबाट आएको पाहुना मकुनाजस्तो ढल्किँदै । जति पूर्व ढल्किन्छ उति निद्रा हराउँछ, माझीगाउँको ।
काट्दा–काट्दैको पानीको धारलाई रोक्न भारतीय इन्जिनियरहरूले बनाको एउटा ढुङ्गे स्पोरमा बसेका थियौं हामी । तीन नम्बर स्पोरमा । पानी बटारिएर, हान्निएर आउँथ्यो चतरातिरबाट र गुन्गुनाउँदै जान्थ्यो कोसीटप्पुतिर । बीच–बीचमा हामी बसेको ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर जालीमा भरिएको स्पोरमा ठोक्न्थ्यिो । त्यहीबेला सररर्र उडेको पानीको वाफलाई घरी एउटा हल्केलामा समातेर, घरी खुट्टा चुम्न लगाएर सुवानी रमाएको म एकोहोरो हेरिरहेको थिएँ ।
म पश्चिमतिर सुवानी पूर्वतिर लगभग टाँसिएर बसेका छौं । गाडी र ड्राइभर निकै माथि छन् डिलमा । पर एका–दुई गाउँले र जालीमा ढुङ्गा भर्न खटाइएका कामदारहरू देखिँदै थिए ।
सुवानी मलाई मनपर्ने नाम हो, उनको बाबाले राखेको । अरूतिर सानले देखाउँदै यो छोरी मेरी सुवानी छे भन्नुहुन्थ्यो रे ! सबैले सुवानी सुवानी भन्दाभन्दै उनलाई पनि प्रिय लाग्न थालेछ । तर, उनको अफिसियल नाम अर्कै छ ।
म चाहिँ सुवानी नै भन्छु ।
कुरै–कुरामा मैले त्यही कुरा कोट्याएँ ।
‘सुवानी ! तिमीले अघि मेरो प्रश्नको उत्तर दिइनौ नि !’
‘कुन प्रश्न ?’
‘त्यही हातवाला ।’
‘भने नि मिलाएर बुझ ।’
‘त्यसो भए म पनि अलिकति हात मिलाऊँ त ?’
‘ए ए ए, के गरेको यस्तो, अहिले प्याट्ट एक थप्पड हान्छु अनि !’
कसम भन्छु, मैले हात हाल्नलाई होइन, उनको देब्रे हात छुनलाई हात बढाएको थिएँ । तर, हुने दिन–दशा सुरुमै कसलाई थाहा हुन्छ र ! उनले मलाई हिर्काउन खोजेजस्तो गरेर मोबाइल बोकेको दाहिने हात मेरो गालातिर ल्याइन् । म पनि त्यही न हो । अलिकति जिस्किने मुडमा यसो अलिकति पश्चिम ढल्केको फुत्रुङ्ग पानीमा झरी  त हालेँ ।
यहाँसम्मको कथानक मैले तपाईलाई भनेको छु । त्यसपछि बाँकी के भयो भन्न बाँकी छ ।
०००
bisnuprasad.bg@gmail.com
पुनरागमनको प्रसव–पीडा
– सुविद गुरागाई

‘हेल्लो ! के छ सुविद ? आरामै छौ ?’
‘ठिकै छ । राम्रै छु ।’
‘हाम्रा बारेमा लेख लेख्दै छौ रे हो ?’
‘हो त ।’
‘ठिक छ, लेख लेख ।’
‘कसैले पनि तपाईको इच्छा नभइकन तपाईलाई हीनताबोध गराउन सक्तैन,’ एलिनोर रुजबेल्टको यो भनाइ म बेला–बेलामा सम्झिरहेको हुन्छु । तपाई पनि सोच यस्तो राख्नुहोस्, जुन थाहा पाएर दुनियाँले गर्व गरोस् । र, भनोस् – हो, यस्तो राम्रो सोच भएको मान्छेलाई म चिन्छु । मलाई उसका बारेमा थाहा छ । जिन्दगीमा तपाई व्यवहार यस्तो गर्नुहोस् कि दुनियाँले भनोस्, आहा ! कस्तो राम्रो व्यवहार भएको मान्छे !
मान्छेले सडक सफा गर्दा यसरी गर्नुपर्छ, जसरी माइकल एन्जेलोले चित्र बनाउँछन्, बेथोविनले सङ्गीत रचना गर्छन् र शेक्सपियरले कविता लेख्छन्, ताकि मान्छेले भनुन््– हो यहाँ सडक सफा गर्न जान्ने मान्छे बस्छ ।  मार्टिन लुथर किङ जुनियर ।
अभिनेत्री रेखालाई एकपटक पत्रकारले सोधे – ‘रेखाजी ! तपाई यदि अभिनयको क्षेत्रमा नआएर कुनै अर्को क्षेत्रमा जानुभएको भए, तपाईलाई लाग्छ, तपाईसँग अहिले भए जत्तिकै नाम र दाम हुने थियो ?’
रेखाले भनिन्, ‘पत्रकारजी, यदि म यो अभिनयको क्षेत्रमा नआएको भए र मानौँ म कुनै रेल्वे प्लेटफर्ममा चिया पसल चलाउने महिला भएको भए पनि कम से कम म यति चाहिँ बनाउँथे कि वल्लै स्टेसनमा चिया खान मन लागेको मान्छेलाई, त्यहाँ पल्लो स्टेसनमा रेखाको पसल छ, चिया खान त त्यहीँ जानुपर्छ भन्ने बनाउँथेँ । रेखाको यो जवाफको अन्तर्यमा के छ ? दिल । यदि तपाई आफ्नो काममा दिल पनि मिसाउनुहुन्छ भने त्यो पक्कै पनि अरूलाई मन पर्नेछ । लेख्न त सबैले लेख्छन् । तर, तपाईले लेखाइमा अलिकति दिल पनि मिसाउनुभयो भने त्यसले मान्छेलाई छोइहाल्छ । गमलामा फूल धेरैले रोप्छन् । तर, तपाईले गमलालाई अलिकति सजाउनु भएको छ भने मान्छेले तपाईको प्रशंसा गरिहाल्छन् । हाम्रासामु हजारौँ त्यस्ता अवसरहरू छन्, जसमा हामी आफ्ना तर्फबाट थोरै भए पनि योगदान मिसाउन सक्छौँ ।
बजारमा हजार भन्ने उखान छ । चिया बनाउने, मम बनाउने, समोसा बेच्ने धेरै पसलहरू हुन्छन् तर तपाईलाई कुनै निश्चित पसलमा मात्र फेरि–फेरि जान मन लाग्छ । किन ? यसको अन्तर्यमा अरू कुनै कुरा छैन । गुणस्तर र मोलको पनि कुरा होइन । तपाई त्यो पसलमा यसकारण पटक–पटक जानुहुन्छ कि तपाईले त्यहाँ आफूले चाहे जस्तो वातावरण पाउनुहुन्छ । तपाई कोही व्यक्तिसँग यसकारण ट्युसन पढ्नुहुन्छ, तालिम लिनुहुन्छ कि तपाईको हृदयले त्यो व्यक्ति तपाईलाई तालिम दिन, सिकाउन योग्य छ भन्ने ठान्छ । त्यसका लागि तपाईको इच्छा हुन्छ । अरूले कसरी सोच्छन् मलाई थाहा छैन । तर, तपाईका लागि सूर्य किन उदाउँछ भने त्यो सूर्य उदाओस् भन्ने तपाईले चाहनुभएको छ । म यतिबेला यी कुराहरू किन भनिरहेको छु भने कसैले यी कुराहरू भनुन् भन्ने यतिबेला तपाई चाहिरहनुभएको छ ।
त्यसैले यस्ता एक से एक उदाहरणहरू म भन्दै जान्छु । तपाई सुन्दै जानुहोला । यी कुराहरू मैले आफ्नो ब्लगमा पनि राखेको हुन्छु । त्यहाँ तपाईले पढ्न सक्नुहुन्छ । इटहरीबाट प्रकासित हुने ‘पूर्वी बजार’ दैनिकमा पनि ‘फन्टुस फिक्सन’ स्तम्भका रूपमा छापिँदै हुन्छन् । मेरो ब्लगमा जानुभयो भने मेरा लेखहरू जति मन लाग्छ, त्यति पढ्न सक्नुहुन्छ । गुगल सर्चमा गएर अङ्ग्रेजीमा फन्टुस फिक्सन टाइप गर्नुहोस् । महाप्रभा एमए एचए पिआरए भिए डट ब्लगस्पोट डट कममा लग इन गर्नुसक्नुहुन्छ । कृपया मलाई फलो गर्दै गर्नुहोला ।
यो सानो जानकारीपछि म कुरा गर्न चाहन्छु, सोचको । तपाईले चाहनुभयो कसैले तपाईको अपमान नगरोस् । तपाईलाई कसैले अपमान गर्नसक्दैन । तपाईले चाहनुभयो तपाईलाई कसैले गाली नगरोस् । तपाईलाई कसैले गाली गर्न सक्दैन । तपाईले चिताउनुभयो भने त्यो पुग्छ । तँ चिता म पु¥याउँछु भन्छ रे ईश्वरले पनि । मानौँ तपाईले चाहनुभयो मैले कसैलाई बचाउनु छ । तपाई कसैगरी भए पनि त्यसलाई बचाउनुुहन्छ । अनि तपाईले चिताउनुभयो मैले कसैलाई मार्नु छ । त्यो मर्छ । कसैले त्यसलाई बचाउन सक्तैन । यही सोचको परिणाम हो गान्धी । त्यत्रा गोराहरूले मार्न नसकेका मोहनदास करमचन्दलाई गोड्सेले मारिदियो । गान्धी बनाइदियो । त्यही सोचको परिणाम हो जिसस । त्यही सोचको परिणाम हो विन लादेन । अल्लाहको जे मर्जी हुन्छ, त्यही हुन्छ । यदि अल्लाहले चाहिरहेको छ, तपाईलाई कसैले ज्ञानका कुरा सिकाओस् । उसले सिकाउँछ । त्यस्तो बेलामा तपाईले सोच्नुपर्ने हुन्छ, धर्म र इमानको पालनामा कतै तपाईबाट कुनै भूल भयो कि ! यदि अल्लाहलाई त्यस्तो लागिरहेको छ भने उसले तपाईलाई कुनै न कुनै माध्यमबाट आफ्नो सन्देश तपाईसम्म पु¥याउँछ । हिन्दू धर्ममा पनि यस्तै मान्यता रहेको छ । आज हाम्रो माटोमा जे भइरहेको छ, यो पृथ्वीमा जे भइरहेको छ, त्यो सबै शिवको लीला हो । निर्देशक हो शिव । मन लागे नचाउँछ, मन लागे हँसाउँछ । मन लागे बचाउँछ । मन लागे संहार गर्छ । के मन लाग्छ त्यही गर्छ । हामी त निमित्त नायक मात्रै हौँ, अरूले चाहे अनुसारको भूमिका गर्ने । बुझ्नु न कठपुतली जस्तो । धागो अर्कैको हातमा छ, यता हामी नाचिरहेका छौँ । बजारमा रामलीला, अल्लाह रुदलको नाच चलिरहेको छ । हामी हेरिरहेका छौँ ।
हुन त दुनियाँमा असम्भव केही छैन । हामीले कसैलाई मार्न जति सम्भव छ, उसैगरी कसैले आफूलाई बचाउनु पनि उत्तिकै सम्भव छ । गान्धीलाई लाग्यो अब मैले जति गर्नु थियो गरिसकेँ । अब म हुनु नहुनुले मान्छेलाई केही फरक पर्दैन । त्यसपछि गान्धीले आफूलाई यस्तो ठाउँमा लगे, जहाँ उनको भेट उनका हत्यारासँग सजिलै हुनसक्थ्यो । गान्धीको मृत्यु इच्छित थियो । यही सेरोफेरोमा विकसित भएको थियो । समय सापेक्ष थियो ।
तपाईको रूपान्तर पनि सम्भव छ । मेरो रूपान्तर पनि अपेक्षित छ ।
०००
यही प्रसङ्गमा आज म तपाईलाई बङ्गालको धुनियाँको एउटा सानो कथा सुनाउँछु । धुनियाँलाई तपाईले देख्नु भएको होला । धुनियाँका बारेमा सुन्नु भएको होला । यो प्रसङ्ग हो, कोलकाताको । मध्य सहरको एउटा गल्लीमा एक दिन एउटा धुनियाँ घुम्दै थियो । ए, सिरक बनाउने, डस्ना बनाउने ! भन्दै, जाँदै गर्दा कसैले उसलाई पसलतिरबाट बोलायो, ‘ए, सिरकवाला भाइ, यता सुन ।’
‘हजुर मालिक !’
‘यतापछाडि आँगनतिर जाऊ, एउटा सिरक बनाउनु छ । मुनिमजीलाई भेट ।’
‘हजुर, हस् मालिक !’
त्यसपछि धुनियाँ पसलछेउको गेटबाट छिरेर आँगनतिर गयो र मुनिमजी कता होलान् भनेर यताउता हेर्न थाल्यो । मुनिमजीले उसलाई देख्नेबित्तिकै कसलाई खोजेको, के हेरेको भने । उसले आफूलाई मालिकले भित्र पठाएको, सिरक बनाउन आदेश पाएको र त्यसका लागि रुवा चाहिएको कुरा बतायो । मुनिमजीले उसलाई आँगनभन्दा उत्तर गोदाम भएको क्षेत्रतिर लगे । धेरै वटा गोदाममध्ये रुवाको गोदामको सटर उघारे । जब गोदामको सटर उघारियो, तब त्यहाँ भित्रको दृश्य देखेर धुनियाँ ट्वाल्ल प¥यो । त्यहाँ गोदामको आधाभन्दा बढी भागमा रुवाको बोरा चाङ मिलाएर राखिएको थियो । धुनियाँ टोलाएर हेरिरहेको देखेर मुनिमले ‘के हेरिरहेको ?’ भनेर सोधे । धुनियाँले ‘केही होइन’ भन्यो ।
त्यसपछि मुनिमले एउटा मुख खोलिएको एउटा बोराबाट चाहिए जति रुवा निकाल्न भने । धुनियाँले त्यसै ग¥यो । र, बाहिर रुखको छाहारीमा बसेर रुवा चुट्न थाल्यो । अरू दिन भए त्यो धुनियाँले एउटा सिरक तयार गर्न चाहिने रुवा चुट्न आधा घण्टाभन्दा बढी समय लगाउँदैनथ्यो । तर, त्यो उसले मरेर दुई घण्टामा रुवा तयार ग¥यो । रुवा पल्लामा हालेर सिउने बेलामा पनि सियोले तीन–चार पटक हात घोच्यो । यस्तो कहिले भएको थिएन । खासमा उसको मन सिरक बनाउने काममा लागिरहेको थिएन । जसोतसो सिरक बनायो । बुझायो । मुनिमले कति पैसा भनेर सोधे । उसले जति मन लाग्छ, मिलाएर दिनु भन्यो । अरू दिन ज्याला पनि तोकेरै माग्थ्यो ।
मुनिमले पैसा दिए, उसले थपक्क राख्यो ।
घर गयो, सिधै ओछ्यानमा गएर डङ्ग्रङ्ग लड्यो । स्वास्नी छक्क परी । सधैँ कामबाट फर्केपछि पहिले धारामा गएर खुट्टा धोएर मात्रै कोठामा पस्थ्यो ।
‘होइन, के भयो तपाईलाई ? सञ्चो छैन कि क्या हो ?’ स्वास्नीले सोधी ।
‘होइन, केही भएको छैन,’ उसले यति मात्रै बोल्यो र कोल्टे फर्कियो ।
‘अनि आज त जुत्ता पनि नखोली ओछ्यानमा सुत्नु भा’छ त ?’
‘ए !’ भन्यो र धुनियाँले जुत्ता फुकालेर ढोकाबाहिर राख्यो । फेरि ओछ्यानमा आएर डङ्ग्रङ्ग लड्यो । साँझ खाना खान बोलाउँदा पनि ‘तिमीहरू खाओ, म अलिपछि खान्छु’ भन्यो । जति बोलाउँदा पनि खान नआएपछि स्वास्नीले कोठामै खाना लगिदिई । उसले केही खायो, केही जुठो पारेर छोडिदियो ।
हुँदा–हुँदै ऊ बिरामी प¥यो । आफन्तहरू भेला भए । उपचारको सिलसिला सुरु भयो । कहिले यो अस्पताल, कहिले त्यो अस्पताल । कहिले यो झाँक्री, कहिले त्यो झाँक्री । कहिले यो औषधी, कहिले त्यो औषधी । अनेक खालका प्रयोग र प्रयास हुन थाले । त्यस्तैमा एक दिन कसैले उसलाई मनोचिकित्सक कहाँ लैजाने सल्लाह दिए । धुनियाँलाई मनोचिकित्सक कहाँ लगियो । मनोचिकित्सकले कहिलेदेखि यस्तो भएको हो भन्ने तिथिमिति बुझे । उनी त्यो कुन एरियामा काम गर्न गएका थिए भनेर साथी–सङ्गतिहरूलाई सोधे ।
उपचार चलिरहेको थियो । त्यस्तैमा एकदिन बिहान रनिङका क्रममा डाक्टरले त्यहाँको लोकप्रिय पत्रिका ‘अमर–उजाला’ पनि सँगै ल्याए । अनि उसको रिपोर्ट हेरे जस्तो गरेर नर्सलाई सोधे –
‘नर्स तिमीले आजको अमर–उजाला पत्रिका पढ्यौ ?’
‘अहँ ! पढेकी छुइनँ । किन डाक्टर साब ?’
‘खास केही होइन । तिमीले त्यो चम्पालाल मारवाडीको समाचार सुन्यौ कि भनेर ।’
जब डाक्टरले चम्पालाल मारवाडीको नाम लिए, धुनियाँले कान ठाडा–ठाडा पा¥यो । धुनियाँमा डाक्टरका कुराको प्रभाव प¥यो । तर, डाक्टरले केही थाहा नपाए जस्तो गरी पूर्ववतः नर्ससँगको कुराकानी जारी राखे –
‘त्यो मारवाडीको दस वटा रुवाका गोदाम थिए नि त्यो थाहा छ तिमीलाई ?’
‘थाहा छ डाक्टर सा’ब ! तर के भयो ? किन सोध्नु भा’को ?’
‘आज राति ती गोदामहरूमा आगो लागेछ । दमकलहरूले पनि निभाउन सकेनछन् !’
जब रुवाका गोदामहरूमा आगो लागेको कुरा कानमा प¥यो, लमतन्न परेर बेडमा सुतिरहेको धुनियाँ टुक्रुक्क परेर बस्यो ।
‘किन के भयो तपाईलाई ?’ डाक्टरले सोधे – ‘किन उठेर बस्नुभएको ?’
‘त्यो चम्पालाल मारवाडीको गोदाममा आगो लागेको कुरा साँचो हो डाक्टर सा’ब ?’
‘हो त । आजको अमर–उजालाको फस्ट पेजमै त्यो खबर छापिएको छ,’ डाक्टरले भने ।
रुवा गोदाममा आगो लागेको निश्चित भएपछि धुनियाँको मुहारमा खुसीको छाया देखियो ।
‘साह्रै राम्रो भयो,’ धुनियाँले मनको कुरा भन्यो, ‘म सोचिरहेको थिएँ, त्यहाँ भएका सबै बोराका रुवाको सिरक बनाउन मलाई कति वर्ष लाग्छ होला । मेरा साथी–भाइ सबै मिले भने पनि सकिँदैन होला । मेरा छोरा–नातिको पालामा पनि त्यो सकिँदैन होला । फेरि अचेल हाम्रा छोराछोरी हामीले गरे जस्तो काम गर्न उति मन गर्दैनन् ! ती गोदामका रुवा कहिले सकिन्छ होला ?’
त्यसपछि धुनियाँ ठिक भयो । कहिलेकाहीँ सोच्छु, मेरो नियति पनि त्यही धुनियाँको जस्तो छ । यता जान्छु यतै नमिलेको देख्छु । उता जान्छु उतै नमिलेको देख्छु । यसका कुरा सुन्यो, यसले नै कुरा नबुझेको जस्तो लाग्छ । उसका कुरा सुन्यो, उसले पनि कुरा नबुझेको जस्तो लाग्छ ।
यस्तो बेलामा म इनरुवा पुनरागमनको गर्भ–पीडा भोगिरहेको छु । छट्पटि बेहोरिरहेको छु ।
मलाई इनरुवामा पत्रकारिता गर्ने शैलीमा थोरै परिवर्तन गर्नु छ । किनकि यो मेरो ठाउँ हो । यहाँ पत्रकारिताको माध्यमबाट सकारात्मकताको मात्रा बढाउनु छ । नगरवासीको सोच्ने तरिकालाई परिवर्तन गर्नु छ । मेरो माटोमा भइरहेका गलत अभ्यासहरूलाई रोक्नु छ । पत्रकार मात्र होइन, सरोकारवाला सबैलाई जनताप्रति जवाफदेही बनाउनु छ । जनताका मनमा के–कस्ता प्रश्न छन्, ती सबैको सार्वजनिक रूपमा जवाफ माग्न–दिनसक्ने हैसियत उमार्नु छ । इनरुवामा कुनै पनि प्रश्न बाँकी हुनुहुँदैन । कुनै पनि प्रश्न सधैँ जवाफविहीन रहिरहन पाउँदैन ।
यसमा म आफ्ना तर्फबाट जति सक्छु, योगदान मिसाउँछु । किनकि यहाँको सोच्ने तरिका बदल्नु छ । कुनै पनि कुरालाई म कसरी लिन्छु र अरू कसरी लिन्छन् ? दुनियाँलाई बताउनु छ ।
०००
अब अलिकति माथिको संवाद–सन्दर्भको कुरा गरौँ ।
केही दिनअघि मलाई एउटा खास नम्बरबाट फोन आएको थियो । फोन गर्नेको आवाज ठ्याक्कै मेरो साथी किरण पोखरेलको जस्तो थियो । तर, किरण पोखरेलको नम्बर मेरो मोबाइलमा सेभ छ । म छक्क परेँ । किरण पोखरेलको आवाज नक्कल गरेर मलाई फोन गर्ने को हो त्यो ? म पत्ता लगाउन खोजिरहेको छु त्यो कलाकार जो दुरुस्त किरण पोखरेलको जस्तो आवाज बनाएर मान्छेहरूलाई फोन गर्दो रहेछ । यो विषयमा एउटा घच्चीको खोजी रिपोर्टिङ तयार गर्नु छ ।
०००
bisnupresad.bg@gmail.com

पुरानो एउटा डायरी भेटियो

– सुविद गुरागाई

पुरानो एउटा डायरी भेटियो ।
भनिन्छ यदि साँच्चै तपाईले मन लगाएर खोज्नु भयो भने ईश्वर पनि भेटिन्छ । यो डायरी भेटिनु कुनै समाचार होइन । तर, यतिबेला कथाले मलाई तीन बजे राति उठेर त्यो डायरी खोज्न लगायो ।
खोज्दा–खोज्दै बिचमा एउटा समाचारको कटिङ पनि भेटियो, जसलाई म छ वर्षदेखि कहाँ हरायो होला भनेर सोचिरहेको थिएँ । वास्तवमा हामीले हरायो भनेर ठानिएका धेरै कुराहरू हराएका हुँदा रहेनछन् । मात्र ती केही वर्ष हाम्रा आँखाबाट ओझेलमा परेका हुँदा रहेछन् ।
कुन सड्को, कुन सड्को आज आँखामा प¥यो त्यो समाचार, जसको साइनो सुनसरीको पत्रकारिताको इतिहाससँग छ । कृष्ण अधिकारी दाइ पनि यो समाचार कटिङ भेटिएको सन्दर्भले खुसी हुनु हुने भो । साथीहरूले मलाई सुनसरीको पत्रकारिताको इतिहास लेख्नु पर्छ भनेर संयोजक बनाइदिएका छन् । तर, आज मैले इनरुवाका सडकमा रुँदै–रुँदै हिँड्नु परिरहेको छ । तथापि म यो आँसुको सेरोफेरामा मात्र घुमिरहनु पर्छ भन्ने केही छैन । जिम्मेबारी पनि छ, इनरुवाको पत्रकारिताको इतिहास लेख्ने । इनरुवाको मात्र होइन, समग्र सुनसरीको इतिहास लेख्ने । तर म यही पाराले त लेख्न सक्तिनँ होला । लेख्दा–लेख्दै रुन आइहाल्छ । रोएरै बस्नु कि लेख्नु ? डम्बर थापा दाइलाई देख्छु, कस्तो–कस्तो लाग्छ । अस्ति सोमबारे हाटमा भेटेँ । मेरो भविष्य चाहिँ त्यति सारो हुँदैन होला, कसैलाई, मलाई भेट्यो कि यसलाई सय–पचास रुपियाँ दिउँ जस्तो लाग्ने ।
एकताका म इनरुवाको जल्दोबल्दो पत्रकार थिएँ । म पत्रकार हुनुमा के–के तत्व कारक थिए थाहा छैन तर मभित्र बालखैदेखि पत्रकारिताको सेन्स चाहिँ थियो । म चित्त नबुझेको कुरा भनिहाल्थेँ । कुनै साथीको कोठामा पस्यो भने त्यो कोठा कति मिलाएको छ भनेर हेर्थेँ र यदि मिलेन जस्तो लाग्यो भने आफैँ मिलाइदिन थाल्थेँ । गाउँमा केटाको बिहे होस् कि केटीको म खोजिन्थेँ । बेहुला–बेहुलीको कोठा सजाउने ठेक्का मेरै हुन्थ्यो । म गाउँमा छु भने सकियो, भनिराख्नु पर्दैनथ्यो काम आफैँ हुन्थ्यो । त्यस्तो केटा थिएँ म । प्रो–एक्टिभ ।
तिनै दिनहरूमा मैले एउटा समाचार लेखेँ । समाचार सिद्धान्ततः जानेर लेखेको होइन, समाचार जस्तै पारेर लेखेँ । नयाँ सन्देश, मातृभूमिहरू त पढिन्थ्यो नै । समाचार जगत साप्ताहिकमा पनि बेलाबेलामा लेखिरहन्थेँ । गाउँमा सिर्जनशील पुस्तकालयको अवशेष बाँकी थियो । दीयो क्लबको पनि धेर–थोर अस्तित्व थियो ।  कहिले किताब, कहिले पत्रिकाहरू हात परिरहन्थे ।
एकदिन नारायण दाइलाई सोधेँ ।
‘कहाँ जानु भएको थियो हौ तपाई ? निकै दिन हराउनु भयो त !’
नारायण नाम गरेका एक जना असइ थिए, कहिले मुद्दा फाँट, कहिले सञ्चारमा काम गर्थे । हाम्रो पसलमा खाना खान्थे । कापीमा हिसाब मैले लेख्नु पथ्र्यो । छ–सात दिनदेखि आएका थिएनन् । त्यो दिन फेरि खाना खाँदै गरेको देखेँ ।
‘झापा गा थिएँ,’ उनले भने ।
‘किन ? सरुवा भयो र ?’ मैले सोधेँ । झापामा उसका कोही आफन्त थिएनन् भन्ने मलाई थाहा थियो ।
‘होइन, झापामा एउटा मान्छे पक्रिन गा’थेँ ।’
‘को मान्छे थियो त्यो ?’
मलाई लाग्छ यो त्यही प्रश्न थियो, जसले म जस्तो बबुरोलाई पनि भुटानमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनसँग जोडिदियो ।
भएको के रहेछ भने टेकनाथ रिजाल त्यहाँ एकजना आफन्तकोमा शरण लिएर बसेका रहेछन् । पुलिसले थाहा पायो । समात्यो, लग्यो, इन्डियालाई बुझाइदियो ।
मलाई यसमा समाचार छ भन्ने लागिहाल्यो । उनले खाना खाइसकेपछि सँगसँगै पुलिस अफिस गइयो । मुद्दा फाँटमा मिसिल हेरियो, टिप्नुपर्ने कुरा टिपियो, आइयो । मलाई जिल्ला प्रहरी कार्यालयमा जान–आउन कुनै रोकटोक थिएन सानैदेखि । हतियारहरू राखिएको कोठामा पनि म जान्थे बेला–बेलामा । त्यो कोठालाई क्वाटर–गार्ड कि के भन्थे । पुलिसहरू बन्दुक निकाल्थे, पछाडि घाममा बसेर बन्दुकमा तेल लाउँथे, नाल साफ गर्थे । कोही बुट टल्काइरहेका हुन्थे । म पनि बन्दुक ल्याउन, लगेर भित्र स्टेन्डमा मिलाएर राख्न सघाउँथेँ । यो प्रसङ्गमा अहिले यति नै भनुँ । अहिले चाहिँ त्यही पुरानो समाचारवाला प्रसङ्गमा फर्किऊँ ।
विवरण टिपेपछि समाचार लेखेँ । सुरुमा शीर्षक लेखेँ । सिद्धान्ततः पहिले समाचार लेख्ने हो, अनि शीर्षक राख्ने हो । खासमा शीर्षक राख्ने काम रिपोर्टरको होइन । सम्पादकको हो । तर, म चाहिँ यो मामलामा पनि अलि अल्टर नै भएँ । अझै सुरुमा शीर्षक लेख्छु, अनि समाचार लेख्छु । त्यो बेग्लै कुरा हो कि समाचार लेखिसक्दा सुरुमा लेखेको शीर्षक चित्त बुझेन भने अर्को राख्ने हो । तर, त्यस्तो दुर्लभ घटना खासै भएको छैन । सुरुमा शीर्षक लेख्नु र त्यही शीर्षकको सेरोफेरोमा शब्दहरूको मियो घुमाउनुको मजा बेग्लै छ ।
०००
विर्तामोडमा भुटानी नेपाली पक्राउ ।
मैले त्यो बेला लेखेको समाचारको शीर्षक । डेटलाइन इटहरी । समाचारको सुरुमा लेखिने ठाउँको नामलाई डेटलाइन भन्छन् भन्ने थाहा थिएन त्यो बेला । झापा जिल्लाको विर्तामोड, गरामनी बस्ने गङ्गा दाहालका घरबाट यही मङ्सिर १ गते रातको १ बजेको समयमा प्रहरीको एक डफ्फा घरभित्र प्रवेश गरी भुटानी सरकारमा सल्लाहकार रहेका ४५ वर्षीय टेकनाथ रिजाललाई बिनापुर्जी पक्राउ गरेर बेपत्ता बनाएका छन् । ५६ शब्द । लिड लेख्दा वाक्य २० शब्दभन्दा बढी भयो भने झर्को लाग्छ । पढ्नेको सास फुल्छ । सुन्नेलाई पनि सुनेका शब्द बुझ्न समय चाहिन्छ, भन्ने थाहा थिएन । लिड भनेकै के हो थाहा थिएन ।
त्यो समाचारमा अरू छ वाक्य छन् ।
निजलाई के कारणले गिरफ्तार गरिएको हो सोबारे प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले केही बताउन चाहेको छैन । विश्वस्त सूत्र अनुसार भुटानको आन्तरिक मामिलामा गडबड हुँदा आफ्नो ज्यान जोगाउन भुटानबाट भागेर नेपाल पसेका निज रिजाल केहीवर्ष अघिदेखि नेपालमा निर्वासित जीवन बिताइरहेका थिए । स्थानीय पत्रकार एवम् बुद्धिजीवीहरूले यस धरपकडलाई अपहरणको संज्ञा दिएका छन् । कुनै पनि मान्छेले स्वतन्त्र बाँच्न पाउनु उसको मानव अधिकार हो । नेपालमा मानव अधिकारका कुराहरू भाषण र नारामा मात्र सीमित भएको कुरा रिजालको अपहरणले पुष्टि गरेको छ । यो समाचार लेख्तासम्म निज रिजाललाई छाडिएको छैन । निजलाई, भुटान सरकारलाई सुपुर्दगी गर्ने नगर्नेबारे थाहा हुन सकेको छैन । सप्तकोसी साप्ताहिक, वर्ष ८ अङ्क ५ । २०४६ साल मङ्सिर १५ गते बिहीबार ।
तर यो समाचार मैले लेखेको पहिलो समाचार होइन । पहिलो समाचारको शीर्षक त ‘नेपाल, भारत सिमानामा हत्या’ भन्ने थियो, जुन गुरागाई ‘दलित’ बाइलाइनमा छापिएको थियो । इनरुवाबाट प्रकाशित हुने  समाचार जगत साप्ताहिक, वर्ष ५ अङ्क १३ । २०४४ साल मङ्सिर १३ गते आइतबार । यो समाचारको भाषा र अरू समाचार प्रसङ्गहरू तपाईलाई सुन्ने इच्छा भए म भन्दै जानेछु । कृपया पछि भन्नु होला, अहिले कुनै कागजमा टिपिराख्नुस् । अहिले चाहिँ त्यही टेकनाथ रिजालवाला समाचारको कुरा गरौँ ।
दोस्रो वाक्य ठिकठिकै छ । तेस्रो वाक्य चौबिस शब्द । त्यो विश्वस्त सूत्र भनेको चाहिँ त्यही नारायण दाइ हो । भुटान मामलामा आन्तरिक गडबडी छ भन्ने कुरा त्यही बेला हामीलाई थाहा थियो । नेपालीलाई त्यो घाउ आजसम्म पनि टन्किरहेकै छ । चौथो वाक्यमा भनिए जस्तो त्यो बेलाका पत्रकार र बुद्दिजीवीहरू हामी नै हौँ । काठमाडौँतिरबाट आएका पत्रिकामा त्यस्तै वाक्य लेखिएको हुन्थ्यो, मैले पनि त्यही लेखिदिएँ । ‘कुनै पनि मान्छेले स्वतन्त्र बाँच्न पाउनु उसको मानव अधिकार हो,’ भन्ने वाक्यमा चाहिँ विचारको मात्रा बढी छ । यस्ता विचारहरू कलात्मक शब्दमा कुनै पनि समाचारभित्र कसरी घुसाउने सिकिएकै थिएन त्यो बेला । अथवा यसो भनौँ – समाचारमा विचार लेख्नु हुन्छ वा हुँदैन भन्ने बहस मेरो कानसम्म आइपुगेको थिएन । पाँचौ वाक्य डेली पेपरवालाहरूले त्यति मन नपराउने तर साप्ताहिक, ट्याबलाइटवालाहरूले पटक–पटक कपि–पेस्ट गरेर हैरान लगाउने खालको छ ।
अनि, त्यो समाचार वाइलाइनमा लेख्न सकिने कुरै थिएन । कसले यस्तो सूचना लिक ग¥यो भन्ने बाहिर थाहा भयो भने त कुरा सिद्धियो । त्यसैले लुसुक्क लेखेर, इटहरी लगेर कृष्ण दाइलाई दिएको थिएँ । किनभने कृष्ण दाइको पत्रिकामा मेरा धेरै कविताहरू त्योभन्दा अघि पनि छापिइसकेका थिए । इटहरी आउ–जाउ ठिकै थियो । कृष्णा टाकिजमा मिथुन चक्रवर्तीको घर एक मन्दिर हेर्न टिकट काट्न नसकेर रुञ्चे अनुहार बनाएको सम्झना हुन्छ ।
०००
मेरो घर (घर थिएन डेरा) प्रहरी कार्यालयको छेउमै भएकाले मैले सुरुमै भनिहालेँ, प्रहरी स्रोतमा मेरो राम्रै पहुँच थियो । भित्रका खुफिया कुराहरू मेरो कानमा आइरहन्थे । म पनि कहिले त्यो विमर्श भन्ने काठमाडौँबाट आउँथ्यो, त्यसमा सुलसुले भन्ने स्तम्भ हुन्थ्यो, त्यता पठाउँथे । कहिले समाचार जगतमा दिन्थेँ । अरूले थाहा नपाउनेगरी काम गर्नुपथ्र्यो । अहिले जस्तो जे मन लाग्यो त्यही बोल्न पाइँदैनथ्यो । लेख्न पनि पाइँदैनथ्यो । डरैडर हुन्थ्यो ।
मलाई लाग्छ कृष्ण दाइले यो समाचार खासै सम्पादन गर्नुभएको छैन । किनकि कृष्ण दाइलाई मेरो जिद्दी बानी थाहा थियो । म यदि कुनै शब्द काटियो भने किन काटिएको भनेर चित्त नबुझुञ्जेल सोधिबस्थेँ । मान्छेलाई जवाफ दिँदादिँदाको दास्ती । बरु जे लेखेको छ, त्यो छापिदियो सकियो । अब ऐन–कानुनले नै लेख्न नमिल्ने शब्द हो भने कुरा बेग्लै हो । नत्र छोडिदैनथ्यो, कसैसँग पनि डिसकस गर्न । यो प्रसङ्गलाई पनि यत्तिमै छोडौँ ।
इटहरीबाट फेरि इनरुवा फर्कौँ ।
त्यो समाचारमा आज मेरो नाम छैन । यदि त्यहीबेला वाइलाइन लेख्न पाएको भए आज कति राम्रो हुन्थ्यो । अरू केही नभए पनि एउटा सबैले प्रष्ट बुझ्ने इतिहास त हुन्थ्यो । कम से कम मैले यसरी यो समाचार मेरै हो र मैले नै लेखेको हो भनेर पुष्टि गरिराख्नुपर्ने थिएन । अलि महत्त्वपूर्ण समाचारमा वाइलाइन नहुँदा इतिहास नै प्रभावित हुँदो रहेछ । तर, मेरो हकमा चाहिँ रिजाल पक्राउवाला समाचार मैले नै लेखेको हो भन्ने पुष्टि हुन्छ । कारण समाचारको भाषामा मधेसको प्रभाव छ । इटहरी त्यो बेला खासै मधेस थिएन र आज पनि होइन । यो समाचार मैले नै लेखेको हो भन्ने खास प्रमाण चाहिँ समाचारको कटिङलाई मैले २८ वर्षदेखि मेरै हो भन्दै सँगालिराख्नु हो । अरूको भए अरूले नै राख्थे होलान् ।
समाचारमा सम्पादन राम्ररी पुगेको छैन । दोस्रो, तेस्रो, छैटौँ र सातौँ वाक्यमा निज शब्द परेको छ, जसमध्ये सुरुको एउटा ह्रस्व र बाँकी तीन वटा दीर्घ छन् । भुटान र भुटानी शब्दमा पनि भु दीर्घ लेखिएको छ । लेख्दालाई लेख्ता लेखिएको छ । त्यतिखेर त्यही चलन थियो ।
०००
त्यस बिचमा भगवती मावि पछाडिको होली सुकेर खङ्ग्रङ्ग भइसकेको छ । त्यो बेला होलीपारी जाने बाटोमा कल्भर्ट भत्केको थियो । महेन्द्र चोकदेखिको पानी बटारिएर आउँथ्यो । हामी नाङ्गा–नाङ्गै नुहाउथ्यौँ । सोमबारे हाटमा बेच्न लाने गाई–भैँसीका पुच्छर समाउँथ्यौँ ।
आज भाइहरू सम्पादक भइसकेका छन् । तर, मेरो गाउँमा हुने सम्पादक भाइहरूलाई मैले समाचारको लिड लेख्न सिकाउनु परिरहेको छ । उनीहरू मलाई यो ठाउँमा तेरो हैसियत के हो भने जसरी प्रश्न गरिरहेछन् । सुविद गुरागाई कहाँको पत्रकार हो ? कति पढेको पत्रकार हो ? भनेर सोधिरहेछन् । अब सोधेपछि केही न केही त जवाफ दिनै प¥यो । तर, विडम्बना के छ भने त्यही जवाफ दिने चक्करमा म नचाहँदा नचाहँदै पनि छुच्चो हुनु परिरहेको छ । आँखाबाट आँसु चुहाउँदै यस्ता शब्दहरू लेख्नु परिरहेको छ ।
राम्रो गर्नु हाम्रो कर्तव्य होइन, आनन्द हो । जुरस्थ्रुको बाइलाइन । म जहिले पनि यो बाइलाइनको कुरा गर्दा व्याकुल पाठक सम्झन्छु । तर, यो प्रसङ्ग पनि म अहिले भन्दिनँ । पछि भन्छु ।
०००
पुरानो डायरी भेट्न त भेटियो तर त्यसमा त्यस्तो उल्लेख गर्नुपर्ने खास केही थिएन । २०५४ साल माघ २७ गतेदेखि फागुन २ गतेसम्म हामीले इनरुवामा ग्रामीण पत्रकारिता प्रवीणता तालिम सञ्चालन गरेका रहेछौँ । डायरी भन्नु कि के भन्नु ! त्यो त्यही तालिममा भए–गरिएका कुराहरूको टिपोट थियो । क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगर र पत्रकारिता तथा सञ्चार स्रोत विकास केन्द्र इनरुवाको आयोजनामा तालिम भएको रहेछ । प्रशिक्षकहरू शरदचन्द्र वस्ती, यज्ञ शर्मा, टङ्क खनाल, मोहन भण्डारी । सम्पर्क फोन नम्बरहरूसहित । सहभागीहरू थिए तेइस जना । क्रमशः अर्जुन पोख्रेल, अरुण प्रधान, अवुल हुसेन अन्सारी, इकवाल अहमद, कृष्णप्रसाद आचार्य, चन्दा रायमाझी, चम्पा अधिकारी, छत्रबहादुर आले, पिबि दियाली, प्रल्हाद गुरागाई, मणिराज दुलाल, मञ्जुकुमारी उराँव, मिथिला अधिकारी, मुकुन्द दहाल, रविकुमार घिमिरे, राजेश विद्रोही, राम कोइराला, विजय खतिवडा, वीरेन्द्रकुमार शाह, शालीग्राम काफ्ले, शशी कोइराला र सन्तोषकुमार देव । म त म भै गएँ । तालिम संयोजनकर्ता । आजको समाचारपत्र संवाददाता ।
त्यहीस्तरको पत्रकारिता तालिम इनरुवामा फेरि कसैले आयोजना ग¥यो कि गरेन, अहिले यसै भन्न सक्तिनँ । बिचमा इनरुवासँग मेरो अलिकति ग्याप भयो ।
०००
bisnupresad.bg@gmail.com