नेपाली पत्रकारिता जगतका अग्रज धरोहर व्यक्तित्व भैरव रिसाल दाइसँग पत्रकारिता अनुभवबारे विमर्श र धारणाहरू ... पत्रकारिताका विद्यार्थीले एक पटक सुन्नेपर्ने म्याटर ... skfm.com.np मार्फत् प्रसारित...https://www.opendrive.com/user_account/folder/MF83Nzg0NDAxX1VaeXpZ
कविता

चर्को मध्यान्न

–सुविद गुरागाईं

२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे
यो त्यही बेला हो
जतिबेला तिमीलाई आभास थिएन
कुनै प्रलयको
तिम्रो बलौटे विश्वासमाथि
एउटा थोपा पहिलो धक्का दिन
उत्तेजित भइसकेको थियो
रति विश्वास थिएन तिमीलाई
तित्रीगाछी भङ्गालोले नाघ्ने बेला भयो
कुविचारको सिमाना
डङ्गर गिद्धको लोपोन्मुख छाया
चर्को मध्यान्नमा
स्थानीय जडताको सिनोगन्धमाथि
लालयित भइबसेका साक्षी सिमलका रुखहरू
एक–अर्कामा कस्दै थियौ अपत्यारको डोरीले
भयभित म खलखल
न रुनु, न हाँस्नु, न पागल हुनु
हेर्दा–हेर्दै बग्न लागेको अन्तिम सीमास्तम्भ
डब्लू पी १९५ अब्लिक ९ नजिकै
पोलियो उद्दार टोली
फोटो सेसनमा रमाइरहेको भद्दा दृश्य
क्षतविक्षत चेतना कुल्चिएर पूर्वतिर
ओ ! घटिया इन्जिनियर,
खण्डन विज्ञप्ति लेख्दालेख्दै किन भागेको ?
हराएको सात हजार बिघा जमिन हुँदै
रानीगञ्ज भन्सारको किनारै–किनार
भर्खर दुई लाख ६५ हजार क्युसेक पुगेको छ
हाम्रो आवेग र दरिद्रता
पर्ख एकछिन अरू रमिता सङ्कलन गर
नागरिकतासँग भोट साट्न तयार अर्धदक्ष जनशक्ति
कोसीमा फालेको पैसामा चुम्बक अल्झाएर तान्न
सत्र ठाउँ टालेको पुँवाले जाल र धस्ना छेऊ
भोक उग्राइरहेको राम–रमिता हेरिबस ।
र, नयाँ पटकथा लेख ओस्कार जित्न
विस्थापित र सट्टाभर्ना सपनाहरूको ।
भ्रष्ट मधेस मुद्दाको ।
रोटी, बेटी र पानी सम्बन्धको ।
दशगजा हराएको ।
०००

गजल ... जानी–नजानी 

–सुविद गुरागाईं

जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि ! 
रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ! 

हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ? 
डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि ! 

एक्लै बांचुलां जोगी बनुलाँ अरू सक्दिनं सोच्न, 
हुने–नहुने कसम खाएको तिम्रै लागि त हो नि ! 

पागल भनिएं, हुस्सु भनिएं, बुझ्ने भएन कोही, 
सधैं एउटै गजल गाएको तिम्रै लागि त हो नि ! 


 (इटहरी–२, हलगडा, सुनसरी)
bisnuprasad.bg@gmail.com
थोपा–थोपा
–सुविद गुरागाई

प्रकाशपुरमा जून
र जूनको पूर्णता पर्खिरहेका
सोझा चन्द्रवंशीहरूबीच
कोसीको अर्को किनारबाट उडेर
कालो बादल फैलिएको भर्खर हो,
खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको
आगन्तुक बादलभित्र आद्र्रताको मात्रा
बढी भएको पनि भर्खरै हो,

भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा
बलिरहेको कोइलामाथि परेर अग्राख भएको
भर्खरै हो, आकासबाट अर्को थोपा
फक्रिन बाँकी केवँरामा झरेर रातै भएको
भर्खरै हो, एउटा थोपा माथिबाट
राजन चन्द्रवंशीको छातीमा परेर
छताछुल्ल पोखिएको
राजाबासनेर ।

भङ्गालोमा
जीवन धरापमा राखेर नाउमा
चन्द्रवंशीहरू
हिँड्न थालेको धेर भएको छैन
धेर भएकै छैन
पीडामिश्रित पहिचान खुल्न बाँकी
सांस्कृतिक÷धार्मिक अनुष्ठान कोसीपूजापछि
उनीहरू अलिकति उज्यालोका लागि
अधैर्य भएको पनि ।

थोपा–थोपा पानीले
सेतुबन्ध भत्काउँछ गरैया धारले
राजाबासमा यस्तै चर्चा छ ।
०००
इटहरी–२, हलगडा, सुनसरी
bisnuprasad.bg@gmail.com

इटहरेली कविको होमलञ्च


सुविद गुरागाईं
कविता किन लेखिन्छ ? सनातनदेखि एउटा पुस्ताले अर्को पुस्तालाई सोध्दै आएको सामान्यज्ञानको जवाफ दिनु उति सजिलो छैन । नामका लागि, दामका लागि वा आत्मसन्तुष्टिका लागि ? आफ्ना लागि वा अरूका लागि ? यसमा अनेक अलमलहरू छन् । कतिलाई लाग्छ, आखिर काम गर्ने उर्जाशील समय कल्पनाको उडानमा किन व्यतित गरिरहेछन् कविहरू ?
हामी कवितामा समुद्रमा, खोलामा, तालमा, पोखरीमा वा धारामा टिलपिल पानी देखेर ‘वाह पानी ! क्या पानी !’ भन्दै रमाएजस्तो नियतिबाट अलिकति भित्र पस्न नसकेको हो कि भन्ने समकालीन अनुभूति छ । हावामा पानीको पर्याप्त मात्रा हुन्छ, कलात्मक विज्ञानसम्मत तरिकाले बुझ्ने–बुझाउने तरिकाको नितान्त अभावै छ । यसका लागि उचित रूपमा सोच्नु र उचित रूपमा लेख्नु जरुरी छ । उसैगरी उचित सिर्जनाहरूले उचित पाठक तथा स्रोता पनि पाउनैपर्छ ।
बुझ्नेका लागि कविता धेरै शब्द चाहिँदैन । भोको घर, सेतो धरती, जनताको भरिया, परेवा सेता–काला, ल्याम्पोस्टबाट खसेको जून, घर फर्किरहेको मानिस, तमोसोत्सव, देश खोज्दै जाँदा, जूनको आगोे, पागल बस्ती, यो जिन्दगी खोई के जिन्दगी ?... आदि पदावलीले सुन्ने–पढ्नेलाई एउटा पूर्ण कविताको चरम सन्तुष्टि दिइसक्छन् । पाठक–स्रोताको मनमा प्रतिक्रियाको पहिरो जानुअघि थाहा हुन्छ, यी साहित्यिक छन्, यिनमा कविता छ । इमर्सनले त भाषण पनि एउटा क्षुद्र किसिमको कविता हो भनेका छन् ।
भर्खर अन्तर्राष्ट्रिय उपाधि जितेको सम्मानित कविताको होमलञ्चमा विशिष्ट उपस्थितिले इटहरेली कवि गणेश खड्काको खुलेरै प्रशंसा ग¥यो । अग्रज स्रष्टा बद्रीविशाल पोखरेलले भने, खड्काका कविता जीवनका लागि हो । सुन्नेका मनमा तर्कनाका हजार ज्वारहरू आए–गए । समुद्री किनारमा क्षितिज हेर्दै बसेको यायावरीको जीउ लहरले बिस्तारै छोएर गएजस्तो आनन्ददायक थियो समय ।
स्रष्टा फाउन्डेसनले जुटाइदिएको प्रतिनिधि जमघटमा कवि खड्काका कवितासँग पहिलो साक्षात्कारको विशिष्ट अवसर थियो । यो धरतीमा भएका अनेक सुन्दर सिर्जनाहरूमा एउटा अर्को सिर्जना थप्न साधनारत कविसँग अपेक्षा गर्ने धेरै ठाउँहरू देखिए । यद्यपि कविता सबैले लेख्छन् तर सबै कवि हुँदैनन् । त्यसमाथि धेरै कविहरू चिनिएकै हुँदैनन् । कवि खड्का पनि अहिलेसम्म विलुप्त नै थिए । भर्खर थाहा हुँदैछ, उनीभित्र सुन्दर कविता सिर्जना गर्ने पर्याप्त रेडियम लुकेको रहेछ ।
अग्घोर मानवेत्तर मान्छेजस्ता आकृतिहरू
युद्धोन्मादमा आकासको फैलावट र
धर्तीको विशालता सीमातिक्रमण गरेर
मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’को
खण्डित भागबन्डा लगाउँछन्...
‘अविजित प्रदेशका अविजेय योद्धाहरू’ शीर्षक राखेर खड्काले लेखेका यस्तै शब्दहरूले नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका लागि निर्णायकहरूको मन छोयो । नभन्दै, कविताले तेस्रो अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा पहिलो भएर एक हजार डलरको ‘हेम–सरिता पाठक काव्य पुरस्कार’ जित्यो । त्योभन्दा ठूलो कुरा, खड्कालाई इटहरीले निकै ‘मिस’ गरिरहेको थियो, जुन आत्मआनन्द सार्वजनिक हुने अवसर मिल्यो । कुनै सिलौटे ढुङ्गामा कलापारखीले बुद्ध आकृति पहिचान गरेजस्तो ।
खड्का २०५२ सालतिर रङ्गकर्मी पहिचानमा निकै रुचाइएका थिए । नाटक लेखन, निर्देशन र अभिनयका लागि चिनिँदा–चिनिँदै उनी बीचमा कता गए, न धनकुटालाई थाहा भो, न इटहरीलाई । केही समय, जनतालाई काम र माम दिन नसक्ने राजधानीको गन्धे हावा सुँघेर अघाएपछि बनीबुतोका लागि पूर्वी अफ्रिकी मुलुक ससेल्स पुगेका रहेछन् । जमघटमा थाहा भयो, सेसेल्सबासी आफूलाई अफ्रिकी भन्न उति रुचाउँदा रहेनछन् । म सोचिरहेको थिएँ, खड्काका कवितामा पनि सात समुद्र पारीका विशेषगरी अफ्रिकी पीडाका यस्तै अनुभूति होलान् । तर, म गलत रहेंछु । उनी त त्यति सुदूरमा पुगेर पनि बेला–कुबेला नेपालकै मायामा लछ«प्प हुँदा रहेछन्, सायद हामीभन्दा बढी ।
मधेसका सहकालहरू
समानुपातिक भएर सर्लक्क
कर्णाली प्रवेश गरुन्
दुःख बाँडियोस्–सुख बाँडियोस्
भोक बाँडियोस्–भोजन बाँडियोस्
तर कदाचित्
देश भागबन्डा नलागोस् ।
मैथ्यु आर्नोल्डले कविता जीवनको आलोचना (समीक्षा) हो भनेका छन् । विल्सनका विचारमा कविता अनुभूतिले रङ्गिएको विवेक हो । कवितामा सौन्दर्य भएर मात्र पुग्दैन, सुन्नेको हृदयलाई डोहो¥याएर लैजाने शक्ति तिनमा हुनुपर्छ भन्छन्, होरेस ।
कसैले कविता अस्वीकृत विद्यालय हो भनेका छन्, जति अध्ययन गरे पनि हुने । जे अर्थ लगाए पनि हुने । आफूलाई चाहिए जति आनन्द लिन पाइने । कोही भन्छन्, कविता खुला विश्वविद्यालयमा पढिने परिष्कृत विधा हो, यसमा कविले आफूखुसी अध्ययन गर्न पाउनुपर्छ । अनि कवि ? महाकवि पर्सिविस शेलीका शब्दमा भन्दा कवि संसारको अस्वीकृत व्यवस्थापक हो । कवि खड्कामा पनि अरू नाम चलेका ‘अस्वीकृत व्यवस्थापक’हरूमा जस्तै पागलपन र प्रेमिल भावका पर्याप्त लक्षणहरू छन् । ‘मनोवाञ्छा’मा उनले सुनाए,
मनका पटाङ्गीनीहरू मुकुलित पुष्पझैं
अकलुषित परागसेंचन गर्दै
अथाह÷अखन्डित÷अक्षत
कसैले हिम्मत गर्न नसकेको भर्जिन भूमिमा
समदर्शी बिजनको गर्भाधान गरेर
अकिञ्चन बस्तीको परिसरभरि
ढकमक्क पक्रिउन्
वंशको अक्षुण्णता कायम राख्दै...
कलरिजका अनुसार कविता विज्ञानविपरीत विधा हो । यसको मुख्य लक्ष्य आनन्द हो, सत्य होइन । तर, विज्ञान र आनन्द दुवैको सेरोफेरामा खड्काका कविताहरू छन् । उनी जीवन भोगाइको संवेदनालाई उत्तोलक सिद्धान्तसँग जोडेर कथन गर्न रुचि राख्छन् । ‘कोप्चेरो स्वार्थको जङ्गली भूत लागेर÷मपाइँत्वको आत्मश्लाघाले ग्रस्त÷ हिनताबोधको सियाशिकारीले भेटेका÷विचारका लघुताभास...’ जस्ता छाडा अन्धविश्वासहरूलाई विज्ञानको लङ्गौटी लगाउन मन पराउँछन् ।
समीक्षकहरू भन्छन्, खड्काका कविता गाउँघरतिरकै सरल र मिठा विम्ब हुन् । केही टर्रा पनि छन् । तर, टर्रा भए पनि ती औषधीय गुणयुक्त छन् । हामीले देखेभोगेका पैतृक विम्बहरू उनले लोकजीवनबाट टपक्क उठाएका छन् । कविताका लागि भित्रैबाट मन छुने स्वाभिमानी प्रतीकहरू सजाउन खड्का सिपालु छन् ।
युद्ध भित्र बाहिर जहाँबाट गरे पनि
मान्छेले मान्छेलाई मार्ने
सबैभन्दा ठूलो अपराध हो ।
आफैं मारेर आफैं क्रियापुत्री बस्नुपर्ने
अन्ततः युद्ध जितेर पनि हार्नुपर्ने...
सुविचारको कल्पवृक्ष झाँगियोस् ।
जमघटमा कलाकार विक्रमश्रिले कविलाई भने, सबै नेपालीले गर्व गर्नलायक कविता बनाएकोमा कवि खड्कालाई धन्यवाद ! जवाफमा कविले प्रष्टीकरण दिए, ‘सबै नेपालीले गर्व गर्न लायकको कविता लेखिन (लेख्न) बाँकी छ ।’
थाहा छैन, नदीको पानीले कति वर्षदेखि कति ढुङ्गाहरूलाई चुम्यो होला ? कति वरपरका बोट–बिरुवाहरूलाई छुँदै, कति फड्के तर्नेहरूलाई बिदाइको हात हल्लाउँदै, कति फोहोर गर्नेहरूसँग चित्त दुखाउँदै अघि बढ्यो होला ? कति छेस्का–काँडाबाट घोचियो होला ? कति माटो–कमेरोसँगै धमिलयिो होला ? कति खोला–खोल्सीसँग रउसिँदै बास बस्यो होला ? जे–जस्तो परे पनि नदीले सङ्गीतको आनन्द सिर्जना गर्नमा रति पनि सम्झौता गरेको छैन । कवि खड्काले जीवन भोगाइको यस्तै अनुभूतिले अनेक शब्द–चित्र बनाएका रहेछन् । कारनायलले सङ्गीतमय विचारलाई कविता भनेका छन् । विश्व साहित्यमा पहुँच बनाएका खड्का पनि कविताका लागि निरन्तर यस्तै शब्द–सङ्गीत एरेन्ज गरिरहेछन् ।
नेपाल प्रायः चुनावको हल्ला चलाएर विदेशी मुद्रा भिœयाउन सिपालुहरूको मुलुक बन्दै गएकोमा कवि खड्काको चित्त कुँडिएको रहेछ । भूपि शेरचनले ‘यो हल्लै–हल्लको देश’ भनेको तीन दशकको अन्तरालमा कवि खड्काले हल्लावाजहरूलाई ‘धतुरेहरू’ को संज्ञा दिए र आफूलाई विद्यमान परिपाटी किमार्थ मन नपरेको तर्क लेखे ।
फेक नोट आर्जित पोस्टर टाँसेर
रातोदिन गरिरहुन् इमानको निर्वाचन
मेरो स्वकीय अडान रक्षार्थ म
पूर्वोक्त धतुरेहरूको पक्षमा
मतदान गर्दै–गर्दिनँ ।
खड्काले अरू कतिपय कविले जस्तो मिडियामैत्री हुने अवसर पाउलान्–नपाउलान् भन्न गाह्रो छ । किनकि उनले नेपाली कविता साहित्यमा सकारात्मक हस्तक्षेप गरिसकेको खबर निकै दिन बितिसक्दा पनि हामीसम्म आइपुग्न पाएको थिएन । तर, यो धरतीले सिँचाइ सुविधा पहुँचको अवसरबाट जति नै वञ्चित गरे पनि हावामा भएका पानी–कणहरू सञ्चित गरेर भोलिका दिनमा नेपाली कविता फाँटमा आफूलाई जीवन्त बनाइराख्न सक्ने लोभलाग्दो क्षमता उनमा छ । नाहकमा बेवास्ता किन गर्ने ?
०००
तस्बिर : नवीन गड्तौला
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1333-nagarik-05-april-2013/2-nagarik.html

आलोचक जिल्याउँदै मुसायरा

सुविद गुरागाईं

‘यी सानै उमेरदेखि मन हर्न लागे ।
यिनै सुन्दरीले जुलुम गर्न लागे !’
युवाकवि मोतीराम भट्टले युवावयमै नेपाली गजल लेखन, वाचन र गायन परम्परालाई निकै उचाइमा पु¥याएको योगदान एकदिन भुसुक्कै बिर्सिए गजलका आलोचक (समालोचक !) कृष्ण गौतमले । प्राध्यापन पेसाबाट भर्खरै सेवा निवृत गौतमलाई विराटनगरमा संयोजित गजलीय सुगन्धले लबालब भरिएको एक कार्यक्रममा सहासा सम्झिएँ मैले ।
त्यहाँ मेरो ठाउँमा यदि उनी अतिथि हुन्थे भने सायद लाजले टाउको निहुराउँथे । १८ वर्षअघि मनमा रहेको गजलबारेको कलुसित विचारले उनलाई मज्जैले काउकुती लाउँथे सायद ।
जतिबेला गजल लेखन परम्पराको पुनर्जागरण हुँदै ज्वार–भाटा (कतिपयको विचारमा बाढी) आउन थालेको थियो, विद्यार्थीलाई नेपाली साहित्यिक मर्म बुझ्न सिकाउने गौतमको मनमा नेपाली गजलबारे निकै फोहोरी विचारहरू थिए । दृष्टिकोण बरालिएको थियो ।
‘म देख्दैछु उनको सवारी हुँदै छ ।
मेरो मुटु चोर्ने तयारी हुँदै छ ।’
‘वाह–वाह ! वाह केशव, क्याबात ! धेरै राम्रो !’ म फ्ल्यासब्याकबाट मञ्चमा फर्किएँ । अगाडि अनाम मण्डलीका गजलगो केशव भट्टराईका शब्द र प्रस्तुति शैलीबाट प्रभावित श्रोताको प्रतिक्रिया थियो । गजल बुझ्ने पूर्वेली दर्शक–स्रोता भेट्टाएपछि रौसिएका भट्टराईले जम्दै गएको मुसायरामा उत्तिकै बहरबद्ध भएर दोस्रो गजल पनि सुनाए ।
‘कस्तो ग¥यौ बिदाइ रुँदै छन् उनी त ।
चिठ्ठी सबै जलाई रुँदै छन् उनी त ।’
‘साँच्चै राम्रो !’ यसपटक मभित्रको गजलगोलाई पनि चित्त बुझ्यो । बहरमा निकै राम्रो मत्ला बुन्दै गजल सिर्जना गर्न सक्ने युवाहरूको एउटा क्याराभान थियो मेरासामु । तिनका आँखामा मैले आलोचकहरूप्रति आशङ्का देखें । र, मैले उनै गौतमलाई सम्झिएँ, जसले २०५१ वैशाखको गरिमामा समकालीन गजल स्रष्टालाई गाली गर्दै लेखेका थिए, ‘नेपालीमा करुणा र शोकका कवि देवकोटा होलान्, घिमिरे होलान्, गिरी होलान्, गालीब हुन सक्तैनन् ।’ तर, अफसोच उनको किटानी दाबीविरुद्ध माइक्रोफोनमा पूर्वेली गजल गायक जेबी थुलुङ थिए ः
‘तिम्रा लागि मै बद्नाम हुन मञ्जुर ।
तिम्रा लागि तामा तुलसी छुन मञ्जुर ।
तिम्रा सपना देख्नु मेरो गल्ती हो भने,
तिम्रा लागि आँखा आँसुले धुन मञ्जुर ।’
लयसँगै साथ दिने तालीहरू थपिएपछि मुसायराको वातावरण थप सुगन्धमय हुँदै थियो । सँगै म आलोचकका कच्चा शब्दहरू सम्झिँदै थिएँ । गजल लेखनमा लागेका समकालीन पुस्तालाई होच्याएर उनले लेखे, ‘...त्यस्ता युवाहरू जसमध्ये कयौं नाकबाट दूध आउने केटाहरू होलान्, कयौं कुखुरे बैंशका तरुना होलान्, होलान् कयौं गधा पच्चीसीका ठिटाहरू ! ... तिनै व्यक्ति रैथाने भएर गजलको पौवामा रहने छाँट छ, जसको न अन्त फड्कने ह्याउ छ, न कुनै ठूलो योग दिने क्षमता नै ।’
‘कतै जितमा छु कतै हारमा छु ।
म यस्तै अनौठो समाचारमा छु ।
कहाँ भेट्दछ्यौ भित्र बसेर एक्लै,
तिमी खोल ढोका म सङ्घारमा छु ।’
मण्डलीकै सुरेश सुवेदी गजलमा समाचार भन्न खप्पिस रहेको सूचना पाएपछि प्रष्ट भयो १८ वर्षको यो अवधि खेर गएको रहेनछ । त्यसो त सुवेदीहरूले गौतमको पूर्वाग्रह उही बेला थाहा पाएनन् होला । तर, थाहा पाएर पनि समयले आलोचकहरूलाई मुखभरिको जवाफ दिने ठानेर समकालमा गजलको पुनर्उत्थानमा जुटेको तीस–चालीस दशकको पुस्ताको योगदानको आलोकमा नै सुवेदीहरूले प्रज्वलित हुने मौका पाएको भन्नुमा अत्युक्ति छैन । नभन्दै अग्रज पुस्ताको योगदान सम्झिरहेका छन् जय गौडेल, जसले मुसायरामा सुरुमा बुँद रानाका शब्दहरू राखे, ‘मरुभूमिमा परेँ र त गजलकार भएँ... बुँदका निम्ति मरेँ र त गजलकार भएँ ।’
त्यसपछि उनले गजलका मिसराहरू चोरी हुन थालेकोमा चित्त दुखाए । लगत्तै यस्तो साहित्यिक दुव्र्यवहारमा पनि गजलगोकै जित निहित रहेको भनी मन सम्झाउँदै गौडेलले आफ्नो सुनाए ः
‘नसोध किन पिएर आएँ ।
च्यातियो छाती सिएर आएँ ।
मन थियो बाँकी मसँग एउटा,
त्यो पनि उनलाई दिएर आएँ ।
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेजस्तो आलोचकको काम हो कपालको पनि छाला, खोज्ने सर्जकहरूको काम हो आलोचकहरू कुरी–कुरी लाग्ने गरी सिर्जनमा रमाउने । आलोचक गौतमको कडा टिप्पणी (पूर्वाग्रही धारणा)को मैले समकालीन गजलको विद्यार्थीका नाताले ‘असान्दर्भिक र हास्यास्पद’ भन्दै तत्काल प्रतिवाद गरेको थिएँ । ‘कालोलाई सेतो देख्ने र कालोलाई सेतो भन्ने’ गौतमका विचार टिप्पणी गर्नलायक समेत नरहेको मेरो तर्क रह्यो ।
क्रमशः ज्ञानुवाकर पौडेल, बुँद राना, मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जल, रासा, पदम गौतम, घनश्याम न्यौपाने, राजेश्वर रेग्मी, सुनिल पुरी, श्रेष्ठ प्रिया पत्थर आदिले नेपाली साहित्यमा अँध्यारो बाँकी रहेको एउटा पाटोमा गजलको उज्यालो सञ्चित गरेका हुन्, जसको व्याज नेपाली साहित्यले अहिले पनि खाइरहेको छ ।
‘प्युने बसेछ बानी गल्ती भएछ मेरै ।
जीवन भयो खरानी गल्ती भएछ मेरै ।
साथी सराब मेरो बिर्सन्छु भन्छु प्युँछु,
यस्तै छ जिन्दगानी गल्ती भएछ मेरै ।’
मुजारे बहरमा शैलेन्द्र अधिकारीलाई सुनेपछि गजल लेख्ने मात्र होइन आफैंले मुसायरामा सही ढङ्गले प्रस्तुत गर्ने विवधा पनि हो भन्ने मान्यतालाई अनाम मण्डलीले दुरुस्त बनाइसकेको भान भयो । खुसी लाग्यो पूर्वका युवाहरू पनि मुसायरामा सकारात्मक हस्तक्षेप गर्दै अघि बढिरहेको देखेर ।
‘अरे ! ओठमा लाली, आम्मामामा ।
सबभन्दा काली, आम्मामामा ।
नचिनेरै यो मन हैरान थियो,
आफ्नै दाइकी साली, आम्मामामा ।
गण्डकी पुत्र, ज्योति जङ्गल, सुमन पोखरेलहरूले गजल सुनाउन साझाको पुस्तक मेला विराटनगरमा काठमाडौबाट बोलाएका मण्डलीका अग्रज सदस्य प्रभाती किरणलाई जीबी गजलको यो स्वतन्त्र प्रस्तुतिले निकै छोएछ । सार्वजनिक जीवनमा बहरमा गजल लेखनको अभ्यास र वकालत गरिरहेका किरणले जीबी धून सुनेपछि मसँग भने, ‘गजल बहरमै लेख्दा मात्र राम्रो सुनिन्छ भन्ने होइन रहेछ, शब्द छनोट र प्रस्तुतिको शैलीले आफैं स्वतन्त्र छन्द पछ्याउँदो रहेछ । मिलाएर प्रेमपूर्वक भनियो भने तिनले पनि मञ्च पाउँदा रहेछन् ।’
मुसायराको त्यो अपूर्व मञ्चमा अनामका घनश्याम पथिक, रुपक अलङ्कारहरूले दोहो¥याएर गजल सुनाए । ‘दुनियाँले नछेकेको मेरो सहर तिमीलाई... कसैसँग नसाटेको मेरो रहर तिमीलाई...’ भन्ने सीमा आभाषका भ्यालेन्टाइन स्पेशल शब्दहरूअघि र पछि मुसायरामा विवश बलिभद्र कोइराला, चक्रपाणि अधिकारी, टीका आत्रेय, हेमन्ता क्षितिजहरूले एकपछि अर्को गर्दै गजल मनहरूलाई आनन्दित पारेका थिए । त्यसै मेसोमा पूर्वमा नेपाली गजलको फूलबारी सजाउन लागिपरेका एक माली मधु पोखरेलले बहरमै आम मान्छेका तर्फबाट खबरदारी थपे ।
‘अझै रात पर्दैछ नबजाऊ ताली ।
स्वाभिमान मर्दैछ नबजाऊ ताली ।’
सुनेपछि मलाई लाग्यो, अहिले गजल लेख्नका लागि लेख्ने मात्र होइन बहरमै कालजयी मिसराहरू सिर्जना गर्ने, शेरहरू गुन्गुनाउन बाध्य पार्ने परम्पराको विकासक्रम उत्कर्षमा आइपुगेको छ । गजल सिर्जनाहरूले नेपाली साङ्गीतिक आकासको आधाभन्दा बढी भागमा हस्तक्षेप गरिसकेका छन् । अब गजल लेखन, प्रस्तुति तथा गायनलाई समेटेर टिकट सो गर्दै व्यावसायिक बनाउन मजाले सकिन्छ । गजल लेख्ने, सुनाउने मात्र होइन, बुझ्ने, सुन्नेहरूको जमात पनि ठूलै भइसकेको छ । गजलले नेपाली गीत र कवितालेखनमा रमाएका स्रष्टालाई पनि मोहनी लगाउँदै छ । किटेरै भनौं, कवितामा आफ्नो उपस्थिति प्रमाणित गर्न सफल मनु मन्जिलहरू पनि एक–दुई पटक गजलको सम्मोहनमा परिसकेका छन् ।
नेपाल गजल प्रतिष्ठानसम्बद्ध अगुवा गजलगो शेखर ढकालका शब्दमा भन्दा गजल लेख्ने धेरै छन् तर प्रकाश आङदम्बे, केपी लम्साल, सुन्दर कुरुप, अमला अधिकारी, कपिल अञ्जान, मिलन समीर आदि गजलमा समर्पित पुस्ताको चर्चा गर्दा छुटाउन नहुने केही नाम हुन् । अहिले गजलमा सुन्दर काव्य लेख्ने त्यस्तो पुस्ता हुर्किसकेको छ, जसले गजल कुनै विधा होइन भन्नेलाई विचार परिवर्तन गर्न बाध्य बनाउँदै छ ।