कविता
कविताको सीमान्त
– सुविद गुरागाई

थपक्क सडकमा सुतेको थियो
उत्तानो परेर मरेको मान्छे
अनुहारमा रातो पोतिएको थियो
आफू जितेर आएको योद्धाको नासिका वरपर
च्यापच्याप आलो रगत
कसैले दलेको होइन
आलो वंशाणु र क्लोनको अद्भूत क्षमतामा
कमिला आएर लत्पतिन बाँकी थियो
नापिरहेका थिए नीला बर्दीवालहरू
मृत्युदेखि खाल्डोसम्मको दूरी
थपक्क जहाँ टिपर अधकचल्टिएको थियो

भर्खरै मेरा केही शुभेच्छुकहरू
बेखबर त्यहींबाट पूर्व लागेका थिए
म पनि छेऊ हुँदै आएँ
तर, कसैलाई थाहा भएन ऊ
धरानबाट हतारिएर कहाँ हिँडेको थियो ?
तर, उसलाई देख्नासाथ मैले थाहा पाएँ
भर्खर छ अर्बको विश्वबाट घट्यो एउटा पाठक
खलासीको पुरुषार्थले
अझै थुप्रै दिन मोटरसाइकलमा
हिँड्नुपर्ने यात्रा रोकियो ।
फेरि एउटा अर्को गल्ती
फेरि एउटा अर्को खेल समाप्त
सिद्धान्तका लागि आत्मा नमरे पनि
रहनुपर्ने थियो बाँकी अझै केही दिन
कोही जीवित हुँदा अरूलाई आउने आनन्द
घट्यो कविता पढ्ने एक जना पाठक ।

अहँ ! हुँदैन, यो क्रमभङ्ग गरौं
कारण चाहे जेसुकै होस्
शब्दहरूको अकाल मृत्यु रोकौं यार !
बचाऔं पाठक
नत्र यसरी त
हाम्रो अभिव्यक्ति पनि मर्छ एकदिन
र, समस्या हुन्छ कसका लागि लेख्ने ?
०००
bisnuprasad.bg@gmail.com