थोपा–थोपा
–सुविद गुरागाई

प्रकाशपुरमा जून
र जूनको पूर्णता पर्खिरहेका
सोझा चन्द्रवंशीहरूबीच
कोसीको अर्को किनारबाट उडेर
कालो बादल फैलिएको भर्खर हो,
खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको
आगन्तुक बादलभित्र आद्र्रताको मात्रा
बढी भएको पनि भर्खरै हो,

भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा
बलिरहेको कोइलामाथि परेर अग्राख भएको
भर्खरै हो, आकासबाट अर्को थोपा
फक्रिन बाँकी केवँरामा झरेर रातै भएको
भर्खरै हो, एउटा थोपा माथिबाट
राजन चन्द्रवंशीको छातीमा परेर
छताछुल्ल पोखिएको
राजाबासनेर ।

भङ्गालोमा
जीवन धरापमा राखेर नाउमा
चन्द्रवंशीहरू
हिँड्न थालेको धेर भएको छैन
धेर भएकै छैन
पीडामिश्रित पहिचान खुल्न बाँकी
सांस्कृतिक÷धार्मिक अनुष्ठान कोसीपूजापछि
उनीहरू अलिकति उज्यालोका लागि
अधैर्य भएको पनि ।

थोपा–थोपा पानीले
सेतुबन्ध भत्काउँछ गरैया धारले
राजाबासमा यस्तै चर्चा छ ।
०००
इटहरी–२, हलगडा, सुनसरी
bisnuprasad.bg@gmail.com