एक युगमा एक दिन

– सुविद गुरागाई

आधा गिलास भरियो
आधा बाँकी छ
आधा माग पूरा भो
आधा सङ्घीयता आयो
आधा गणतन्त्र संस्थागत भो
आधा मधेस आयो
आधा लिम्बुवान पाइयो
आधा थरुहट हुने भो
आधा मगरात मिल्यो
आधा किरात बहसमा आयो
आधा स्वार्थ सतहमा आयो
आधा इच्छा पूरा भो
आधा बहिस्करण हट्यो
आधा अधिकार लिइयो
आधा चित्र कोरियो
आधा खोला तरियो
आधा बाटो हिँडियो
आधा बाँकी छ ।
...
एक युगमा एक दिन
उत्सव मनाउन राज्यले
बाइबल प्रार्थना गर्न भनेन
कुरान पढ्न भनेन
त्रिपिटक सुनाउन भनेन
गीता बाँड्न पनि भनेन
हिन्दू संस्कार आत्मसात गर्दै
दीपावली गर्न भन्यो
आकासदीप बाल्न भन्यो
रातो अबिर लगाउन भन्यो
आधा मनले कुरा बुझ्यो
आधा हिन्दू राष्ट्र देखियो
आधा बाँकी छ ।
...
पृष्ठभूमिमा जोजो नाचे
उनीहरूमध्ये आधा
जनआन्दोलनमा सहभागी थिए
आधा थिएनन्
सङ्घीयता प्रस्ताव गर्नेहरू
आधा समर्थनमा
आधा बिरोधमा छन्
स्वतन्त्रता पूर्ण छैन
आधा बाँकी छ
आधा पहुँच पुग्यो
आधा पहिचान खुल्यो
आधा चित्त बुझ्यो
विधान सर्वस्वीकार्य भएन
आधा नयाँ नेपाल देखियो
आधा कविता भनियो
आधा बाँकी छ ।
०००
bisnuprasad.bg@gmail.com

धैर्यको बाँध फुट्नुअघि
– सुविद गुरागाई

धैर्यको बाँध फुट्न बाँकी छ । तर, त्यस्तो सम्भावना टिलपिल हुँदै छ ।
२०६५ भाद्र २ गते सप्तकोसीको बाँध (तटबन्ध) फुटेको सम्झन्छु । एक साताअघि पश्चिम कुसाहास्थित तित्रिगाछी तालनजिकै कोसी कटान सुरु भएको सूचना पठाए भान्टाबारीस्थित हाम्रा संवाददाता सज्जाद आलमले । म इटहरीबाट प्रकाशित हुने ‘जनलक्ष्य’ दैनिक समाचारपत्रको सम्पादकले पत्याइनँ त्यसलाई । कोसीको बाँध त्यति सजिलै के फुट्छ होला भन्ने लाग्यो । अनि, ‘जनजीवन आतङ्कित हुनसक्ने’ ठानेर समाचार प्रकाशित नगर्ने निर्णय गरें । दुई दिनपछि सज्जादले फोन गरेर ‘समाचार किन नछापेको दाइ ? कटान तटबन्धमा आइपुग्न अब सय मिटर पनि बाँकी छैन,’ भन्दै गुनासो गरे ।
त्यसपछि मेरा कान ठाडा भए । कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय छेउ घर भएका राजकुमार सिंहलाई फोन गरेर क्रस–चेक गरें । उनले पनि पाँच दिनदेखि कटान जारी रहेको जानकारी दिए । कटानले तित्रीगाछी ताल छोइसकेको, बाँध छेउका बासिन्दामध्ये केही विराटनगर, इनरुवा, लौकहीलगायत सुरक्षित स्थानमा पुगिसकेको बताए । केही स्थानीय बाँधमा रहेका गाछीहरू तारले एक–आपसमा बाँधेर क्षति कम होस् भन्ने उपायमा लागेको, प्रायः घरमा आफ्नो थाँतथलो छोडेर अन्त जान नमान्ने बुढाबुढी र केही भाग्नसक्ने युवाहरू मात्र भएको उनको भनाइ थियो ।
समाचार छापें । तर, प्रहरी उपरीक्षक यादवराज खनाल, प्रमुख जिल्ला अधिकारी दुर्गा भन्डारी, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीलगायत सरोकारवालाहरूले ‘बाँध फुट्ने’ कुरा पत्याएनन् । बरू अधिकारीहरू समाचार गलत भएको भन्दै ‘खण्डन गर्ने’ मनस्थितिमा देखिए । सदरमुकाम इनरुवास्थित पत्रकारहरू वीरेन्द्र केएम, इकवाल अहमदलगायतसँग प्रजिअ भन्डारीले ‘तपाईहरूले जनतामा भ्रम सिर्जना हुने गरी यस्तो नचाहिँदो समाचार नलेख्नुपर्ने, तपाईहरू अन्तर्यामी हो,’ भनी गुनासो गरे । इकवालले पठाएको कोसी बाँध फुट्न लागेको जानकारी इमेज रेडियोबाट प्रशारण भएपछि गृह मन्त्रालयबाट सुनसरी प्रशासनलाई दबाब परेको रहेछ । अधिकारीहरू त कोसी फुट्दैन भन्नेमा कतिसम्म विश्वस्त देखिए भने त्यही दिन १० बजेतिर विराटनगरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर मोहन भट्टराई, प्रजिअ भन्डारी, उपरीक्षक खनाललगायतको टोली कोसी ब्यारेज पुलमा भेला भए । सुनसरीका कृष्ण जुनेली, सप्तरीका जितेन्द्र खड्गालगायत पत्रकारहरू पनि रिपोर्टिङका लागि ब्यारेज पुगेका थिए । भारत सुपोलका डिएम सरिफ आलम तथा कोसी प्रोजेक्टका केही इन्जिनियरहरू पनि आएका थिए । दुई देशका सरोकारवालाहरूबीच बैठक भयो ।
बैठकपछि नेपाली पक्षलाई आश्वस्त पार्दै पत्रकारहरूलाई इन्जिनियर भट्टराईले ब्रिफिङ गरे, ‘कोसी बाँध फुट्ने सम्भावना छैन । कटान भइरहेको स्पोर नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । टोलीले केही घण्टामै स्थिति नियन्त्रणमा लिनेछ । कोसी ब्यारेज र तटबन्धको पानी नियन्त्रण र बहाव क्षमता साढे तीन लाख क्युसेकभन्दा बढी छ । अहिले एक लाख ८६ हजार क्युसेक पानी भएको बेला कोसी तटबन्ध फुट्छ भन्ने अनुमान गलत हो ।’
इन्जिनियरको दाबीपछि वस्तुस्थिति र अधिकारीहरूको खण्डनबारे कृष्ण जुनेलीले एभिन्युज र अरू पत्रकारले आ–आफ्नो मिडियामा टेलिफोन लाइभ गरे । सबै फर्किने तयारी गर्दै थिए, कोसी ब्यारेज प्रहरीलाई तित्रिगाछीमा सिपेज बढेर पानीले तटबन्ध नाघिसकेको जानकारी आयो । सब भगाभाग भए । इन्जिनियरहरू भारतको वीरपुरतिर लागे । प्रजिअको टोली हतार–हतार कोसीटप्पुतिर हानियो । पत्रकारहरू पनि लाखापाखा भए । दिउँसो साढे १२ बजेको थियो ।
तित्रिगाछी ताल नजिकै रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय परिसर छेउ र बाँध क्षेत्रमा मान्छेको ‘मेला’ लागिसकेको थियो । चरा–चुरुङ्गी र आरक्षका जीव–जनावरहरूको आर्तनादले पूरै वातावरण कोलाहलमय बनेको थियो । ब्यारेजबाट प्रहरी–प्रशासनको टोली त्रासद् रमिता हेर्न घटनास्थल भर्खर पुगेको थियो । नेपाल टेलिभिजनका संवाददाता कृष्ण भट्टराई भुल्केली एउटा रुखमा चढेर पानीले धक्का दिँदैगरेको दृश्य रेकर्ड गर्दै थिए, तटबन्ध फुटिहाल्यो । पानी पूर्व–दक्षिणतिर बस्तीक्षेत्रमा जताततै फिँजारिन थाल्यो । नजिकै एक जना स्थानीय कुन्युबाट पराल तान्दै थिए, केही सेकेन्डमै उनी पानीमा पौडी खेल्न थालेको दृश्य क्यामेरामा कैद भयो । पछि उनी मरे, बाँचे ? केही थाहा भएन ।
कटान यति तीव्र थियो कि दुई मिनेटमै करिब ५० मिटर वर रहेको रुख तल पानीको धार आइपुग्यो, जसमा पत्रकार भुल्केली चढेका थिए । विचरा हत्तपत्त उत्रिए र सप्तकोसी एफएमका संवाददाता राम प्रधानसँग मोटरसाइकलमा नौ–दुई एघार भए । सम्भावित जोखिम व्यवस्थापनका लागि वस्तुस्थिति बुझ्न गएका अधिकारकर्मीहरू राजेन्द्र पोखरेल र भेषराज आसे बाँधछेउ पुगेका मात्र के थिए, पानीको मुस्लो उडेको देखेर सातोपुत्लो गयो ।
दिउँसो दुई बजेको थियो । अहिल्यै र यति सजिलै फुट्दैन होला भन्ने ठानिएको कोसीको बाँध हेर्दा–हेर्दै फुट्यो । त्यही–बेला रेडियोमा सशस्त्र द्वन्द्वका नाइके पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको समाचार प्रसारित हुँदै थियो ।
त्यसपछि के भयो ? कति मान्छे मरे, कति क्षति भयो, कति विस्थापित भए ? राहत र उद्धारको काममा कति विलम्ब र चलखेल भयो ? सबै तपाईको रेकर्डमा छँदै छ । यही घटना छिमेकी चीनमा भएको भए २४ घण्टाभित्र बाँध र सडक जस्ताको त्यस्तै भइसक्थ्यो । हामीलाई भने भत्किएको तटबन्ध र राजमार्ग टाल्न पाँच वर्षभन्दा बढी समय लाग्यो । लाग्यो के भन्नु अझै नेपाली जनजीवनमा त्यसको बाछिटा बाँकी नै छ ।
त्यसअघि धरान, इटहरी, भेडेटारतिरका कोही राई, लिम्बू वा बाहुन–क्षेत्रीका छोराछोरी हरिनगरा पुगेर सकुसल फर्किएलान् कि नफर्किएलान् भन्ने त्रास थियो ‘मधेस’मा । प्रतिक्रियामा देवानगञ्ज, घुस्की, नरसिंहतिरका मेहता र यादवहरू बराहक्षेत्र दर्शन गरेर फर्किन सक्दैनन् होला भन्ने भय पनि उत्तिकै थियो ।
कुराको उठान यसरी भयो । २०६४ माघ ५ गते लहान राजमार्गमा गोली चल्यो । रमेश महतो सहिद भए । त्यसपछि मधेस आन्दोलन चर्कियो । राजनीतिक उद्देश्यको आन्दोलनमा साम्प्रदायिक उग्रता यसरी थपियो कि त्यसले सनातनदेखि मिलेर बसेका मधेसी र पहाडे मूलका भनिएका दाजुभाइ, दिदीबहिनी, मितबा–आमा र छोराछोरीबीच फाटो बनाइदियो । सडकमा रूख ढालेर, टायर बालेर अधिकार माग्ने क्रममा जातीय द्वन्द्वको आगो पनि सल्काइयो ।
स्थिति काबुबाहिर जान उद्यत हुँदै थियो । म हाम्रो समाज पहिलेकै जस्तो शान्त र घृणामुक्त कसरी होला भन्ने सोच्दै थिएँ । कहिलेकाहीं प्रकृतिले पनि मनको कुरा बुझ्छ जस्तो लाग्छ । त्यही–बेला मधेस आन्दोलनको दुस्प्रभावले बाटो बिराउनुअघि कोसीको पानीले आफ्नो धार परिवर्तन ग¥यो । हिमालको चीसो पानी जति–जति तातिएको मधेसी बस्तीमा थपिन थाल्यो, उति–उति सहयोगी र उद्दारकर्मीहरू जुट्दै गए । त्यसरी उद्दारका लागि घटनास्थल पुगेका सेना, प्रहरी, अधिकारकर्मी, पत्रकार, राहत बोकेका, खटिएका अधिकतर हातहरू पहाडे मूलका थिए । सुष्मा कोइराला मेमोरियल ट्रस्टकी सुजाता कोइराला कता–कताबाट एक ट्रक चामल, तेल र सारीहरू मागेर, जम्मा गरेर राहत बाँड्न इनरुवा आइपुगिन् । सबभन्दा पहिले विराटनगरबाट मारवाडी समुदायका मानिसहरू राहत लिएर आए । तर, उपेन्द्र यादवहरू भने महिना बित्न लाग्दा पनि राहत बोकेर कटान क्षेत्रमा आएको समाचार लेख्न पाइएन ।
तिनै दिनमा मधेसतिरका भूमिपुत्र, पीडितहरूले बुझे, मधेस आन्दोलनलाई जातीय विद्रोह वा काठमाडौंमा हुने भनिएको ‘भैया’ मार्का व्यवहारगत असन्तुष्टिसँग जोड्नु गल्ती भइरहेको रहेछ । ‘हामीले आफ्नो छिमेकमा बस्ने दाजुभाइहरूप्रति गलत धारणा बनाइरहेका रहेछौं,’ उद्दार कार्य हुँदै गर्दा धरानबाट कटान पुगेर पत्रकार सीता मादेम्वाले बिबिसि नेपाली सेवामा गल्ती अनुभूत भएको स्थानीय आवाज मिसाइन् ।
बिस्तारै मधेसमा जलकुम्भी झारझैं फैलिन लागेको जातीय घृणा र द्वन्द्व घट्दै गयो । पहाडे समुदायका छिमेकीलाई भाग्न बाध्य पारेपछि समाज ‘एक्लो’ र ‘खल्लो’ भएको, विकासको पारो निकै तल झरेको अनुभव राजविराजतिरकाहरूलाई भयो । फर्केर आउने पहाडे समुदायका मान्छेहरूलाई फुलमाला लगाएर स्वागत गरिने अभिव्यक्तिहरू सार्वजनिक भए । हार्दिक निम्तो पाएपछि कतिपय छिमेकीहरू बाबु–बाजेले तराईको जङ्गल फाँडेर आर्जिएको पुरानो थाँतथलो फर्किए । जनजीवन सामान्य अवस्था उन्मुख भयो ।
भन्नु उसो होइन, कोसी तटबन्ध भत्किँदा नेपाल र भारतको बिहारमा अपुरणीय धनजनको क्षति भयो । तर, मलाई अझ पनि लागिरहेकै छ, अकल्पनीय त्यही दुर्घटनापछि हो, मधेसमा मर्दाका मलामी र ज्युँदाका जन्ती फेरि सँगसँगै हुनथालेको ।
त्योभन्दा केही वर्षअघि च्छो–रोल्पा ताल फुट्ने व्यापक हल्ला चल्यो । भनिन्छ, सबैथोक लुकाउने ठाउँ हुन्छ, डर लुकाउने ठाउँ हुँदैन । हल्लाको प्रभाव यति तीव्र प¥यो कि तल कोसी किनार प्रकाशपुर, राजाबासतिरका बासिन्दा धमाधम सस्तोमा जग्गा बेच्दै विराटनगर, इटहरीतिर बसाइँ सर्दै गरे । केहीले मरे पनि यहीं मर्ने हो भन्दै खसी–बोका, सुँगुर, पाडा काटेर ‘अन्तिम’ भोज खाए–खुवाए ।
म समाचारपत्रको जल्दोबल्दो रिपोर्टर थिएँ । स्थलगत रिपोर्टिङ गर्दागर्दै यति त्रस्त भइसकेको थिएँ कि कथम्कदाचित् राजाबासमा बाँध फुटेर पानी इनरुवासम्म आइहाल्यो भने कम्मर–कम्मरसम्म होला, त्यो बेला जोगाउनुपर्छ भनेर दराजको तल्लो खण्डमा राखिएका महत्त्वपूर्ण फायल, कागज र फोटोहरू माथिल्लो खण्डमा सारेको थिएँ ।
धन्न ! विदेशबाट आएकासहितका विशेषज्ञले तालमा तल दुलो पार्न सफलता प्राप्त गरेको अर्को समाचार सुन्न पाइयो । अकल्पनीय खतरा तत्काललाई ट¥यो । तर, अझै पनि बिबिसिले सम्झाउँदै छ, च्छो–रोल्पा ताल कुनै पनि बेला फुट्न सक्ने डर पूर्णतया हटिसकेको छैन ।
२०७२ वैशाख १२ गते प्रलयकारी भुइँचालोले पहाडको जग नराम्ररी हल्लायो । यस्तै बेलामा हो छिमेकीले छिमेकीलाई सम्झिने । मधेसका साथीहरू राहत सामग्रीसहित पहाड उक्लिए । यो दृश्य सामाजिक सद्भाव बिगारिएको–बिग्रिएको स्थिति सामान्य हुँदै गएको यथार्थ झल्काउने एउटा कोसेढुङ्गा थियो ।
तर, यस्तो सामाजिक यथार्थ र आवश्यकताविरुद्ध फेरि उचालिँदै छन् मान्छे । अनेकखाले डर र चिन्ता थपिँदै छन् । बीचमा पानी धमिलो बनाएर माछा मार्न पल्केकाहरू फेरि सक्रिय हुँदै छन् । निकै लामो समयसम्म तुस रहने द्वन्द्वमा धकेलेर, मिलेर बस्न चाहिरहेको समाजलाई डुबाउन खोजिँदै छ । फेरि कोसी बाँध फुट्नुपूर्वको अवस्थामा पुग्दै छौं हामी । समाजको वस्तुगत यथार्थ विश्लेषण र चिन्तनको खडेरी बढ्दै छ । भड्काउन र भड्किन चाहनेहरूको मात्रा थपिँदै छ । अमुक जातिलाई सोझो भन्दै उचाल्ने र थेचार्ने कसरतबाजहरू पाखुरामा तेल घसेर सुरिँदै छन् । यस्तोमा कुनै पनि जातिको भावना र धैर्यको बाँध भत्किन बेर लाग्दैन ।
तर, कुनै पनि वस्तु, क्षेत्र, विचार, सिद्धान्त र सपना सीमाहिन हुँदैन । जेको पनि एउटा निश्चित समय र सीमा हुन्छ । यद्यपि टीकापुर, रौतहट, सुर्खेत, भारदहमा भएका पछिल्ला घटनाक्रमले अझै मान्छेको चेत खुलेको देखिँदैन । आफ्नो ठाउँमा उही पुनरावृत्ति गराउन उद्यत छन् मान्छे । लाग्छ, कुनै नरमेध यज्ञको तयारी जोडतोडले चलिरहेको छ । आगोमा घिउ थप्नेले थपिरहेका छन् । सङ्घीयताका नाममा असन्तोष र हिंसा मच्चिएको छ ।
सारमा, परिस्थितिमा फुकाउन निकै समयलाग्ने गाँठो पारिँदै छ । इटहरी र कोसी ब्यारेजमा लिम्बुवान चाहनेहरू चोक कब्जा गर्छन्, झन्डा गाड्छन् । झुम्का, दुहवीमा थारुवान स्वायत्त राज्यको बोर्ड र पाल टाँगेर मान्छे बसेका छन् । इनरुवामा मधेस प्रदेसका लागि झाडु, लाठी र पुतला जुलुस जारी छ । मात्र १८ किलोमिटरको सेरोफेरोमा देखिएको यो ‘रामलीला’ कहिले सकिन्छ ? न रमितेलाई थाहा छ, न अभिनयकर्ता, न निर्देशकलाई थाहा छ । यस्तो पृष्ठभूमिमा आम नेपालीको धैर्यको बाँध फुट्न अब धेरै दिन बाँकी छैन । तर, कहिले कुन रूपमा कसरी फुट्छ र त्यसको परिणाम कति भयावह हुन्छ ? आँकलन गर्न गाह्रो छ । यद्यपि अहिलेको परिस्थिति विचार गर्दा त्यो दिन नजिकिँदै छ जस्तो लाग्छ । तराई, मधेस, भित्री मधेस, पहाड, उपत्यका, हिमाल, पठार जताबाट फुटे पनि अति भएपछि धैर्यको बाँध फुट्छ । यो द्वन्द्वको विज्ञानसम्मत नियम नै हो । तर, यो कुराबाट बेखबरहरू अलिकति धक्का दिँदैमा के फरक पर्ला र ! भन्ने बालहठ समातेर बसेका छन् ।
विडम्बना यसरी कसैले जनताको धैर्यको बाँध फुट्नै लागेको छ भन्दा धेरैले पत्याइरहेका छैनन् । लाग्छ, उनीहरू अज्ञात प्रलयको प्रतीक्षामा छन् । तर, जसलाई जेको प्रतीक्षा भए पनि म विश्वस्त छु, नेपाली जनताको धैर्यको बाँध फुट्छ एकदिन । त्यसपछि को कहाँ पुग्छन्, के हुन्छ, अहिले नै कसरी भन्नु ?
यहाँनेर एउटा अर्को जिज्ञासा पनि समीचिन छ । कि, हामी यसरी जानी–नजानी अझ कतिपटक सामाजिक सद्भावको दहमा ढुङ्गा फाल्दै जाने ? त्यसरी मैलिएको एकताको पानी पुनः सङ्लो बनाउन र जातीय सद्भावको महत्त्व बुझाउन अमुक नदी, पोखरी र तालको बाँध कतिपटक फुट्नुपर्ने हो ? कतिपटक भुइँचालो जानुपर्ने हो ?
...

bisnuprasad.bg@gmail.com




खोजेको हामीले के हो ?
– सुविद गुरागाई

‘खोजेको हामीले के हो ? सोचेको हामीले के हो ?
यो हो कि अथवा त्यो हो ? रोजेको हामीले के हो ?’
साँच्चै खोजेको हामीले के हो ? अहिले सडकदेखि सदनसम्म जे–जस्तो जनमत सङ्कलित हुँदै छ, के त्यो आफ्नो उद्देश्यमा प्रष्ट छ ? सडकमा देखिएकामध्ये बहुदा मानिसहरूको मनमा छ, छोराछोरीहरूले राम्रो पढ्न पाएनन् । उनीहरूको भविष्य बिग्रिने भो । फेरि त्यही मनमा शिक्षकहरूले विद्यालय बन्द गरिदिएनन् भन्ने गुनासो पनि छ । बाल अधिकार आत्मसात गर्नुपर्छ, बालबालिकालाई राजनीतिक उद्देश्यले प्रयोग गर्नु हुँदैन भन्ने हामी हरेकलाई थाहा छ तर अमुक राज्यको सिमाना हेरफेर गराउन हामी नै बालबालिकाको अर्धनग्न जुलुस निकाल्छौं ।
बन्द कुनै पनि अर्थमा ठिक होेइन, बन्द सदाका लागि बन्द गरौं भन्नेहरूको बहुमत छ । तर, त्यसैभित्र बन्दको मौन समर्थन गर्नेहरूको सङ्ख्या कम छैन । कहिले सङ्घीयता चाहिन्छ भन्ने कहिले अखण्डता हाम्रो लक्ष्य हो भन्ने गोलचक्करमा घुमिरहेको छ, ‘एक युगमा एक पटक आउने’ भनिएको संविधान निर्माणको पटकथा । यसरी समाजमा जताततै अलमलै अलमल व्याप्त किन छ ? के पटक–पटकको आन्दोलन र बलिदानको प्रतिफल हामीले चाहेको यही हो ? सडकमा हात बनाएर ‘देखियो तिम्रो नयाँ  नेपाल पनि,’ र ‘बरु पुरानै नेपाल ठिक थियो,’ भन्ने अभिमत किन थपिन थालेको छ ?
‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक,’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्प्रेरणाले वर्षौं बितिसक्दा पनि नेपाली मनलाई नछोएको किन ? मुलुक समृद्ध बनाउने लक्ष्य, सपना नेपाल बन्दको अनपेक्षित रिहर्सलले सफल हुन्छ ? पटक–पटक बलिदान र सत्ता परिवर्तन गर्न गराउन सक्ने हाम्रो क्षमतामा प्रश्नचिन्ह किन बाक्लिँदो छ ? हामी दिशाहीन यायावर कहिलेसम्म हुने ? कुहिरोको काग भएर सँधै हावामा गोता खाइरहनु हाम्रो अभीष्ट हो ? होइन भने ‘निश्चित लक्ष्य नभएको मानिस साँच्चै बाँदर जस्तै हुन्छ,’ भन्ने लक्षणा–अर्थ चरितार्थ गर्दै हामी आफूमा कस्तो प्रवृत्ति हुर्काउँदै छौं ?
जनताले चाहेको सङ्घीय लोकतान्त्रिक नेपालको नयाँ संविधान बन्ने, घोषणा गर्ने तिथि किन सरेकोस¥यै गर्छ ? मुलुकका जिम्मेबार तथा जनताप्रति उत्तरदायी भएको दाबी गर्ने राजनीतिक दलहरू किन विषयको जटिलताप्रति साँच्चिकै गम्भीर हुन सकिराखेका छैनन् ? राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, नैतिक सवालमा जनता र मुलुकलाई समृद्ध बनाउने खाका कोर्ने काममा किन खेलाँची भइराखेको छ ? सकेसम्म समय लम्ब्याउने, तन्काउने र अरूलाई आफ्ना एजेन्डामा लतार्ने पट्यारलाग्दो बाघचाल खेल किन चलिरहेको छ ? विडम्बना हामी त्यही विलम्बताको आत्मरतिमा रमाइरहेका छौं ।
हामीलाई आफ्नो गाउँ–ठाउँ, आफ्नो मुलुक समृद्ध बनाउन औधि मन छ, सँगसँगै विदेशमा काम गर्न जान पाइएन, पासपोर्ट–भीसामा छुट पाइएन भन्ने चित्त–दुखाइ पनि उत्तिकै छ । यस्तो पृष्ठभूमिमा हाम्रो यो निःशुल्क राम–रमिता हेराइको क्रमभङ्ग कहिले होला ? हामी पलपल महत्वपूर्ण समय किन खेर फालिरहेका छौं ? के हामीलाई थाहा छैन, ‘जसले समयलाई बर्बाद गर्छ, त्यसलाई समयले बर्बाद गर्छ,’ भन्ने ? कि हामी हाम्रो राजनीतिक संस्कार र समाजिक व्यवहार अरूले समृद्ध बनाइदेला भनेर पर्खिराखेका छौं ? होइन भने आज हामीले हामीलाई यसरी प्रश्न गर्नुपर्ने अवस्था किन आइलागेको छ ?
संसारमा कुनै पनि आमूल परिवर्तन र समृद्ध समाजको निर्माण जनता नताती भएको थाहा छ ? प्रतिक्षा गर्नेले तिनै कुराहरू मात्र पाउँछन्, जो अगाडि जानेले छोडेका हुन्छन् भन्ने सुन्नुभएको छ ? बाटोे, घर, समाज र देश आफूले चाहेअनुकूल बनाउने आफ्नो दायित्व भुलेर हामी कतै अरूप्रति अनावश्यक निर्भर त भइरहेका छैनौं ? हामीले प्रयोग गर्ने बाटोमा किन खाल्डाखुल्डी परेको छ ? सवारीवाला, पैदलयात्री, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग आदि सरोकारवालाहरू किन आ–आफ्नो भूमिकामा सही तरिकाले प्रस्तुत हुन सकेका छैनन् ? बनाउनुपर्ने सडक, पुल किन समयमै बन्दैनन् ? सडकपेटी प्रयोग गरेर किन पैदलयात्रीहरू आरामले आफ्नो गन्तव्यमा जान पाउँदैनन् ? भएका जेब्राक्रसबाट हिँड्न किन चाहँदैनन् मान्छेहरू ?
सडकको यो उदहारण किन हाम्रो सदनमा पनि मिल्छ ? हाम्रा राजनीतिक नेतृत्व र पार्टीहरू किन हामीले सोचेजस्ता हुन सकेका छैनन् ? किन जुन जोगी पनि कानै चिरिएका मात्र आउँछन् ? किन हाम्रो समृद्धिको सनातन सपनालाई तुहाइएको छ ? किन हामी यो बेथिति स्वीकार गरिहेका छौं ? हामी कतै ‘सक्छौ प्रतिकार गर नत्र स्वीकार गर’ भन्ने यथास्थितिवादी चिन्तनबाट मनोग्रसित भएका त होइनौं ? फेरि, स्वीकार के गर्ने ? के हामी अक्षम छौं भनेर स्वीकार गर्ने ? हामीले मन मारेका छौं, हार खाएका छौं भनेर स्वीकार गर्ने ? कि हामी सधैं अरूद्वारा शासित हुन योग्य छौं भनेर स्वीकार गर्ने ?
हाम्रो परिसरमा अरूले आहा ! भन्नेखालको फूल रोप्न अझै बाँकी छ किन ? हाम्रो घरआँगन परिसर किन फोहोर व्याप्त छ ? हाम्रा कार्याकक्षहरू किन हामीले चाहेअनुकूल छैनन् ? कर्मचारीहरू किन भ्रष्टाचारमा लिप्त छन् ? घुस लिने–दिने दुवै राष्ट्रका सत्रु हुन् भन्ने दिव्य–उपदेश हामीलाई थाहा छ तर किन घुस दिन्छौं र लिन्छौं ? हाम्रा व्यापारीहरू किन मिसावट र छलीमा मग्न छन् ? हामी सामान किन्नुअघि त्यसको गुणस्तरप्रति किन सचेत छैनौं ? कलमजीवीहरू किन भ्रमजीवी देखिएका छन् ? हामी आफ्नो अधिकार खोज्दा अरूको अधिकारको सम्मान गर्न किन सक्दैनौं ? हामीमा यो चेत र चिन्तन कहिले आउँछ ?
गुट्काको खोल किन डस्टबीनमा छैन ? घरमा होल्डर छ तर त्यसमा बल किन छैन ? बसको छतमाथि मान्छे किन छन् ? थाहा छ, खाना खानुअघि साबुन पानीले हात धुनुपर्छ । तर, साबुन पानी हात हाम्रो व्यावहारिक जीवनमा सँगसँगै हुन किन सकिरहेको छैन ? पान खाएर जताततै थुक्ने बानी किन बनेको छ ? मान्छे नभएको कोठामा पङ्खा–हिटर किन चलिरहेका हुन्छन् ? सडक बत्ती दिनभरि किन बलिरहेको देख्न पाइन्छ । सडक बनाइसकेको पनि हुँदैन, खन्न हतार भइसक्छ किन ? के हामी बिना योजना काम गरिरहेका छौं ? हामी किन साना–ठूला कुनै पनि कुरामा गम्भीर छैनौं ? हामी जहाँ पालो पर्खिनुपर्ने ठाउँ हो, बैंक काउन्टर, बसस्टप, अस्पताल आदिमा हतार गर्छौं तर समाज तथा राजनीतिक यथास्थिति परिवर्तन र नयाँ सिर्जनाका लागि हतार गर्दैनौं किन ? ‘यहाँ यस्तै छ’ भनेर किन आफ्नो निरिहतामा गौरव गर्छौँ ? ‘नेपाली समय’ यस्तै हो भनेर हामी आफ्नो गम्भीर भुललाई किन सामान्यीकरण गर्छौंं ?
प्रष्ट छ, हाम्रो पढाइअनुसार व्यवहार मिलेको छैन । गुरुहरू लज्जित र विद्यार्थीहरू दिग्भ्रमित छन् । व्यक्ति एक्लैमा पनि समयमा आएको चेतनाको ठूलो मूल्य हुन्छ भन्ने सत्य हामीले बिर्सिएका छौं । हामीभित्रको स्वाभिमान, मान्छे हुनुको चेत र अन्तरआत्मा ‘कोमा’ उन्मुख छ । यस्तोमा प्रलय पनि आफैं होस् भन्ने चाहना राख्नु गम्भीर गल्ती हो भन्ने हामीलाई कसले बुझाइदिने ? के हामी अरूको इसारामा नाच्नुपर्ने कठपुतली हौं ? होइन भने कसैले धागो बाँधेर हाम्रा हातखुट्टा नचाइरहेको आभास किन भइरहेको छ ?
आफूले आफूलाई परिवर्तन नगरी, सबै खालका बेथितिप्रति प्रश्न नगरी सही जवाफ आउँदैन भन्ने हामीलाई थाहा छ, तर प्रश्न गरिएको छैन । बाहिर जनवादी तर भित्र व्यक्तिवादी नेताहरूलाई खबरदार गर्न सडकमा नओर्ली यथास्थितिबाट परिवर्तन हुन अझै वर्षौ लाग्छ भन्ने चेत हामीमा कहिले खुल्छ ? कक्षामा शिक्षक सिकाउँछ, समाजमा कोही पनि मान्छे दलित हुँदैन, कसैलाई पनि दलित भन्नुहुँदैन, कसैलाई पनि त्यस्तो व्यवहार गर्नुहुँदैन । विद्यार्थी प्रश्न गर्छ, त्यसो हो भने संविधानको अनुसूचीमा केही जातिलाई दलित हुन् भनेर किन उल्लेख गरिएको हो ? के जवाफ दिने शिक्षलले ? सनातनदेखि चलिआएको विकृति निमिट्यान्न पार्न चाहिने वास्तविक जागरण हाम्रो व्यवहारमा आउने कहिले ? त्यसको सट्टामा संविधानको प्रस्तावनामै दलित शब्द लेख्न लगाएर र दलित आयोग नै बनाएर पनाति पुस्तासम्म पनि किन दलित पहिचान र व्यवहारलाई संस्थागत गर्न उद्यत किन छौं हामी ?
‘जवाफै आएन किन ? सोधेको हामीले के हो ?
धमिलो किन छ विचार ? घोलेको हामीले के हो ?’
यतिबेला अनेक प्रश्नहरू सतहमा छन् तर चित्तबुझ्दो जवाफ आएको छैन । अगुवाहरू उत्तरदायी नभएकैले अनुयायीहरू प्रश्नको दलदलमा भासिएका हुन् । अहिले हाम्रासामु प्रश्नहरू तेर्सिएका मात्र छैनन्, तिनका बीचमा घातक स्वीकारोक्ति पनि छ, जुन पृष्ठभूमिमा मेरो गोरूको बाह्रै टक्का भन्नेहरू बढ्दै छन् । मैले भनेको ठिक, अरूले भनेको बेठिक । मैले गरेको तर्क, अरूले गरेको कुतर्क । मलाई भए पुग्छ, अरूलाई जेसुकै होस् । मलाई आफ्नो अधिकारसँग मात्र चासो छ, अरूको अधिकारका लागि अरू नै बोलुन् । यस्तै–यस्तै विरोधाभास बोकेर अखण्डता भए पनि ठिकै ठान्ने सङ्घीयतावादीहरू एकपछि अर्को थपिँदै छन् । एकातिर जनमतको कदर गर्छौं भनिन्छ, अर्कोतिर बहुमत जनताले भनेको मान्ने इच्छाशक्ति देखाइँदैन ।
हाम्रो अहिलेको बढ्दो अज्ञानता र मौनता स्वयम्का लागि घातक छ । तर, यो सवालको गम्भीरता बुझ्न अझ कति दिन लाग्छ ? हामी हाम्रा सपनाहरूको मुख्य आधार संविधान निर्माण गर्ने समय खेर फाल्ने कथित ‘आदरणीय नेता’हरूको तमासा हेरेर कति दिनसम्म मौन बस्ने ? हामी किन स्वीकार गर्ने यो घातकस्थिति ? किन समयछँदै सडकमा आएर खबरदारी नगर्ने ? हाम्रो सदनलाई हामीले खबरदारी नगरे कसले गर्छ ? परिवर्तन सम्भव छ, परिवर्तन हुन सक्छ, परिवर्तन गर्न सकिन्छ भन्ने हामीलाई थाहा छ । तर, परिवर्तन अहिले नगरे कहिले गर्ने ? ‘एक युगमा एक दिन अवश्य आउँछ’ भनेर कति दिन पर्खिने ? अहिले संविधान बन्न नदिन नानाथरी चलखेल भइरहेको छ । तर, त्यसलाई बुझ्न सक्ने ल्याकत हामीमा किन छैन ? प्रतिगमनविरुद्ध जनदबाब सिर्जना गर्ने काममा किन विलम्व भइराखेको हो ? कि हामीलाई नयाँ संविधान चाहिएको छैन ?
नयाँ मुलुक बनाउँछौं भन्नेहरूले बनाएको आठ प्रदेशको खाका केही हप्ता र छ प्रदेशको सीमाङ्कन केही दिन टिक्यो । अहिले पासा फालिएको सात प्रदेशकोे नक्सा कति घण्टा टिक्ने हो ? थाहा छैन । राज्य बनाउने जस्तो विषय भाँडाकुटी खेल भइरहेको छ । यस्तोमा प्रष्ट छ, प्रदेश सीमाङ्कनका प्रस्तावकहरू विज्ञको रायसापेक्ष हुन सकेका छैनन् । अगुवाहरूको राजनीतिक चेत र अभीष्ट अस्पष्ट छ । तर, यस्तो पिपलपाते नेतृत्व र तिनका अनुयायीहरूलाई अहिलेकै अवस्थामा कहिलेसम्म बेहोर्नुपर्ने हो हामीले ? के हामी यिनलाई दण्डित गर्ने क्षमता राख्दैनौं ? अझ कतिदिन भइराख्ने हामी यो बेथितिको साक्षी ? कहिलेसम्म भइराख्ने ‘जो अगुवा उही बाटो हगुवा’ उखान चरितार्थ गर्ने माउतेहरूको पछुवा ?
तराईतिर प्रहरीको गोली थाप्न निहुँ खोज्दै जानेलाई ५० लाख दिने चर्चा चलाइएको छ । आफ्ना छोराछोरीलाई पढ्न विदेश पठाएर (सुरक्षित राखेर) अरूका छोराछोरीहरूलाई मर्न उक्साउन किन उद्दत छन् अगुवाहरू ? यो सीमान्त मुलुकमा सजिलो छ, गरिबलाई ललिपप देखाएर लोभ्याउन । यस्तोमा कुनै ८० वर्ष सक्रिय जीवन बाँच्ने सोचिरहेको युवाले बाँकी जीवन जति मिहिनेत गरे पनि ५० लाख सञ्चित गर्न सक्दिनँ होला भन्ने निष्कर्ष निकाल्यो भने त्यो मुलुकका लागि कति प्रत्युत्पादक हुन्छ ? कति दुर्भाग्यपूर्ण र भयावह हुन्छ यसपछिको दृश्य ?
कहिले पहिचानको तर्क अघि सारिन्छ र भनिन्छ, मधेसमा पहाडको जमिन एक इन्च मिसाउनुहुँदैन । कहिले सामथ्र्यको आधार अघि सारिन्छ र भनिन्छ, तराईलाई चुरे पहाड नभइहुँदैन । बालहठ भने पनि शिखण्डी तर्क भने पनि यस्ता अलमलहरूमा समर्थन जुट्दै जाँदा हात लाग्ने बाँकी सिकाइ उपलब्धि के हो ? कल्पना गरिएको छैन ।
‘सुनेको हामीले के हो ? बुझेको हामीले के हो ?
यो कस्तो लाग्दै छ अर्थ ? बोलेको हामीले के हो ?’
लेखक, प्राध्यापक, डाक्टर बद्रीविशाल पोखरेलले हालै सामाजिक सञ्जालमा आफ्नो एउटा विशेष जिज्ञासा र चित्त–दुखाइ पोस्ट गरे । उनका अनुसार ‘सङ्घीयताबारे अहिले जे–जस्ता आन्दोलन भइरहेका देखिन्छन्, यो अरू केही दिन चलिरहने हो भने यस खालको सङ्घीयतालाई जनताले नै खै कसरी लिने हुन् ? संविधान बन्न नदिन केही नामधारी लेखक लागिपरेका रहेछन् । यस्ता लेखकमा किशोर नेपाल, कृष्ण खनाल, सिके लाल, खगेन्द्र सङ्ग्रौला रहेछन् । यिनले धेरैजसो जनता भड्काउने लेख लेखिरहेका छन्...।’
यसरी मुलुकका स्वनामधन्य प्राध्यापक, लेखक अगुवाहरूमै दिशाभ्रम भएपछि कसको के लाग्छ ? जिज्ञासा स्वाभाविक हुन्छ, एकपछि अर्को यस्ता कामहरू, विवादास्पद निर्णयहरू किन, कसको लहडमा हुँदै छन् ? अनि, आफ्नो निर्णयमा टिकिरहने नैतिक साहसबाट नेतृत्व किन स्खलित हुँदै छ ? नेतृत्व मूर्खताको हद पार गर्न किन लागिपरेको छ ? ‘पाजी, उल्लु, गधा, गोरु, कुकुर, बाँदर’ जस्ता विशेषण दिन लायकहरू अझ कति थपिने हुन् ? जे हो त्यो भन्दा–बोल्दा कसलाई के को आपत्ति ? नेपाल हिन्दू बहुल राष्ट्र भएकोमा कसैलाई कुनै शङ्का छ ? यदि छैन भने कसैले यो देशलाई ‘हिन्दू बहुल मुलुक’ बनाउनुपर्छ भन्दा अर्कोलाई टाउको दुख्नुपर्ने किन ? हुँदै नहुने ‘निरपेक्ष’ शब्द प्रयोग नगरौं भन्दा निरपेक्ष पक्षधरहरूसँग लिँडेढिपीबाहेक कुनै मौलिक तर्क छैनन् । आफ्नो पक्षमा विश्वसनीय उदाहरण नपाएपछि उनीहरू सनातन संस्कृतिको अवशेषका रूपमा रहेका बलि, छुवाछुत, बोक्सी, महिनाबारी जस्ता कुप्रथाको प्रचार गर्छन् र हिन्दू राष्ट्र हुँदैन भन्छन् । तर, दिनदिनै ती कुप्रथारूपी जलकुम्भीहरू सफा गर्दै, डढाउँदै लगिएको र केही समयपछि तिनलाई निर्मूल पार्ने दिशातिर सनातनी समाज अग्रसर रहेको सकारात्मक प्रयासहरूको चर्चा गर्न उनीहरूलाई लज्जाबोध हुन्छ ।
सति, कमारा–कमारी जस्ता कुप्रथाहरू सनातनी समाजबाट उन्मूलन भइसके । अहिले भग्नावशेषका रूपमा रहेका विभेदका ऐजेंरुहरू क्रमशः कम हुँदैछन् । समाजमा शिक्षा र चेतना बढ्दै जाँदा सबैखाले विभेदहरू पुरानो पुतको अवसानसँगै अब एक दशक पनि टिक्नेवाला छैन । तर, विडम्बना समाजको यस्तो स्वाभाविक गतिलाई दिग्भ्रमित पार्ने प्रयासहरू बढेका देखिँदैछन् । हामी मिलेर बस्छौं भन्दा, ‘अहँ हुँदैन, हामी अलग–अलगै हुनुपर्छ, हामी आफ्नो आफ्नो पहिचान अलग्गै बनाउँछौं, हामी मिसिन सक्दैनौं,’ भनिदैछ । भनाइँदैछ । तर, हामी सोचौं, के हामी स्व–प्रेरणाले यो विभेदको, अज्ञानताको स्थिति अझ सघन बनाउन चाहिरहेका छौं ? हामी कसका लागि यो सब गरिरहेका छौं ?
‘हामी किन फेरि थप अँध्यारोमा रमाउन बानी परिरहेका छौं ?
हामी बुझेरै कि नबुझेर यो बेथितिमा ल्याप्चे लगाइरहेका छौं ?’
०००
bisnuprasad.bg@gmail.com

गजल
– सुविद गुरागाई

खोजेको हामीले के हो ?
सोचेको हामीले के हो ?

यो हो कि अथवा त्यो हो ?
रोजेको हामीले के हो ?

जवाफै आएन किन ?
सोधेको हामीले के हो ?

धमिलो किन छ विचार ?
घोलेको हामीले के हो ?

यो कस्तो लाग्दै छ अर्थ ?
बोलेको हामीले के हो ?
०००
bisnuprasad.bg@gmail.com

कविता

चर्को मध्यान्न

–सुविद गुरागाईं

२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे
यो त्यही बेला हो
जतिबेला तिमीलाई आभास थिएन
कुनै प्रलयको
तिम्रो बलौटे विश्वासमाथि
एउटा थोपा पहिलो धक्का दिन
उत्तेजित भइसकेको थियो
रति विश्वास थिएन तिमीलाई
तित्रीगाछी भङ्गालोले नाघ्ने बेला भयो
कुविचारको सिमाना
डङ्गर गिद्धको लोपोन्मुख छाया
चर्को मध्यान्नमा
स्थानीय जडताको सिनोगन्धमाथि
लालयित भइबसेका साक्षी सिमलका रुखहरू
एक–अर्कामा कस्दै थियौ अपत्यारको डोरीले
भयभित म खलखल
न रुनु, न हाँस्नु, न पागल हुनु
हेर्दा–हेर्दै बग्न लागेको अन्तिम सीमास्तम्भ
डब्लू पी १९५ अब्लिक ९ नजिकै
पोलियो उद्दार टोली
फोटो सेसनमा रमाइरहेको भद्दा दृश्य
क्षतविक्षत चेतना कुल्चिएर पूर्वतिर
ओ ! घटिया इन्जिनियर,
खण्डन विज्ञप्ति लेख्दालेख्दै किन भागेको ?
हराएको सात हजार बिघा जमिन हुँदै
रानीगञ्ज भन्सारको किनारै–किनार
भर्खर दुई लाख ६५ हजार क्युसेक पुगेको छ
हाम्रो आवेग र दरिद्रता
पर्ख एकछिन अरू रमिता सङ्कलन गर
र, नयाँ पटकथा लेख ओस्कार जित्न
विस्थापित र सट्टाभर्ना सपनाहरूको ।
भ्रष्ट मधेस मुद्दाको ।
रोटी, बेटी र पानी सम्बन्धको ।
दशगजा हराएको ।
०००

धर्म सापेक्षताको पक्षमा
– सुविद गुरागाई

कृपया जसले ‘राज्य भनेको धर्म निरपेक्ष हुनुपर्छ,’ ‘राज्यको कुनै धर्म हुँदैन,’ आदि भनिरहेको छ, सारमा उसले धर्म शब्दको अर्थ नबुझेजस्तो लाग्छ । धर्म भनेको अविधा अर्थमा धारण गर्नु हो । सत्य जे हो, त्यो धर्म हो । समय, परिस्थिति, व्याख्या आदि अनुसार सत्य फरक–फरक हुन सक्छ भन्नेहरू पनि छन् । तर, यो भ्रम हो । पूरा कुरा बुझ्न बाँकी रहेको अवस्था हो । सत्यलाई बुझ्नु, त्यसलाई आफूमा धारण गर्नु र सोहीअनुरूप कर्तव्य निर्वाह गर्नु, मानव धर्म हो । यसको एउटा उदाहरण हेरौं । अहिंसा परमो धर्म भनिन्छ । यसको अर्थ हो, म कुनै पनि प्रकारको हिंसा गर्दिनँ भन्ने विचार मनमा लिनु र सोहीअनुरूप व्यवहार गर्नु । निश्चय नै हिंसा पाप र अहिंसा ठूलो धर्म हो । असल आचरण, सदाचार धर्म हो ।
लक्षणा अर्थमा धर्म नीति हो, नियम हो । कर्तव्य हो । अनुशासन हो । उज्यालो, ताप दिनु सूर्य (घाम)को धर्म हो । पोल्नु आगोको, तीर्खा मेट्नु पानीको धर्म हो । आँपको रुखले आँप नै फलाउनु त्यो रुखको धर्म हो भने आँपको रुखले अरू केही फलाउनु वा फल्न थाल्नु अधर्म । दिनरात भइदिएर, आफ्नो अक्ष र कक्षमा घुमिदिएर पृथ्वीले अहिलेसम्म आफ्नो धर्म निर्वाह गरिरहेको छ । माटोको धर्म सिर्जना उमार्नु र बिरुवाको धर्म सिर्जित हुनु हो । यात्रीलाई लक्षित गन्तव्यमा प¥याउनु सवारी चालकको धर्म हो । अँध्यारोबाट उज्यालोतर्फ जाने बाटो देखाउनु गुरुको धर्म हो । त्यो बाटोमा हिँड्नु शिष्यको धर्म हो । त्यसैगरी, किसानको धर्म के हो ? चिकित्सकको धर्म के हो ? प्रहरीको धर्म के हो ? सैनिकको धर्म के हो ? न्यायाधीशको धर्म के हो ? पत्रकारको धर्म के हो ? तपाईलाई थाहा नै छ । नबुझेकालाई कुरा बुझाउनु नेतृत्व, सहजकर्ता, लेखक–कवि आदि समाजका अगुवा वर्गको धर्म हो ।
परिवारको, समाजको, राज्यको अर्थात् हरेक वर्ग समुदायको एउटा धर्म हुन्छ । जङ्गलको एउटा धर्म हुन्छ । बाघको एउटा धर्म हुन्छ । सबैले आफ्नो गच्छे र क्षमताले भ्याएसम्म धर्म धानेका हुन्छन् । व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण, मूल वृत्ति, प्रकृति वा स्वभाव धर्म हो, जुन स्वाभाविक र सहज हुन्छ । कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य धर्म हो । स्वर्ग प्राप्त गर्न सकिने लोक–विश्वास भएका सनातनीहरूका अनुसार पुण्य कार्य धर्म हो ।
ठोस, तरल, ग्यास, अणु–परमाणु आदि जुनसुकै आकार–प्रकार भएका पदार्थको आ–आफ्नै धर्म हुन्छ । आकार नभएका भनिएकाहरूको पनि एउटा धर्म हुन्छ । निराकार केही छैन । मात्र हामीले त्यसको आकार थाहा पाउन वा व्याख्या गर्न बाँकी हो । ब्रह्माण्डको आकार गोलो, लाम्चो, चारपाटे वा अन्य कस्तो प्रकारको छ ? अहिलेसम्म वैज्ञानिकहरूले भन्न सकेका छैनन् । यसको अर्थ, ब्रह्माण्ड निराकार छ भन्ने होइन । यो कत्रो छ ? कति परसम्म छ ? खोजी हुन बाँकी छ । भनिनँ बाँकी छ ।
अहिले अधर्मले धर्मलाई जितेको छ भनिन्छ । तर, होइन । समाज यदि आफ्नो गतिमा चलिरहेको छ, मान्छे बस्न लायक छ भने हामीले बुझ्नुपर्छ, त्यहाँ धर्मले अधर्मलाई पछारेको छ । विभिन्न तह र तप्काले आ–आफ्नो काम इमानदारीपुर्वक गरिरहेका छन् र नै यो समाज चलिरहेको छ । नत्र समाजको जुइँना उहिल्यै खुस्किसकेको हुन्थ्यो । सानो उदाहरण हेरौं । यहाँ पत्रकारहरू ‘पित पत्रकारिता’ गर्छन् भन्ने आरोप छ । के साँच्चै यहाँ पत्रकारहरूले आफ्नो धर्म निर्वाह गरेका छैनन् ? यदि सबै पत्रकारहरूले लत्तो छोड्ने हो भने समाजमा पत्रकारिताको काम हुनै सक्तैन । पुर्खाहरू ‘हृदयमा हरि हुनुपर्छ,’ भन्थे । यसको अर्थ हो, हरेक मानवको अन्तरआत्मामा प्रज्ञा र करुणाको भाव विकास गर्नुपर्छ । धर्मको ख्याल हुनुपर्छ । निश्चय पनि यदि कुनै मानवमा दया, माया, सेवा, दान, त्याग जस्ता कार्मिक भाव छन् भने ऊ मानव धर्म सापेक्ष हुन्छ ।
त्यस्तै, निरपेक्ष केही हुँदैन । सबै यो पृथ्वी, विश्व ब्रह्माण्ड, यहाँका हावा, पानी, ढुङ्गा, माटो, वनस्पति, प्राणी आदिसँग सापेक्षित भएर विकास वा पतन हुने हुन्छ । जसले राज्य भनेको धर्म निरपेक्ष हुन्छ वा हुनुपर्छ भनिरहेका छन्, त्यो विचार पनि निरपेक्ष होइन । यही समाजको सापेक्षतामा विकास भएको एउटा वैकल्पिक विचार हो । एक पक्षबाट सोचिएको कुरा हो । खासमा यो विचार धर्मको खोल ओडेका कठमुल्लावादीहरूको व्यवहारले क्षुब्ध भएर व्यक्त गरिएको प्रतिक्रिया मात्र हो । यो पनि सापेक्षतावादी सिद्धान्तकै एउटा अङ्ग हो ।
यो विश्व ब्रह्माण्डमा कुनै पनि कुरो निरपेक्ष छैन । निरपेक्ष भनेको शून्य हो । शून्य केही हुँदैन । अङ्कमा शून्य देखाउनुप¥यो भने पनि वरपरबाट गोलो घेराको सहारा लिनुपर्छ । कुनै पनि सिर्जनाका लागि एउटा आधार चाहिन्छ । पृथ्वीको जन्म, जीव, वनस्पति, सभ्यता–संस्कृति, दर्शन–विचार आदिको उत्पत्ति र विकास सबै सापेक्षताको सिद्धान्त अन्तर्गत भएका तथ्य हुन् । विश्वमा कुनै पनि कुरा आँफैंमा स्वतन्त्र नभई अर्कासँग कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त सापेक्षवाद हो । यस अर्थमा गहिरिएर मनन गर्दा के साँच्चै कुनै पनि राज्य धर्म निरपेक्ष हुन्छ ? वा हुन सक्छ ?
‘धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता हो । सबैले आफ्नो धर्म मान्न पाउने, सबै धर्मको सम्मान हुने अवस्था हो,’ भन्नेहरू पनि केही सङ्ख्यामा छन् । उनीहरू राज्यको धर्म हुन्छ वा हुँदैन भन्ने पक्षमा तटस्थ हुन चाहनेहरू हुन् । तर, यसमा पनि धर्म सापेक्षताको पर्याप्त अंश छ । राज्यले सबै धर्मको अस्तित्व स्वीकार गर्नुपर्छ, अर्थात् सबै धर्मलाई सम्मान हुने वातावरण बनाउनुपर्छ भन्नु धर्म सापेक्षता हो । कुनै पनि राज्यले उसको धर्म जे हो त्यो पहिचान, अङ्गीकार र पालना गर्नु–गराउनुपर्छ भन्ने तर्क यसमा छ । राज्य गैर–धार्मिक हुनै सक्दैन । राज्य समानता, न्याय र धर्म संस्थापनाका लागि मानिसहरूद्वारा निर्मित एउटा विशेष अवधारणा हो । त्यसकारण पनि राज्य धर्म सापेक्ष हुनुपर्छ । राज्य धार्मिक हुनुपर्छ । राज्य न्यायिक हुनुपर्छ । म धर्म मान्दिनँ, म धर्म निरपेक्ष हुन्छु भन्न राज्यले पाउँदैन । राज्य भनेको लोककल्याणकारी हुनुपर्छ । लोकको कल्याण गर्नु राज्यको धर्म हो । यस अर्थ पनि राज्य धर्म सापेक्ष हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत् नेपाली शब्दकोशमा ‘निरपेक्ष’ शब्दको अर्थ, ‘१. कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने । २. कुनै चासो नराखिएको; उपेक्षित । ३. असम्बन्धित; सम्बन्धदेखि मुक्त,’ लेखिएको छ । के हामीले राज्यको धर्मको सवालमा चाहेको त्यस्तै हो । जसले जे गरे पनि हुने ? धर्मको हेक्का, डर नभएको समाज वा राज्य ? भर्खर जन्मिएको बच्चाको हेरचाह र सुरक्षा गरेर पशु समुदायले त आफ्नो धर्म निर्वाह गर्छ भने मानव समुदायमा त्यति पनि विवेक हुन्न ?
हालै एक जना मित्रले फेसबुकमा ‘गाईको मासु खानेहरू मङ्गल ग्रहमा पुगिसके । गाईको पिसाब खानेहरू पृथ्वीमै छन्,’ भन्दै आफ्नै अज्ञानता झल्काउने पोस्ट राखे । खासमा गोराहरू गाईको मासु खाएका कारणले मङ्गल ग्रहमा पुगेका होइनन् । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक,’ लेखेको धेरै वर्षपछि मात्र पश्चिमाहरूले चन्द्रमामा पाइला टेकेको तथ्य ती मित्रलाई थाहा नभएको उनको कुराबाट झल्किन्छ । महाभारतकालीन समयमा विज्ञानको जुन विकास भएको कल्पना पूर्वको पवित्र भूमिमा गरिएको थियो, त्यतिको कल्पना आजसम्म पनि पश्चिमाहरूले गर्नसकेका छैनन् । क्षणमै मान्छे अलप हुने र क्षणमै मान्छे प्रकट हुने वैज्ञानिक उपलब्धि ऊ बेला कल्पना गरिएको थियो । त्यसतो उच्चतम् क्षमता विकास गर्न अझ कति वर्ष लाग्ने हो ?
आज संसारमा क्रिस्चियन धर्म सापेक्ष राष्ट्रहरू छन् । इस्लाम धर्म सापेक्ष राष्ट्रहरू छन् । बौद्ध धर्म सापेक्ष राष्ट्रहरू छन् । तर, जब हिन्दू धर्म सापेक्ष राष्ट्रको कुरा उठ्छ, ‘अहँ हुँदैन !’ भनिन्छ । किन ? अमेरिका जस्तो सम्पन्न र अग्रणी राष्ट्रका राष्ट्रपति ‘बाइबल’मा हात राखेर ‘ईश्वर’का नाममा सपथ खान्छन् । त्यो क्रिश्चियन धर्म सापेक्षता हो कि होइन । यदि होइन भने हाम्रा राष्ट्रपतिलाई ‘गीता’मा हात राखेर ‘ईश्वर’ का नाममा सपथ खान कसले र किन रोकिराखेको छ ?
अहिले धर्म परिवर्तन गराउनेहरूको मेला लागेको छ । खासमा दुःखी, गरिब, भेदभावमा परेका, सीमान्तकृत समुदायका हिन्दू सनातनीलाई छानी–छानी धर्म परिवर्तन गराइँदै छ । यसका लागि प्रयोग भएकाहरूले प्रेम, विवाह, औषधि, पढाइ र नोकरीलाई आवश्यकताअनुसार हतियार बनाएका छन् । यो आपत्तिजनक प्रवृत्तिलाई लक्षित गर्दै अखिल विश्व गायत्री परिवार, हरिद्वारका तर्फबाट केही दिनअघि एउटा जिज्ञासा सार्वजनिक गरिएको थियो । गायत्री परिवार भन्छ, ‘भोक’भन्दा ठूलो धर्म र ‘रोटी’भन्दा ठूलो ईश्वर यदि कतै छ भने कृपया देखाइदिनुहोला, हामी पनि धर्म परिवर्तन गर्न चाहन्छौं । तर, धर्म परिवर्तन गराउन चाहनेहरूले निकै दिन बितिसक्दा पनि यो जिज्ञासाको चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।
नेपाली माटोमा जन्मे हुर्केका सिद्धार्थ गौतम, बुद्ध (ज्ञानी) भएर आजन्म हिन्दू धर्ममा सुधारको कुरा गरे । मूर्ति पूजा परम्परा र अन्धविश्वास प्रवृत्तिको विरोध गरेर बुद्धले हिन्दू धर्म संस्थागत गर्न ठूलो गुन लगाए । ‘अप्पो दिप भवः’ भनेर बुद्धले संसारभरिका मानव समुदायलाई आफूभित्र विद्यमान ‘उज्यालो’ रुपी ‘ईश्वर’ चिन्न र धर्म सापेक्ष हुन प्रेरित गरे ।
सारमा, हामी आफ्नो ‘तपोभूमि’मा पुर्खाहरूले विकास गरेको पूर्वीय सभ्यताबाट जति विमुख हुन खोज्दै छौं, उति आफ्नो पहिचान र राष्ट्रियता कमजोर बनाउँदै छौं । दुःख लाग्छ, हामी हाम्रो धरातलीय यथार्थ र गौरवशाली इतिहास बिर्सेर पश्चिमाहरूको नक्कल गर्दै के हुन उद्यत छौं ? जबकि उनीहरू नै भन्दै छन्, ‘गीताभन्दा उत्कृष्ट दर्शन अरू छैन ।’ हेनरी डेभिड थोरोलाई, ‘भागवत् गीताको तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्तै निरीह लाग्छ ।’ मेरिना क्रिस्टिनाका लागि ‘गीता अत्यन्त प्रिय ठहरिएको छ ।’ विलियम रोवर्टस्का अनुसार वेदमा लेखिएका कुराले अनन्त सत्यलाई प्रस्तुत गर्छन् ।’ आर्थर भर्सलुइ भन्छन्, ‘हामीले वेदान्ततिर फर्कनु आवश्यक छ, किनकि उपनिषद्हरूले आदिमकालदेखि प्राप्त हुने विशुद्ध तत्व–मीमांशाको ज्ञान प्रदान गर्छन् ।’
यसरी पश्चिमाहरूले गीताको प्रशंसा त्यसै गरेका होइनन् । गीता जीवनको दर्शन हो । यसमा भनिएको छ, धर्मो रक्षति रक्षतः । अर्थात् तिमी धर्मको रक्षा गर । धर्मले तिम्रो रक्षा गर्नेछ ।
०००
bisnuprasad.bg@gmail.com
लुतो फाल्ने पर्व

– सुविद गुरागाई

फाल्नुपर्ने केही शब्द बाँकी छन्
शब्दकोशमा
अर्थको खोजीमा शब्दहरू
पिल्सिइरहेका छन्
मनभित्र ।

अराजनीतिक
अपवित्र
अनैतिक
भ्रष्टाचार
कुसंस्कार व्याप्त छ मान्छे
फोहोर समय छ ।

‘सयमा दस पाँच धनी गनिनु
अरूले तिनको करिया बनिनु
विधिको यदि यै छ विधान भने
अब त्यो विधिको पनि आयु पुग्यो ।’

महत्वपूर्ण थियो कविको आग्रह
अफसोच !
कविता सङ्ग्रहका पानाहरू
च्यातिएछन् जिरा–मरिच पोको पार्न
सडकमा फालिएको भेटें ।

जो फालिनुपथ्र्यो, ती यथावत् छन्
छिः !
किन बाँकी छन् ती शब्दहरू
शब्दकोशमा ?
०००
असफल राष्ट्र

– सुविद गुरागाईं

'सफलता खोज्दा–खोज्दै जीवन बिताएँ ।
बुद्ध हुन हिँड्दा–हिँड्दै यौवन बिताएँ ।'...
मनका भाव र काफियाको तालमेल नभएपछि गजलगोले सोच्यो– पशुपतिनाथको कृपाले यो राष्ट्र अहिलेसम्म असफल भइसकेको रहेनछ । यदि राष्ट्र असफल भएको भए, पूरै गजल त के मत्ला–ए–उलासमेत फुर्न छोड्थ्यो होला । तखुल्लससम्म पुग्ने त सोच पनि हुँदैनथ्यो होला । गजलगोहरूले लेख्न छोडेपछि गायकहरूले पनि गाउन छोड्थे होलान् । गायकी र वाद्यवादनमा नेपाली घराना बन्दै गएको सन्दर्भ पनि बीचैमा छोडिन्थ्यो होला ।
कविहरू कविता लेख्न छोड्थे होलान् । पत्रकारहरू समाचार छाप्न छोड्थे होलान् । गुरुहरूले प्रवचन बन्द गर्थे होलान् । शिक्षकहरू पढाउन छोड्थे होलान् । छात्रछात्राहरूले पढ्न छोड्थे होलान् । राजनीति गर्न खोज्नेहरूले त्यस्तो विचार त्याग्थे होलान् । चालकहरूले यात्रा रोक्थे होलान् । ज्यामीहरू भारी बिसाउँथे होलान् ।
चित्रकारले कोर्दा–कोर्दैको मूर्त–अमूर्त चित्र अधुरो छोड्थे होलान् । खेलाडीहरूले खेल्न, किसानहरूले खन्न, मजदुरहरूले काम गर्न र चिकित्सकहरूले बिरामी जाँच्न छोड्थे होलान् । कलाकारहरूले देखाउँदा–देखाउँदैको अभिनय थाती राख्थे होलान् । कथाले मागेपछि निर्देशकहरूले रिल लाइफ प्याक–अप गर्थे होलान् । मूर्तिकारले छिनो, सूचीकारले सियो, कुचिकारले कुचो थन्क्याउँथे होलान् । धामी–भाँक्रीले मन्छिन लागेको भाकल छोड्थे होलान् ।
युवाबिना डेटिङ स्पट र हिल स्टेसनहरू सुनसान हुन्थे होलान् । पण्डितहरू लगन छैन भन्थे होलान् । हात हेर्नेहरू कर्मवादी हुन्थे होलान् । पाहुनाहरू होमस्टेबाट फर्किन्थे होलान् । पाइलटहरू ह्याङ्गरबाट बाहिरिन्थे होलान् । अभियानकर्मीहरू प्रपोजल मिलाउन छोड्थे होलान् । प्रयोगकर्ताहरूले सामाजिक सञ्जालको लक्ष्मणरेखा नाघ्थे होलान् ।
सडक बालकहरू जुर्मुराउँथे होलान् । कबाडी सङ्कलक र फेरीवालहरू सङ्गठित हुन्थे होलान् । ठेला, रिक्सा, सिटी सफारीहरू थन्किन्थे होलान् । नागा बाबा, जोगी, मगन्ते, पागलहरू भीडको एउटा भाग हुन्थे होलान् । कर्मचारीहरू दस्तखत गर्न, माझीहरू माछा मार्न छोडेर रमितामा सहभागी हुन्थे होलान् । बिचौलिया, वेश्याहरू पनि सडकमा आउँथे होलान् । कुकुरहरू जोड–जोडले रुन्थे होलान् । बन्दीहरूले जेल–ब्रेक गर्थे होलान् ।
रेडियोहरूले शोक धून बजाउँथे होलान् । घाटे वैद्य र मानिस पोल्ने मानिसहरू पूर्ण तयारीमा बस्थे होलान् । अबिर यात्राको तयारी पूर्ण हुन्थ्यो होला । सिपाहीहरू खाँडो जगाउन तम्तयार हुन्थे होलान् । ट्राफिकहरू सडक–छेउ लाग्थे होलान् । समय उकुसमुकुस हुन्थ्यो होला । धैर्यताको सेतुबन्ध भत्किन्थ्यो होला ।
पुजारी, लामा, पादरी, मौलवीहरूले प्रार्थना रोक्थे होलान् । दृष्टिविहीनहरू चलमलाउँथे होलान् । ध्वजा–पताकाहरू फह¥याइन्थे होलान् । सुस्त मनस्थितिहरू पनि पछिपछि लाग्थे होलान् । जताततै पाञ्चजन्य गुञ्जिन्थ्यो होला । रिसल्लाहरू जेब्राक्रस छिचोलेर अघि बढ्थे होलान् ।
राष्ट्र असफल भए नुन, तेल, बेसाहा पाइन छोड्थ्यो होला । बजारहरू बन्द हुन्थे होलान् । गाडीहरू गुड्न, इन्जिनहरू चल्न छोड्थे होलान् । ग्यास, दाउरा, बिजुली, पानीको चरम अभाव हुन्थ्यो होला । खान पाइन छोडेपछि, लाउन पाइन छोडेपछि सेक्युरिटी गार्डहरू, गृहिणीहरू, अगुवाहरू, पछुवाहरूसहित कोही पनि सरोकारवालाहरू घरमा चुप लागेर बस्ने थिएनन् होला । जनता घरबाट सलक्ष्य सडकमा निस्कन्थे होलान् । र, भन्थे होलान्– 
‘आज कि म छैन कि त्यो छैन !
थाहा हुन्छ अब को–को छैन ।’
०००
bisnuprasad.bg@gmail.com


मिस यु सिकिया !

    – सुविद गुरागाई
    ठेठी भाषामा कनेल भनिने पहेंलो फूललाई हामी करबिरे भन्थ्यौं । त्यही फूलको रस चुसेर मेरो बालापन हुर्केको हो । विशेषगरी तराईमा पाइने यो फूलको फेदमा लुकेको रस महभन्दा कम मिठो हुन्न । साथीहरूमाझ म बाल–अन्वेषक, अगुवासरह थिएँ । सानोमा यो फूल यसरी चुस्नुपर्छ भनेर मैले धेरै साथीहरूलाई सिकाएँ । अथवा भनौं, मैले मिठो मानी–मानी चुसेको देखेर अजय, सन्तोष, विष्णु, लैलुन र अरू धेरै साथीहरूले करबिरे चुस्न जाने । तर, करबिरे फूलसँग मात्र होइन, समग्र मधेससँग मेरो कार्मिक सम्बन्ध कम स्मरणीय, लोभलाग्दो र मायालु छैन ।
    २०२४ साल कात्तिक ५ गते आइतबार बिहान पाँच बजेतिर (दोस्रो पटक भाले भर्खरै बासेको थियो रे !) जैविक प्रक्रिया पूरा गरेर मेरो आगमन भएको भोलिपल्ट आमाले रोपिदिनुभयो, मेरो सालनालसहित रगत, बबिया वडा नम्बर ३ (सुनसरी)को माटोमा । यो पृथ्वीमा ।
    जलेबिया मितबा (आमा भन्नुहुन्छ, उहाँ मेरो बुबाको गाँजा खाने साथी हो । विधिपूर्वक मित लगाइएको थिया रे !)को छोरा थियो, मिल्ने बालसखा, मुसलमान । उसको वास्तविक नाम के थियो थाहा छैन । सबै जना सिकिया–सिकिया भन्थे । म पनि उसलाई सिकिया नै भन्थें । सँगसँगै घर थियो । नाङ्गै कुद्थ्यौं । धूलो खेल्थ्यौं । सैजुन, सरिफा, कपास, मेवाका बुटाहरू चढ्थ्यौ । सेवइ खान्थ्यौं । आमाले कम्मरमा कन्दनी बाँधिदिनुभएको थियो, कन्दनीमा पुवाँलोका दाना जस्ता फलामका दाना झुन्ड्याइएको हुन्थ्यो । छुन्दु्रङ–छुन्दु्रङ बज्ने ।
    एउटा टिनको बाकसको माथिपट्टिको भाग थियो, एकापट्टि डोरी बाँधेर गाडी भन्दै तान्थ्यौं । कहिले नहरको डिलमा, कहिले घरअगाडिको डगरमा झगडा पनि हुन्थ्यो । मिल्थ्यो पनि औधि, भात खानै बिर्सेर । कहिले झ्यानामती (मैले सिमीलाई दिएको नाम)को झ्याङतिर, कहिले बेलचन्डाको बोटमा लहसिन्थ्यौं । पटुवा घारीमा माछा मार्न जान्थ्यौं । तर, पटुवाघारीतिर जान एक प्रकारले प्रतिबन्ध नै थियो । त्यतातिर वनलाकड (सम्भवतः स्याल वा ब्वाँसो) आउँछ र बच्चालाई लान्छ भन्ने डर देखाइएको थियो ।
    एकदिन केही खाली सिसि, केही टालाहरू र अरू खत्र्याङखुत्रुङ हालेर भाँडाकुटी खेल्ने भन्दै बाकसको बिर्को तान्दै थिएँ, ऊ घचेद्दै थियो । एउटा घरमै पालेको सँगसँगै खेल्ने खैरो–खैरो कुकुर पनि थियो, छेउमै सुतिरहेको । छेउमै घ्यारर्र आवाज आएको सुनेर बिचरा अत्तालिएछ कि क्या हो, मलाई क्याक्क पारिहाल्यो ।
    सिकिया नौ दुई एघार भयो । म चिच्याउँदै रोएको सुनेर आमा आत्तिँदै–कराउँदै आउनुभयो । रगत, घाउ धोइदिनुभयो । घाउमा कपडा डढाएर, सिन्दुर फिटेर के–के लगाइदिनुभयो । त्यो बेला कुकुरले टोकेपछि रेबिज हुनु निश्चित थियो । अहिले जस्तो पाखुरामा तीन सुई लगाएर ढुक्क हुने जमाना थिएन । अनेक तीर्थ–व्रत गरेर, पूर्णिमा (चन्द्रमा) भाकेर पाएको छोरो । यस्तोमा अनिकालको बीउ जोगाउनुपर्ने आमाको मनोदशा र मेरो उपचारसँग सम्बन्धित गतिविधि उल्लेख्य थियो ।
    कहिले इनरुवा कहिले विराटनगर धाएर, एक्काईस सुई लगाउनुप¥यो रेबिजको, त्यो पनि पेटमा । इनरुवामा एकजना ‘मुजिया’ डाक्टर (कम्पाउन्डर) थिए । तिनले पनि एक–दुई वटा सुई हानेको सम्झिन्छु । सुई र दबाइ खान भनेपछि म सानै देखि नडराउने मान्छे । सुई लगाउँदा अरू केटाकेटी झैं म नरोएको देखेर डाक्टरहरू पनि छक्क पर्थे । सुई लगाएको भोलिपल्ट भुँडी सुनिएर डमडम । दिनरात सेक्दाको दास्ती । आमा भन्नुहुन्छ, त्यही घटनापछि मैले जीउ लिन नसकेको हो ।
    अहिले जलेबिया मितबाको छोरा सिकिया कहाँ छ, थाहा छैन । जिउँदो छ कि मरिसक्यो ? जिउँदो भए सायद उसले पनि मलाई सम्झिरहेको होला, विद्याधर, एउटा पहडिया बालसखाको रूपमा । मलाई अहिले पनि उसको सम्झना आउँछ, माया लाग्छ । बीचमा उसका बारेमा जानकारी राख्न नपाएकोमा धेरै पछुतो छ । त्यतिबेला म पत्रकार थिइनँ, कोट्याइ–कोट्याइ सोध्ने । जतिबेला पत्रकार भएँ, त्यतिबेला ऊ मेरो परिदृश्यबाट हराइसकेको थियो ।
    मितबा पातलो–पातलो मान्छे, प्रायः चौकी (खाट)मा बसेको देख्थें, घुम्लुङ कम्बल ओड्न मन पराउने । गुइँठाको घुर ताप्न म प्रायः उहाँहरूकै आँगनमा पुग्थें । आफ्नै बाको चाहिँ त्यति स्पष्ट सम्झना छैन । बालाई ‘झ्याम्ले बुढा’ भन्थें रे ! काखमा गयो कि दारी दलिदिने भएकाले परपरै तर्किन्थें रे ! सायद यो पनि मरिहाल्छ भनेर त्यति वास्ता गर्दैनथे, बाबै । म छ वर्षको हुँदा–नहुँदा बाबै आफैं बाटो लागे, २०३१ साल असोजमा । १९९० साल फागुनका मान्छे, ४१ वर्ष पाँच महिनासम्म दुनियाँ देखे । मजाले चिलिम ताने, टिबि लगाए, तीन वर्ष खुन छादे । धरान, विराटनगर, फारबिसगन्ज कतैका डाक्टरले पनि बचाउन सकेनन् । टिबि हुनु भनेको मर्नु बराबर नै थियो त्यो बेला ।     अस्पताल धाउँदाका दिनहरू सम्झँदै आमा भन्नुहुन्छ, ‘विराटनगरमा त झन् देउता जस्ता डाक्टर आएका छन्, जान्ने–जान्ने छन् भन्थे, तर केही गर्न सकेनन् । खालि सुई लाउँथे, निको हुन्छ भन्थे ।’
    मेरो बालसखा सिकियाको त्यस्तो नाम हुनुमा पनि एउटा कथा छ । सात–आठ जना छोराछोरीहरू लगालग मरेपछि बल्ल–तल्ल अडिएको रहेछ त्यो चाहिँ । त्यो पनि मर्छ भनेर बचाउने उपायस्वरूप उनीहरूको तल्कालीन जातीय परम्परा (सायद अन्धविश्वास)अनुसार एउटा ढक्कीमा हालेर सिकिया (घैला वा अरू भाँडा झुन्ड्याएर राख्न बनाइएको पटुवाको मोटो जालो)मा झुन्ड्याइएको थियो रे ! त्यसैले उसको नाम नै सिकिया भएको थियो । सिकिया मियाँ ।
    आमाका अनुसार उहाँको पनि पहिलो पटक छोरा नै जन्मिएको थियो । जन्मिएको केही घण्टामैै गयो । त्यसपछि लगालग पाँच वटी छोरी भए । त्यसपछि अढाई वर्षको अर्को छोरा पनि काखमै गयो । अन्तिममा मेरो पालो आयो । यसो गर्दा पो बाँच्छ कि उसो गर्दा पो बाँच्छ कि ! छोरी–छोरी मात्र पाई भनेर, घर–समाज, पतिसमेतबाट हेपिएकी एउटी महिलाको ऊ बेलाको सकस र छटपटी अहिले वर्णन गर्न नसकिने । कतिपटक त बुबाले माथि टाँडबाटै हुत्याएर तल पु¥याइदिनुभएको थियो रे, गोबरको थुप्रोमा ।
    त्यही क्रममा कसैले छोरा बचाउने उपाय सिकाइदियो । बेच्नुपर्छ । बेच्न त बेच्ने तर कसलाई बेच्ने ? किन्नेले मेरै हो भनेर लगिदियो भने आपत ! छिमेकी दिदी हरि चापागाईलाई बेच्ने सल्लाह भएछ । मभन्दा चार–पाँच वर्ष जेठी, उसले लगे पनि फरक नपर्ने ठानेर, पाँच रूपैयाँमा बेचिएछ । त्यसरी बेचिएकाले मलाई पनि जिस्क्याउँदा मान्छेहरू बेचे–बेचे भन्थे । मान्छेहरूले आमालाई मलाई बचाउने अर्को उपाय पनि सिकाएका रहेछन् । सिकाइएअनुसार उहाँले मलाई जुठेल्नामा पनि मिल्काउनुभएको थियो रे । आमा रिसाउँदा कतिपटक ‘जुठे मोरोे’ भनेको सुनेको छु ।
    ती दिनहरूमा जमुवा बाधमा हाम्रो पनि थुप्रै खेत थियो । बुबालाई गाँजा खाँदै, राजमार्गमा काम गर्न आउने पहाडतिरका केटी–आइमाईहरूलाई जिस्क्याउँदै ठिक्क । सबै घर–व्यवहार, गोठ–खेत, बजार आमाले गर्नुपर्ने । धानको बोझ लादेर गोरुगाडी आफैं हाँक्नुपर्ने । भैंसी आफैं चराउनुपर्ने । २०२४ सालमा ठूलो रौदी (खडेरी) लाग्यो । वरपर घाँस पाइन छोड्यो । हाम्रो घरछेउको खेतमा धान पसाउने बेला भएको थियो । एकदिन सत्तेरतिरका यादवहरूले खेतमा लहलहाउँदो धान चर्न भैंसी हुलिदिएछन् । आमाले देखेर ‘धपाउन जानु न’ भन्नुभएछ । जवाफमा बुबाले ‘आ, को जान्छ तिनीहरूको लाठी खान,’ भन्दै कम्बल घुम्लुङ ओडेर पो सुत्नुभएछ ।
    यी र यस्ता अनेकन स्मृतिहरूसँग म खुसी थिएँ, छु । कसैले माने पनि नमाने पनि, म पनि मधेसको एउटा भूमिपुत्र हुँ ! सोच्छु, मधेस अर्थात् मेरो मातृभूमिसँग कर्मले जोडिएको नाताको डोरी न मैले कहिल्यै चुँडाउन सक्छु, न मधेसले मलाई कुनै कुरामा हटक गर्न सक्छ ।
०००
bisnuprasad.bg@gmail.com



जिन्दगीको पहिलो गीत
– सुविद गुरागाईं

मलाई माफ गर्नू साथीहरू हो !
खोजेको बेला भेटिइन भने ।
सोचेको बेला देखिइन भने ।
पर्खेको बेला आइपुगिन भने ।
०००
चढ्न बाँकी छ अलिकति माथि ।
बढ्न बाँकी छ अलिकति अघि ।
देखिइन चाहन्छु अझै आँखामा ।
सुनिन चाहन्छु नवीन पाखामा ।
मलाई माफ गर्नू साथीहरू हो !
बिर्सेको बेला सम्झिइन भने ।
कुनै पनि खबर पठाइन भने ।
०००
म पुगुँला कहाँ चासो भइरहोस् !
आफन्त ओठमा हाँसो रहिरहोस् !
म हुन्छु सायद उज्यालो खोज्दै ।
काम लाग्ने केही सिर्जना रोप्दै ।
मलाई माफ गर्नू साथीहरू हो !
परेको बेला सघाइन भने ।
सोधेको बेला बताइन भने ।
०००
अलिकति अझै कुहुन चाहन्छु ।
यो माटो सम्झेर नुहुन चाहन्छु ।
गुलाफझैं काँडा सजाउनु छ ।
नयाँ ठाउँ आफ्नो बनाउनु छ ।
मलाई माफ गर्नू साथीहरू हो !
बोलाएको बेला फर्किइन भने ।
भनेको ठाउँमा पर्खिइन भने ।
०००
हुन्छु कि हुन्न भोलि म सबैको ।
दुख्ने पोहो कि प्रिय मन कसैको ।
बिस्तारी माया छुटाउनु पनि छ ।
मलामी अझै बनाउनु पनि छ ।
मलाई माफ गर्नू साथीहरू हो !
दोधारमा बाटो समाइन भने ।
बिदाइको आँसु पचाइन भने ।
०००

bisnuprasad.bg@gmail.com
तस्बिरका लागि नवीन गड्तौलाजीलाई धन्यवाद


सिकाइमा प्रश्नै–प्रश्न

– सुविद गुरागाई
‘हातका मैला सुनका थैला के गर्नु धनले ?’
नेपाली जनजीवनमा उखान नै बनेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सोधाइ कस्तो खालको प्रश्न हो ? के हामीलाई यो र यस्ता अनेकौं प्रश्नका बारेमा थाहा छ ? अनि, यतिबेला यो प्रश्नको औचित्य के छ ?
यसरी, के ? किन ? कहाँ ? कहिले ? कुन ? को ? कसरी ? थियो, छ, हुनेछ ? यस्तै अनेकौं जिज्ञासाहरूले हामी जहिले पनि लखेटिइरहेका हुन्छौं । जीवनको मूलबाटो, चौबाटो, दोबाटोमा प्रश्नहरू आइरहेका हुन्छन्, प्रश्नहरू गइरहेका हुन्छन् । कवि सरुभक्तले देखेजस्तो मान्छे, मान्छे, मान्छे, मान्छे, मान्छे–मान्छेका बीचमा प्रश्नै–प्रश्न, प्रश्नै–प्रश्न, प्रश्नै–प्रश्न छन् । सात अर्बको मनमा, दिमागमा खर्बौ प्रश्नहरू छन् । भनिन्छ, यदि हाम्रो मनमा कुनै जिज्ञासा छैन भने हामीमा चेतना पनि छैन । यस्तो पृष्ठभूमिमा विचार गरौं, के हामीलाई आफ्नो जिज्ञासा सही तरिकाले व्यक्त गर्न आँउछ ? के हामीलाई प्रश्न सोध्न आउँछ ?
त्यसो त जीवनमा थुप्रै विरोधाभासहरू छन् । एकरेखीय बाटोमा हिँडिरहेको हुँदैन प्रश्न पनि । एकाथरिहरू भन्छन्, प्रश्न सोध्न सजिलो छ, जे सोधे पनि हुन्छ । कसैले जवाफ देओस्–नदेओस् । तर, अर्कोथरिको भनाइमा प्रश्न गर्न सजिलो छैन । प्रश्न गर्न पनि साहस चाहिन्छ । धेरैलाई प्रश्न गर्नै आउँदैन । कतिपयलाई प्रश्न गर्नुपर्छ भन्नेसमेत थाहा छैन । कतिलाई प्रश्न गर्नुपर्छ भन्ने थाहा छ, तर व्यक्त गरिरहेका हुँदैनन् । त्यसो त, हामीले प्रश्न गर्न नजानेर पनि होला, कतिपय आउनैपर्ने उत्तरहरू सतहमा नआएका !
त्यसो भए म फेरि सोधौं, के तपाईलाई थाहा छ, प्रश्नका बारेमा ? आकास खस्यो भने के हुन्छ ? यो पनि एउटा प्रश्न नै हो । हामीले सुन्दै आएको लोककथामा आधारित यो कस्तो प्रकारको प्रश्न हो ? यसबाहेक के–के हुन्छन् प्रश्न ? कस्ता हुन्छन् प्रश्न ? यसबारेमा हामीले आफूले आफूलाई नै अहिलेसम्म नसोधेकोे किन ? सायद हामीलाई थाहा छैन, सही ढङ्गले प्रश्न सोध्नु भनेको नै समाधानको पहिलो सोपान हो ।
मान्छेको जीवन लाखौं प्रश्नहरूका बीचबाट अघि बढिरहेको हुन्छ । अनेकन प्रकारका प्रश्नहरू सामुन्ने राखेर हामी परीक्षा दिइरहेका हुन्छौं । जीवनभरि मात्र होइन मृत्युपर्यन्त पनि मान्छेको अस्तित्व अनेक प्रश्नहरूको घेरामै रहेको हुन्छ । त्यसैले रुसोले भनेका होलान् ः मान्छे स्वतन्त्र जन्मिन्छ तर त्यसपछि ऊ अनेक प्रकारका साङ्लोले बाँधिएको हुन्छ । यस्तो किन हुन्छ ? प्रश्नको सिलसिला यसरी नै सुरु हुन्छ ।
तर, सोधिएका सबै प्रश्नको जवाफ हुन्छ नै भन्ने छैन । समाजमा, बहसमा ‘अन्डा पहिले कि चल्ला ?’ भन्ने अनुत्तरित प्रश्नको पनि आफ्नै ठाउँ छ । यसोदा मातासँग नन्दलाल (कृष्ण)ले गरेको सवाल–जवाफ त हामीलाई थाहै छ । राधा किन गोरी ? म किन कालो ? परम्परागत रूपमा सुनिँदै आएको यो प्रश्न मात्र होइन, देवर्षि नारदले ‘नारायणका सबभन्दा ठूला भक्त को हुन् ?’ भनेर राखेको जिज्ञासाको निरुपण हुन बाँकी नै छ । यदि सही ढङ्गले प्रश्न गरिएको छैन भने जवाफ पनि सही ढङ्गको पाइएको छैन । यदि यो अज्ञानताका कारण सतहमा आउनुपर्ने उत्तरहरू आएका छैनन् भने भन्न सकिन्छ, तिनका बारेमा जान्न पाउने हाम्रो अधिकारमा प्रभाव परिरहेको छ । यसरी, प्रश्न सही नहुनाले सार्वभौम सूचनाको अधिकार प्रभावित हुनु राम्रो हो र ?
कुनै सूचना वा जानकारी प्राप्त गर्नका लागि वा कुनै शङ्का समाधानका लागि प्रयोग गरिने भाषिक अभिव्यक्ति हो, प्रश्न । सवाल, जिज्ञासा, खोज, कुतूहल, उत्सुकता, उत्कण्ठा, खसखस आदि प्रश्नका पर्यायवाची शब्द हुन् । आचार्य रजनिशका अनुसार प्रश्नहरूका तीन वर्ग छन् । पहिलो वर्ग कुतूहलता हो । ती बाहिरी प्रश्न हुन्, जो मस्तिष्कमा उत्पन्न हुन्छन् । दोस्रो वर्गमा जिज्ञासा पर्छन्, जुन अलिकति आन्तरिक हुन्छन् । यस्ता प्रश्नहरू अन्तस्करणमा उत्पन्न हुन्छन् । तेस्रो वर्गमा मुमुक्ष पर्छन्, जो सबैभन्दा भित्री चेतमा उत्पन्न हुन्छन् । मुक्तिका लागि हुने–गरिने यस्ता प्रश्न भित्री चेतनाबाट आउँछन् । मुमुक्ष तीर्खा हो, ज्ञानको भोक हो । मुमुक्षुहरू मोक्षका लागि सधैं प्रश्नवत् हुन्छन् ।
ओशो दर्शनका अनुयायी कलाकार विक्रमश्रि प्रश्न गर्नु भनेको जान्नु हो भन्छन् । बिनाउत्तर, बिनाकारण प्रश्नहरू सतहमा आउँदैनन् भन्ने उनलाई लाग्छ । ‘एकान्तमा भएका बेला ‘म को हुँ ? कहाँबाट आएँ ? म किन यो पृथ्वीमा आएँ ? अहिले के गरिरहेको छु ? रुख भनेको के हो ? देवता को हुन् ?’ आदि प्रश्न हरेक मान्छेका मनमा आउँछन्,’ कलाकार श्रि भन्छन्, ‘मेरो मनमा पनि यिनै प्रश्नहरू आउँछन् ।’
प्रश्न यथावत् छ । यो सनातनदेखि थियो । अनन्तसम्म रहनेछ । भनिन्छ, प्रारब्धमा मान्छेले एउटा नयाँ ध्वनि सुने, एउटा त्यसअघि कहिल्यै नदेखेको उज्यालो देखे, अनुभूत गरे । त्यसपछि मान्छेको मनमा जिज्ञासा उत्पन्न भयो, ‘के हो यो ? यसलाई के नाम दिने ?’ सम्भवतः संसारको पहिलो प्रश्न त्यही थियो । त्यसैको आवश्यकता र खोज बढ्दै जाँदा त्यो अमूर्त अनुभूतिलाई मानिसले ‘ईश्वर’ नाम दियो ।
पहिले आफैं प्रश्न सोध्ने र आफैं जवाफ दिने ‘प्रश्नोत्तर’ शैलीमा कविता लेख्ने परम्परा थियो । चन्द्रमामा मान्छेले पाइला टेक्नुभन्दा धेरै अगाडि महाकवि देवकोटाले लेखे, ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।’ यस्ता दूरदर्शी प्रश्नकर्ता देवकोटाका केही प्रश्नहरू आज पनि हाम्रो मार्ग–निर्देशक बनेका छन् । तीमध्ये उनका केही प्रश्नहरू अझ पनि अनुत्तरित नै छन्, ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ?’ ‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ?’
०००

मानिसका मनमा हुने सबै जिज्ञासाले प्रश्न बन्ने हैसियत राख्दैनन् । संसारमा सबै प्रश्नको उत्तर हुँदैन र आउँदैन पनि । सबै फूल टिप्न नपाए झैं, सबै रस आस्वादन गर्न नमिले झैं, धेरै पुस्तक पढ्न बाँकी रहे झैं मानिसको जीवनमा निरुपण हुन बाँकी केही न केही तुस रहिरहेको हुन्छ । त्यसैले होला शिक्षक–लेखक पेशल आचार्यका मनमा निकै अघिदेखि सङ्ग्रहित प्रश्न छ, ‘किताब पढेर, रुख चढेर, बाटो हिँडेर कहिले सकिन्छ ?’
महाकवि पर्सिविस सेलीका अनुसार हामी जति अध्ययन गर्दै जान्छौं, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । अर्थात्, हामी जति प्रश्नहरू गर्दै जान्छौं, त्यति समाधानहरू पाउँदै जान्छौं । अनि, जति समाधानहरू पाउँदै जान्छौं, क्रमशः थाहा हुँदै जान्छ, अब यसपछि हामीले उत्खनन गर्नुपर्ने, खोज्नुपर्ने के हो ? सत्य के हो ? के सूर्य सधैं पूर्वबाट उदाउँछ भन्ने सिकाइ सत्य हो ? सूर्य ईशान र आग्नेय दिशामा देखिइरहँदा पनि हामी त्यसलाई पूर्व नै ठानिबस्छौं, त्यस्तै सिकाउँछौं किन ? सारमा, हामीलाई गुरुहरू व्यावहारिक, विज्ञानसम्मत हुन किन प्रेरित गर्न सकिरहेका छैनन् ?
गजलगो सुरेश सुवेदी आफूलाई बेला–बेलामा सोध्ने गर्छन्, ‘जीवन के हो ? म को हो ?’ यसमा थप जिज्ञासा पनि छ, उनको मनमा यस्तो प्रश्न किन बारम्बार आइरहन्छन् ? ‘म आफूले आफूलाई नै सबैभन्दा नजिकको, सबैभन्दा बढी चिनेको पाउँछु,’ सुवेदी भन्छन्, ‘सायद त्यसैले यो प्रश्न म आफूलाई बेला–बेलामा गरिरहेको हुन्छु । र, सायद चित्तबुझ्दो जवाफ नपाउञ्जेल सोधिरहनेछु !’ कसैले उनलाई यही प्रश्न सोधेमा उनको जवाफ हुन्छ, ‘जीवन भोगाइ हो ।’ तर, यो जवाफबाट उनी आफैं सन्तुष्ट छैनन् । जीवनको अद्भूत रहस्यको समाधान त्यतिले मात्र हुन सक्ला भन्ने उनलाई लागेको छैन । प्रश्न बाँकी नै छ ।
लिसनर्स क्लब नेपालका महासचिव हरिराम पौडेलका मनमा धेरै प्रश्नहरूको उतार–चढाव भइरहन्छ । ‘देशको प्रतिकूल परिस्थितिले आफ्नो अनि सन्तानको भविष्यमाथि प्रश्नचिन्ह लगाइरहन्छ,’ पौडेल भन्छन्, ‘मेरो मनमा, मेरो भविष्यले कस्तो मोड लेला ? छोरीहरूलाई कसरी सक्षम बनाउन सकिएला ? भन्ने प्रश्नले सधैं घोचिरहन्छ ।’
लेखक प्रवीण बानियाँले फेसबुकमा केही बालबालिका तुइनमा झुन्डिएर गण्डकी तर्दै गरेको फोटो पोस्ट गरेर छेउमा कवितात्मक क्याप्सन लेखे, ‘यी नानीहरू झुन्डिएका हुन् कि झुन्डिएका हुन् जिन्दगीका सपनाहरू ? अनि, यसरी कलिला सपनाहरू झुन्डिदै–झुन्डिदै कहाँसम्म पुग्छन् होला ? झोलाभरि सुकिला अक्षरहरू बोकेर सुदूर गाउँको पाठशाला हिँडेका यी नानीहरू यो देशको सपना पढ्छन् कि यो देशको दुःख र कष्टका कथाहरू पढ्छन् ? फरक प्रसङ्गमा बानियाँ भन्छन्, ‘यौटै प्रश्न अक्सर सोध्नेहरू छन् । किन भइस् पत्थर ? सोध्नेहरू छन् । जथाभावी घाउ लगाएर आफैं, भेटेपिच्छे खबर सोध्नहरू छन् ।’
साँच्चै, कहिलेकाहीं हामी कतिपय प्रश्न सोध्नका लागि सोधिरहेका हुन्छौं । खाना भइसक्यो ? आरामै हुनुहुन्छ ? मलाई चिन्नुहुन्छ ? मेरो माया लाग्दैन हो ? हात्ती पढेर ठूलो भएको हो र ? आँपको रुखमा आँप नफले के फल्छ ? यस्ता अनेक प्रश्नहरू छन्, जसको जवाफमा मुसुक्क हाँसे पुग्छ । शब्दहरू जोडेर केही भन्नैपर्छ भन्ने छैन ।
एउटा मिथकीय उदाहरण हेरौं । अकबरले वीरबललाई आँखा भएका अन्धा खोजेर ल्याउन अह्राएका थिए । यस्तो जटील समस्या समाधानका लागि वीरबल सहरको एक छेउमा बसेर जुत्ता सिउन थाले । सबैभन्दा बुद्धिमान मानिएका मन्त्री यस्तो अवस्थामा देखिएपछि धेरै मान्छेले सोधे, ‘के हो, वीरबल के गरेको यो ?’ जुत्ता सिएको देखी–देखी ‘के गरेको ?’ भनेर सोध्नेहरूलाई वीरबलले केही जवाफ दिएनन् । बरु सेना लगाएर समाउँदै दरबारमा उपस्थित गराए । साँझसम्ममा, दरबारको बैठक कक्षमा आँखा भएर पनि नदेख्नेहरूको भीड जम्मा भइसकेको थियो ।
सिद्धान्ततः सोधिने प्रश्न तीन प्रकारका हुन्छन् । पहिलो, सोध्नै पर्ने ः मेरो बुबाको नाम के हो ? दोस्रो, सोध्दा राम्रो हुने ः आकासमा कति ताराहरू होलान् ? तेस्रो, सोध्न सकिने ः तपाई असफल कसरी हुनुभयो ? यसरी, वर्गीकृत तीनमध्ये सोध्न सकिने प्रश्नको समूहमा ‘मेरो जन्म कहाँबाट भयो ?’, ‘शङ्ख  बजेको आवाज सुनेपछि हात्ती के सोचेर भाग्छ होला ?’ जस्ता ‘नसोधे पनि हुने’ मानिएका प्रश्नहरू ओभरल्याप भएका हुन्छन् ।
०००

‘मेरो क्षमताअनुसारको उपलब्धि यति नै हो ?’ पत्रकार, उप–प्राध्यापक अर्जुन उप्रेतीका मनमा खेलिरहने अनेकौं प्रश्नमध्ये अहिलेका लागि मुख्य प्रश्न यही हो । अरूलाई सोध्नुप¥यो भने भन्ने जिज्ञासामा उप्रेतीले भने, ‘तपाईको प्रगति के हुँदै छ ? भनेर सोध्छु ।’
प्रस्टै छ, सकारात्मक सोच र महत्वाकाङ्क्षा भए जिज्ञासा पनि सकारात्मक नै हुन्छन् । सफल मान्छेले भन्छ, ‘यसमा के सम्भव छ ? त्यो पत्ता लगाऔं, त्यो गरौं ।’ तर, असफल मान्छे भन्छ, ‘यसमा के असम्भव छ ? पहिले त्यो खोजौं, बाहिर निकालौं, बाँकी रहेको जम्मै सफलता हो ।’
गीतकार विजय श्रेष्ठ सानोका एउटा साथीले भनेको सम्झिएर अझ पनि भावुक हुन्छन् । उनले भनेका थिए, ‘तँ बीउ होस्, तैले कुहुनैपर्छ !’ यतिबेला उत्तरार्धमा आएर श्रेष्ठको मनमा त्यही पृष्ठभूमिबाट उब्जेको प्रश्न छ, ‘अझै कुहुन पुगेन मैले ?’ सम्झिल्याउँदा केही भन्न मन लाग्दैन, चोट पर्छ । तर, पनि कहिलेकाहीं मनमा तर्कना आउँछ, ‘कालापानीको गीत लेख्ने–गाउनेहरूले के पाउने यो देशमा ?’
जब श्रेष्ठले ‘हाम्रा बडा पृथ्वी बाले भनेका, एकता नै बल हो,’ बोलको गीत रेकर्ड गराए, रेडियो नेपालको तत्कालीन सेन्सर बोर्डका एक सदस्यले सोधेछन्, ‘तपाई पृथ्वीनारायण शाहको छोरा हो ? होइन भने, पृथ्वीनारायण शाहलाई ‘बडा बा’ किन भनेको ?’
‘जवाफमा के भन्नु ?’ श्रेष्ठ भन्छन्, ‘उसको अज्ञानतामा हाँस्नुबाहेक मसँग कुनै जवाफ थिएन ।’
‘मान्छे किन यति धेरै गम्भीर छ ?’ बीचमा छ वर्ष अस्ट्रेलिया बसेर हाल केही समय नेपालमै रमाइरहेका धिरज भट्टराई भन्छन्, ‘यो मेरो मनमा खेलिरहेको अनुत्तरित प्रश्न हो ।’ उनलाई कहिलेकाहीं ‘म मात्र खुसी छु कि जस्तो,’ लाग्छ । ‘वास्तवमा मान्छेको जीवन त्यति जटील छैन, जति मान्छे हुँदै नभएको जटीलतालाई सोचेर सिरियस छ !’ भट्टराईले भने ।
‘मान्छे सधैं बिहान उठ्नुपर्ने हो, तर कुनै एक दिन मान्छे उठेन भने के हुन्छ ?’ गीता दर्शनबाट प्रभावित उनले थपे, ‘केही हुँदैन । ताराहरू उसरी नै चम्किनेछन्, जसरी हिजो ऊ ज्युँदो हुँदा चम्किन्थे । सबै चिज आफैं भइरहेका छन् । जब हामी आफैं बाँच्न नजानेर अन्धाधुन्ध बाँचिरहेका छौं भने सबैथोक व्यवस्थित गर्ने प्रयत्नमा, बेकारमा किन यो गम्भीरता ?’
प्रश्नहरू समय–समयमा परिवर्तन भइरहन्छन् । वातावरणको सापेक्षतामा जिज्ञासा विकसित हुने क्रममा यतिबेला सामाजिक कार्यकर्ता विष्णु दवाडीलाई ‘म जे काम गर्दै छु, जहाँ काम गर्दै छु, त्यो काम परिवारबाट टाढा बसेर किन गर्दै छु ?’ भन्ने खुल्दुली भइरहेको छ । सरसफाइ अभियानका लागि क्रियाशील दवाडी मान्छेले कुरा बुझेर पनि बुझ पचाएको देख्दा विस्मित हुन्छिन् । ‘मान्छेहरू किन कुरा बुझ्दैनन् ?’ आफ्नो मनमा अचेल बारम्बार खेलिरहेको प्रश्नबारे उनले भनिन्, ‘मान्छेहरू किन यस्तो व्यवहार गरिरहेका छन् ?’ अहिले कामको सिलसिलामा चित्त नबुझेका कुराले प्रमुखता पाए पनि यी जिज्ञासा भने स्थायी होइनन् ।
गुणरत्नमालाका सर्जक जगन्नाथ गुरागााईं मानिसलाई अनेकौं स्थायी प्रश्नहरूसँग साक्षात्कार गराउँछन् । तिनै प्रश्नहरूका माझमा उनले सोधेका छन्, ‘के हो इज्जत ? के हो निशा (नशा) ? के हो अमृत ?, के छ विष झैं ?’ महाभारत कालमा सत्यवादी, धर्मात्मा मानिएका युधिष्ठिरको परीक्षा लिन यक्षले यस्तै प्रश्न गरेका थिए, जुन प्रश्न आज पनि हामी कोट गर्ने गर्छौं । उनले सोधेका थिए, ‘धनभन्दा ठूलो के छ ? पानीभन्दा पातलो के हो ? भूमिभन्दा भारी के छ ? परदेशको सच्चा मित्र को हो ?’
पछिल्लोपटक ‘प्रेमको बकपत्र’ शीर्षकमा शृङ्खला कविता रचयिता शशि थापा पण्डितको पुस्तासम्म हस्तान्तरण हुँदै सोधिँदै–भनिँदै आएका केही स्थायी प्रश्न छन् । ‘प्रेम के हो ?, माया के हो ?, यौन के हो ?, यौनिकता के हो ?’
०००

पत्रकारितामा सही तरिकाले प्रश्न गर्न सिकाइन्छ । फाइभ डब्लु वान एच अर्थात् छ‘क’सँग सम्बन्धित प्रश्नमा आधारित सूचना सङ्कलन र सम्प्रेषण गरिन्छ पत्रकारितामा । सामान्यतयाः पत्रकारहरू अन्तर्वार्तामा अन्तहीनता रुचाउँदैनन् । उनीहरू जे हो त्यही तत्काल सोध्न–लेख्न चाहन्छन् । आधारमा जवाफ अपेक्षित प्रश्न सोध्ने तरिका विविध प्रकारका छन् । ‘तपाई प्रधानमन्त्री बन्न चाहनुहुन्छ कि चाहनुहुन्न ?’ जस्ता बन्द प्रश्न, ‘तपाई राजनीति गर्न चाहनुहुन्छ, हो ?’ जस्ता पुछ«े प्रश्न र ‘तपाई कसरी यो निर्णय गर्ने अवस्थामा पुग्नुभयो ?’ जस्ता खुला प्रश्न सोधिन्छन् । अर्को, विचारसहितको जिज्ञासा अर्थात् सोध्नेद्वारा आफ्नो भनाइ थोपरिएको प्रश्न पनि हुन्छ । यसमा सोध्नेले चाहेको शब्द अरूको मुखबाट आओस् भन्ने अपेक्षा हुन्छ । जस्तै, कसैले नेपाल फेरि हिन्दू राष्ट्र हुनुपर्छ भन्यो भने अरूले त्यसको विरोध किन गर्नुप¥यो ? के उसले त्यस्तो भन्न पाउँदैन ? अनि, यसरी सोध्ने क्रममा ‘मैले यो भनें भने ठिक भनेको हुन्छ कि बेठिक भनेको हुन्छ ?’ जस्ता अनेकौं शैली थेगो–प्रश्नका रूपमा नै विकसित भइरहेका छन् ।
पत्रकार हिमाल दहालका अनुसार प्रश्न सोध्न कि विषयवस्तु केही जानेको हुनुपर्छ कि केही नजानेको हुनुपर्छ । संविधानको कुरा गरौं । संविधानका बारेमा त्यसले प्रश्न सोध्छ, जसलाई थाहा छ, संविधान भनेको के हो ? संसारमा त्यसका लागि कस्ता–कस्ता अभ्यासहरू भएका छन् ? राम्रा–नराम्रा पक्ष के छन् ? र, आफ्नो ठाउँको अभ्यासमा त्यस्तो किन भइरहेको छैन ? भन्ने थाहा छ । कि त्यसले सोध्छ, जसलाई संविधान भनेको के हो थाहै छैन । त्यस्तै, जिज्ञासु विद्यार्थीले पनि कि आफूले सुने–जानेको कुरा पुष्टि गर्न वा नजानेको थाहा पाउन प्रश्न सोध्ने हो ।
संविधान बनाउन भइरहेको सकसको सन्दर्भ बीचमा विवेकशील नेपालीहरूका तर्फबाट सामाजिक सञ्जालमा एउटा प्रश्न आयो, ‘संविधान खोइ ?’ शिरानमा कवि शाम्ब ढकालका तर्फबाट एउटा टिप्पणी पनि टाँसिएको थियो, ‘हामी योभन्दा बढी पनि भन्न सक्छौं तर अहिले यति नै !’
नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखरको मनले यतिबेला एउटा विशेष प्रश्न अनुभूत गरिरहेको छ । ‘आखिर के छ जातमा ?’ यात्री सोध्छन्, ‘मान्छेहरू जातलाई किन ठूलो बनाइरहेका छन् ?’ साँच्चै जात, धर्म, भूमिबारे अनेक प्रश्न उठाइएका छन् अचेल । कति प्रश्न जायज छन्, कति नाजायज पनि छन् । तर, यात्रीले जान्न चाहेका यस्ता पेचिला प्रश्नको जवाफ कहाँबाट मिल्ला ? कसले देला ?
शिक्षक पत्रिकाका सल्लाहकार सम्पादक केदार शर्माका अनुसार प्रश्नकर्ता धेरै प्रकारका हुन्छन् ।  ‘कडा प्रश्न सोध्ने’ व्यक्तिका रूपमा नाम कमाउन चाहने व्यक्तिहरूको सञ्चार क्षेत्रमा ठुलो उपस्थिति छ । स्रोता–पाठकले जान्न चाहने खालका प्रश्न सोध्नु प्रश्न गर्नेहरूको धर्म नै हो तर ‘नायक हुन’का लागि गरिएका प्रश्न परै छुट्टिन्छन् ।
जान्नका लागि वा जवाफ पाउन होइन, आफ्नो उपस्थिति देखाउन मात्र प्रश्न सोध्ने धेरै छन् । उनीहरू ‘तर पनि...’ भन्दै दोहोरिएका प्रश्न सोधिरहेका हुन्छन् । कोही भने ‘मैले पनि जानेको छु,’ भन्ने मात्र देखाउन अप्ठ्यारा शब्द र सन्दर्भ राखेर प्रश्न सोध्छन्, तर त्यसको जवाफ सुन्ने धैर्य उनीहरूमा हुन्न । नया“ कुरा जान्न होइन, आफूले जानेको कुरामा सही थापिमाग्न सोध्ने वा आफूले चाहेको जस्तो जवाफ खोज्न चाहने आग्रही प्रश्नकर्ताहरू सबभन्दा धेरै हुन्छन् । उनी थप्छन्, ‘यसको अर्थ राम्रो प्रश्न सोध्ने मान्छे छैनन् भन्ने होइन । राम्रो प्रश्नकर्ता हुन चाहने व्यक्ति अध्ययनशील र राम्रो स्रोता हुनुपर्छ ।’
‘मान्छेका मनका सबभन्दा ठुला प्रश्न जीवन र जगतस“ग सम्बन्धित हुन्छन्,’ शर्मा भन्छन्, ‘तर, जतिसुकै वैज्ञानिक उत्तर भए पनि त्यस्ता प्रश्नका उत्तर सबैलाई चित्तबुझ्ने खालका हु“दैनन् । कारण हो, हामीलाई उत्तर हैन, आफूले मन पराएको उत्तरमा सहमति चाहिएको हुन्छ ।’ यतिबेला मनमा रहेको कुनै अनुत्तरित प्रश्न चाहि“ के हो त ? भन्ने जिज्ञासामा शर्माले भने, ‘यति धेरै जड तत्त्वहरूको समन्वय गरेर विधाताले चेतनाको सृष्टि कसरी ग¥यो होला ?’
०००

पहिले, बुझ्न थालेदेखि, किशोर हुँदा आफ्नो खासै बुझाइ थिएन । अरूबाट प्राप्त थोरै बुझाइमा धेरै काम गर्न सकिने क्षमता थियो । वैकल्पिक विचार मञ्चका संयोजक डम्बर खतिवडा हिजोआज यस्तै कुरा सोचेर गम्भीर हुन्छन् । किनकि अहिले उनीसँग थुप्रै बुझाइहरू छन् तर ती बुझाइका लागि काम गर्ने समय छैन । पैसा छैन । यस्तै विरोधाभास छ । ‘यो विरोधाभास किन भएको होला ? यो असजिलोमा मान्छेलाई कसले हालेको होला ?,’ खतिवडा भन्छन्, ‘यसमा हामी आफैं दोषी छौं कि अरू पनि कोही दोषी छन् ? अचेल मेरो मनमा यस्तै प्रश्न खेलिरहन्छन् ।’
‘किन हाम्रा सपनाहरू पूरा हुँदैनन् ?’ लेखक, राजनीतिक विश्लेषक केशव दाहालको मनमा सबैभन्दा बढी खेलिरहने प्रश्न हो यो । ‘किन हामी आफ्नै सपनाहरूको मलामी जान अभिशप्त छौं ?’ दाहाल भन्छन्, ‘किन हामी विगत ७० वर्षदेखि एउटै सपना (समृद्धिको सपना) पूरा हुने दिन पर्खेर बसिरहेका छौं ?’
‘सगरमाथाको उचाइ कति घटबढ भइरहेको छ ? विविधको शासन स्थापित गर्न किन सकस परिरहेको छ ? परिवर्तन अहिले नगरे कहिले गर्ने ? किन मिलेको छैन पढाइ ? सामान्य ज्ञानका विद्यार्थीहरू, कानुन, अधिकार र शिक्षाका सरोकारवालाहरू हरसमय यस्तै प्रश्नको सेरोफेरोमा हुन्छन् । ‘केटा के हो ? केटी के हो ?’ लेखिका कमला भसिन प्रश्नको माध्यमबाट समाज, विशेषगरी किशोर–किशोरीलाई लैङ्गिक विभेदविरुद्ध सचेत बनाउन चाहन्छिन् । कवि प्रोल्लास सिन्धुलीय सोध्छन्, झन्डालाई डिभी प¥यो भने के हुन्छ ? कथाकार÷नाटककार विजय मल्लको ‘कोही किन बर्बाद होस् ?’ भन्ने प्रश्नबाट प्रेरित धेरै शैक्षिक थलोहरू आज बालमैत्री बनेका छन् । ‘रुखबाट छुट्टिएको स्याउ भुइँतिर नै किन गयो ? माथितिर किन गएन ?’ यही एउटा जिज्ञासाले एउटा विद्यार्थी वैज्ञानिक न्युटन भयो । ‘मानिस दुखी किन हुन्छ ? के दुःख हटाउने उपाय छैन ?’ यस्तै जिज्ञासाले राजकुमार सिद्धार्थ, गौतम बुद्ध बने ।
विशेषगरी, यतिबेला शिक्षामा गुणस्तरीयताको सवाल उठेको छ । पाठ्यक्रम समयानुकूल नभएको, शिक्षा लिने–दिने, बुझ्ने–बुझाउने, सिक्ने–सिकाउने तरिकामा प्रश्नचिन्ह लागेको छ । यो पृष्ठभूमिमा सरोकारवालाहरू सोध्छन्, के शिक्षाको गुणस्तरीयता विद्यार्थीले ल्याउने अङ्कबाट थाहा हुन्छ ? के सफलता औपचारिक परीक्षाबाट मात्र मापन गर्न सकिन्छ ? के हाम्रो विद्यालय शिक्षालाई बिनापरीक्षाको बनाउन मिल्दैन ?
सायद यस्तै चिन्तनबाट प्रेरित भएर शिक्षकहरूलाई रिफ्रेसर तालिमहरूमा बताउन थालिएको छ, तपाईका विद्यार्थीहरूलाई जवाफ दिन होइन, प्रश्न गर्न तयार पार्नुहोस् । जब बालकले सही ढङ्गले प्रश्न गर्न जान्नेछ, तब उसले आफ्ना प्रश्नहरूको चित्तबुझ्दो हल पनि खोज्नेछ । यसमा माक्सिम गोर्कीको विचार समीचिन छ । भन्छन्, ‘जनतालाई किताबहरू सुम्पिदिनुस्, तब उसले आफैंले आफ्ना प्रश्नहरूको हल भेट्टाउनेछ ।’
हिन्दीमा बाल–सुलभ व्यवहार र मनोविज्ञानसँग सम्बन्धित एउटा गीत गाइएको छ, ‘तेरे मासुम सवालों से परेशान हुँ मैं ।’ अर्थात् केटाकेटीहरू अबोध हुन्छन्, अनेक प्रश्न गर्छन् । ठुला मान्छेलाई झर्को लागुञ्जेल सोधिरहन्छन् र आफूलाई चाहिने ज्ञान सङ्ग्रहित गर्छन् । तर, उमेर पढ्दै जाँदा प्रश्न सोध्ने गति किन घट्दै जान्छ ? यो ह्रासको जवाफदेही को हो ?
‘नेपालको सबैभन्दा राम्रो जिल्ला कुन हो ?’ कहिलेकाहीं यस्ता प्रश्नहरूले लक्षित उत्तरदातालाई अलमलमा पार्छन् । नेपाली विषयको मौखिक परीक्षामा शिक्षकले सोधे, ‘तिमीलाई मनपर्ने चार वटा फूलहरू कुन–कुन हुन् ?’ जवाफमा विद्यार्थीले भने, ‘मलाई गुलाबबाहेक अरू फूल मन पर्दैन सर ।’ अब त्यस्तो प्रश्न सोध्ने शिक्षकलाई के भन्ने ? त्यस्तो जवाफ दिने विद्यार्थीलाई नम्बर दिने कि नदिने ? यहाँ प्रश्न नम्बरसम्म मात्र सीमित छैन । मुख्य सवाल के हो भने, त्यस्तो जे भने–लेखे पनि हुने, अलमलिने प्रश्न किन सोध्छन्, शिक्षकहरू ?
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार प्रश्नले केटाकेटीलाई खोज्न प्रेरित गर्छ । चुप पनि लगाउँछ । कतिपय प्रश्न आफैंलाई दिक्क पार्ने खालका पनि हुन्छन् । त्यसैले सिकाइमा प्रश्नको भूमिका महत्वपूर्ण हुन्छ ।
‘विडम्बना हाम्रा शिक्षकहरूले प्रश्न बनाउन पनि जानेनन्, सोध्न पनि जानेनन्,’ कोइरालाले भने । भन्न त शिक्षकहरू पढेलेखेको मान्छे व्यावहारिक, व्यावसायिक र उत्पादनमुखी हुनुपर्छ भन्छन् । विद्यार्थीलाई त्यस्तै बनाउन पनि चाहन्छन् । तर, गुरुहरूको काम गराइको शैली, प्रश्न सोधाइको तरिकामा सङ्गति मिलेको देखिएन भन्ने गुनासो छ उनलाई । ‘एउटै प्रश्नले बालकलाई व्यावहारिक पनि बनाउँछ, व्यावसायिक, राष्ट्रवादी, जनवादी के–के बनाउन खोजेको हो, त्यही बनाउँछ,’ कोइरालाले भने, ‘तर, यो तथ्य अझै सिकाउन सकिएन हाम्रा शिक्षकलाई । झन् बालकको तहसम्म त यो कुरा कहिले पुग्ला ?’
०००

bisnuprasad.bg@gmail.com
खोजी नयाँपनको !

– सुविद गुरागाई

– ‘हरेक गाउँ हरेक बस्ती, शिव ओम्को नौलो प्रस्तुति !’
प्रकाशपुर–रामधुनी–झुम्का रुटमा चल्ने एउटा कम्तीमा छ वर्ष पुरानो बसमा लेखिएका यी शब्दहरूको रङ पनि खुइलिन थालेको छ । तर, हाम्रो सडकमा शिव ओम् ट्राभल्स जस्ता सवारी–साधन धेरै छन्, जो कबाडी भइसक्दा पनि ‘नयाँ’ लेखिएकै हुन्छन् ।
– ‘कलेज टाइम्स’को नयाँ अङ्क आयो ?’
‘नयाँ ?’ पत्रकार वेदराज पौडेलको जिज्ञासामा मैले प्रतिप्रश्न गरेपछि उनी केही व्यवस्थित भए र भने, ‘वैशाखको !’
‘वैशाखकै भनेर सोध्नु नि त !’
– कुम्भ स्नानपछि पहिलोपल्ट बराहक्षेत्र मन्दिर पुगेर फर्किएका काठमाडौं फर्पिङका तीर्थयात्री सानुभाइ केसीलाई मैले सोधें, ‘कस्तो लाग्यो बराहक्षेत्र ?’
‘नयाँ ठाउँ देख्न पाइयो, निकै रमाइलै भयो !’ उनले भने ।
‘तर, त्यहाँ नयाँ चाहिँ के थियो ?’ मेरो जिज्ञासामा उनले हाँस्दै भने, ‘यसअघि कहिले नपुगेको ठाउँ नयै भन्नुप¥यो नि !’
– ‘म र मेरी श्रीमती
आज पनि फेरि सँगै सुतेका छौं
चाँडै एउटा बुद्ध जन्माउने
नयाँ प्रतिज्ञा गरेर थाकिसकेपछि ।’
केटौले उमेरमा नयाँ वर्ष २०४५ को सन्दर्भमा सुनसरी क्याम्पस इनरुवाको प्रेक्षालयमा आयोजित ‘नव वर्ष साहित्यिक दिवा’ समारोहमा सुनाइएको यो मुक्तकले त्यो बेला निकै वाहवाह ! र हाँसो पायो । तर, मुक्तकमा भनिए जस्तो प्रतिज्ञा साँच्चिकै नयाँ हो कि सनतनदेखि गरिँदै आएको हो ? भन्न गाह्रो छ ।
– अहिले जताततै ‘नयाँ नेपाल’ बनाउने चर्चा छ । तर, नयाँ नेपाल बन्छ–हुन्छ भन्नेमा ट्रक साहित्यका सर्जकहरू त्यति विश्वस्त छैनन् । आफ्नो आशङ्का ट्रकको पछाडि लेख्छन्, ‘देखियो तिम्रो नयाँ नेपाल पनि !’
– शैक्षिक उत्प्रेरणा जगाउने, पठन संस्कृति विकास गर्ने उद्देश्यले प्रायः शिक्षालय तथा पुस्तकालयका भित्तामा डेभिट थोरोको भनाइ लेखिएको देखिन्छ, ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन ।’
०००
– प्रज्ञा प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशका सम्पादकहरू कृष्णप्रसाद पराजुली, वासुदेव त्रिपाठीलगायतले नया“ शब्दको परिभाषा गर्दै लेखेका छन्, ‘ हालसालै मात्र देखा प®ेको, भर्ख®ै मात्र व्यवहा®मा आएको, भर्ख®ै जन्मेको, हालैको, भर्ख®ै पत्ता लागेको, कामको अनुभव नभएको ।’ शब्दकोशका अनुसार नया“का पर्यायवाची शब्दहरू हुन्, नव, नूतन, नवीन, नौलो, सिकारु, को®ा, अनुभवहीन आदि ।
– गुगलमा ‘नयाँ’ सर्च गर्दा भेटिएका केही प्रतिनिधि पदावलीहरू यस्ता छन् ः
नयाँ जनादेश अनुसार नयाँ राष्ट्रपति ।
नयाँ ढङ्गबाट नसोचिए समस्या ।
प्रहरीको नयाँ अभियान गुन्डा मापसे र होटल निगरानी ।
नयाँ फन्दामा शोभराज ।
थोत्रो कपडा पेलेर नयाँ सिरक ।
बसन्तबाट नयाँ हिमाल खुल्ने ।
महाकालीमा नयाँ पुल ।
भट्टराईले नयाँ पाटी खोल्ने ।
राजेश हमाल नयाँ लुक्समा ।
चितवनमा मकैको नयाँ बीउ ।
अध्यागमनमा नयाँ सफ्टवेयर ।
फेसबुकमा नयाँ खाता ।
नयाँ ‘छ सय एक’ले के गर्ने ?
०००
अचेल जमघटहरूमा ‘एक वर्षमा नयाँ संविधान’ बनाउन भइरहेका राजनीतिक अभ्यासहरूको निकै चर्चा छ । कतै ‘नयाँ बोतलमा पुरानो रक्सी’ हुने त होइन ! आशङ्का पनि उत्तिकै छ ।
नयाँपनको खोजी गर्दा मेरो मनमा बारम्बार एउटा जिज्ञासा आइरहन्छ कि नयाँ हुन्छ केही ? कुनै वस्तु, विचार र परिस्थिति कतिञ्जेल नयाँ भइराख्छ ? के भर्खर लेखिएको कविता नयाँ हो ? के आज कोरिएको चित्र नयाँ हो ? के भर्खर जन्मिएको बच्चा, अन्डाबाट निस्किदै गरेको चल्ला, बसन्तमा पलाएको पालुवा, आँपको मुजुरा, आज किनेको कलम, नेपालीका लागि ‘बिरयानी’ (भात भुटेर तयार पारिएको परिकार)को स्वाद नयाँ हो ? यो त सनातनदेखि लेखिँदै, कोरिँदै, हुँदै, पाउलिँदै, किनिँदै, खाइँदै आएको कुरा होइन र !
अनि, कुनै खोज, कुनै उत्पादन, कुनै विचार, कुनै जन्म कहिलेसम्म नयाँ हुन्छ ?
भनिन्छ, हाम्रो विचार, सोच, चिन्तन, सङ्गठन, कार्यशैली, प्रस्तुतिमा नयाँपनको आवश्यकता छ । तर, यस प्रसङ्गमा प्रेरक व्यक्तित्व शिव खेडाको विचार भने अलि फरक छ । भन्छन्, ‘दुनियाँमा केही हुन्न नयाँ । त्यो फरक ढङ्गले प्रस्तुत गरिएको मात्र हुन्छ ।’
पत्रकारहरूलाई थाहा छ, अधिकतर शीर्षकमा ‘नयाँ’ पदावली जोड्नुको सोझो अर्थ हो, केवल समाचारलाई बिकाउ बनाउनु । अन्यथा प्रहरीको त दिनचर्या नै हो, गुन्डाविरुद्ध अप्रेसन गर्नु त्यसलाई नयाँ भनिरहनुको अर्थ के छ ?
यद्यपि मान्छे नयाँ चाहन्छ । भर्खर किनेको किताब, मोटरसाइकल, मोबाइल आदिलाई निकै दिनसम्म जतन गरिराख्छ । मान्छेको यो सनातन तर कहिले पूरा नहुने क्षणभङ्गुर चाहनालाई सम्बोधन गर्दै नयाँ वर्षको सन्दर्भमा कवि तुलसी दिवसले सटीक लेखेका छन् ः
‘नयाँ वर्ष
हरेक वर्ष आउँछ
नयाँ भएर
र जान्छ पुरानो भएर ।’
०००