डराएर बाँच्न मन छैन सहरमा




 – सुविद गुरागाई


डराएर बाँच्न मन छैन सहरमा

तर नडराई बाँच्न गाह्रो छ ।

हराएर बाँच्न मन छैन रहरमा

तर नहराई बाँच्न गाह्रो छ ।


रिसाउँछन् कि कोही चित्त दुख्छ कसैको ?

हुन्छ आफैँ माया कि भ्रम हो यो मनैको ?

ढुङ्गाभन्दा कठोर सत्य बुझ्न साह्रो छ,

डराएर बाँच्न मन छैन सहरमा

तर नडराई बाँच्न गाह्रो छ ।


छिटो हिँड्न खोज्दा लडिने पो हो कि ?

ढिलो गर्दा पछि परिने पो हो कि ?

दोधारै–दोधार यहाँ सबैलाई हतारो छ

डराएर बाँच्न मन छैन सहरमा

तर नडराई बाँच्न गाह्रो छ ।


जिन्दगी चाहन्छ जुन लक्ष्यमा पुग्न ।

जेलिएको किन यति सकिएन बुझ्न ।

नबुझे पनि जिन्दगी किन यति प्यारो छ ?

हराएर बाँच्न मन छैन सहरमा

तर नहराई बाँच्न गाह्रो छ ।

...

bisnuprasad.bg@gmail.com