धर्म सापेक्षताको पक्षमा

– सुविद गुरागाई

कृपया जसले ‘राज्य भनेको धर्म निरपेक्ष हुनुपर्छ,’ ‘राज्यको कुनै धर्म हुँदैन,’ आदि भनिरहेको छ, सारमा उसले धर्म शब्दको अर्थ नबुझेजस्तो लाग्छ । धर्म भनेको अभिधा अर्थमा धारण गर्नु हो । सत्य जे हो, त्यो धर्म हो । समय, परिस्थिति, व्याख्या आदि अनुसार सत्य फरक–फरक हुन सक्छ भन्नेहरू पनि छन् । तर, यो भ्रम हो । पूरा कुरा बुझ्न बाँकी रहेको अवस्था हो । सत्यलाई बुझ्नु, त्यसलाई आफूमा धारण गर्नु र सोहीअनुरूप कर्तव्य निर्वाह गर्नु, मानव धर्म हो । यसको एउटा उदाहरण हेरौं । अहिंसा परमो धर्म भनिन्छ । यसको अर्थ हो, म कुनै पनि प्रकारको हिंसा गर्दिनँ भन्ने विचार मनमा लिनु र सोहीअनुरूप व्यवहार गर्नु । निश्चय नै हिंसा पाप र अहिंसा ठूलो धर्म हो । असल आचरण, सदाचार धर्म हो ।
लक्षणा अर्थमा धर्म नीति हो, नियम हो । कर्तव्य हो । अनुशासन हो । उज्यालो, ताप दिनु सूर्य (घाम)को धर्म हो । पोल्नु आगोको, तीर्खा मेट्नु पानीको धर्म हो । आँपको रुखले आँप नै फलाउनु त्यो रुखको धर्म हो भने आँपको रुखले अरू केही फलाउनु वा फल्न थाल्नु अधर्म । दिनरात भइदिएर, आफ्नो अक्ष र कक्षमा घुमिदिएर पृथ्वीले अहिलेसम्म आफ्नो धर्म निर्वाह गरिरहेको छ । माटोको धर्म सिर्जना उमार्नु र बिरुवाको धर्म सिर्जित हुनु हो । यात्रीलाई लक्षित गन्तव्यमा प¥याउनु सवारी चालकको धर्म हो । अँध्यारोबाट उज्यालोतर्फ जाने बाटो देखाउनु गुरुको धर्म हो । त्यो बाटोमा हिँड्नु शिष्यको धर्म हो । त्यसैगरी, किसानको धर्म के हो ? चिकित्सकको धर्म के हो ? प्रहरीको धर्म के हो ? सैनिकको धर्म के हो ? न्यायाधीशको धर्म के हो ? पत्रकारको धर्म के हो ? तपाईलाई थाहा नै छ । नबुझेकालाई कुरा बुझाउनु नेतृत्व, सहजकर्ता, लेखक–कवि आदि समाजका अगुवा वर्गको धर्म हो ।
परिवारको, समाजको, राज्यको अर्थात् हरेक वर्ग समुदायको एउटा धर्म हुन्छ । जङ्गलको एउटा धर्म हुन्छ । बाघको एउटा धर्म हुन्छ । सबैले आफ्नो गच्छे र क्षमताले भ्याएसम्म धर्म धानेका हुन्छन् । व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण, मूल वृत्ति, प्रकृति वा स्वभाव धर्म हो, जुन स्वाभाविक र सहज हुन्छ । कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य धर्म हो । स्वर्ग प्राप्त गर्न सकिने लोक–विश्वास भएका सनातनीहरूका अनुसार पुण्य कार्य धर्म हो ।
ठोस, तरल, ग्यास, अणु–परमाणु आदि जुनसुकै आकार–प्रकार भएका पदार्थको आ–आफ्नै धर्म हुन्छ । आकार नभएका भनिएकाहरूको पनि एउटा धर्म हुन्छ । निराकार केही छैन । मात्र हामीले त्यसको आकार थाहा पाउन वा व्याख्या गर्न बाँकी हो । ब्रह्माण्डको आकार गोलो, लाम्चो, चारपाटे वा अन्य कस्तो प्रकारको छ ? अहिलेसम्म वैज्ञानिकहरूले भन्न सकेका छैनन् । यसको अर्थ, ब्रह्माण्ड निराकार छ भन्ने होइन । यो कत्रो छ ? कति परसम्म छ ? खोजी हुन बाँकी छ । भनिनँ बाँकी छ ।
अहिले अधर्मले धर्मलाई जितेको छ भनिन्छ । तर, होइन । समाज यदि आफ्नो गतिमा चलिरहेको छ, मान्छे बस्न लायक छ भने हामीले बुझ्नुपर्छ, त्यहाँ धर्मले अधर्मलाई पछारेको छ । विभिन्न तह र तप्काले आ–आफ्नो काम इमानदारीपूर्वक गरिरहेका छन् र नै यो समाज चलिरहेको छ । नत्र समाजको जुइँना उहिल्यै खुस्किसकेको हुन्थ्यो । सानो उदाहरण हेरौं । यहाँ पत्रकारहरू ‘पित पत्रकारिता’ गर्छन् भन्ने आरोप छ । के साँच्चै यहाँ पत्रकारहरूले आफ्नो धर्म निर्वाह गरेका छैनन् ? यदि सबै पत्रकारहरूले लत्तो छोड्ने हो भने समाजमा पत्रकारिताको काम हुनै सक्तैन । पुर्खाहरू ‘हृदयमा हरि हुनुपर्छ,’ भन्थे । यसको अर्थ हो, हरेक मानवको अन्तरआत्मामा प्रज्ञा र करुणाको भाव विकास गर्नुपर्छ । धर्मको ख्याल हुनुपर्छ । निश्चय पनि यदि कुनै मानवमा दया, माया, सेवा, दान, त्याग जस्ता कार्मिक भाव छन् भने ऊ मानव धर्म सापेक्ष हुन्छ ।
त्यस्तै, निरपेक्ष केही हुँदैन । सबै यो पृथ्वी, विश्व ब्रह्माण्ड, यहाँका हावा, पानी, ढुङ्गा, माटो, वनस्पति, प्राणी आदिसँग सापेक्षित भएर विकास वा पतन हुने हुन्छ । जसले राज्य भनेको धर्म निरपेक्ष हुन्छ वा हुनुपर्छ भनिरहेका छन्, त्यो विचार पनि निरपेक्ष होइन । यही समाजको सापेक्षतामा विकास भएको एउटा वैकल्पिक विचार हो । एक पक्षबाट सोचिएको कुरा हो । खासमा यो विचार धर्मको खोल ओडेका कठमुल्लावादीहरूको व्यवहारले क्षुब्ध भएर व्यक्त गरिएको प्रतिक्रिया मात्र हो । यो पनि सापेक्षतावादी सिद्धान्तकै एउटा अङ्ग हो ।
यो विश्व ब्रह्माण्डमा कुनै पनि कुरो निरपेक्ष छैन । निरपेक्ष भनेको शून्य हो । शून्य केही हुँदैन । अङ्कमा शून्य देखाउनुप¥यो भने पनि वरपरबाट गोलो घेराको सहारा लिनुपर्छ । कुनै पनि सिर्जनाका लागि एउटा आधार चाहिन्छ । पृथ्वीको जन्म, जीव, वनस्पति, सभ्यता–संस्कृति, दर्शन–विचार आदिको उत्पत्ति र विकास सबै सापेक्षताको सिद्धान्त अन्तर्गत भएका तथ्य हुन् । विश्वमा कुनै पनि कुरा आफैँमा स्वतन्त्र नभई अर्कासँग कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त सापेक्षवाद हो । यस अर्थमा गहिरिएर मनन गर्दा के साँच्चै कुनै पनि राज्य धर्म निरपेक्ष हुन्छ ? वा हुन सक्छ ?
‘धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता हो । सबैले आफ्नो धर्म मान्न पाउने, सबै धर्मको सम्मान हुने अवस्था हो,’ भन्नेहरू पनि केही सङ्ख्यामा छन् । उनीहरू राज्यको धर्म हुन्छ वा हुँदैन भन्ने पक्षमा तटस्थ हुन चाहनेहरू हुन् । तर, यसमा पनि धर्म सापेक्षताको पर्याप्त अंश छ । राज्यले सबै धर्मको अस्तित्व स्वीकार गर्नुपर्छ, अर्थात् सबै धर्मलाई सम्मान हुने वातावरण बनाउनुपर्छ भन्नु धर्म सापेक्षता हो । कुनै पनि राज्यले उसको धर्म जे हो त्यो पहिचान, अङ्गीकार र पालना गर्नु–गराउनुपर्छ भन्ने तर्क यसमा छ । राज्य गैर–धार्मिक हुनै सक्दैन । राज्य समानता, न्याय र धर्म संस्थापनाका लागि मानिसहरूद्वारा निर्मित एउटा विशेष अवधारणा हो । त्यसकारण पनि राज्य धर्म सापेक्ष हुनुपर्छ । राज्य धार्मिक हुनुपर्छ । राज्य न्यायिक हुनुपर्छ । म धर्म मान्दिनँ, म धर्म निरपेक्ष हुन्छु भन्न राज्यले पाउँदैन । राज्य भनेको लोककल्याणकारी हुनुपर्छ । लोकको कल्याण गर्नु राज्यको धर्म हो । यस अर्थ पनि राज्य धर्म सापेक्ष हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत् नेपाली शब्दकोशमा ‘निरपेक्ष’ शब्दको अर्थ, ‘१. कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने । २. कुनै चासो नराखिएको; उपेक्षित । ३. असम्बन्धित; सम्बन्धदेखि मुक्त,’ लेखिएको छ । के हामीले राज्यको धर्मको सवालमा चाहेको त्यस्तै हो । जसले जे गरे पनि हुने ? धर्मको हेक्का, डर नभएको समाज वा राज्य ? भर्खर जन्मिएको बच्चाको हेरचाह र सुरक्षा गरेर पशु समुदायले त आफ्नो धर्म निर्वाह गर्छ भने मानव समुदायमा त्यति पनि विवेक हुन्न ?
हालै एक जना मित्रले फेसबुकमा ‘गाईको मासु खानेहरू मङ्गल ग्रहमा पुगिसके । गाईको पिसाब खानेहरू पृथ्वीमै छन्,’ भन्दै आफ्नै अज्ञानता झल्काउने पोस्ट राखे । खासमा गोराहरू गाईको मासु खाएका कारणले मङ्गल ग्रहमा पुगेका होइनन् । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक,’ लेखेको धेरै वर्षपछि मात्र पश्चिमाहरूले चन्द्रमामा पाइला टेकेको तथ्य ती मित्रलाई थाहा नभएको उनको कुराबाट झल्किन्छ । महाभारतकालीन समयमा विज्ञानको जुन विकास भएको कल्पना पूर्वको पवित्र भूमिमा गरिएको थियो, त्यतिको कल्पना आजसम्म पनि पश्चिमाहरूले गर्नसकेका छैनन् । क्षणमै मान्छे अलप हुने र क्षणमै मान्छे प्रकट हुने वैज्ञानिक उपलब्धि ऊ बेला कल्पना गरिएको थियो । त्यसतो उच्चतम् क्षमता विकास गर्न अझ कति वर्ष लाग्ने हो ?
आज संसारमा क्रिस्चियन धर्म सापेक्ष राष्ट्रहरू छन् । इस्लाम धर्म सापेक्ष राष्ट्रहरू छन् । बौद्ध धर्म सापेक्ष राष्ट्रहरू छन् । तर, जब हिन्दू धर्म सापेक्ष राष्ट्रको कुरा उठ्छ, ‘अहँ हुँदैन !’ भनिन्छ । किन ? अमेरिका जस्तो सम्पन्न र अग्रणी राष्ट्रका राष्ट्रपति ‘बाइबल’मा हात राखेर ‘ईश्वर’का नाममा सपथ खान्छन् । त्यो क्रिश्चियन धर्म सापेक्षता हो कि होइन । यदि होइन भने हाम्रा राष्ट्रपतिलाई ‘गीता’मा हात राखेर ‘ईश्वर’ का नाममा सपथ खान कसले र किन रोकिराखेको छ ?
अहिले धर्म परिवर्तन गराउनेहरूको मेला लागेको छ । खासमा दुःखी, गरिब, भेदभावमा परेका, सीमान्तकृत समुदायका हिन्दू सनातनीलाई छानी–छानी धर्म परिवर्तन गराइँदै छ । यसका लागि प्रयोग भएकाहरूले प्रेम, विवाह, औषधि, पढाइ र नोकरीलाई आवश्यकताअनुसार हतियार बनाएका छन् । यो आपत्तिजनक प्रवृत्तिलाई लक्षित गर्दै अखिल विश्व गायत्री परिवार, हरिद्वारका तर्फबाट केही दिनअघि एउटा जिज्ञासा सार्वजनिक गरिएको थियो । गायत्री परिवार भन्छ, ‘भोक’भन्दा ठूलो धर्म र ‘रोटी’भन्दा ठूलो ईश्वर यदि कतै छ भने कृपया देखाइदिनुहोला, हामी पनि धर्म परिवर्तन गर्न चाहन्छौं । तर, धर्म परिवर्तन गराउन चाहनेहरूले निकै दिन बितिसक्दा पनि यो जिज्ञासाको चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।
नेपाली माटोमा जन्मे हुर्केका सिद्धार्थ गौतम, बुद्ध (ज्ञानी) भएर आजन्म हिन्दू धर्ममा सुधारको कुरा गरे । मूर्ति पूजा परम्परा र अन्धविश्वास प्रवृत्तिको विरोध गरेर बुद्धले हिन्दू धर्म संस्थागत गर्न ठूलो गुन लगाए । ‘अप्पो दिप भवः’ भनेर बुद्धले संसारभरिका मानव समुदायलाई आफूभित्र विद्यमान ‘उज्यालो’ रुपी ‘ईश्वर’ चिन्न र धर्म सापेक्ष हुन प्रेरित गरे ।
सारमा, हामी आफ्नो ‘तपोभूमि’मा पुर्खाहरूले विकास गरेको पूर्वीय सभ्यताबाट जति विमुख हुन खोज्दै छौं, उति आफ्नो पहिचान र राष्ट्रियता कमजोर बनाउँदै छौं । दुःख लाग्छ, हामी हाम्रो धरातलीय यथार्थ र गौरवशाली इतिहास बिर्सेर पश्चिमाहरूको नक्कल गर्दै के हुन उद्यत छौं ? जबकि उनीहरू नै भन्दै छन्, ‘गीताभन्दा उत्कृष्ट दर्शन अरू छैन ।’ हेनरी डेभिड थोरोलाई, ‘भागवत् गीताको तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्तै निरीह लाग्छ ।’ मेरिना क्रिस्टिनाका लागि ‘गीता अत्यन्त प्रिय ठहरिएको छ ।’ विलियम रोवर्टस्का अनुसार वेदमा लेखिएका कुराले अनन्त सत्यलाई प्रस्तुत गर्छन् ।’ आर्थर भर्सलुइ भन्छन्, ‘हामीले वेदान्ततिर फर्कनु आवश्यक छ, किनकि उपनिषद्हरूले आदिमकालदेखि प्राप्त हुने विशुद्ध तत्व–मीमांशाको ज्ञान प्रदान गर्छन् ।’
यसरी पश्चिमाहरूले गीताको प्रशंसा त्यसै गरेका होइनन् । गीता जीवनको दर्शन हो । यसमा भनिएको छ, धर्मो रक्षति रक्षतः । अर्थात् तिमी धर्मको रक्षा गर । धर्मले तिम्रो रक्षा गर्नेछ ।
०००
bisnuprasad.bg@gmail.com

जय नेपाल टोलमा कमरेड चौधरी !



- सुविद गुरागाई

कथा लेख्न सजिलो छ, समाचार लेख्न गाह्रो । समाचार लेख्दा देखिएको÷सुनिएको जेजे हो त्यही–त्यही लेख्नुपर्छ । तर देखेको÷सुनेको सबै लेख्दा व्यक्तिको गोपनीयताको प्रश्न आउँछ, पत्रकार आचारसंहिताले पनि मिल्दैन ।
इटहरी, बालग्राम चोकबाट उत्तर जाने दुईवटा बाटोमध्ये जुनबाटो छिरे पनि अलि अगाडि जय नेपाल टोल आउँछ । त्यहाँ ‘जय नेपाल चोक’ लेखिएको बोर्डभन्दा केही उत्तर ठाडो बाटोको तेस्रो मोडबाट पश्चिम छिर्दा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी, दुःखीलाल चौधरीलगायत मिलेर गरेको प्लटिङ कारोबारस्थल पुगिन्छ ।
हावा नचली पात हल्लिँदैन भन्ने उखानको फेरो समात्दै मंगलबार बिहान नौ बजे घटनास्थल पुगेको केहीबेरमा सुनसरी प्रहरीका प्रवक्ता, २०७६ चैत महिनाका पुलिस अफ द मन्थ, डिएसपी विनोद शर्मा आइपुगे । सोही टोलमा सोमबार साँझ नगरप्रमुख चौधरी आफ्ना दुई जना सहयोगीसहित आएका थिए । घटनास्थल नयाँ प्लटिङको एकान्त ठाउँमा रहेको एक्लो घर हो ।
लकडाउनका बेला नगरप्रमुख त्यस्तो एकान्त ठाउँ, एक्लो घरमा किन आए ? गाउँलेका कान ठाडाठाडा भए । उनीहरूले त्यो घर र घरमा पसेका बाहिरिया तीन जनासमेतलाई नजरबन्दमा पारे । लकडाउनका बेला गाउँघरमा कोही शंकास्पद व्यक्ति आएको÷गएको थाहा भए तत्काल प्रहरीलाई खबर गर्न इटहरी उपमहानगरपालिकाले सूचना जारी गरेको छ । तर उनीहरूले प्रहरीलाई होइन पत्रकारलाई फोन गरे ।
आठ बजेतिर मलाई पनि सूचना आयो । म नागरिक दैनिकका लागि समाचार सम्पादनको काममा व्यस्त थिएँ । तत्काल घरबाट निस्किने परिस्थिति नबनेपछि मैले अरू पत्रकार साथीलाई गाउँलेको बोलावट आएको जानकारी गराएँ । तर साथीहरू पुग्दा राति साढे १० बजिसकेको थियो । अनपेक्षित दृश्य परिवर्तन भइसकेको थियो ।
यदि यो लकडाउनका बेला कोही नागरिक भोकले म¥यो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतकडी लगाउनुपर्छ भनेर ‘साहसिक’ अभिव्यक्ति दिने नगरप्रमुख चौधरीलाई एक्ली चेलीबेटी भएको एकान्त घरमा रक्सीले मातेको अवस्थामा ‘फेला पार्ने’ गाउँलेको सोचाइ असफल भयो । यसरी अनपेक्षित एउटा घटना टरेर त गयो तर त्यसको सामाजिक, राजनीतिक प्रभाव र तरंग भने बाँकी नै छ । स्थानीयका अनुसार नगरप्रमुख त्यो ठाउँमा सेतो हाफपेन्ट लगाएर हिँड्दै–हिँड्दै पाँच बजेतिर आएका थिए र राति नौ बजेतिर रक्सीले मातेको अवस्थामा फर्किएका थिए ।
घटनास्थलमा प्रहरीले एउटा भिडियो मुचुल्का तयार ग¥यो । त्यस क्रममा लक्षित चेलीले प्रहरीलाई जे भनिन्, त्यसको सारसंक्षेप यस्तो छ – ‘मेयर सा’ब बेलाबेलामा हाम्रो घरमा आइरहनुहुन्छ । उहाँको घर पनि यहीं नजिकै छ । हाम्रो घर छेउमै उहाँको प्लटिङको कारोबार पनि छ । शनिबार साँझ पाँच बजेतिर पनि आउनुभएको थियो । प्रायः आइरहने अरू दुई जना मान्छे पनि थिए । तिनैले घरमै भएको एउटा कुखुरा काटे । सबै मिलेर पकाए । खाए । साढे ६ बजेतिर जानुभयो । त्यस्तो केही बात लाग्छ कि भनेर छिमेकी एक जना हजुरआमैलाई पनि बोलाएकी थिएँ । जाने बेलामा मेयर सा’बले दुई हजार रुपियाँ दिनुभयो ।’
‘एक्ली मान्छे भएको यस्तो सुनसान ठाउँमा त्यसरी मान्छे आउन किन दिएको ?’ प्रहरीले बीचमा प्रश्न गरेपछि उनले सोध्ने प्रहरीलाई वाल्ल परेर एकछिन हेरिन् र भनिन्, ‘यसमा मेरो के गल्ती छ । त्यो त मेयरजस्तो मान्छेले आफैं बुझ्नुपर्ने कुरा हो । उहाँ बराबर मेरो घरमा आइरहने कुरा मेरो बूढालाई पनि थाहा छ । भिडियो कलमा कुरा भइरहन्छ ।’
उनका पति केही वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा बहराइनमा छन् । त्यसो त यो प्रकरणमा नेपाली समाजले केही वर्षदेखि भोगिरहेको वैदेशिक रोजगारीको प्रतिकूल प्रभाव र पीडा पनि अलिअलि मिसिएको छ ।
प्रहरीले यस्तो बेलामा कसैले बाहिरबाट साँचो लगाइदियो भने पछाडिबाट भाग्ने अर्को ढोका वा ठाउँ छ कि छैन भनेर भित्र पसेर सर्च ग¥यो । उनको घरमा राहतको पाँच बोरा चामल पनि छ भनी कसैले प्रहरीलाई सुराकी गरेको रहेछ । त्यो पनि खोजीनिधी ग¥यो । तर पछाडिबाट भाग्ने ढोका र अपेक्षित परिमाणको चामल फेला पारेन । स्थानीयका अनुसार घर होचोहोचै भएकाले बाहिरबाट ढोका लगाए पनि छतबाट हाम्फालेर भाग्न सकिन्छ । ‘ल, तपाईलाई केही हुँदैन, अबदेखि कसैलाई त्यसरी घरमा आउन दिने, खुवाउने नगर्नू,’ यति भनेर प्रहरी टोली फर्कियो ।
फर्किने क्रममा डिएसपी विनोद शर्माले रमिते स्थानीयलाई लक्षित गर्दै, ‘तपाईहरूमध्ये कसैलाई केही भन्नु छ ?’ भनेर सोधे । जबाफमा धेरैले धेरै कुरा भने । तीमध्ये एक जना वृद्धाले भनेको कुरा उल्लेख्य छ । उनले भनिन्, ‘म त हाम्रा मेयरको काम देखेर छक्क पर्छु । मेयरजस्तो मान्छेले खाने–बस्ने ठाउँ अन्त कतै भेट्दैनन् र यहाँ आइपुग्नुपर्छ ? लकडाउनका बेला घरमै बसेर खाँदा हुँदैन ? एक्ली आइमाई केटाकेटी भएको ठाउँ खोज्दै किन आउनु ?’
स्थानीयका अनुसार नगरप्रमुख चौधरीको नाम जोडिएको यो प्रकरण त्यस गाउँमा भएको पहिलो र अन्तिम घटना होइन । उनी साँझ–बिहान पारेर त्यहाँ आइरहन्छन्, गइरहन्छन् । चार–पाँच दिनअघि पनि चौधरी त्यही घरमा आएका थिए । कुखुरा काट्न, खान पल्ेका छन् । प्लटिङका केही कारोबारीहरू पनि सँगै हुन्छन् ।
दुई महिनाअघि माथ्लो टोलमा रहेको गिरीको घरमा केही मान्छेहरूसहित भेला भएर कुखुरो काट्न÷पकाउन लगाएछन् । केहीबेरमा फोन गरेर दुइटी केटी पनि बोलाए । ती केटीको हात समात्ने आदि गरेछन् । त्यो देखेर गाउँलेले त्यहीं घेरामा पार्ने योजना बनाएर बालग्राम प्रहरीलाई फोन गरेछन् । बालग्रामबाट दुई जना प्रहरी आएछन् पनि । तर प्रहरीहरू भित्र नपसी बाटोमै उभिएछन् । प्रहरी आएको थाहा पाएर नगरप्रमुख चुपचाप उठेर घरतिर लागेछन् ।
यसबाहेक नगरप्रमुखका भेडेटार, इलामतिरका काण्ड यहाँ उल्लेख गर्दा प्रमाण पु¥याउन गाह्रो छ । तथापि नगरप्रमुख चौधरीले केही केटीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाएको, केही केटीहरूको फोटोमा ‘सो क्युट’ आदि प्रतिक्रिया लेखेका स्क्रिन–सटहरू स्थानीय पत्रकारहरूसँग सुरक्षित छन् । आफूलाई सच्चा कम्युनिस्ट बताउने नगरप्रमुख चौधरी त्यहीअनुसार आफ्नो जीवनशैली सामान्य रहेको सार्वजनिक दाबी गर्ने गर्छन् ।
‘हामीलाई कमरेड चौधरीको व्यक्तिगत जिन्दगी र जीवनशैलीप्रति त्यति ठुलो समस्या छैन,’ स्थानीय रमेश पोखरेल भन्छन्, ‘तर उनी हाम्रो नगरका मेयर पनि हुन् । हाम्रो नगरका मेयर यति लुब्ध र आलोचित हुन सुहाउँदैन, यसमा हाम्रो घोर आपत्ति छ । उनी पदअनुसारको मर्यादामा बस्नुपर्छ ।’
...

भाइरल गर्लका नाममा


– सुविद गुरागाई

स्वघोषित अधिकारकर्मी, पार्टीगत कारबाहीमा परेकी पूर्वकथित माओवादी, वर्तमान प्रधानमन्त्री केपी शर्माओलीकी स्वघोषित धर्मपुत्री, विभिन्न मान्छेसँग बार्गेनिङ गरी हिँडेको भिडियो–अडियोबाट बेलाबेलामा चर्चित, केपी ओलीको नेतृत्वको सरकारलाई अप्ठेरो पर्ने भो भनेपछि निर्मला हत्या–कान्डसँग सम्बन्धित अभियान र आन्दोलनलाई दिग्भ्रमित गर्न पेटीकोट लगाएर सडकमा आउने, म कुनै केटा भाडामा लिएर बच्चा जन्माउन चाहन्छु भन्दै नेपालको हावापानी माटो नसुहाउँदो अतिवादी फेमिनिस्ट कुरा गर्ने, बाबुआमाले बिहे गर छोरी भन्दा बाबुआमालाई नै मुद्दा हाल्ने, म दोस्रो मेनुका थापा अर्थात् अर्थात् रक्षा नेपालको अध्यक्ष हुँ भन्दै मान्छे ढाँट्ने, जय–नारी ह्यास ट्यागसहित सामाजिक सञ्जालमा चेलीबेटी उचाल्ने, भाइरल गर्ल सावित्री सुवेदीजीले सोचेजस्तो कफल्लो र भ्रष्ट मान्छे होइन सुविद गुरागाई । नारी अधिकारको सवालमा निरन्तर आवाज उठाएबापत देशभरिबाट छनोट गरेर यो राज्यले सार्वजनिक सम्मान तथा पुरस्कृत गरेको एक पत्रकार हो । यो कुरा ‘भर्खरभर्खर ‘जन्मिएकी सावित्रीलाई थाहा नहुनसक्छ तर एकपुस्ता अगाडिको दुनियाँलाई थाहा छ । नेपाली चेलीको विपक्षमा संविधानसहित मुलुकका कतिवटा कानुन छन् र तिनमा समानताका लागि के गर्नुपर्छ भनेर देशमै पहिलोपटक समाचार–टिप्पणी लेख्ने मानिस पनि मै हुँ ।
यो मुलुक र समाजको विडम्वना यही छ । एउटा भ्रष्टतामा रमाइरहेको कोही पात्र (कुपात्र)लाई पनि सार्वजनिक ठाउँमा ‘हजुर’ भनेर लेख्नुपर्दा, बोल्नुपर्दा मन भत्भती पोल्छ । म कस्तो समाजमा बाँचिरहेको छु भन्ने सामान्य ग्लानि पनि हुन्छ । मनले भन्छ, तथानाम गाली गरुँ । गलत कुरा लेख्ने÷बोल्नेहरूको सातो उडाउँ । तर गाह्रो छ । आचारसंहिताको प्रश्न छ । देखिइरहेको छ कि अमुक मान्छे भ्रष्ट छ, तर टुलुटुलु हेर्नुपरिरहेको छ । प्रमाण पु¥याउने धम्की हुन्छ । देखे जति सबै कुराको प्रमाण पु¥याउन सकिँदैन, त्यसैले यस्तो बेलामा चित्त दुख्छ र ‘जेहादी’ हुन मन लाग्छ । कि वार कि पार ! तर अहँ, म एक्लै कि वार कि पारको लडाइँमा उत्रिँदा पनि समाजमा जरो गाडेर हुर्केका भाइरसहरू सकिन्छन् भन्ने लाग्दैन र संयमित हुने प्रयास गर्छु । म मर्दैमा समाजका भाइरस, दलाल, हण्डीवाज, बलात्कारी, भ्रष्टाचारीहरू सकिन्छन् भन्ने लाग्दैन । यसखालको मेरो आहुति बेकार जान्छ भन्ने लाग्छ । र मन सम्झाउँदै समाजमा आफूले सकेको जति सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेको हुन्छ । मेरो घर, कार्यालय, गाउँठाउँ जहाँजहाँ म जोडिएको छु, ती सब ठाउँमा मेरो त्यो प्रयास यथावत् हुन्छ । एउटा सामान्य गमलामा झार उम्रेको देखें भने पनि झार उखेलेर गमला स्याहार्न मन लाग्छ । उल्टेको चप्पल त झन् म देख्नै सक्तिनँ । भित्तामा लेखिएका फोहोर शब्दहरू मेटाउँदै हिँड्न मन लाग्छ । म आफ्नो वा अरूको बारेमा सीधै कुरा गर्छु । सीधै लेख्छु ।
म रुखमा भोट हाल्छु । यो मेरो नागरिक अधिकारको कुरा हो, कुनै सार्वजनिक आलोचनाको विषय होइन । पत्रकारिता र लेखन मेरो प्रोफेसन हो । एउटा डाक्टर कांग्रेसी हुनसक्छ तर अस्पतालमा रोगीहरूका अगाडि ऊ केवल एउटा चिकित्सक हो । यति सामान्य कुरा पनि मान्छेले नबुझेको देख्दा ताज्जुब लाग्छ ।
व्यक्तिगत रूपमा म हिन्दुवादी कार्यकर्ता पनि हुँ । तर व्यावसायिक रूपमा मैले सयौँ मुस्लिम युवाहरूलाई नेतृत्व विकासको तालिम दिएको छु । मदर्शाका मौलानाहरूको घोषणा–पत्र लेखेको छु । म घोस्ट राइटर पनि हो । पैसा दिने हो भने म जसको पनि जीवन कहानी लेखिदिन्छु । आदरणीय कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जीवन कहानी भर्खरै लेखिसिध्याएको छु ।
मैले मेरो पत्रकारिता र लेखनको ३२ बर्से (२०४५ सालदेखि निरन्तर) करियरमा समय–सन्दर्भ मिलाएर धेरैका बारेमा धेरै कुरा लेखेको छु । त्यसबेला नदुखेको टाउको टाउको द्वारिकलालको बारेमा लेख्दा चाहिँ किन दुखेको छ ?
लेख्न दिनु नि मलाई के लेख्न मन लाग्छ । गलत लेखे मैं बिग्रिन्छु, सजायको भागिदार हुन्छु । दुनियाँको के जान्छ ?