मबिना

मबिना एक्दै घुम्नै सक्तैन पृथ्वी
म मरे पनि बाँचे पनि
मलाई साथमा नलिई
...छोडेर जान सक्तैन पृथ्वी
उसका पनि बाध्यता र सीमाहरु छन्
उसका पनि चाहनाहरु छन्
मलाई लानै पर्छ उसले ।
मेरो सम्झनाबिना रित्तै
बग्न सक्तैनन् नदीहरु
मलाई नछोई/नबोलाई अलग्गै एक्लै
जान सक्तैन हावा ।
मबिना एक्लै हाँस्न सक्दैन माटो
मलाई बाहेक गरेर हुन सक्तैन दिन/रात
मसँगको तिनको कार्मिक सम्बन्ध
तोड्न सक्तैदनन् तिनीहरु ...
मलाई पनि उस्तै हो
म पनि पृथ्वीबिना बाच्नै सक्तिनँ
तर, कहिले काहीँ लाग्छ
ऊबिना म पागल हुन्छु होला
तर, फेरि लाग्छ
अहँ म ऊबिना पागल पनि हुन सक्तिनँ ।
- सुविद गुरागाई
गजल
– सुविद गुरागाई
समयले अनेक झेल लगायो ।
भुमरीमा मनको नाउ फसायो ।
मनको गुहार सुनेन कसैले !
रुँदै हिँड्न कायल हाल गरायो ।
साथ रहेको आफन्त मायाले,
दिनु धोका दियो खुब सतायो ।
सुनाएर नयाँ धुन अनेकौं,
जिन्दगीले सुर न ताल बनायो ।