धु्रवे फिक्सन

धु्रवे फिक्सन

–सुविद गुरागाईं

‘हेलो सर ! ध्रुवे यहाँ छ !’
फोन गर्नेले पैसा तिर्नु नपर्ने हेलो सरकारको टेलिफोन नम्बर ११११ मा मैले बिहीबार बिहानै सूचना चुहाइदिएँ ।
‘कहाँ छ त्यो अधर्मी ?’ उताबाट स्थायी सरकारको कोही प्रतिनिधिको खस्रो आवाज सुनियो ।
‘यहाँ, हाम्रो पानीपियाको जङ्गलमा...’ मैले थप सुराकी गरेँ ।
मैले एकदिनअघि मात्र धु्रवे हात्तीका बारेमा पत्रिकामा पढेको थिएँ । सरकारले धु्रवेका नाममा ‘रेडकर्नर नोटिस’ नै जारी गरेको अवस्था छ । यसरी कसैलाई पनि ‘मस्ट वान्टेड’ फौजदारी अपराधीको सूचीमा राखिसकेपछि त्यसबारे पहिलो सूचना दिने व्यक्तिलाई सरकारले राम्रै पुरस्कारको पनि व्यवस्था गरेको हुन्छ ।
‘कहाँ हो यो पानीपियाको जङ्गल भनेको ?’ सरकारका मान्छेहरु प्रस्ट हुन चाहिरहेका थिए ।
विचराहरु यो मध्य जाडोमा धु्रवे खोज्दा–खोज्दा लखतरान भएका थिए । एकातिर चितवनबासीको र अर्कोतिर हाकिमहरुको दबाबका माझ राष्ट्रसेवकले दिन–रात भन्न पाएका थिएनन् । संरक्षणवादी कार्यकर्ताको दबाब पनि सँगसँगै थियो ।
तर, नेपालको कानुनमा उल्लिखित ‘हात्ती बहुलायो भने मार्न पाइन्छ’ भन्ने झिनो र विवादास्पद आधारको फेर समातेर कर्मचारीहरु संरक्षण र वैकल्पिक उपायका नाराहरु कुल्ँिचदै जङ्गल–जङ्गल भौंतारिइरहेका थिए ।
‘भन्न त भनिहाल्छु नि सर, तर सूचना दिने मान्छेलाई केही पुरस्कारको व्यवस्था पनि छ कि !’ मोही माग्नु, ढुङ्ग्रो के लुकाउनु !
‘हुन्छ, पुरस्कारका लागि सिफारिस पनि गरौंला, ...अब भन्नुहोस्, कहाँ छ पानीपिया ?’
‘हाम्रो सुनसरीको चारकोसे जङ्गलमा, तरहरा र शान्तिनगरको बीचमा...’ मैले ‘पुरस्कार पाइहालिन्छ कि’ भन्ने सोचलाई ‘रेडकर्नर नोटिसवालाका बारेमा सूचना दिनु नागरिकको कर्तव्य पनि हो’ भन्ने विचारमा अनुवाद गरेर खुलस्त बताइदिएँ ।
कृतज्ञ हुँदै उताबाट भनियो, ‘धेरै–धेरै धन्यवाद छ !, तपार्इं साह्रै बुझ्झकी मान्छे हुनुहँुदोरहेछ । कृपया त्यहीँ बस्दै गर्नुहोला !’
०००

गडडड... घ्यार्रर्रर ... गर्दै सेउती खोलातिरबाट जङ्गलमाथि आर्मीकलरको हेलिकप्टर देखियो । हेर्दाहेर्दै हर्बल तेल उत्पादक कम्पनी पसिरमा रहेको दुर्लभ हाँडीफोर (काकाकुल) चराको स्थायी बासस्थान ठूलो सिमलको रुख छुँला–छुँलाजस्तो गरेर छेकारो मार्दै हेलिकप्टर म उभिएको ठाउँमाथि आइपुग्यो । हेलिकप्टरको कर्कस आवाजले विचरा हाँडीफोरका बचेराहरु साह्रै त्रसित भएछन् क्यार ! च्याउँ–क्याउँ गर्दै कराएको प्रस्ट सुनियो । शान्त वातावरणमा एकाएक हुनपुगेको मानवीय घृष्टताविरुद्ध जोडी काकाकुलले गुँडबाट बाहिर निस्केर चिहानघारीमाथि एक फन्को लगाए र फेरि गुँडमै फर्किए ।
सुरुमा चीलजत्रो देखिएको हेलिकप्टर हात्तीभन्दा ठूलो भएर क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परिसरको खुला खेतमा थपक्क बस्यो ।
मैले सूचना दिएको एक घन्टाजसो भएको थियो । धु्रवे फायरलाइनको बाटो हुँदै तालतलैया मार्गमा प्रवेश गरिसकेको थियो । हात्ती लम्केको र घोडा चम्केको भन्छन्, एक घन्टामा त धु्रवे कहाँबाट कहाँ पुगिसक्यो होला ! सोच्दा–सोच्दै यस्तो तर्कना आउनासाथ मन चिसो भयो । तै, प्रमाणका लागि मैले ‘नेपाल वान’को स्टिकर टाँसिएको क्यामेरामा पानीपिया खण्डमा दिउँसै धु्रवे देखिएको र फायरलाइनतिर गएको फुटेज लिइराखेको थिएँ ।
मान्छे डढाउने घाटनेर उभिएको म बिस्तारै हेलिकप्टर भएतिर अघि बढेँ । हेलिकप्टरबाट बन्दुकवाला चार जना, डाक्टरजस्ता दुई जना, पाइलट एक जना र एक जना सामान्य लुगा लगाएका मान्छे फुत्त–फुत्त बाहिर निस्किए । सामान्य लुगा लगाएका मान्छेले मोबाइलमा फोन डायल गरेको देखेँ । मैलाई खोजेको हुनुपर्छ भन्ने लागेर म उनीहरु भए नजिकै पुगेँ । नभन्दै हो रहेछ । मैले ध्रुवे देखेको फुटेज देखाइदिएँ ।
‘वाह ! ठीक छ !’ खोजेकोजस्तै दृश्य देखेर उनी उत्तेजित भए ।
‘खै, कहाँ हो त यो ठाउँ ?’ खुसीले तरङ्गित हुँदै उनले सोधे ।
‘ठाउँ त यतै हो सर, तर... !’ म अलि झोक्राएँ ।
‘के तर ?’ उनको मनको प्यालामा एक टुक्रो बरफ कक्टेल भएर खस्यो ।
मैले ध्रुवे शान्तिनगरी सामुदायिक वन हुँदै तालतलैयातिर गएको बेलिबिस्तार लगाएँ र भने, ‘भर्खरै त्यता गएको हो सर, खोज्न जानुपर्छ, म पनि तपाईंहरुसँगै जान्छु, धेर टाढा गएको छैन होला ।’
‘जङ्गलमा छिरेको हात्ती र बालुवामा छिरेको सियो भेट्न धेरै गाह्रो हुन्छ भाइ !’ उनी लल्याकलुलुक भए । बोलीबाटै थाहा हुन्थ्यो, उनी चितवनमा दुई साताअघिदेखि जारी ‘धु्रवे खोज अभियान’मा सहभागी एक असफल अभियन्ता थिए ।
‘यताको चारकोसे जङ्गल चितवनको जस्तो घना छैन सर, मानवीय अतिक्रमणले गर्दा पातलिएर टाँट भएको छ ।’ मैले उनलाई आश्वस्त पार्न खोजेँ ।
०००
तरहरामा पूर्वाञ्चलकै नामी सेकुवा खाजा खाने क्रमसँगै उनले यताउति विभिन्न ठाउँमा फोन गरे । उनले कोसीटप्पु आरक्ष, सुनसरी प्रहरी, वन कार्यालय र जिल्ला प्रशासनका हाकिमलाई फोनबाटै जानकारी गराए र आवश्यक मद्दतका लागि आग्रह गरे ।
टोली तरहरामै बसेर गौंडा ढुक्ने निस्कर्षमा पुग्यो । मैले पनि त्यतै रात बिताउने सोच बनाएर अफिसमा खबर गरेँ । उताबाट, ‘त्यो त एक्सक्लोसिभ हुन्छ, भएको फुटेज पठाउनु, यता हामी ब्रेकिङ–स्क्रोल चलाउने छौं !’ भने न्युज चिफ मुकुन्द दाइले । टोली प्रमुखले पनि सूचनादाता सँगै नबस्नु भन्न सकेनन् ।
उनी जनावरको मनोविज्ञान बुझ्ने मानिस रहेछन् । कोसीटप्पुबाट रम्भाकलीसहितको टोली मगाए । साँझ छ बजेतिर माहुते, पछुवा र रेन्जरको टोली रम्भाकलीलाई लिएर तरहरा आइपुग्यो । युनिफाइड फोर्स पनि आयो । केही पुलिस र केही आर्मी थिए ।
उनले रम्भाकलीलाई खुट्टामा सिक्री बेरेर, रेन्जपोस्टको आँगनमा गाडिएको मुड्कोमा बाँध्न लगाए । दुई जना प्राविधिक ‘शिकारी’लाई बन्दुकसहित नजिकैको बूढो रुखमा चढ्न लगाए र रातभरि कुर्न लगाए । हामी तरहरा बजारमा आगो ताप्दै गौंडा ढुकिबस्ने भयौँ ।
उता, प्रियाको माया नपाएर बहुलाहाको धुव्रेलाई रम्भाकली तरहरामा एक्लै भएको गन्ध, ‘के खोज्छस् कानो ? आँखो’झैँ भएछ । नभन्दै, घुम्दै–फिर्दै, राति दुई बजेतिर धुव्रे रेञ्जपोस्टको आँगनमा देखियो ।
०००

‘ड्याम्म... !’ चितवनमा जारी असफल अभियान र जनविरोधको कहानी चाख मानेर सुन्दै आगो तापिरहेका हामी  गोली चलेको आवाजले झस्कियौँ ।
‘लाखे–लाखे, उपायले काम गरेजस्तो छ,’ भन्दै उनी उफ्रेको देखेर अरु पनि ज¥याकजुरुक उठ्यौँ । रम्भाकली बाँधिएको ठाउँनेर पुग्दा बिचरा ध्रुवे अत्तालिँदै शान्तिनगरको ग्राभेल बाटो कटेर कृषिकेन्द्रको खुला खेततिर भाग्दै रहेछ । रम्भाकलीको गन्ध सुँघ्दै आएको धु्रवेले केही गर्नु अगावै वन प्राविधिकले बन्दुकबाट हानेको ‘गोली’ त लठ्याउने औषधि भएको सुई ‘डोपिङ गरेको’ पो रहेछ ।
सुँढमा गोली (डोपिङ) लागेर अत्तालिएको बिचरा धु्रवे भाग्नै सकेन । पाँच सय मिटर पर पुगेपछि, ठाउँको ठाउँ ठिङ्ग उभियो ।
‘ल, अब छ–सात घन्टालाई काम पुग्यो !’ ती सचिवस्तरीय कर्मचारीले भने, ‘कोही डराउनुपर्दैन, छ–सात घन्टा यसले हलचल गर्न सक्तैन ।’
म नजिक पुगेर क्यामेरा अन गर्दा, कुहिरोभित्र एक्लो र निरिह धु्रवे ‘कोमा’मा पुगिसकेको थियो । विचरा प्राकृतिक रुपमा सर्वाङ्ग थियो, सार्वजनिक ठाउँमा लुकाउनुपर्ने अङ्ग पनि लुकाउन भ्याएको थिएन ।
केहीबेरमा उनीहरुले रम्भाकलीलाई ठेल्न लगाएर धु्रवेलाई भुइँमा पछारे । र, हेलिकप्टरबाट करौंतीलगायतका औजार ल्याएर ध्रुवेको दुईवटै दारा काटिदिए ।
‘यसरी दारा काटेर के हुन्छ र ? के धु्रवेले अब बदमासी गर्न छोड्छ ?, सरकारले मार भनेकै छ, मारिदिए भइगयो नि !’ मैले ती वन–प्रकृतिविज्ञ कर्मचारीबाट एकैपटक तीनवटा जिज्ञासाको समाधान चाहेँ ।
‘बडो राम्रो प्रश्न सोध्नुभो पत्रकारजी ! दारा काटिएको मत्ता र रुखबाट लडेको बाँदर आफ्नो समुदायबाट बहिस्कृतजस्तो हुन्छ, आफ्नो समुदायमा अरुका अगाडि कहिले पनि फुर्ती–फार्ती गर्न सक्दैन । ध्रुवेले पनि अब कुनै बदमासी गर्ने छैन ।’
त्यसपछि, प्रशासनले माइकिङ ग¥यो, ‘दुई घन्टापछि धु्रवे बिउँझिने छ, त्यसबीचमा सबै आफ्नो घर गइसक्नु होला, अन्यथा हुने क्षतिको सरकार जवाफदेही हुनेछैन ।’
बिहानैदेखि बराम लागेका रमितेहरु एक–एक गर्दै घट्न थाले । राष्ट्रसेवकहरु पनि फर्किए । दिउँसो दुई बजेतिर धु्रवे ‘चिरनिन्द्रा’को स्थितिबाट बाहिर आयो र लाजले मुन्टो निहुँराउँदै शान्तिनगरी सामुदायिक वनतिर लाग्यो ।
नभन्दै त्यस दिनदेखि धु्रवे आतङ्ककारी भएर गाउँ–बस्तीमा देखापरेको छैन ।

bisnuprasad.bg@gmail.com

बहुलायो ध्रुबे

बहुलायो ध्रुबे


गजल
सुविद गुरागाईं

माया नपाएर बहुलायो ध्रुबे ।
नजिर बनाएर बहुलायो ध्रुबे ।

गरुँ के मनलाई कहाँ जाऊँ अन्त ?
अनेक सोच आएर बहुलायो ध्रुबे ।

सम्झी–सम्झी स्वार्थी दुनियाँको सत्य,
हरेस् धेर खाएर बहुलायो ध्रुबे ।

एक्लै बिन्दास हुँदै मायालुको सधैँ,
गीत गुन्गुनाएर बहुलायो ध्रुबे ।

यति माया गर्यो मायालाई किन ?
गजल लेख्न लाएर बहुलायो ध्रुबे ।

bisnuprasad.bg@gmail.com