गजल
– सुविद गुरागाई

जब मन धेरै दुखेको हुन्छ ।
हाँसोमा आँसु लुकेको हुन्छ ।

सर्वोच्च हुन्न संसारमा अरू,
मायामा सगर झुकेको हुन्छ ।

जतिले भनुन् बदलिन्न सत्य,
बुझ्नेले कुरा बुझेको हुन्छ ।

कि हो त्यो पागल कि कोही प्रेमी !
जो गजल तालमा डुबेको हुन्छ ।
०००
पुस्तक हटियामा बुख्याँचा
– सुविद गुरागाई

‘हेलो !’
‘तैँले मेरो नाम लिँदै पत्रिकामा किन जे मन लाग्यो त्यही लेख्छस् ?’
‘को बोल्नु भो तपाई !’
‘तेरो बाउ !’
‘मेरो बाउ त म छ वर्षको हुँदा नै मरेका थिए ।’
‘अब तँ पनि मर्छस् !’
‘तर म त ८० वर्षसम्म सक्रिय जीवन बाँच्छु भनेर सोचिबसेको मान्छे हुँ !’
‘अब फेरि त्यसैगरी मेरो नाम लेखिस् भने ८० दिन पनि बाँच्दैनस् !’
यति भनेर उसले फोन राखिदियो । आवाज केही चिनेचिने जस्तो पनि लाग्यो तर यकिन गरेर भन्न सक्तिनँ ।
यो कुराकानी मैले मोबाइलमा रेकर्ड गरेको छु । तपाई चाहनुहुन्छ भने यसको एमपिथ्री अडियो साउन्ड सुनाउन सक्छु । ९८१०५५४४०० । उसको फोन नम्बर सेभ गरेको छु ।
एक–दुई पल्ट फोन गरी हेरेँ । तर, उठाएन । सम्भवतः ऊ मसँग कुरा गर्न चाहँदैन । मलाई मार्न चाहन्छ । र, त्यसका लागि समय पर्खिरहेको छ । योजना बुनिरहेको छ ।
म विस्मित छु, को हो त्यो जो मसँग यसरी अत्यन्त रिसाएको छ । मेरो लेखाइसँग चिढिएको छ । र, मलाई मार्न चाहन्छ ।
पक्कै फन्टुस फिक्सनको कोही पात्र हुनुपर्छ ।
०००
लेखन कुञ्जमा हरेक शनिबार पुस्तक हटिया लाग्न थालेको छ ।
हटियामा बुख्याँचा पात्रहरूको जगजगी छ ।
हेर्दा सर्लक्क मान्छे जस्ता लाग्छन् तर बुख्याँचा बुख्याँचा नै हुन् । बाहिर भयङ्कर लाग्छन्, भित्र केही न केही ।
त्यही भींडमा पहिलो दिन नै भेटिए कृष्ण अविरल ।
कृष्ण अविरल सेलिब्रिटी नाम हो । भित्रैदेखि आदर गर्न मन लाग्छ । तर, जम्काभेटमा कर्कलाको पानी भइदिए । छुद्रता छताछुल्ल भइदियो । हेर्दा–हेर्दै सैतान देखिए देवता ठानेका मानिस । दुर्भाग्य मेरो ।
रक्तकुण्ड पढेँ । लालचुडी पढेँ । लालचुडीले भित्रैसम्म मन छोएको थियो । साँच्चिकै हो जस्तो लागेको थियो । उहिले समाचारपत्रको परिशिष्टाङ्क सौगातको सम्पादन गर्दा मैले ‘कृष्णप्रसाद भट्टराईहरू’ शीर्षकका लागि छानेका पात्रहरूमध्ये कृष्ण अविरलको नाम निकै सम्मानसाथ उल्लेख गरेको थिएँ । तर, पछि बुझ्दै जाँदा उनी त्यति स्पेस दिनुपर्ने पात्र होइन रहेछन् जस्तो लाग्यो । त्यत्तिकै कालो ढुङ्गालाई शालीग्राम ठानिबसेको रहेँछु ।
मञ्जरी प्रकाशन खोलेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन छापेका छन् । पण्डित जगन्नाथ गुरागाईको गुणरत्नमाला छापेका छन् । एकपछि अर्को अनधिकृत कामहरू धमाधम गर्न थालेका छन् । अर्काको रचना छाप्न र बेच्न न कसैको अनुमति लिनुपर्ने न त्यसरी बेचेवापत कसैलाई लेखकश्व दिनुपर्ने । अदालतमा मुद्दा हाले पनि नलाग्ने । त्यसो त नेपालमा पनि प्रतिलिपि अधिकार कानुन छ । तर, कानुन बनाउनेहरूले बदमासी गर्न चाहनेहरूलाई प्रशस्त ठाउँ दिएका छन् । सिर्जना प्रकाशन भएको र सर्जकको मृत्यु भएको ५० वर्षपछि त्यस्तो कृति पब्लिक डोमेनमा जान्छ र त्यसको प्रयोग जसले पनि गर्न पाउँछ भन्ने लेखिएको छ । यही कानुनी दुलो समातेर भ्रष्टाचारको अँध्यारो गुफामा पसेका छन् अविरल । यसमा कानुनीभन्दा पनि नैतिकताको प्रश्न बढी छ । उनबाट नैतिकताको कति आस गर्ने नगर्ने त्यो विद्वान लेखक कविहरूकै जिम्मा ।
पछिल्लोपटक मञ्जरी प्रकाशनबाट मनु ब्राजाकीका गजलको किताब छाप्छु भन्दै लिखित सम्झौता गरेका रहेछन् अविरलले । ब्राजाकी जीवित छँदाकै कुरा हो यो । ब्राजाकीको निधनपछि एकदिन लेखन कुञ्जमा भेट हुँदा एक जिज्ञासु शुभेच्छुकको तहबाट जीवनपानीले सोधे, ‘मञ्जरी प्रकाशनबाट मनु ब्राजाकीको गजलको किताब कहिले छापिँदैछ ?’
सुन्नासाथ भरक्क भड्किहाले अविरल ।
‘छाप्दिनँ म त्यो । सम्झौता, पाण्डुलिपि जे छ सबै च्यातिदिए हुन्छ ।’
यस्तै छुद्र वचन बोले उनले । म साक्षी छु । जीवनपानी अक्क न बक्क भए । के बोल्नु के नबोल्नु ! यसले पो केही बोल्छ कि भनेर मतिर फर्केर हेरे ।
‘ओहो, किन यसरी उत्तेजित हुनुभएको अविरलजी ? यो त समाचार बन्ने प्रसङ्ग होला जस्तो छ । तपाई आफैँ पत्रकारिता बुझेको मान्छे । बिस्तारी बोल्दा, छलफल गर्दा पनि हुन्छ नि होइन र !,’ मैले अविरललाई शान्त हुन आग्रह गर्दै भनेँ ।
‘लेखिदिए हुन्छ समाचार । केही फरक पर्दैन,’ उनले यस्तै भने र जुरुक्क उठे । सरासर पुस्तक हटियाको भिंडमा हराए ।
त्यत्रो उचाइ चुमेको लेखक, प्रकासकको यो व्यवहार ? मैले कल्पना पनि गरेको थिइनँ ।
चोरबाटो हिँड्नेहरूसँग कसैगरी नसकिने । काँक्रा चोरलाई मुड्के सास्ती, यस्तै बेलामा काम लाग्ने उखान सम्झना हुन्छ ।
०००
म ब्राजाकीका दरपिया पार्टनर खोजी–खोजी हिँड्दै थिएँ । दारु खान होइन, दारुका बारेमा कुरा गर्न पनि होइन ।
बेस्ट सेलर कथाकार, गजलगो, संस्मरण लेखक मनु ब्राजाकी जीवित छँदैको सन्दर्भ हो यो ।
सर्वाधिक खोजी सूचीमा रहेका पात्रहरूमध्ये एक थिए चर्चित लेखक, पत्रकार, सम्पादक, टेलिभिजन प्रस्तोता किशोर नेपाल झुत्रे ।
पछिल्ला दिनमा बिरामीका कारण मनु ब्राजाकीको कलम सुस्ताइसकेको थियो । शारीरिक रूपमा पनि गल्दै गएका थिए । उनको जीवनका बारेमा शुभेच्छुकहरूका मनमा चिसो पस्न थालेको थियो । यस्तो पृष्ठभूमिमा म, विमल अधिकारी, सुनील पुरी र जीवन पानी मिलेर ब्राजाकीको जीवनकालमै उनको आत्मकथा (संस्मरण) र हामी शुभेच्छुकहरूको ब्राजाकी बारेका भनाइ समेटेर एउटा दस्तावेज तयार गर्ने सल्लाह भयो । नाम राखियो मनमौजी । मित्र रमेश पौडेलले कभर डिजाइन पनि तयार पारे ।
तर, मनु ब्राजाकीलाई नामको हिज्जे मन परेन । ‘मनमौजी नेपाली शब्द होइन, मनमोजी हो, त्यसैले किताबको नाम मनमोजी नै राख्नु पर्छ,’ ब्राजाकीको तर्क थियो । ‘मनमौजी नेपाली जनजीवनमा भिजेको शब्द हो, बोल्दा मनमौजी नै भनिन्छ, यही ठिक छ,’ हाम्रो प्रतिवाद थियो । तर, हामी नामको लफडामा अल्झेका थिएनौँ । नामका बारेमा पछि सोचौँला भनेर रचना सङ्कलन अभियानतिर लागेका थियौँ ।
त्यही सिलसिलामा हो मैले किशोर नेपाललाई खोजेको ।
महासागरहरूले पनि त्यति मानिस डुबाएनन्, जति रक्सीले डुबायो । ओलिवरका शब्द ।
किशोर नेपालका बारेमा मैले सुनेको थिएँ, उनी रक्सी र सितनका बारेमा निकै उदार छन्, जस्तो पनि खाइदिन्छन् । मनु ब्राजाकी जस्तै । त्यसैले तँतँ–ममको स्तरमा उनीहरूको दोस्ती जमेको हुनुपर्छ ।
नेपाल राम्रो लेख्छन्, यसमा कुनै शङ्का छैन । युवादेखि अग्रज पुस्तासम्मले उनलाई पढ्छन्, यसमा पनि कुनै शङ्का छैन । पुतलीहरूप्रति उनको आकर्षण गजबको छ भन्ने पनि मैले सुनेको थिएँ ।
पच्चीसौँ पटकको फोन–सम्पर्कपछि बल्लबल्ल बत्तीसपुतलीको एउटा कफी रेस्टुरेन्टमा हाम्रो भेटघाट हुने तय भयो ।
मनु ब्राजाकीका अर्का दारु पार्टनर गजलगो ज्ञानुवाकर पौडेल दाइको पुररानो घरबाट गन्दै जाँदा त्यही साइडमा ३२ औँ नम्बरको घरमा रहेछ, त्यो रेस्टुरेन्ट ।
करिब आधा घण्टा कुरेपछि आए ।
उनी त्यहाँका नियमित ग्राहक रहेछन्, भेट्न चाहने मान्छेलाई प्रायः यहीँ बोलाउँदा हुन् ।
उनले कफी हुन्छ भनेर सोधे । मैले हुन्छ भनेँ ।
आइसब्रेकपछि मैले आफ्नो उद्देश्य बताएँ । मनु ब्राजाकीसँगको पहिलो भेटघाट र हिमचिमको सन्दर्भ सोधेँ ।
‘तपाईहरू उसलाई देवत्वकरण गर्न चाहिरहनुभएको रहेछ । म यस विषयमा केही कुरा बोल्न चाहन्न,’ उनले झर्केर भने ।
‘तैपनि दाइ मनु ब्राजाकीसँग जोडिएका संस्मरणहरू केही भनिदिनु न,’ मैले रेकर्ड अन गरेँ ।
‘मैले भनेँ नि देवत्वकरणलाई सहयोग पुग्ने म कुनै कुरा गर्न चाहन्न । यो रेकर्ड अफ् गर्नुस्,’ उनले थर्काए ।
खोदा पहाड निकला चुहा ।
‘मनु ब्राजाकी तपाईको साथी त हो नि,’ मैले क्षुब्ध हुँदै सोधेँ ।
‘हो, तर यो विषयमा मलाई कुनै कुरा गर्नु छैन । अरू नै कुनै विषय छ भने भन्नुस् । भेट्न खोज्नुभएको थियो, भेट भयो । कफी खानुस् । जानुस्,’ उनले रुखो स्वरमा यस्तै भने ।
तपाईलाई पत्यार लाग्दैन भने म यसको थोरै एमपिपिथ्री रेकर्ड पनि सुनाउन सक्छु । घटनास्थलको अलिअलि छेकछन्द रेकर्ड भएको छ ।
कफी लिएर आउने भाइ पनि उनको व्यवहार देखेर छक्क प¥यो ।
किशोर नेपाल कान्तिपुरमा हुँदा म समाचारपत्रको डेस्कमा थिएँ । मनु ब्राजाकीको उपन्यास ‘कान्छी बेगम’ सौगातमा धारावाहिक छाप्दै थिएँ । कान्छी बेगमको सफ्ट–कपी लिएर आउँदा वा अरू नै बेला पनि ‘कान्तिपुरमा मेरो साथी छ, किशोर नेपाल झुत्रे, ऊ राम्रो आख्यानकार हो, राम्रो लेख्छ,’ भनेर निकै अदपका साथ नाम लिन्थे । प्रशंसा गर्थे । किशोर नेपालको उपनाम झुत्रे हो भनेर मैले मनु ब्राजाकीले भनेपछि नै थाहा पाएको थिएँ ।
मलाई निकै छट्पटी भयो । कफी खाऊँ कि के गरुँ । जुरुक्क उठेर हिँडुँ कि ट्वाल्ल परेर बसिरहुँ । केहीबेर चुपचाप बसेपछि कफी खाने निधो गरेँ । खानेकुरासँग केको रिस !
कफी निकै कडा र तीतो थियो । झुत्रेको झुत्रो व्यवहारजस्तै ।
०००
प्रतीक प्रधानसँग मेरो त्यति लामो उठबस होइन । आदरणीय कथाकार दाइ परशु प्रधानका छोराका रूपमा चिन्थेँ । साहित्यकार दाइ शैलेन्द्र साकारका भतिजा प्रतीक पत्रकारिता पढेलेखेका राम्रा मान्छे हुन् भन्ने थियो । मनको एउटा कुनामा त्यही अनुरूपको अपनत्व, त्यही अनुरूपको आदर थियो ।
तर यहाँ पनि ढाकके तीन पात भइदियो ।
प्रतीक प्रधान नागरिक दैनिकको सम्पादक थिए । म त्यसैको पूर्वाञ्चल संस्करण पूर्वेलीको सम्पादन डेस्कमा थिएँ । इटहरीबाट दैनिक विराटनगर आऊजाऊ गर्थेँ ।
ती दिनहरूमा मलाई इटहरी छोडेर काठमाडौँ आउन निकै हुटहुटी लागेको थियो । परस्पर जिल्लान्तर सरुवाको कागजात नियमानुसार मिलाउँदै थिएँ । इटहरीको घर–जग्गा बेचिसकेको थिएँ । काठमाडौँमा, नैकापमा बस्ने हो भनेर नवराज लुइटेललाई एक लाख रुपियाँ बैना पनि दिइसकेको थिएँ ।
नागरिक पूर्वेली डेस्कबाट केन्द्रमै सरुवा हुन्छ कि भनेर प्रयास गरेँ । सम्पादक प्रधानलाई भेटेर भनेँ । उनले विश्वमणि पोखरेलतिर देखाइदिए । अख्तियारप्राप्त पोखरेलले मलाई काठमाडौँमा काम दिनेबारे कुनै रुचि देखाएनन् । अन्ततः मैले पूर्वेली डेस्कको काम छोड्ने निर्णयसहित राजीनामा–पत्र दर्ता गराएँ ।
कुनै पनि सञ्चार–संस्था छोड्दा काम गरेको अवधिभरिका लागि सम्पादकबाट थ्याङ्कस् लेटर लेखाएर लिने मेरो बानी छ । राजीनामा दिएसँगै सम्पादक प्रधानसँग थ्याङ्कस् लेटरका लागि अनुरोध गरेँ ।
‘हुन्छ, भोलि आउनू, म लेखेर राखिदिन्छु,’ उनले भने ।
भोलि गएँ । पत्र लेखेर राखिएको थिएन । कार्यकक्षअगाडि निकैबेर कुरेँ । प्रधान आएनन् । फोन गरेँ फोन उठाएनन् ।
पर्सिपल्ट फोनमा कुरा भयो । उनले पत्र लेखेर नागरिकमै काम गर्ने मेरा मित्र छत्र क्षितिजलाई छोडिदिने बताए ।
त्यसको भोलिपल्ट फेरि नागरिकको अफिस पुगेँ । छत्रले, सम्पादकले आफूलाई त्यस्तो पत्र नदिएको र त्यसबारेमा कुनै सल्लाह पनि नभएको बताए । झिँजो मान्दै फोन गरेँ । दुई पटक पूरा डायल गर्दा पनि प्रधानले फोन उठाएनन् ।
निकोर्सिपल्ट फेरि नागरिकको अफिस पुगेँ । प्रधान कार्यकक्षमै रहेछन् ।
‘दाइ ! खोइ थ्याङ्स लेटर त लेखिदिनुभएको रहेनछ ।’
‘केको हो यो ताकिता ! दिन्छु भनेपछि म आफ्नो समय मिलाएर दिन्छु । तपाई बाहिर जानुस् !’
आफ्ना लागि गेट आउटको नेपाली रूपान्तर प्रधानका मुखबाट सुन्नासाथ म छाँगाबाट खसेझैँ भएँ । नसोचेको आइलाग्यो । सारा मान–सम्मान, आदर–सत्कार, सकारात्मक भावना झ¥याम्झुरुम् भयो ।
०००
‘सुम्पेर स्वतन्त्रता
नचाहँदा–नचाहँदै
अरूद्वारा ठड्याइएको छु ।’
बुख्याँचा शीर्षकमा कवि बद्री भिकारी लेख्छन् –
‘म बुख्याँचा, गतिमान जिन्दगी सोच्ने गर्छु ।
थाहा छैन मान्छेहरू मलाई के सोच्दा हुन् ।’
०००
bisnuprasad.bg@gmail.com
बबौटी डट कम
– सुविद गुरागाई

बबिता !
अब जीवनको बाँकी यात्रा तिम्रो साथमा हुनेछ । थुप्रै मोडहरू छन् हिँड्न बाँकी । थुप्रै उकालोहरू छन् चढ्न बााकी । थुप्रै ओरालोहरू छन् झर्न बाँकी ।
अँ, जीवनको बाँकी यात्रामा म थाक्दा तिमी मलाई उठाउनू, तिमी थाक्दा म तिमीलाई साहारा दिन्छु । बाचा भो ।
सोच्दै जाँदा कति अनौठो र अप्ठेरो लाग्छ जिन्दगी । केटा होस् चाहे केटी जीवन बिताउन आ–आफ्नो मन मिल्ने, दुःख–सुख बाँड्न सक्ने जीवन साथीको आवश्यकता दुवैलाई पर्दो रहेछ । तर पनि तिमी बेग्लै परिवार र वातावरणमा हुर्केकी, म बेग्लै । दुवैका रुचिहरू समान हुने हुन् कि होइनन् ? डर लाग्छ । त्यसैले होला एक–अर्काप्रतिको समझदारी र सम्झौतामा जीवन चल्छ भन्छन्, भननेहरू । हेर न ! हामी विवाह गर्छौँ, तिमी स्वयम्वर गछ्र्यौ म सिन्दुर हाल्छु, एक–अर्काप्रति इमानदार रहने र सँगै मर्ने–बाँच्ने बाचा गर्छौँ, सँगै सुत्छौँ, सँगै खान्छौँ, झगडा गर्छौँ, फेरि मिल्छौँ तर पनि हामी एक–अर्काको अहम् (इगो)लाई कहिल्यै परास्त गर्न सक्तैनौँ । म जे गरे पनि तिमीभित्रको ‘आइमाई’लाई झुकाउन सक्तिनँ, न तिमी कसैगरी मभित्रको पुरुषलाई गलाउन सक्छ्यौ । तथापि परम्परा थेग्नुको निहुँमा हाम्रो जीवन चलिरहेकै हुन्छ । सायद यही हो सम्झौता भनेको, जसको जगमा हाम्रा सपनाहरू टिकेका हुन्छन् ।
हेर, यसो भन्दा तिमीले मलाई कठोर नठान्नू । म तिमीलाई माया गर्छु । तर, अरूको जस्तो होइन, मेरो मायाको सीमा हुन्छ । फेरि माया भन्ने कुरा होइन, अनुभव गर्ने कुरा हो जस्तो लाग्छ ।
साथीहरू मलाई म जटिल छु भन्छन् । म कुराहरू घुमाएर गर्छु अरे ! तर, मलाई लाग्छ म जे बोल्छु, सत्य बोल्छु । कतिपय सत्य अप्रिय हुन्छ र बिझाउँछ होला । त्यसैले सुरुमा उनीहरू मसँग रिसाउँछन् । तर, जब कुरा बुझ्छन् अनि सब सामान्य हुन्छन् । कसैलाई केही भन्न मन लागेको छ भने त्यो कुरा मनमा लुकाएर राख्दिनँ, भनिहाल्छु । बरु गल्ती भनेको रहेँछु भने पछि माफी माग्छु । किनकि ‘मान्छेले गल्तीहरूबाट सिक्नुपर्छ,’ भन्ने सिद्धान्तलाई मैले आफ्नो आदर्श मानेको छु ।
ल त, आज यति नै । बाँकी कुराहरू पछि–पछि लेख्दै जाऔँला । पत्रोत्तरमा तिमी पनि आफ्ना रुचि, विचार र अनुभवहरू लेख ।
काठमाडौँ, १७ फागुन २०५१ ।
०००
‘भाषाले मात्र पुग्ने भए
आँसु किन चाहिन्थ्यो ।
सूर्य नारायण पनि अस्ताउँछन्,
बत्ती चाहिन्छ ।
मानिसको जात –
हिँड्नुभन्दा अघि पुगिसक्छन्
लक्ष्य चाहिन्छ ।
यात्रु, मथाक्दा तिमी मलाई बोक,
तिमी थाक्दा,
म तिमीलाई बोक्छु –
हामी सँगसँगै हिँडौँ
यात्राका लागि साथ चाहिन्छ ।
सुखले मात्र पुग्ने भए
खुसी किन चाहिन्थ्यो ।
यो यस्तो महान् सृष्टिलाई
हेरेर मात्र पुग्ने भए
यसलाई महसुस किन गर्नु पर्दथ्यो
यसलाई हेर्ने दृष्टिले मात्रै पुग्ने भए
यसको प्रस्तुतिप्रति कृतज्ञता व्यक्त गर्न
प्रमाण किन चाहिन्थ्यो ।
मैले साँचो भनेको तिमीलाई
मलाई म मात्रले पुग्दैन
तिमी पनि चाहिन्छ ।
भाषाले मात्र पुग्ने भए
मुस्कान किन चाहिन्थ्यो ।
भाषाले मात्र पुग्ने भए
आँसु किन चाहिन्थ्यो ।’
बासु शशि पढ्दै यात्राको सन्दर्भ जोड्न मन लागेको छ ।
‘एक्लै हिँड्दा अगाडि पुगिन्छ !’
यसपटक काठमाडौँको यात्रामा मेरो एउटा सहयात्री (एउटै बसमा यात्रा गरेपछि, उनलाई सहयात्री नै भनुँ !) यसो भनिन् र चुप लागिन् ।
म भने गफको प्रसङ्गलाई बिर्सेर, उनले यसो भन्नुको अर्थ र त्यसको गहिराइ बुझेर अवाक् बने ।
त्यसो त उनको तर्क शक्तिसँग म भित्रभित्रै पराजित भइसकेको थिएँ । तर पनि आफूलाई संयमित राख्दै भनेँ–
‘जीवनलाई बुझ्ने सबैका आ–आफ्ना दृष्टिकोण हुनछन् । एकै जस्तो लागे पनि हिँड्ने बाटो फरक–फरक हुन्छ । सबैको विचार एउटै हुने हो भने लिलिपुटको जस्तो हाम्रो संसार पनि अनौठोको हुन्थ्यो होला !
बबिता, यतिखेर हामी काठमाडौँबाट दक्षिणकाली आइरहेका थियौँ । बाटोमा चालनाखेल आयो र उनी उत्रिन् । त्यसपछि मलाई एउटा रिक्तताको अनुभव भयो ।
सत्ते भन्छु, त्यतिखेर मैले तिमीलाई सम्झिएँ । तिमी मसँग भएकी भए अझ कति कुरा भन्थेँ हुँला ! हिजोसम्म जे भो भो । अब त हामी चाहे ढिलो पुगियोस्, एक्लै हिँड्ने कल्पना पनि गर्न सक्तैनौँ । तर, यसो भन्नुको अर्थ हाम्रो साथ एक–अर्काका लागि बोझिलो बन्नु हुँदैन । त्यो त यात्रालाई निरन्तरता दिने दरिलो विश्वास बन्नु पर्छ । कि कसो हजुर !
आज यति नै । पत्र लेख्न किन अप्ठेरो मानेकी ?
३÷१२÷२०५१, काठमाडौँ ।
०००
बबौटी !
आँसु पनि किन यस्तो मूल फुटेको पानी जस्तो ।
आफूलाई बिझाउने आफ्नै आँखाको नानी जस्तो ।
कहिलेकाहीँ म सोच्छु – म जुन बाटो हिँडिरहेको छु, के त्यो बाटो ठिक छ ? जवाफमा मनलाई सम्झाउँछु । अहिले त भर्खर हिँड्ने बारेमा सोच्दै छु । हिँड्न थालेकै छैन । त्यसैले के आफ्ना बारेमा यति चाँडै कुनै निष्कर्षमा पुग्नु ठिक हो ?
लाग्छ, मैले यदि सोलुखुम्बु बस्दाका दिन दिनहरूमा यसरी सोचेको भए यतिखेरसम्म कुनै परिणाम देखा परिसक्थ्यो होला । तर, यतिबेला समय बितिसकेको छ । हामी चाहेर पनि ती दिनहरूमा फर्किनँ सक्तैनौँँ ।
तिमी नयाँ होस् चाहे पुराना कुरा । कुरालाई सामान्य ढङ्गले लिन सक्तिनौ कहिलेकाहीँ । तर, जुनसुकै कुरालाई पनि सकारात्मक रूपमा लिन सकियो भने मन दुख्न पाउँदैन भन्ने कुरा हामीले भुल्नुहुन्न ।
समयसँगै दौडिने मेरो प्रश्नको जवाफ यिनै कुराहरूभित्र छ । के म लाटो भएर समयको नाटक हेरिरहन सकुँला भन्ने तिमीलाई लाग्छ ? निश्चय पनि तिमी त्यसो चाँहदिनौ ।
एक जना पात्र छन्, पत्रकार डाक्टर प्रदीप भट्टराई । विचरा बिहान खाना नखाई–नखाई आफ्नी बूढी (जसलाई उनी बाबा भन्छन्) को ब्रेन ट्युमरको औषधी खर्च जम्मा पार्न २४ घण्टामा १८ घण्टाभन्दा बढी समय दौडधूप गर्दै गरेको देखिन्छन् ।
मलाई थाहा छ – तिमीले बुझेको हुनुपर्छ, सुविद गुरागाई आफ्ना लागि मात्र तिमीलाई ‘छोडेर’ यति टाढा एक्लै किन बसेको होला ?
हिँउनदी सुक्ला र फूल उम्रेला कसले सोचेको थियो ?
शिर मेरो झुक्ला र फूल उम्रेला कसले सोचेको थियो ?
कहिलेकाहीँ नसोचेका कुराहरू पनि भइदिन्छन् । तर, हामीलाई के चासो ! त्यस्ता कुरा होउन्, हुँदै गरुन् । हामी नसोचिएका कुराका लागि होइन, सोचिएकै कुराका लागि सँगसँगै हिँडिरहेका छौँ, बाँचेका छौँ भन्ने म ठान्छु । सायद तिमीले पनि योभन्दा बढी सोचेकी छैनौ ।
 म विचार गर्छु – यो पछिल्लो समयमा मलाई तिम्रो अलि बढी नै माया लाग्न थालेको छ । तर म मनमनै डराई पनि रहेको छु । तिमीले मेरो मायालाई मेरो कमजोरी ठान्यौ भने के होला ? आशा गर्छु, यसो भन्दा कम से कम तिमी ‘रुने’ चाहिँ छैनौ ।
आँसु यात्रा र यायावरका लागि अवरोध हो भन्ने कुरा बुझ्न नसकेर कहिलेकाहीँ तिमी एउटी सामान्य आइमाई जस्ती देखिन्छ्यौ । नत्र त अरू कुरा ठिक छ । बाँकी चित्त दुखाइ छैन ।
सम्भवतः हामी सँगै बस्न थालेपछि मैले तिमीलाई लेखेको यति लामो चिठी पहिलो हो । यदि केही एउटा कुरा लेख्दा कुनै अर्को कुराको भाव आएछ भने भेटमा रिसाउन पाउने तिम्रो अधिकार सुरक्षित नै छ । आफ्नै बूढा हो हाँसी–हाँसी जति गाली गरे पनि हुन्छ ।
दसैँ अघि वा पछि विकल्पहरूको खोजीमा छु । यो अलि बासी कुरा भो । तर, यो र यत्ति कुरा चाहिँ बुझी राख, मैले सजिलै हार मान्न जानेको छैन । साथीहरू मेरो यही घमण्डदेखि आजित छन् ।
ल त, आफ्नो ज्यानको राम्रो ख्याल गर्नू !
२०५८ भदौ २९ ।
०००
बबौटी !
युगौँदेखि बन्द
सहरको कोठामा
तिम्रो उपस्थिति
मलाई मान्य छैन ।
कोठामा अँध्यारो छ
बाध्यता छ
मलाई अँध्यारोसँग घृणा छ
बाध्यता मन पर्दैन
बन्द झ्याल–ढोकाहरूले
विश्वास थुन्न सक्तैनन्
भ्रमको पर्दा उघार, बाहिर हेर
बाहिर उज्यालो छ
सडकमा उज्यालो छ
आँगनमा उज्यालो छ
तिमी आँगनमा आऊ
सडकमा आऊ
उज्यालोमा आऊ ।
कोठामा छट्पटी छ
तृप्ति छैन
कोठामा निरन्तरता छ
सन्तुष्टि छैन
तिमी मुस्कुराउँदा
शरीर–गन्धले पिरोल्छ मलाई
आकर्षणको नाउमा
आवरणले घोच्छ मलाई
हातका रङ्गी–बिरङ्गी चुरा
बन्धनका प्रतीक नबनुन्
तिमी छोड यो अँध्यारो जाने बाटो
रोक असम्भव रहरहरू
छोड सन्तुष्ट हुन नसक्ने चाहना
तिम्रो सुगन्धित कपालभन्दा
सपना लामो हुनुपर्छ
समयको भावना बुझ
ओ प्रिय स्वास्नीमान्छे !
केवल तिम्रो शालीनताले
मलाई पुरुष प्रमाणित गर्न सक्छ ।
यसको तिथि–मिति छैन ।
०००
बाबा !
सम्झना पनि यति आउँछ कि दिनभर तपाईकै सम्झना आइरहन्छ । अरू बेला आएर जाँदाभन्दा यो चोटि के भयो, के भयो ?
के गर्ने बाध्यताले गर्दा हामी एक–अर्कासँग छुट्टिएर बस्नुपरेको छ । भन्न त तपाई काठमाडौँ आऊ भन्नुहुन्छ तर घरको बाध्यताले आउन पनि सक्दिनँ । म मान्छे यहाँ छु, तर मन त्यहीँ हुन्छ । न खान मन लाग्छ, न केही काम गर्न मन लाग्छ । राति पनि ओछ्यानमा गयो ओछ्यान रित्तो हुन्छ । के गर्नु ? मन बुझाएर बसेकी छु, असार कहिले आउने हो भन्दै ।
तपाई अस्ति आउँदा मबाट अलिकति गल्ती भयो । त्यो पनि कुनै ठुलो गल्ती होइन, तपाईको मनमा ठुलो भयो । मैले तपाईलाई रोक्न सक्छु कि भनेर गरेँ तर तपाई रोकिनु भएन । हो, मेरो कालुको बानी नै यस्तै छ भनी मन सम्झाएँ । तपाई घरमा दिक्क लाग्यो भने विराटनगर जानु भन्नुहुन्थ्यो । तर, जान पनि मन लाग्दैन । किन होला ? तपाईको आमाको बानी थाहा नै होला !
ल त, कुरा त फोनबाट पनि हुन्छ तर मनमा लागेको कुरासम्म पनि गर्न पाइँदैन । बाबा ! मन बुझाउँछु ।
यसको पनि मिति छैन ।
०००
bisnuprasad.bg@gmail.com
पिन कोड नम्बर ०५६७०७
– सुविद गुरागाई

लैजा चरी हावासरि यो पत्र सुविदको हातमा पर्ने गरी !
‘सुविद गुरागाई, इनरुवा १÷३ सुनसरी, पिन कोड ०५६७०७, कोसी अञ्चल (नेपाल)’ लेखेर चिठीहरू आइरहन्थे ।
अर्काको चिठी पढ्नु हुँदैन भन्ने मान्यता छ । तर, केटाहरू आफ्नो चिठी त लेख्दा–लेख्दै थाहा भइहाल्छ, के पढ्नु ? पढ्ने भनेकै अर्काको चिठी त हो नि भन्थे । र, लुकीलुकी अर्काको चिठी पढ्न खोज्थे । पत्रमित्रताको जमाना थियो । खासगरी केटीहरूका नामबाट आएका वा केटीहरूका नाममा आएका चिठीहरू लुट्नु र कोर समूहमा पु¥याएर त्यसको चिरहरण गर्न पाउनुलाई केटाहरू पुरुषार्थ सम्झिन्थे । बिचमा कति लुटेराहरू भलादमी खालका पनि हुन्थे । खाम पछाडिबाट बिस्तारी खोलेर पढ्नुपर्ने कुरा पढिसकेपछि केही थाहा छैन जस्तो गर्दै क्यामेल गमले टाँसेर थपक्क पुरानै ठाउँमा राखिदिन्थे । कतिले त्यसरी थाहा पाएका कुरा आफ्नै मनमा राख्थे, कतिले चाहिँ कसैलाई नभन्नु ल भन्दै गाउँभरि फिँजाइसकेका हुन्थे । त्यस्तो गाइँगुइँको उत्कर्षमा फलानो वा फलानीको नाम जोडर फलानो वा फलानीलाई जिस्क्याउने काम हुन्थ्यो । जिस्क्याउँदा जिस्क्याउँदै कतिको त साँच्चिकै ‘लभ’ पनि पथ्र्यो ।
हुलाकी दाइ थिए नन्दप्रसाद भट्टराई । पूर्वटोलतिरबाट आउँथे । साइकल थियो एउटा पुरानो । २०३६ सालमा एक सय साठी रुपियाँबाट हल्काराको काम थालेका नन्द दाइले २०४२ सालतिर दुई सय पच्चिस रुपियाँ पारिश्रमिक पाउँथे । दसैँ–तिहारमा पनि एक–दुई दिनबाहेक बिदा नपाउने हुलाकीको अतिरिक्त आम्दानी भनेकै तेहौँ महिनाको तलब हुन्थ्यो । बाँकी केही न केही । सम्भवतः त्यसैले धेरै चिठी आइरहनेहरूसँग एक–दुई रुपियाँ जे–जति सम्भव छ, अपेक्षा गर्थे, चिया खर्च । हाम्रो चिया दोकान थियो । म नभएका बेला चिठी आमालाई दिन्थे र चिया खाएर जान्थे । त्यसबापत इनरुवा मेरो ठेगाना खोज्दै आइपुगेका चिठीहरूलाई कतै अलमलिन दिँदैनथे । जतन गरेर घरमा ल्याइदिन्थे । कहिलेकाहीँ विभिन्न सरकारी कार्यालयका नाममा आएका पत्रिकाहरू पनि दिएर जान्थे । इनरुवा गन्तव्यमा आउने सर्वाधिक चिठी सकुन्तला दिदीका हुन्थे । म पनि कम थिइनँ । कहिले दुई नम्बरमा कहिले तीन नम्बरमा पर्थेँ ।
हुलाकी दाइका झोलाभरि चिठी, पत्रिका हुन्थे । अहिले एकादेशको कथा जस्तो लाग्छ तर त्यो बेला व्यक्तिगत चिठी मात्र होइन, पत्रपत्रिकाको वितरण व्यवस्थामा हुलाककै टेको लागेको हुन्थ्यो । २०५२ सालभन्दा अगाडिको सामाजिक जीवन चिठीमै अडिएको थियो । कतिले त चिठीमै पैसा खामेर पनि पठाउँथे । चिठी सेरोफेरोका भावमा कविता, गीत, गजल लेख्ने चलन थियो । चिठी आएन, चिठी आएन, मेरी मायालुको मलाई चिठी आएन बोलको गीत वीरगन्ज गहवाबाट कुर्वान हवारी, ताजमा हवारी, जलील हवारी, बेगम हवारी, झापा गौरादहबाट दुर्गा ताजपुरिया, दुर्गी ताजपुरिया र कान्छा भुजेल, विराटनगरबाट उर्मिला, निर्मला, सपना, कल्पना आदिको रोजाइमा पर्ने गीत हुन्थ्यो ।
‘नखोलेरै राखिएको बन्द एउटा खाम थियो ।
भित्र के–के थियो कुन्नि बाहिर मेरै नाम थियो ।’
युवा गजलगो ललीजन रावलको यो मत्ला पनि निकै चर्चित थियो ।
...
पत्रपत्रिकामा पत्रमित्रताका सूचनाहरू बग्रेल्ती छापिएका हुन्थे । मातृभूमि साप्ताहिक, सात दिने समीक्षा, पञ्जाव केसरी, हिन्दुस्तान टाइम्सका संस्करणहरू मित्रताका सेतु थिए । पत्रमित्र हुन चाहनेका दर्जनौँ ठेगाना सार्वजनिक हुन्थे पत्रिकामा । कति केटीहरूका नाम जोडिएका ठेगाना कोही अल्लारे केटाले कि नक्कली नाम लेखेर कि सुरुमा आफूले आँखा लगाएकी तर प्रेम प्रस्ताव अस्वीकार गरेकी केटीलाई बदनाम गराउन पठाइदिएका हुन्थे । यीमध्ये मेरो ठेगाना चाहिँ नेपालमै विशिष्ट थियो । कसैले नलेखेको पिन कोड नम्बर मैले लेखेको हुन्थेँ । त्यो बेला अहिले जस्तो पासवर्ड शब्दले व्यापकता पाएको थिएन, कतै–कतै कोड वर्ड भन्ने शब्द चाहिँ सुनिन्थ्यो । यस्तो पृष्ठभूमिमा के हो यो पिन कोड नम्बर ? सर्वत्र जिज्ञासा हुन्थ्यो ।
भारतीय पत्रिकामा पत्रमित्रताका हरेक ठेगानासँग पिन कोड नम्बर जोडिएकै हुन्थे । नेपालमा टोल–टोलमा स्कुल भए जस्तो भारतमा टोल–टोलमा हुलाक हुन्थे । एउटै टोलमा धेरै हुलाक हुने हुँदा प्रापकका लागि पिनकोड नम्बर अनिवार्य जस्तै हुन्थ्यो । नेपालमा भने एउटै हुलाकको सेवाक्षेत्र धेरै गाउँसम्म फैलिएको हुन्थ्यो । सबै हुलाकहरू अन्तर्राष्ट्रिय हुलाक कार्यालयमा दर्ता पर्दो रहेछ । उसले सबै हुलाकलाई एउटा सङ्केत नम्बर दिएको हुँदो रहेछ, जसलाई पिन कोड नम्बर भनिँदो रहेछ । नेपालमा प्रापक वा प्रेषकको ठेगानामा पिनकोड नम्बर लेख्नु अनिवार्य थिएन । तर, म सानैदेखि हरेक काम सकेसम्म फरक ढङ्गले गर्न चाहने मान्छे थिएँ । त्यसैले मैले इनरुवाको पिनकोड नम्बर पत्ता लगाएर लेख्ने गरेको थिएँ ।
नम्बरको कुरा गर्दा हुलाकले ग्राहकका लागि वार्षिक शुल्क लिएर अलग–अलग पोस्ट बक्स नम्बर उपलब्ध गराएको हुन्थ्यो । त्यसैमध्येको एउटा गन्तव्य थियो, पोस्ट बक्स नम्बर ४३५५, त्रिचन्द्र श्रेष्ठ ‘प्रतिक्षा’ काठमाडौँ । उनले आफ्नो नामको अङ्ग्रेजीमा छोटकरी रूप राखेर टिसिएस इन्टरनेसनल पेनपल क्लब नामक अङ्ग्रेजी पत्रिका चलाउँथे । त्यसमा पत्रमित्रताका ठेगाना र फोटोहरू छापिएका हुन्थे । फोटो छपाउन पैसा पठाउनुपथ्र्यो । नेरु÷भारु २० रुपियाँ, युएस डलर दुई, स्टर्लिङ पाउन्ड एक । मेरो फोटो पनि छापिएको थियो ७२८ नम्बरमा, पहिलो पृष्ठमै । त्यसको लगभग दुई महिनापछि पिनकोड नम्बर ०५६७०७ खोज्दै मिस मिस्सी रोपर, बक्स ४२३ होनोलुलु, अमेरिकाबाट एउटा चिठी आयो । अमेरिकामा जिप कोड नम्बर लेख्ने चलन रहेछ । मिस्सी रोपरको जिप कोड थियो ९६७२१ । सम्बोधन मिस्टर सुविद गुरागाई । उमेर २१ वर्ष । हवाइ विश्वविद्यालयमा जुनियर तेस्रो वर्ष । उचाइ पाँच फिट चार इन्च । ब्लोन्ड हेयर, ग्रीन आइ । रुचि स्वीमिङ, रिडिङ पोयम्स् एन्ड नोभेल्स्, कोचिङ अ स्विमिङ टिम ।
आफूलाई अङ्ग्रेजी उस्तो नआउने । जवाफ नेपालीमा लेखेर पुरुषोत्तम सरलाई अनुवाद गर्न लगाएँ । र, लाग्दो हुलाक खर्च तिरेर प्रतिउत्तर पठाएँ । तर, फेरि जवाफ आएन । आयो र बिचमै कसैले गायब ग¥यो वा के भयो थाहा छैन ।
...
पिन कोड नम्बर ०५६७०७ मा मलाई सोध्दै–खोज्दै आउने चिठीहरूमा सबैभन्दा धेरै चिठी हिक्मत थापाका हुन्थे । सुरुमा हात्तीसार धरान, पछि हेटौँडा, रत्ननगर टाँडी चितवन, कहिले कटाक्ष बजार कैलाली, कहिले काठमाडौँबाट लेखिरहन्थे उनी । दोस्रो नम्बरमा पर्थे सानोपोखरा–५÷३३ हेटौँडाका साम्बराज ढकाल । त्यसपछि कहिले साँघुटार, कहिले दोरम्बा, कहिले मन्थलीबाट लेख्थे पेशल आचार्य । जागृतिनगर, भद्रपुर–६ झापाकी जयन्ता पोखरेल । पाँचकन्या–३, पानबारी, सुनसरीबाट लक्ष्मी खतिवडा ज्वाला । खार्पा–३ खोटाङकी कुसुम जङ्गलीसँग चिठीमै मनका भावना साटासाट हुन्थ्यो । उसबेला मभित्र हुर्हुराएको साहित्यिक तीर्खा मेट्थे तिनैले ।
दाङ देउखुरी, चौलाही सानो घुमनाबाट कृष्णराज सर्वहारी । बाम्राङ–८ खोटाङका रामविक्रम थापा । औरही टोल जनकपुर–९ बाट दिनेश पौडेल गरिब । जनकपुर ९÷१९४ का तृष्णा (सञ्जय) भट्टराई । ओमप्रकाश न्यौपाने मानपुर दाङ । २÷४ मझुवा सिन्धुलीका शङ्कर सौगात उर्फ शङ्करकुमार कार्की । चक्रपाणि गौतम, गैरागाउँ, तानसेन पाल्पा । राम प्रधान, मुकुन्द श्रेष्ठ ढाक्रे हरिवन सर्लाही । मेघराज भण्डारी धरान । कहिले दुर्गापुर झापा, कहिले पाँचथरबाट प्रेम ओझा । भरतपुरबाट कल्पना कँडेल स्मृति । विवश वस्ती सिद्धेश्वर–४ प्रगतिनगर सिन्धुलीमाढी । कहिले गोर्खा, कहिले कीर्तिपुरबाट भीम राना जिज्ञासु । दियालो रोड भरतपुर–१५ का अञ्जान श्रेष्ठ क्रमशः मेरा पत्रमित्रहरू थिए ।
बालसखा सञ्जय लुइटेलले अर्मेनिया रुसबाट चिठी लेख्थे । महोत्तरी, औरहीबाट मनु ब्राजाकी । ललितपुर लगनखेलबाट दिनेश अधिकारी । घनश्याम न्यौपाने परिश्रमी भैरहवा । पाटनढोका, ललितपुरबाट कमल दीक्षित । धनकुटा–३ कचिडेकी झमककुमारी घिमिरे । नाम्चेबाट विनोद डाँगी । महाराजगञ्ज तालिम केन्द्रबाट गीत नारायण एमटीका सम्झना पत्रहरू आज पर्यन्त सञ्चयन गरिराखेकै छु । ठिमी बहेखा बजारका एक जना श्रेष्ठ थरका पत्रमित्र थिए । २०४५ सालमा काठमाडौँमा म सनराइज इम्पोरियम बागबजारमा काम गर्थेँ । जमिम शाहको कपडा पसल । तिनै दिनमा मित्र सम्झेर सोध्दै–खोज्दै उनको घर, ठिमी पुगेको थिएँ । तर, उनको घरमा त्यति राम्रो व्यवहार पाइनँ । बेकारमा पो आइएछ जस्तो अनुभ्ूति भयो । फर्केर इनरुवा आएपछि, उनका सबै चिठी र फोटो जलाइदिएँ ।
२०४४ देखि २०६० सम्म निर्वाध चलिरहेको थियो यो सिलसिला ।
...
ती दिनहरूमा ‘प्रयास’ हवाइ पत्रिका छाप्थ्यौँ हवाइ–पत्रमा । म, पेशल आचार्य प्यासी, गोविन्द ढकाल बुइँपाली, कृष्ण कोइराला सम्पादक थियौँ । हुलाकबाट ५० पैसामा हवाइ–पत्र किनेपछि एकातिर छाप्ने कागजको पैसा जोगिन्थ्यो भने अर्कोतिर सम्प्रेषण खर्च पनि बच्थ्यो । काम अलिक फरक ढङ्गको पनि देखिन्थ्यो, हेर्ने बित्तिकै मान्छेलाई छेइहाल्ने । विद्यार्थी जीवन, कहिले खाजा खर्चबाट कटाएर, कहिले साथीभाइसँग सहयोग मागेर लेटर–प्रेसबाट छापिन्थ्यो प्रयास । खिटिक–खिटिक, एउटा हवाइ–पत्र हाल्यो–झिक्यो, अर्को हवाइ–पत्र हाल्यो–झिक्यो । मुद्रण कहिले अर्जुन पोखरेल दाइको अनुपम छापाखानामा, कहिले नारायण राजभण्डारी दाइको भगवती छापाखानामा । त्यही क्रममा एक दिन भगवती छापाखानामा प्रयास छाप्दै थियौँ । मेसिन अप्रेटर थिए, डम्बर दाइ । म कागज हाल्न, निकाल्न सघाउँदै थिएँ । अचानक मेरो दाहिने हातको चोर र माझी औँला मेसिनले च्यापिहाल्यो । डम्बर दाइले हत्तपत्त ब्रेक तानिहाले । धन्न ! औँला किचिपिचि हुन पाएन । नीलो–कालो भयो । आजसम्म पनि मेरा दुई वटा औँलाका नङ अलिकति माथि पलाएपछि सलक्क हुँदैनन् । हँसियाका दाँतजस्तो किरिक–किरिक बिझाउने खालका हुन्छन् ।
प्रयासमा अग्रजदेखि अनुजसम्म सबै प्रकारका कवि–लेखकका लेख–रचनाहरू छापिन्थे । तीमध्ये भानु–५, तनहुँका बसन्तप्रकाश उपाध्यायले पठाएको एउटा सानो टुक्रा छापिएको सधैँ सम्झन्छु । सम्पादक शीर्षकमा । विचरा सम्पादकहरू ! आफैँ हुर्काउँछन्, आफूले पूज्नुपर्ने भगवान्हरू । साँच्चै, उबेला बसन्तप्रकाशले भने जस्तै अहिले पनि अधिकतर सम्पादकको अवस्था म त्यही देख्छु । तर, म कोही भगवान् हुर्काउन सम्पादक बनेको थिइनँ । खासमा म ‘जीवनमा तिनीहरू नै सफल हुन्छन्, जो सफलताको मार्ग खोजी गर्छन् र नपाएको खण्डमा आफैँ निर्माण गर्छन्,’ भन्ने जर्ज बर्नाड शाको भनाइबाट निकै प्रभावित थिएँ । त्यो बेला गरिमा, मधुपर्क, समकालीन साहित्य वा कविताले लेख–रचना नछापुञ्जेल कवि–लेखक नै होइँदैन कि भने जस्तो चार्म थियो । उनीहरूले चाहिँ आँकुरा वा प्रवेश स्तम्भमा ठाउँ दिइसकेपछि कसैलाई छ महिना र कसैलाई वर्ष दिनको पालो लगाइदिन्थे । रचना प्रकाशनमा विद्यमान यस्तो साँधुरो परिस्थितिबाट थोरै भए पनि निवृत्ति पाउने उपायका लागि सम्पादक भइटोपलेको थिएँ म ।
जे गरिएछ राम्रै गरिएछ, अहिले सोच्दा ।
...
bisnuprasad.bg@gmail.com

पैसाको वान साइडेड जादू
– सुविद गुरागाई

‘जम्बुरे ! यो के हो ?’
‘पैसा !’
‘कति पैसा हो यो ?’
‘बिस रुपियाँ !’
‘यसको अगाडि के छ ?’
‘सगरमाथा !’
‘यसको पछाडि के छ ?’
‘बाह्र–सिङ्गे !’
‘कसरी थाहा भो यो बाह्र–सिङ्गे हो भनेर ?’
‘हाँगावाला सिङ्ग देखेर !’
‘जम्बुरे !’
‘हजुर गुरुजी !’
‘यसको नम्बर कति हो ?’
‘आठ सात तीन दुई एक सुन्ना ।’
‘कसरी थाहा भो यसको नम्बर ?’
‘जादू गरेर !’
‘यो कसको पैसा हो ?’
‘तपाईको !’
‘कसरी थाहा भो यो मेरो पैसा हो भनेर ?’
‘तपाईको हातमा देखेर !’
‘मभन्दा पहिले यो कसको पैसा थियो ?’
‘थाहा छैन !’
‘जादू गरेर बता !’
‘बताउन सक्तिनँ !’
‘त्यसो भए ल भन्, यो पैसा अब कसको हुनेछ ?’
‘जसले हातमा लिन्छ त्यसको !’
‘सुन्नुभो तपाईले जम्बुरेका कुरा ! यसलाई केही थाहा छ, केही थाहा छैन । तर, हामी सबैलाई थाहा छ, पैसा भनी छापिएको कुनै पनि रङ्गीन कागज नेपाल राष्ट्र बैङ्कले जारी गरेको रेडिमेड हस्ताक्षरवाला चेक हो । यसमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा रुपैयाँ २० तुरुन्त पाइनेछ,’ भन्ने लेखिएको छ । यसको अर्थ हो, यो जसको हातमा पर्छ, यसको भुक्तानी माग्ने अधिकार पनि उसैको हुन्छ । हिजोसम्म यस्तो अधिकार कसको थियो थाहा छैन । आज मेरो हातमा छ । केहीबेरमा यो तपाईको पनि हुन सक्छ । तर, त्यसका लागि तपाईको इच्छा चाहिन्छ । यदि तपाई चाहनुहुन्छ भने यो लिन सक्नुहुन्छ । यदि तपाईलाई बिस रुपियाँको खाँचो छ, यदि यसमा भएको सगरमाथाको फोटो मन पर्छ, यदि बाह्रसिङ्गेको सिङ्ग हेरिरहुँ जस्तो लाग्छ भने तपाई यो पैसा लान सक्नुहुन्छ ।’
यति भन्दै मैले बिस रुपियाँको नोट सबैले देख्नेगरी भुइँमा राखिदिएँ ।
‘जम्बुरे !’
‘हजुर गुरुजी !’
‘ल हेर्, अब यो पैसाले हेर्दाहेर्दै जादू देखाउँछ !’
‘हैट्, गुरुजी हावा कुरा गर्नुहुन्छ । पैसाले पनि कहीँ जादू देखाउँछ ?’
‘अब हेर्, कसरी गर्छ यसले जादू,’ भन्दै मैले रमितेहरूतिर फर्केर भनेँ, ‘देख्नुभो तपाईले, जम्बुरेले पत्याएन । तर, यो पैसाले साँच्चिकै जादू गर्छ । यदि तपाईहरूमध्ये कसैलाई ‘मलाई यो पैसाको खाँचो छ,’ भन्ने लाग्छ भने अगाडि बढेर यो पैसा लिन सक्नुहुन्छ । म केही भन्दिनँ । यो पैसामा तपाईले अलिकति थपेर इटहरीमा एउटा घडेरी किन्न सक्नुहुन्छ । चटपटी, आलुचप खान सक्नुहुन्छ । राजनिवास किन्न सक्नुहुन्छ । साथी वा कोही मागन्तेलाई दिन पनि सक्नुहुन्छ । जे गर्न मन लाग्छ, त्यही गर्न सक्नुहुन्छ ।’
०००
‘आउनुहोस् ! कोही एक जना अगाडि बढेर यो पैसा लिनुहोस् । म केही भन्दिनँ । जसलाई मन लाग्छ, लान सक्नुहुन्छ ।’
हेर्दाहेर्दै हँस्यौली वातावरण अलिकति गम्भीर भयो । रमिते २४ जना थिए । वडास्तरबाट छानिएका, १६ पुरुष, आठ महिला । सबै १२ कक्षा पास गरेका । अनुपम नेतृत्व विकास कार्यशाला चलिरहेको छ । सेसन हो – पैसाको जादू । मद्वारा मेरो निर्माण । तर, अहँ ! लक्षित समुदायका कोही पनि त्यो पैसा टिप्न अगाडि बढेन ।
‘कृपया म फेरि भन्दै छु, जसलाई यो पैसाको आवश्यकता छ, उसले यो पैसा लानुस्, लैजानुस् । मलाई फिर्ता दिनु पर्दैन । यो तपाईकै हुन्छ ।’
अहँ ! पैसा टिप्न कोही अगाडि बढेन ।
‘तपाईहरूलाई मेरो कुरामा विश्वास नभएर हो कि ! नत्र किन, कोही एक जना अगाडि आएर यो पैसा लानु नभएको ? प्लिज, कोही अगाडि आउनुस् र यो पैसा लिएर जानुस् । जो आए पनि हुन्छ ।’
त्यसपछि बल्ल एक जना सहभागी, अभिनन्दन अरगरिया यादव अगाडि बढे । र, हाँस्तै–हाँस्तै त्यो पैसा लिएर आफ्नो ठाउँमा गए ।
‘क्या बात् ! ल अब सबैले यादवजीका लागि रेडक्रस ताली बजाइदिनुहोला !’
ट्याक–ट्याक ! ट्याक–ट्याक ! ताली बज्यो । दुई पटक हत्केलाले, दुई पटक चुट्कीले ।
‘धन्यवाद ! तालीका लागि । पैसाको जादू करिब–करिब सकियो ।’
‘अब जस–जसले पैसा लिनुभएन उहाँहरूलाई म एउटा प्रश्न सोध्छु । प्रश्न त म पैसा लिने यादवजीलाई पनि सोध्छु । तर, पहिले नलिनेहरूलाई सोध्छु ।’
‘तपाईले त्यो पैसा किन लिनुभएन ?’
पैसा नलिनेहरूबाट विविध जवाफहरू आए । २३ मध्ये पाँच जनाले भने म लिन जान खोज्दै थिएँ, अर्को साथी अगाडि बढेर लगिहाल्नुभयो । दुई जनाले भने मलाई त्यो पैसाको खाँचो थिएन । हामी त सरले के जादू देखाउनुहोला भनेर हेर्दै थियौँ, तीन जनाले भने । छ जनाको भनाइ थियो, लिन मन लागेन । एक जनाले भने त्यो पैसा कसले लान्छ र उसलाई के हुन्छ भनेर हेर्दै थिएँ । सित्तैमा अर्काको पैसा किन लानु ? चार जनाको प्रतिप्रश्न थियो । एक जनाले लिन मन नलागेको कुरा बताए । एक जनाले भने मैले त कुरै बुझिनँ ।
‘अब जसले पैसा लिनुभयो, उहाँले भन्नुहोस्, तपाईले यो पैसा किन लिनुभयो ?’
‘सरले म पैसाको जादू देखाउँछु भन्नुभएको थियो । कसरी जादू देखाउनु हुँदोरहेछ भनेर हेर्नलाई ।’
‘धन्यवाद तपाईलाई । तपाईले जादू हेर्न लिनुभएको होस् वा जेसुकै कारणले लिनुभएको होस् । २३ जनालाई उछिनेर त्यो पैसा लिनुभयो, तपाईले जित्नुभयो । अवसर सबैका लागि बराबर आएको थियो तर विजेता तपाई हुनुभयो । के कारणले तपाईले पैसा लिनुभयो, त्यो मोफसलको कुरा हो । मुख्य कुरा के हो भने जानेर होस् वा नजानेर होस्, तपाईले खेल जित्नुभयो ।’
‘र, जस–जसले पैसा लिनुभएन वा लिने प्रयास गर्नुभएन, उहाँहरूले खेल हार्नुभयो । हामीभित्र विद्यमान यस्ता अनेकौँ कारण छन्, जसले हामीलाई हरुवा बनाइरहेको छ । हामी बहानाहरूले किचिएका छौँ । हाम्रो जीवनमा अवसरहरू आइरहेका–गइरहेका हुन्छन् । तर, हामी चिन्दैनौँ । खास समस्या यो हो ।’
पैसाको यो खेलले तपाईको जीवनमा केही जादू होस् । सोच्ने तरिकामा अलिकति सकारात्मकताको मात्रा थपिदेओस्, म यस्तै चाहन्छु ।
०००
हिन्दू सनातनी मान्यताहनुसार पैसा लक्ष्मीको प्रतिविम्ब हो । यस अर्थमा म पैसालाई माया गर्छु । म पैसाको लभर हुँ । पैसालाई म जत्तिको माया गर्ने प्रेमीको सङ्ख्या संसारमा सानो खरमयुरको सङ्ख्या जत्तिकै दुर्लभ होला ।
सानो–ठुलो जुनसुकै दरको होस्, हातमा परेको पैसालाई म अति जतन गर्छु । दर अनुसार नयाँदेखि पुरानोको क्रम मिलाएर राख्छु । कसैलाई दिनुप¥यो भने सकेसम्म पुरानो–पुरानो छानेर दिन्छु । छेऊ–कुना दोब्रिएको छ भने सिधा पारेर चारैतिरबाट सर्लक्क बनाउँछु । खजमजिएको, भिजेको रहेछ भने आइरन गरेर चिटिक्क पार्छु । च्यातिएको छ भने सेलोटेप टाँसेर जस्ताको त्यस्तै पार्छु । कैयौँपटक दुई रुपियाँको नोट टाँस्न पाँच रुपियााँको सेलोटेप किनेके छु । चार आनाको मुर्गी बाह्र आनाको मसला भने जस्तो ।
तिहार वा सरस्वती पूजामा अगरबत्ती, दीयोले डढेको पैसा देख्नुभा’छ ? दुवै नम्बर भएको तर छेउछाउबाट च्यातिएर बिटुलो भएको पैसा फेला पार्नुभा’को छ ? यस्तो बेलामा के गर्नुपर्छ ? तपाईलाई थाहा छ ?
यस्तो बेलामा त्यही पैसाको आकारमा एउटा सादा कागज काटेर त्यसमा बिटुलो पैसा टाँस्नुपर्छ । अनि मात्र त्यो पैसा साट्नयोग्य हुन्छ । साट्न नेपाल राष्ट्र बैङ्कको काउन्टर वा झुत्रो नोट साट्ने अख्तियारी पाएका राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क लिमिटेडका सटही काउन्टरमा लानुपर्छ । मैले पाँच रुपियाँ, दस रुपियाँका धेरै नोटहरू इनरुवाको वाणिज्य बैङ्क पुगेर साटेको छु । तर, अहिलेको भागदौडपूर्ण जिन्दगीमा अगरबत्तीले डढेको पाँच रुपियाँको नोट साट्न ५० रुपियाँ भाडा खर्च गरेर बैङ्क खोज्दै हिँड्ने फुर्सद कसलाई ?
यसबाट पनि पुष्टि हुन्छ कि म पैसालाई कति माया गर्छु ।
विडम्बना मेरो यो मायालाई पैसाले आजसम्म कहिले पनि सिरियसली लिएको छैन ।
यही कुरा मैले साथी गेहेन्द्रचन्द्र ढुङ्गेललाई सुनाएँ ।
‘हामी पैसालाई माया गर्छौँ र त गल्ती गर्छौँ । पैसालाई माया गर्ने होइन । योसँग त खेलवाड गर्न सक्नुपर्छ,’ उनले भने, ‘जसले पैसालाई धेरै खेलाउन सक्छ, पैसाले उसैलाई पत्याउँछ ।’
०००
यतिखेर एउटा दुर्लभ एकसिङ्गे गैँडा मेरो अगाडि छ ।
हरियो रङको गैँडामा उ ६७–१४७२९४ नम्बरको दुई वटा टाँचा हानिएको छ, पाँचतले मन्दिर न्यातपोलको दायाँ–बायाँ ।
नेपाल राष्ट्र बैङ्कको सहजीकरणमा भएको यो सिर्जना मसँग १२ वर्षदेखि थपक्क जस्ताको त्यस्तै छ । कहाँबाट कहाँ पुगी सक्नुपर्ने थियो बरा । कवि शिरोमणि लेखनाथ पौड्यालको पिँजडाको सुँगा जस्तो बबुरोलाई मैले लामो समयदेखि फाइलमा थुनिराखेर ठुलै आर्थिक अपराध गरेँ कि जस्तो पनि लाग्छ घरिघरि । तर, यो स्वीकारोक्तिभन्दा खतरनाक छ, यसलाई मायाले सँगालेर राखी बस्नुको कारण ।
जुन दिन यो पैसा मेरो हातमा प¥यो, यसको हैसियत पूरै परिवर्तन भइसकेको थियो । नोज फर न्युज । हातमा लिएर यसो सुँघ्नेबित्तिकै थाहा भो, यो त पैसा मात्र होइन, समाचारै समाचारले लवालव भरिएको प्रेमपत्र पो रहेछ । कति इच्छा–आकाङ्क्षा सँगालेर तयार पारिएको यो प्रेमिल दस्तावेजको साक्षी किनारका सदर मभन्दा पहिले कति भए होलान् ? थाहा छैन । तर, यो प्रेम निमन्त्रणा उनले मलाई नै लक्षित गरेर पठाए जस्तो लाग्यो ।
प्रेमपत्र लेख्ने चेलीको नाम र ठेगाना पुरानै नेपालको छ ।
प्रियसी समिरा अञ्जान कुलुङ राई । खाँदबारी नगरपालिका वडा नम्बर २, चेवा बेँसी, माथ्लो खोरिया, एकान्त काफल डाँडा ।
आवरणभन्दा अलिकतिभित्र चिहाउँदा सार्वजनिक प्रेमपत्रमा एक से एक प्रेमिल सायरीहरू लेखिएका छन् । उहिले हिताय, मीनाहरूको अटोग्राफमा मैले लेखे जस्तो –
‘फूल राम्रो गुलाफको काँडा भए पनि ।
माया मिठो ‘ए’को टाढा भए पनि ।’
‘सम्झनाको अतीतमा त तिम्रो छाया परेछ ।
मुटुभन्दा प्यारो त ‘ए’को माया रहेछ ।’
माया मिठो ‘ए’को ? को हो यो प्रियसीको मनमा दोहोरिरहने ए ? थाहा छैन । तर, जो भए पनि त्यसलाई मैले अभागी बनाइदिएँ । कुनै दिन सङ्खुवासभाबाट उड्दै–उड्दै मेरो हातमा आइपुगेको प्रेमपत्रका बारेमा समाचार लेखुँला भन्ने थियो । तर, लेखेको छुइनँ ।
मान्छे राम्रो भए सायद अक्षर राम्रो हुन्थ्यो होला ।
बोली राम्रो भए सायद मिलन हाम्रो हुन्थ्यो होला ।
किशोर भावनाले लपक्क भएको यो मतलामा हाम्रो काफिया पछि मैले थपेको हुँ । सायद यतिबेला म जानी नजानी प्रियसीको मायामा परेको छु । र, यी शब्दहरू दुनियाँलाई साक्षी राख्दै भनिरहेँछु –
समिरा ! तिमीले मनका भावनाहरू छताछुल्ल पार्दै निर्भिक भएर जसरी पैसालाई आफ्नो प्रेम–अभिव्यक्तिको माध्यम बनायौ, त्यसको म डाइहर्ट फ्यान हुँ । किनभने म पनि पैसालाई तिमीले जत्तिकै माया गर्छु । म तिमीले मन पराएको कोही ‘ए’को बारेमा कुनै टिप्पणी गर्दिनँ । तर, यति भन्छु, आफूले मन पराएकोले भन्दा आफूलाई मन पराउनेले धेरै माया गर्छ ।
०००
bisnuprasad.bg@gmail.com
चिहानै चिहान
– सुविद गुरागाई

यता हेर्‍यो चिहान देख्छु, उता हेर्‍यो चिहान देख्छु ।
के भा’को यो बस्तीभित्र ? ज्युँदो एक्लो भगवान् देख्छु ।

उज्यालोको प्रतिक्षामा बित्छ सायद जीवन हाम्रो,
नत्र किन अझै उही कालो–नीलो बिहान देख्छु ?

आँखा छैन, बोली छैन, कसले ग¥यो यो तमासा ?
मूर्दा सबै छातीमाथि कालापानी निसान देख्छु ।
...
२०७५/०१/२१


भगवती रोड प्लस
– सुविद गुरागाई

मलाई याद आउँछ ती दिनको ।
वैशाख आठ गते । भगवती माविको चउर । भगवती रोड । बाटोभरि भिडाम्भिड, ठेलाम्ठेल । सिरुवा मेलाको रौनक ।
मेलाको दिन हामी एउटा बाल्टीमा आधा पानी भरेर बिचमा एउटा गोल्टिनको बट्टा (बाबा, तुलसी पत्ति वा त्यस्तै केहीे) राखेर त्यसमा आठ आना, चाराना पैसा छिराउने दाउ खेल्थ्यौँ । साँझसम्ममा मेरो गोजीमा जितेको पैसा–पैसा हुन्थ्यो । अड्तिस, उन्चालिस सालतिर ।
त्यो बेलाको कुरा जति पटक सम्झियो, उति पटक मन भावुक हुन्छ ।
उहिले चिररी पैसा हुन्थ्यो । पाँच पैसाभन्दा सानो पैसालाई हामी चिररी पैसा भन्थ्यौँ । एक पैसाको पछाडि लालीगुँरासको चित्र (लोगो) हुन्थ्यो । दुई पैसाको पछाडि हाँगामा बसेको डाँफे, पाँच पैसामा गाई ।
आमाले स्कुल जाँदा चाराना दिनुभयो भने त्यो त कति हुन्थ्यो कति । एक पैसा, दुई पैसाको चटपटी, आलचुप (आलु साँदेको), झिलिया, घुप्चुक (पानीपुरी) खान पाइने । पाँच पैसा भए त साथीलाई पनि खुवाउन पुग्ने ।
दुई–तीन जना साथीलाई खुवाएर पनि अन्तिममा एक–दुई पैसा उब्रिन्थ्यो । फेरि त्यसको आलुपच किन्यो अनि दुई–तीन जना साथीले सिन्काले घोच्दै खायो ।
सामाजिक सञ्जालमा केके कोइरालाले पनि सम्झिए मेलाका ती दिनहरू ।
‘आठ आना चार आना होइन, गाई र त्रिशुल भएको पाँच पैसा चै छिराइन्थ्यो बाल्टीभित्र रहेको मुखविलासको सानो बट्टामा पाँचको १५ भन्दै !’
‘सुनसरीपारि भोक्राहा राजमार्ग छेउका जिलेबीका रुखबाट सर्टको फेद गाँठो पारेर जिलेबी टिपेर आउँदा पानीले रुझाएर निथ्रुक्क भएको त्यों बालापन हरेक वर्षात्मा ताजा हुन्छ । सायद खुसीका पर्यायवाची हुन्, ती क्षणहरू !’
कल खुसी मिली थी, जल्दीमे थी रुकी नही ।
गुलजारका शब्दले सम्झाउँछ, बालापनका दिनहरूको महत्त्व ।
यसो होला भन्ने अनुमान थिएन त्यो बेला ।
...
लीला पोखरेललाई याद आउँछ मेलाको दिन । इनरूवा भगवती मन्दिर, बासुदाइले दिएको चिनीको प्रसाद, बेलुन–पानी भरेको फिरफिरे, माटाका भाँडाकुटी, रङ्गीचङ्गी सरबत, ताता मोटा–मोटा जलेबी ।
‘बिहानदेखि सम्झना आइरहेको छ,’ एकदिन उनले फेसबुकमा लेखिन्, ‘जय माता दी ! अहिले म काठमाडौँमा छु ।’
शान्ता ओझा बस्ताकोटीको सम्झनामा ताजै छ त्यो रमाइलो ।
‘कति रमाइलो हुन्थ्यो दसैंदेखि पैसा जम्मा गरेर राख्ने गरेको थियौँ, सिरुवा मेलालाई । अहिले ती दिन याद मात्र रहे । जिन्दगी केही रहेनछ दाइ !’
भगवती रोडमा प्लस भएका बालसखा हुन्, सञ्जीव अर्याल । उमेरमा मभन्दा थोरै तल–माथि । निकै मिल्थ्यौँ हामी । उनी मैले थाहा पाएदेखि जीउ बनाउने अभियानमा लागेका मान्छे । भात खाएरै बडी बनाउँछु भन्थे ।
जुँगे हल्दार वीरबहादुर अर्यालका नाति । झन्डै उस्तै–उस्तै जुँगा बनाएका छन् । पुर्खाको बेडो थाम्ने अभियानमा छन्, विदेशमा बसेर । परिस्थितिले धकेलेको होला त्यता । तर, बेला–बेलामा याद आउँछ ।
त्यो बेलामा दियो क्लबको सचिव थिएँ म । विनोद आचार्य दाइ अध्यक्ष । त्यो क्लब बन्द गर्ने बेलामा क्लबमा भएका जिमका केही सामान, कङ्गोलगायत जे जति कुरा बाँकी थिए, सबै भरपाई गरेर मैले नै उनलाई जिम्मा लगाएको हुँ ।
उनले घरमै जिमखाना बनाएका थिए । राजीव कोइरालालगायत दाइहरू, दलु (दलबहादुर शाहशंकर)लगायत साथीहरू, शशाी कोइरालालगायत भाइहरू जिमका सदस्य थिए ।
नगरको फुटबल, कराँते, क्रिकेट, तेक्वान्डो, हाउजी, चेस जे खेल भए पनि उही पात्र दोहोरिन्थे ।
रेल जस्तो स्कुल थियो । पानी परेका बेलामा बरन्डामा प्ल्याँत र पुलुत चिप्लिँदै लाइन लाग्थ्यौँ हामी । मेरो स्वर अलि ठुलो थियो । पुरुषोत्तम घिमिरे सरको छनोटमा म पर्थेँ । मेरो ठेक्कै जस्तो हुन्थ्यो, जुलुसमा सुरुमा नारा लगाउने ।
‘हाम्रो राजा हाम्रो देश,’ भन्थेँ म । अरूले स्वर खाप्थे, ‘प्राणभन्दा प्यारो छ !’
आज के छ ? जे छ, तपाईलाई थाहा छँदै छ ।
...
कुरा आठाना–चारानाको हुँदै छ ।
‘हो त्यस खेलको राहु मधुकर, दामोदर, दिलीप, दले र सुविध पोखरेल थिए । पैसा हार्ने कुबेर र सुरज हुन्थे ।’
कुबेर बज्राचार्य छियामा राहु । सुरज सुब्बा किताब पढ्न, प्रेमपत्र लेख्न, फोटो खिच्नमा राहु । म, अजय मण्डल हुन्थ्यौँ, साक्षी किनारमा सदर ।
‘हामीले उठाको पैसा मलाई नराख्न दिएर दलेलाई राख्न देको साथीहरूले । त्यही पैसा दलेले लिएर भाग्यो दिल्ली । पछि आउँदा, सुविध, बाबुरामले पैसा माग्दा दलेले ठाडै दिन्नँ भन्यो,’ भगवती रोड सम्झेर सञ्जीव लेख्छन्, ‘सुविध, बाबुराम मसँग आए । दले आयो । पैसा दिन्न भन्छ सञ्जीव, पैसा माग न भनेँ । मैले म माग्दिनँ भनेँ । तिमीहरूले मलाई किन पैसा राख्न नदेको भनेर सोधेँ ।’
‘उनीहरूले भने, तँसँग हामी पैसा उठाउन नसक्ने तैँले पैसा खाएस् भने । दले दुब्लो छ हपारो भने दिहाल्छ भनेर देको ।’
‘पछि दलेलाई मैँले एक्लै भेटेर पैसा मागेँ । दलेले मलाई भन्यो, सञ्जीव त्यो पैसा दुई भाग लगाउँ ल ! अरूलाई नदिँदा हुन्छ ।’
सिरुवा मेलाको बेला थियो । सञ्जीव फेसबुकमा कमेन्ट जोड्दै भन्छन्, ‘मैले ओके भनेँ । पैसा जम्मा तीन सय पचास रुपियाँ उठेको थियो । मेलाबाट उठेको पैसा हामी दुई जनाले बाँड्यौ । तर आजसम्म बाबुराम र सुविधले दलेले पैसा खाको भन्छन् । अब यो कमेन्टबाट उनीहरूले थाहा पाए होलान्, मलाई यो दिन धेरै याद आउँछ । मिस यु फ्रेन्डस्, बाबुराम, सुविध, दलबहादुर ।’
२०४२ सालमा शैक्षिक भ्रमण जान उठाको पैसामा पनि केटाहरूले त्यस्तै ल्याङ गरे । यसपटक गणेश श्रेष्ठ थिए, मेन लिडर । तीन जना गणेश, त्रिलोचन र दलु भएर कता–कता घुमेर आए थाहा भएन । पछि तिमीहरू त भागेछौ, त्यो पैसा खोइ भन्दा घुम्न उठाको पैसा थियो घुम्यौँ, सकियो भने । यसरी त कहाँ हुन्छ ? भनेर स्कुलअगाडिको चउरमा केटाहरूलाई ¥याख¥याख पार्न खोज्दै थियौँ । एकाएक केटाहरू कोलापुरे डाइगर निकाले ।
मन्दिरको पश्चिम गेटतिर अलि अग्लो–अग्लो ठाउँ थियो ।
‘को माइका लाल रै’छ हामीसँग हिसाब माग्ने ? लु आयो एक एक गरेर हिसाब माग्न भन्दै त्यही अग्लो ठाउँमा चक्कु गाडेर केटाहरू बसे ।
हामी हेरेको–हे¥यै । मौरीको गोलोमा कसले हात हाल्ने ।
...
तिनै दिनका थप केही एक्स्ट्रा सटहरू सुरक्षित छन् ।
हरेक फुटेजको जिन्दगीमा कहीँ न कहीँ, केही न केही महत्त्व हुन्छ ।
यसबेला सम्झनाका केही शब्द फेरि उसैका लागि जसलाई मैले २०४२ सालमा सप्तरीको रूपनी बस स्टेन्डमा ‘बाई ! बाई !’ भन्दै बिदा दिएको थिएँ । एकपटक लगत्तै फर्केर हेर्ने साहस पनि थिएन । जतिबेला मैले फर्केर हेरेँ, उनलाई अन्नपूर्ण बसले निकै पर पु¥याइसकेको थियो ।
साँच्चै एउटा साथीको सम्झनाले निकै फरक पार्दोरहेछ जिन्दगीमा ।
चाहेको भए त्यो दिन म बन्दीपुर पनि जान सक्थेँ । तर, म थिएँ एक यायावर । लक्ष्यमा त्यति चाँडै पुग्नु थिएनछ ।
‘नटेक झरेको पातमाथि, च्वास्स–च्वास्स मुटु दुख्छ ।
नछोड मेरो यो हात साथी, च्वास्स–च्वास्स मुटु दुख्छ ।
उज्यालो चाहना सबैको तथापि यो के हुँदै छ ?,
थपिँदै छ कालो रात साथी, च्वास्स–च्वास्स मुटु दुख्छ ।
सबैले देख्ने हो त्यो हिमाल बाहिर–बाहिर हिउँको थुप्रो,
भित्र छ जलेको आँत साथी, च्वास्स–च्वास्स मुटु दुख्छ ।’
यो गजल मैले अलिपछि लेखेको, भगवती रोडमा उनी हिँडेको, गमेर हेरेको, उनैको सम्झना गर्दै ।
सो नोस्टाल्जिक ।
छत्तीस–सैँतीस सालतिर । कमल टाकिजमा थर्ड क्लासमा सिनेमाको टिकट ३० पैसामा पाइन्थ्यो । शनिबार बिहान आठ र १२ बजेको दुई सो विद्यार्थी कन्सेसन हुने । २० पैसामा काठको फलेकमा भुइँको हिलो छ्यापछ्याप पार्दै उडन खटोला, लैला मजनु, सोले आदि सिनेमा हेरेको याद आउँछ ।
...
रिभिजिटेड म्याङलुङ ।
३५ वर्षअघिको एउटा सम्झना ज्याद्रो भएर आउँछ बारम्बार ।
त्यो बेला भगवती रोडमा सहरिया पाराले हुर्केको मलाई म्याङलुङको अर्थ र बिरालोको सम्बन्धबारे केही थाहा थिएन ।
त्यस्तो थाहा पाउन कोट्याई–कोट्याई सोध्ने पत्रकार पनि थिइनँ । त्यसबेला न मोबाइल, न अहिलेको जस्तो सर्वसुलभ क्यामेरा नै थियो । तीनजुरे मिल्केका बारेमा पनि थाहा थिएन ।
खाली हात पुगेको थिएँ म्याङलुङ । दिदीको साथी ।
भोलिपल्ट लुगा धुनुप¥यो भन्दै धारामा पुगेको त पाइपमै पानी जमेको रहेछ । धाराको पानी जमेको देखेको पहिलोपल्ट त्यही हो । अरू कुरा खासै सम्झना छैन । स्कुल पोशाकमा केटीहरूले एकै रङको बर्को ओडेको र बाक्लो–बाक्लो मिड्डी–सुरुवाल लाएको दृश्य चाहिँ आँखैमा टाँसिएको थियो धेरै दिनसम्म ।
२०४० सालमा म आठ कक्षामा पढ्दै थिएँ ।
फ्ल्यास–ब्याकबाट अलिकति यता, साथीहरू मलाई आज पनि सम्झाइरहन्छन् ।
भगवती रोडमा हुर्किएको मेरो साहिय र पत्रकारिताको सन्दर्भ । इनरुवाको साहिय र पत्रकारिताको विकासका लागि मैले पनि केही काम गरेको छु । त्यसमा साथी तथा अग्रजहरूबाट उल्लेख्य, अविस्मरणीय सहयोग मिसिएको छ ।
२०४३ सालमा प्रयास भित्तेपत्रिकाबाट मेरो पत्रकारिताको यात्रा सुरु भएको हो । एक वर्षपछि दुई वर्ष जति प्रयास मासिक हवाइ पत्रिका निकालेँ । त्यसपछि इनरुवाको पहिलो दैनिक पत्रिका हटलाइनको सम्पादक भएँ । रामधुनी प्रकाशन सहकारी संस्था स्थापना गरेर चार पानाको दैनिक करनाल छाप्न थालियो । पछि दुई पेजको करनाल, वेदराजजीले भने जस्तो यसको दोस्रो इनिङ हो । जन आन्दोलन २०६२–२०६३ को सेरोफेरोमा आन्दोलनलाई इनरुवामा करनालले जति अरू कसैले उचालेन भन्ने मेरो बुझाइ छ । राजाका भिजिलान्तेहरूका डरले जिल्लाका सबै मिडिया प्रभावित भए । ब्लाष्ट पनि रोकियो । तर, करनाल एक अङ्क पनि रोकिएन । राजाले कु गरेको दिन हामी मधुवनमा माछा महोत्सवमा सहभागी थियौँ । आज राजाको काट्टो खाइयो भनेर चर्चा पनि गरेका थियौँ । फर्केर राति पत्रिका निकालेका थियौँ ।
त्यसबेलाका सबै प्रतिहरू मसँग सुरक्षित छन् ।
इनरुवा डेटलाइनमा राष्ट्रिय मिडियामा गरेको कामको फेहरिस्त छुट्टै छ ।
आज यो मोडमा सम्झनाका लागि धन्यवाद मित्रहरू राजेन्द्र पोखरेल, वेदराज पौडेल, जयराम गौतम, वीरेन्द्र केएम, गेहन्द्रचन्द्र ढुङ्गेल, चन्द्र रिजाल, माधव आचार्य ।
खासमा फन्टुस फिक्सन मैले मेरो कथा हो भने पनि कृपया नपत्याउनुहोला । किनकि यो मेरो कथा होइन, तपाईकै कथाको जोड–घटाउ हो ।
०००
bisnuprasad.bg@gmail.com

फन्टुस फिक्सनका पात्रहरू
– सुविद गुरागाई

‘भाइ ! कसलाई बनाउनु मैले सदस्य ? तिमीलाई कि माइलो दाइलाई कि जेठो दाइलाई ?’
‘मलाई बनाउनु दाइ !’
‘रसिद काटिदिऊँ ?’
‘कति पैसा लाग्छ दाइ ?’
‘पाँच सय रुपियाँ प्रवेश शुल्क, वार्षिक सदस्यताबापत दुई सय र सहयोग तीन सय गरेर एक हजार रुपियाँ ।’
‘हुन्छ दाइ ! मलाई बनाइदिनु ।’
भगवती सुनसरी पूर्व विद्यार्थी शैक्षिक प्रतिष्ठानको विशेष अभियान विस्तारको क्रममा म छु । साँझको बेला छ । मालपोत कार्यालयअगाडि बाटोमा भेटेँ भाइलाई ।
‘सागर पोखरेल होइन तिम्रो नाम ?’ रसिदमा नाम लेख्ने बेलामा मैले सोधेँ ।
‘मेरो नाम प्रेम सागर हो दाइ । रसिद चाहिँ राजेन्द्र दाइ वा गणेश दाइका नामबाट काटिदिनुहोस् । किनकि म भगवती माविको विद्यार्थी होइन । तपाईको यो जुन अभियान छ, त्यो मलाई निकै राम्रो लागेको छ । त्यसैले मैले सहयोग गर्न चाहेको हुँ । यो पैसा सहयोगस्वरूप लिएर दाइहरूसँग पनि सदस्यताबापत मागे हुन्छ,’ पैसा दिँदै उनले भने ।
म छक्क पर्छु । फन्टुस फिक्सनका पात्रहरू कसरी, कुन रूपमा मेरो छेउमा आउँछन् ? भन्न सक्तिनँ । कोही प्रेरक भएर आउँछन्, कोही दुखान्त ।
यहाँनेर म एउटा कुरा फेरि स्पष्ट पार्न चाहन्छु साथीहरूलाई कि फन्टुस फिक्सन म लेखिरहेको छुइनँ । मभित्र कोही छ जसले मलाई यी सब लेखाइरहेछ । यो सिलसिला कहिले सकिन्छ थाहा छैन । यति थाहा छ, मैले भेटेका, चिनेका, पढेका सबै फन्टुस फिक्सनका पात्रहरू हुन् । र, अहिलेसम्मको अनुभवमा मूल कथा भन्दै जाँदा बाटोमा, जमघटमा जो–जो भेटिन्छन्, जोडिँदै जान्छन् । यसरी जोडिँदै जाँदा मेरै वा कसैको निजी जिन्दगीमा हस्तक्षेप जस्तो केही अनुभव भएमा, संयोग मात्र हुनेछ ।
...
फन्टुस फिक्सनको पात्र परिचय अध्याय सुरु गरुँ अब अलिकति ।
भोजराज खनालबाट कुराको थालनी गरुँ । मैले सुरुमा चिन्दा खनालजी कट्टर कम्युनिस्ट कार्यकर्ता थिए । सुनसरी एमालेको कार्यालय हुलाक टोलमा डम्बर खतिवडाले एउटा गुणस्तरीय पुस्तकालय सजाएका थिए । खनालजीसँग बेलाबेलामा त्यहीँ भेट हुन्थ्यो । शिव खेडाको जित आपकी, म्याक्सिम गोर्कीको आमा र अरू रसियन किताबहरू बिचमा हुन्थे ।
बिचमा म १० वर्ष इटहरीमा बाक्लो भएँ । स्थानीय चुनावको सेरोफेरोमा सिरियाको सेलुनअगाडि झुलुक्क भेट भयो । सुरुमा मैले उनलाई झन्डै नचिनेको ।
‘ओहो ! भोजराजजी के छ ?’ आफूतिर आउँदै गरेको देखेर मैले सोधिहालेँ ।
‘राम्रो छ सुविद सर ! धेरै पछि तपाईलाई यहाँ देखेँ र कुरा गर्न मन लाग्यो ।’
‘आहा ! तपाई जस्तो मित्रलाई अचानक मसँग कुरा गर्न मन लाग्यो । मेरो अहोभाग्य !’
तपाईलाई थाहै छ, म प्रायः साथीभाइसँग कुरा गर्नुप¥यो भने यस्तै रमाइलो मुडमा हुन्छु । कहिलेकाहीँ कुरा बुझेर पनि बुझ पचाए जस्तो गर्नेहरूसँग चाहिँ अलि झिँजो लाग्छ । नत्र मेरा साथीहरूसँग कुरा गर्नु तपाईलाई पनि मजै हुन्छ ।
‘अचेल तपाई पहिले जस्तै किताब पढ्दै हुनुहुन्छ कि छैन ?’
कस्तो राम्रो प्रश्न मैले सोच्दै नसोचेको । प्रश्नले मेरो अन्तरआत्मा छोयो ।
‘साँच्ची अचेल म महिनामा कतिवटा किताब पढ्छु हँ ?’
यो प्रश्न मैले आफूले आफूलाई नसोधेको २० वर्ष भइसकेको रहेछ । सुरुमा म तीन–चार घण्टामा एउटा उपन्यास पढिसक्थेँ । किताबको माग पूर्ति गर्न कहिले कंशमडान, कहिले मधेसा, कहिले सिङ्गिया, कहिले इटहरी, कहिले धरान, कहिले विराटनगर, कहिले वीरपुर पुग्थेँ साथीहरूसँग । हिन्दी, नेपाली जे भेटिन्छ, दिनेले जे दिन्छन्, ल्यायो–पढ्यो । कुनै–कुनै किनिन्थ्यो, कुनै सट्टापट्टा गरिन्थ्यो । सुरज सुब्बा, अजय मण्डल, अनुज पराजुली, म, लाली, मीरा दिदी आदि उपन्यास र अरू साहित्यिक किताब पढ्ने कोर ग्रुपमा थियौँ ।
बिचमा म नेपाली साहित्यमा भिडेर लागेँ । कवि बन्छु भन्ने लक्ष्य प्रष्ट पारेँ । किताबसँगको दोस्ती झन् बाक्लियो । मैले आजसम्म जति फिल्म हेरेको छु, त्योभन्दा धेरै किताब पढेको छु । हरेक पल्ट काठमाडौँ जाँदा एउटा र आउँदा एउटा किताब सकिन्थ्यो । किताब फिक्सन नफिक्सन जस्तो पनि हुन सक्थ्यो ।
बिडम्बना मेरो किताब पढ्ने बानी क्रमशः घटेर हुँदाहुँदा वर्षमा एउटामा सीमित हुनपुग्यो । त्यो पनि निकै हल्लखल्ल भयो र कथाले माग्यो भने मात्र ।
तर यी कुरा मैले भनिनँ भोजराजजीलाई । भन्ने सन्दर्भ पनि परेन ।
‘किन ?’ म सोझै मुद्दामा आएँ ।
‘तपाईसँग समय छ र पढ्न चाहनुहुन्छ भने म तपाईलाई किताबहरू उपलब्ध गराउनसक्छु,’ उनले भने, ‘अचेल हामीले सखुवागाछीमा एउटा पुस्तकालय बनाएका छौँ । त्यहाँ निकै राम्रा–राम्रा किताबहरू छन् ।’
नेकी और पुछ–पुछ ।
‘ओके छ त !’ मैले भनेँ ।
...
‘समाजवाददेखि सावधान’
एक हप्ताका बिचमा दुई पटक फोन सम्पर्क गरिसकेपछि इनरुवामा भेटेर भोजराजजीले मलाई ओशो रजनिशको विचार समेटिएको किताब दिनुभयो ।
‘यो किताब तपाईले पढ्नुभएको छ कि छैन, यदि छ भने अर्को ल्याइदिन्छु,’ भन्दै भोजराजजीले किताब मतिर बढाउनुभयो ।
‘यो निकै बिकेको किताब हो र यसका बारेमा के भनिन्छ भने,’ पन्डितजीको टेबुलमा टेको लाएर किताबका पानाहरू पल्टाउँदै गर्दा भोजराजजीले भन्नुभयो, ‘यदि कुनै कम्युनिस्टले यो किताब साँच्चिकै समय दिएर पढ्यो भने उसले आफूलाई कम्युनिस्ट हुँ भन्न छोड्छ ।’
सातौँ पाना पल्टाउँदै गर्दा मैले गडेर भोजराजजीका आँखामा हेरेँ ।
‘तपाईले पत्याउनु भएन होला । यसको एउटा उदाहरण त म नै हुँ ! अचेल म आफूलाई कम्युनिस्ट हुँ भन्न मन पराउँदिनँ ।’
मलाई ओशोको किताबले भन्दा पनि भोजराजजीको प्रस्तुतिले निकै आकर्षित ग¥यो । त्यसो त मैले ओशोको ‘सम्भोगसे समाधितक’ किताब जुन दिन पढी सिध्याएँ, त्यो दिनदेखि आजसम्म त्यसको प्रभावले मलाई छोडेको छैन । ३४ वर्षभन्दा बढी भयो ।
त्यसमा भएको, त्यो एउटा माझी झिसमिसेमै जाल थाप्न गएको, केही वस्तुसँग उसको खुट्टा ठोकिएको, उसले त्यसलाई ढुङ्गाको पोको ठानेको, जाल थाप्ने क्रममा समय कटाउन त्यो पोकोबाट एउटा–एउटा ‘ढुङ्गा’ झिक्दै पानीमा फ्याँक्दै गर्न थालेको र जतिबेला ऊ अन्तिम ढुङ्गा फ्याँक्न लाग्दै थियो त्यही बेला सूर्योदय भएको र उसले आफ्नो हातमा सुनको डल्ला देखेर पछुतो मानेको प्रसङ्ग हामी धेरैको जीवनमा मिलेको सम्झेँ ।
तर, यो कुरा पनि मैले भोजराजजीलाई भनिनँ ।
‘किताब जलाइनुभन्दा पनि खतरनाक अपराध यहाँ छन्, तीमध्ये एक किताब नपढ्नु हो,’ जब–जब म कसैलाई कुनै किताब दिँदै हुन्छु वा कसैबाट कुनै किताब लिँदै हुन्छु, जोसेफ ब्रोड्स्कीको यो भनाइ सुरुमा सम्झिन्छु ।
‘हुन्छ, तपाईले यति मायाले दिएपछि पनि मैले यो किताब नपढ्नु भएको म कृतघ्न हुनु हो,’ मैले भने, ‘एक हप्तापछि म फिर्ता दिन्छु ।’
...
‘व्यक्तिको अस्तित्व समाप्त पार्नु छ भने पहिले उसको सम्पत्ति खोसिदेऊ । सम्पत्ति खोसिनासाथ व्यक्तिको सोचविचारको क्षमता नष्ट हुन्छ ।’
किताब पढ्दै गर्दा मेरो एउटा बानी के छ भने आफ्नो वा अर्काको, जसको भए पनि घत लागेका र प्रुफ नमिलेका शब्दहरूमा अन्डरलाइन लगाउँछु । यात्राका क्रममा पढ्दा पनि मेरो गोजीमा एउटा डटपेन अद्यावधिक हुनै पर्छ ।
समाजवाददेखि सावधान शीर्षकमा मैले पछिल्लो छिमलमा पढ्न थालेको किताबको हिन्दी संस्करण मैले धेरै वर्षअघि पढिसकेको रहेँछु ।
हामी जति अध्ययन गर्दै जान्छौँ, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । पर्सिविस शेलीले भने जस्तो म ओशोका विचारहरू पढ्दै, अन्डरलाइन लगाउँदै गर्न थालेँ ।
‘व्यक्तिको मूल्य जस्तो अर्को केही छैन । व्यक्तिको स्वतन्त्रता जस्तो मूल्यवान अरू केही हुँदैैन । व्यक्तिको मूल्य हराउनु भनेको सबैभन्दा घातक कुरा हो ।’
‘कोही इस्लामका लागि मर्दै छ, कसैले इस्लामका लागि मार्दै छ । इस्लामका लागि मर्नेले वहिशत प्राप्त गर्छ । आफ्ना लागि नबाँच । इस्लामका लागि बाँच । कोही भन्दै गर्छ, हिन्दूत्वका लागि बाँच । तिमी मर तर मन्दिर, मूर्तिहरू बचाऊ । कोही हिन्दूस्तानका लागि बाँच्न प्रेरित गर्दै छ । कोही पाकिस्तानका लागि, इस्लामका लागि बलिदान दिन उक्साउँदै छ । अनि कसैले भन्दै छ, समाजवादका लागि आन्दोलन गर । मर, त्याग गर ।’
‘जसले आफूलाई बुझ्छ, आफूलाई पाउँछ, त्यसले अरूलाई बाँड्न सुरु गर्छ । आफूलाई पाइसकेपछि नयाँ आनन्द सुरु हुन्छ । अनि यस्तो आनन्द अरूलाई बाँड्ने छटपटी हुन्छ ।’
‘कतिपय क्षणमा आफ्ना दुःख अरूसमक्ष राख्दा सुन्ने पनि दुःिखत हुन्छ, द्रवित बन्छ । यस्ता दुःखले अरूलाई पनि दुःखी पार्छ ।’
‘बुद्ध भिकारी होइनन् । बुद्धको भिकारीपनमा पनि एउटा सम्राटको व्यक्तित्व छ ।’
जति पाना पल्टाउँदै गयो यति मन छुने तर्कहरूसँग साक्षात्कार हुँदै गयो ।
‘मान्छे इतिहासबाट केही पनि सिक्न चाहँदैन । पुराना शब्द र उपाय बदलिन्छन् ।’
‘मान्छे आफैँले मैले यति घण्टा काम गर्नु छ भनेर काम गर्न थालोस् । कामसँगै पैसा पनि मागोस् । बिना काम पैसा माग्न लाज होस् ।’
‘देशको मस्तिष्क यति धेरै माकुरे जालोले जेलिएको छ, त्यसलाई हटाउँदा पनि अप्ठेरो स्थिति सिर्जना हुन सक्छ ।’
किताबको करिब अन्तमा ओशोको भनाइ यस्तो छ –
‘म भगवान्सँग प्रार्थना गर्छु, यस्तो समय आओस्, हामीले भगवान्को मन्दिरमा माग्न जानु नपरोस्, बरू हामीहरू धन्यवाद दिनका लागि जान सकौँ ।’
...
फन्टुस फिक्सनका अर्का पात्र घनेन्द्र ओझाका बारेमा थोरै कुरा गरौँ ।
धेरै पत्रिकामा डेस्कको अनुभव सँगालेका ओझा हिजोआज अजय सुमार्गीवाला थाहा खबर डट कममा डेस्कको काम हेर्छन् ।
‘हाम्रोमा यदि कसैको कविता, गीत, गजल, लेख, समाचार, फोटो छापिन्छ वा रेडियोमा समाचार प्रयोग हुन्छ भने त्यसको धेर–थोर जति भए पनि पारिश्रमिक दिइन्छ,’ सुरुमा यस्तै भन्थे घनेन्द्र ।
थाहा खबरमा मेरा पनि केही गजल र लेखहरू प्रयोग भएका छन् । एक–दुई वटा मैले नै छाप्न अनुरोध गरेको थिएँ । एक–दुई वटा उनैले मागेर छापेका हुन् ।
तर, पारिश्रमिक पाएको छुइनँ ।
‘यसमा मेरै कमजोरी छ दाइ,’ अस्ति काठमाडौँमा भेटिएका बेला उनले भने, ‘हिसाब गरेर मेनेजमेन्टलाई दिने जिम्मा मेरै छ, तर मैले नै समय व्यवस्थापन गर्न सकिरहेको छुइनँ ।’
घनेन्द्र अनाम मण्डलीका संस्थापकमध्येका एक हुन् । गजलका बारेमा निकै अध्ययन गरेका छन् । अब अनाम मण्डली भनेपछि तपाईले बुझिहाल्नुभयो, नेपालमा बहरमा गजल लेख्नुपर्छ भनेर अभियान चलाउने साथीहरूको जमात हो ।
तपाईलाई थाहै छ, भर्खर मेरो गजल सङ्ग्रह ‘जूनको आगो’ सार्वजनिक भएको छ । त्यसमा अपेक्षित बहरमा एउटै पनि रचना छैनन् । त्यसैले घनेन्द्र ओझा, सुरेश सुवेदी, जय गौडेल, बलराम दाहाल, प्रभाती किरणहरू उस्तो रुचाउँदैनन्, मेरो गजल लेखाइ ।
यसबाहेक घनेन्द्र सामाजिक सञ्जालमा कडा रूपमा प्रस्तुत हुन्छन्, दुनियाँका लागि । तर, मेरा निम्ति भने अलि नरम शब्दहरू नै चयन गर्छन् ।
‘यायावरजस्तो जिन्दगी भोग्न मन पराउने सुविद स्थायी जागिर हुँदाहुँदै शोखको पेसा पत्रकारितामा पनि उत्तिकै समय दिइरहेका छन् । अझ भन्दा जागिरभन्दा बढी नै समय, श्रम र मिहिनेत उनको पत्रकारितामा देखिन्छ । उनी कतिबेला सुत्छन्, कतिबेला उठ्छन्, सायद उनी आफैँलाई थाहा हुँदैन । रातको बाह्र–एक बजेसम्म साहित्य र पत्रकारिताका विषय खोज्न चोक, गल्ली र सडकहरूमै भौँतारिरहेका भेटिन्छन्, इटहरीतिर । विद्यालयमा पढाउनु, पत्रपत्रिकाका लागि लेख, समाचार लेख्नु, सम्पादन गर्नु, एफएम रेडियोमा कार्यक्रम उत्पादन गर्नु, सञ्चालन गर्नु, समाजसेवाका विविध क्रियाकलापमा सहभागी बन्नु, साथीभाइसँग चियागफ गर्न पनि भ्याउनु र त्यसबाहेकको समय सिर्जनामा तल्लीन रहनु सुविदको दिनचर्याको हो, पङ्क्तिकारले देखेको ।’
जूनको आगोका बारेमा चर्चा गर्ने क्रममा घनेन्द्रले मेरा बारेमा देशान्तर साप्ताहिक र अनलाइनमा मायाले सजाएका शब्द हुन् यी ।
‘सुविद दाइले कुन दिन मलाई पनि फन्टुस फिक्सनको पात्र बनाइदिन बेर छैन,’ आफूलाई बिझेको सन्दर्भ सार्वजनिक गर्नुअघि उनले मलाई मेन्सन गर्दै दुई पटक यस्तै भूमिका लेखेका छन् सामाजिक सञ्जालमा ।
फन्टुस फिक्सनको पात्र हुन रहर गर्ने घनेन्द्रको नेपाली भाषाप्रेम र लेखन प्रष्टताको म ठुलो फ्यान हुँ । अहिलेलाई यत्ति भनेँ ।
०००
bisnuprasad.bg@gmail.com

अफ् द रेकर्ड !
– सुविद गुरागाई

म श्रीनिवासको पक्ष वा विपक्ष कतै पनि छैन ।
धर्मको पक्ष र अधर्मको विपक्षमा छु । आफ्नो जीवनकालमै नेपाल फेरि हिन्दू–राष्ट्र भएको हेर्न चाहने इच्छा छ । यसका लागि तत्काल जनमत सङ्ग्रह घोषणा गराउन, राज्यलाई दबाब दिन सकेको सहयोग गरिरहेको छु ।
श्रीनिवासमाथि भएको, गराइएको गोली–काण्डको घटनाअघि प्रायः सुशुप्त अवस्थामा रहेको अथवा यसो भनौँ, धर्म–निरपेक्षता शीर्षकको नाटक–मञ्चन हेरिरहेको रमिते हिन्दू समाज यतिबेला थोरै भए पनि जुर्मुराएको छ । पक्ष–विपक्षमा तर्कहरू व्यक्त गर्न थालेको छ । यो अत्यन्त राम्रो कुरा हो । यसमा सकारात्मकताको मात्रा बढाउँदै लैजान एक अभियन्ताको नाताले म तपाईसँग हार्दिक अपिल गर्दछु ।
श्रीनिवास यतिबेला प्रहरी हिरासतमा छन् । जतिबेला उनी इटहरीमा हिन्दू धर्मका पक्षमा जागरण ल्याउन सडक सङ्घर्ष गर्दै थिए, त्यो बेलादेखि म उनको प्रस्तुति र विपक्षीहरूको व्यवहारलाई अवलोकन गर्दै आएको छु । उनी ईश्वरबाहेक अरू कोहीसँग डराउँदैनन् । मनमा लागेको कुरा ठाडै बोल्छन् । अन्य धर्मगुरुहरूले बाटो विराइरहेका छन् भनेर खुला आलोचना गर्छन् ।
पछिल्लो दिनमा श्रीनिवास जगत्गरु मोहनशरण र गुरु कमल नयनाचार्य बीच विद्यमान ‘म ठुलो हुँ,’ भन्ने असमझदारीले काठमाडौँ केन्द्रित आन्दोलन र अनसनको परिणाम सोचेअनुरूप हुन नसकेको निष्कर्ष सुनाउँदै हिँड्दै थिए । धार्मिक अगुवाहरूले नै ठिक नेतृत्व दिन नसकेकाले संविधानमा हिन्दू धर्म सापेक्षता लेखाउन नसकिएको उनको भनाइ छ । उनकै शब्दमा भन्दा, ‘यदि हामीले हिन्दू राष्ट्र साँच्चै मनले चाहेको हो भने बालसन्त, कमलनयनाचार्य, कृष्णदास, दीनबन्धु पोखरेललगायत धार्मिक अगुवाहरूलाई एक भएर नेतृत्व लिँदै अघि बढ्न दबाब दिनुपर्छ । अन्यथा हिन्दू धर्मसापेक्ष राष्ट्र प्राप्तिको अभियान धेरै पछाडि धकेलिने छ ।’
उनी धर्म–निरपेक्षताको चर्का विरोधी हुन् । संविधानबाट धर्म निरपेक्षता शब्द हटाउन सम्पूर्ण धार्मिक शक्ति केन्द्रित गर्ने दिशामा उनको ध्यान र अभियान लक्षित थियो ।ं ‘यो धर्मविरोधी अन्धो सरकारलाई हामी एक आँखाले पनि हेर्न चाहँदैनौं,’ भन्दै उनी आँखामा कालोपट्टि बाँधी सडकमा पनि उभिए ।
यसरी जो सत्यको पक्षपाती हो, जो समाजमा धर्म, न्याय र विधिको शासन स्थापित हुनुपर्छ भनेर निरन्तर दबाब दिन्छ, त्यस्तो मान्छेको हविगत के हुन्छ यो समाजमा ?
तपाईलाई राम्ररी थाहा छ । लुम्बिनी बगैँचामा जापानी भिक्षुलाई गोली हानेर मारेको घटना पनि तपाईले बिर्सनुभएको छैन ।
...
इतिहासमा पृथ्वी गोलो छ भन्नेले विष पिउन बाध्य हुनुपर्यो । त्यसैका नयाँ–नयाँ संस्करणहरू बजारमा छ्याप्छ्याप्ती छन् । त्यसो त सत्यको पक्षमा उभिने एउटा मान्छे पनि एक प्रकारको बहुमत हो भनिन्छ । तर, एक न एक दिन मान्छेले कुरा बुझ्नेछन्, सत्यको जित हुनेछ भनेर पर्खिबस्दा र आत्मरतिमा रमाइबस्दा उत्तिकै आनन्द आउने रहेछ ।
तपाई स्वयम् सार्वजनिक रूपमा सत्य बोल्न सक्नुहन्छ वा सक्नुहुन्न, बोल्नुभएको छ वा छैन त्यो तपाईलाई थाहा छ । मेरो बुझाइमा, भ्रष्टाचारले तलदेखि माथिसम्म गाँजेको, आगन्तुक धर्म प्रसारकहरूको प्रलोभनमा भुइँ तहसम्म जकडिएको यो समाजमा सत्य बोल्नेहरूलाई दिग्भ्रमित गर्न वा आफ्नो बाटोबाट हटाउन भ्रष्ट व्यक्ति, समाज र राष्ट्रले जे पनि गर्नसक्छ । यो जे पनि भनेको अन्ततः हत्या नै हो ।
वीरेन्द्रको वंशनास, मदन भण्डारीलगायत हत्याकाण्डको सत्य–तथ्य पर्दाफास यो हाम्रो जीवनकालमै होला भन्नेमा कम से कम मलाई विश्वास छैन । समयको कालखण्डमा दर्जनौँ व्यक्तिहरू बेपत्ता परिएका छन्, तिनीहरूको खोजी भ्रष्ट समाजले गर्दै–गर्दैन । सान्त्वनामा गोहीको आँसु खसाएर चित्त बुझाउँछ वषौँसम्म । हुँदै यही आएको छ ।
कीर्तिपुरमा अमर लामालाई लखेटी–लखेटी कसैले र लाजिम्पाटतिर २०५७ साउन २२ गते पारसले चलाएको कारले किचेर गायक तथा सङ्गीतकार प्रवीण गुरुङ मारेको घटनामा आजसम्म के भयो खोइ ? माछा–माछा भ्यागुतो ! हेर्दाहेर्दै फ्याट्ट घटना हुन्छ, छँदाखाँदाको मान्छे मारिन्छ । अध्ययन–अनुसन्धान पछि हुँदै गर्छ । समाचार लेख्ने–लेखाउने सिलसिला चल्दै गर्छ । अड्डा–अदालत, मुद्दा–तारेख, बकपत्र–सनाखत कथाले मागे अनुसार हुन्छन् । कुनै–कुनैमा कथाले मागेन भने माग्न लगाइन्छ । मानवअधिकार, कारवाही, परिपुरण आदि–इत्यादि तर्क–वितर्क चल्छन् । खण्डन–मण्डन हुन्छ । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । हरेक बिहान सूर्य उदाउँछ । बाँकी जीवन चलिरहन्छ । सरकार चलिरहन्छ । नियमित आकस्मिकता दोहोरिरहन्छ ।
अरूको के कुरा गर्नु, मेरो दाइ–साथी शम्भु घिमिरेलाई २०५१ माघ १९ गते राति आततायी, तस्करहरूले घरबाट थुतेर, मारेर, घिसार्दै नहरको डिलमा पुर्याएर बकाइनोको रूखमा झुन्ड्याइदिए । तर, अहँ ! ती सामूहिक हत्याराहरू आजसम्म पत्ता लागेका छैनन् । पत्ता लगाउन मनैदेखि खोजिएको छैन ।
दस वर्षसम्म पनि शम्भु घिमिरे हत्याकाण्ड रहस्यमय, प्रहरीलाई कारण थाहा छ तर बताउन चाहँदैन । २०६१ कात्तिक १७ गते मङ्गलबार करनाल दैनिकमा शरीरभरि चोटैचोट लागेको, गोलीगाँठोनेर खुट्टा भाँचिएको लास झुन्ड्याइएको घटनास्थलको फोटोसहित छापिएको बाइलाइन ।
न्यायको आस गरेको २४ वर्ष भइसक्यो । प्रहरीले सुरु–सुरुमा फाइल बनायो, खोजेजस्तो गर्यो । त्यो क्रममा जो अनुसन्धान अधिकृत सत्यको नजिक पुग्न खोज्थ्यो, उसको सरुवा भइहाल्थ्यो । मैले घटनालाई सेलाउन नदिन पटक–पटक समाचार लेखेँ । लेखहरूमा प्रसङ्ग उठाएँ । तर, अझ पनि तैँ चुप मैँ चुप छ समाज । दस वर्षअघिसम्म त घटनाको फाइल अपडेट हुँदै थियो । अचेल सरोकारवालाहरूको ध्यानबाट धेरै टाढा पुगिसकेको छ यो विषय ।
खोज्दै जाँदा यस्ता घटना कति छन् कति ।
...
पचासको दशकमा म नेपाल समाचारपत्रको जल्दोबल्दो रिपोर्टर थिएँ ।
कोसी व्यारेज निर्माणका क्रममा भारतीय पक्षबाट सात हजार बिघा नेपाली भू–भाग मिचिएको र रानीगञ्ज भन्सार बेपत्ता पारिएको तथ्य थाहा पाएर लगातार समाचार लेख्न थालेँ ।
हराएको सात हजार बिघा जमिन भारतको कब्जामा । नयाँ सीमा स्तम्भले नेपालीलाई विदेशी बनाए । रानीगञ्ज भन्सार र शून्य आरडीको खोजी । भारतीय नागरिकद्वारा दसगजामा घर निर्माण । मिचिएका हजारौँ बिघा जमिनबारे जनस्तरमा चासो । सिमाना व्यवस्थित गर्ने दिशामा प्रशासन निस्क्रिय । नेपालबाहिर छ बृहत् नेपाल । ग्रेटर नेपालका पक्षधर खोज्न ‘र’का एजेन्टहरू सक्रिय । भारतलाई सुम्पिएको भूमिबारे नेपाल अनभिज्ञ । भारतले नेपालको चतरा छाड्ने तयारी गरेन । नेपाल समाचारपत्रमा एकपछि अर्को बाइलाइन । सबै कटिङ सुरक्षित राखेको छु ।
फलोअप गर्ने क्रममा एकदिन ‘अन्तिम सीमा–स्तम्भको जीवन खतरामा’ शीर्षक राखेर समाचार पठाएको थिएँ, तर छापिएन ।
‘दाइ, किन छापिएन त्यो समाचार ?’
यो मामलामा कपिल काफ्ले दाइलाई एक इमानदार पत्रकार मान्छु म । त्यतिबेला नेपाल समाचारपत्रको सम्पादक हुनुहुन्थ्यो । उहाँले जे हो, त्यो कारण प्रष्ट भन्नुभयो ।
‘समाचार राम्रो छ सुविदजी ! तर मेनेजमेन्टले हाललाई यो मामला स्थगित गरौँ भनेको छ । मेनेजमेन्टलाई फेयर एन्ड लवली, लिरिललगायत पाँच वटा विज्ञापन रोकिदिन्छु भन्ने दबाब आएको छ भन्ने सुनेको छु ।’
उहाँको सङ्केत प्रकाशक÷प्रधान सम्पादक पुस्करलाल श्रेष्ठतर्फ थियो ।
यो एउटा पुस्करलाल श्रेष्ठ वा नेपाल समाचारपत्रको मात्र कुरा होइन । नेपाली पत्रकारिता र समाजको अधिकांश भाग अझै पनि भारतीयहरूको पैसा, युरोपियन युनियनको सहयोग आदि–इत्यादि भारले किचिएको छ । भ्रष्टाचारी र धर्म–निरपेक्षतावादी भनाउँदाहरूको सञ्जालमा परेको छ । सेल्फ–सेन्सरसिपको लिसोपासोमा अल्झेको छ ।
पत्रकारिता वा आमसञ्चारको कुरा गर्दा हामी कान्तिपुर प्रकासन गृहलाई आइडल संस्था मान्ने गर्छाैँ । तर, कान्तिपुरको लोगो तल सधैँ जनपक्षीय (पब्लिक) सञ्चार हुन्छ भन्ने प्रत्याभूति के छ ? त्यसका संस्थापक, लगानीकर्तालाई के रुचिकर लाग्छ त्यही–त्यही छाप्छन्, त्यही देखाउँछन्, त्यही सुनाउँछन् । हान्न मन लागेकालाई हान्छन्, उचाल्न मन लागेकालाई उचाल्छन् । भुइँ तहमा कुनै इश्यु छुटोस्, सीमान्तमा परोस्, मरोस् केही चासो हुन्न ।
मलाई लाग्छ, म जसरी कुराहरू उठाइरहेको हुन्छु, सचेतना अभियान चलाइरहेको हुन्छु, यसबाट दिक्दार भएर आततायीहरूले मलाई पनि मेरा कामहरूबाट बेदखलीको प्रयास गर्नसक्छन् । मलाई र मेरा शुभेच्छुहरूलाई मनग्गे दुःख दिन सक्छन् । अनेक आरोप लगाएर ‘यो मान्छे पतीत पो हो त, कताको आइडल मानिरहेको,’ भनेर बहुदा मान्छेलाई भ्रमित पार्ने हर्कत गर्नसक्छन् । मलाई मार्न पनि सक्छन् ।
त्यस्तो नहोस् । तर, कथंकदाचित् मलाई मारे भने त्यसको निस्पक्ष छानविन होला, कुनै मिडियाले त्यसका लागि निरन्तर र निष्कर्ष उन्मुख दबाब देला भन्ने मलाई लाग्दैन । हुन त म आफैँ मिडियामा काम गर्ने मान्छे हुँ । मैले सार्वजनिक रूपमा यस्तो कुरा नभन्नुपर्ने । तर, मैले भने पनि नभने पनि यतिबेला परिस्थितिसापेक्ष मेरो मनमा उम्लिरहेको कुरा यही हो ।
यहाँनेर आततायीहरूले बुझ्नुपर्ने कुरा के छ भने, केहीलाई सधैँ अनि सबैलाई केही दिन भ्रमित पार्न सकिएला तर सबैलाई सधैँ भ्रमित पारेर राख्न सकिन्न ।
...
यस्तो पृष्ठभूमिमा श्रीनिवासको कुरा गरौँ ।
इटहरीमा हिन्दू धर्मका नाममा आन्दोेलन गर्दैगर्दा जब प्रहरी हस्तक्षेप चरम हुन थाल्यो त्यसबाट आक्रोशित बनेका श्रीनिवासले एकदिन घटनास्थल गोल–चोकमै तत्कालीन प्रहरी प्रमुख विनोद शर्मालाई लक्षित गरेर त्रिशुल उज्याएका थिए ।
विनोद शर्मा ती दिनहरूमा इटहरीलाई राम राज्य बनाउँछु भन्ने ढ्याङ्ग्रो ठोकिरहेका थिए । तर, यथार्थमा उनी व्यापारीहरूसँग राति–राति रक्सी खाने र दिउँसो–दिउँसो सुरक्षाका नाममा हिन्दूवादीहरूको आन्दोलनमा हस्तक्षेप गर्दै अलमलिने कामका बढी व्यस्त थिए । श्रीनिवासले आफूलाई त्रिशुल उज्याएपछि चिढिँदै उनले भनेका थिए, ‘बडो, हिन्दूधर्म जागरणको सारा ठेक्का आफूले पाएको छु जस्तो गर्छ । मलाई त्रिशुल देखाएर तर्साउन खोज्छ । ताल पर्यो भने समातेर यस्ता–यस्ता मुद्दा लगाउँछु कि जिन्दगीभर जेलमै सडिरहन्छ ।’
सुन्ने हामी छौँ । तर, त्यो घटनाको दुई दिनपछि विनोद शर्माको व्यवहारमा नाटकीय परिवर्तन आएको देखियो । उनले श्रीनिवासलाई भेटेर खुट्टा ढोगेरै माफी मागे ।
प्रसङ्ग यतिमै टुङ्गिदैन । विनोद शर्मा एउटा पात्र र एउटा प्रवृत्ति हो यो समाजको । उनै श्रीनिवास यतिबेला शरीरमा गोली लागेर, आफूले आफूलाई नै गोली हान्न लगाएको आरोपमा प्रहरीद्वारा पक्राउ गरिएका छन् ।
पुलिससे ना ज्यादा दोस्ती अच्छी होती है ना ज्यादा दुस्मनी । प्रहरीका बारेमा हाम्रो मधेसमा यो भनाइ निकै लोकप्रिय छ ।
संयोगले म सानोमा प्रहरी कार्यालय परिसरमा हुर्किएँ । प्रहरीहरूले चाहेमा के–के गर्न सक्छन्, मलाई धेरै कुरा थाहा छ । प्रहरीलाई कुनै मान्छे (डाँका, आतङ्ककारी भनिएका वा जोसुकै) मार्न मन लागेको छ भने थपक्क समाउँछन्, गाडीमा राखेर दुई–चार चक्कर घुमाउँछन् र एकान्त ठाउँमा लगेर ड्याम्म गोली हानिदिन्छन् । एक–दुई वटा कट्टा वा बेवारिसे चाइनिज पिस्तोल उनीहरूसँग हुन्छन् नै । त्यही मरेको मान्छेको गोजीमा हालिदिन्छन् । फोटो खिच्छन् र पत्रकार सम्मेलन गर्छन् । गोजीमा गाँजा, ट्याबलेट, फेन्सिडल बोकेर ‘हामीलाई गोप्य सूचना आएको छ, त्यसैले हामी छापा मार्छौँ भन्दै कुनै पान वा किराना पसलमा छिर्न, र्याकको कुनामा ती सामग्री राखेर फोटो खिच्न र फसाउन सक्छन् प्रहरीहरूले । प्रहरीको मात्र के कुरा गर्ने । यहाँ पत्रकारहरू पनि चोखा छैनन् । न्याय सम्पादन गर्नुपर्नेहरू पनि चोखा छैनन् । यसका दर्जनौँ उदाहरण छन् मसँग ।
ठ्याक्कै कुनै सस्तो हिन्दी सिनेमाको जस्तो परिदृश्य प्रत्यक्ष देखेकै हो हिजो । देखिँदैछ आज पनि ।
बाबुद्वारा बलात्कृत किशोरीको उद्दार भएन । आफ्नै बाबुसँगको सहबासका कारण गर्भ बोकेकी यहाँकी एक किशोरीलाई यतिबेला त्यो अवैध गर्भ निल्नु न ओकल्नु भएको छ । २०६० असोज २५ गते इनरुवा डेटलाइनमा मैले लेखेको समाचारको लिड हो यो । आफ्नै बाबु बलात्कारी हुने समाजमा कसको विश्वास गर्ने ? कसको विश्वास नगर्ने ?
प्रायः पत्रकारले त्यही लेख्छन्, जुन प्रायोजित हुन्छ । कुनै गम्भीर प्रकृतिको घटनाको गहिरिएर अध्ययन–अनुसन्धान गर्ने र सत्य–तथ्य सार्वजनिक गर्न आवश्यक लगानी, समय र साहसको निकै अभाव छ नेपाली पत्रकारितामा । छैन भने भनिदेओस् कसैले ।
सँगै एउटा अर्को तीतो यथार्थ पनि छ । अधिकतर पत्रकारहरू कथित धर्म–निरपेक्षता पक्षधर पार्टीका साक्षी छन् । धर्म जागरणका पक्षमा लेख्न यिनको नौनाडी गल्छ । यस्तो धरातलीय यथार्थबिच श्रीनिवास गोली कान्ड प्रकरणको ग्राइन्ड डिजाइन के हो ? खुल्दै जाला । उनको शरीरमा लागेको गोलीको गुञ्जन कहाँसम्म पुग्छ र त्यसले कति जागरण उत्पन्न गर्छ, हेरौँ ।
०००
bisnuprasad.bg@gmail.com

दिनभर राजन मेहतासँग
– सुविद गुरागाई

नियमित आकस्मिकताको एउटा मोडमा म दिनभर इनरुवा नगर–प्रमुख राजन मेहतासँग थिएँ ।
बाटोमा संयोगले भेट भएको थियो । म घुमाउरो कुरा गर्न जान्दिनँ ।
‘गुरु, डुम्राहा घुम्न जाऊँ,’ उनले भने ।
डुम्राहा मेरो तेस्रो मातृभूमि हो । पहिलो बबिया । दोस्रो इनरुवा । तेस्रो डुम्राहा । अहिले सोलोडोलो सबै इनरुवा भएको छ ।
यसो हेरेको नगरपालिकाको गाडीमा उनी र ड्राइभरबाहेक कोही थिएन । उनको बडीगार्ड नवीन पनि थिएन । नवीन राना मेरो साथी हो, सानोमा सँगै पढेको ।
उखरमाउलो गर्मी थियो । गाडीबाट एसीको चीसो हरक आइरहेको थियो ।
‘ओके छ त !,’ भन्दै म गाडीमा चढेँ ।
रेडक्रस बस्ती हुँदै गाडी अगाडि लाग्यो । पहिले हिँडेर पुग्थ्यौँ कक्रु–कुरुवा हेलिँदै, कहिले बङ्कुलुवा, कहिले अर्ता । कहिले आँप, काँक्रा चोर्न । कहिले सुनसरी, कक्रु–कुरुवामा नुहाउन । कतै–केही भेटिएन भने जिरायत जिन्दावाद छँदै थियो । सिजनअनुसार आँप, काँक्रा, बयर, उखु कति खानु ! खाँदा–खाँदा आँखा रातो हुन्थ्यो । बेलुका आमाको गाली खायो, मस्त निदायो । निदायो भन्दा पनि सँगै पढ्ने, सँगै खेल्ने केटीहरू सम्झियो । तिनका राम्रा नराम्रा पक्षहरूको विश्लेषण ग¥यो । त्यतिले पुगेन भने श्रीदेवी, अमृता सिंहहरू त छँदै थिए । सपनामा बोलाउनेबित्तिकै सर्लक्क आउँथे ।
मेरो बालसखा दिवाकर सापकोटाको कामत, खेती थियो बङ्कुलुवामा । बङ्कुलुवा पुगेपछि म एकपटक फेरि नोस्टाल्जिक भएँ ।
...
किशोरवयमा सुरज सुब्बा, अजय मण्डल, हेमनारायण पोद्दार सन्तोष तिवारी, विष्णु भट्टराई, राजकुमार शाही, सञ्जय लुइटेल, अनुज पराजुली आदि साथीहरू अबेलासम्म सँगै हुन्थ्यौँ । दिनभर बेताल, मोटु–पतलु, आक्साका कमिक्स, साहित्यिक किताब, हिन्दी बाल उपन्यास, फिल्म कलियाँ, मायापुरी, सरिता, मुक्ता, कादम्बिनी पढ्यो । राति जूनको उज्यालोमा नरनारी र त्यस्तै खालका किताबमा रमायो । बेलाबेलामा  नवीन नेपाल, सुशील दाहाल, भोला दाहाल, अनील झा, शैलेन्द्र नेपाल, टीकेन्द्र राणाहरू पनि सँगै हुन्थे ।
दाइ–साथी कनिष्ट भट्ट र गुणानन्द झाहरूसँग जोडिएका प्रसङ्ग बेग्लै छन् ।
भाइ–साथी जीवराज दाहालहरूसँग मिलेर सन्तोषको एउटा कोठामा लाइब्रेरी नै बनाएका थियौँ हामीले । नेपालीमा कामना फिल्मी पत्रिका, अहिलेको साप्ताहिक जस्तो आकारमा भर्खर–भर्खर छापिन थालेको थियो । त्यो पनि कदेखि ज्ञसम्म सबै पढिन्थ्यो । विज्ञापन पनि बाँकी राखिदैनथ्यो ।
छिमेकमै गङ्गाबहादुर कार्की दाइको घर थियो । डुम्राहाबाट आएर पन्तहरूको घरेडी किनेर कार्की दाजुभाइ (गङ्गा–सूर्य)ले नयाँ पक्की घर बनाएका थिए ।
घरपछाडि कबड्डी खेल्न पुग्ने ठाउँ थियो । गङ्गा दाइका छोरीहरू सुभद्रा, सुशीला, टीकाहरू मसँग साँझमा कबडी खेल्ने साथी थिए । टिममा दिदी–साथी रेनुका अर्यालसहित सञ्जीव अर्याल, अजय, दिवाकर, गुणानन्द, भाइ अरुण कार्की, निर्मल कार्की आदि हुन्थे ।
सुशीला त क्लासमेट पनि थिइन् । उनले पहिलोपल्ट टेस्ट हो कि एसएलसी पास गर्न सकिनन् । दोस्रोपल्ट गरिन् । उनी पास भएको थाहा पाएर मैले राम्रा अक्षरमा बधाई तथा शुभकामनाका शब्दहरू एउटा पोस्टकार्डमा लेखेर हुलाकमार्फत् पठाएको थिएँ । उनी मसँग भन्दा पनि दिवाकरसँग अलि क्लोज थिइन् । दिवाकरसँग सुशीला मात्र होइन, धेरै केटीहरू क्लोज हुन्थे । मालती, आरती, मञ्जुला आदि अनेक नाम छन् ।
त्यस्तो ‘प्ले व्वाइ’ जस्तो मेरो साथी दिवाकर आज साइभक्त जोगी भएर बिहे नगरी बसेको छ । सम्झिँदा पनि अचम्म लाग्छ ।
...
यता, मेरो पोस्टकार्ड हात परेपछि सुशीलाले तमास गरिन् ।
खाम खोल्दा पनि नखोली ‘विद्याधरलाई राम्ररी सम्झाउनू, यहाँ मलाई केके लेखेर पठाएको रहेछ, यो उसैलाई दिनू,’ भन्दै सोझै आमालाई लगेर दिइछन् । साँझमा घर आउँदा, आमा रोएर तमास ।
‘छिनमै लहर उठेर आउँछ, छिनमै शान्त हुन्छ ।
छिनमै मुटु दुखेर आउँछ, छिनमै शान्त हुन्छ ।
रुझ्न पनि पाइएन लौ ! मनै भिज्ने गरी,
छिनमै पानी दर्केर आउँछ छिनमै शान्त हुन्छ ।’
यो शायरी मैले अलि जान्ने भएपछि लेखेको । त्यो बेला यस्ता कुरा सोच्न सकिन्थ्यो, न लेख्न आउँथ्यो । केटाकेटी बुद्धि थियो ।
त्यो रात रिस र आवेगमा बित्यो । सपनामा कतिपल्ट बदला लिएँ थाहा छैन । बिहान मन शान्त भइसकेको थियो ।
मान्छे चिन्नू, नचिनाउनू भन्छन् । उनको केटाकेटी व्यवहारलाई त्यसै पचाइदिएँ । ‘भोलि जान्छु, सोझै गङ्गा दाइसँग कुरा गर्छु । सुशीलाले नराम्रो पारिन् भन्छु । लु, यो पोस्टकार्डमा नराम्रो कुरा के लेखेको छ भन भन्छु । तिनलाई नथर्काई त्यसै कहाँ छोड्छु !,’ भन्ने व्यापक योजना बनाएको थिएँ । तर, बिहान ‘हलेदो भनेर जानिसकेपछि किन कोट्याइरहनु,’ भन्ने उखान सम्झेँ । फेरि यही कुरालाई लिएर मैले झगडा चर्काएँ भने हाम्रो कबड्डी टिम प्रतिबन्धित हुने खतरा थियो । कबड्डी खेल्ने चौरसँगै दक्षिणतिर तित्रीको झ्याम्म परेको ठुलो रुख थियो । अजय, सुरज र मैले दिनभर लुकीलुकी रसियन किताब पढ्ने ठाउँ । त्यो पनि खोसिन सक्थ्यो ।
त्यसैले मनमा उठेजति तरङ्ग–तर्कनाहरू सबै अजयलाई भनेँ र आफू ठण्डाराम भएँ ।
एसी गाडीमा बसेर बालवयका यस्तै–यस्तै कुराहरू सोच्दै थिएँ, ड्राइभरले गाडी अर्ता पु¥याएर ठिक्क गङ्गा दाइको आँगन अगाडि बाटोमा रोक्यो ।
...
‘एकदिन यसैगरी गाडीमा बसेका बेला तपाई बाटोभरि खेमराज दाइसँग बोल्नु नै भएन रे हो ?’
‘को खेमराज ?’
‘खेमराज पोखरेल । हाम्रो पूर्व मेयर सा’ब ।’
‘कसले भन्यो तपाईलाई ? खेमराज काका मसँग यसरी गाडीमा बस्नु नै भएको छैन,’ राजनले भने ।
यो प्रकरणमा सत्यता के हो ? म त्यतापट्टि जान्नँ । हाम्रोमा एउटा समस्या छ । अग्रजहरूलाई लागिरहन्छ, अनुजहरूले आफूसँग केही सोधुन्, केही सल्लाह दिन पाइयोस् । आफ्ना अनुभवहरू सुनाउने वातावरण बनोस् । अनुजहरूलाई चाहिँ त्यसको ठिक विपरीत लागिरहेको हुन्छ । अग्रजहरूले कुरा–परिस्थिति बुझेर सल्लाह–सुझाव दिए हुने । भएका कमी–कमजोरी सच्याउने अवसर दिए हुने ।
तर, यस मामलामा म अलि फरक छु । कोही अग्रज होस् चाहे अनुज । आफूले थाहा पाएका राम्रा कुरा सेयर गर्न समय पर्खिरहनु हुँदैन । कसैले सोधोस् चाहे नसोधोस्, कोही बोलोस् चाहे नबोलोस्, सकारात्मक, प्रेरक कुरा, कथा–कहानी, कविता–चुट्किला, प्रश्न जे छ मनमा त्यो तत्काल बाँडिहाल्नुपर्छ । केहीबेरपछि मरिन्छ–बाँचिन्छ, कसलाई के थाहा ?
‘अस्ति, राजन मेहताका १४१ बुँदे घोषणा–पत्रमा कति बुँदा कार्यान्वयन भइसके दाइ ? भनेर शशी कोइराला भाइहरूले सोध्दै थिए !’ मैले प्रसङ्ग बदलेँ ।  
जवाफमा उनले अग्रज कला–साहित्य सर्जकलाई समेटेर प्रज्ञा प्रतिष्ठान गठन तथा पत्रकार सहयोग कोषका लागि केही रकम व्यवस्थापन गरेको बताए ।
यतिबेला आफू विकास–निर्माणका सवालमा नगरबासीको सोच र इनरुवाबाहिर रहेका शुभेच्छुकहरूको भावनाको चेपुवामा परेको उनको भनाइ छ । एकातिर इनरुवामा चौडा सडक भएन भनेर बाहिर बस्नेहरू दबाब दिन्छन्, अर्कोतिर बाटोका लागि घरअगाडिको जग्गा दिन बहुदा नगरवासीहरू तयार छैनन् ।
‘यस्तो परिस्थितिमा हाम्रो आदर्श घोषणा–पत्रको हविगत के हुन्छ ? लु तपाई आफैँ भन्नुस् !’
उनले प्रश्न मैतिर ते¥स्याइदिए ।
...
‘एमालेको बहुमत छ । भैँसी सुन्दरी प्रतियोगिता समयमै गर्ने भनेर केही भैँसीहरूको व्यवस्थापन पनि गरिसकेको थिएँ । त्यस्तो प्रतियोगिता नगर्ने भनेर नगरसभाले ठाडै अस्वीकार गरिदियो । केही फरक र राम्रा कुरा गर्न खोज्यो, पास हुनै दिँदैनन् । कसरी काम गर्ने ?’
उनले भनेका कुरा अलिअलि हो–हो जस्तो पनि लाग्छ । अलि–अलि होइन–होइन जस्तो पनि लाग्छ । खाने मुखलाई जुँगाले छेक्दैन भन्छन् । तर, इनरुवाको राजनीतिक अल्पमत र बहुमतको गोलचक्करमा घोषणा–पत्रका कुन–कुन कुरा भुमरिएर जाने हुन्, अहिले अनुमान गर्न गाह्रो छ । चार वर्ष अझै बाँकी छ ।
एकदिन नगरपालिकाअगाडिको चिया दोकानमा म थिएँ । छेउमा कालुराम गुरुङ पनि थिए । तीन नम्बर वडाका वडाध्यक्ष । सुरुमा चिन्दा उनी मालपोतमा लेखापढी गर्थे । पछिल्लो समय उनैलाई नगरको प्रवक्ता बनाइएको थियो । काम गर्ने वातावरण नभएको भन्दै अहिले प्रवक्ताबाट राजीनामा दिएका छन् ।
प्रसङ्ग उनैले उक्काए । राजन मेहताले चुनाव जितेपछिको पहिलो पत्रकार सम्मेलनमा बाँडेको ५९ बुँदे कार्यतालिकाको कुरा थियो ।
‘कस्तो हावा–हावा कुरा रै’छ भने त्यसमा,’ उनले भने, ‘चार–पाँच वटा बुँदामा चाहिँ मैले स्वार्रर रातो मसीले केरिदिएँ ।’
त्यसमा भएका सबै कुरा मैले नै ड्राफ्ट गरेको हो भन्ने सायद उनलाई थाहा थिएन त्यो बेला ।
‘के थियो हौ त्यस्तो, त्यसमा गर्नै नसकिने कुरा ?,’ विस्मित हुँदै मैलै सोधेँ । उनलाई म पत्रकार हुँ भन्ने कुरा चाहिँ राम्ररी थाहा छ ।
उनले आफूले असम्भव भनी काटेका विभिन्न बुँदाहरूमध्ये पत्रकारितासँग जोडिएको एउटा बुँदा सुनाए ।
२६ औँ बुँदा ।  नगरका पत्रकारहरू सङ्गठित गरी ६ महिनाभित्र रङ्गीन अखबार निकाल्न पत्रकार तथा सरोकारवालाहरूसँग अन्तक्र्रिया गर्ने । कार्ययोजना बनाउने ।
‘छ महिनाभित्र इनरुवाबाट रङ्गीन पत्रिका निकाल्न सकिन्छ ?, उनले प्रश्न आफैँ सिर्जना गरे र जवाफ पनि आफैँले दिए, ‘कुनै हालतमा निकाल्न सकिँदैन ।’
अब के भन्ने यस्ता जन–प्रतिनिधिलाई । कुरै नबुझी प्रतिक्रियावादी भइदिन्छन् । त्यो बुँदामा पत्रिका निकाल्ने होइन, निकाल्ने बारेमा सरोकारवालासँग अन्तक्र्रिया गर्ने प्रसङ्ग उल्लेख छ । पत्रकार र सरोकारवाला भेला गरेर अन्तक्र्रिया गर्छुु भन्नु कुन पहाड उचाल्ने कुरा हो ?
म फिस्स हाँसे मात्र । उनी आफैँ पत्रिका प्रकाशन व्यवसायसँग पनि जोडिएका मान्छेलाई कुनै जवाफ फर्काउनु उचित लागेन ।
राजन मेहताले नगरसभामा मलाई सहयोग भएन भनेको सुन्दा अचानक मैले पुरानो यो घटना सम्झिएँ ।
...
गङ्गा दाइको घरअगाडि एउटा शिव मन्दिर रहेछ । त्यसैको साधारणसभामा नगरप्रमुख निम्त्याइएका रहेछन् ।
धेरैपछि गङ्गा दाइसँग भेट भयो । इनरुवाका छिमेकी गङ्गाराम मण्डल सरसँग भेट भयो । सुरज खड्कासँग पनि भेट भयो । नेत्रे–नेत्रे भन्थ्यौँ हामी । साह्रै मिल्ने साथीमध्येको एक हो ऊ । अरुण भाइसँग भेट भयो । म स्वयम्मा एउटा हिन्दूवादी अभियन्ता त छँदै थिएँ ।
एक प्रकारले निकै भावनात्मक वातावरण थियो त्यहाँ । साँचो अर्थमा अथिति भएर पुगेको । आयोजकले कार्यक्रमको पूर्व सूचना दिएर बोलाइएको थिइनँ म ।
बिचमा मेरो बोल्ने पाली आयो ।
अलिकति धर्मका विषयमा बोलेँ । भनेँ, ‘यो देशमा अदालतले हत्यारा प्रमाणित गरेको, धर्म निरपेक्षतावादी भनिएको बालकृष्ण ढुङ्गेललाई फूलमाला लगाएर जेलबाट निकालिन्छ र हिन्दू धर्म जागरणका लागि आफूलाई आहुति दिन तयार श्रीनिवासलाई घोक्रेठ्याक लगाएर जेलमा कोचारिन्छ । तर पनि हिन्दूहरूमा जागरण आउँदैन । के हुँदैछ यो देशमा ? मनैदेखि आदर गर्न मन लाग्ने हिन्दूवादी नेता किन छैन कोही ?
अलिकति घोषणा–पत्रका विषय बोलेँ । ‘डुम्राहा, भिठ टोलअन्तर्गत पर्ने रामधुनी वन क्षेत्रको संरक्षण गरी, ताल, झोलुङ्गे पुल, मिनी चिडियाखाना, चिल्ड्रेन पार्कसहितको पर्या–पर्यटन एवम् वनभोजस्थलका रूपमा विकास गर्ने । त्यहाँसम्म जान–आउन नगरको मुख्य बजारबाट दुई लेनको सडक निर्माणका लागि केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गर्ने,’ कुरा घोषणा–पत्रमा छ । यदि सबै मिलेर यो काम गर्न सकियो भने डुम्राहाको कायापलट हुनेछ । यो गर्न सकिन्छ । चार वर्षमा यसको परियोजना प्रस्ताव तयार गरी केही काम थाल्न सकियो भने इटहरीले तालतलैयाबाट जति फाइदा लिइरहेको छ, त्यो भन्दा कम हुने छैन यहाँ । तर, यसका लागि डुम्राहाका सबैले खबरदारी गर्नुप¥यो । साथ पनि दिनुप¥यो ।
बाँकी बालककालमा आफूले अर्ताको धूलोमाटोमा लडीबुडी खेलेको कुरा गरेँ ।
‘हैट्, गुरु के थाहा मलाई,’ फर्किने बेलामा राजन मेहताले भने, ‘मैले जानी–नजानी तपाईलाई, तपाईकै घरको आँगनमा पो लिएर गएँछु ।’
०००
bisnuprasad.bg@gmail.com

मिसन खरमयुर
– सुविद गुरागाई

‘नमस्ते ! म राजकुमार । तपाईलाई चराहरूको स्वर्ग कोसीटप्पुमा स्वागत छ ।’
वर्ड–वाचर राजकुमार सिंहसँग पहिलो भेट २४ आरडीको हावा महलनेर भएको थियो । उनी स्थानीय संरक्षण कार्यकर्ता रहेछन् । चराको फोटो खिच्न चाहने सौखिन पर्यटकहरू आएका बेला घुमाउने, चरा चिनाइदिने, अतिथि सत्कारको व्यवस्था मिलाउने गर्दा रहेछन् ।
‘नमस्ते !’ जवाफमा मैले यति मात्र भनेँ ।
मलाई सबै कुरा नौलो लागिरहेको थियो र त्यसरी आफूलगायत सेरोफेरोको वातावरण नौलो हुनुको आनन्द लिइरहेको थिएँ । म को हुँ ? म कहाँको हुँ ? सोधीखोजी गर्नुपर्ने कुनै आवश्यकता अनुभव भइरहेको थिएन ।
‘महोदय, तपाईको परिचय ?’ दाहिने हात अघि बढाउँदै राजकुमारले सोधे ।
मैले हात मिलाएँ मात्र । केही बोलिनँ । वास्तविकतामा म को हुँ, के हुँ आफूलाई नै थाहा नभएपछि म के बोल्नु ?
‘विष्णुप्रसाद ।’ म चुप लागेको देखेर गुलाबीले भने ।
‘इन्ट्रेस्टिङ, आफ्नो नाम पनि अर्काले भनिदिनुपर्ने !’
‘इन्ट्रेस्टिङ त तपाई हुनु हुँदोरहेछ । चराहरूको पनि स्वर्ग हुन्छ र ?’ म बोलेँ ।
उता श्रीलङ्का टप्पु, यता कोसीटप्पु माझमा कोसी नदी, गरैया धार । विशेष–विशेष प्रजातिका चराहरूका लागि चर्चित ठाउँ । गुलाबीसँगको कुराकानी, राजकुमारसँगको पहिलो भेट अनि हिजो माछा इञ्जिनियरले भेटेको किताब बेलुका आगाको उज्यालोमा हल्का र बिहान ५० पाना जति हेरेको भरमा यति जानकारी भइसकेको थियो । तर, यो चराहरूको स्वर्ग भन्ने पदावली चाहिँ मेरा लागि नौलो थियो ।
‘अब चराहरूको स्वर्ग भने पनि चराहरूको राजधानी भने पनि नेपालमा संसारभरिका चराहरूले यो जत्तिको मन पराएको ठाउँ अर्को छैन । जहाँसम्म स्वर्गको कुरा छ, यो ठाउँ सौखिन र व्यावसायिक बर्ड–वाचरहरूका लागि पवित्र तीर्थस्थल हो । हिन्दूहरूको पशुपतिनाथ, मुसलमानहरूको मक्का–मदिना, बौद्धहरूको लुम्बिनी, इसाइहरूको जेरुसलम भनेजस्तो ! विश्वमै दुर्लभ गुलाबी टाउके हाँस र सानो खरमयुर यहाँ सजिलै देख्न पाएर धन्य–धन्य भएका धेरै पर्यटकहरू छन् ।’
राजकुमारको धाराप्रवाह जानकारी गुलाबी र मैले ट्वाल्ल परेर सुनिरह्यौँ ।
‘अस्ति जर्मनबाट आएको फोटो पत्रकारहरूको एउटा टोलीले, मैले तित्रिगाछी तालनेर गुलाबी टाउके हाँस देखाइदिएँ भनेर खुसी हुँदै यो बाइनाकुलर नै उपहार दिएर गए । उनीहरूको कार्ड पनि दिएर गए,’ उपहार पाएको बाइनाकुलर घाँटीमा झुन्ड्याइरहेका राजकुमारले पर्सबाट कार्ड निकाल्दै भने ।
‘यस्तो वाइनाकुलर र तपाईलाई कामलाग्ने एउटा किताब त उहाँ दाइसँग पनि छ,’ मैले गुलाबीतिर देखाउँदै भनेँ ।
‘कुन किताब हो हेरुँ त ।’
गुलाबीले झोलाबाट बाइनाकुलर र किताब निकालेर राजकुमारलाई दिए ।
‘ओहो ! यो त हेल्म फिल्ड गाइड्स पो रहेछ । संसारका चराहरूका बारेमा विशेष जानकारी दिने किताब । कोसी क्याम्पमा बसेका गेस्टहरूले हाम्रो किताब र वायनाकुलर घारीमै छुट्यो भन्दै थिए । फोटो खिच्न खरमयुर खोज्दै खर–घारीतिर गएका थिए रे ! नजिकै अर्ना देखेर सब भागाभाग भएछन् । कहाँ भेट्नुभो तपाईहरूले ?’
‘हिजो हाम्रो केटाले भेटाएर ल्याए’थियो,’ गुलाबीले ठेटी मिसाउँदै भने, ‘माछा इन्जिनियरले एउटा बच्चा तित्रा पनि पक्डेछ । त्यसकै छेउमा भेटेछ यो पनि ।’
‘भन्न त अर्ना देखेर भागेको भने कि विष्णुप्रसाद सर !,’ राजकुमारले रमाइलो पाराले भने, ‘यहाँका सबै भैँसीहरूको सिङ लामै हुन्छ । देखे होलान् कुनै झर्ना चर्दै गरेको । चरा खोज्दै आ’को कुइरेका लागि के अर्ना के झर्ना !’
...
त्यसपछि सुरु भयो मिसन खरमयुर ।
दुर्लभ सानो खरमयुर बारेको खोजी । सङ्कटापन्न चरा । स्थानीय भाषामा बच्चा तित्रा ।
राजकुमारका अनुसार बच्चा तित्रा, खरमयुर, खर मुजूर जे भने पनि यसको अङ्ग्रेजी यसको नाम बेङ्गाल फ्लोरिक्यान हो । प्राणी–शास्त्रमा हर्बरोप्सिस बेङ्गालेन्सिस भनिन्छ । ग्रुइफर्मिस अर्डर ओटिडी परिवारमा  पर्ने  अति दुर्लभ र भुइँमा नै गुड लगाउने यो पन्छीको सङ्ख्या नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा गरी पुग–नपुग हजारको सङ्ख्यामा होला । यसका दुई उपप्रजाति छन् । क्याम्बोडिया र भियतनाममा ब्लान्दिनी उपप्रजाति पाइन्छन् भने भारत र नेपालमा बेङ्गालेन्सिस उपप्रजाति । गेरु–मैला, छिर्केमिर्के, घाँसकै रङसँग मिल्दो–जुल्दो, लामो घाँटी, लामो खुट्टा हुने यो चराको सङ्ख्या नेपालमा ६५ देखि सय वटासम्म रहेको अनुमान गरिएको छ ।
राजकुमारको खरमयुरसम्बन्धी जानकारी गजबको रहेछ । हामीले चाख मानेर सुनेको देखेर उनी धाराप्रवाह बोल्दै गए ।
कोसीटप्पु वन्यजन्तु आरक्ष, कोसी ब्यारेज क्षेत्र, चितवन, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा आरक्षको विशेषगरी सिरुले ढाकिएको घाँसे मैदान र सिमसार यस चराको मुख्य बासस्थान हो । घाँसेमैदान घट्दै जानाले संसारभरिमै  यसको सङ्ख्यामा छिटोछिटो कमी आउँदै छ ।
बच्चा कोरल्ने बेला नेपाली भू–भागमा देखिए पनि केही समयपछि प्रायः हराउने हुँदा खरमयुर नेपालका लागि ग्रीष्म ऋतुमा ढिलोगरी आउने आगन्तुक चरामा गनिन्छ । अति सङ्कटापन्नको सूचीमा समावेश खरमयुरका लागि कोसीटप्पु विश्वमै परिचित ठाउँ हो । बच्चा कोरल्नका लागि कोसीटप्पु खरमयुरको रोजाइको गन्तव्य हो भन्दा फरक पर्दैन ।
...
‘सर्वहारी खरमयुरहरू आहाराका बेला प्रायः स्थिर हुने र विचार पु¥याएर आफ्नो चाल चल्ने गर्छन्,’ राजकुमारले भने, ‘यिनको अर्को विशेषता चाहिँ निकै रमाइलो छ, ।’
‘कस्तो रमाइलो ?’ मैले सोधेँ ।
‘बच्चा कोरल्ने बेलामा खरमयुरका भालेहरू कहिले जमिनमा उफ्रँदै, कहिले हावामा उड्दै विभिन्न खालका आकर्षक नाचहरू देखाउने गर्छन्,’ उनले भने ।
‘प्रकृतिको विचित्र लीला,’ मैले भने, ‘पोथीले दुःख बेहोरिरहेका बेला भालेहरू खुसी हुने कुरा साँच्चिकै रमाइलो रहेछ ।’
‘तपाई त कवि पनि हो कि क्या हो ?,’ राजकुमारले सोधे ।
‘खोइ !,’ म फिस्स हाँसे मात्र । आफ्ना बारेमा केही थाहा नभएको मान्छेले आफू कवि हो कि के हो कसरी भन्नु !
‘खरमयुरलाई कोसीटप्पुमा लामो समयसम्म टिकाउन सक्यौँ र त्यो कुरा संसारभर पु¥याउन सक्यौँ भने,’ राजकुमारले आफ्नो जानकारी बिट मार्दै भने, ‘हाम्रो क्षेत्र पनि चितवनको सौराहाभन्दा कम हुने छैन ।’
‘बाफ रे ! बच्चा तित्राको यति धेरै महत्त्व रहेछ,’ राजकुमारको कुरा सुनेर छक्क परेका गुलाबीले भने, ‘हामीलाई त के थाहा, केटाहरूले मारेर ल्यायो भने पकायो दारुसँग खायो ।’
‘बन्दर क्या जाने अदरखका स्वाद,’ राजकुमारले एउटा चल्तीको हिन्दी उखान भने ।
‘बन्दर–सन्दरको कुरा होइन, हामीलाई थाहा नभएर मात्र हो,’ गुलाबीले प्रतिवाद गर्दै भने, ‘अब हामी पनि दुर्लभ चराहरू मार्दनौँ, केटाहरूलाई पनि नमार्न भन्छौँ । बरु अरू कुन–कुन चराहरू छन्, मार्न नहुने ?’
‘मार्न त कुनै चराहरू पनि मार्न हुँदैन, कानुन लाग्छ,’ राजकुमारले भने ।
‘गाउँले केटाहरूले कानुनले भनेको मान्दैन बरु हामीले भनेको मान्छ,’ गुलाबीले भने, ‘बच्चा तित्राबाहेक अरू जोागउनुपर्ने चराहरू कुन–कुन हुन् ?’
‘गुलाबी टाउके हाँस, रेडिसियल डक (चखेवा), हाँडीफोर गरुड (काकाकुल), डङ्गर गिद्ध ...’
‘गिद्ध र काकाकुल त हामी खाँदैनौँ, घिन लाग्छ,’ राजकुमार बोल्दा–बोल्दै  गुलाबीले भने, ‘जोगाउनुपर्ने चराहरू त हामीलाई चिनाउनुपर्छ नि !’
‘यही त विडम्बना छ,’ राजकुमारले गुलाबीलाई उल्लाउँदै भने, ‘कोसीटप्पुको मधुवन–शुक्रबारे क्षेत्रमा हरेक चरा गणनाका बेला करिब एक दर्जनको सङ्ख्यामा रेकर्ड हुने गर्छन्, तर गाउँलेलाई त्यसको महत्त्व थाहा छैन ।’
...
‘अघि अर्ना कि झर्ना के भन्दै हुनुहुन्थ्यो नि ?’
राजकुमार र गुलाबीको रमाइलो कुराकानी केही बुझे–बुझे जस्तो केही बुझ्न खोजे जस्तो गर्दै मैले सोधेँ ।
‘मुख्य रूपमा कोसीटप्पु बुवलिस बुवालिस प्रजातिको अर्ना (जङ्गली भैँसी) संरक्षण गर्न तोकिएको नेपालको एक मात्र ठाउँ हो । तर, आफ्नै बासस्थानमा विचराहरूको अनुवांशिकी सङ्कटमा परेको छ । वनटप्पुमा चर्न आउने झर्नाहरूका कारण वास्तविक अर्नाको पहिचान हराउँदै गएको छ,’ राजकुमारले भने ।
‘कसरी ?’ मैले सोधेँ । यी सबै कुरा म पहिलोपल्ट सुनिरहेको थिएँ । राजकुमारका कुरा थप रुचिकर हुँदै थिए । म आफू पनि पहिचानको सङ्कट बेहोरिरहेको भएर होला ।
‘वनटप्पु वन्यजन्तु आरक्ष घोषणा हुनुभन्दा अघिदेखि नै रघु बहरखेरका सन्तान र अरू गाउँलेहरूले गाई–भैँसी चराउने चरन क्षेत्र हो । मुख्य वन क्षेत्रबाट गाउँले भैँसीहरू निकाल्न आजसम्म कुनै माइकलालाको तागत पुगेको छैन । सयौँ घरेलु भैँसीसँग दुई–तीन सय अर्ना मिसिएपछि के हबिगत हुन्छ ? तपाई आफैँ सोच्नु न !
कुरैकुरामा मैले बुझेँ, कोसीटप्पुलाई स्थानीय भाषामा वनटप्पु भनिँदो रहेछ । राजकुमारले झर्ना भनेको चाहिँ घरेलु भैँसीहरूलाई दिइएको उपमा रहेछ ।
‘गरैया टप्पुतिर त अर्ना पाडा समातेर तालिम दिने र भारततिर लगेर महँगो दाममा बेच्ने तालिम–केन्द्रहरू पनि छन्,’ गुलाबीले राजकुमारको होमा हो थप्दै भने ।
‘तिमीहरू त्यही चरा मार्दै, रक्सी खाँदै बस । तालिम केन्द्रमा के–के हुन्छ रमिता हेर्दै बस । त्यस्ता तालिम केन्द्रमा दूध–दही जति पनि फ्रिमा खान पाइन्छ भन्ने सुनेको छु, त्यही खाऊ बस ।’
हुन त गुलाबीले राम्रै कुरा भनेका थिए जस्तो लाग्छ । तर, गुलाबीको कुरा सुनेर राजकुमार बिच्किहाले । ‘माछा इन्जिनियर र आफूलाई माछा मार्नेहरूको नेता भन्छौ तर कोसीमा जनकपुर काँटी माछा सिद्धिन लागिसके चिन्ता केही छैन,’ उनले भने ।
‘त्यो त हो, हामी गरिब मान्छेले जति भने पनि सरकारले सुन्दैन त के गर्नु !’ गुलाबी पनि यो कुरामा क्षुब्ध नै रहेछन् ।
‘हैट्, यस्तो आपसमा झगडा हुने कुरा नगरौँ हामी । बरु सरकारले केही गरे पनि नगरे पनि संरक्षणका लागि आफ्नातर्फबाट के गर्न सकिन्छ, गाउँलेहरू मिलेर खोजी गरौँ,’ मैले कुरैकुरामा तातेको वातारण सामान्य बनाउन सहजीकरण गर्दै भनेँ, ‘अरू गाउँलेहरू भेला गरेर भोलि छलफल गर्दा राम्रो हुन्छ । अहिलेलाई जाऔँ, कुरामा धेर अल्झियो भने तपाईलाई नै माछा मार्न ढिलो हुन्छ फेरि ।’
‘ले, हम्रा आरु जाइछियै अखनी, तुँ ई किताब ले । कुइरेके खुबके घुमा, बैठ । (हुन्छ, अब हामी जान्छौँ, तँ यो किताब ली, कुइरेलाई मजाले घुमाउँदै बस्,’ यति भनेर गुलाबी तित्रीगाछी तालतिर लागे । किताब राजकुमारलाई दिँदै, वायनाकुलर घाँटीमा भिर्दै म पनि गुलाबीको पछि–पछि लागेँ ।
राजकुमार भन्दै थिए, ‘ताल जाने बाटोमा अलि होस् गरेर जानुहोला है । शोभाकलीको माया सम्झेर आसामबाट आएका मत्ताहरू त्यतैतिर देखिएका थिए हिजो ।’
०००
bisnuprasad.bg@gmail.com


थाँती रहेको अन्तरङ्ग
– सुविद गुरागाई

एक साँझ म लक्ष्मी खतिवडासँग छु ।
उनकै घरमाथि एकान्तमा उनी र म मात्रै छौँ । २०४४ सालदेखिका साथी ।
एकातिर उनी छिन् । एकातिर म छु । बिचमा रेकर्डर छ ।
उनीसँग भेट नभएको, यसरी छेउमै नबसेको लामो समय भइसकेको थियो ।
आज संयोग जुरेको छ ।
माया लाग्छ मलाई लक्ष्मीको । उनका धेरै कुराहरू मन पर्छन् । केही कुराहरूमा आलोचनात्मक समर्थन छ । केही कुराहरू पटक्कै मन पर्दैनन् ।
मसँग अनन्त जिज्ञासाहरू छन् ।
सुरुमा कवि हुन मन बनाएकी केटी आज त्यो भावनाबाट कासौँ टाढा पुगिसकेको देख्छु ।
‘तिमी त हिजोआज राजनीति गर्छु भन्दै हिँडिरहेको सुन्छु ।  कस्तो खालको राजनीति गर्दैछौ तिमी ?’
सुरुमा मैले यस्तै सोधेँ ।
जवाफमा सुरुमा उनी मतिर हेर मुसुक्क हाँसिन् । सायद यत्रो दिन म उनका बारेमा अपडेट नभएको व्यङ्ग्य थियो त्यो ।
‘पहिलो कुरा म राजनीति गरिरहेकी छु भन्ने कुरा नै मान्न तयार छैन,’ उनले भनिन्, ‘मैले गरेको चिज आजसम्म राजनीति भइसकेको छैन ।’
त्यसपछि सुरु भयो उनीसँग अन्तरङ्ग कुराको सिलसिला । उनी भन्दै गइन् । म सुन्दै गएँ ।
राजनीति नै गरेको कुरा गर्ने हो भने विपीले गर्नुभयो राजनीति । किसुनजीले गर्नुभयो । गणेशमानजीले गर्नुभयो । अलिअलि गिरिजाबाबुले गर्नुभयो होला । बाँकी बचेखुचेको सुशील दाइले गर्नुभयो होला । आजको पार्टी नेतृत्व त राजनीति गर्दै छैन । म एउटा बबुरो, एउटा भातृसंस्थाको कार्यकर्ता नाथेले राजनीति गर्छु भन्नु मेरो आफ्नो भाषामा भन्दा समसामयिक हो, उपयुक्त हो जस्तो मलाई लाग्दैन ।
...
देश लामो सङ्क्रमणकालबाट गुज्रिरहेको छ ।
यो सङ्क्रमणकालमा तपाई देशप्रति, आफ्नो समुदायप्रति, आफ्नो समाजप्रति तपाई जिम्मेबार नहुने, म नहुने, अर्को नहुने हुँदै गर्दा सिङ्गो जमाज, सिङ्गो राष्ट्र गैरजिम्मेबारीको बाटोमा उन्मुख भएको मेरो अनुभूति छ । र, मैले सबै थोकले म थेग्न सक्छु, मैले गर्न सक्छु भन्ने मेरो धारणा रहेन । म जत्तिको चेतना भाको, लड्न–भिड्न सक्ने क्षमता भाको मान्छे पनि चुप लागेर बस्यो भने अथवा पलायन भयो भने अथवा अवसरको मात्र खोजीमा गयो भने देशको अवस्थाको बारेमा राति बिछ्यौनमा निदाउनु अगाडिको स्वैर–कल्पनामा चाहिँ देशलाई उन्नत बनाउँछु, देशलाई एउटा दिशा दिन्छु, देशलाई विकासको अग्रगमनमा लैजान्छु अथवा देशलाई सम्पन्नताको यात्रामा लिएर जान्छु भन्ने कुरा गर्नेबाहेक अरू विकल्प मसँग बाँकी रहँदैन ।
तसर्थ पनि म जे गर्दैछु, जहाँबाट गर्दैछु, जसरी गर्दैछु, केही न केही गर्दैछु । त्यो केही न केही गर्दैछु भनेको चाहिँ मेरो समाजप्रति, मेरो राष्ट्रप्रति, मेरो समुदायप्रति, मेरो देशप्रति कहीँ न कहीँ जिम्मेबारीका कारण मैले काम गरिरहेको हो । आफूले सके जति र आफ्नो ठाउँबाट इमानदार प्रयत्नहरू गरौँ सुधारका निमित्त भन्ने कुरामा म लागेकी छु ।
...
समाज पनि दोहोरो चरित्रको छ ।
समाज घुस नखाऊ भन्छ तर चिरञ्जीवी वाग्लेलाई बहिस्कार गर्दैन । एकातिर लक्ष्मी खतिवडाले कमाइन भनेर दबाब दिन्छ । अर्कोतिर घुस नखाऊ भन्छ । कमाउनु त प¥यो तर के गरेर कमाउने त ? उद्योग छैन, व्यापार छैन, व्यवसाय छैन । घुस नखाए के गरेर कमाउने ? म त कम्तीमा एडभोकेट हुँ, लयर हुँ, अलिकति पढेकी छु, केही गरेर दालरोटीको जोहो गरौँला । राजनीति गर्ने एउटा सामान्य मान्छेले कमाउने के गरेर ? घुसै खानुप¥यो । घुस नखाऊ भन्छ । इमानदारिता अपेक्षा गर्छ । तर, सँगसँगै सामाजिक, पारिवारिक प्रेसर जसरी भए पनि कमाऊ भन्नेमा रहन्छ । समाजै दोहोरो मापदण्डमा छ । समाजले कि चिरञ्जीवी वाग्लेहरूलाई बहिस्कार गर्नसक्नुप¥यो, नीति–नियम, कानुन, आदर्श मान्ने हो भने । होइन भने यो ढोँगी समाजबाट तपाई अपेक्षा के गर्नुहुन्छ ? म त केही पनि अपेक्षा गर्दिनँ ।
...
आज म फ्रयाङ्कली एउटा कुरा भन्छु । तपाई कति कोट गर्नु होला, कति नगर्नु होला ।
मैले फ्रयाङ्कली कुरा गरिरहेकी छु । यो देशको एउटा विचित्र कुरा भनुँ । हाम्रा नेताले, हाम्रा मान्छेले, हाम्रो देशले ऋषि धमलालाई पत्रकार बनाउँछ क्या । सुविद गुरागाईहरू कहाँ हुन्छन्, अत्तोपत्तो छैन । कहाँ छन् यार ? कसले चिन्छ सुविद गुरागाईहरूलाई ? कसले सुन्छ सुविद गुरागाईहरूलाई ?
तपाईलाई एउटा पिस भन्दिऊँ । किशोर नेपाल चिन्नुभा छ नि ! वरिष्ठ पत्रकार । किशोर नेपालले एउटा टिभी कार्यक्रम चलाउँथे । गाउँ–गाउँ जान्थे, मान्छेहरू भेला पारेर इन्टरभ्यु लिन्थे ।
त्यो कार्यक्रम चलाउने सिलसिलामा उनी गरा’न्, बर्दिया । सुन्नुस् कुरा । बर्दियामा त्यो कार्यक्रम–सार्यक्रम सकियो । सकिएपछि एउटाले आएर सोधेछ । उसले चिनेको पत्रकार, टिभीमा चर्को आवाजमा जम्मैसँग बोल्ने भनेको त ऋषि धमला हो ।
सुरुमा किशोर नेपाललाई लक्षित गरेर त्यो सामान्य किसानले गाउँकै मान्छेलाई सोधेछन्, ‘को हुन् यी ?’
यी पत्रकार हुन्, काठमाडौँबाट आएका, ठुलो पत्रकार हुन् भनेर अर्कोले भनिदिएको रहेछ ।
त्यसपछि ती किसान किशोर नेपालको छेउमा गएछन् र सोधेछन्, ‘तपाई कहाँबाट आउनु’भा रे ?’
‘म काठमाडौँबाट आएको,’ नेपालले भनेछन् ।
‘अनि तपाई ऋषि धमलालाई पनि चिन्नुहुन्छ ?’ भनेर त्यो मान्छेले सोधेछन् ।
सामान्य अवस्था भएको भए त्यो फटिचर, त्यो बेकार भन्थे होलान्, तर इन्भारोमेन्ट त्यस्तो थियो कि नेपालले त्यसो भनेनन् ।
‘भाइ हुन्, चिन्छु, राम्रो छ,’ आदि–इत्यादि भनेछन् ।
तर, चार पाइला अगाडि के हिँडेका थिए, ‘कस्तो हावा कुरा गर्ने मान्छे रै’छ । कहिले टिभीमा देखिँदैन । ऋषि धमलालाई चिन्छु भन्छ यार । चिन्छ जस्तै लागेन,’ भनेर ती किसानले भनेको किशोर नेपालको कानमा परेछ ।
...
मैले तपाईलाई जोड्न चाहेको के हो भने समग्र राज्यको पुनःसंरचना, राज्यको संरचना, राज्यको रूपान्तरभित्र सिन्डिकेट छ ।
दलितबाट कसलाई नेता बनाउने त्यो सिन्डिकेट छ ।
महिलाबाट कसलाई बनाउने त्यो सिन्डिकेट छ ।
कुन एनजिओलाई फन्डिङ गर्ने सिन्डिकेट छ । कुन एनजिओको मालिक–मालिक्निलाई स्कार्पियो चढाउने सिन्डिकेट छ ।
को मजदुरलाई नेता बनाउने, को थर्ड जेन्डरको मान्छेलाई नेता बनाउने त्यो पनि सिन्डिकेट छ ।
लेट मी क्लियर अल दि थिङस् ।
र, अर्को कुरा तपाईलाई जोडे मैले ।
योभन्दा नि ठुलो ब्युरोक्रेसीको सिन्डिकेट छ ।
पलिटिसियन त्यति करप्ट छैनन् । मैले आफूलाई जोगाउन खोजिनँ । तपाईलाई क्लियर गरेँ मैले । ब्यरोक्रेसी भनेको त स्थायी सरकार हो नि । तपाई–हामीलाई थाहा छ, ब्युरोक्रेसीले इमानदारीसाथ चाहने हो भने केही न केही परिवर्तन सम्भव छ ।
ल, पलिटिसियन त छ–छ महिनामा चेन्ज होला रे, नौ महिनामा मन्त्री चेन्ज होला रे ! तर पोलिसी लेभलका कुराहरू सबै मन्त्रीले मात्रै गर्ने होइन नि । त्यसलाई ड्राइभ गर्ने भनेको कहीँ न कहीँ ब्युरोक्रेसीले हो । भनेपछि ब्यरोक्रेसी जिम्मेबार छैन । ब्यरोक्रेसी शुद्ध छैन । त्यो पनि एउटा प्रमुख कारण हो, देश रूपान्तरणको मार्गमा जान पाइरहेको छैन ।
...
तपाईलाई मैले ठ्याक्कै यहाँ जोड्न चाहेँ ।
माओवादी अन्तद्र्वन्द्वमा देश फसेको कारण सत्र हजार नागरिकले यो वा त्यो बहानामा ज्यान गुमाए । म मान्दिनँ, प्रचण्डले, बाबुरामले अथवा मोहन वैद्यले, अथवा बादलले अथवा अर्को कल्ले कुर्सी मात्रै पाउनलाई सत्र हजार मान्छे मारे भन्ने कुरा म मान्दिनँ । म काङ्ग्रेस हुँ । तर, म मान्दिनँ ।
कुनै न कुनै परिवर्तनको खाका त थियो होला नि उनीहरूको दिमागमा । आमूल परिवर्तनका लागि लडेको भनेर हिँड्थे । त्यो सशस्त्र क्रान्ति, त्यो सङ्घर्ष गएर कहाँ टुङ्गियो ? १२ बुँदेमा गएर । १२ बुँदे कहाँ पुग्यो ? १२ बुँदे त टायँ–टायँ फिस भो ।
ठुलोभन्दा ठुलो परिवर्तनको अभीष्ट राखेर भएका जति पनि युद्ध छन्, जति पनि आन्दोलन छन्, ती समग्र परिवर्तनलाई व्यवस्थित नगरिकन, समग्र परिवर्तनलाई लक्ष्य बिन्दूमा नपु¥याएकन तुहिएका अनेक उदाहरण छन्, नेपालमा । हाम्रो देशमा ।
अब हामीलाई चाहिएको परिवर्तन के हो त भन्दा फेरि हिजो प्रचण्ड, बाबुरामले असल नियतले सत्र हजार मान्छे मारेका थिए परिवर्तनका लागि तर उनीहरू एउटा गन्तव्यमा पुगेनन्, त्यो तुहियो, त्यसो हुँदा अब हामी फेरि बन्दुक बोकेर जाऊँ भन्ने मेरो कुरो होइन ।
अबको परिवर्तन नेपाललाई साँच्चिकै समुन्नतिको मार्गमा लैजाने, अत्यन्तै घरेलु स्वरोजगार उन्मुख क्षेत्रमा युवालाई जोड्ने र वैचारिक रूपमा सशक्त, दुई छाकको ठाउँमा एक छाक खान्छु तर राष्ट्रका लागि केही गर्छु भन्ने भावनासहितको जेनेरेसन पैदा गर्न सक्यौँ र त्यो दिशाको आन्दोलन हामीले लिएर जान सक्यौँ भने नेपाल जोगिन्छ । अन्यथा म त देशकै भविष्य अन्धकार देख्दै छु ।
...
थोरै राजनीतिसँग जोडिएको एउटा जल्दोबल्दो विषय आरक्षणको कुरा गरौँ । आरक्षणको प्रक्रियामा देश गएको धेरै समय भएको छैन । आरक्षणको कन्सेप्ट कहीँबाट निर्देशित हो भन्ने कुरामा सन्देह छैन । तर, आरक्षण र समावेशिता भनेको आफैँमा नराम्रो कुरा होइन ।
प्रश्न हाम्रो नियतमा छ ।
ंहामी त्यसको अभ्यास जसरी गरिरहेका छौँ, समस्या त्यसमा छ । भाइसन बर्देवा, मानबहादुर दियालीहरूको छोरो अथवा छोरीले आरक्षण पाउने तर नुन बोक्ने भारिया कोही देवकोटाको छोराछोरीले आरक्षण नपाउने ? राज्यले नियमन गर्न नसकेको यही कुरामा छ ।
तपाईलाई म एउटा फोटो देखाउँछु । कर्णालीको चार वटा जिल्ला गएर आएँ म । त्यहाँका क्षेत्री–ब्राम्हणको हालत भनेको हाम्रोतिरका दलित भनिएकाहरूको हालत त्यति खराब कहिले पनि देखेको छैन मैले ।
फेरि, अर्को कुरो पनि म यहाँ जोड्छु है । जातीय विभेदको कुरा छ । छुवाछुतको कुरा छ । महोत्तरीमा एउटा घटना भएको थियो । म लयर पनि हुँ । अलिकति प्रयाक्टिसमा पनि भएको हुँदा ।
एउटा बाहुनको छोरो दलित भनिएको कोही व्यक्तिले लग्यो । बाहुन चुप लागेर बस्यो । दलित भनिएकोले त्यो बाहुनको छोरो घरबाट निकालिदियो । दलित भनिएको व्यक्ति अकुत सम्पत्तिको मालिक थियो, धनाढ्य थियो । बाहुन गरिब थियो । जातीय कुरो मात्रै पनि छैन क्या विभेदमा, पहिला त पहुँचकै कुरा छ नि । बुझ्नुभएन के ! त्यसले गर्दा म चाहिँ एज–ए–होल आरक्षणको विरोध गर्दिनँ । आरक्षणलाई व्यवस्थित गर्नलाई जुन संयन्त्र बन्नुपथ्र्यो अथवा आरक्षणलाई लक्षित समुदाय, वर्गकै घरमा पु¥याउने जुन वातावरण बन्नुपथ्र्यो, ती खालका संरचनाहरू विकसित नगरिकन कोरा परिकल्पनामा आरक्षण दिँदा केही समस्याहरू दे्खिएका छन् । तिनको नियमन हुनु जरुरी छ ।
...
तपाई–हामी हिजोका दिनमा फर्केर हेरौँ । हिजो–अस्तिसम्म हामी कि खोलामा कि कुनै पानीको खाल्डो छेउछाउ गएर, त्यो पनि भएन भने लोटामा पानी बोकेर घारीतिर वा गन्हाउने साधारण चर्पीमा गएर दिशा–पिसाब गथ्यौँ । आज सामान्य आर्थिकस्तरको मान्छेको पनि सोच र व्यवहारमा धेरै परिवर्तन आएको छ । यो परिवर्तनका लागि कतै न कतै हाम्रो पनि हात छ । त्यसैले नेपाली काङ्ग्रेसले लिएका खुला नीतिहरूले देश बिगा¥यो भन्ने कुरा म मान्न तयार छैन ।
वैदेशिक रोजगारीका हजार नराम्रा पाटा होलान् । तर, यो अवधिमा हाम्रा धेरै युवाले विदेश देखे । त्यहाँका मान्छेले काम गरेको देखे । देश बनाएको देखे । त्यो अनुभव पक्कै पनि हाम्रो समाज रूपान्तरणका लागि काम लाग्नेछ । लागिरहेकै छ ।
इभेन माओवादी जनयुद्धकै हजार वटा नराम्रा पाटा होलान् तर जनयुद्धले दिएको चेतनालाई त हामीले नजर–अन्दाज गर्न मिल्दैन नि । त्यसैगरी वैदेशिक रोजगारीले पनि युवाहरूमा केही न केही चेतना दिएको छ ।
निम्न मध्यम वर्गीय र उच्च मध्यम वर्गीय परिवारका छोरीले केही काम गर्लान्, छोराले ढलेको लोटा उठाउँदैनन्, तपाईलाई थाहा छ । यहाँ निहुरेर, लोटा उठाएर चुठ्न तयार नभएको केटो, एउटा नागरिक, हाम्रो देशको एउटा युवा, तरुण, यहाँ हुँदा आमाले कट्टु धोइदिनुपर्छ उसको, त्यो मान्छे गएर विदेशीको गुहु सोहोर्छ ।
काम गर्ने भावना त विकसित भयो नि ! पैसा आउँछ भनेपछि काम गर्ने । यहाँ घरको ट्वाइलेट सफा नगर्ने । हो कि होइन भन्नु न ?
०००
bisnuprasad.bg@gmail.com