दुखेको घाउ कोट्याउँदै विजय

– सुविद गुरागाई
‘म हिँडेको बाटो पच्छ्याउँदै आऊ...
त्यहाँ फूल पनि हुन्छ, काँडा पनि हुन्छ ।’
सहरको व्यस्त जीवनशैलीबाट असोज अन्तिम साता बिहानको केही समय चोरेर इटहरीको तालतलैयामा भेला भएका साहित्य, सङ्गीत र कलाप्रेमी दुई दर्जन मनहरूबाट एकै पटक निस्कियो, ‘वाह ! विजय दाइ वाह ! क्या बात !’
नजिकै आगन्तुक टर्की र अरू रैथाने जुरेलीहरूको कलरवले मस्त वातावरणमा सङ्गीत साधना प्रतिष्ठान इटहरीले वरिष्ठ गीतकार विजय श्रेष्ठसँग विशिष्ट जमघटको चाँजोपाँजो मिलाएको थियो । अनौपचारिक सो जमघटमा विजयले एकपछि अर्को कालजयी गीत सुनाउँदै गए, ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने । न म त्यो देव हुँ, सधैं बाँचिरहने ... गुराँसको फूल सिउरी, बेतको टोकरी बोकी, एक सुइँरो दुई पात टिप्न, साइली बरी चियाबारीमा ।’
एक दिन कोसीपारी तरेका बेला विजय दाइ त्यतै हराएछन् । साँझ प¥यो । वारि तार्ने नाउ लिएर माझी पनि घर गइसकेको रहेछ । त्यसपछि नजिकैको गाउँ खोज्दै जति पटक पश्चिम गए पनि घुमिफिरी अघिकै ठाउँमा आएछन् । रातभरि त्यतो बेहोसी पारा भइरह्यो । यसरी बीचबीचमा उनले उनी कसरी गीतकार बने, गीत–सङ्गीतमा लाग्दा कति दुःख पाए, के आज उनी सन्तुष्ट छन्, कस्का लागि निरन्तर शब्दमा दुख्छन् र कोट्याइरहन्छन् देश दुखेको कुरा ? आदि–इत्यादि जिज्ञासाहरूको जवाफ दिँदै पनि गए ।
‘अघिसम्म चर्को घामले म सियाँल खोज्दै थिएँ... अहिले साँझ प¥यो थाहै नपाई...
दिन बित्दैछ मायालु...!’
आफू बेहोस जस्तो बनेर कस्ता–कस्ता राष्ट्रवादीहरूका मथिङ्गलमा सुतिरहेको होस जगाइदिने शब्द लेख्ने विजयले थप सुनाए, ‘आलै छ घाउ अठारको नालापानीमा, मनपरि हैन गाँठे हाम्रो पानीमा । माछी मार्न जाऊँ न दाजै कालापानीमा... छेकी वरी दुवाली महाकालीमा ।’
अहिले भइरहेको जातजातिको लुछाचुँडी र राज्य भागबन्डाको विषयले भित्रैदेखि उनी दुखेको धेरै भयो । बुझ्ने–सुन्ने मान्छे कम भए पनि, नबुझेकालाई कुरा बुझाउनु उनी आफ्नो कर्तव्य मान्छन् । वरपर, छेउछाउ जस्तो नेपाली शब्द हुँदा–हँुदै आसपास लेखेर–भनेर नेपाली सञ्चार माध्यमले राष्ट्र भाषाको हुर्मत लिएको उनलाई पिटिक्कै चित्त बुझेको छैन ।
त्यही चित्त दुखाइ कम गर्न उनले सुनाए, ‘ऊ पनि मान्छे हो, म पनि मान्छे हो, ऊ पनि नेपाली हो, म पनि नेपाली हो, एकता नै बल हो, हाम्रा बडा पृथ्वी बाले भनेका !’ यसमा पनि रौंको छाला खोज्नेहरूले टिप्पणी गर्ने ठाउँ देखिहालेछन् र भनेछन्, ‘पृथ्वीनारायण शाहलाई किन बा भनेको ? तपाई पृथ्वीनारायणको छोरा हो ?’ यस्तो बेलामा अब के भन्नु ? अक्क न बक्क हुन्छन् उनी, ‘यस्ता टिप्पणीकारलाई के भन्नु मैले ?’ प्रतिप्रश्न गर्दै विजयले नागरिकसँग भने, ‘त्यस्ताहरूको बुझ्ने क्षमता देखेर मनमनै हाँस्छु । अरू भन्नु बेकार छ ।’
एकपटक उनको ‘बुहारी झार झैं लजालु, पीपल झैं छायालु’ गीतलाई उत्कृट राष्ट्र गीत भनी भेटमा एक जना प्राध्यापकले टिप्पणी गरेछन् । अलिअलि ‘सनकी’ स्वभाव भएका विजयले तत्काल प्रतिटिप्पणी गरेछन्, ‘तपाईले भनेर मात्र के गर्नु, देशले चिनेको होइन ।’
‘त्यसो भा तिमी फुटपाथमा आऊ...!’ ती प्राध्यापकले सुझाएछन् ।
हाजिर–जवाफ विजयले भनेछन्, ‘जसको पहिले सय बिघा जमिन थियो, त्यो मान्छे गीत–सङ्गीत भन्दाभन्दै पाँच बिघामा झरिसक्यो भने, अझ कति फुटपाथमा आउनु ।’ उनले लेखिरहेका गीत बुझ्ने मान्छे आज कम भएकोबारे उनको भनाइ छ, ‘आज जतिले बुझ्न खोजिरहेका छन्, त्यो मेरा लागि पर्याप्त छ । साँच्चै भन्ने हो भने मैले यी गीतहरू आजका लागि लेखेकै होइन । दुई सय वर्षपछिको नेपाली पुस्ताका लागि लेखेको हुँ । तर, त्यति दिनसम्म नेपाल नै रहला कि नरहला भन्ने पो पीर भो !’
त्यही बुहारी झारमा धिमाल्नीका बारेमा लेखेको ‘मायालु पहाडबाट झरेकी मेचीकी मेरी धिमाल्नी... बेर्छे एउटै अर्धाङ्ग छोपी, छातीदेखि माथि घुँडादेखि मुनि,’ शब्दलाई रेडियो नेपालका तत्कालीन कर्मचारीहरूले अश्लीलताको आरोप लगाएको सम्झेर आज पनि क्षुब्ध हुन्छन् उनी ।
‘यसबाहेक मायाका गीत लेख्नु–गाउनु भएन ?’ सुन्नेहरूबाट जिज्ञासा आयो । ‘लेखें नि किन नलेख्नु,’ भन्दै विजयले सार्वजनिक गर्न नमिल्ने मायालुलाई समर्पित एउटा गीत सुनाए, ‘जाँदै छु टाढा, तिमीदेखि टाढा... टाढा जहाँसम्म बिर्सन सकुँ, टाढा जहाँसम्म घृणा गर्न सकुँ...!’