आइ लभ गोबर ! खासगरी गाईको
– सुविद गुरागाई

नियमित आकस्मिकताको घनचक्करमा रुमलिँदै हिँडिरहेका बेला अचानक एउटा खास मोडमा द्वारिकलाल दाइसँग भेट भयो ।
यो कुनै संयोगवश जुरेको भेट थिएन । पूरै नियोजित थियो । भेट हुनु एकदिन अघि नै नागरिक समाजले उहाँहरूलाई सम्मान गर्न तरहरामा आयोजना गरेको कार्यक्रममा उहाँले यसको जनाउ दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘मलाई इटहरीका एक जना पत्रकार मित्रले खुला–पत्र लेख्नुभएछ । मैले उहाँलाई भोलि चिया खान घर बोलाएको छु ।’
मैले पनि फेसबुकमा पोस्ट गरेको थिएँ ।
अर्थात् हाम्रो भेट पूरै योजनाबद्ध थियो ।
यसकारण उहाँको लिभिङ रुममा म र नवीनजी पुगेका थियौँ ।
उहाँले आफ्नो सम्पूर्ण समय आफू सिम्पल लिभिङ हाइ थिङ्किङ वाला मानिस भएको प्रमाणित गर्न खोज्नुभयो ।
भन्नुभयो, ‘सरी है सुविदजी ! मैले तपाईलाई टायल–गलैँचा ओछ्याएको कोठामा स्वागत गर्न सकिनँ । यहीँ काठको गोठजस्तो घरमा बोलाएँ ।’
त्यसपछि इलेक्ट्रिक केतलीमा उम्लिरहेको पानी ग्रीन लिफ राखिएको सिसावाला जारमा हाल्दै भन्नुभयो –
‘यी हेर्नुहोस्, म चिया पनि तपाईलाई आफैँ बनाएर खुवाउँछु ।’
‘मेरो कोठामा आउँदा तपाईलाई गोबर गन्हायो होला ! के गर्नु श्रीमती तल भकारो सोहोर्दै छिन्,’ उहाँले थप्नुभयो, ‘आमा पनि कता खेततिर काम गर्न जानुभा छ । चिया बनाएर दिने मान्छे पनि कोही छैन ।’
‘साँच्ची कति वर्ष पुग्नुभो सुविदजी तपाई ?’ एकाएक दाइले प्रसङ्ग बदल्नु भयो ।
‘पचास वर्ष भएँ दाइ ।’
‘पचास वर्ष ?’
‘हो त, चौबीस सालको मान्छे हुँ म ।’
‘ए हो र ! कुन महिना ?’
‘कात्तिक ।’
‘म पनि चौबीस सालकै हुँ । तर, म चाहिँ मङ्सिरको परेँ । तपाई मभन्दा एक महिना जेठो पर्नुभयो ।’
‘तर सरी दाइ !’ मैले जम्लाहात गर्दै भनेँ, ‘म बाँचुञ्जेल तपाईलाई दाइ नै भन्छु ।’
त्यसपछि तपाई सजिलै अनुमान गर्नसक्नुहुन्छ, दाजु–भाइका बिचमा के कुरा भए । के अपेक्षित थियो ?
०००
खासमा उहाँलाई मलाई भेटेर दुई वटा कुरामा प्रष्ट हुन मन रहेछ ।
‘त्यो तपाईले इटहरी वडा नम्बर एकमा एमाले हार्नुको कारण लेख्नुभएको थियो नि !’
‘माफ पाउँ दाइ,’ मैले बिचैमा कुरा काटेँ, ‘मैले एमाले हार्नुको कारणबारे कुनै पोस्ट लेखेको छुइनँ । मैले काङ्ग्रेसले जित्नुका कारणहरू लेखेको थिएँ ।’
‘उही त हो नि कुरो । म बुझ्छु त्यति त !’
‘हजुर दाइ ।’
‘त्यो तपाईले एक नम्बर वडामा एमाले चुनाव हार्नुको कारण म हो भनेर लेख्नुभो नि ! तर वास्तविकता त्यो होइन । बरु मेरो कारणले अढाइ सय जति भोट बढी आए । त्यहाँ हार्नुको कारण अर्कै छ । वडाका केही साथीहरूका कारण हामी हारेका हौँ ।’
‘ए, यस्तो आन्तरिक कुरो त मलाई के थाहा !’
‘त्यही भएर लेख्नेले पूरै कुरा बुझेर लेख्नुप¥यो । विश्लेषण सही हुनुप¥यो ।’
त्यसपछि उहाँले मेरो पोस्टमा चित्त नबुझेर महेश्वर कार्कीजीलाई ‘सतही विश्लेषण’ भन्ने टिप्पणी लेख्न लगाएको सुनाउनुभयो ।
‘यो त ठिकै छ कि दाइ ! तर, चुनावको सेरोफेरोमा मेरो मनलाई एउटा कुराले कुटुकुटु खाइरहेको थियो ।’ मैले भनेँ ।
‘के कुरा ?’
‘थारुहरूको जातीय सङ्गठनले यसपटक चुनावमा थारू उम्मेदवारलाई मात्र भोट हाल्न आन्तरिक उर्दी जारी गरेको थियो रे भन्ने सुनेँ । तर, यस्तो भन्नुहुँदैन कसैले । न थारुले, न बाहुनले, न लिम्बूले, न अरू कसैले !’
‘यसमा मेरो कुनै संलग्नता छैन । म त जातीय राजनीतिको पक्षधर होइन । राजनीतिको आधार वर्गीय हुनुपर्छ भन्ने मान्छे हुँ ।’  दाइले भन्नुभयो ।
त्यसपछि जनताको बहुदलीय जनवादका कुरा भए । उहाँ कस्तो खालको कम्युनिस्ट हो भन्ने कुरा भए । जब सिद्धान्तहरूको कुरा आयो, मैले एकाएक मेरा साथी डम्बर खतिवडा सम्झेँ । सायद द्वारिक दाइलाई थाहा छैन होला, डम्बरजीको नाम अकिञ्चन खतिवडा पनि हो । डम्बरजी एउटा राम्रो कथाकार पनि हो । उहाँले लेखेको ‘सन्ध्या गुप्ताको आत्मकथा’ शीर्षकको कथा सायद द्वारिक दाइले पढ्न पाउनु भएको छैन । पञ्चायतविरुद्ध मानपुर, सिङ्गियातिर लुकीलुकी रसियन किताबहरू पढ्दै गर्दा, सञ्जय थापाका किताबहरू पढ्न साथीहरूलाई प्रेरित गर्दै गर्दा, कवि गोकुल जोशीको स्मृतिमा आयोजित कविता गोष्ठीमा हामीलाई इनरुवातिरबाट बोलाउँदै गर्दा, रातभरि सर्टभित्र लुकाएर नेकपा मालेका दस्तावेजहरू ओसारपसार गर्दैगर्दा डम्बरजीको नाम कमरेड ‘बसन्त’ थियो । मलाई लाग्छ, द्वारिक दाइको डम्बरजीसँग २०४६ सालपछि मात्र भेट भएको हो । जतिखेर डम्बरजी इनरुवामा एमाले पार्टी कार्यालयमा कार्यालय सचिव भएर बस्न थाल्नुभयो । पार्टी कार्यालयभित्रै एउटा स्तरीय पुस्तकालय सिर्जना गरेर हामी कम्युनिस्ट इतर सिद्धान्त मान्ने केटाहरूलाई पनि आकर्षित गर्न रचनात्मक कामहरू गरेर देखाउन थाल्नुभयो ।
तर, यी सब कुरा मैले द्वारिक दाइसँग गरिनँ ।
‘सिद्धान्तको कुरा गर्दा डम्बरजीको प्रतिभा एमालेभित्र अटाउन नसकेको सम्झिन्छु कहिलेकाहीँ !’ मैले यति मात्र भनेँ ।
‘डम्बरजीको कुरा अर्कै छ,’ दाइले भन्नुभयो, ‘उहाँ आफ्नै कारणले पार्टीमा अटाउनुभएन । त्यो बेला उहाँले अलिकति बढी नै महत्त्वकाङ्क्षा राख्नुभयो ।’
‘अनि तपाई चाहिँ सांसदको चुनाव नलड्ने कहिले ?’ म सोध्थेँ ।
‘के गर्नु जब टिकट दिने कुरा हुन्छ, मलाई हार्ने ठाउँमा मात्र टिकट दिन खोज्छन्, बरु त्योभन्दा राम्रो लड्दिनँ भन्यो, मन सम्झायो बस्यो ।’ डम्बरजीको जवाफ हुन्थ्यो ।
तर यी सब कुरा पनि मैले द्वारिक दाइसँग गरिनँ । किनकि मलाई डम्बरजीका बारेमा त्यति कुरा थाहा थियो, जति उहाँलाई थाहा थिएन ।
०००
‘त्यो मैले चन्दा माग्न आएका बालबालिकालाई हपारेँ भन्ने कुरा चाहिँ कसले के सुनाइदियो तपाईलाई ?’
द्वारिक दाइ मैले उहाँलाई लेखेको खुला–पत्रको अलिकतिभित्र छिर्नुभयो त्यसपछि ।
‘माफ पाउँ दाइ !,’ मैले भनेँ ‘त्यो तपाईको भेटघाट होटल छेउको घरमा सरस्वती पूजाको चन्दा होस् कि शैक्षिक भ्रमणका लागि सहयोग माग्न आएका भाइबहिनीहरूसँग भित्र आँगनमा तपाईले अलि ठूलो स्वरमा बोल्दै गर्दा म बाहिर आफैँ गेटमा उभिइरहेको थिएँ ।’
‘ए, त्यो हर्दियाको स्कुलको मास्टर हो तपाई ?’
‘हजुर दाइ !’
‘म पनि पहिले मास्टर थिएँ । सुरुमा स्कुलको काम छोडेर राजनीतिमा आउँभन्दा त्यति सम्भावना देखेको थिइनँ । तर, हुँदै हुँदै गर्दा पछि राम्रै भयो ।’
त्यस बिचमा दाइले दुई पटक हरियो पत्ति चिया कपमा सारेर चिनी अलग्गै राखेर हामीलाई दिइसक्नु भएको थियो ।
‘तपाईहरू चिनी कति राख्नुहुन्छ, लिनु है ! के गर्नु आफूले त चिनी खान्नँ । चिनी रोग लागेको छ, बिहान लिफ टि मात्र खान्छु,’ दाइले भन्दै गर्दा सिँढीतिरबाट एउटा मान्छे, लुसुलुसु माथि उक्लियो ।
‘ए, ए, ए, उसलाई रोक रोक !,’ दाईले एक जना सहयोगीलाई भन्नुभयो, ‘लाऊ, यो पचास रुपियाँ देऊ उसलाई ।’
पैसा पाएर त्यो मान्छे सरक्क सिँढी ओर्लियो ।
‘देख्नुभो यस्ता छन् मेरा जनता !,’ दाइले भन्नुभयो, ‘त्यो मान्छे रक्सी खान पैसा माग्न आएको थियो । नदिएको भए ऊ यहीँ कोठामा आउने थियो र हामीलाई डिस्टर्व गर्ने थियो ।’
‘दाई तपाईले कोही एक जना पत्रकारलाई प्रेस सल्लाहकार नियुक्त गर्नुप¥यो पहिले,’ मैले आगन्तुक दरपियाका कारण भङ्ग भएको क्रम जोड्दै भनेँ ।
त्यहाँ हामी बिच इटहरीको पत्रकारिताको सवाल आउनु जरुरी थियो । समग्र पत्रकारिताको कुरा आउनु जरुरी थियो । किनभने मैले खुला–पत्रमा पत्रकारहरूलाई सार्वजनिक कार्यक्रममा डाइलग नदिन, पत्रकारको अपमान हुने शब्द नबोल्न, पत्रकारितासँग कुनै समस्या भए पत्रकार महासङ्घका प्रतिनिधिहरूसँग बसेर समस्याको समाधान गर्न सुझाएको थिएँ ।
‘यो मैले गर्ने कुरा हो । मैले गर्छु वा के गर्छु, त्यो मेरो काम हो ।’ दाइले जवाफ दिनुभयो ।
मैले सुनेको थिएँ, कसैलाई पनि नमागेको सल्लाह दिनुहुँदैन । त्यसले उल्टो काम गर्न सक्छ । तर, मेरो कुरा सुनेर दाइ रिसाउनु भएन । उहाँ मसँग हाँसीहाँसी कुरा गरिरहनुभएको थियो ।
‘ल त सुविदजी, तपाईसँग अलि लामै कुरा गर्न मन थियो । तर, समय मिलेन । पछि फेरि कुरा गराँैला !’
दाइले समयको महत्त्व बुझाउन हिजोआज जुन प्रयास गरिरहनुभएको छ, त्यसको म प्रशंसक हुँ । ढिलो–चाँडो हामी सबैले समयको महत्त्व र माग बुझ्नैपर्छ ।
‘हुन्छ दाइ, फेरि भेटौँला !’
त्यसपछि दाइ हाँसपोसातिर लाग्नुभयो । म बालग्रामतिर ।
०००
अब अलिकति गोबर र खरानीको कुरा गरौँ ।
पञ्चायतकालमा परिवर्तन चाहने अग्रगामी युवाहरू कोही गोबर हुन्थे । कोही खरानी हुन्थे । कम्युस्टि जतिलाई खरानी र काङ्ग्रेस जतिलाई गोबर भनिन्थ्यो । तर, मैले गोबरको सन्दर्भ यो राजनीतिक प्रसङ्गसँग जोड्न खोजेको होइन ।
गोबर त हाम्रो सनातन संस्कृतिसँग जोडिएको वस्तु हो ।
जतिबेला म सानो थिएँ, आमाले, दिदीहरूले हाम्रो घरको कोठा–चोटा, आँगन सबैतिर गोबर पानी घोलेर मजाले लिप्नुहुन्थ्यो । गोबरले लिपेको देखेपछि हामीले घरमा कुनै चाडवाड वा सराद आदि भएको जनाउ पाउँथ्यौँ र खुसीले रमाउँदै आँगनमा उफ्रिन्थ्यौँ । खासगरी त्यो दिन टीका लगाएर पैसा पाइने भो भन्ने हाम्रो अन्तर्यमा हुन्थ्यो । चाडवाडमा, सरादमा चेलीबेटीहरूलाई खोजी–खोजी टीका लाइदिएको र पैसा दिएको मलाई मन पर्दैनथ्यो । मलाई पनि पैसा चाहियो भनेर माग्थेँ । छोराहरूलाई पैसा दिने होइन, बरु छोराहरूले चेलीबेटीहरूलाई पो  दिनुपर्छ भनेर आमा–दिदीहरूले सम्झाउन खोज्नुहुन्थ्यो । तर, म मान्दिनथेँ । बरु, रोइदिन्थेँ । रोएपछि मलाई पनि पैसा दिनै पथ्र्यो ।
सानोमा गुइँठा बनाउन काम लाग्छ, घरको भित्ता लिप्ने माटोमा भुससँग मिसाउन काम लाग्छ भनेर दिदीहरू बाटोमा, खेतमा, चरउतिर गोबर टिप्न पठाउँथे, ढक्की बोकेर । हामी पनि जे भेटियो त्यही टिपेर ल्याउँथ्यौँ । कुन गाईको गोबर, कुन भैँसीको गोबर ! एकै ठाउँ हाल्यो, ल्यायो । हुन्डीमुन्डी ।
अलि ठुलो भएपछि पनि जब–जब म आमाले, गाईको गोबरले लिपेको ठाउँमा पुग्थेँ, गोबरबाट आउने एक प्रकारको सुगन्धले मन छुन्थ्यो । मजा आउँथ्यो । तर, यसको फाइदा के छ ? बेफाइदा के छ, त्यो बेला हामीलाई केही थाहा थिएन ।
पछि बुझ्दै जाँदा गोबर, खासगरी गाईको गोबर हाम्रो संस्कृतिमा आउनु, त्यसले हाम्रो भान्सा वरपर सम्मानजनक ठाउँ पाउनुका अनेकौँ वैज्ञानिक कारणहरू रहेछन् । स्वाथ्यका दृष्टिकोणले । औषधीय गुणका कारणले । मनोवैज्ञानिक कारणले । आवश्यकताका कारणले पनि । गोबर निकै शक्तिशाली इन्धन रहेछ । प्राङ्गारिक मल हुने, विद्युत्–ताप उत्पादन गर्न सक्ने अद्भूत क्षमता छ गोबरसँग । आइ लभ गोबर । मलाई गोबर मन पर्छ । त्यसमा पनि गाईको गोबरसँग मेरो विशेष सम्बन्ध छ । एउटा हिन्दूवादी अभियन्ता हुनुको विशेष साइनो पनि छ, योसँग मेरो ।
तर, द्वारिक दाइले मेरो भावना बुझ्नुभएन । चाहना बुझ्नुभएन ।
त्यसैले म अझै छक्क परिरहेको छु, त्यो दिन द्वारिक दाइले मलाई उहाँको घरमा जाँदा ‘तपाईलाई यहाँ आउँदा गोबर गन्हायो होला किन भन्नुभयो ? के सोचेर भन्नुभयो ?’
सायद मेरा बारेमा उहाँका मनमा अझै कुनै इन्फेरिओटी कम्प्लेक्स कायमै छ । हीनता–भाव बाँकी नै छ ।
०००
bisnuprasad.bg@gmail.com
इनरुवाको ग्राउन्ड रियालिटी
– सुविद गुरागाई

मैले अक्षर चिन्दा इनरुवाको नाम इनर्वा थियो ।
राष्ट्रिय वाणिज्य बैङ्कको चेकमा होस् कि साइनबोर्ड इनर्वा पढेको थिएँ मैले । सिडियो कार्यालय, थाना, मालपोतका साइनबोर्डमा पनि त्यस्तै देख्थेँ । मैले थाहा पाउँदा–पाउँदै इनर्वा, इनरुवा भयो । तर, सबभन्दा पहिले कसले लेख्यो इनरुवा शब्द ? इनर्वालाई इनरुवा बनायो कसले ? कसको दिमागमा सबभन्दा पहिले यो कुरा आयो ? धेरैलाई थाहा छैन ।
त्यो बेला सप्तरीमा अर्को इनर्वा थियो, सिराहामा पनि इनर्वा थियो । मैथिलीमा ‘र’ अक्षरलाई विशेष शैलीमा छिटो उच्चारण गरिने हुँदा यो ठाउँलाई पनि इनर्वा नै भनिन्थ्यो ।
२०१५ सालको चुनाव हुनुभन्दा अघिको कुरा हो यो । सेरोफेरोको ग्राम विकास केन्द्र भुटाहामा थियो । यहाँका जिमीदार, पटुवारीहरूले रसिदमा इनर्वा नै लेख्थे । ती दिनहरूमा कर्णबहादुर मगर (पछि कर्णसिंह मुरुङ्जय), गोपाल कोइराला, ददिराम पराजुली, रघुनाथ अधिकारी, पण्डित हरिप्रसाद घिमिरे, पण्डित फणिराज नेपाली (भट्टराई) आदि साहित्यिक मनहरूको समूह थियो । बेला–बेला साहित्यिक सङ्गतिहरू हुन्थे ।
भगवती मन्दिर अगाडि चौरमा एउटा ठुलो करबिरेको रुख थियो । त्यही रुख तल महाकवि देवकोटाका साकुन्तल, सुलोचना महाकाव्य र अरू साहित्यिक रचनाहरू सुन्ने–सुनाउने काम हुन्थ्यो । शब्द–शब्दको अर्थ खोज्ने, बुझिनेगरी मिलाई–मिलाई उच्चारण गर्ने अभ्यास हुन्थ्यो ।
इनर्वामा काठको घर बनाउन भोजपुरिया, छपरिया, दरभङ्गिया मिस्त्रीहरू आउँथे । उनीहरू इनर्वा भन्न जान्दैनथे । इनरुवा भन्थे । उनीहरूले इनरुवा उच्चारण गरेको यहाँका लेखनमा रुचि भएका युवाहरूलाई मन पथ्र्यो । स्थानीय बूढापाकाहरू पनि इनर्वा त सप्तरी, सिराहातिरको लवजमा हुन्छ, यो त इनरुवा हो भन्थे । त्यसैलाई टपक्क टिपेर समकालीन युवाहरूले आफ्नो रचनाको अन्तमा, डायरीमा नाम–ठेगाना लेख्दा, साथीहरूलाई टिपाउँदा इनरुवा लेख्न–टिपाउन थाले ।
२०१० सालमा महानन्द सापकोटा इनर्वा आउनुभयो ।
उहाँ आएपछि एउटा सानो टिनको टहरो जोडेर स्कुलको सामान्य सुरुवात गर्नुभयो । स्कुललाई औपचारिक रूप दिन अर्थ सङ्कलन अभियान थालियो । त्यही क्रममा महानन्द गुरुले फणिराज नेपालीलाई नाटक लेख्न भन्नुभयो । गोपाल कोइराला, लावण्य सापकोटा, प्रमुनारायण लाल कर्ण, उमेश कर्ण, सविता श्रेष्ठ ‘चलन’ आदि कलाकार भए । टोली गाउँ–गाउँमा नाटक देखाउँदै हिँड्यो ।
सहयोग सङ्कलन अभियान सकिएपछि विश्वनाथ धर्मशालामा स्कुल स्थापित भयो । प्रस्तावित भगवती मिडिल स्कुल ।
स्कुलको ठेगाना लेख्दा ‘इनर्वा’ लेख्ने कि ‘इनरुवा’ लेख्ने भन्ने कुरा आयो । युवाहरूले आफ्ना रचना, डायरीहरूमा इनरुवा लेख्न थालिसकेका थिए । सरकारी कागजपत्रमा चाहिँ ‘इनर्वा’ नै थियो । महानन्द गुरुले इनरुवा लेखेकै ठिक हुन्छ भन्नुभो ।
यसरी इनर्वा, इनरुवा भयो ।
०००
नाम बदलिए पनि इनरुवाको ग्राउन्ड रियालिटी बदलिएको छैन ।
हिजो जे सोच थियो, आज पनि त्यही छ । फरक यति छ, आज जहाँ इनरुवा गेट बनाइएको छ, त्यहाँ कोसीको एउटा भङ्गालोको पानी बग्न आइपुग्थ्यो । अहिलेको होलीमा पनि कोसीकै भङ्गालो जस्तो पानी हुन्थ्यो । गोही हुन्थे । पानी खान आएका, तर्दै गरेका बाच्छा मात्र होइन, गाई नै टोक्थे । जङ्गला मुलुक थियो । दबदबे हिलोमा गोरुगाडा भासिन्थे । दिउँसै बाघ कराउँथ्यो । र, बबियातिरबाट गाई–भैंसी चराउन आएका हाम्रा आमाहरू भागाभाग हुन्थे । आज त्यो छैन ।
तर, इनरुवाका कवि–लेखक, शुभचिन्तकहरूको मनमा यो ठाउँ देखेर हुने पीडा अनुभूति हिजो जे थियो, आज पनि उस्तै छ ।
‘हिउँदमा ठुला नेताहरू घुमफिरमा आउँदा,
इनरुवा कलिलो बाँस नुहेझैँ नुहिदिन्छ ।
वर्षामा सडक भरी–भरी पोखरी जमाउनु पर्दा,
इनरुवा जाँडको निगार कुहेझैँ कुहिदिन्छ ।
साथी हो ! त्योभन्दा पर्तिर केही छैन मेरो इनरुवा,
भए पनि पानीटङ्की माथिबाट सबै चुहिदिन्छ ।’
सप्तकोसी साप्ताहिक, वर्ष–६ अङ्क ३८, २०४५ साल साउन ६ गते । मैले लेखेको मुक्तक ।
जन आन्दोलनको घोषणा हुन बाँकी थियो त्यो बेलामा ।
केही दिनपछि गणेशमानसिंह, गिरिजाप्रसाद कोइरालाहरू जनआन्दोलनको घोषणा गर्न इनरुवा आएका थिए । हामी रामबहादुर बस्नेत दाइको घरको आँगनमा थियौँ । २०४६ साल माघको तेस्रो हप्ता । जनआन्दोलनका कमाण्डर सिंहले त्यहाँ आँगनको उत्तरतिर भएको काठको मञ्चबाट पहिलोपटक पञ्चायती व्यवस्थाविरुद्ध मुठ्ठी उठाएर जनआन्दोलन सुरु भएको घोषणा गरेका थिए । तीन पटक । गिरिजाप्रसाद कोइरालाले पनि हामीलाई तीन पटक जय नेपाल भन्न लगाएका थिए । ती दिनहरूमा काङ्ग्रेसीहरूका पछाडि–पछाडि हिँड्नु र जय नेपाल भन्नु कम्ती जोखिमपूर्ण थिएन । तापनि हामी पछ्याउँदै हरिनगरासम्म गएका थियौँ । लौह पुरुष गणेशमान सिंहको भाषण सुन्नु थियो । यो प्रसङ्गका बारेमा पछि भन्छु । अहिले चाहिँ त्यही जनआन्दोलन घोषणा भएको मञ्चतिर फर्कौँ ।
माल पाएर के गर्नु, चाल पाउनु पर्छ । इनरुवाले आफ्नो माटोमा जनआन्दोलन घोषणा भएको मञ्चको ऐतिहासिक महत्त्व बुझेन । यो घटना इतिहासमा एकदिन शङ्खधर शाख्वाले दासमोचन गर्न अमुक घाटको बालुवा किनेभन्दा कम महत्त्वको होइन । जुन माटोमा पञ्चायतविरुद्ध ऐतिहासिक जनआन्दोलन घोषणा भयो, त्यसको इनरुवाले राजनीतिक फाइदा लिन सकेन । ‘यसपटक वार कि पार हुनुपर्छ । अब म बूढो भइसकेँ,’ सिंहले भनेको हामीले भुइँमा ओछ्याइएको परालमा बसेर सुनेका थियौँ । तर, इनरुवा यो कुरामा न वार भयो, न पार भयो । बीचमै कुहिरोमा कतै अलमलियो । यो कुरा यतिमै मात्र सीमित हुँदैन । पञ्चायत ढलेपछि २०४७ साल साउन ६ गते विपि जयन्तीका दिन गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाहरू फेरि त्यो मञ्च सम्झेर इनरुवा आएका थिए । तर, यी सब कुरा इनरुवाले बिर्सिसके जस्तो लाग्छ । बिचमा २०५४ असोज १३ गते ‘जनआन्दोलन घोषणा भएको मञ्चको व्यथा’ शीर्षकमा नेपाल समाचारपत्रमा र अलिपछि ‘करनाल’मा बाइलाइन समाचार लेखेर मैले ध्यानाकर्षण त गराएँ तर त्यो ऐतिहासिक मञ्चको गौरव संरक्षण गर्न आजसम्म नगरले चासो देखाएको थाहा छैन । मञ्चको मात्र के कुरा यस्ता अनेकन धरोहरहरूबारे आज इनरुवा बेखबर छ । पत्रकारहरू त्यस्ता खबर दिनुपर्ने दायित्व ठान्दैनन् । इनरुवाको जन–तत्पर, सिर्जनशील पुस्तकालय खोइ ? कर्णसिंह मुरुङ्जय, रघुनन्दन महतो, मोहन विरही, जयन्त भट्टराई, श्यामलाल मिश्र, गुणेश्वर झा, रवीन्द्र चक्रवर्ती आदि नामहरू बिर्सँदो छ इनरुवाले । इतिहास बिर्सँदो छ, माटोले । इनरुवाको ग्राउन्ड रियालिटी यही हो । धन्न ! भाषाशास्त्री महानन्द सापकोटाको योगदान सम्झिने, केही काम गर्ने योजनाको आरम्भमा म पनि सहभागी हुन पाएको थिएँ । तथापि महानन्द वाटिका निर्माणको काम अझै अधुरै छ ।
जे कुराबाट फाइदा लिनु पर्ने हो, इनरुवाले त्यसबाट फाइदा लिन सकेको छैन ।
०००
‘फुङ्ग धूलो उडेर कुहिरो लागे जस्तो
फोहोरले किचेर बेहोस भएको जस्तो
उजाड भएको छ,
जस्तो कोसीको बगर
साँच्चै वृद्ध भएछ अब इनरुवा बजार ।’
सरोज बराल लेख्छन्, इनरुवाको तीतो यथार्थ, ‘धेरै सन्तान छन् रे यसका पनि ÷ देश–विदेश सबैतिर छरिएका ÷ यहीँको धूलोमा खेलेर उन्नति गरे ÷ अब बिर्सिएछन् क्यारे ÷ बूढो इनरुवा बजार ।’
कवि हृदयले देखेको बूढो बजारको एउटा भित्तामा मैले देख्दा–देख्दै एकदिन धर्के सर्ट, नीलो जिन्स पेन्टवाला भाइ पिसाब फेर्न थाल्यो । भित्तामा सेतो अक्षरमा लेखिएको छ – ‘थुक्क ! कुकुर जस्तो भित्तामा मुत्न (पिसाब फेर्न) लाज लाग्दैन ।’ र, छेउमै सानो अक्षरमा स्मरणीय विकल्प पनि सुझाइएको छ, ‘पछाडि बाँसघारीमा जानुस् ।’
पढेलेखेकै जस्तो देखिन्थ्यो त्यो भाइ । तर, पढे–लेखेर मात्र नहुँदो रहेछ, समाज परिवर्तन । एकान्त र भिंडमा मान्छे अविवेकी भइदिन्छ । जुन बजारमा व्यवस्थित सार्वजनिक शौचालय हुँदैन, त्यहाँ भित्ताहरूमा देख्न सकिन्छ, त्यस ठाउँको ग्राउन्ड रियालिटी । इनरुवामा सेन्सर ढोका छ, नियमित बिजुली छैन । होटलका सौचालयमा कमोट छ, साबुन छैन । घरमा होल्डर छ, बल छैन । पङ्खा–एसी चलिरहेको छ, कर्मचारी छैन । हरेकलाई आ–आफ्नो पहिचान चाहिएको छ, इतिहासको सम्झना छैन ।
विके शिवानीका अनुसार ९० प्रतिशत समस्याको कारण हाम्रो आफ्नै सोच हो । यो मननीय अभिव्यक्ति इनरुवामा मेरो जुन साथीको घरको भित्तामा टाँसिएको छ, उही साथीमा रूपान्तरको समस्या देख्छु । छोरीले फेसबुक चलाएको मन पर्दैन । नेटमा धेरै ध्यान दिए भने पढाइ बिग्रिन्छ भन्छ । नेट तथा ग्याजेटलाई अध्ययन–अनुसन्धानका हकमा कसरी उपयोग गर्न सकिन्छ, थाहा छैन । गुगल अर्थबारे सुनेको छैन । लाग्छ, समयको हावा कतातिर बगिरहेको छ, ऊ बेखबर छ । इनरुवाको अर्को ग्राउन्ड रियालिटी ।
०००
‘साठी वर्ष पुगिसक्नुभो तपाई ?’
अशोक ओझा दाइलाई सोधेँ ।
‘कहाँ पुग्नु ! भर्खर ५७ वर्ष पुगेँ । प्रभुनारायण सरले जन्म–मिति त्यही लेखिदिनुभएछ । त्यही सदर भयो,’ अशोक दाइले मनको वह पोख्नुभयो, ‘सुरु–सुरुमा त मलाई केही जस्तो लागेको थिएन । अहिले फिल हुँदै छ भाइ ।’
अशोक दाइलाई अझै राष्ट्र–सेवक हुन मन थियो । काम गर्न मन थियो । तर, समय नपुगी मन मार्नुप¥यो । यो सवालमा ‘म पनि पीडित भएँ,’ भन्नेहरू थुप्रै भेटिन्छन्, इनरुवाका सडकहरूमा । तर, यो न्युज–पेगमा कुनै समाचार पढ्न पाइएको छैन । अर्थात्, अझै न्युज–सेन्स राम्ररी विकास भएको छैन इनरुवामा ।
म सुनसरी प्राविबाट चार कक्षा पढ्न भगवती स्कुलमा सरेपछि प्रभुनारायण लाल कर्ण सरसँग मेरो भेट भयो । उत्तरबाट दक्षिण फर्केको कोठामा । लामो एउटा लौरो छेउमा हुन्थ्यो । बग्रेल्ती कागज, रजिष्टर र रसिदहरूका माझमा उहाँको जिन्दगी बित्यो । मैले भेट्दा उहाँ पढाउनु हुन्थेन । स्कुलको क्लर्क हुनुहुन्थ्यो । हाम्रा विवरणहरू उहाँले जे लेखिदियो, त्यही हुन्थे । अलि सचेत अभिभावक–विद्यार्थीले उहाँका कमजोरी भेटे औँल्याउँथे पनि । धेरैलाई चासो हुँदैनथ्यो ।
यतिबेला त्यही चासो नहुनुको फल भोग्दैछ इनरुवा । हिजोको एउटा सानो भूलले आज इनरुवामा उमेर नपुगी सेवा निवृत्त हुनेहरूको सङ्ख्या थुप्रिँदो छ ।
तर, हामीले प्रभुनारायण सरलाई दोष लगाएर उम्किन मिल्दैन । आज पनि स्कुल, पञ्जिकाधिकारी र प्रमुख जिल्ला अधिकारीको रजिस्टरमा जन्म–मिति हुबहु नमिल्नेहरू बग्रेल्ती छन् । यसमा हाम्रा अभिभावक, शिक्षक र कर्मचारीको चेतनाको स्तर प्रतिविम्बित भइरहेको छ ।
०००
हावा खाने केटाहरू ।
अचेल कतिपय युवाहरू साँझ पर्नासाथ नगर क्षेत्रभित्र पर्ने पुलेसा र सडकपेटीहरूको दुवैपट्टि ‘साँझको हावा खाने’ निहुँले जमात बनाएर बस्ने गरेको देखिन्छ । जथाभावी टिप्पणी गर्ने यी उरन्ठेउला केटाहरूका माझबाट चेलीबेटीहरूले एक्लै दोक्लै कसरी बाटो हिँड्ने ? (२०४६ जेठ १५ गते आइतबार ।)
पुछारको चिठी ।
इनरुवा नगर पञ्चायतको बस बिसौनी चोकदेखि गुदरी बजारसम्मको करिब एक किलोमिटर पिच सडकमा एक हजारभन्दा बढी ठाउँमा खाल्डाखुल्डी परेका छन् । यसलाई ‘सामान्य ज्ञान’भित्र समावेश गर्न मिल्दैन र ? (२०४६ साउन २५ गते बुधबार ।)
बाटोको सट्टा खेतमा ।
हाम्रो नगर पञ्चायतमा परेवा, कुखुरा आदिका फोहोरहरू सोहरेर सडकमा मिल्काउने चलन छ । त्यो फोहोरलाई मलको रूपमा खेतबारीमा मिल्काउने गरेमा बारीमा चाउरिएका मूला मल पाएर सप्रिन्थे कि ! (२०४६ कात्तिक १९ गते आइतबार ।)
सुविद गुरागाई, इनरुवा १÷३ सुनसरी, नाम–ठेगााना उल्लेख गरी गोरखापत्र दैनिकमा सम्पादकलाई चिठी छापिएका केही विवरणहरू तिथि–मितिसहित सुनाएँ तपाईलाई ।
अब तपाई नै भन्नुस् – २८ वर्षअघि इनरुवाको जे सोच र व्यवहार थियो, जे समस्यासँग इनरुवा जुझिरहेको थियो, त्यसमा आज कति परिवर्तन आएको छ ? कति सचेतना थपिएको छ ?
२८ वर्ष भनेको त तीन दशक हो । अर्थात् तीन पुस्ता । खोलो पनि फर्किन्छ १२ वर्षमा, बाँस पनि फुल्छ । तर, हामी के गर्दैछौँ ?
साँच्चै भनुँ, न रिसाउनु नि फेरि !
हामीले योजनाबद्ध भएर बाँच्न जानेनौँ कहिल्यै । मिलेर काम गर्न र आफ्नो श्रमको मूल्य तोक्न पनि जानेनौँ । यस बिचमा आततायीहरूले मेरो दाइ–साथी शम्भू घिमिरेलाई घरबाट थुतेर लगेर मारेर नहरछेउको बकाइनाको रुखमा झुन्ड्याइदिए । अहँ ! हामीले अनुसन्धान पूरा गरेनौँ त्यसको । बुहारीहरू मारिए र बाँसका बोटमा झुन्ड्याइए । अहँ, हामीले यसलाई पनि गम्भीरतापूर्वक लिएनौँ । ‘हत्या प्रमाणित हुन सकेन,’ शीर्षकमा मैले समाचार लेखेँ । समाजले सुनेको नसुन्यै ग¥यो । सीता सदालगायत चेलीहरूको बलात्कार भयो । बलात्कारी को–को थिए ? अझै थाहा हुन सकेको छैन । अपराध प्रमाणित गर्नुपर्ने कति फाइल र प्रमाणहरू मुसाले खाए । कतिमा धमिरा लागे । कति धूलोमा पुरिए । बचे–खुचेका केही भुइँचालोमा परे ।
जिल्लाकै इतिहास बनेको सुनसरी प्राविको हत्या भयो । हामी रमिते भयौँ । हेर्दाहेर्दै ध्रुव बस्नेत, जगदीश सापकोटा, विनोद चौलागाई जस्ता युवा असामान्य स्थितिमा पुगे । हामी हेरी नै रह्यौँ । हेर्दा–हेर्दै सुनसरी खोला विषाक्त भयो, हामी केही बोलेनौँ । धान फल्ने खेतमा घर उम्रिए, हामी खुसी भयौँ । सँगै खेल्दै हुर्केका नानीहरूका दिमागमा तँ मधेसी, तँ पहाडी भनेर झगडाको बीउ रोपिदियौँ र दङ्ग प¥यौँ ।
बाँकी, आधा समय मच्छर मारेर र आधा समय खुला ठाउँमा दिशा–पिसाब गरेर बितायौँ हामीले !
०००
bisnuprasad.bg@gmail.com


फन्टुस फिक्सनको उद्घाटन
– सुविद गुरागाई

सुरुमै कथा भन्दिनँ ।
सुरुमा कविता पनि भन्दिनँ ।
सुरुमा गजल पनि सुनाउँदिनँ ।
जबसम्म कथाले माग्दैन, तबसम्म यी काम गर्नुको कुनै मजा छैन । सुरुमै सबैथोक भनिहालें भने, निश्चित रूपमा उप्रान्त बाँकी म जे भन्न खोज्दैछु, त्यो सुनाउनु र नसुनाउनुको कुनै अर्थ रहँदैन । त्यसो त सुरुमै म केमा सहमत छु भने, पछि तपाई पनि सहमत हुनुहोला, एउटा लामो कथावाचकले कम से कम त्यति धैर्य चाहिँ देखाउनै पर्छ । श्रोता पनि त्यहीस्तरको र त्यति नै समयवाला भेटिनु पर्छ । नत्र त लेख्नेले लेख्ने हो, नपढ्नेले नपढिदिइसकेपछि सक्किगो नि ! हेर्ने कोही नभएको ठाउँमा एक्लै सेल्फी खिचेर रमाउनु के रमाउनु ? मजा त तब आउँछ कि देख्नेले किकर लेखोस्, सेल्फीको बिन्दास दिवाना÷दिवानी !
तर, यो सबै मैले भन्दै आएको कुरा हो । यसमा नयाँ, नवीन, नूतन केही छैन । त्यति हो कतिले सुन्नु भएको होला, कतिले सुन्न पाउनुभएको छैन होला । यदि आजसम्मको जिन्दगीमा तपाईले मलाई कुनै दिन कहीं–कतै कुनै मोडमा तपाईको जिन्दगीको आधा घन्टाभन्दा बढी समय दिनुभएको रहेछ भने तपाईलाई फन्टुस फिक्सनका बारेमा पक्कै पनि केही न केही थाहा छ । किनकि इमानदारीपूर्वक जतिबेला तपाईसँग मैले यसको चर्चा गरेको छु, यसको एउटा पात्र तपाई पनि हो भनेर पक्कै भनेको हुँला ।
यति भनिसकेपछि यसभन्दा उताका बाँकी कुराहरू पढ्नुस् म भन्दिनँ । मेरो साथी स्वागत नेपालले भने जस्तो प्लिज नपढ्नुस् ! पनि भन्दिनँ । किनकि सुरुमा त्यो आलेखको शीर्षक नपढ्नुस् मात्रै थियो । अगाडि प्लिज थपेर सम्पादन गर्ने र छाप्न लगाउने मान्छे मै हुँ । विचरालाई हजार रुपैयाँ पारिश्रमिक दिउँला भनेर त्यो लेख्न लगाएको थिएँ । पछि पाँच सय रुपैयाँमा आउनुप¥यो । तैपनि आफ्नो खल्तीबाट हाल्नुपर्ने भो । दिएको छुइनँ । दिन्छु कुनै दिन ।
फन्टुस फिक्सनको उद्घाटन यसरी गरुँला वा होला भन्ने लागेको थिएन । केदार दाइलाई, महेन्द्र विष्टलाई, अकिञ्चन खतिवडा, साम्ब ढकाल, स्वागत नेपाल, कृष्ण सर्वहारी, धिरज भट्टराई र तपाईलाई सुनाउँदा अनि मनमनै कल्पना गर्दा अर्कै कुरा भनेको थिएँ मैले । सम्झना छ ? छैन भने पनि केही छैन । तपाईको सजिलोका लागि अलिकति रिक्याप गरुँ म ।
खासमा त्यसको स्टार्टिङमा के थियो भने, यो कथानकको मूल नायक म आफैं हुन्छु । म जस्ता अरू पनि होलान् धेरै । तर, यहाँ चाहिँ मै मात्र हुँ । प्रारम्भकी नायिका हुन्छिन्, सुवानी । वास्तविक जिन्दगीमा म सुवानीलाई तपाई नै भन्छु । तपाई मात्र किन, अझ दिदी नै भन्छु । आवश्यक प¥यो र तपाईलाई सुन्न इच्छा भयो भने पछि उनको वास्तविक नाम पनि भनुलाँ । तर, यो सिनमा चाहिँ मैले तिमी नै भन्नुपर्छ । अब उपन्यासकै नायिका सोचिसकेपछि त्यसमा अलिअलि फिक्सन त हुनै प¥यो नि ! नत्र न भन्नेलाई मजा आउँछ, न सुन्नेलाई मजा आउँछ, न जसका बारेमा भनिएको हो उसलाई नै मजा आउँछ ।
हामी एउटै गाडीमा बसेर चतरा जाँदै हुन्छौं । उनकै गाडीमा । ड्राइभर छ एउटा, त्यसको नाम अहिले बिर्सिएँ । कोही मत्थु थियो जस्तो लाग्छ । तर, त्यतिखेर उसले खाएको थिएन । हामीतिर ध्यान दिएको पनि थिएन । कि दिएको थियो, थाहा छैन ।
हामी पछाडिको सिटमा बसेका थियौं । अब एउटै सिटमा बसेपछि बेलाबेलामा गाडी हल्ँिलदा यसो हल्काफुल्का टच त भइहाल्छ । म बिहे गरेको केटा उनी अहिलेसम्म बिहे नगरेकी केटी । म बिहे गरेको केटा मात्र होइन, खाइखेली गरेको पत्रकार भन्दा पनि हुन्छ । तर, त्यस्तो केही भल्गर होइन ।
ड्राइभर आफ्नै सुरमा खड्याङ–खुडुङमा धूलो उडाउँदै गाडी हाँक्दै थियो । गाडीको नम्बर र ब्रान्ड चाहिँ भन्दिनँ । फ्याट्ट तपाईले उनलाई चिन्नुभयो भने सिचुएसन अर्कै हुन सक्छ ।
हामी बुढेसकालमा डेटिङमा जाँदैछौं । बुढेसकाल नै भनौं, जीवनको आधा उमेर बाँचिसकेपछिको कुरा हो यो । यहाँनेर अलिकति फिक्सन छ । तर, के फिक्सन छ, त्यो भन्दिनँ । आफैं पत्ता लगाउनुहोला ।
जाँदाजाँदै बयरवनदेखि अलिकति पूर्व त्यो खहरेले बगाको गेगर थुप्रेको, अलि सुनसान, अलि जङ्गल–जङ्गल परेको ठाउँ छ । त्यहाँ पुगेपछि मैले सोधेँ ।
‘सुवानी ! एउटा कुरा सोधुँ ?’
‘के कुरा ? सोध न ! सोध्नलाई पनि अनुमति लिनु पर्छ र ?’
‘होइन, तिमी रिसाउँछ्यौ कि भनेर । अप्ठेरो मान्छ्यौ कि भनेर ।’
‘किन रिसाउने ? तिमी पत्रकार मान्छे, सोध्न मिल्ने नै कुरा सोध्छौ होला नि !’
‘तिमीले अहिलेसम्म बिहे किन नगरेको ?’
‘ए, यति जाबो कुरा ! मन लागेन त्यसैले । सिम्पल छ एन्सर ।’
पत्रकारजीलाई यति उत्तरले मात्र चित्त कहाँ बुझ्थो र ! मलाई थाहा छ उनले आफूले बिहे नगर्नुका कारणहरू केके भनिन् । तर, यतिबेला तपाईलाई म फन्टुस फिक्सनको उद्घाटनको सिन सम्झाउँदै छु ।
अलिकति पश्चिम लागेपछि फेरि त्यस्तै अलिकति सुनसान ठाउँ आयो ।
‘ल, ठिक छ, त्यसो भा एउटा अर्को कुरा सोधुँ ?’
‘तिमीले सोध्न खोजेको कुरा, जान्न चाहेको कुरा के हो थाहा छैन । तर, तिम्रो यो प्रश्न सोध्ने स्टायल चाहिँ मन प¥यो है ।’
‘धन्यवाद ! सङ्गत कसको छ थाहा छैन ? खरबुजेको देखकर खरबुजा रङ बदलता है ।’
‘कोइसन भन न कोइसन, सायरी होइन ।’
‘भन्दै छु त !’
‘सुन्दै छु नि म पनि !’
‘साँच्चै सोधुँ होइन त ?’
‘सोध न बाबा !’
‘साँच्चै ?’
‘साँच्चै !’
म कलेजको जमानामै यसो केटीहरूको अनुहार हेरेर आज तिम्रो मिन्स भाको छ हो भनेर सोध्ने मान्छे । सुवानीसँग त के लजाउनु थियो र ? त्यो मिन्सको कुरा चाहिँ कसलाई सोधिस् नि भन्नुहोला फेरि । एउटा ठुलै सेलिब्रिटीकी छोरीलाई सोधेको थिएँ मैले । इनरुवामा भगवती स्कुलको फिल्डमा पिपलको छाहरीमा बसेका बेला सोधेको थिएँ उनलाई । उनको नाम तपाईलाई थाहा पाउने इच्छा छ भने पछि त्यो पनि भनुँला । अहिले चाहिँ त्यही दिनको प्रश्नमा फर्किऊँ ।
‘ल, नरिसाऊ है त !’
‘हुन्छ ।’
‘तिम्रो जीउमा अहिलेसम्म कसैले हात हालेको छ कि छैन ?’
‘.... .... ....!’
‘.... .... ....!’
‘तिमी आफैं बुझ न । यसको उत्तर मैले के भन्नु ? मिलाएर बुझ्दा भैहाल्छ नि !’
अब म के बुझ्नु ? आफ्नै मनले फिक्सन गरेर के बुझ्नु ?
त्यसपछि चतरा आयो । फुल्ठेगौंडा पनि आयो । अरू कता–कता कुरा घुमे । मेरो मास्टरी जागीर, सोलुखुम्बूका स्याउ जस्ता राता गाला, उनको क्याम्पस जमाना र कालिम्पोङका हरिया सपनाहरूका कुरा भए । तर, मैले सुवानीको मुखबाट सुन्न चाहेको जवाफ आएको थिएन ।
पुल्ठेगौंडाका बारेमा अलिकति बयान गरुँ । उहिलेको कुरा सम्झिनू । सम्झिनू कि ऊ बेला त्यहाँ जङ्गलै–जङ्गल थियो । सुम्निमा सम्झिनू, पारुहाङ सम्झिनू । बिपी कोइरालाको उपन्यासका पात्र । केटा बाहुनको छोरा थियो, केटी किराती । ऊ बेला कोसी मुखबाट बाहिर आफूखुसी फैलिएर बग्थ्यो । अनेक भङ्गाला थिए । बाँध बाँधेको थिएन । नहर बनाको थिएन । बस्ती बसेको थिएन । समय अन्तरमा नहर बन्यो, बस्ती बस्यो, जङ्गल मासियो । आवश्यकता अनुसार बाँध बनाइयो, कोसी खुम्चियो ।
बेलाबेलामा कोसीलाई त्यसरी खुम्चिनुपरेको मन पर्दो रै’नछ । सप्तकोसी न हो आखिर । नेपालको सबैभन्दा ठुलो नदी । ऊ पनि के कम । काट्दै आउँछ, पूर्वतिर आसामको जङ्गलबाट आएको पाहुना मकुनाजस्तो ढल्किँदै । जति पूर्व ढल्किन्छ उति निद्रा हराउँछ, माझीगाउँको ।
काट्दा–काट्दैको पानीको धारलाई रोक्न भारतीय इन्जिनियरहरूले बनाको एउटा ढुङ्गे स्पोरमा बसेका थियौं हामी । तीन नम्बर स्पोरमा । पानी बटारिएर, हान्निएर आउँथ्यो चतरातिरबाट र गुन्गुनाउँदै जान्थ्यो कोसीटप्पुतिर । बीच–बीचमा हामी बसेको ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर जालीमा भरिएको स्पोरमा ठोक्न्थ्यिो । त्यहीबेला सररर्र उडेको पानीको वाफलाई घरी एउटा हल्केलामा समातेर, घरी खुट्टा चुम्न लगाएर सुवानी रमाएको म एकोहोरो हेरिरहेको थिएँ ।
म पश्चिमतिर सुवानी पूर्वतिर लगभग टाँसिएर बसेका छौं । गाडी र ड्राइभर निकै माथि छन् डिलमा । पर एका–दुई गाउँले र जालीमा ढुङ्गा भर्न खटाइएका कामदारहरू देखिँदै थिए ।
सुवानी मलाई मनपर्ने नाम हो, उनको बाबाले राखेको । अरूतिर सानले देखाउँदै यो छोरी मेरी सुवानी छे भन्नुहुन्थ्यो रे ! सबैले सुवानी सुवानी भन्दाभन्दै उनलाई पनि प्रिय लाग्न थालेछ । तर, उनको अफिसियल नाम अर्कै छ ।
म चाहिँ सुवानी नै भन्छु ।
कुरै–कुरामा मैले त्यही कुरा कोट्याएँ ।
‘सुवानी ! तिमीले अघि मेरो प्रश्नको उत्तर दिइनौ नि !’
‘कुन प्रश्न ?’
‘त्यही हातवाला ।’
‘भने नि मिलाएर बुझ ।’
‘त्यसो भए म पनि अलिकति हात मिलाऊँ त ?’
‘ए ए ए, के गरेको यस्तो, अहिले प्याट्ट एक थप्पड हान्छु अनि !’
कसम भन्छु, मैले हात हाल्नलाई होइन, उनको देब्रे हात छुनलाई हात बढाएको थिएँ । तर, हुने दिन–दशा सुरुमै कसलाई थाहा हुन्छ र ! उनले मलाई हिर्काउन खोजेजस्तो गरेर मोबाइल बोकेको दाहिने हात मेरो गालातिर ल्याइन् । म पनि त्यही न हो । अलिकति जिस्किने मुडमा यसो अलिकति पश्चिम ढल्केको फुत्रुङ्ग पानीमा झरी  त हालेँ ।
यहाँसम्मको कथानक मैले तपाईलाई भनेको छु । त्यसपछि बाँकी के भयो भन्न बाँकी छ ।
०००
bisnuprasad.bg@gmail.com
पुनरागमनको प्रसव–पीडा
– सुविद गुरागाई

‘हेल्लो ! के छ सुविद ? आरामै छौ ?’
‘ठिकै छ । राम्रै छु ।’
‘हाम्रा बारेमा लेख लेख्दै छौ रे हो ?’
‘हो त ।’
‘ठिक छ, लेख लेख ।’
‘कसैले पनि तपाईको इच्छा नभइकन तपाईलाई हीनताबोध गराउन सक्तैन,’ एलिनोर रुजबेल्टको यो भनाइ म बेला–बेलामा सम्झिरहेको हुन्छु । तपाई पनि सोच यस्तो राख्नुहोस्, जुन थाहा पाएर दुनियाँले गर्व गरोस् । र, भनोस् – हो, यस्तो राम्रो सोच भएको मान्छेलाई म चिन्छु । मलाई उसका बारेमा थाहा छ । जिन्दगीमा तपाई व्यवहार यस्तो गर्नुहोस् कि दुनियाँले भनोस्, आहा ! कस्तो राम्रो व्यवहार भएको मान्छे !
मान्छेले सडक सफा गर्दा यसरी गर्नुपर्छ, जसरी माइकल एन्जेलोले चित्र बनाउँछन्, बेथोविनले सङ्गीत रचना गर्छन् र शेक्सपियरले कविता लेख्छन्, ताकि मान्छेले भनुन््– हो यहाँ सडक सफा गर्न जान्ने मान्छे बस्छ ।  मार्टिन लुथर किङ जुनियर ।
अभिनेत्री रेखालाई एकपटक पत्रकारले सोधे – ‘रेखाजी ! तपाई यदि अभिनयको क्षेत्रमा नआएर कुनै अर्को क्षेत्रमा जानुभएको भए, तपाईलाई लाग्छ, तपाईसँग अहिले भए जत्तिकै नाम र दाम हुने थियो ?’
रेखाले भनिन्, ‘पत्रकारजी, यदि म यो अभिनयको क्षेत्रमा नआएको भए र मानौँ म कुनै रेल्वे प्लेटफर्ममा चिया पसल चलाउने महिला भएको भए पनि कम से कम म यति चाहिँ बनाउँथे कि वल्लै स्टेसनमा चिया खान मन लागेको मान्छेलाई, त्यहाँ पल्लो स्टेसनमा रेखाको पसल छ, चिया खान त त्यहीँ जानुपर्छ भन्ने बनाउँथेँ । रेखाको यो जवाफको अन्तर्यमा के छ ? दिल । यदि तपाई आफ्नो काममा दिल पनि मिसाउनुहुन्छ भने त्यो पक्कै पनि अरूलाई मन पर्नेछ । लेख्न त सबैले लेख्छन् । तर, तपाईले लेखाइमा अलिकति दिल पनि मिसाउनुभयो भने त्यसले मान्छेलाई छोइहाल्छ । गमलामा फूल धेरैले रोप्छन् । तर, तपाईले गमलालाई अलिकति सजाउनु भएको छ भने मान्छेले तपाईको प्रशंसा गरिहाल्छन् । हाम्रासामु हजारौँ त्यस्ता अवसरहरू छन्, जसमा हामी आफ्ना तर्फबाट थोरै भए पनि योगदान मिसाउन सक्छौँ ।
बजारमा हजार भन्ने उखान छ । चिया बनाउने, मम बनाउने, समोसा बेच्ने धेरै पसलहरू हुन्छन् तर तपाईलाई कुनै निश्चित पसलमा मात्र फेरि–फेरि जान मन लाग्छ । किन ? यसको अन्तर्यमा अरू कुनै कुरा छैन । गुणस्तर र मोलको पनि कुरा होइन । तपाई त्यो पसलमा यसकारण पटक–पटक जानुहुन्छ कि तपाईले त्यहाँ आफूले चाहे जस्तो वातावरण पाउनुहुन्छ । तपाई कोही व्यक्तिसँग यसकारण ट्युसन पढ्नुहुन्छ, तालिम लिनुहुन्छ कि तपाईको हृदयले त्यो व्यक्ति तपाईलाई तालिम दिन, सिकाउन योग्य छ भन्ने ठान्छ । त्यसका लागि तपाईको इच्छा हुन्छ । अरूले कसरी सोच्छन् मलाई थाहा छैन । तर, तपाईका लागि सूर्य किन उदाउँछ भने त्यो सूर्य उदाओस् भन्ने तपाईले चाहनुभएको छ । म यतिबेला यी कुराहरू किन भनिरहेको छु भने कसैले यी कुराहरू भनुन् भन्ने यतिबेला तपाई चाहिरहनुभएको छ ।
त्यसैले यस्ता एक से एक उदाहरणहरू म भन्दै जान्छु । तपाई सुन्दै जानुहोला । यी कुराहरू मैले आफ्नो ब्लगमा पनि राखेको हुन्छु । त्यहाँ तपाईले पढ्न सक्नुहुन्छ । इटहरीबाट प्रकासित हुने ‘पूर्वी बजार’ दैनिकमा पनि ‘फन्टुस फिक्सन’ स्तम्भका रूपमा छापिँदै हुन्छन् । मेरो ब्लगमा जानुभयो भने मेरा लेखहरू जति मन लाग्छ, त्यति पढ्न सक्नुहुन्छ । गुगल सर्चमा गएर अङ्ग्रेजीमा फन्टुस फिक्सन टाइप गर्नुहोस् । महाप्रभा एमए एचए पिआरए भिए डट ब्लगस्पोट डट कममा लग इन गर्नुसक्नुहुन्छ । कृपया मलाई फलो गर्दै गर्नुहोला ।
यो सानो जानकारीपछि म कुरा गर्न चाहन्छु, सोचको । तपाईले चाहनुभयो कसैले तपाईको अपमान नगरोस् । तपाईलाई कसैले अपमान गर्नसक्दैन । तपाईले चाहनुभयो तपाईलाई कसैले गाली नगरोस् । तपाईलाई कसैले गाली गर्न सक्दैन । तपाईले चिताउनुभयो भने त्यो पुग्छ । तँ चिता म पु¥याउँछु भन्छ रे ईश्वरले पनि । मानौँ तपाईले चाहनुभयो मैले कसैलाई बचाउनु छ । तपाई कसैगरी भए पनि त्यसलाई बचाउनुुहन्छ । अनि तपाईले चिताउनुभयो मैले कसैलाई मार्नु छ । त्यो मर्छ । कसैले त्यसलाई बचाउन सक्तैन । यही सोचको परिणाम हो गान्धी । त्यत्रा गोराहरूले मार्न नसकेका मोहनदास करमचन्दलाई गोड्सेले मारिदियो । गान्धी बनाइदियो । त्यही सोचको परिणाम हो जिसस । त्यही सोचको परिणाम हो विन लादेन । अल्लाहको जे मर्जी हुन्छ, त्यही हुन्छ । यदि अल्लाहले चाहिरहेको छ, तपाईलाई कसैले ज्ञानका कुरा सिकाओस् । उसले सिकाउँछ । त्यस्तो बेलामा तपाईले सोच्नुपर्ने हुन्छ, धर्म र इमानको पालनामा कतै तपाईबाट कुनै भूल भयो कि ! यदि अल्लाहलाई त्यस्तो लागिरहेको छ भने उसले तपाईलाई कुनै न कुनै माध्यमबाट आफ्नो सन्देश तपाईसम्म पु¥याउँछ । हिन्दू धर्ममा पनि यस्तै मान्यता रहेको छ । आज हाम्रो माटोमा जे भइरहेको छ, यो पृथ्वीमा जे भइरहेको छ, त्यो सबै शिवको लीला हो । निर्देशक हो शिव । मन लागे नचाउँछ, मन लागे हँसाउँछ । मन लागे बचाउँछ । मन लागे संहार गर्छ । के मन लाग्छ त्यही गर्छ । हामी त निमित्त नायक मात्रै हौँ, अरूले चाहे अनुसारको भूमिका गर्ने । बुझ्नु न कठपुतली जस्तो । धागो अर्कैको हातमा छ, यता हामी नाचिरहेका छौँ । बजारमा रामलीला, अल्लाह रुदलको नाच चलिरहेको छ । हामी हेरिरहेका छौँ ।
हुन त दुनियाँमा असम्भव केही छैन । हामीले कसैलाई मार्न जति सम्भव छ, उसैगरी कसैले आफूलाई बचाउनु पनि उत्तिकै सम्भव छ । गान्धीलाई लाग्यो अब मैले जति गर्नु थियो गरिसकेँ । अब म हुनु नहुनुले मान्छेलाई केही फरक पर्दैन । त्यसपछि गान्धीले आफूलाई यस्तो ठाउँमा लगे, जहाँ उनको भेट उनका हत्यारासँग सजिलै हुनसक्थ्यो । गान्धीको मृत्यु इच्छित थियो । यही सेरोफेरोमा विकसित भएको थियो । समय सापेक्ष थियो ।
तपाईको रूपान्तर पनि सम्भव छ । मेरो रूपान्तर पनि अपेक्षित छ ।
०००
यही प्रसङ्गमा आज म तपाईलाई बङ्गालको धुनियाँको एउटा सानो कथा सुनाउँछु । धुनियाँलाई तपाईले देख्नु भएको होला । धुनियाँका बारेमा सुन्नु भएको होला । यो प्रसङ्ग हो, कोलकाताको । मध्य सहरको एउटा गल्लीमा एक दिन एउटा धुनियाँ घुम्दै थियो । ए, सिरक बनाउने, डस्ना बनाउने ! भन्दै, जाँदै गर्दा कसैले उसलाई पसलतिरबाट बोलायो, ‘ए, सिरकवाला भाइ, यता सुन ।’
‘हजुर मालिक !’
‘यतापछाडि आँगनतिर जाऊ, एउटा सिरक बनाउनु छ । मुनिमजीलाई भेट ।’
‘हजुर, हस् मालिक !’
त्यसपछि धुनियाँ पसलछेउको गेटबाट छिरेर आँगनतिर गयो र मुनिमजी कता होलान् भनेर यताउता हेर्न थाल्यो । मुनिमजीले उसलाई देख्नेबित्तिकै कसलाई खोजेको, के हेरेको भने । उसले आफूलाई मालिकले भित्र पठाएको, सिरक बनाउन आदेश पाएको र त्यसका लागि रुवा चाहिएको कुरा बतायो । मुनिमजीले उसलाई आँगनभन्दा उत्तर गोदाम भएको क्षेत्रतिर लगे । धेरै वटा गोदाममध्ये रुवाको गोदामको सटर उघारे । जब गोदामको सटर उघारियो, तब त्यहाँ भित्रको दृश्य देखेर धुनियाँ ट्वाल्ल प¥यो । त्यहाँ गोदामको आधाभन्दा बढी भागमा रुवाको बोरा चाङ मिलाएर राखिएको थियो । धुनियाँ टोलाएर हेरिरहेको देखेर मुनिमले ‘के हेरिरहेको ?’ भनेर सोधे । धुनियाँले ‘केही होइन’ भन्यो ।
त्यसपछि मुनिमले एउटा मुख खोलिएको एउटा बोराबाट चाहिए जति रुवा निकाल्न भने । धुनियाँले त्यसै ग¥यो । र, बाहिर रुखको छाहारीमा बसेर रुवा चुट्न थाल्यो । अरू दिन भए त्यो धुनियाँले एउटा सिरक तयार गर्न चाहिने रुवा चुट्न आधा घण्टाभन्दा बढी समय लगाउँदैनथ्यो । तर, त्यो उसले मरेर दुई घण्टामा रुवा तयार ग¥यो । रुवा पल्लामा हालेर सिउने बेलामा पनि सियोले तीन–चार पटक हात घोच्यो । यस्तो कहिले भएको थिएन । खासमा उसको मन सिरक बनाउने काममा लागिरहेको थिएन । जसोतसो सिरक बनायो । बुझायो । मुनिमले कति पैसा भनेर सोधे । उसले जति मन लाग्छ, मिलाएर दिनु भन्यो । अरू दिन ज्याला पनि तोकेरै माग्थ्यो ।
मुनिमले पैसा दिए, उसले थपक्क राख्यो ।
घर गयो, सिधै ओछ्यानमा गएर डङ्ग्रङ्ग लड्यो । स्वास्नी छक्क परी । सधैँ कामबाट फर्केपछि पहिले धारामा गएर खुट्टा धोएर मात्रै कोठामा पस्थ्यो ।
‘होइन, के भयो तपाईलाई ? सञ्चो छैन कि क्या हो ?’ स्वास्नीले सोधी ।
‘होइन, केही भएको छैन,’ उसले यति मात्रै बोल्यो र कोल्टे फर्कियो ।
‘अनि आज त जुत्ता पनि नखोली ओछ्यानमा सुत्नु भा’छ त ?’
‘ए !’ भन्यो र धुनियाँले जुत्ता फुकालेर ढोकाबाहिर राख्यो । फेरि ओछ्यानमा आएर डङ्ग्रङ्ग लड्यो । साँझ खाना खान बोलाउँदा पनि ‘तिमीहरू खाओ, म अलिपछि खान्छु’ भन्यो । जति बोलाउँदा पनि खान नआएपछि स्वास्नीले कोठामै खाना लगिदिई । उसले केही खायो, केही जुठो पारेर छोडिदियो ।
हुँदा–हुँदै ऊ बिरामी प¥यो । आफन्तहरू भेला भए । उपचारको सिलसिला सुरु भयो । कहिले यो अस्पताल, कहिले त्यो अस्पताल । कहिले यो झाँक्री, कहिले त्यो झाँक्री । कहिले यो औषधी, कहिले त्यो औषधी । अनेक खालका प्रयोग र प्रयास हुन थाले । त्यस्तैमा एक दिन कसैले उसलाई मनोचिकित्सक कहाँ लैजाने सल्लाह दिए । धुनियाँलाई मनोचिकित्सक कहाँ लगियो । मनोचिकित्सकले कहिलेदेखि यस्तो भएको हो भन्ने तिथिमिति बुझे । उनी त्यो कुन एरियामा काम गर्न गएका थिए भनेर साथी–सङ्गतिहरूलाई सोधे ।
उपचार चलिरहेको थियो । त्यस्तैमा एकदिन बिहान रनिङका क्रममा डाक्टरले त्यहाँको लोकप्रिय पत्रिका ‘अमर–उजाला’ पनि सँगै ल्याए । अनि उसको रिपोर्ट हेरे जस्तो गरेर नर्सलाई सोधे –
‘नर्स तिमीले आजको अमर–उजाला पत्रिका पढ्यौ ?’
‘अहँ ! पढेकी छुइनँ । किन डाक्टर साब ?’
‘खास केही होइन । तिमीले त्यो चम्पालाल मारवाडीको समाचार सुन्यौ कि भनेर ।’
जब डाक्टरले चम्पालाल मारवाडीको नाम लिए, धुनियाँले कान ठाडा–ठाडा पा¥यो । धुनियाँमा डाक्टरका कुराको प्रभाव प¥यो । तर, डाक्टरले केही थाहा नपाए जस्तो गरी पूर्ववतः नर्ससँगको कुराकानी जारी राखे –
‘त्यो मारवाडीको दस वटा रुवाका गोदाम थिए नि त्यो थाहा छ तिमीलाई ?’
‘थाहा छ डाक्टर सा’ब ! तर के भयो ? किन सोध्नु भा’को ?’
‘आज राति ती गोदामहरूमा आगो लागेछ । दमकलहरूले पनि निभाउन सकेनछन् !’
जब रुवाका गोदामहरूमा आगो लागेको कुरा कानमा प¥यो, लमतन्न परेर बेडमा सुतिरहेको धुनियाँ टुक्रुक्क परेर बस्यो ।
‘किन के भयो तपाईलाई ?’ डाक्टरले सोधे – ‘किन उठेर बस्नुभएको ?’
‘त्यो चम्पालाल मारवाडीको गोदाममा आगो लागेको कुरा साँचो हो डाक्टर सा’ब ?’
‘हो त । आजको अमर–उजालाको फस्ट पेजमै त्यो खबर छापिएको छ,’ डाक्टरले भने ।
रुवा गोदाममा आगो लागेको निश्चित भएपछि धुनियाँको मुहारमा खुसीको छाया देखियो ।
‘साह्रै राम्रो भयो,’ धुनियाँले मनको कुरा भन्यो, ‘म सोचिरहेको थिएँ, त्यहाँ भएका सबै बोराका रुवाको सिरक बनाउन मलाई कति वर्ष लाग्छ होला । मेरा साथी–भाइ सबै मिले भने पनि सकिँदैन होला । मेरा छोरा–नातिको पालामा पनि त्यो सकिँदैन होला । फेरि अचेल हाम्रा छोराछोरी हामीले गरे जस्तो काम गर्न उति मन गर्दैनन् ! ती गोदामका रुवा कहिले सकिन्छ होला ?’
त्यसपछि धुनियाँ ठिक भयो । कहिलेकाहीँ सोच्छु, मेरो नियति पनि त्यही धुनियाँको जस्तो छ । यता जान्छु यतै नमिलेको देख्छु । उता जान्छु उतै नमिलेको देख्छु । यसका कुरा सुन्यो, यसले नै कुरा नबुझेको जस्तो लाग्छ । उसका कुरा सुन्यो, उसले पनि कुरा नबुझेको जस्तो लाग्छ ।
यस्तो बेलामा म इनरुवा पुनरागमनको गर्भ–पीडा भोगिरहेको छु । छट्पटि बेहोरिरहेको छु ।
मलाई इनरुवामा पत्रकारिता गर्ने शैलीमा थोरै परिवर्तन गर्नु छ । किनकि यो मेरो ठाउँ हो । यहाँ पत्रकारिताको माध्यमबाट सकारात्मकताको मात्रा बढाउनु छ । नगरवासीको सोच्ने तरिकालाई परिवर्तन गर्नु छ । मेरो माटोमा भइरहेका गलत अभ्यासहरूलाई रोक्नु छ । पत्रकार मात्र होइन, सरोकारवाला सबैलाई जनताप्रति जवाफदेही बनाउनु छ । जनताका मनमा के–कस्ता प्रश्न छन्, ती सबैको सार्वजनिक रूपमा जवाफ माग्न–दिनसक्ने हैसियत उमार्नु छ । इनरुवामा कुनै पनि प्रश्न बाँकी हुनुहुँदैन । कुनै पनि प्रश्न सधैँ जवाफविहीन रहिरहन पाउँदैन ।
यसमा म आफ्ना तर्फबाट जति सक्छु, योगदान मिसाउँछु । किनकि यहाँको सोच्ने तरिका बदल्नु छ । कुनै पनि कुरालाई म कसरी लिन्छु र अरू कसरी लिन्छन् ? दुनियाँलाई बताउनु छ ।
०००
अब अलिकति माथिको संवाद–सन्दर्भको कुरा गरौँ ।
केही दिनअघि मलाई एउटा खास नम्बरबाट फोन आएको थियो । फोन गर्नेको आवाज ठ्याक्कै मेरो साथी किरण पोखरेलको जस्तो थियो । तर, किरण पोखरेलको नम्बर मेरो मोबाइलमा सेभ छ । म छक्क परेँ । किरण पोखरेलको आवाज नक्कल गरेर मलाई फोन गर्ने को हो त्यो ? म पत्ता लगाउन खोजिरहेको छु त्यो कलाकार जो दुरुस्त किरण पोखरेलको जस्तो आवाज बनाएर मान्छेहरूलाई फोन गर्दो रहेछ । यो विषयमा एउटा घच्चीको खोजी रिपोर्टिङ तयार गर्नु छ ।
०००
bisnupresad.bg@gmail.com