सेलिब्रिटी हुने घनचक्कर
 – सुविद गुरागाई

‘तपाईको नाम के हो दाजु ?’
‘मनोज महर्जन ।’
‘कहाँबाट आउँदै हुनुहुन्छ ?’
‘ठिमी ।’
‘अनि तपाईको ?’ नागरिक दैनिकमा रात्रि–डेस्कको कामका लागि सुन्धारा जाने क्रममा तीनकुनेबाट एउटै सिटको सहयात्री बनेका महर्जनलाई मैले आफ्नो नाम भनें ।
‘अनि तपाईको चाहिँ घर ?’
‘इटहरी,’ मैले भनें ।
‘ए ...!’ उनले केही बुझेजस्तो गरेर केहीबेर मेरो अनुहारमा हेरे अनि सोधे, ‘साँच्चि, कस्तो मान्छे हो द्वारिकलाल ?’
‘लौ ... कसरी थाहा पाउनुभो तपाईले द्वारिकलालको नाम ?’
इटहरीसँग कुनै प्रत्यक्ष साइनो नभएका महर्जनको मुखबाट अचानक द्वारिकलालको नाम सुन्दा म छक्क परें ।
‘अब थाहा पाउनै प¥यो नि ! पत्रिका हे¥यो उसैको फोटो, उसैको खबर छ । टिभि हे¥यो उसैको समाचार । रेडियो सुन्यो उही । फेसबुक हे¥यो उही । युटुब हे¥यो उही ।’
ठिमीका मनोज महर्जनलाई तपाई चिन्नुहुन्न । द्वारिकलाललाई पनि थाहा छैन, मनोज महर्जन को हुन्, के गर्छन् । मैले पनि पहिलोपल्ट गत शनिबार सुन्धारा जाने लोकल बसमा भेटेको । चिन्दिनँथें त्यसअघि ।
तर उनी चिन्दा रहेछन् द्वारिकलाललाई । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी । दुई सातादेखि युटुबको ट्रेन्डिङमा छन् । नेपाली मिडियाको समाचार र सम्पादकीयमा छन् । उनलाई चिन्ने नेपालीको संख्या एक करोडभन्दा माथि उक्लिसकेको छ ।
एक महिनाअघिसम्म केही लाखले चिन्ने मान्छेको पहिचान यसरी एकाएक करोडमा कसरी उक्लियो, जुन उचाइले इटहरीकै होनहार गायक प्रीतम आचार्यको लिटिल च्याम्स् विजय यात्राको चर्चा सेपमा पा¥यो । यसको अन्तर्यमा थोरै रोचक तर थोरै दुखद्, सबैले थाहा पाउनैपर्ने एउटा विशेष कथा लुकेको छ ।
एक दिन राति द्वारिकलालले अरू काम छोडेर पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्न एक करोड छुट्याउने निधो गरेछन् । उनको यो निधो केही वर्षअघि विराटनगरमा पर्शुराम बस्नेतको समूहले पत्रकार खिला ढकाललाई नाकमा मरणासन्न हुनेगरी हिर्काएको तर त्यो आततायी समूहलाई आजसम्म कुनै चित्तबुझ्दो कारबाही नभएको बरु राजनीतिक रूपमा एकपछि अर्को सफलता हात लाग्दै गएको घटनाप्रेरित रहेछ ।
त्यसपछि त के थियो, समाचार बिकाउने मसला खोजेर बसेका पत्रकारहरूले काम पाइहाले । मलाई पनि राम्रै रोजगारी मिल्यो । धेरै दिन भएको थियो फेसबुकको भित्तामा दिल खोलेर लेख्न नपाएको । यसबीचमा मैले उनका बारेमा फेसबुकमा के लेखें ? तपाईको जिज्ञासा समाधानका लागि केही बुँदाहरू थोरै रिक्याप गरुँ ।
सुरुमा एक–दुई वाक्य अङ्ग्रेजीबाट बोल्ने, बोली सकेपछि उनलाई सुनिरहेको मान्छेको अनुहारतिर हेर्ने र आफ्ना कुराको खासै प्रभाव नपरेको देखी ‘अङ्ग्रेजी बुझ्नुहुन्छ तपाई ?’ भनेर सोध्ने विशिष्ट बानी छ द्वारिकलालको, तर म त्यसो गर्दिनँ । ‘सेलिब्रिटी’ शब्दको अर्थ तपाईलाई थाहा छ । जब कसैलाई उसले नचिनेका व्यक्तिले पनि चिन्न थाल्छन्, त्यस्ता व्यक्ति सेलिब्रिटी हुन्छन् । यहाँ म उनै एकाएक दुई साताभन्दा बढी युटुबको ट्रेन्डिङमा रहन सफल सेलिब्रिटी द्वारिकलाल चौधरीका बारेमा चर्चा गर्न लागेको छु ।
आफूलाई सामान्य मोही किसान थारुको छोरो बताउने द्वारिकलाल चौधरी एकाएक कसरी सेलिब्रिटी भए ? अथवा उनी सेलिब्रिटी हुन कसरी प्रेरित भए ? पृष्ठभूमिमा यसका लागि सहयोगी कोको छन् ? सारा प्रश्नको जवाफ मिडियामा आइसकेको छ । यहाँ म मात्र मेरो केही अनुत्तरित जिज्ञासाहरू राख्न खोज्दै छु ।
पत्रकारलाई धक्का लगाएर वा अरू अनपेक्षित घटना गराएर मान्छे सेलिब्रिटी हुने घनचक्करमा कसरी भुमरिन्छ ?
...
विषयको उठान प्रस्थानबिन्दुबाट गर्दा ठिक होला । त्यो बेला सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियाको राप उत्कर्षमा थियो । एकाएक इटहरीको जनताबस्ती मैदानमा परिवर्तनकामी मान्छेहरूको भिड जम्मा पारियो । म, द्वारिकलाल चौधरीलगायत सयौं रमिते त्यहाँ थियौं । हाल नेकपाका अध्यक्ष ‘कमरेड’ पुष्पकमल दाहाल प्रचण्डलाई फूलमाला–अबिरले अनुहार नचिनिने पार्न बन्दोबस्त राम्रै गरिएको थियो । वरिपरिको सुरक्षा घेरा जनमुक्ति सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार तहको थियो । माझमा हामी थियौं ।
स्वागत–सम्मान, महान् सर्वहारा क्रान्तिको जयगानपछि शुभेच्छुक र रमितेको भिडलाई सम्बोधन गर्दै प्रचण्डले भने–
‘हाम्रो महान् सर्वहारा क्रान्तिको मानमर्दन गर्न, शान्ति प्रक्रिया भाँड्न, हामीलाई अप्ठेरोमा पार्न, कम्युनिस्टहरूको अस्तित्व सिध्याउन केही पत्रकारहरू विदेशी गैरसरकारी संस्थाको हण्डी खाएर लगातार कलमहरू चलाइरहेका छन् । हाम्राविरुद्धमा लाग्ने यस्ता पत्रकारलाई कसैले एक–दुई धक्का दियो भने पनि फरक पर्दैन । हामीलाई पत्रकारिताको आडमा धेरै जिस्क्याउने काम नगरियोस् । यदि पत्रकारहरूबाट यसरी हाम्राविरुद्धमा निरन्तर प्रहार भइराख्छ र त्यसको प्रतिवाद हाम्रा समर्थक न्यायप्रेमी कार्यकर्ताबाट हुन्छ भने त्यसको जवाफदेही स्वयं पत्रकारहरू नै हुनेछन् ।’
भिडको करिब आधा हिस्साले पर्रर ताली बजायो । यस्तो सुन्दै खुन तात्ने कुरामा सेलिब्रिटीहरुले ताली बजाउन भनिराख्नु पर्दैन ।
कुरो निकै वर्षअघिको भएकाले शब्दहरू केही तलमाथि भए पनि मनासय यही थियो । त्यसबेला उनले ‘हामी हातमा दही जमाएर बस्दैनौं,’ पनि भनेका थिए । तर त्यो प्रसङ्ग अलि असान्दर्भिक हुने भएकाले यहाँ ‘कोट’ गर्न चाहिनँ । ‘केही पत्रकार’ भन्दै नाम नखुलाई, जुन पनि पत्रकार हुनसक्ने आशंका उत्पन्न हुने, कार्यकर्ता उत्तेजित पार्ने र कुनै पनि अनपेक्षित घटना गराउने क्षमतानिहित प्रचण्डको यो भाषण मेरो मनमा आजपर्यन्त बसेकै छ । द्वारिकलालको मनमा पनि रहेछ ।
त्यसैको पछिल्लो संस्करण आफ्नै शैलीमा रूपान्तर गर्दै द्वारिकलालले भने, ‘मेराविरुद्ध केही पत्रकारलाई प्रयोग गर्न थालेका छन् । म त्यस्तालाई एक–एक गर्दै, कालोमोसो दल्दै, टिन ठटाउँदै नगरपरिक्रमा गराउँछु । भाटे कारबाही गर्छु, लात्तले हान्छु । नाकको डाँडी भाँच्छु । यसका लागि मैले एक करोड छुट्याइसकेको छु ।’
उनले यसलाई संसारको सबैभन्दा उत्तम नीति मानिने इमानदारिताको सुगर–कोटेड खोलले बेसरी बेरेर खोलबाहिर ‘पीत पत्रकार र भ्रष्टाचारीविरुद्ध हुने जनकारबाही’को प्याकेज बताएका छन् । जसको विशेष आकर्षणमा आज समाजमा व्याप्त विसंगति, विकृति, भ्रष्टाचार नजिकबाट देखेका निराश युवाहरू परेका छन् ।
दण्डहीनता बढ्दो छ ।
...
‘तपाई नगरप्रमुखजस्तो सबैको अभिभावक हुनपर्ने, कानुन कार्यानवयन गराउनुपर्ने पदमा बसेको जिम्मेवार व्यक्तिले यसरी खुलेआम कालोमोसो दल्छु, कुट्छु, मार्छु, कानुन हातमा लिन्छु भन्न मिल्छ ?’ पत्रकारहरूले सोधे ।
‘मिल्छ, किन मिल्दैन ?’ उल्टै प्रतिप्रश्न गर्दै द्वारिकलालले भने, ‘आजसम्म कुन भ्रष्टाचारीलाई, कुन पीत पत्रकारलाई कानुनी कारबाही भएको छ मलाई देखाउनुस् । विराटनगरमा पत्रकारको नाकको डाँडी भाँच्नेलाई के कारबाही भयो ? उसले त भाँची नै दियो । मैले त भाँच्छु मात्रै भनेको छु । रिस उठेको बेला कसैले वेद पढ्छ ? हेर्नुहोस्, यो कानुन, प्रहरी–प्रशासन, अदालत भनेको कमजोरहरूका लागि मात्रै हो । हामीजस्तो शासकका लागि होइन । ल ... मैले पत्रकार विराट अनुपमलाई ओपेन च्यालेन्ज दिएँ । कहाँ जानुपर्छ जान भन्नू, के गर्नुपर्छ गर्न भन्नू !’
समस्या त त्यहाँबाट सुरु हुन्छ, जब नेतृत्व भिड प्रभावित भएर चाहिने–नचाहिने कुराहरू बोल्न थाल्छ । भनिन्छ भिडमा अनुवाद भएपछि विद्वान र मूर्खमा फरक रहँदैन । त्यसैले बाटो हिँड्दा भेटिने भिडसँग म जहिल्यै सुरक्षित हुने प्रयास गर्छु । सेफ्टी फस्ट । सकेसम्म आफूलाई सुरक्षित ठाउँमा राखेर बाँकी कुरा सोच्छु । भिड जहिल्यै सेल्फ सेन्सरसिप र इग्नोर (स्वनियन्त्रण र अस्वीकार)को कारण हुनेगरेको छ । पत्रकारितामा यो घातक हो, तर भइरहेको छ त्यही ।
भिडमा धेरैपटक नेतृत्वद्वारा पत्रकारिताविरुद्ध विष घोलिएको छ । एका बिराउने सारा पिराउने पारिएको छ । आन्दोलनका क्रममा पत्रकारलाई हल्का धक्का लगाउन पाइयो भने आन्दोलन त भड्किन्छ नै कभरेज पनि राम्रै हुन्छ भन्ने गलत मानसिकताको भुत्भुते समाजमा ठाउँठाउँमा छाडिएको छ, जो बेलाबेलामा आगो बनेर ह्वार्रर दन्किन्छ र त्यही दन्कोमा आतातायीहरू रातारात सेलिब्रिटीजस्ता देखिन्छन् ।
...
कसैलाई कालोमोसो दल्नु, टिन ठटाएर गाउँ वा सहर घुमाउनु, टाउकोमा गु खन्याउनु, चारपाटा मुड्नु, जुत्ताको माला लगाउनु, घाँटीमा जाँतो झुन्ड्याउनु, सुँगुरको पाठा बोकाउनु, गाउँघर निकाला गर्नु, भाटे कारबाही गर्नु, थुकेको थुक चाट्न लगाउनु, गोडा ढोग्न लगाउनु, डाँडा कटाउनु, जात हटक गर्नु, सामाजिक बहिस्कार गर्नु, बोक्सीको बात लाउनु, रन्डी भनेर अपमान गर्नु, छोइछिटो गर्नु, जातीय भेदभाव गर्नु, मलमुत्र खुवाउनु, कान समातेर उठबस गराउनु, कुखुरा बनाउनु, पुन्युले डाम्नु, झीर रोप्नु, कुट्नु, दास बनाउनु, नाङ्गेझार पार्नु, बलात्कार गर्नु वा गर्न लगाउनु, सामूहिक ढुंगाले हान्नु, तेजाब हाल्नु, हात काट्नु, आँखा फुटाउनु, झुन्ड्याउनु, बोरामा बाँधेर पानीमा बगाउनु, विष पिउन बाध्य पार्नु, विषालु जनावरले टोकाउनु, मृत्युदण्ड दिनु आदि बर्बरकालीन समाज तथा निरंकुश शासकले सोच्ने र अपनाउने सजायका प्रकारहरू हुन् । सभ्य समाजको कलंक र कानुनद्वारा निर्मूल गरिएका अपराधहरू हुन् ।
तर म छक्क पर्छु, इटहरी नगरप्रमुख प्रकरणमा जोडिएर मेरा कतिपय अधिकारकर्मी र सञ्चारकर्मी साथीहरू नै ‘भ्रष्टाचारीलाई कालोमोसो दल्छु, टिन ठटाएर सहर घुमाउँछु, भाटे कारबाही गर्छु, जनकारबाही गर्छु,’ भनेको लाई ठिक ठहर गर्दै ‘भ्रष्टाचारीलाई गर्नुपर्ने नै त्यही हो,’ भनिरहेका छन् ।
स्मरणीय छ एकपटक रवीन्द्र मिश्रले ‘भ्रष्टाचारीलाई कीरा परोस्,’ भन्ने अभियान चलाउँदा अधिकारकर्मी र जनस्तरबाट निकै विरोध भएको थियो । पछि उनले त्यो नारा सच्याएका थिए ।
म छक्क पर्छु, २१ औं शताब्दीमा पनि हाम्रो दिमागमा यस्तो सजायको बिम्ब किन आउँछ ? के हाम्रो सोच अझै एकतन्त्रीय राणाकालीन समाजको स्तरभन्दा माथि उठ्न सकेको छैन । विधिको शासन पालना र कानुन कार्यान्वयन गर्ने निकायमा भएका व्यक्ति (नगरप्रमुख) नै कानुनी होइन, बर्बर सजायका प्रकारहरू दिमागमा बोकेर हिँड्छन् भने त्यसले उनका समर्थक र सर्वसाधारण माझमा कस्तो धारणा निर्माण गरिहेको छ ? समाजमा कस्तो नजिर स्थापित भइरहेको छ ? के हामीले चाहेको समाज र नेतृत्व यस्तै हो ?
...
एकपटक नागरिक पूर्वेली डेस्कको काम सकेर विराटनगरबाट घर फर्किंदै गर्दा दुहवीमा हातमा लाठी–दाउरा लिएका थुप्रै मान्छे नेपाल बैंकनेर झुरुप्प भेला भएका थिए । उनीहरूमध्ये केही अलि परतिर केही मान्छेलाई घेरेर भिडन्तको स्थिति उत्पन्न गर्दै थिए । मैले मोटरसाइकल रोकेर कुरा बुझ्न चाहें । तर मैले मोटरसाइकल रोकेको देख्नासाथ एउटा युवा हुर्रिएर मतिर आयो र भन्यो–
‘तपाई यहाँबाट गइहाल्नू । यहाँ जे पनि हुनसक्छ । यहाँ अहिले पत्रकारको काम छैन !’
अब म के भनुँ ! रातिको मामलो । अनुहार तम्तमाइलो पारेर हिँड्नुबाहेक केही उपाय थिएन ।
अर्को एकदिन पहिचानवादी आन्दोलनको उत्कर्ष बुझ्न म र मित्र नवीन गड्तौला मोटरसाइकलमा इनरुवातिर जाँदै थियौं । तित्रिवनमा लाठीधारीहरूलाई घेरा हालेर राजमार्गमा बसेका थिए । हामीले हामी पत्रकार हौं, रिपोर्टिइको सिलसिलामा हिँडिरहेका छौं भनेर जान दिन आग्रह ग¥यौं ।
‘सट्का (सिर्कनो) खान मन छ ? मन छ भने जानू । नभए फर्किनू, पत्रकार–सत्रकार थाहा छैन हामीलाई,’ एउटाले भन्यो । हामी चुपचाप नहरको बाटोतिर लाग्यौं । हामीलाई सट्का खान मन थिएन ।
केही दिनअघि द्वारिकलालको गाउँ लबिपुरमा उनकै छिमेकी साइकल मिस्त्रीको काम गर्ने एकजना थारु युवाले मेरो मोटरसाइकलमा प्रेस लेखेको देख्नेबित्तिकै पत्रकार सबै गलत समाचार लेख्नेमात्रै छन्, तिमी गइहाल यहाँबाट। नत्र कुटाइ खाउला भनेको पनि झल्झली सम्झिँदै छु म यो बेला ।
‘के द्वारिकलाल बेइमान हुन् ?’
एकदिन बिहान आदरणीय धनराज गिरी दाजुले मलाई एकाएक सोध्नुभयो ।
मैले भनेँ –
अहँ ! उनलाई सोझै बेइमान भन्न मिल्दैन । तर जब स्वाभिमान अभिमानमा रूपान्तर हुन्छ, कल्पना स्वैरकल्पनामा र इमानदारिता घमण्डमा बदलिन्छ, त्यसपछि बेहोर्नुपर्ने समस्या अर्कै हुन्छ । अहिले भएको समस्या यही हो ।
कहिलेकाहीं मलाई पनि त्यस्तै हुन्छ ।
...
bisnuprasad.bg@gmail.com

स्वाभिमानको ट्रेलर


स्वाभिमानको ट्रेलर
- सुविद गुरागाई

‘दुनियाँ में और भी गम है मोहब्बत के सिवा’ भने जस्तो एउटै कुरामा अड्किएर बस्ने मेरो बानी कदापि थिएन । तर इनरुवाको सवालमा त्यही भइरहेको छ । अथवा यसो भनौँ, त्यही हुन परिस्थितिले बाध्य पारिरहेको छ ।
एक साँझ गेहेन्द्रको पसलअगाडि नवीन सरको सन्दर्भकै कुराकानी हुँदै गर्दा इनरुवा नगरप्रमुख राजन मेहताले मलाई भने–
‘गुरु तपाई यस्ता–यस्ता कुराहरू लेख्नुहुन्छ कि कुन दिन तपाईलाई कसैले मारिदिन पनि सक्छ !’
जवाफमा मैले के भनेँ हुँला ? तपाई अनुमान गर्न सक्नुहुन्छ ।
मैले भनेँ, ‘अब मर्नसँग के डराउनु यार ! जसोतसो ५१ वर्ष भइहालियो । अनि अर्को एउटा सायद तपाईलाई थाहा छैन, म ब्लगर पनि हुँ । हो, यस्तै तपाईहरू जस्तै शुभेच्छुकहरू पनि हुने भएर होला धेरै ब्लगरहरूको हत्या भएको !’
मैले अहिलेसम्म यो यति संवेदनशील कुरा एक–दुई जना मित्रबाहेक कसैलाई भनेको थिइनँ । तपाईलाई थाहै छ यदि मैले त्यो बेला चाहेको भए तत्काल विज्ञप्ति जारी गरेर ‘नगरप्रमुखद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की’ शीर्षकमा समाचार छपाउन सक्थेँ तर मैले त्यसो गरिनँ । किन ?
किनकि मलाई इनरुवा नगरप्रमुख राजन मेहताका बारेमा यस्तो नकारात्मक टिप्पणी गर्न÷लेख्न मन छैन । मनको कुरा गर्नुहुन्छ भने म उनले पक्षधर मान्छे हुँ । उनले गरेका राम्रा कामहरूको प्रशंसा गर्दै एकपछि अर्को फिचर लेख्न चाहन्छु । तर यसबेला इनरुवाको हकमा राजन मेहता सम्झ्यो कि नवीन सरले बेहोर्नु परिरहेको अन्यायको सम्झना झलझली भइदिन्छ । अनि मेरो कलम रोकिन्छ राजन मेहताको प्रशंसामा शब्दहरु खर्च गर्न ।
जब म इनरुवामा कुनै बेढङ्गको (गलत) काम भएको देख्छु, राजन मेहताले हात जोड्दै गरेको रङ्गीन तस्बिर र घोषणा–पत्र दुवै एकसाथ सामुन्ने आइपुग्छन् । हेर्दाहेर्दै चित्त कँुडिन्छ ।
पछिल्लोपटक नवीन सरको घरअगाडि टाँसेको ‘यो घरजग्गा बिक्रीमा छ’ भन्ने सूचनाको फोटो खिचेर इटहरी फर्कँदै गर्दा जिल्ला अदालतअगाडि एउटा प्रयोजनविहीन टेलिफोनको पोल बीचमै राखेर बनाएको सडकमा खकारेर अघि बढ्न मन लागेको थियो तर थुकिनँ । किन ?
मित्र राजु ढकाल त्यहीँ थिए । मित्रलाई देखाइदेखाई के खकार्नु भन्ने सोचेर खकारिनँ ।
यस्तो बेढङ्गको सडक बनाउन सहमत हुने नगरप्रमुख मेहता ज्यादतीसहित नवीन सरको घर भत्काइएको प्रकरणमा भने सार्वजनिक रूपमा साक्षी किनाराको सदर भएर चुपचाप बसेको दृश्य जति सम्झियो त्यति दुःख लाग्छ ।
नवीन सरको सवालमा सबैलाई थाहा छ, यदि नवीन सर नवीनचन्द्र साह नभएर नवीनचन्द्र मेहता हुन्थे भने उनको घर कुनै अर्थमा पनि भत्किने थिएन । इनरुवाको ग्राउन्ड रियालिटी यही हो । सायद कथाको माग पनि अब यही हुनेछ ।
...
बाँकी ‘स्वाभिमान बिक्रीमा छ !’ शीर्षकअन्तर्गत फन्टुस फिक्सनको ब्रान्ड न्यु इपिसोडमा ।