कविता

चर्को मध्यान्न

–सुविद गुरागाईं

२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे
यो त्यही बेला हो
जतिबेला तिमीलाई आभास थिएन
कुनै प्रलयको
तिम्रो बलौटे विश्वासमाथि
एउटा थोपा पहिलो धक्का दिन
उत्तेजित भइसकेको थियो
रति विश्वास थिएन तिमीलाई
तित्रीगाछी भङ्गालोले नाघ्ने बेला भयो
कुविचारको सिमाना
डङ्गर गिद्धको लोपोन्मुख छाया
चर्को मध्यान्नमा
स्थानीय जडताको सिनोगन्धमाथि
लालयित भइबसेका साक्षी सिमलका रुखहरू
एक–अर्कामा कस्दै थियौ अपत्यारको डोरीले
भयभित म खलखल
न रुनु, न हाँस्नु, न पागल हुनु
हेर्दा–हेर्दै बग्न लागेको अन्तिम सीमास्तम्भ
डब्लू पी १९५ अब्लिक ९ नजिकै
पोलियो उद्दार टोली
फोटो सेसनमा रमाइरहेको भद्दा दृश्य
क्षतविक्षत चेतना कुल्चिएर पूर्वतिर
ओ ! घटिया इन्जिनियर,
खण्डन विज्ञप्ति लेख्दालेख्दै किन भागेको ?
हराएको सात हजार बिघा जमिन हुँदै
रानीगञ्ज भन्सारको किनारै–किनार
भर्खर दुई लाख ६५ हजार क्युसेक पुगेको छ
हाम्रो आवेग र दरिद्रता
पर्ख एकछिन अरू रमिता सङ्कलन गर
नागरिकतासँग भोट साट्न तयार अर्धदक्ष जनशक्ति
कोसीमा फालेको पैसामा चुम्बक अल्झाएर तान्न
सत्र ठाउँ टालेको पुँवाले जाल र धस्ना छेऊ
भोक उग्राइरहेको राम–रमिता हेरिबस ।
र, नयाँ पटकथा लेख ओस्कार जित्न
विस्थापित र सट्टाभर्ना सपनाहरूको ।
भ्रष्ट मधेस मुद्दाको ।
रोटी, बेटी र पानी सम्बन्धको ।
दशगजा हराएको ।
०००

गजल ... जानी–नजानी 

–सुविद गुरागाईं

जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि ! 
रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ! 

हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ? 
डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि ! 

एक्लै बांचुलां जोगी बनुलाँ अरू सक्दिनं सोच्न, 
हुने–नहुने कसम खाएको तिम्रै लागि त हो नि ! 

पागल भनिएं, हुस्सु भनिएं, बुझ्ने भएन कोही, 
सधैं एउटै गजल गाएको तिम्रै लागि त हो नि ! 


 (इटहरी–२, हलगडा, सुनसरी)
bisnuprasad.bg@gmail.com