इटहरेली कविको होमलञ्च


सुविद गुरागाईं
कविता किन लेखिन्छ ? सनातनदेखि एउटा पुस्ताले अर्को पुस्तालाई सोध्दै आएको सामान्यज्ञानको जवाफ दिनु उति सजिलो छैन । नामका लागि, दामका लागि वा आत्मसन्तुष्टिका लागि ? आफ्ना लागि वा अरूका लागि ? यसमा अनेक अलमलहरू छन् । कतिलाई लाग्छ, आखिर काम गर्ने उर्जाशील समय कल्पनाको उडानमा किन व्यतित गरिरहेछन् कविहरू ?
हामी कवितामा समुद्रमा, खोलामा, तालमा, पोखरीमा वा धारामा टिलपिल पानी देखेर ‘वाह पानी ! क्या पानी !’ भन्दै रमाएजस्तो नियतिबाट अलिकति भित्र पस्न नसकेको हो कि भन्ने समकालीन अनुभूति छ । हावामा पानीको पर्याप्त मात्रा हुन्छ, कलात्मक विज्ञानसम्मत तरिकाले बुझ्ने–बुझाउने तरिकाको नितान्त अभावै छ । यसका लागि उचित रूपमा सोच्नु र उचित रूपमा लेख्नु जरुरी छ । उसैगरी उचित सिर्जनाहरूले उचित पाठक तथा स्रोता पनि पाउनैपर्छ ।
बुझ्नेका लागि कविता धेरै शब्द चाहिँदैन । भोको घर, सेतो धरती, जनताको भरिया, परेवा सेता–काला, ल्याम्पोस्टबाट खसेको जून, घर फर्किरहेको मानिस, तमोसोत्सव, देश खोज्दै जाँदा, जूनको आगोे, पागल बस्ती, यो जिन्दगी खोई के जिन्दगी ?... आदि पदावलीले सुन्ने–पढ्नेलाई एउटा पूर्ण कविताको चरम सन्तुष्टि दिइसक्छन् । पाठक–स्रोताको मनमा प्रतिक्रियाको पहिरो जानुअघि थाहा हुन्छ, यी साहित्यिक छन्, यिनमा कविता छ । इमर्सनले त भाषण पनि एउटा क्षुद्र किसिमको कविता हो भनेका छन् ।
भर्खर अन्तर्राष्ट्रिय उपाधि जितेको सम्मानित कविताको होमलञ्चमा विशिष्ट उपस्थितिले इटहरेली कवि गणेश खड्काको खुलेरै प्रशंसा ग¥यो । अग्रज स्रष्टा बद्रीविशाल पोखरेलले भने, खड्काका कविता जीवनका लागि हो । सुन्नेका मनमा तर्कनाका हजार ज्वारहरू आए–गए । समुद्री किनारमा क्षितिज हेर्दै बसेको यायावरीको जीउ लहरले बिस्तारै छोएर गएजस्तो आनन्ददायक थियो समय ।
स्रष्टा फाउन्डेसनले जुटाइदिएको प्रतिनिधि जमघटमा कवि खड्काका कवितासँग पहिलो साक्षात्कारको विशिष्ट अवसर थियो । यो धरतीमा भएका अनेक सुन्दर सिर्जनाहरूमा एउटा अर्को सिर्जना थप्न साधनारत कविसँग अपेक्षा गर्ने धेरै ठाउँहरू देखिए । यद्यपि कविता सबैले लेख्छन् तर सबै कवि हुँदैनन् । त्यसमाथि धेरै कविहरू चिनिएकै हुँदैनन् । कवि खड्का पनि अहिलेसम्म विलुप्त नै थिए । भर्खर थाहा हुँदैछ, उनीभित्र सुन्दर कविता सिर्जना गर्ने पर्याप्त रेडियम लुकेको रहेछ ।
अग्घोर मानवेत्तर मान्छेजस्ता आकृतिहरू
युद्धोन्मादमा आकासको फैलावट र
धर्तीको विशालता सीमातिक्रमण गरेर
मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’को
खण्डित भागबन्डा लगाउँछन्...
‘अविजित प्रदेशका अविजेय योद्धाहरू’ शीर्षक राखेर खड्काले लेखेका यस्तै शब्दहरूले नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका लागि निर्णायकहरूको मन छोयो । नभन्दै, कविताले तेस्रो अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा पहिलो भएर एक हजार डलरको ‘हेम–सरिता पाठक काव्य पुरस्कार’ जित्यो । त्योभन्दा ठूलो कुरा, खड्कालाई इटहरीले निकै ‘मिस’ गरिरहेको थियो, जुन आत्मआनन्द सार्वजनिक हुने अवसर मिल्यो । कुनै सिलौटे ढुङ्गामा कलापारखीले बुद्ध आकृति पहिचान गरेजस्तो ।
खड्का २०५२ सालतिर रङ्गकर्मी पहिचानमा निकै रुचाइएका थिए । नाटक लेखन, निर्देशन र अभिनयका लागि चिनिँदा–चिनिँदै उनी बीचमा कता गए, न धनकुटालाई थाहा भो, न इटहरीलाई । केही समय, जनतालाई काम र माम दिन नसक्ने राजधानीको गन्धे हावा सुँघेर अघाएपछि बनीबुतोका लागि पूर्वी अफ्रिकी मुलुक ससेल्स पुगेका रहेछन् । जमघटमा थाहा भयो, सेसेल्सबासी आफूलाई अफ्रिकी भन्न उति रुचाउँदा रहेनछन् । म सोचिरहेको थिएँ, खड्काका कवितामा पनि सात समुद्र पारीका विशेषगरी अफ्रिकी पीडाका यस्तै अनुभूति होलान् । तर, म गलत रहेंछु । उनी त त्यति सुदूरमा पुगेर पनि बेला–कुबेला नेपालकै मायामा लछ«प्प हुँदा रहेछन्, सायद हामीभन्दा बढी ।
मधेसका सहकालहरू
समानुपातिक भएर सर्लक्क
कर्णाली प्रवेश गरुन्
दुःख बाँडियोस्–सुख बाँडियोस्
भोक बाँडियोस्–भोजन बाँडियोस्
तर कदाचित्
देश भागबन्डा नलागोस् ।
मैथ्यु आर्नोल्डले कविता जीवनको आलोचना (समीक्षा) हो भनेका छन् । विल्सनका विचारमा कविता अनुभूतिले रङ्गिएको विवेक हो । कवितामा सौन्दर्य भएर मात्र पुग्दैन, सुन्नेको हृदयलाई डोहो¥याएर लैजाने शक्ति तिनमा हुनुपर्छ भन्छन्, होरेस ।
कसैले कविता अस्वीकृत विद्यालय हो भनेका छन्, जति अध्ययन गरे पनि हुने । जे अर्थ लगाए पनि हुने । आफूलाई चाहिए जति आनन्द लिन पाइने । कोही भन्छन्, कविता खुला विश्वविद्यालयमा पढिने परिष्कृत विधा हो, यसमा कविले आफूखुसी अध्ययन गर्न पाउनुपर्छ । अनि कवि ? महाकवि पर्सिविस शेलीका शब्दमा भन्दा कवि संसारको अस्वीकृत व्यवस्थापक हो । कवि खड्कामा पनि अरू नाम चलेका ‘अस्वीकृत व्यवस्थापक’हरूमा जस्तै पागलपन र प्रेमिल भावका पर्याप्त लक्षणहरू छन् । ‘मनोवाञ्छा’मा उनले सुनाए,
मनका पटाङ्गीनीहरू मुकुलित पुष्पझैं
अकलुषित परागसेंचन गर्दै
अथाह÷अखन्डित÷अक्षत
कसैले हिम्मत गर्न नसकेको भर्जिन भूमिमा
समदर्शी बिजनको गर्भाधान गरेर
अकिञ्चन बस्तीको परिसरभरि
ढकमक्क पक्रिउन्
वंशको अक्षुण्णता कायम राख्दै...
कलरिजका अनुसार कविता विज्ञानविपरीत विधा हो । यसको मुख्य लक्ष्य आनन्द हो, सत्य होइन । तर, विज्ञान र आनन्द दुवैको सेरोफेरामा खड्काका कविताहरू छन् । उनी जीवन भोगाइको संवेदनालाई उत्तोलक सिद्धान्तसँग जोडेर कथन गर्न रुचि राख्छन् । ‘कोप्चेरो स्वार्थको जङ्गली भूत लागेर÷मपाइँत्वको आत्मश्लाघाले ग्रस्त÷ हिनताबोधको सियाशिकारीले भेटेका÷विचारका लघुताभास...’ जस्ता छाडा अन्धविश्वासहरूलाई विज्ञानको लङ्गौटी लगाउन मन पराउँछन् ।
समीक्षकहरू भन्छन्, खड्काका कविता गाउँघरतिरकै सरल र मिठा विम्ब हुन् । केही टर्रा पनि छन् । तर, टर्रा भए पनि ती औषधीय गुणयुक्त छन् । हामीले देखेभोगेका पैतृक विम्बहरू उनले लोकजीवनबाट टपक्क उठाएका छन् । कविताका लागि भित्रैबाट मन छुने स्वाभिमानी प्रतीकहरू सजाउन खड्का सिपालु छन् ।
युद्ध भित्र बाहिर जहाँबाट गरे पनि
मान्छेले मान्छेलाई मार्ने
सबैभन्दा ठूलो अपराध हो ।
आफैं मारेर आफैं क्रियापुत्री बस्नुपर्ने
अन्ततः युद्ध जितेर पनि हार्नुपर्ने...
सुविचारको कल्पवृक्ष झाँगियोस् ।
जमघटमा कलाकार विक्रमश्रिले कविलाई भने, सबै नेपालीले गर्व गर्नलायक कविता बनाएकोमा कवि खड्कालाई धन्यवाद ! जवाफमा कविले प्रष्टीकरण दिए, ‘सबै नेपालीले गर्व गर्न लायकको कविता लेखिन (लेख्न) बाँकी छ ।’
थाहा छैन, नदीको पानीले कति वर्षदेखि कति ढुङ्गाहरूलाई चुम्यो होला ? कति वरपरका बोट–बिरुवाहरूलाई छुँदै, कति फड्के तर्नेहरूलाई बिदाइको हात हल्लाउँदै, कति फोहोर गर्नेहरूसँग चित्त दुखाउँदै अघि बढ्यो होला ? कति छेस्का–काँडाबाट घोचियो होला ? कति माटो–कमेरोसँगै धमिलयिो होला ? कति खोला–खोल्सीसँग रउसिँदै बास बस्यो होला ? जे–जस्तो परे पनि नदीले सङ्गीतको आनन्द सिर्जना गर्नमा रति पनि सम्झौता गरेको छैन । कवि खड्काले जीवन भोगाइको यस्तै अनुभूतिले अनेक शब्द–चित्र बनाएका रहेछन् । कारनायलले सङ्गीतमय विचारलाई कविता भनेका छन् । विश्व साहित्यमा पहुँच बनाएका खड्का पनि कविताका लागि निरन्तर यस्तै शब्द–सङ्गीत एरेन्ज गरिरहेछन् ।
नेपाल प्रायः चुनावको हल्ला चलाएर विदेशी मुद्रा भिœयाउन सिपालुहरूको मुलुक बन्दै गएकोमा कवि खड्काको चित्त कुँडिएको रहेछ । भूपि शेरचनले ‘यो हल्लै–हल्लको देश’ भनेको तीन दशकको अन्तरालमा कवि खड्काले हल्लावाजहरूलाई ‘धतुरेहरू’ को संज्ञा दिए र आफूलाई विद्यमान परिपाटी किमार्थ मन नपरेको तर्क लेखे ।
फेक नोट आर्जित पोस्टर टाँसेर
रातोदिन गरिरहुन् इमानको निर्वाचन
मेरो स्वकीय अडान रक्षार्थ म
पूर्वोक्त धतुरेहरूको पक्षमा
मतदान गर्दै–गर्दिनँ ।
खड्काले अरू कतिपय कविले जस्तो मिडियामैत्री हुने अवसर पाउलान्–नपाउलान् भन्न गाह्रो छ । किनकि उनले नेपाली कविता साहित्यमा सकारात्मक हस्तक्षेप गरिसकेको खबर निकै दिन बितिसक्दा पनि हामीसम्म आइपुग्न पाएको थिएन । तर, यो धरतीले सिँचाइ सुविधा पहुँचको अवसरबाट जति नै वञ्चित गरे पनि हावामा भएका पानी–कणहरू सञ्चित गरेर भोलिका दिनमा नेपाली कविता फाँटमा आफूलाई जीवन्त बनाइराख्न सक्ने लोभलाग्दो क्षमता उनमा छ । नाहकमा बेवास्ता किन गर्ने ?
०००
तस्बिर : नवीन गड्तौला
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1333-nagarik-05-april-2013/2-nagarik.html