रि–भिजिटेड काठमाडौँ !
– सुविद गुरागाई

काउन्ट–डाउन सुरु ।
...
लक्ष्य नजिकिँदै छ । चुनौती थपिँदै छ । सकस बढ्दै छ । समयसीमा घट्दै छ । कथाको माग जे छ, छँदै छ । सहरले आइज भन्दै छ, गाउँले नजा भन्दै छ । दोबाटोमा देख्छु पागल, तारा झर्ने दिन गन्दै छ । देख्दिनँ कोही सन्तुष्ट यहाँ यो भीडमा आफ्नो मान्छे, त्यही भीडमा मिसिनलाई यो मन उत्ताउलो बन्दै छ ।
...
कस्तो होला मेरो मृत्यु ? खासगरी नेपाली ड्राइभरहरूले एकपछि अर्को गर्दै धर्म छोडिरहेको बेला कसले भन्न सक्छ, भोलि के होला ? पाश्र्वमा नमरी बाँचे कालले साँचे, चन्द्रागिरि कटेर चीसोसँग पौँठेजोरी खेल्नु छ । जे होला देखा जाला !
...
दुनियाँ अपेक्षित गतिमा छिटो–छिटो अगाडि बढिरहेको छ ।
‘यो ठाउँमा किरासरि मान्छे भइसके अनि बस्ने ठाउँ के पाइन्छ ?’ राजधानीमा, बसमा उभिइरहेकी महिलाले सकस मान्दै भनिन् ।
‘अरू कुरा त ठिकै छ, तर त्यो किरा भनेको चाहिँ अलि कस्तो–कस्तो सुनियो । त्यो किराको ठाउँमा पुतली भन्नुभए राम्रो हुने थियो कि !’
उनले मलाई चिनिनन्, हाँसिन् मात्र ।
...
प्रकाश नेपाली, सुविद गुरागाई संवार्ता ः
‘ओहो ! गुरागाईजी, के छ ?’
‘सर नमस्कार ! राम्रो छ सर ।’
‘अचेल यतै इटहरीमै बस्नुहुन्छ होइन ?’
‘हो सर, चोकबाट उत्तर हलगडा टोल छ, त्यतै छ बसाइ ।’
‘ए, अरू नयाँ खबर सुनाउनुस् !’
‘अब काठमाडौँबासी हुने योजना बनाउँदै छु, हेरौँ के हुन्छ ?’
‘ए, लु राम्रो । इनरुवाबाट यहाँ आउनुभयो, राम्रै भएको देखिरा’छौँ । राम्रै गर्दै हुनुहुन्छ । काठमाडौँ जाने भन्दा त्यो पनि राम्रै हो !’
‘योजना त बनाइयो सर तर सबै योजनाहरू पूरा हुन्छन् नै भन्ने हुन्न ।’
‘राम्रै हुन्छ । तपाई जत्तिको मान्छेले राम्रै गर्नुहुन्छ भन्ने विश्वास छ ।’
‘खै सर, अब सप्रिने हो कि बिग्रिने हो, अहिले नै कसरी भन्नु ?’
‘काठमाडौँ ठुलो ठाउँ हो, राम्रै हुन्छ । मान्छेले ठाउँ छोडेपछि नयाँ उपलब्धि भेट्टाउने सम्भावना बढ्छ ।’
‘धन्यवाद सर, तपाईहरू जस्तो शुभेच्छुक हुनुहुन्छ र त मलाई पनि के–के के–के योजना बनाइबस्न मन लाग्छ ।’
...
‘पहाड गाउँमा हुँदा नाताको हिसाबले ठूलाबाउ पर्ने, गाउँका ठालुहरूले नै मेरो बुबालाई बीउ चोरको बात लगाए । काठमाडौँ पाकशाला बसेर प्रथमा पास गरेको मान्छे । हेपेको, थिचोमिचो, भेदभाव गरेको मन नपर्ने । हामीले भनेको मान्दैन, यसलाई तह लगाउनुपर्छ भनेर आफन्तले नै बिनाबित्थामा बीउ चोरको बात लगाएपछि बुबाले निकै चित्त दुखाउनुभयो । तर, त्यो नेगेटिभ अवस्थाले पोजेटिभ काम ग¥यो । बीउ चोरको बात लागेपछि बुबा दुई छोराहरू केदार र बद्री लिएर धरान झर्नुभयो । २०२० सालको कुरा हो यो । त्यसरी तराई झरेको हुनाले त्यो नेगेटिभबाट पोजेटिभ भयो, बद्रीविशाल प्रोफेसर–डाक्टर भयो ।’
‘इटहरी चोकका सिटौलाहरूलाई पान्थरे लिम्बूहरूले खेदे । अब ती खेद्नेहरूमध्ये कतिपय त्यहाँ पान्थरमा अझ पनि पुरानो कट्टु लगाएर हल्लिराका होलान् । तर, यहाँ चोकका सिटौला अरबपति–खरबपति भए । नेगेटिभबाट पोजेटिभ हुन्छ । भन्नाले कुनै मान्छेले थाँतथलो छोड्न बाध्य हुनुप¥यो भने पनि त्यसको प्रगति नै हुन्छ । नयाँ ठाउँमा नयाँ सिर्जना हुन्छ । इखले गर्छ नि त !’
...
भनिन्छ, जुन ठाउँमा विद्वानको सम्मान हुँदैन, सीपको कदर हुँदैन, त्यो ठाउँमा बस्नु हुँदैन । ओत लाग्न ठुलो रुखको छहारी रोज्नू, बास बस्न अग्लो धुरी भएको घर खोज्नू भन्छन् बूढापाकाहरू ।
जब–जब म मोटरसाइकल हाँकिरहेको हुन्छु, अगाडि हेर्दा परसम्म सवारी–साधन र मान्छेहरूले सडक डम्म भरिएको देख्छु । तर, जब म त्यही ठाउँमा पुग्छु, त्यही भीडमा म पनि सजिलै अटाइरहेको हुन्छु । म पुग्दा त्यहाँ मेरा लागि ठाउँ खाली भइसकेको हुन्छ । अनि लाग्छ, केहीबेर अघि म व्यर्थमा डराएको रहेँछु ।
...
काउन्ट डाउन जारी छ । उतार–चढाव जारी छ ।
सुझावसँगै गाली गर्नेहरू छन् । रिसाएझैँ गर्दै माया गर्नेहरू पनि छन् । आफ्नौ मलामीहरूसँग टाढिने दिन सूत्रबद्ध बनाउँदै आर्यघाट अलि मास्तिर श्लेष्मान्तकको टाउकोमा आशावादी डङ्गर छाया भुइँ झर्न खोज्दै छ, बाँकी जिन्दगीका लागि । हर्ने–भर्ने लिने–दिने उनै शिवजीको भजन गुन्गुनाउँदै गर्दा हरिभक्तको जस्तो फ्याट्ट चुँडिन, देवकोटा जस्तो प्राविधिक गल्ती हुन बेर छैन !
...
मलाई माफ गर्नू साथीहरू हो ! खोजेको बेला भेटिइनँ भने । सोचेको बेला देखिइनँ भने । पर्खेको बेला आइपुगिनँ भने । दोधारमा बाटो समाइनँ भने । बिदाइको आँसु पचाइनँ भने ।
मैले लेखेको जिन्दगीको पहिलो गीत कालापानीमा खुकुरी पखाल्छु भन्दै गीत गाउने विजय श्रेष्ठ दाइले संयोगवश मन पराइदिनुभयो ।
‘हो, यस्तो चाहिँ लेख न तिमी ! यो त अहिलेसम्म तिमीले लेखेको जम्मै लेखाइको सार खिचे जस्तो छ ।’
मेरो अहोभाग्य ! दाइको सकारात्मक टिप्पणीले गद्गद !’
...
म  : सयौँ अप्ठेरा घुमाउरोहरूमा बाँचेर, सघन तुँवालो छिचोलेर बिहानै सहर आइपुग्दा मनले माटोको गीत गायो – भाग्य लहरमा लहरी–लहरी, पुगेँ यस मरुस्थलमा कसरी ? तर खेद छैन तिम्रो आकृति, कोरिएको छ यो हृदयभरि । सिद्धिचरण श्रेष्ठ बाबैको शब्दमा यतिबेला सामान्य रिमिक्स गर्न मन लाग्यो, मेरो प्यारो सुनसरी !
दिनेश पौडेल : हिँड्ने बेलामा घरबारी बेचेर सगर्व डुक्रिँदै हिँड्यौ, अहिले गोहीको आँसु चुहाउँदै ‘मेरो प्यारो सुनसरी’ रे !
म  : ओहो सर, घर–जग्गा बेच्दैमा वा भनौँ संसारको जुनसुकै कुनामा बस्दैमा आफ्नो जन्मभूमिसँग साइनो टुट्छ र ? ‘जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी’ भन्ने माया–मोहको जालो मर्नुअघिसम्म पनि रहिरहँदैन र ! फेरि तपाईहरू हुनुहुन्छ नि त्यहाँ, त्यो माटोमा मैले रोपेका बिरुवा, सिर्जना, गरेका काम सम्झिराख्ने । मलाई माया गरिराख्ने !
दिनेश पौडेल  : लौ त शुभ यात्रा ! फर्केर आउँदै गर्नुहोला ।
...
‘तैलेँ यहाँ आउनुपर्छ र मलाई काममा सघाउनुपर्छ,’ काठमाडौँले मसँग फेरि अपेक्षा गर्दै छ ।
मैलेँ भनेँ, ‘हुन्छ, म अब कम्तीमा पाँच वर्षका लागि तँसँग बस्छु । तर, त्यस्तो मायालु वातावरण तैँले बनाउनुपर्छ ।’
‘ओके छ त !’ उसले भन्यो ।
उसलाई थाहा छ, घोडा जबसम्म आफ्नो काममा रमाउँदैन, तबसम्म घोडसवारले घोडचढीको आनन्द लिन सक्दैन । र, घोडा रमाउने वातावरण बनाउने काम उही घोडसवार हुन चाहने (सइस) को हो ।
...
सुविद गुरागाईको सम्भावित महाभिनिस्क्रमणका लागि दिनेश पौडेलको माया –
‘सँगै हाँस्थ्यौँ, खेल्थ्यौँ । यसै सहरलाई संसार मानेर जीवनको अर्थ खोज्थ्यौँ । थोरै थियो होला, तर पुगेकै थियो । सानै भए पनि आफ्नै सहर थियो । अचानक खबर सुनायो फेसबुकले, मेरो त्यो सहयात्री अचानक एउटा भयानक समुद्रमा हाम्फाल्दै छ, कुन बूँद बन्ला ऊ त्यस मानिसको महासागरमा ? घर छँदाछँदै किन मेरो साथी पाहुना बनेर रमाउने चेष्टा गरिरहेको छ ? त्यो काठमाडौँलाई नचिन्या हो र ? पर्स मोटो छउन्जेल ज्वाइँलाई भन्दा आदर गरेजस्तो गर्छ, माया पनि गरेजस्तो गर्छ, दुःख–सुख के छ ? सोधखोज गर्छ । खल्ती दुब्लो छ भन्ने थाहा पायो भने आची पुछेको टालोझैँ पर हुत्याउँछ र महानगरपालिकाको ट्रयाक्टरले ओखरपौवा पु¥याउँछ । पीर पर्दैन ?
...
सहरमा ठाँटो जमाउने चीसो छ । मौसमको मिजाज ठिक छैन ।
यही बेला हो, बर्डस् अफ् प्याराडाइज (स्वर्गको चरा) फुल्ने । खङ्ग्रङ्ग पत्करसँगै हावा चुमिरहेको धूलोले एकाबिहानै सामूहिक बलात्कार गरेको मन पर्दैन कविलाई । खाल्डोमा छताछुल्ल, उदाङ्ग माया मात्र छैन । अधकचल्टिएका धेरै सेनेटरी प्याड र कन्डमहरूले ओखरपौवा भरिँदो छ ।
...
यो सहरले मलाई पागल बनाउने भो । कवि, प्रेमी, आवारा केके हुनुपर्ने हो ? गर्छ आफू नाजायज पर्दाभित्र बसेर, मैले गर्दा भएको आरोप लगाउने भो । अरू जस्तो होइन मेरो माया भन्नेले, फकाउँदै लगेर भीरबाट खसाउने भो । हिँडेका ती पाइला गोरेटा सम्झेर एक्लै, रुनु, हाँस्नु, के गर्नु ? राम्रै सताउने भो ।
...
भनिन्छ १२ वर्षपछि फर्किन्छ खोलो । २० वर्षपछि फुल्छ बाँस । मन मिलेपछि, माया भएपछि जे पनि हुन्छ । संसारमा असम्भव भन्ने केही छैन ।
ईश्वरले तँ चिता म प¥याउँछु भन्छ रे ! त्यस्तै, एउटा सुखद् घटना हुन लाग्दै छ, मेरो जीवनमा । २० वर्षपछि फेरि ऐतिहासिक फर्पिङ नगर फर्किने अनुमति पाउँदै छु । धन्यवाद शुभेच्छुकहरू !
...
जिन्दगी रोएर बित्छ भने क्षणिक हाँसो किन ? ना २ ख ६१६१ । दक्षिणकाली यात्रामा बाटोमा दुई वटा टिपर ठोक्किएर लामो जाम भयो । त्यसमध्ये ब्रेक फेल भएर ठोक्काउने टिपरको पछाडि यस्तै लेखिएको थियो ।
यस्तै आँसु–हाँसो जिन्दगीको कथा समेटिएको ट्रक साहित्यको दोस्रो संस्करण व्यवस्थापन गर्न खोज्दै छु । कमल ढकालजीसँग कुरा भा’छ । कभर–अपमा ‘जनताको भरिया’ लेख्ने सल्लाह भा’छ ।
...
जयराम – केटिएम खाल्डोमा अब गर्ने योजना के हो नि दाइको ?
म – योजनै–योजना छन् । योजनाको भारीले किचिएर मरेँ भने मलामी तिमीहरू नै त हौ नि !
जयराम – मलामी हामी हौँ तर त्यसबारे सोच्ने पनि बेला भा’छैन ।
म – अहिले गर्नुपर्ने केही खास रहरहरू पनि छन् ।
जयराम – जस्तै ?
म – शिवरात्रिमा पशुपति जाने, डुल्ने, रमाइलो गर्ने ।
जयराम – नाङ्गा बाबा हुन लाग्नु भा ?
म – अहिले पनि के कम छु त ?
जयराम – हा हा हा ! बिन्दास बुढा !
म – ओके, नाइस टु टक यु । किप इन टच ।
...
दुखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे – बालकृष्ण सम ।
ईश्वर बराल, ईश्वर घिमिरे, ईश्वर ढकाल, ईश्वर रौनियार, ईश्वर पोख्रेल, ईश्वर भट्टराई, ईश्वर कोइराला, ईश्वर गिरी, ईश्वर आचार्य, ईश्वरलाल श्रेष्ठ, ईश्वरचन्द्र ढुङ्गेल, ईश्वरमणि ओझा, ईश्वर आचार्य, ईश्वर दाहाल, ईश्वरी महत, ईश्वरी पराजुली । मेरो इन बक्समा जो–जो ईश्वरहरू हुनुहुन्छ, महिला–पुरुष, कृपया तत्–तत् ठाउँमै रहनुहोला । म ईश्वर भेट्न आउँदै छु ।
...
कम–ब्याक चन्द्रागिरि :
यतिबेला काठमाडौँको अटोग्राफमा लेख्न मन लागेको कुरा – रोउँ भने हाँस्छन् सबै, हाँसु भने कुरा काट्छन् । भित्रभित्रै विरोध गर्छन्, केही होइन भनी ढाँट्छन् । बाहिर देख्छु जून जस्तो मनमा कालो लुकाएर ! भलाद्मी जो धेरै हुन्छन्, मौका पर्दा जुठो चाट्छन् ।
अहिलेलाई यति भनेँ । सरोकारवालाहरूसँग सेल्फी खिच्न बाँकी छ ।
...
‘तिमी फन्टुस ! कुरै बुझ्दैनौँ ।’
‘म फन्टुस ? के भनेको त्यो ?’
मेरो मनमा अर्को खलपात्र जन्मियो । उही फन्टुस कहिले नायक भइदिन्छ, कहिले खलपात्र ।
यस्तो किन हुन्छ ? आफूलाई नै आश्चर्य लाग्छ । म कहिलेकाहीँ सानो कुरालाई ठुलो बनाउँछु, कहिले ठुलो भनिएकोलाई सामान्य ठान्छु ।
जस्तो कि अहिले भइरहेछ ।
...
प्रभु तिमी मेरो माया गर स्वीकार ! तिमीबिना केही छैन जीवनको सार । आजसम्म कमाएको आनन्द मैले, तिमी पाए त्याग्छु सबै सुख बार–बार ।
पशुपति आउने भक्तहरूको जय ! आउन नसक्ने भक्तहरूको पनि जय ! कोही आए कोही गए । बराबरी भए ।
...
काउन्ट डाउन जिरो । नेपाल गए कपालसँगै बर्मा कर्मसँगै ।
...
म : धन्यवाद, श्याम केसी । छवि लुइटेल । ठाकुर बेल्बासे । स्वागत नेपाल । बसन्तप्रकाश उपाध्याय । हिक्मत थापा । शाम्ब ढकाल । रमेश पौडेल । हरिराम पौडेल । कृष्ण आचार्य । कमल ढकाल । कृष्ण सर्वहारी । छत्र क्षितिज । व्याकुल पाठक । घनेन्द्र ओझा । अश्विनी कोइराला । कौशल भट्टराई । गोविन्द बुइँपाली । पेशल आचार्य । विपिन किरण । सुनिल पुरी । शम्भु भण्डारी । जयन्ता पोखरेल । लोचना शर्मा । वीरेन्द्र केएम । बलराम प्यासी । विनोद ढकाल । महेश गुरागाई । सनत सापकोटा । विवश वस्ती । नरेश ज्ञवाली । सन्दीप दाहाल । राजकुमार शाही ।
सिएन गौतम : फेरि काउन्ट डाउन सुरु ?
म : सरी ल ! यसपटक म हल्लखल्ल गर्ने मुडमा छैन ।
०००
bisnuprasad.bg@gmail.com


पुरानो डेट सम्झेर
– सुविद गुरागाई

‘पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर, मुटुमा मेरो भक्कानो फुट्यो कलेजो थरर,’ मलाई मनपर्ने भाइ विधान श्रेष्ठले गाएको शब्दबाट अभिप्रेरित भएर म आज जीवनको मध्यमा आफ्ना पुराना दिनहरू सम्झिरहेछु ।
प्रेम दिवसको सान्दर्भिकता आत्मसात गर्ने क्रममा भ्यालेन्टाइन डेका दिन मैले लेखेँ, ‘गजब भो मैले पनि मायाको अनुभव गरेँ, परेलीमा अल्झिएर आँसुको दहमा झरेँ,’ तर, यो गजलको बाँकी सेरहरू मैले चार दिनपछि मात्र पूरा गरेको थिएँ । कारण यो लेखाइ मेरो तत्कालीन भ्यालेन्टाइनप्रति समर्पित थियो, र सोको अनुभवको दोस्रो चरण मैले चार दिनपछि मात्र पार गर्ने मौका पाएको थिएँ । ‘के भयो यो किन भयो ? तिम्रो माया बुझ्न खोज्दा, भक्कानिँदै, मूच्र्छा पर्दै कतिपटक ज्युँदै मरेँ ।’
यो सन्दर्भ समयानुकूल मेरो जीवनको ११ औँ संस्करण हो । तर, यसभन्दा अघिका थुप्रै प्रसङ्गहरू मलाई रोमाञ्ेिचत र अभिप्रेरित पार्न सहायक थिए ।
किशोरवयमा सबभन्दा मनपर्ने, स्कुल सँगै पढ्ने केटी साथी थिइन्, सुशीला । त्यो बेला भ्यालेन्टाइन डे मनाउने र सबभन्दा नजिक मानेको साथीलाई डेटको उपमा दिने प्रचलन थिएन ।
२०४० सालतिर नयाँ वर्ष, विजया दशमी आदि मौका पर्खँदै पोस्टकार्डमा हिन्दी, अङ्ग्र्रेजी वा नेपाली रूपान्तर सायरी लेखेर प्रेम अभिव्यक्त गर्ने साङ्केतिक तरिकाले किशोरा जीवनशैलीमा ठाउँ हस्तक्षेप गर्न थालेको थियो ।
त्यसमा पनि एकजनालाई मात्र पोस्टकार्ड दिँदा अरूले थाहा पाउँछ, जिस्क्याएर हैरान पार्छन् भन्ने सघन भय हुन्थ्यो । त्यसबाट जोगिन उनको सहेली समूहलगायत केही केटा साथीलाई पनि पोस्टकार्ड दिएको थिएँ, विषयलाई सामान्यीकरण गर्दै । मनमा, बुझ्नुपर्नेले कुरा बुझुन् र नबुझ्नुपर्नेले नबुझुन् भन्ने आशय हुन्थ्यो ।
म उनलाई माया गर्थेँ । म कक्षा ‘प्रथम’ भएकाले पिकनिक वा कतै शैक्षिक भ्रमणमा जाँदा उनी पनि मेरो साथ चाहन्थिन् । भावुक मनले व्यवहार–विश्लेषणपछि उनका मनमा पनि मेराप्रति केही छ भन्ने लख काट्थ्यो । तर, परिस्थिति थियो कि साथीभाइले जिस्क्याउने स्थिति बन्दा पनि म न आफ्ना कुरा भन्न सक्थेँ, न उनले नै खुलेर केही बताइन् ।
ती दिनहरूमा आफ्नो पहिलो प्रेमका बारेमा सोच्दा म आफूलाई निकै सुधारिएको, संयमित, भलादमीजस्तो पाउँथे । भेटमा कथम्कदाचित् प्रेम र शरीर सुख प्राप्तिको गफ गरेँ भने उनले मन दुखाउलिन् भन्ने डरले म आफैँमा सीमित हुन पुग्थेँ । एक प्रकारको आत्मरतिको स्थितिमा म थिएँ । पछि, उनका बारेमा चासो राख्दै उनको गाउँसम्म पनि पुगेको थिएँ । तर, उनको बिहे भैसकेको जानकारी लिएर त्यहाँबाट खाली हात फर्केको थिएँ ।
उनलाई सम्झिँदा म अहिले पनि रूपनीमा पश्चिमबाट जाने बस रोकिने स्टेन्ड सम्झिन्छु, जहाँ म उनीतिर फर्केर बिदाइको हात हल्लाइरहेको थिएँ । सम्झनाका केही शब्द उनकै लागि हुन्, जसलाई मैले २०४२ सालमा त्यही स्टेन्डमा ‘बाई ! बाई !’ भन्दै बिदा दिएको थिएँ । लगत्तै फर्केर हेर्ने साहस पनि थिएन त्यो बेला । जतिबेला मैले फर्केर हेरेँ, उनलाई अन्नपूर्ण बसले निकै पर पु¥याइसकेको थियो । साँच्चै एउटा साथीको सम्झनाले निकै फरक पार्दोरहेछ जिन्दगीमा । अन्नपूर्ण बससँग जोडिएको मेरो किशोरवयको अर्को कथा पनि छ ।
सानोमा कसैले ‘तिमी कोसँग बिहे गर्छाै ?’ भनेर सोधेमा म सहजै विमलातिर देखाइदिन्थेँ रे ! उमेर पुगेपछि उनीसँग पनि भेट र फोटो साटासाट भयो । मलाई भेट्नेबित्तिकै बिचरी लाजले रातो हुन्थिन । तर, मैले उनमा आफूले दीर्घ मित्रताका लागि खोजेकी केटीको प्रतिमूर्ति देख्नै सकिनँ । मनले मानेन । त्यो बेला मसँग शिक्षकको जागिर र पढाइको घमन्ड थियो ।
जागिर प्रारम्भका दिनमा साहित्यिक अभिरुचि र पत्राचारको सिलसिलासँगै जयन्ता धेरै नजिक भइन् । इनरुवा डुल्न र घरमै भेट्न पनि आइन् । सुनसरीतिरकै कुनै केटासँग घरजम गर्ने उनको इच्छा थियो । पत्रमित्रता हुँदै मन नजिकिए पनि शरीरको कुरामा भने आँट गर्न सकिनँ । मेरो अवधारणामा बसेकीजस्ती पातली, अग्ली नभए पनि उनको सामीप्यता मेरो गजलमा बान्की भर्न सहायक बन्यो । पहिलो भेटमा उनीसँग छुट्टिएपछि लेखेको थिएँ, ‘तिमी नै भन सपनामा भ्रमहरू पालेर के गरुँ ?, महल भयो खण्डहर जब गमला साँचेर के गरुँ ?’ यस्ता अनेकौँ भावनामय शब्द लेखेर मनका कुरा पछिसम्म पनि आदान–प्रदान भइरहन्थ्यो । हालैका दिनमा पनि उनीसँग भेट भएको थियो । विराटनगरमा एउटा कार्यक्रममा भेट हुँदा फोटो खिच्ने कुरा आयो । उनले ‘ल ! तिमीले कति नजिक आएर फोटो खिच्न सक्छौ, खिच,’ भनिन् । यो कुरा सुन्नेको प्रतिक्रिया चाहिँ म तपाईलाई पछि सुनाउँछु ।
पत्रमित्रता ती दिनहरूमा अचेलको नेटमित्रता, मुहार पुस्तिका जत्तिकै प्रिय माध्यम थियो नजिक हुने । दैनिकजसो हुलाकीलाई चिया खुवाउन अलग्गै पैसाको जोहो गर्नुपथ्र्याे ।
पत्रमित्रताकै माध्यमबाट लक्ष्मीसँग पनि मेरो निकटताको सम्बन्ध रह्यो । केटी भए पनि केटाजस्तो बानी–व्यवहार देखेर मैले उनलाई मित्रतामै सीमित राख्न चाहेँ । घर आउने–जाने गर्थिन् । सायद उनले पनि मेरो मनोदशा बुझेकी थिइन् । मेरो परिवारमा हामीबीच मित्रताको मात्र साइनो भएको प्रष्टीकरण दिने गर्थिन् । बबितासँग घरजम सुरु भएको पहिलो दिन पनि सोही अनुभूति दिलाउन आएकी थिइन् । उनी आज पनि बिहे नगरी बसेकी छन् । चर्चित छन् । मित्रता अझै पनि छ । धेरै साथीहरूलाई थाहा छ ।
जागिरको सिलसिलामा पहाडको एउटा बेँसीमा गोमासँग भेट भयो । जागिर, तराईको केटो, परिवारको पनि सहमति भएको आधारले बिचरी मेरासामु लल्याकलुलुक भइन् । घर फर्किादै गर्दा दोबाटोको चौतारीसम्म सँगै आएर उनले प्रेममय सायरीहरूसहितको पत्र र पाँच रुपैयाँ पैसा मेरो हातमा हालिदिएकी थिइन् । पत्र पढेर, बिचरीको मलाई प्रभावित गर्ने तरिका देखेर खुसी भएको थिएँ । पहाडकी केटीले त्यतिसम्म आँट गर्नु, मलाई गजब लागेको थियो । उनले दिएको पैसाले किनेको ‘मधुपर्क’ अझै पनि मेरो घरमा छ । सायद मेरो खोजी अर्कै केही थियो । उनमा पनि मन बस्न सकेन ।
बाटोमा यात्राको क्रममा एकदिन सरस्वती भेटिइन् । बहादुरामा राति सँगै, संयोगले एउटै सिरकमा बास प¥यो । सामान्य औपचारिकताबाहेक केही भएन । भोलिपल्ट बिहान लाजले शिर निहुराउँदै चार घन्टा जति अझ अगाडि, सिस्नेरी फेदी पुगेपछि हाम्रो बाटो छुट्टिएको थियो । उनको परिस्थिति अलग थियो, मेरो अलग । उनी कुनै स्कुलकी कक्षा १० की छात्रा थिइन्, म कुनै स्कुलको शिक्षक । हाम्रो कुरा मिल्थ्यो पनि होला, तर यात्रामा उनका बुबा साथै थिए । बाटोको कुरा बाटोमै सकियो । तर, सम्झना सकिएको छैन ।
कलेज पढ्दाका दिनमा कुसुमसँग भने नोट साटासाट गर्ने, एकान्तमा घन्टौ सँगै बस्ने, सिनेमा हेर्न जाने, फोटो खिच्ने हुँदाहुँदै निकै नजिकिएछ । मेरो साहित्यिक लेखन मन पराउने उनले मलाई ‘फन्टुस’ संज्ञा दिएकी थिइन् । एकदिन साँझमा बस स्टेन्ड चोकमा भेट भयो । कुरै कुरामा ‘तिम्रो फन्टुससँग बिहे गछ्र्याै कुसुम ?’ भनेर सोधेँ । उनले सजिलै ‘यस विषयमा बुबासँग कुरा गर, बुबाआमाले जसलाई दिनुहुन्छ त्यसैसँग जान्छु’ भनिन्न् । उनको जवाफले म अवाक बनेँ । कारण म जैसी केटालाई पहाडका बाहुन बाबुआमाले छोरी देलान् भन्ने मलाई लागेन । त्योभन्दा अघि म उनको पहाड घर गएको पनि थिएँ । पछि गइनँ ।
पाँच वर्षपछि भेटमा, ‘तिमीले मेरो बुबासँग कुरै गरेनौ, गरेको भए पक्कै पनि मलाई सोध्नुहुन्थ्यो र कुरा मिल्थ्यो,’ भन्थिन् । त्यो बेला मैले तिम्रो पो जवाफ चाहेको थिएँ, तिम्रो बुबाको हो र ! भन्दै आफ्नै बचाउको तर्क राखेको थिएँ । घटना जे भए पनि हाम्रो सम्बन्ध नहुनु रहेछ, भएन ।
बिचमा एकदिन उनको फोन आयो ।
‘के हो सुविद, अचेल हामीलाई सम्झिँदा पनि सम्झिँदैनौ त ?’ फोनमा उनको गुनासो थियो ।
‘नसम्झेको त होइन तर सम्झना सार्वजनिक हुँदा तिम्रो व्यक्तिगत जीवनमा खलल पुग्ला भनेर ध्यान नदिएको मात्र हो !’ मेरो स्पष्टीकरण थियो ।
‘तिमीसँग बोलेर जित्न गाह्रो छ फन्टुस !’ उनले खाटा बसेको घाउतिर लक्षित गरिन् । थप २० मिनेट जति अन्तक्र्रिया चल्यो । सारमा उनको भनाइ थियो, ‘हामीले अहिलेका केटाकेटीले जस्तो लभ गर्न जानेनछौँ, त्यो बेला ।’
पछिल्लो पटक फोनमा कुरा हुँदा धान रोप्दै थिइन् ।
‘फन्टुस फिक्सन’ उपन्यास लेख्दै छु !’ उनलाई थाहा नै छ यो कुरा तर पनि सन्दर्भ अघि बढाउन केही न केही भन्नु नै थियो ।
‘लु, राम्रो !,’ उनले भनिन्, ‘तर, जे पायो त्यही नलेख है फेरि, मार्दिन्छु नि !’
‘म जे पायो त्यही लेख्छु जस्तो लाग्छ हो तिमीलाई ?’ मैले ठट्यौली प्रश्न सोधेँ ।
‘त्यो त विश्वास छ !’ उनले भनिन् । यसको अपडेट यति हो अहिलेलाई ।
युवा दिनहरूमा दीपा आइन् । पारिवारिक वातावरण र जातपात मिलेको थियो । तर, तिनीसँग पनि कुनै उल्लेख्य सम्बन्ध बन्न सकेन । तिनले मैले दारी पालेको देखेर मलाई ‘बूढो’ उपमा दिएको कहिल्यै भुल्दिनँ ।
यसैबीच, स्वेता थिइन् एउटी, यात्राकी साथी । उनीसँग लुकीलुकी खुब घुमियो । हाँस्न, बोल्न र साथ दिन सिपालु थिइन् । कोसीका गङ्गेटिक डल्फिन, गोलघर र स्ट्रिट मोटरसाइकल पनि साक्षी हुन्, हाम्रो डेटिङको । तर, परिस्थिति यिनीसँग पनि अनुकूल भएन ।
त्यसैगरी, १२ वर्षअघि १४ फेब्रुअरीका दिन साथीहरूबाट नम्बर पाएर प्रभालाई ‘ह्याप्पी भ्यालेन्टाइन !’ भन्दै एसएमएस पठाएको थिएँ । तीन दिनपछि फोन गरिन् । फोन र एसएमएसबाटै मित्रता कायम राख्ने बाचा–बन्धन भयो, भेट नगर्ने अघोषित सहमतिसहित ।
मलाई विषय जुनसुकै होस्, तर्क गर्नेसक्ने केटीसाथीको खोजी रहन्छ । उनले दुई वर्ष करिब त्यो ग्यापलाई पूरा गरिन् । विराटनगर, इटहरी, पोखरा, काठमाडौँ जहाँ भए पनि उनले मेरो आवश्यकता अनुकूलको समयमा झर्काे मानेको कहिल्यै थाहा भएन । फेसबुकमा मेरो प्रोफाइल हेरेपछिको एकदिन, काठमाडौँमा आफैँले दैनिक तरकारी पकाउनुपर्ने जीवनमा प्रवेश गरेको थाहा भयो ।
समयले उनलाई आफ्नै दुनियाँमा व्यस्त बनाइरहेको छ, मलाई आफ्नै ।
अर्काे एउटा डेटको अनुभव पनि छ मसँग । जुनुबाट परिचय भएर पशुपति कैलासडाँडामा डेटिङसम्म आउँदा थाहा भयो, उनको नाम हेमा रहेछ । फलैँचामा मेरो बसाइ केटाको जस्तो तर उपस्थिति दाजुको जस्तो भयो सायद । उनले व्यावहारिक कुरा गरिन्, मैले आदर्शका । वरिष्ठ उप–सम्पादक पद र नामका कारण अरू सामान्य केटाजस्तो हुन नसक्ने तर इमान्दारीपूर्वक मित्रता कायम राख्ने बाचा गरेर हाँसी–खुसी छुट्टिएको भोलिपल्टदेखि उनको फोन र म्यासेज आउन छोड्यो । घटनाले छोइएर लेखेँ, ‘मेरो चोखो मायालाई बिटुलो पा¥यौ तिमीले, आँखाबाट आफूलाई ओरालो झा¥यौ तिमीले ।’
उनले खोजेको मान्छे म थिइनँ सायद । सम्झना नासो छोडेर उनी टाढिइन् । एक प्रकारले जे भयो, राम्रै भयो ।
सुवानीको कथा जे छ, छँदै छ । तपाईलाई जस्तै उनलाई पनि थाहा छ म फन्टुस फिक्सन लेख्दै छु ।
यसबाहेक अरू उल्लेख गर्न अयोग्य भ्यालेन्टाइन अनुभव पनि केही छन्, मेरो नामसँग समयले जोडेका । कतै आफूले अस्वीकार गरेका, कति आफू अस्वीकृत भएका । तिनका बारेमा पनि पछि मौका मिलाएर चर्चा गर्ने मन छ । जीवनका ‘सेता–काला दिनहरू’ लेख्दा कतिसम्म इमान्दार हुन मन लाग्ला थाहा छैन ।
यो लेखाइको शीर्षक मैले सुरुमा ‘असफल भ्यालेन्टाइन’ राखेको थिएँ । सुनेर साथीहरूले तर्क गरे प्रेम असफल कहिले हुँदैन । प्रेममा प्राप्ति नै हुनुपर्छ भन्ने होइन । प्राप्तिको व्यग्रतामा त स्वार्थ लुकेको हुन्छ । चाहनामा प्रेमले न्यून ठाउँ पाउँछ ।
अनि, ‘पुरानो डेट ?’ पदमजी गौतमले भने, ‘डेट त झन् जुन बेला सम्झियो, त्यही बेला रिफ्रेस हुने कुरा हो, पुरानो कसरी हुन्छ ?’
०००


bisnuprasad.bg@gmail.com