यथार्थभित्र लुकेको परीक्षाको कथा
– सुविद गुरागाई

मातृभूमि साप्ताहिक, वर्ष –२, अङ्क –४६ ।
२०४५ साल मङ्सिर ७ गते मङ्गलबार ।
सुविद गुरागाई बाइलाइनमा ‘छापिएको यथार्थभित्र लुकेको परीक्षाको कथा’ आज हुबहु तपाईलाई सुनाउँदै छु ।
इतिहास विषयको परीक्षा चलिरहेको छ । प्रमाणपत्र तह द्वितीय खण्ड मानविकीका छात्रछात्राहरू परीक्षा दिइरहेका छन् । सिम्बल नम्बर ०९१६९–७ पनि परीक्षा भवनको पुछारमा आफ्नो निम्ति तोकिएको ठाउँमा बसेर परीक्षा दिइरहेको छ ।
ऊ आज एकदम खुसी देखिन्छ । प्रश्नपत्रमा सोधिएका सजिला प्रश्नहरू देखेर, ऊ आफ्नो मूल्याङ्कनको सम्भाव्य परिणाम सोचेर खुसी हुन्छ । आज उसको अन्तिम परीक्षा हो । एकपटक मनलाई संवेदनशील बनाउँछ, घोरिन्छ र प्रश्नहरूको उत्तर लेख्न सुरु गर्छ । आज ऊ सम्भाव्य जितको उन्मादमा छ ।
अहिले करिब दुई घण्टा सकिएको छ । सोधिएका पाँच वटा प्रश्नहरूमध्ये चार वटाको उत्तर दिइसकेको छ । समय हेर्छ, अझै एक घण्टा बाकी छ । फेरि पाँचौँ प्रश्नको उत्तर लेख्न थाल्छ ।
ऊ लेख्दै हुन्छ । अचानक उसलाई अल्छी लागेर आउँछ र हाई गर्छ । हाई गर्ने क्रम रोकिँदैन, दुई–तीन पटक लगातार चल्छ । मानिसले रोगलाई आफ्नो वशमा पार्न सक्ने भए अमर हुन्थ्यो होला । तर, त्यसो कहिल्यै हुँदैन । हाम्रो शारीरिक संरचना अनौठोको छ । उसलाई यो हाई गर्ने व्यथाले सताएको करिब एक महिना भइसकेको छ । परीक्षाको तयारी गर्नुेपर्ने भएकाले रोग अस्पतालसम्म लग्न भ्याएको छैन । आज पनि रोगले असमय च्याप्यो ।
केही बेरपछि ऊ शान्त हुन्छ । त्यसैबीच उसले आफूलाई पूर्वावस्थामा ल्याउनुअगावै परीक्षा भवनमा विद्यार्थी गतिविधि हेरिरहेका ‘अब्जर्भर’ले ऊ नजिकै आएर बोलाउँछन् –
‘भाइ !’
‘हजुर सर !’ ऊ कसैले आफूलाई बोलाउँदै छ भनेर प्रत्युत्तर दिन्छ ।
‘तरिका भएन भाइ,’ अब्जर्भरको कठोर वाक्य ।
ऊ आफूमाथि भएको अप्रत्यासित शब्द आक्रमणले आत्तिन्छ र ‘मैले बुझिन सर ! के तरीका भएन ?’ भन्छ । ऊ आफूमाथि थोपरिएको दोषको कारण जान्न चाहन्छ ।
‘धेरै डिस्कस नगर्ने भाइ पाँच वर्षका लागि जाइएला नि !’
‘मैले कुरा अझै बुझिन सर !’ उसको वाक्य कमजोर हुँदै जान्छ । गालाहरू एउटा सम्भाव्य डरले राता हुँदै जान्छन् । उसले केही कुरा बुझिनँ भने पनि उसको मनमा चिसो पसिसकेको छ कि यी महाशय ऊप्रति कस्तो अवधारणा राख्दै छन् ।
वादविवाद त्यत्तिकै हुन्छ । केहीबेरपछि उनी कक्षाको गतिविधि निरीक्षण गरेर बाहिरिन्छन् । सबै शान्त छन् । तर, ऊ तिनको गतिविधि हेर्दै छ । ऊ बाहिर गएर सुपरिटेन्डन्टलाई भेट्छन् । सुपरिटेन्डन्टबाट केही निर्देशन लिएर फेरि परीक्षा भवनभित्र पस्छन् । र, सिम्बल नम्बर ०९१६९–७ सहित प्रवेशपत्रबाट उसको नाम टिपेर लैजान्छन् ।
...
ऊ परीक्षा दिएर निस्कन्छ । बाहिर हल्लीखल्ली छ । आज एक जना विद्यार्थी दुई वर्षका लागि निष्कासित गरियो रे ! ऊ स्तब्ध हुन्छ । को रहेछ त्यो ? कतै मै त हैन ? हुन सक्छ । मनमा चिसो पसेर आउँछ । ऊ दौडन्छ क्याम्पस कार्यालयतिर । क्याम्पस प्रमुखलाई सोध्छ । कर्मचारीलाई सोध्छ । उनीहरूको जवाफले चित्त बुझ्दैन । परीक्षा गार्डलाई सोध्छ । चित्त बुझ्दैन । स्वयम् सुपरिटेन्डन्टलाई भेट्छ, जवाफ पाउँछ, ‘हामीलाई थाहा छैन ।’
उसलाई लाग्छ यिनीहरू ढाँटिरहेका छन् । उसलाई षडयन्त्रमा धकेलिरहेका छन् । अनि बिन्ती गर्छ –
‘सर ! आखिर मेरो के दोष छ र ?’
ऊ छटपटिन्छ । रुन मन लाग्छ उसलाई ।
‘त्यो पनि हामीलाई थाहा छैन ।’
ऊ खिन्न हुन्छ ।
...
चिया पसल । त्यो चिया पसल उसैको हो । आजसम्म यही साधारण चिया पसलले उसलाई पढाउँदै छ । उसकी विधुवा आमा । विद्यालयमा छउञ्जेल उसकी आमाले सत्र जनालाई भनसुन गरेर निःशुल्क पढाएकी हुन् । विद्यालय जीवनमा ऊ जेहेनदार विद्यार्थी थियो र निरपेक्ष गरिब । गरिब त ऊ अहिले पनि छ । आफ्नो छोराबाट थुप्रै आशा राखेर, ऋण गरेर भए पनि छोरालाई क्याम्पसमा पढाउँदै छिन् उसकी आमा ।
यिनै कुराहरू सोच्दै हुन्छ चिया पसलमा बसेर ऊ । आमा ग्राहकलाई चिया बनाएर दिन तल्लीन छिन् ।
‘भाइ !’ अचानक उही पुरानै आवाज, ‘के छ त हालखबर ?’
समय साँझपख । ऊ भस्किन्छ । तन्द्रा भङ्ग हुन्छ ।
अब्जर्भर आफ्ना साथीहरू सहित चिया पसलमा आउँदै गरेको देख्छ ।
‘सर ! साथीहरू भन्दै छन्, तपाईले मलाई दुई वर्षका लागि निष्कासित गरिदिनुभयो रे ! यो के भएको सर ?’ ऊ प्रश्नको उत्तर दिनुको साटो प्रश्न गर्छ ।
‘त्यो हामीलाई थाहा हुन्न भाइ । पछि त्रिविले परीक्षाफल प्रकासित गरेपछि थाहा भइहाल्छ नि !’
‘कस्तो कुरा गर्नुहुन्छ सर ! लेखकलाई आफ्नो कथावस्तु थाहा नभएर कसलाई हुन्छ त ? मेरो गल्ती के थियो सर ? म चुप लागेर लेखिरहेको बेला तपाईले नै त पहिले बोलाउनुभएको हो सर ।’
‘भो–भो धेर साहित्य छाँट्नुपर्दैन । तिम्रो कुरा गराइ नै त्यस्तै छ । आज बिहान परीक्षा भवनमा तिमीले मसँग डिस्कस गर्दा मेरो इज्जत कति रह्यो र ! मेरो आत्म–सम्मानमा चोट पुगेन त ? मैले तरिका भएन भन्दा चुप लागेर लेखेको भए भइहाल्थ्यो नि !’
‘चुप कसरी लाग्ने सर ? मैले गल्ती नै नगरेपछि,’ ऊ प्रतिवाद गर्छ । ऊ विश्वस्त थियो, उसले केही गल्ती गरेकै छैन ।
‘त्यो त ठिकै छ । तर, तिमीजस्तै सबैले मसँग डिस्कस गरेको भए के हुन्थ्यो थाहा छ ? परीक्षाको वातावरण भङ्ग हुँदैनथ्यो ?’
‘तपाई वातावरणको दाबी गर्नुहुन्छ सर ! वातावरण कसका निम्ति ?’
‘विद्यार्थीका निम्ति ।’
‘विद्यार्थीका निम्ति हो भने परीक्षा हलको नजिकैबाट कुद्ने थोत्रा बस, ट्रयाक्टरले के वातावरण खलबल्याउँदैनन् ?’
‘जेसुुकै होस् त्यो हामीलाई मतलब छैन ।’
‘त्यसो भए सर म निष्कासन भएँ त ?’
‘त्यो हामीलाई थाहा छैन । भनिहालेँ नि त्यो पछि थाहा हुन्छ ।’
‘त्यसो भए ठिकै छ सर ! मेरो दुई वर्षको मेहनतसहित मेरो जिन्दगी बिगार्न आँट्नुभएछ । राम्रै हो सर ! मलाई आफ्नो दुई वर्ष बिग्रेकोमा पिर छैन । तर, अनाहकमा विद्यार्थीहरूमाथि गरिने अत्याचारको म पछिसम्म नै विरोध गर्नेछु । हाम्रा पनि आफ्ना मान्छे होलान्,’ बोल्दाबोल्दै उसको स्वर रुञ्चे हुन्छ ।
‘हामी परीक्षा भवनभित्र त्रिविले दिएको अधिकार पालन गर्छौँ र बदमास विद्यार्थीलाई सजाय दिन्छौँ ।’
ऊ निरुत्तरित भयो । आफूमाथि बदमास शब्दको प्रयोग गर्दा बदमास कस्तालाई भन्छन्, उसले जान्न सकेन ।
...
त्रिवि अतिरिक्त क्रियाकलाप निर्देशनालय । निर्देशकको कार्यालय कोठा ।
ऊ आफ्नो व्यथा पोख्न गाउँबाट राजधानी आएको छ । साथीभाइहरूसँग आउने भाडासमेत खोजमेल गरेर । उसलाई पूरा विश्वास छ, उसको समस्यालाई यहाँकाले बुझिदिने छन् ।
‘सर, म सुनसरीबाट आएको । मेरो एउटा ठुलो समस्या छ सर ! मैले उताबाट चिठी पनि लेखाएर ल्याएको छु ।’
‘खै चिठी दिनुस् त ।’
उसले चिठी झिकेर दियो । चिठी दिइसकेपछि –
‘बस न भाइ ! के छ समस्या नढाँटिकन भन ।’
उसले आज्ञा पायो र बेलिबिसतार लायो । ‘क’देखि ‘ज्ञ’सम्म । एक रत्ति नढाँटी समस्या सुनाइसकेपछि –
‘केही हुँदैन भाइ ! नआत्तिनु । मैले समस्या बुझेँ । परीक्षा हलमा यस्ता वादविवादहरू प्रायः परी नै रहन्छन् । फेरि अब्जर्भरलाई विद्यार्थी निष्कासन गर्ने अधिकार नै हुँदैन ।’
‘तैपनि सर मलाई त डर लागिरहेको छ । मलाई षडयन्त्रमा फसाइँदै छ । कृपया बचाइदिनु प¥यो सर ! म ठुलो आशा लिएर आएको तपाईलाई भेट्न ।’
‘भनिहालेँ नि केही हुँदैन भनेर । नआत्तिनु । तिम्रो नाम र ठेगाना टिपाऊ । केही भएछ भने म मिलाइदिन्छु ।’
...
आज असोज ९ गते ।
परीक्षाफल प्रकासित भएको दिन । मन खुसी छ । उसको परीक्षाफल निश्चय नै राम्रो हुन्छ । अस्ति आएदेखि ऊ यतै काठमाडौँमा छ । दुःख सहेर पनि रोजगारको आशामा ।
ऊ परीक्षाफल बुझ्न परीक्षा नियन्त्रक कार्यालय, जमल आइपुग्यो । भित्तामा परीक्षाफल थियो । ऊ एकछिन त शून्य भयो । केही निर्णय नै लिन सकेन । परीक्षाफलमा निम्न विद्यार्थीहरूले परीक्षा भवनमा अनैतिक कार्य गरेकाले निजहरूको सम्पूर्ण परीक्षा रद्द गरी आगामी वर्ष त्रिवि अन्तर्गगतका क्याम्पसमा दर्ता नलिने भनी लेखिएको ठिक मुन्तिर सात वटा सिम्बल नम्बरहरू लहरै थिए । त्यसैको तेस्रो क्रममा उसको सिम्बल नम्बर थियो । उसलाई भाउन्न छुटेर आयो ।
रुन मन लाग्यो । सकेन । उसका वरिपरि विधुवा आमाका सपनाहरू घुमे । तिनीहरूले जिस्क्याए । उसले मनमनै सोच्यो – ‘रानीपोखरीले यतिबेला मलाई शान्ति दिनसक्छ ।’
‘धत् ! आत्महत्या गर्नु लाछीहरूको काम हो,’ मनले मानेन ।
यसअघि उसले नसोचेको होइन । तर, अब कसैलाई भेट्नु बेकार थियो । नेपालका यस्ता बहादुरहरूले अब केही लछारपाटो लाग्दैन, उसलाई लाग्यो ।
ऊ आफूमाथि खसेको पहाड चुपचाप सहिरहेकै छ ।
...
तिथिमिति सहित तपाईले यो जुन कथा सुन्नुभयो, यसको सेरोफेरोमा मेरो आशा निकै शिथिल भइसकेको थियो । अब के गर्ने ?
मरता क्या न करता । डुबतेको तिनकेका सहारा । जिसका कोही नही होता, खुदा होता है । मायाले संसार थेग्दैन । नानाथरी विचारका पानीफोकाहरू भुक्क फुल्दै, फ्याट्ट फुटेदै गरिरहेका थिए ।
२०४५ कात्तिक ५ गते आइतबार ।
पञ्चायत उत्कर्षका दिनहरू थिए । पञ्चहरू जति थेत्तरा भए पनि राजासँग चाहिँ डराउँथे । राजाले भनेको मान्थे ।
कसैलाई निकै अन्याय भयो भने अन्यायमा परेकाहरूले बिन्तीपत्र हाल्थे । बिन्तीपत्र राजाका कर्मचारीले पढ्थे । सुनुवाइका लागि तत्काल निर्देशन दिन्थे । त्यसको जानकारी हुलाकबाटै घरमा आइपुग्थ्यो । केही काम पनि हुन्थ्यो । कामै भएन भने पनि कम से कम कसैले त सुन्यो आफ्नो पीडा भन्ने आनन्दानुभूति हुन्थ्यो ।
दसैँको सेरोफेरोमा मैले पनि दरवारमा बिन्तीपत्र हाल्ने निर्णय गरेँ । साथीहरू महेश पोखरेल, हरिकृष्ण पोखरेल र म राजा वीरेन्द्रको हातबाट दसैँको टीका लगाउन बिहानै लैनचौरको लाइनमा मिसियौँ । राति आठ बजेतिर बल्ल पालो आयो । मैले आफ्नो भएभरको बेलिबिस्तार लेखेर खामबन्दी गरेको बिन्तीपत्र गोजीमा बोकिराखेको थिएँ ।
टीका लगाइदिँदै गर्दा मैले अचानक गोजीबाट खाम निकालेँ र राजातिर बढाएँ । एडिसिहरू अचानक सक्रिय भए । उनीहरूले मेरो हातमा अचानक देखिएको खाम खास्न लाग्दै थिए, राजा आफैँले एक स्टेप अघि सरेर मेरो हातबाट खाम लिए र एडिसिलाई दिए ।
त्यहीबेला क्लिक, क्लिक, क्लिक । आँखाभरि बिजुली चम्के जस्तो भयो । दरबारको कुनै कर्मचारीले मलाई धकेलेर अगाडि बढाइसकेका थिए । फर्केर हेरेँ, राजा मुसुमुसु हाँसिरहेका थिए ।
...
bisnuprasad.bg@gmail.com
उहिलेका कुरा खुइले
– सुविद गुरागाई

२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे ।
हेर्दाहेर्दै एउटा सानो–सानो डङ्गर गीद्ध तित्रिगाछी तालमाथिबाट एक फन्का मारेर मृगकुञ्जतिर हानियो । त्यसको केही घण्टाअघिसम्म हामीलाई आभास थिएन प्रलयको ।
एक साताअघि तित्रिगाछी तालनजिकै कटान सुरु भएको सूचना पठाए भान्टाबारीस्थित हाम्रा संवाददाता सज्जाद आलमले । म इटहरीबाट प्रकाशित हुने ‘जनलक्ष्य’ दैनिक समाचारपत्रको सम्पादकले पत्याइनँ त्यसलाई । कोसीको बाँध त्यति सजिलै के फुट्छ होला भन्ने लाग्यो । अनि, ‘जनजीवन आतङ्कित हुनसक्ने’ ठानेर समाचार प्रकाशित नगर्ने निर्णय गरेँ । दुई दिनपछि सज्जादले फोन गरेर ‘समाचार किन नछापेको दाइ ? कटान तटबन्धमा आइपुग्न अब सय मिटर पनि बाँकी छैन,’ भन्दै गुनासो गरे ।
त्यसपछि मेरा कान ठाडा भए । कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय छेउ घर भएका राजकुमार सिंहलाई फोन गरेर क्रस–चेक गरेँ । उनले पनि पाँच दिनदेखि कटान जारी रहेको जानकारी दिए । कटानले तित्रीगाछी ताल छोइसकेको, बाँध छेउका बासिन्दामध्ये केही विराटनगर, इनरुवा, लौकहीलगायत सुरक्षित स्थानमा पुगिसकेको बताए । केही स्थानीय बाँधमा रहेका गाछीहरू तारले एक–आपसमा बाँधेर क्षति कम होस् भन्ने उपायमा लागेको, प्रायः घरमा आफ्नो थाँतथलो छोडेर अन्त जान नमान्ने बुढाबुढी र केही भाग्नसक्ने युवाहरू मात्र भएको उनको भनाइ थियो ।
समाचार छापेँ । तर, प्रहरी उपरीक्षक यादवराज खनाल, प्रमुख जिल्ला अधिकारी दुर्गा भन्डारी, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीलगायत सरोकारवालाहरूले ‘बाँध फुट्ने’ कुरा पत्याएनन् । बरू अधिकारीहरू समाचार गलत भएको भन्दै ‘खण्डन गर्ने’ मनस्थितिमा देखिए । सदरमुकाम इनरुवास्थित पत्रकारहरूसँग प्रजिअ भन्डारीले ‘तपाईहरूले जनतामा भ्रम सिर्जना हुने गरी यस्तो नचाहिँदो समाचार नलेख्नुपर्ने, तपाईहरू अन्तर्यामी हो,’ भनी गुनासो गरे । कोसी बाँध फुट्न लागेको जानकारी मिडियामा आएपछि गृह मन्त्रालयबाट सुनसरी प्रशासनलाई दबाब परेको रहेछ । अधिकारीहरू त कोसी फुट्दैन भन्नेमा कतिसम्म विश्वस्त देखिए भने त्यही दिन १० बजेतिर विराटनगरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर मोहन भट्टराई, प्रजिअ भन्डारी, उपरीक्षक खनाललगायतको टोली कोसी ब्यारेज पुलमा भेला भए । सुनसरीका कृष्ण जुनेली, सप्तरीका जितेन्द्र खड्गालगायत पत्रकारहरू पनि रिपोर्टिङका लागि ब्यारेज पुगेका थिए । भारत सुपोलका डिएम सरिफ आलम तथा कोसी प्रोजेक्टका केही इन्जिनियरहरू पनि आएका थिए ।
दुई देशका सरोकारवालाहरूबीच बैठक भयो ।
‘कोसी बाँध फुट्ने सम्भावना छैन,’ बैठकपछि नेपाली पक्षलाई आश्वस्त पार्दै पत्रकारहरूलाई इन्जिनियर भट्टराईले ब्रिफिङ गरे, कटान भइरहेको स्पोर नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । टोलीले केही घण्टामै स्थिति नियन्त्रणमा लिनेछ । कोसी ब्यारेज र तटबन्धको पानी नियन्त्रण र बहाव क्षमता साढे तीन लाख क्युसेकभन्दा बढी छ । अहिले एक लाख ८६ हजार क्युसेक पानी भएको बेला कोसी तटबन्ध फुट्छ भन्ने अनुमान गलत हो ।’
इन्जिनियरको दाबीपछि वस्तुस्थिति र अधिकारीहरूको खण्डनबारे पत्रकारहरूले आ–आफ्नो मिडियामा टेलिफोन लाइभ गरे । सबै फर्किने तयारी गर्दै थिए, कोसी ब्यारेज प्रहरीलाई तित्रिगाछीमा सिपेज बढेर पानीले तटबन्ध नाघिसकेको जानकारी आयो । सब भगाभाग भए । इन्जिनियरहरू भारतको वीरपुरतिर लागे । प्रजिअको टोली हतार–हतार कोसीटप्पुतिर हानियो । पत्रकारहरू पनि लाखापाखा भए ।
दिउँसो साढे १२ बजे ।
हाम्रो बलौटे विश्वासमाथि कोसीको एउटा भङ्गालो पहिलो धक्का दिन उत्तेजित भइसकेको थियो । अथाह जलराशिले सिमाना नाघ्ने बेला हुँदै थियो । चर्को मध्यान्नमा स्थानीय जडताको साक्षी भइबसेका थिए सिमलका रुखहरू ।
तित्रिगाछी ताल नजिकै रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय परिसर छेउ र बाँध क्षेत्रमा मान्छेको ‘मेला’ लागिसकेको थियो । चरा–चुरुङ्गी र आरक्षका जीव–जनावरहरूको आर्तनादले पूरै वातावरण कोलाहलमय बनेको थियो । ब्यारेजबाट प्रहरी–प्रशासनको टोली त्रासद् रमिता हेर्न घटनास्थल भर्खर पुगेको थियो । नेपाल टेलिभिजनका संवाददाता कृष्ण भट्टराई भुल्केली एउटा रुखमा चढेर पानीले धक्का दिँदैगरेको दृश्य रेकर्ड गर्दै थिए, तटबन्ध फुटिहाल्यो । पानी पूर्व–दक्षिणतिर बस्तीक्षेत्रमा जताततै फिँजारिन थाल्यो । नजिकै एक जना स्थानीय कुन्युबाट पराल तान्दै थिए, केही सेकेन्डमै उनी पानीमा पौडी खेल्न थालेको दृश्य क्यामेरामा कैद भयो । पछि उनी मरे, बाँचे ? केही थाहा भएन ।
कटान यति तीव्र थियो कि दुई मिनेटमै करिब ५० मिटर वर रहेको रुख तल पानीको धार आइपुग्यो, जसमा पत्रकार भुल्केली चढेका थिए । विचरा हत्तपत्त उत्रिए र सप्तकोसी एफएमका संवाददाता राम प्रधानसँग मोटरसाइकलमा नौ–दुई एघार भए । सम्भावित जोखिम व्यवस्थापनका लागि वस्तुस्थिति बुझ्न गएका अधिकारकर्मीहरू राजेन्द्र पोखरेल र भेषराज आसे बाँधछेउ पुगेका मात्र के थिए, पानीको मुस्लो उडेको देखेर सातोपुत्लो गयो ।
अहिल्यै र यति सजिलै फुट्दैन होला भन्ने ठानिएको कोसीको बाँध हेर्दा–हेर्दै फुट्यो । त्यही–बेला रेडियोमा सशस्त्र द्वन्द्वका नाइके पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको समाचार प्रसारित हुँदै थियो ।
त्यसपछि के भयो ? कति मान्छे मरे, कति क्षति भयो, कति विस्थापित भए ? राहत र उद्धारको काममा कति विलम्ब, कति चलखेल भयो ? सबै तपाईलाई थाहा छ ।
०००
जुधगन्ज भङ्गालोले साबिकको बाटो समाउनुअघि कोसीका माछाभन्दा धेरै त्रास थियो ‘मधेस’मा । धरान, भेडेटारतिरका कोही राई, लिम्बू वा बाहुन–क्षेत्रीका छोराछोरी हरिनगरा पुगेर सकुसल फर्केलान् कि नफर्केलान् भन्न गाह्रो थियो । प्रतिक्रियामा देवानगञ्ज, घुस्की, नरसिंहतिरका मेहता, यादव र पालहरू बराहक्षेत्र दर्शन गरेर फर्केलान्, नफर्केलान् भन्ने शङ्काको बीउ रोपिएको थियो ।
कुराको उठान यसरी भयो । २०६४ माघ ५ गते लहान राजमार्गमा गोली चल्यो । रमेश महतो सहिद भए । त्यसपछि मधेस आन्दोलन चर्कियो । राजनीतिक उद्देश्यको आन्दोलनमा साम्प्रदायिक उग्रता यसरी थपियो कि त्यसले सनातनदेखि मिलेर बसेका मधेसी र पहाडे मूलका भनिएका दाजुभाइ, दिदीबहिनी, मितबा–मितआमा र छोराछोरीबीच फाटो बनाइदियो । सडकमा रूख ढालेर, टायर बालेर अधिकार माग्ने क्रममा जातीय द्वन्द्वको आगो पनि सल्काइयो ।
स्थिति काबुबाहिर जान उद्यत हुँदै थियो ।
कहिलेकाहीं प्रकृतिले पनि मनको कुरा बुझ्छ जस्तो लाग्छ । त्यही–बेला मधेस आन्दोलनले बाटो बिराउनुअघि कोसीको पानीले आफ्नो धार परिवर्तन ग¥यो । तिनै दिनमा मधेसतिरका भूमिपुत्र, पीडितहरूले बुझे, मधेस आन्दोलनलाई जातीय विद्रोह वा काठमाडौँमा हुने भनिएको ‘भैया’ मार्का व्यवहारगत असन्तुष्टिसँग जोड्नु गल्ती भइरहेको रहेछ ।
बिस्तारै मधेसमा जलकुम्भी झारझैँ फैलिन लागेको जातीय घृणा र द्वन्द्व घट्दै गयो । पहाडे समुदायका छिमेकीलाई भाग्न बाध्य पारेपछि समाज ‘एक्लो’ र ‘खल्लो’ भएको, विकासको पारो निकै तल झरेको अनुभव राजविराजतिरकाहरूलाई भयो । फर्केर आउने पहाडे समुदायका मान्छेहरूलाई फुलमाला लगाएर स्वागत गरिने अभिव्यक्तिहरू सार्वजनिक भए । हार्दिक निम्तो पाएपछि कतिपय छिमेकीहरू बाबु–बाजेले तराईको जङ्गल फाँडेर आर्जिएको पुरानो थाँतथलो फर्किए ।
भन्नु उसो होइन, कोसी तटबन्ध भत्किँदा नेपाल र भारतको बिहारमा अपुरणीय धनजनको क्षति भयो । तर, मलाई अझ पनि लागिरहेकै छ, अकल्पनीय त्यही दुर्घटनापछि हो, मधेसमा मर्दाका मलामी र ज्युँदाका जन्ती फेरि सँगसँगै हुनथालेको ।
त्योभन्दा १० वर्षअघि च्छो–रोल्पा ताल फुट्ने व्यापक हल्ला चल्यो । सबैथोक लुकाउने ठाउँ हुन्छ, डर लुकाउने ठाउँ हुँदैन । हल्लाको प्रभाव यति तीव्र प¥यो कि तल कोसी किनार प्रकाशपुर, राजाबासतिरका बासिन्दा धमाधम सस्तोमा जग्गा बेच्दै विराटनगर, इटहरीतिर बसाइँ सर्दै गरे । केहीले मरे पनि यहीँ मर्ने हो भन्दै खसी–बोका, सुँगुर, पाडा काटेर ‘अन्तिम’ भोज खाए–खुवाए ।
म समाचारपत्रको जल्दोबल्दो रिपोर्टर थिएँ । स्थलगत रिपोर्टिङ गर्दागर्दै यति त्रस्त भइसकेको थिएँ कि कथम्कदाचित् राजाबासमा बाँध फुटेर पानी इनरुवासम्म आइहाल्यो भने कम्मर–कम्मरसम्म होला, त्यो बेला जोगाउनुपर्छ भनेर दराजको तल्लो खण्डमा राखिएका महत्त्वपूर्ण फायल, कागज र फोटोहरू माथिल्लो खण्डमा सारेको थिएँ ।
धन्न ! विदेशबाट आएका विशेषज्ञले तालमा तल दुलो पार्न सफलता प्राप्त गरेको अर्को समाचार सुन्न पाइयो । अकल्पनीय खतरा तत्काललाई ट¥यो । तर, अझै पनि बिबिसिले सम्झाउँदै छ, च्छो–रोल्पा ताल कुनै पनि बेला फुट्न सक्ने डर पूर्णतया हटिसकेको छैन ।
०००
यो दृश्य सामाजिक सद्भाव बिगारिएको–बिग्रिएको स्थिति सामान्य हुँदै गएको यथार्थ झल्काउने एउटा कोसेढुङ्गा थियो ।
तर, यस्तो सामाजिक यथार्थ र आवश्यकताविरुद्ध फेरि उचालिँदै छन् मान्छे । अनेकखाले डर र चिन्ता थपिँदै छन् । बीचमा पानी धमिलो बनाएर माछा मार्न पल्केकाहरू फेरि सक्रिय हुँदै छन् । निकै लामो समयसम्म तुस रहने द्वन्द्वमा धकेलेर, मिलेर बस्न चाहिरहेको समाजलाई डुबाउन खोजिँदै छ । समाजमा वस्तुगत विश्लेषण र चिन्तनको खडेरी बढ्दै छ । परिस्थितिमा फुकाउन निकै समयलाग्ने गाँठो पारिँदै छ । नानीहरूको दिमागमा जातीय द्वन्द्वको बीउ रोप्नेहरूको सङ्ख्या थपिँदो छ ।
उत्सुकतावश आँखीझ्यालबाट म एकमुठी बालकका अनुहारहरू देखिरहेको छु । बालक भगवान्को रूप हो भन्छन् । तीमध्ये कोही मन्दिर जाने छन् । कोही मस्जिद जाने छन् । कोही चर्च जाने छन् । कोही गुम्बा जाने छन् । तर तपाई–हामी सबैलाई थाहै छ, उनीहरूमध्ये कोही पनि आफ्नो रहरले, विवेकले ती ठाउँमा जान थालेका होइनन् । हामी नै उनीहरूलाई त्यसो गर्न बाध्य बनाइरहेका छौँ ।
बकरिदका दिन जलेबिया मितबाकोमा हलाल गरेको खसीको मासु खाएको र मितभाइ सिकिया मियाँलाई सप्तमीका दिन नौला पूजा गरेको बोकाको मासु खान दिएको हिजो जस्तो लाग्छ । ४० वर्ष भयो ।
एकदिन होलीको दिन अजय मण्डलको घर जाँदा भात खाँदै रहेछ । ‘मूला एक्लै खान्छस्,’ भन्दै मैले उसको जुठोभात कपाकप खान थालेँ । लौ ! विद्याधरलाई बिहानै भाङ लागिसकेछ भनेर घरमा खैलाबेला भयो ।
अर्को एकदिन दिवाकर सापकोटाको घरपछाडिको घारीमा हामी केही साथीहरू भाँडाकुटी खेल्दै थियौँ । त्यहीँ एउटा अँठिया केराको बोट ढलेको रहेछ । हामी त्यसमा हात्ती–सवार खेल खेल्ने भयौँ । ढलेको केराको बोटमा माथिसम्म चढ्नु र हात्तीमा चढेझैँ लच्किनु अप्ठेरो थियो ।
मेरो दिमागमा एकाएक एउटा आइडिया आयो । आइडिया फुराउनमा म सानैदेखि माहिर । खुर्रर कुदेर कोठाबाट खुकुरी लिएर आएँ । केराको थाममा तलबाट खोपेर खुडुकिला बनाउन थालेँ । जब तेस्रो खुड्किला बनाउन दोस्रो छ्याक हानेँ, एकाएक ‘हे गो बाबु गो, मार देल के !,’ भन्दै रुँदै, रगत चुहाउँदै मेरो बालसखा पप्पु साह कोठातिर दौडियो । सबै अक्क न बक्क भयौँ । भुइँमा पप्पुको आधा चोर औँलो फुत्रुक–फुत्रुक उफ्रिरहेको देखेर डरले मेरो सातोपुत्लो उड्यो । खेल्ने, खुट्किला बनाउने क्रममा कसो–कसो उसको औँला काटिन पुगेछ ।
दिवाकरको घरमा ओल्लो कोठामा हाम्रो र पल्लो कोठामा पप्पुहरूको डेरा थियो । त्यो दिन म राति अबेलासम्म कोठा गइनँ । गाङ्गा दाइको घरपछाडिको त्रित्रीगाछीको टुप्पोमा लुकेर बसेँ । कसैले थाहा पाएन ।
भोलिपल्ट पप्पुको आमाले, ‘ए विद्याधर ! तैँले मेरो छोराको औँलो काटिस्, पर्खी म पनि तेरो औँलो काट्छु,’ भन्नुभयो । मेरो आमाले उपचार खर्च दिने कुरा भएछ । कुरा त्यत्तिकै मिल्यो । पप्पुले पनि टेक लिएन । पहाडे–मधेसीको फिलिङ मिसाएन ।
सुन्नेलाई सुनको माला । भन्नेलाई फूलको माला ।
...
 bisnuprasad.bg@gmail.com

मद्वारा मेरो निर्माण
– सुविद गुरागाई

मान्छेको कुनै प्राकृतिक स्वभाव हुँदैन किनकि उसको स्वभावको अवधारणा बनाउने कुनै ईश्वर नै छैन । मान्छे, छ त ऊ त्यत्तिकै छ । आफैँ छ । मान्छे त्यही हो, ऊ जे आफूलाई मान्छ । ऊ त्यही नै हो जे आफूलाई बनाउँछ । जब उसले आफू अस्तित्वमा आएको अनुभूति गर्छ, उसले अस्तित्वतर्फ अर्को एक फड्को मार्छ । मान्छे अर्थोक केही हैन, बरु त्यही मात्र हो, जे उसले आफूलाई बनाउँछ ।
ज्याँ पाल सात्र्रका तर्कहरू अस्तित्ववादको सिद्धान्तका रूपमा पढ्दै गर्दा यतिबेला म धेरैले चित्त दुःखाएको एउटा विशेष यात्रामा निस्केको छु । तर, कुन प्रेरणाले यसरी डोरबहादुर विष्ट हुने लालसा बढेको हो ? फन्टुस फिक्सन लेख्नु छ । मानसरोवरबाट बग्दै–बग्दै जलनिधिका छेउमा उभिएर सेल्फी हान्नु छ । कथम्कदाचित यात्राको बिचैमा फुटिगएँ भने के होला तपाई–हाम्रो सम्बन्ध ? अनन्त सिन्धुमा थप एउटा बिन्दु घुलमिल हुँदै गर्दा समयले त्यसको सम्झना कहिलेसम्म गर्ला ?
कहिले होला मद्वारा मेरो निर्माण ?
...
२०४० सालमा आठ कक्षामा थिएँ ।
एकदिन नेपाली विषयका शिक्षक लेखनाथ घिमिरेले एकाएक कविता लेख्न आग्रह गर्नुभयो । लेखनाथ सरको सम्पादनमा स्कुलको मुखपत्र ‘भगवती बन्दना’ निस्किने कुरा थियो ।
‘मैले कविता लेख्ने ? मलाई त आउँदैन सर !’
‘तिमी जस्तो फस्ट ब्वाईले पनि नलेखे कसले लेख्छ ?’
‘तर सर !’
‘मलाई अरू कुरा थाहा छैन, दुई दिनभित्र एउटा कविता लेखेर दिने तिमीले !’
संवाद भएको यति मात्र हो ।
कहिलेकाहीं ‘निरङ्कुश’ आदेशले पनि राम्रै काम गर्छ । फेरि, कुनै पनि चुनौती स्वीकार गर्ने आफ्नो नानीदेखिको बानी ।
लेखनाथ सरको प्रेरणाले मैले जिन्दगीको पहिलो कविता लेखेँ । लेखेँ के भन्नु, लेखनाथ पौड्याल बाबैले ‘पिँजडाको सुगा’मा भनेजस्तो ‘बालक बबुरो द्विज सुक नाम’सँग मिल्दो–जुल्दो झ्याउरे तुकबन्दी गरेर सरलाई डेडलाइनभित्र ‘शिकारी’ शीर्षकमा ‘कविता’ बुझाएँ ।
‘पापी छौ शिकारी तिमी सम्झ आफूलाई
गर्छौ पाप तिमी किन मारी प्राणीलाई ?
नछाड बाँड यसरी आफूलाई बिर्सी
हा ! नमार बिचराहरूलाई ढुङ्गो मन गरी ।’
कविता लामै थियो । यसको मूल कपि खोज्दा कतै भेटिएला । मसँग छैन । कहिले यो ठाउँ कहिले त्यो ठाउँ डेरा सर्ने क्रममा कुन सड्को कुन सड्को हरायो ।
क्याम्पस पढ्ने उमेरमा सम्पादनसहित यो कविता सारिराखेको डायरी चाहिँ छ । यसरी सुरु भएको मभित्रको कवित्व कपि–पेस्ट हुँदै आज कुन मोडमा आइपुगेको छ, त्यो मलाईभन्दा बढी तपाईलाई थाहा छ ।
साँच्चै भनुँ ! मैले आफ्ना जिन्दगीका धेरै उर्वर वर्ष आफूलाई कवि बनाउनुमा, कवि भनाउनुमा खर्च गरेको छु । सुरुमा मलाई कवि हुन औधी रहर थियो । तर, आज लाग्दैन त्यस्तो । कसैले भने पनि ठिकै नभने पनि ठिकै ।
...
कवि अवतारसिंह पासका अनुसार सबैभन्दा खतरनाक हुन्छ मूर्दा–शान्तिले भरिनु । सपना न देख्नु । छट्पटी नहुनु । घरबाट सिधा अफिस जानु । अफिसबाट घर आउनु । सबैभन्दा खतरनाक हुन्छ सपनाहरूको मृत्यु हुनु । कवि जोसेफ ब्रोड्स्की भन्छन्, किताब जलाइनुभन्दा पनि खतरनाक अपराध यहाँ छन्, तीमध्ये एक किताब नपढ्नु हो ।
धन्न ! अहिलेसम्म म यी दुवैबाट जोगिएको छु । बेला–बेलामा किताबहरू पनि पढिरहेको छु । सपना पनि देखिरहेको छु ।
‘तिमी सपना मात्रै जान्दछौ तर हामी सपनाका खतराहरू जान्दछौँ ।’
बुझ्नेका लागि कविता धेरै शब्द चाहिँदैन । कवयित्री नोशी गिलानीको यो कवितामा मलाई थप्न मन लागेको छ, ‘म सपनाका रङहरूसँग जिस्किँदै छु । म सपनाका भ्रमहरूतिर नजिकिँदै छु ।’
...
भनिन्छ, प्रतिक्षा गर्नेले फल त पाउँछ तर त्यही फल पाउँछ, जुन अगाडि जानेले छोडेको हुन्छ । यस्तोमा अगाडि बढेर राम्रो फल छनोटको अवसर लिने कि छोडिएको फलमा चित्त बुझाउने आफ्नो इच्छा ।
सत्य पनि धेरैथरि हुन्छन् । एउटा सत्य मेरो धेरैनजिक छ । म बाहिर जस्तो छु, भित्र त्यस्तो छुइनँ । साथीहरू भन्छन्, दाइले यस्ता सानातिना, झिना–मसिना कुरामा अलमलिनु हुँदैन । उनीहरूलाई उनीहरूकै हालमा छोडिदिनुपर्छ मैले । तर, यो कस्तो लीला हो ? एकातिर उनीहरू नै भन्छन्, भाइपुस्ताका कमी–कमजोरीहरू औँल्याइदिनु दाइपुस्ताको दायित्व हो । फेरि उनीहरू नै भन्छन्, हलेदो भनेर जानिसकेपछि कोट्याइरहनु हुँदैन बुझ्नेहरूले ।
सङ्गतिको मूलधारमा चेतना विसङ्गत भएको छ । शिवको लीला !
तर, यी सबै कुराहरू मैले दुनियाँलाई प्रष्ट बुझाउन सकिरहेको छुइनँ । भन्न जानिरहेको छुइनँ । भन्न मन लागेको सन्दर्भ भन्न नजान्नु पनि एउटा लीला हो । इशारा नबुझिनु अर्को लीला ।
मलाई पुरुषोत्तम घिमिरे आदरणीय गुरु लाग्छन् किन ? मलाई आकासे नीलो रङ मनपर्छ किन ? मलाई स्याउ मन पर्दैन किन ?
जवाफमा म जे भन्ने गर्छु, त्यही नै यथार्थ नहुन सक्छ । मैले भन्नुपर्ने कुरा भन्न नजानेको पनि हुन सक्छु । वा, भन्नका लागि भनिदिएको हुन सक्छु ।
...
जुन बाटोमा नहिँडु भन्थेँ आज त्यही नै जाती भयो । जुन धर्तीलाई लत्याएँ मैले आज त्यही नै साथी भयो । एक बेला जुन गाउँ–ठाउँलाई सम्झेर मैले यो मत्ला लेखेँ आज बिस्तारै त्यसलाई टाढा बनाउने उपक्रममा छु । नजाने किन ?
प्रश्न अलि भावनात्मक छ ।
दोधारैमा अल्झाइराख एक–दुई दिन अरू । खुल्नुभन्दा रहस्यमै मजा हुन्छ बरु । न रुनु न हाँस्नुजस्तो नियति होस् सधैँ, भइराखोस् भित्र–भित्रै के गरुँ–कसो गरुँ ।
धमिलो पानीमा माछा मार्नेको कमी छैन ।
‘के भनिस् रे !’
सबै चुपचाप । कोही झगडा गर्ने मुडमा छैनन् । मैले पनि रिस, आवेग र लज्जालाई मनको हार्डडिस्कबाट यसरी नै सिफ्ट–डिलिट गरेको छु धेरै पटक ।
‘आज के छ योजना ?’
‘कस्तो योजना ?’
‘कथाले मागेअनुसारको !’
‘सरी ल, म त्यस्तो केटी होइन ।’
‘कस्तो केटी होइन ?’
‘त्यही तपाईले सोचेजस्तो ।’
‘के सोचे मैले त्यस्तो ?’
‘मैले केटाहरू खोजेकी भए कति पाउँथेँ कति !’
‘सरी ल, म पनि बलात्कारी होइन !’
...
‘सफलता खोज्दा–खोज्दै जीवन बिताएँ ।
बुद्ध हुन हिँड्दा–हिँड्दै यौवन बिताएँ ।’
मनका भाव र काफियाको तालमेल नभएपछि गजलगोले सोच्यो – पशुपतिनाथको कृपाले यो राष्ट्र अहिलेसम्म असफल भइसकेको रहेनछ । यदि राष्ट्र असफल भएको भए, पूरै गजल त के मत्ला–ए–उलासमेत फुर्न छोड्थ्यो । तखुल्लससम्म पुग्ने त सोच पनि हुँदैनथ्यो । गजलगोहरूले लेख्न छोडेपछि गायकहरूले पनि गाउन छोड्थे । गायकी र वाद्यवादनमा नेपाली घराना बन्दै गएको गजलको सन्दर्भ पनि बीचैमा छोडिन्थ्यो । त्यसपछि के हुन्थ्यो ?
कविहरू कविता लेख्न छोड्थे । पत्रकारहरू समाचार छाप्न छोड्थे । गुरुहरूले प्रवचन बन्द गर्थे । शिक्षकहरू पढाउन छोड्थे । छात्रछात्राहरूले पढ्न छोड्थे । राजनीति गर्न खोज्नेहरूले विचार त्याग्थे । चालकहरूले यात्रा बिसाउँथे । गाडीहरू गुड्न, इन्जिनहरू चल्न छोड्थे । नुन, तेल, बेसाहा पाइन छोड्थ्यो । बजारहरू बन्द हुन्थे । ग्यास, दाउरा, बिजुली, पानीको चरम अभाव हुन्थ्यो । खान पाइन छोडेपछि, लाउन पाइन छोडेपछि सेक्युरिटी गार्डहरू, गृहिणीहरू, अगुवाहरू, पछुवाहरूसहित कोही पनि सरोकारवालाहरू घरमा चुप लागेर बस्ने थिएनन् । जनता घरबाट सलक्ष्य सडकमा निस्कन्थे र सरकारलाई भन्थे, ‘आज कि म छैन कि यो छैन !’
तर फन्टुस फिक्सनको नियति त्यति जटिल हुने छैन, जति अहिले बुझिँदैछ । कुनै पात्रलाई शब्दमा चित्त बुझेको छैन । कसैलाई यो पढ्नु नै छैन । तर, जसले यो भनिरहेको छ, यो सोचिरहेको छ, उसलाई राम्ररी थाहा छ, हामी नपढी रहन सक्तैनौँ । अज्ञानी भइरहन पाउँदैन ।
अन्ततः त्यही हुन्छ, जुन कथाको सापेक्षतामा विकास हुन्छ ।
क्षमा चाहन्छु । समयमा मैले आफूलाई चिन्न सकिनँ । समयमा मैले अरूलाई चिन्न सकिनँ । समयमा सही निर्णय लिन सकिनँ । समयमा माया व्यक्त गर्न पनि जानिनँ !
...
आमूल परिवर्तन र समृद्ध हाम्रो सपना थियो । तर आज के बेहोर्नु परिरहेको छ ? किन जुन जोगी आए पनि कानै चिरिएका मात्र आउँछन् ? किन हाम्रो सपनालाई तुहाइएको छ ? किन हामी यो बेथिति स्वीकार गरिबसेका छौँ ? कतै हामी ‘सक्छौ प्रतिकार गर नत्र स्वीकार गर’ भन्ने चिन्तनबाट मनोग्रसित भएका त होइनौँ ? फेरि, स्वीकार के गर्ने ? के हामी अक्षम छौँ भनेर स्वीकार गर्ने ? हामीले मन मारेका छौँ, हार खाएका छौँ भनेर स्वीकार गर्ने ? कि हामी सधैँ अरूद्वारा शासित हुन योग्य छौँ भनेर स्वीकार गर्ने ?
पटकथा मिलेको छैन । सिकाइ भन्छ प्रतिक्षाको फल मिठो हुन्छ ! धैर्य मानिसको साथी हो । समयले उचित जवाफ दिन्छ । अब्राहम लिङ्कन भन्छन्, प्रतिक्षा गर्ने मान्छेले सामानहरू त पाउँछ तर तिनै सामानहरू, जुन सङ्घर्ष गर्ने मान्छेहरूले छोडेर गएका हुन्छन् । यस्तै विरोधाभास छ जीवनमा ! के गर्ने, के नगर्ने ?
भन्नु पो हुन्न, दुनियाँ रिसाउँछन्, तर बोल्दैनन् । यो देशमा के भो ?, चिहानभन्दा जमेको, मूर्दा शान्ति छ । हावामा छैन, धर्म निरपेक्षता, नमः शिवाय ! बढेको बढ्यै, कुहिरोमा कागहरू ।
यथार्थमा म जति बोलिरहेको छु, लेखिरहेको छु, त्यति साथीहरू टाढा हुँदै छन् । मेरा कुराले उनीहरूको स्वार्थमा असर परिरहेको छ । तर यसमा मलाई थाहा छ, उनीहरूको मुखले जे भने पनि मनले सत्यताको धेरै अंश स्वीकार गरिरहेको हुन्छ ।
अहिलेको पुस्ता पहिलेको पुस्ताभन्दा कम भ्रष्ट छैन । चोर आवाजको सघनता थपिएको छ । जो भ्रष्ट छ उही भनिरहेको छ, म भ्रष्टाचार गर्दिनँ ।
०००
विचित्रको ग्राउन्ड रियालिटी छ ।
भनिन्छ, मान्छे सफलताबाट केही सिक्दैन । असफलताबाट धेरै सिक्छ । तर दुनियाँमा कोही असफल हुन तयार छैन । सिक्न तयार छैन ।
जो मस्जिदको सेबइ निःसङ्कोच खान्छ । मन्दिरको लड्डु पनि खान्छ । गुम्बाको खिर, गिर्जाघर, गुरुद्वाराको प्रसाद जसका लागि उत्तिकै प्रिय छन्, उसका लागि भोकभन्दा ठुलो धर्म अर्को छैन । जसलाई गीता मनपर्छ कुरान पनि । अल्लाह पनि उसकै हो भगवान् पनि ।
कृपया परमेश्वरले असल विचारहरूको रक्षा गरुन् !
सार्वजनिक ठाउँमा एउटा मान्छे छ । भुइँतिर निहुरेर छिनो–हतौडीले केही खोपिरहेको छ ।
‘को हो यो ?’
‘श्रमिक बुद्ध !’ कलाकार विक्रमश्रि भन्छन् ।
‘श्रमिक बुद्ध ?’ म छक्क पर्छु ।
बुद्धले श्रम गर्ने सन्दर्भ कताकता नमिलेको जस्तो लाग्छ । कवि–कलाकारको दिमागमा अनेक तर्कना आउँछन् ।
‘अबको बुद्धले ध्यान गरेर मात्र पुग्दैन, श्रम पनि गर्नुपर्छ । कुनै पनि दर्शन मनले अनुभव गरेर मात्र हुँदैन, त्यसमा अलिकति पसिना पनि मिसाउनुपर्छ ।’
तर, जिन्दगी निर्माणको कथा त्यतिमा मात्र सीमित छैन । बुद्ध भनिएको सत्यले सनातनदेखि आफूले आफूलाई स्याहार्दै, खिप्दै आएको छ ।
यस्तै टुटेफुटेका सन्दर्भहरू जोडेर भइरहेको छ – मद्वारा मेरो निर्माण ।
०००

bisnuprasad.bg@gmail.com
पासवर्ड – हर्दा बोल !
– सुविद गुरागाई

‘हे भगवान् ! हे कृष्ण !’
कोसीको भुमरिएको पानीमा खस्दै गर्दा र भुक्लुक्क डुब्दै–उत्रिँदै गर्दा मैले सुवानी चिच्याएको यति मात्र सुनेँको थाहा छ । त्यसपछि पुल्ठेगौँडामा के भयो ? केही थाहा छैन ।
म डुबेर बेहोस भइसकेको रहेँछु ।
मलाई पौडी खेल्न आज पनि आउँदैन । सानोमा स्कुलबाट भागेर हामी सुनसरी खोलामा पौडी खेल्न जान्थ्यौँ । पानी उस्तो धेरै हुँदैनथ्यो । तर, चाहँदा डाइफ हान्न, नाक थुनेर डुबुल्की मार्न पुग्थ्यो । म, दिवाकर सापकोटा, कुबेर बज्राचार्य, अजय मण्डल, हेमनारायण पोद्दार, सुरज सुब्बा, राजकुमार शाही, सञ्जय लुइँटेल, हरिकृष्ण पोखरेल, सन्तोष तिवारी, विष्णु भट्टराई, सतनारायण महतो लगायत साथीहरू हुन्थे । यीमध्ये अहिले मैले सम्झिन खोजेको चाहिँ कुबेर बज्राचार्य हो ।
त्यो दिन हामी पुल वरपर त्यस्तै डुबुल्की मार्दै पानीभित्र लुकीडुम खेल्दै थियौँ । कुबेरको डुम हुने पालो आयो । ऊबाहेक सबै डाइफ हानेर पानीमा लुक्न थाल्यौँ । पानीभित्र डुबुल्की मार्न सक्ने डुबेर, नसक्ने खुट्टैले टेकेर डुमबाट परपर तर्किर्दै खेल्दै थियौँ । म एउटा हातले नाक थुनेर भित्रभित्रै हेलिन के लागेको थिएँ, कताबाट कुबेर आएर मलाई च्याप्प कम्मरमा समातिहाल्यो ।
‘हुडुक...हुडुक...भयो–भयो छोड–छोड’ च्याप्प समातेर पानीमा गोडेपछि म अत्तालिएँछु ।
‘विद्याधर आउट... विद्याधर आउट...!’
‘ल–ल आउट... हर्दा–हर्दा...!’
पानीभित्र नाक थुनेर कति बस्न सकिन्छ र ! छोड्छ भन्छु, छोड्दैन । अब त छोड्छ होला भन्छु, फेरि पनि छोड्दैन । त्यसरी लुकीडुम खेल्दा, बुढी कबडी वा सादा कबडी खेल्दा ‘भयो, भयो छोडिदे, आत्मसमर्पण गरेँ,’ भन्ने भाव जनाउने पासवर्ड थियो – हर्दा !
‘हर्दा... ह... ह...!’
बोल्न पनि नसक्ने भइसकेँ । धन्न ईश्वरको कृपा भनौँ, मेरो बाँच्ने दिन । यत्रो दिन बाँच्नु पर्ने रै’छ, अझ कति बाँच्नु पर्ने हो ! के मर्थे । कसोकसो गरेर कुबेरको हात फुस्कियो र सन्तोषलाई खेद्न थाल्यो । म त एकैचोटि अत्तालिएर, नर्भस भएर, खोलाको पिँध टेकेर जुरुक्क उठेँछु ।
संसारै अर्को देखेँ ।
पूरै नर्भस । जसोतसो किनारको डिलमा पुगेर डङ्ग्रङ्ग लडेँ, उत्तानोचित । आधा घण्टा त बोली पनि आएन । सन्तोषले थाहा पाएछ ।
‘ए, विद्याधर के–भो, के–भो,’ भन्दै छेउमा आएर बस्यो । दस मिनेट जति त्यत्तिकै भो ।
‘केही होइन,’ जसोतसो सासले यति शब्द भनेँछु । अनि घाम ताप्न पल्टिए जस्तो बहाना बनाएँ । के भन्नु ? उसले जानी–जानी गरेको भए पो । खेलमा ऊ पनि कुन सुरमा थियो, मारौँ भनेर त पक्कै समातेको थिएन ।
कसैद्वारा समातिएपछि वा बेसरी ङ्याकिएपछि समात्नेले चाँडै हार स्वीकार गरोस् र समातिनेले एकछिन अरू टिकिराखुँ, सजिलै हार किन स्वीकार गर्ने भन्ने बाल मनोविज्ञान हुन्छ । यस्तोमा समात्नेले ‘हर्दा बोल !’ भनेर खेलमा हार स्वीकार गर्न पर्याप्त मौका दिने अलिखित आचारसंहिता हुन्छ । ‘सडेल’ भनेर काम थाल्दा अलिअलि गल्ती भए पनि भुलचुक लिनेदिने हुन्थ्यो । तर, कुबेरले न सडेल भनेको थयो, न हर्दा बोल !
‘जाऊँ हिडौँ अब, पुग्दापुग्दा पाँच घन्टीको बेला ठिक्क हुन्छ,’ सन्तोषले भन्यो ।
म पनि जुरुक्क उठेँ र भिजेको कट्टु खोलेर निलो हाफ–पेन्ट लगाएँ । कुबेरले यो कुरा थाहा पायो कि पाएन, थाहा छैन । तर, त्यही दिन हो मैले पानीभित्र सास थुनेर, आँखा चिम्लेर पनि अलिकबेर बाँच्न सकिन्छ भन्ने थाहा पाएको । त्यसपछि म अरू–अरु पटक पनि सुनसरी वा कक्रु–कुरुवामा पौडी खेल्न जाँदा नाक थुनेर सास रोकेर कतिबेरसम्म पानीभित्र बाँच्न सकिन्छ भनेर समय लम्ब्याउने अभ्यास गरिरहन्थेँ ।
०००
बाल बेलामा पौडी खेल्न सिक्न खोजेको अनुभव पुल्ठेगौँडामा प्रयोग गर्नुबाहेक मेरो जिन्दगीमा त्यतिखेर अर्को कुनै विकल्प थिएन । आँखा चिम्लेको थिएँ । अन्धकार बढ्दै थियो । म किनारतिर पुगिन्छ कि भनेर हातखुट्टा पनि चाल्दै थिएँ ।
धमिलो–चिसो पानीले पनि आफ्नो काम गर्दै थियो । घरि भुमरीमा घुमाउँदै, घरि तलतिर हुत्याउँदै, मलाई जानु पर्ने बाटो देखाउँँदै थियो ।
तर, जारी कथा अनुसार म मर्ने बेला भएको थिएन ।
मात्रै बेहोस भएको थिएँ । यतिबेला भन्दा ठ्याक्कै स्वस्थानी कथाकी छिछि दूर–दूर गर्ने चन्द्रावतीको स्थिति ।
बग्दै दलदलमा लट्पटिँदै म यति पर पुगेर अड्किएँछु, जहाँ दिनभरि मलाई खोज्नेहरूको आँखा परेनछ । बुधबारको दिन थियो । राति एकाबिहानै जाल थाप्न आएका गुलाबी मुखियाको जालमा अल्झिएर म बाहिर आएँछु । हुने दिन । सोँस माछा प¥यो, आज चाहिँ मधुवन हाटमा बेचेर रजियाको सबै उधारो तिर्छु भन्ने सोचेर जाल तानेको, हिलोले लत्पतिएको म बाहिर आएँछु । मलाई केही थाहा छैन ।
यही पनि पछि मलाई गुलाबीले भनेको ।
त्यसपछिका पाँच वर्ष मैले बेहोस भएर बिताएँ । ठ्याक्कै त्यो फिलिमहरूमा हुन्छ नि ! कुनै ठुलो दुर्घटनामा परेर नायकले आफ्नो पुरानो कुराहरू सबै बिर्सिन्छ । र, त्यस्तो स्मृति फिर्ता नहुञ्जेलसम्म नयाँ परिवेशमा अर्कै बिन्दास जिन्दगी बाँच्छ । तपाईलाई पत्यार लाग्दैन होला, भन्नका लागि भने जस्तो लाग्छ होला तर ठ्याक्कै त्यस्तै भयो मेरो जीवनमा पनि । शिवको लीला !
तपाईलाई विश्वास लाग्दैन भने मैले जो–जो मेरा साथी भनेर अघि भनेँ, तिनीहरूमध्ये कसैलाई पनि म बिचमा पाँच वर्ष हराएको कुरा सोध्नुहोला । साला बहुलाहा भइसकेको छ, जे पनि भन्छ, भन्छन् । तिनीहरूले पनि पत्याउँदैनन् भने तपाईलाई त विश्वास लाग्ने कुरै भएन । विश्वास नलागेर के गर्नु मैले जे भोगेँ, जे देखेँ, त्यो म क्रमशः भन्दै जान्छु । अनि पत्यार लाग्ला तपाईलाई ।
अघि म पुल्ठेगौँडामा त्यसपछि के भयो भनेर भन्दै थिएँ । एक्चुअल्ली मलाई केही थाहा छैन, म पानीमा खसेपछि त्यहाँ के भयो ?
यद्यपि विभिन्न फिल्महरू हेरेको आधारमा, उपन्यासहरू पढेको आधारमा म कल्पना गर्न सक्छु, एउटी प्रेमिकालाई आफ्नै कारणले प्रेमी त्यसरी आफ्नै आँखा अगाडि मरेको वा मर्दै गरेको देखेपछि के हुन्छ ? प्रहरीले लास पनि नभेटिएकाले बेपत्ताको सूचीमा राखेपछि त्यो दिन के भयो होला ? त्यसपछिका दिनहरू के भए होलान्, कसरी बिते होलान्, त्यो अहिले हामी कल्पना गर्न सक्छौँ । तर, सुवानीलाई नभेटी यसै भो भनेर भन्न सकिन्न ।
सिम्पल छ, त्यो कोसीमा खस्नुभन्दा अघि उनी म बुढेसकालको मायालाई कति माया गर्छिन् र त्यसका लागि उनी कति हदसम्म जान सक्छिन् भनेर थाहा पाउने प्रयास गरिरहेको थिएँ । र, त्यो प्रयास मेरो आजसम्म यथावत् छ ।
सुवानीको हालत त्यो दिन के भयो ?
०००
हराएका दिनहरूमा म विष्णुप्रसाद भएँ ।
ती दिनहरूमा मैले जति पनि लेख लेखेँ, खोज अनुसन्धान गरेँ ती सबै विष्णुप्रसादका नाममा सार्वजनिक नै छन् । मेरो नाम विष्णुप्रसाद हुनुमा पनि एउटा विचित्रको संयोग छ । जसले मलाई जालमा पारेका थिए, उनी विष्णुका परमभक्त थिए । महाकवि देवकोटालाई लक्ष्मीको प्रसाद माने जस्तो उनले मलाई विष्णुको प्रसाद ठानेँ । र, रक्सी लागेका साथीहरूलाई जबर्जस्ती ताली बजाउन लगाएर मेरो नाम अनुमोदन गराए । भला, अहिले सोच्छु उनले त्यो नाम राखेर पनि राम्रै काम गरेछन् । किनकि मेरो टिप्पनको नाम पनि विष्णुप्रसाद नै थियो ।
चिसो छिप्पिसकेको थिएन । तर, कोसीबाट पानीको हरक आएर साँझ–बिहान चिसै हुन्थ्यो ।
पर्सिपल्ट गुलाबी मुखिया र उनका दुई जना दरपिया साथीहरू क्याम्प–फायर जस्तो बिचमा घुर बालेर बसेका थिए । म पूर्व फर्केर एउटा कर्चीले एउटा प्लास्टिक जस्तो केही कोट्याउँदै थिएँ ।
भर्खर छ बजेको थियो । उनीहरू शून्य समयपछि जाल लिएर पुर्वी डुबानतिर जानेवाला थिए । पुतपुताउँदो धूँवा आगो भएर हुर्रर बल्न खोज्दै थियो तर सकिरहेको थिएन ।
एकचोटि फु गरेर फुकेको त धूँवा म भएतिर बटारिएर आयो । भिक्स दले जस्तो पिरपिर गर्दै आँखाभरि आँसु भयो ।
‘क्या हो, विष्णुप्रसाद सर ! सानोमा खोलातिर फर्केर खुब पिसाब फेर्नुभएको रै’छ । त्यही भएर धूँवाले निकै माया गर्दो रै’छ तपाईलाई,’ राजन चन्द्रवंशीले मलाई जिस्क्याए ।
सबै गललल हाँसे । मलाई हाँस उठेन ।
सानोमा कुन खोलातिर फर्केर मैले पिसाब फेरेको थिएँ ? कहाँ बितेको थियो मेरो बालककाल ? को हुँ म ? कोसीको भङ्गालोले मलाई कहाँबाट बगाउँदै गरैयाटप्पु ल्याइपु¥याएको हो ? कति घण्टासम्म म बगे हुँला ? केही थाहा थिएन कसैलाई । मलाई जिस्क्याउने राजनलाई त झन् के थाहा !
त्यही बेला गुलाबीले एउटा सानो–सानो खरको मुठो घुरमा हाले । आगो हार्रर हुर्केर झलमल्ल भयो ।
उज्यालोमा देखियो गुलाबी मुखियाको कान्छी पट्टिको जेठो छोरो – माछा इन्जिनियर !
उसको वास्तविक नाम विजयकुमार मुखिया थियो । चानचुन १० वर्ष । पहिलो दिन मैले यो भाइको नाम के हो ? भनेर सोध्दा गुलाबीले ‘माछा इन्जिनियर’ भनेर चिनाएका थिए । सिमसारमा, पोखरीतिर माछा मार्न, गङ्गटा समाउन सानैदेखि सिपालु भएकाले त्यसो भनेका रे ! स्कुलमा नाम लेख्न त लेखाइएको थियो तर उसको दुई–तिहाइ समय पानीमै बित्थ्यो ।
‘माछामा पिएचडी गरेको छ यसले,’ गुलाबीले छोराको परिचयमा यस्तै शब्द प्रयोग गरेका थिए । कुरा सुनेर म खिस्स हाँसेको थिएँ ।
तर यतिखेर हाँस्नुपर्ने परिस्थिति थिएन ।
देब्रे हातमा एउटा चरो, दाहिने हातमा एउटा किताब र बाइनाकुलर समातेर माछा इन्जिनियर उभिएको थियो । चरो जिउँदै थियो । उँधोमुन्टो पारेर खुट्टा समातिराखेको थियो ।
‘दिउँसो मधुवन गएको थिएँ । फर्किँदा आँपगाछीदेखि अलि वर खर–घारीमा पाँच–छ वटा चरा रहेछन् । समाउन खोजेको भागी हाले । यो सानो चाहिँ अत्तालिएर घारीमा अल्झियो । समाएर आउँदै थिएँ, घाटनेर ढुङ्गामा यो किताब र यो क्यामेरा राखेको रहेछ,’ कसैले केही सोध्नुअघि माछा इन्जिनियरले स्थानीय लवजमा बेलीबिस्तार लगायो ।
‘धुर... क्यामेरा नै छे, दुरबिन छे,’ कैलु मलाहा बोल्यो ।
मैले सुरुमा बाइनाकुलर त्यसपछि चरा भएको हाततिर हेरेँ ।
चरो सानो–सानो, छिर्केमिर्के, लामो खुट्टा भएको अलि फरक खालको थियो । चुच्चो हेर्दा हाँस जस्तो, जीउ हेर्दा कुखुरा जस्तो । तर, न हाँस न कुखुरा ।
‘कुन चरा हो यो ?’ मैले सोधे ।
‘बच्चा तित्रा,’ गुलाबीले भने ।
‘ल, यो किताब तपाईलाई काम लाग्ने रै’छ । चरो चाहिँ पोलेर खानुपर्छ । खोइ ल्या त हेरौँ के रै’छ यो,’ गुलाबीले छोराको हातमा झुन्डिरहेको बाइनाकुलर तान्दै भने, ‘हो त नि, दुरबिन त रै’छ नि । अस्ति राजकुमारको हातमा पनि यस्तै देखेको थिएँ ।’
त्यसपछि सुरु भयो मिसन खरमयुर । दुर्लभ सानो खरमयुरको खोजी ।
०००
bisnuprasad.bg@gmail.com
ध्रुवे फिक्सन

–सुविद गुरागाईं


‘हेलो सर ! ध्रुवे यहाँ छ !’
फोन गर्नेले पैसा तिर्नु नपर्ने हेलो सरकारको टेलिफोन नम्बर ११११ मा मैले बिहीबार बिहानै सूचना चुहाइदिएँ ।
‘कहाँ छ त्यो अधर्मी ?’ उताबाट स्थायी सरकारको कोही प्रतिनिधिको खस्रो आवाज सुनियो ।
‘यहाँ, हाम्रो पानीपियाको जङ्गलमा...’ मैले थप सुराकी गरेँ ।
मैले एकदिनअघि मात्र धु्रवे हात्तीका बारेमा पत्रिकामा पढेको थिएँ । सरकारले धु्रवेका नाममा ‘रेडकर्नर नोटिस’ नै जारी गरेको अवस्था छ । यसरी कसैलाई पनि ‘मस्ट वान्टेड’ फौजदारी अपराधीको सूचीमा राखिसकेपछि त्यसबारे पहिलो सूचना दिने व्यक्तिलाई सरकारले राम्रै पुरस्कारको पनि व्यवस्था गरेको हुन्छ ।
‘कहाँ हो यो पानीपियाको जङ्गल भनेको ?’ सरकारका मान्छेहरू प्रस्ट हुन चाहिरहेका थिए ।
विचराहरू धु्रवे खोज्दा–खोज्दा लखतरान भएका थिए । एकातिर चितवनबासीको र अर्कोतिर हाकिमहरूको दबाबका माझ राष्ट्रसेवकले दिन–रात भन्न पाएका थिएनन् । संरक्षणवादी कार्यकर्ताको दबाब पनि सँगसँगै थियो ।
तर, नेपालको कानुनमा उल्लिखित ‘हात्ती बहुलायो भने मार्न पाइन्छ’ भन्ने झिनो र विवादास्पद आधारको फेर समातेर कर्मचारीहरू संरक्षण र वैकल्पिक उपायका नाराहरू कुल्ँिचदै जङ्गल–जङ्गल भौंतारिइरहेका थिए ।
‘भन्न त भनिहाल्छु नि सर, तर सूचना दिने मान्छेलाई केही पुरस्कारको व्यवस्था पनि छ कि !’ मोही माग्नु, ढुङ्ग्रो किन लुकाउनु !
‘हुन्छ, पुरस्कारका लागि सिफारिस पनि गरौंला, ...अब भन्नुहोस्, कहाँ छ पानीपिया ?’
‘हाम्रो सुनसरीको चारकोसे जङ्गलमा, तरहरा र शान्तिनगरको बीचमा...’ मैले ‘पुरस्कार पाइहालिन्छ कि’ भन्ने सोचलाई ‘रेडकर्नर नोटिसवालाका बारेमा सूचना दिनु नागरिकको कर्तव्य पनि हो’ भन्ने विचारमा अनुवाद गरेर खुलस्त बताइदिएँ ।
कृतज्ञ हुँदै उताबाट भनियो, ‘धेरै–धेरै धन्यवाद छ !, तपार्इं साह्रै बुझ्झकी मान्छे हुनुुहुँदोरहेछ । कृपया त्यहीँ बस्दै गर्नुहोला !’
०००

गडडड... घ्यार्रर्रर ... गर्दै सेउती खोलातिरबाट जङ्गलमाथि आर्मीकलरको हेलिकप्टर देखियो । हेर्दाहेर्दै हर्बल तेल उत्पादक कम्पनी परिसरमा रहेको दुर्लभ हाँडीफोर (काकाकुल) चराको स्थायी बासस्थान ठूलो सिमलको रुख छुँला–छुँलाजस्तो गरेर छेकारो मार्दै हेलिकप्टर म उभिएको ठाउँमाथि आइपुग्यो । हेलिकप्टरको कर्कस आवाजले विचरा हाँडीफोरका बचेराहरू साह्रै त्रसित भएछन् क्यार ! च्याउँ–क्याउँ गर्दै कराएको प्रस्ट सुनियो । शान्त वातावरणमा एकाएक हुनपुगेको मानवीय घृष्टताविरुद्ध जोडी काकाकुलले गुँडबाट बाहिर निस्केर चिहानघारीमाथि एक फन्को लगाए र फेरि गुँडमै फर्किए ।
सुरुमा चीलजत्रो देखिएको हेलिकप्टर हात्तीभन्दा ठूलो भएर क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परिसरको खुला खेतमा थपक्क बस्यो ।
मैले सूचना दिएको एक घण्टाजसो भएको थियो । धु्रवे फायरलाइनको बाटो हुँदै तालतलैया मार्गमा प्रवेश गरिसकेको थियो । हात्ती लम्केको र घोडा चम्केको भन्छन्, एक घन्टामा त धु्रवे कहाँबाट कहाँ पुगिसक्यो होला ! सोच्दा–सोच्दै यस्तो तर्कना आउनासाथ मन चिसो भयो । तै, प्रमाणका लागि मैले ‘नेपाल वान’को स्टिकर टाँसिएको क्यामेरामा पानीपिया खण्डमा दिउँसै धु्रवे देखिएको र फायरलाइनतिर गएको फुटेज लिइराखेको थिएँ ।
मान्छे डढाउने घाटनेर उभिएको म बिस्तारै हेलिकप्टर भएतिर अघि बढेँ । हेलिकप्टरबाट बन्दुकवाला चार जना, डाक्टरजस्ता दुई जना, पाइलट एक जना र एक जना सामान्य लुगा लगाएका मान्छे फुत्त–फुत्त बाहिर निस्किए । सामान्य लुगा लगाएका मान्छेले मोबाइलमा फोन डायल गरेको देखेँ । मैलाई खोजेको हुनुपर्छ भन्ने लागेर म उनीहरू भए नजिकै पुगेँ । नभन्दै हो रहेछ । मैले ध्रुवे देखेको फुटेज देखाइदिएँ ।
‘वाह ! ठीक छ !’ खोजेकोजस्तै दृश्य देखेर उनीहरू उत्तेजित भए ।
‘खै, कहाँ हो त यो ठाउँ ?’ खुसीले तरङ्गित हुँदै एक जनाले सोधे ।
‘ठाउँ त यतै हो सर, तर... !’ म अलि झोक्राएँ ।
‘के तर ?’ उनको मनको प्यालामा एक टुक्रो बरफ कक्टेल भएर खस्यो ।
मैले ध्रुवे शान्तिनगरी सामुदायिक वन हुँदै तालतलैयातिर गएको बेलिबिस्तार लगाएँ र भने, ‘भर्खरै त्यता गएको हो सर, खोज्न जानुपर्छ, म पनि तपाईंहरूसँगै जान्छु, धेर टाढा गएको छैन होला ।’
‘जङ्गलमा छिरेको हात्ती र बालुवामा छिरेको सियो भेट्न धेरै गाह्रो हुन्छ भाइ !’ उनी लल्याकलुलुक भए । बोलीबाटै थाहा हुन्थ्यो, उनी चितवनमा दुई साताअघिदेखि जारी ‘धु्रवे खोज अभियान’मा सहभागी एक असफल अभियन्ता थिए ।
‘यताको चारकोसे जङ्गल चितवनको जस्तो घना छैन सर, मानवीय अतिक्रमणले गर्दा पातलिएर टाँट भएको छ ।’ मैले उनलाई आश्वस्त पार्न खोजेँ ।
०००
उहिलेको कुरा ।
आतङ्ककारी मत्ता खोज्न विशेष योजना बनाउन हामी तरहरामा भेला भएका थियौँ ।
पूर्वाञ्चलकै नामी सेकुवा खाजा खाने क्रमसँगै खोजी टोलीका संयोजकले यताउति विभिन्न ठाउँमा फोन गरे । उनले कोसीटप्पु आरक्ष, सुनसरी प्रहरी, वन कार्यालय र जिल्ला प्रशासनका हाकिमलाई फोनबाटै जानकारी गराए र आवश्यक मद्दतका लागि आग्रह गरे ।
टोली तरहरामै बसेर गौंडा ढुक्ने निस्कर्षमा पुग्यो । मैले पनि त्यतै रात बिताउने सोच बनाएर अफिसमा खबर गरेँ । उताबाट, ‘त्यो त एक्सक्लोसिभ हुन्छ, भएको फुटेज पठाउनु, यता हामी ब्रेकिङ–स्क्रोल चलाउँदै गर्छौँ !’ भने न्युज चिफ मुकुन्द दाइले । टोली प्रमुखले पनि सूचनादाता सँगै नबस्नु भन्न सकेनन् ।
उनी जनावरको मनोविज्ञान बुझ्ने मानिस रहेछन् । कोसीटप्पुबाट रम्भाकलीसहितको टोली मगाए । साँझ छ बजेतिर माहुते, पछुवा र रेन्जरको टोली रम्भाकलीलाई लिएर तरहरा आइपुग्यो । युनिफाइड फोर्स पनि आयो । केही पुलिस र केही आर्मी थिए । खासमा ध्रुवे कोसीटप्पुका रम्भाकली, शोभाकली, दमदमकली जस्ता तरुनी ढोइहरू सम्झेर आसामबाट लुक्दै–छिप्दै तरहरा आइपुगेको रहेछ । बिचमै हामीले थाहा पाइहाल्यौँ ।
उनले राति बिबिसि नेपाली सेवाको न्युज सकिएपछि रम्भाकलीलाई खुट्टामा सिक्री बेरेर, पानीपिया रेन्जपोस्टको आँगनमा गाडिएको मुड्कोमा बाँध्न लगाए । दुई जना प्राविधिक ‘शिकारी’लाई बन्दुकसहित नजिकैको बूढो रुखमा चढ्न लगाए । उनीहरूले रातभरि कुर्नुपर्ने भयो । हामी तरहरा बजारमा आगो ताप्दै गौंडा ढुकी बस्ने भयौँ ।
उता, प्रियाको माया नपाएर बहुलाहाको धुव्रेलाई रम्भाकली तरहरामा एक्लै भएको गन्ध, ‘के खोज्छस् कानो ? आँखो’झैँ भएछ । नभन्दै, घुम्दै–फिर्दै, राति दुई बजेतिर धुव्रे रेञ्जपोस्टको आँगनमा देखियो ।
०००
‘ड्याम्म... !’
चितवनमा जारी असफल अभियान र जनविरोधको कहानी चाख मानेर सुन्दै आगो तापिरहेका हामी गोली चलेको आवाजले झस्कियौँ ।
‘लाखे–लाखे, उपायले काम गरेजस्तो छ,’ भन्दै उनी उफ्रेको देखेर अरू पनि ज¥याकजुरुक उठ्यौँ । रम्भाकली बाँधिएको ठाउँनेर पुग्दा बिचरा ध्रुवे अत्तालिँदै शान्तिनगरको ग्राभेल बाटो कटेर कृषि–केन्द्रको खुला खेततिर भाग्दै रहेछ । रम्भाकलीको गन्ध सुँघ्दै आएको धु्रवेले केही गर्नु अगावै वन प्राविधिकले बन्दुकबाट हानेको ‘गोली’ त लठ्याउने औषधि भएको सुई ‘डोपिङ गरेको’ पो रहेछ ।
सुँढमा गोली (डोपिङ) लागेर अत्तालिएको बिचरा धु्रवे भाग्नै सकेन । पाँच सय मिटर पर पुगेपछि, ठाउँको ठाउँ ठिङ्ग उभियो ।
‘ल, अब छ–सात घन्टालाई काम पुग्यो !’ ती सचिवस्तरीय कर्मचारीले भने, ‘कोही डराउनुपर्दैन, छ–सात घन्टा यसले हलचल पनि गर्न सक्तैन ।’
म नजिक पुगेर क्यामेरा अन गर्दा, कुहिरोभित्र एक्लो र निरिह धु्रवे ‘कोमा’मा पुगिसकेको थियो ।
‘इटहरीमा ध्रुवे समातियो रे !,’ समाचार तात्तातै भाइरल भइहाल्यो ।
सेल्फी खिच्नेको ओइरो थामी नसक्नु भयो ।
विचरा प्राकृतिक रूपमा सर्वाङ्ग थियो, सार्वजनिक ठाउँमा लुकाउनुपर्ने अङ्ग पनि लुकाउन भ्याएको थिएन ।
‘आम्मामामा !’ ध्रुवेको ज्यान देखेर आश्चर्यचकित हुनेहरूको सङ्ख्या थपिँदै थियो ।
केहीबेरमा उनीहरूले रम्भाकलीलाई ठेल्न लगाएर धु्रवेलाई भुइँमा पछारे । बिचरा ध्रुवेले सोचेको थियो के, भयो के !
मैले जिन्दगीमा एउटा जङ्गली मत्ता यतिसारो निरीह भएको देखेको थिइनँ । रम्भाकलीको जालमा पर्नुको परिणाम थियो त्यो । मैले पत्याएको  थिइनँ । तर, ध्रुवे खोज्न आएकाहरू एउटा मत्ताको मनोविज्ञानसँग भलीभाँती परिचित रहेछन् । पासोमा पारिसकेपछि उनीहरूले हेलिकप्टरबाट करौंतीलगायत औजार ल्याएर ध्रुवेको दुईवटै दारा काटिदिए ।
‘यसरी दारा काटेर के हुन्छ र ? के धु्रवेले अब बदमासी गर्न छोड्छ ?, सरकारले मार भनेकै छ, मारिदिए भइगयो नि !’ मैले ती वन–प्रकृतिविज्ञ कर्मचारीबाट एकैपटक तीनवटा जिज्ञासाको समाधान चाहेँ ।
‘बडो राम्रो प्रश्न सोध्नुभो पत्रकारजी ! दारा काटिएको मत्ता र रुखबाट लडेको बाँदर आफ्नो समुदायबाट बहिस्कृतजस्तो हुन्छ, आफ्नो समुदायमा अरूका अगाडि कहिले पनि फुर्ती–फार्ती गर्न सक्दैन । ध्रुवेले पनि अब कुनै बदमासी गर्ने छैन ।’
त्यसपछि, प्रशासनले माइकिङ ग¥यो, ‘दुई घन्टापछि धु्रवे बिउँझिने छ, त्यस बिचमा सबै आफ्नो घर गइसक्नु होला, अन्यथा हुने कुनै पनि क्षतिको सरकार जवाफदेही हुनेछैन ।’
बिहानैदेखि बराम लागेका रमितेहरू एक–एक गर्दै घट्न थाले । राष्ट्रसेवकहरू पनि फर्किए । दिउँसो दुई बजेतिर धु्रवे ‘चिरनिन्द्रा’को स्थितिबाट बाहिर आयो र लाजले मुन्टो निहुँराउँदै शान्तिनगरी सामुदायिक वनतिर लाग्यो ।
नभन्दै, त्यस दिनदेखि धु्रवे आतङ्ककारी भएर गाउँ–बस्तीमा देखापरेको छैन ।
०००
bisnuprasad.bg@gmail.com
ओ, साईराम !
– सुविद गुरागाई

ओ, साई बाबा !
भूपरिवेष्ठित मेरो मनलाई साइवेरियाबाट नेपाल आउने आगन्तुक रेडिसियल डक (क¥याङकुरुङ)को गति दिन चाहन्छु म । आउन चाहन्छु तिमीलाई भेट्न । त्यही बहानाले केही क्षण भए पनि अनुभव गर्नु छ, सक्कली ज्वार–भाटा । म खेलाउन चाहन्छु समुद्रको जलनिधि, प्रत्यक्ष । मलाई किन बोलाउँदैनौँ, ओ आशुतोष ?
लुम्बिनी बगैँचाबाट फुजीको टापुसम्म उड्दै पुग्ने सहस्र सारसको यात्रा धूनमा म गाउन चाहन्छु, धम्मम् शरणम् गच्छामी ! सङ्घम् शरणम् गच्छामी ! रामको पनि माया, श्यामको पनि माया, यो अधुरो जीवन दुई दिनको घाम–छाया । र, तिमीलाई साक्षी राखेर म चुम्न चाहन्छु समुद्रको निधार, सगरमाथाको ओठले । टहटह पूर्णिमाको रात सम्झेर मलाई मन पर्दैन, औँसीको निस्तब्धता ।
तर, अँध्यारो बढ्दै छ जिन्दगीमा । भारी बोकेका पिठ्युहरूमा सपना छन्, अटाइनअटाई । रिक्सा जोतेका पाइतालामुनि अबिर पिठोको छाप छ । आँगनमा रगत लिपेर नौला पूजाको भव्य उत्सव छ । ढुङ्गा फोर्दै गरेको हातमा दियो छ, बाल्न बाँकी । उफ् ! किन उजिल्याउँदैनौँ त्यसलाई स्वयम्भू ! म लामो समयदेखि उज्यालोको प्रतिक्षामा व्यग्र छु । क्षुब्ध छन्, प्रज्ञा र करुणा । अँध्यारो सहनसक्ने क्षमता नबढाऊ, प्लिज !
आजै जून उदाउनुपर्छ, कुनै पनि अनुयायीलाई मन पर्दैन अँध्यारो । सघन कालो तुँवालोविरुद्ध तयार हाँच फैलिन दिनु छ, बिनापासपोर्ट–बिनाभिसा हजारौँ किलोमिटरसम्म । नुतन सिर्जनाको अनन्त सम्भावना बोकेर ब्राजाकी हुन चाहन्छ, अकिञ्चन । लोकापर्ण किन हुँदैनौँ, हे पशुपतिनाथ ?
...
मलाई थाहा छ, उताबाट कुनै विशेष चुलेनिम्तो आउने छैन मेरानिम्ति ।
घर आएको बेला मैले सोधेँ एकदिन –
‘दिवाकर ! तिमी पुट्टपर्ती कसरी पुग्यौ ?’
‘साई बाबाले तिमी यहाँ आऊ भन्नुभो !’
‘साई बाबाले बोलाएको तिमीलाई ?’ विस्मयको सीमा रहेन ।
‘तिमी पत्याउँदैनौँ अहिले । बेला भएपछि तिमीलाई पनि बोलाउँछन् ।’
संवाद भएको यति मात्र हो । कसलाई थाहा छैन, बेला भएपछि भुइँमा झर्छ एउटा अर्को स्याउ र जन्मिन्छ एउटा अर्को सर आइज्याक न्युटन । तर, मलाई यो अविश्वास किन छ ? प्रभुको लीलामा पत्यार किन छैन ? सायद त्यसैले ईश्वर अर्थात् उज्यालो बुझ्ने क्षमतामा घातक आशङ्का छ । भुतुक्क हुन बेर छैन दोधार हुँदा–हुँदै । भ्यागुताको धार्नी कहिले पुग्ला र मेरो साक्षात्कार होला ताजमहल टल्काइरहेको चुनढुङ्गासँग ? अद्भूत कलाकारिता देखाउँदै चिहानमा पुरिएको मायासँग ।
...
सत्य पनि धेरैथरि हुन्छन् । एउटा सत्य मेरो धेरैनजिक छ । सबै लीलानाथ बनेका छौँ, नबुझिने सङ्गतिको मूलधारमा चेतना छउञ्जेल ।
मलाई जयन्त भट्टराई, पुरुषोत्तम घिमिरे आदरणीय गुरु लाग्छन् किन ? मलाई हल्का आकासे नीलो रङ मनपर्छ किन ? सायद केही अव्यक्त कारण छ । भन्न नजान्नु पनि एउटा लीला हो । इशारा नबुझिनु अर्को लीला ।
मैले तिमीलाई भेट्न चाहेको यसकारण पनि हुनसक्छ कि म तिमीलाई सुत्न नदिई रातभर गजल सुनाउन चाहन्छु । बचाउन तिमीले जानेको भए, आज पूरै सहर लास हुने थिएन । सजाउन तिमीले जानेको भए, बिझाउने काँडाको त्राश हुने थिएन । ज्वार–भाटा खेपेर तैरिँदै थिएँ, किनारामै छुटेछ डुङ्गाको डोरी । समाउन तिमीले जानेको भए, डुबाउन सफल बतास हुने थिएन ।
र, बीचमा मौका मिलेमा मलाई निकै मनपरेको एउटा हिन्दी भजन पनि सुनाउने मन छ । अरे द्वारपालों कन्हैयासे कह दो कि दर पे सुदामा गरिब आ गया है । न जाने कहाँसे भट्कते–भट्कते तुम्हारे महलके करिब आ गया है ।
...
एक दिन एउटा विषधरले माझी औँलामा टोकेर गयो । अरूलाई भए मनग्गे सातो लिएको हो त्यसले । तर, त्यसको दुर्भाग्य मान्छे नचिनेर एउटा कविलाई टोक्यो । कविलाई थाहा छ, सैलेन्द्र साकारले उहिल्यै उद्घोष गरेका हुन्, सर्पहरूले गीत सुन्दैनन् । तर, कवि, प्रेमी र पागलसँग कसको के लाग्छ ? परिस्थितिले समयको क्यानभासमा भित्रैसम्म छुने चित्र कोर्छ कहिलेकाहीँ । हुनेनहुने तर्कना आउँछन् । सोच्छु कस्तो होला मेरो मृत्यु ? निरुत्तरित, अनिश्चित निश्चित तथ्यका ठाँटोहरू मनमा पग्लिँदै गर्दा मृत्यु चिन्तन झन् बाक्लिँदो रहेछ । लाग्छ, पानीसँग जोडिएको छ, मेरो मृत्युको नाता ।
लहर आयो गयो मनमा छोएर हल्का । जाँदा–जाँदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो भनेन केही । जिन्दगीमा अनुभूति भएर हल्का । खुसी’थ्यो कि दुखी थियो पाइनँ बुझ्न । मर्छु होला मनमा पीर बोकेर हल्का ।
...
दिल खोलेर लेख्नु पनि समस्यै छ ।
मनको संसद् मौन छ । विषयवस्तु नफुरेर लेखक टेन्सनमा हुन्छ । कहिले लेख्ने शैली नमिलेर ल्याङल्याङ । सबै कुरा ल्याङल्याङ भइरहेछ यहाँ । मुख्य कुरो हामीले चाहे जस्तो विधान छैन । अनुशासन छैन । नैतिकता ओरालो लागेको छ । भाषा ङ्याकिएको छ । मनमा नानाथरि विचार आउँछन् । तर, सम्पादकले नबुझिदिएर विचारबारीमा तुसारापात हुन्छ । कहिले पाठकले नबुझिदिएर विलिनो । अचम्म त यो हो कि यत्रो बेथितिमा पनि म तिमीलाई मिस गरिरहेछु । समय छँदै तिमीले मेरो कुरा बुझ्दैनौ कि भनेर मनमनै हाँस्ने मौका पनि पाइरहेको छु । खुसी छु म यहाँ आफ्नै शब्दमा । किनकि यतिबेला हामी जति टाढा छौँ, माया उति गाढा बनेको छ । सोचिदेऊ, मेरा लागि पनि । हाकेताकेको पुगोस् ।
...
तिमीलाई थाहै छ, एकाथरी मान्छेहरू हुल बाँधेर आए पहाड हल्लाउन । अर्काथरी मान्छेहरू हिँडे हुल बाँधेर पहाड उक्लन । र, तिनीहरूले समयको घाँटीमा अड्किएको कालकूट विष निकाल्न समुद्र मन्थनको तयारी गरे । दुईतिरबाट डोरी बाँधेर पहाड तान्न थाले । तान्दा–तान्दा उनीहरू थाके । पसिनाले लछ«प्पै भए तर डेग चलाउन सकेनन् पहाडलाई । मान्छेहरू फेरिए र तान्ने कार्य जारी राखे । उनीहरू पनि थाके । फेरि फेरिए, फेरि थाके । फेरि फेरिए, फेरि थाके । र, अन्तमा मानिसहरूले बुझे कि सधैँ अग्लिएर बस्ने विश्वासको हिमशीखरलाई डोरी बाँधेर खसाल्न सकिँदैन रहेछ ।
मलाई विश्वास छ मेरो आस्थामा । तर, काँतर मन पुल ढोग्छ । पुल भत्कियो भने ‘डाइभर्सन’ ढोग्छ । सडक ढोग्छ । सडक भत्कियो भने सडक भत्काउने पहिरो ढोग्छ । कमजोर आत्मा अलिकति पनि चोट सहन सत्तैmन फुट्छ । काँतर बेलिब्रिजमा डटेर हिँड्न खोज्छ तर मनमनै लडिने डरले डराउँछ । काँडाको घोचाइले घाइते हुन नसक्नेहरू फूलजस्तो फुलिरहने कुरा सोच्छन् । घाम अस्ताएसँगै अन्धकारदेखि डराउने मुटुहरू अलिकति उज्यालोका लागि जून ढोग्छन् । बादल लगेपछि बादल ढोग्छन् । सुनकोसीको जँघार तर्न नसकेर मनमनै, जोरघन्टी चढाउने भाकल गर्छन् । काँतर मनहरू कतै पानीसँग, कतै आगोसँग, कतै हावासँग सम्झौता गरेर बसेका छन् । कृपया ईश्वरले तिनीहरूलाई कल्याण गरुन् ।
...
उफ् फगत म यो के सुनाइरहेछु तिमीलाई । गीतकार विजय श्रेष्ठ दाइले भनेजस्तो सुन्ने मान्छे अगाडि भयो भने न सुनाउन पनि मजा आउँछ ! तर, तिमी त टाढा छौ, मभन्दा कोसौँ पर । सपनामै आएर भए पनि किन बताउँदैनौँ मलाई, वास्तविकता के हो ? कि मैले नबुझेको मात्र हुँ । तिमी त मभित्रै छौ, मेरो मनको उज्यालोमा । फगत बिना नचिनेर मृगतृष्णा पालिरहेछु ! व्यर्थको फेरी लगाइरहेछु ? चाहनाकै कुरो गर्दा, मलाई मन छ, यो दुनियाँलाई आफूले सकेको जति फरक पारुँ ! एउटा बिरुवा थपुँ । एउटा राम्रो कविता लेखुँ । थप एउटा दियो बालुँ । अनि घुम्दा–घुम्दै एकदिन हिन्द महासागर किनारमा पुगेर, त्यहाँ छटपटाइरहेका हजारौँ कछुवामध्ये जतिसक्दो बढीलाई फेरि पानीमै फालिदिऊँ ।
किनकि मलाई थाह छ, मेरो कार्मिक सम्बन्ध तिमीसँग छ । मेरी आमाले जुन धरतीमा सालनाल गाड्नुभयो, तिम्रो आगमनको प्रक्रिया पनि उही हो । मेरो घर छेउ भएर बग्ने कोसीको पानीले पनि छोएको छ, हामी दुवैलाई । यो हावा, यो अन्तरिक्ष, यी जूनतारा हाम्रा साझा सम्पर्क सूत्र बनेका छन् ।
...
ओशो सम्झन्छु । मलाई आचार्य रजनिश दार्शनिक लाग्छन् । संसारमै सबैभन्दा धेरै किताब पढ्ने मान्छे । उनको विचारले निरन्तर घन हिर्काउँछ, समयको खप्परमा ।
व्यक्तिको अस्तित्व समाप्त पार्नु छ भने पहिले उसको सम्पत्ति खोसिदेऊ । सम्पत्ति खोसिनासाथ व्यक्तिको सोचविचारको क्षमता नष्ट हुन्छ । व्यक्तिको मूल्य जस्तो अर्को केही छैन । व्यक्तिको स्वतन्त्रता जस्तो मूल्यवान अरू केही हुँदैैन । व्यक्तिको मूल्य हराउनु भनेको सबैभन्दा घातक कुरा हो ।
कोही इस्लामका लागि मर्दै छ, कसैले इस्लामका लागि मार्दै छ । इस्लामका लागि मर्नेले वहिशत प्राप्त गर्छ । भन्छ, आफ्ना लागि नबाँच, इस्लामका लागि बाँच । कोही भन्दै गर्छ, हिन्दूत्वका लागि बाँच । तिमी मर तर मन्दिर, मूर्तिहरू बचाऊ । कोही हिन्दूस्तानका लागि बाँच्न प्रेरित गर्दै छ । कोही पाकिस्तानका लागि, इस्लामका लागि बलिदान दिन उक्साउँदै छ । अनि कसैले भन्दै छ, समाजवादका लागि आन्दोलन गर । मर, त्याग गर ।
जसले आफूलाई बुझ्छ, आफूलाई पाउँछ, त्यसले अरूलाई बाँड्न सुरु गर्छ । आफूलाई पाइसकेपछि नयाँ आनन्द सुरु हुन्छ । अनि यस्तो आनन्द अरूलाई बाँड्ने छटपटी हुन्छ । कतिपय क्षणमा आफ्ना दुःख अरूसमक्ष राख्दा सुन्ने पनि दुःिखत हुन्छ, द्रवित बन्छ । यस्ता दुःखले अरूलाई पनि दुःखी पार्छ ।
मान्छे इतिहासबाट केही पनि सिक्न चाहँदैन । पुराना शब्द र उपाय बदलिन्छन् । मान्छे आफैँले मैले यति घण्टा काम गर्नु छ भनेर काम गर्न थालोस् । कामसँगै पैसा पनि मागोस् । बिना काम पैसा माग्न लाज होस् ।
राष्ट्रपिता बन्न सजिलो छ, असल बाबु बन्न कठिन छ । जीवन भनेकै आवश्यकताहरूको वृद्धि र विस्तार हो । देशको मस्तिष्क यति धेरै माकुरे जालोले जेलिएको छ, त्यसलाई हटाउँदा पनि अप्ठेरो स्थिति सिर्जना हुन सक्छ ।
दरिद्रताले चरित्र उत्पन्न हुन दिँदैन । गरिबी हटाएपछि चरित्रहीनता समाप्त हुनेछ । म भगवान्सँग प्रार्थना गर्दछु, यस्तो समय आओस्, हामीले भगवान्को मन्दिरमा माग्न जानु नपरोस्, बरू हामीहरू धन्यवाद दिनका लागि जान सकौँ ।
...
प्रकासपुरमा जून र जूनको पूर्णता पर्खिरहेका सोझा चन्द्रवंशीहरूबीच कोसीको अर्को किनारबाट उडेर कालो बादल फैलिएको भर्खर हो । खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको आगन्तुक बादलभित्र आद्र्रताको मात्रा बढी भएको पनि भर्खरै हो । भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा बलिरहेको कोइलामाथि परेर अग्राख भएको  । भर्खरै हो, आकासबाट अर्को थोपा फक्रिन बाँकी केवँरामा झरेर रातै भएको । भर्खरै हो, एउटा थोपा माथिबाट राजन चन्द्रवंशीको छातीमा परेर छताछुल्ल पोखिएको राजाबासनेर । भङ्गालोमा जीवन धरापमा राखेर नाउमा चन्द्रवंशीहरू हिँड्न थालेको धेर भएको छैन । धेर भएकै छैन, पीडामिश्रित पहिचान खुल्न बाँकी सांस्कृतिक÷धार्मिक अनुष्ठान कोसी पूजापछि उनीहरू अलिकति उज्यालोका लागि अधैर्य भएको पनि । थोपा–थोपा पानीले सेतुबन्ध भत्काउँछ गरैया धारले राजाबासमा यस्तै चर्चा छ ।
ओ, साईराम ! त्यता के छ, समुद्रको छेउछाउमा ?
०००
bisnuprasad.bg@gmail.com