ओ, साईराम !

ओ, साईराम !
– सुविद गुरागाई

ओ, साई बाबा !
भूपरिवेष्ठित मेरो मनलाई साइवेरियाबाट नेपाल आउने आगन्तुक रेडिसियल डक (क¥याङकुरुङ)को गति दिन चाहन्छु म । आउन चाहन्छु तिमीलाई भेट्न । त्यही बहानाले केही क्षण भए पनि अनुभव गर्नुछ, सक्कली ज्वार–भाटा । म खेलाउन चाहन्छु समुद्रको जलनिधि, प्रत्यक्ष । मलाई किन बोलाउँदैनौं, ओ आशुतोष ?
लुम्बिनी बगैंचाबाट फुजिको टापुसम्म उड्दै पुग्ने सहस्र सारसको यात्रा धूनमा म गाउन चाहन्छु, धम्मम् शरणम् गच्छामी ! सङ्घम् शरणम् गच्छामी ! रामको पनि माया, श्यामको पनि माया, यो अधुरो जीवन दुई दिनको घाम–छाया । र, तिमीलाई साक्षी राखेर म चुम्न चाहन्छु, समुद्रको निधार, सगरमाथाको ओठले । टहटह पूर्णिमाको रात सम्झेर मलाई मन पर्दैन, औंसीको निस्तब्धता ।
तर, अँध्यारो बढ्दै छ जिन्दगीमा । भारी बोकेका पिठ्युहरूमा सपना छन्, अटाइनअटाई । रिक्सा जोतेका पाइतालामुनि अबिर पिठोको छाप छ । आँगनमा रगत लिपेर नौला पूजाको भव्य उत्सव छ । ढुङ्गा फोर्दै गरेको हातमा दियो छ, बाल्न बाँकी । उफ् ! किन उजिल्याउँदैनौं त्यसलाई स्वयम्भू ! म लामो समयदेखि उज्यालोको प्रतिक्षामा व्यग्र छु । क्षुब्ध छन्, प्रज्ञा र करुणा । अँध्यारो सहनसक्ने क्षमता नबढाऊ, प्लिज !
आजै जून उदाउनुपर्छ, कुनै पनि अनुयायीलाई मनपर्दैन अँध्यारो । सघन कालो तुँवालोविरुद्ध तयार हाँच फैलिन दिनु छ, बिनापासपोर्ट–बिनाभिसा हजारौं किलोमिटरसम्म । नुतन सिर्जनाको अनन्त सम्भावना बोकेर ब्राजाकी हुन चाहन्छ, अकिञ्चन  । लोकापर्ण किन हुँदैनौं, हे पशुपतिनाथ ?
मलाई थाहा छ, उताबाट कुनै विशेष चुलेनिम्तो आउने छैन मेरानिम्ति । घर आएको बेला मैले सोधें एकदिन–
‘दिवाकर ! तिमी पुट्टपर्ती कसरी पुग्यौ ?’
‘साई बाबाले तिमी यहाँ आऊ भन्नुभो !’
‘साई बाबाले बोलाएको ? तिमीलाई ?’ विस्मयको सीमा रहेन ।
‘तिमी पत्याउँदैनौं अहिले । बेला भएपछि तिमीलाई पनि बोलाउँछन् ।’
संवाद भएको यति मात्र हो । कसलाई थाहा छैन, बेला भएपछि भुइँमा झर्छ एउटा अर्को स्याउ र जन्मिन्छ एउटा अर्को सर आइज्याक न्युटन । तर, मलाई यो अविश्वास किन छ ? प्रभुको लीलामा पत्यार किन छैन ? सायद त्यसैले ईश्वर अर्थात् उज्यालो बुझ्ने क्षमतामा घातक आशङ्का छ । भुतुक्क हुन बेर छैन दोधार हुँदा–हुँदै । भ्यागुताको धार्नी कहिले पुग्ला र मेरो साक्षात्कार होला ताजमहल टल्काइरहेको चुनढुङ्गासँग ? अद्भूत कलाकारिता देखाउँदै चिहानमा पुरिएको मायासँग ।
सत्य पनि धेरैथरि हुन्छन् । एउटा सत्य मेरो धेरैनजिक छ । सबै लीलानाथ बनेका छौं, नबुझिने सङ्गतिको मूलधारमा चेतना छउञ्जेल । मलाई पुरुषोत्तम घिमिरे आदरणीय गुरु लाग्छन् किन ? मलाई आकासे नीलो रङ मनपर्छ किन ? सायद केही अव्यक्त कारण छ । भन्न नजान्नु पनि एउटा लीला हो । इशारा नबुझिनु अर्को लीला ।
मैले तिमीलाई भेट्न चाहेको यसकारण पनि हुनसक्छ कि म तिमीलाई सुत्न नदिई रातभर गजल सुनाउन चाहन्छु । बचाउन तिमीले जानेको भए, आज पूरै सहर लास हुने थिएन । सजाउन तिमीले जानेको भए, बिझाउने काँडाको त्राश हुने थिएन । ज्वार–भाटा खेपेर तैरिँदै थिएँ, किनारामै छुटेछ डुङ्गाको डोरी । समाउन तिमीले जानेको भए, डुबाउन सफल बतास हुने थिएन ।
र, बीचमा मौका मिलेमा भजन पनि सुनाउने मन छ ।
एक दिन एउटा विषधरले माझी औंलामा टोकेर गयो । अरूलाई भए मनग्गे सातो लिएको हो त्यसले । तर, त्यसको दुर्भाग्य मान्छे नचिनेर कविलाई टोक्यो । कविलाई थाहा छ, सैलेन्द्र साकारले उहिल्यै उद्घोष गरेका हुन्, सर्पहरूले गीत सुन्दैनन् । तर, कवि, प्रेमी र पागलसँग कसको के लाग्छ ? परिस्थितिले समयको क्यानभासमा भित्रैसम्म छुने चित्र कोर्छ कहिलेकाहीं । हुनेनहुने तर्कना आउँछन् । सोच्छु कस्तो होला मेरो मृत्यु ? निरुत्तरित, अनिश्चित निश्चित तथ्यका ठाँटोहरू मनमा पग्लिँदै गर्दा मृत्यु चिन्तन झन् बाक्लिँदो रहेछ । लाग्छ, पानीसँग जोडिएको छ, मेरो मृत्युको नाता ।
लहर आयो गयो मनमा छोएर हल्का । जाँदा–जाँदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो भनेन केही । जिन्दगीमा अनुभूति भएर हल्का । खुसी’थ्यो कि दुखी थियो पाइनँ बुझ्न । मर्छु होला मनमा पीर बोकेर हल्का ।
दिल खोलेर लेख्नु पनि समस्यै छ । मनको संसद् मौन छ । विषयवस्तु नफुरेर लेखक टेन्सनमा हुन्छ । कहिले लेख्ने शैली नमिलेर ल्याङल्याङ । सबै कुरा ल्याङल्याङ भइरहेछ यहाँ । मुख्य कुरो विधान छैन । अनुशासन छैन । मनमा नानाथरि विचार आउँछन् । तर, सम्पादकले नबुझिदिएर विचारबारीमा तुसारापात हुन्छ । कहिले पाठकले नबुझिदिएर विलिनो । अचम्म त यो हो कि यत्रो बेथितिमा पनि म तिमीलाई मिस गरिरहेछु । समय छँदै तिमीले मेरो कुरा बुझ्दैनौ कि भनेर मनमनै हाँस्ने मौका पनि पाइरहेको छु । खुसी छु म यहाँ आफ्नै शब्दमा । हामी जति टाढा छौं, माया उति गाढा बनेको छ । सोचिदेऊ, मेरा लागि पनि । हाकेताकेको पुगोस् ।
तिमीलाई थाहै छ, एकाथरी मान्छेहरू हुल बाँधेर आए पहाड हल्लाउन । अर्काथरी मान्छेहरू हिँडे हुल बाँधेर पहाड उक्लन । र, तिनीहरूले समयको घाँटीमा अड्किएको कालकूट विष निकाल्न समुद्र मन्थनको तयारी गरे । दुईतिरबाट डोरी बाँधेर पहाड तान्न थाले । तान्दा–तान्दा उनीहरू थाके । पसिनाले लछ«प्पै भए तर डेग चलाउन सकेनन् पहाडलाई । मान्छेहरू फेरिए र तान्ने कार्य जारी राखे । उनीहरू पनि थाके । फेरि फेरिए– फेरि थाके । फेरि फेरिए– फेरि थाके । र, अन्तमा मानिसहरूले बुझे कि सधैं अग्लिएर बस्ने विश्वासको हिमशीखरलाई डोरी बाँधेर खसाल्न सकिँदैन रहेछ ।
मलाई विश्वास छ मेरो आस्थामा । तर, काँतर मन पुल ढोग्छ । पुल भत्कियो भने ‘डाइभर्सन’ ढोग्छ । सडक ढोग्छ । सडक भत्कियो भने सडक भत्काउने पहिरो ढोग्छ । कमजोर आत्मा अलिकति पनि चोट सहन सत्तैmन फुट्छ । काँतर बेलिब्रिजमा डटेर हिँड्न खोज्छ तर मनमनै लडिने डरले डराउँछ । काँडाको घोचाइले घाइते हुन नसक्नेहरू फूलजस्तो फुलिरहने कुरा सोच्छन् । घाम अस्ताएसँगै अन्धकारदेखि डराउने मुटुहरू अलिकति उज्यालोका लागि जून ढोग्छन् । बादल लगेपछि बादल ढोग्छन् । सुनकोसीको जँघार तर्न नसकेर मनमनै, जोरघन्टी चढाउने भाकल गर्छन् । काँतर मनहरू कतै पानीसँग, कतै आगोसँग, कतै हावासँग सम्झौता गरेर बसेका छन् । कृपया ईश्वरले तिनीहरूलाई कल्याण गरुन् ।
उफ् फगत म यो के सुनाइरहेछु तिमीलाई । गीतकार विजय श्रेष्ठ दाइले भनेजस्तो सुन्ने मान्छे अगाडि भयो भने न सुनाउन पनि मजा आउँछ ! तर, तिमी त टाढा छौ, मभन्दा कोसौं पर । सपनामै आएर भए पनि किन बताउँदैनौं मलाई, वास्तविकता के हो ? कि मैले नबुझेको हुँ । तिमी त मभित्रै छौं, मेरो मनको उज्यालोमा । फगत बिना नचिनेर मृगतृष्णा पालिरहेछु ! व्यर्थको फेरी लगाइरहेछु ? चाहनाकै कुरो गर्दा, मलाई मन छ, यो दुनियाँलाई आफूले सकेको जति फरक पारुँ ! एउटा बिरुवा थपुँ । एउटा राम्रो कविता लेखुँ । थप एउटा दियो बालुँ । अनि घुम्दा–घुम्दै एकदिन हिन्द महासागर किनारमा पुगेर, त्यहाँ छटपटाइरहेका हजारौं कछुवामध्ये जतिसक्दो बढीलाई फेरि पानीमै फालिदिउँ ।
किनकि मलाई थाह छ, मेरो कार्मिक सम्बन्ध तिमीसँग छ । मेरी आमाले जुन धरतीमा सालनाल गाड्नुभयो, तिम्रो आगमनको प्रक्रिया पनि उही हो । मेरो घर छेउ भएर बग्ने कोसीको पानीले पनि छोएको छ, हामी दुवैलाई । यो हावा, यो अन्तरिक्ष, यी जूनतारा हाम्रा साझा हुन् ।
प्रकासपुरमा जून र जूनको पूर्णता पर्खिरहेका सोझा चन्द्रवंशीहरूबीच कोसीको अर्को किनारबाट उडेर कालो बादल फैलिएको भर्खर हो । खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको आगन्तुक बादलभित्र आद्र्रताको मात्रा बढी भएको पनि भर्खरै हो । भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा बलिरहेको कोइलामाथि परेर अग्राख भएको  । भर्खरै हो, आकासबाट अर्को थोपा फक्रिन बाँकी केवँरामा झरेर रातै भएको । भर्खरै हो, एउटा थोपा माथिबाट राजन चन्द्रवंशीको छातीमा परेर छताछुल्ल पोखिएको राजाबासनेर । भङ्गालोमा जीवन धरापमा राखेर नाउमा चन्द्रवंशीहरू हिँड्न थालेको धेर भएको छैन । धेर भएकै छैन, पीडामिश्रित पहिचान खुल्न बाँकी सांस्कृतिक÷धार्मिक अनुष्ठान कोसी पूजापछि उनीहरू अलिकति उज्यालोका लागि अधैर्य भएको पनि । थोपा–थोपा पानीले सेतुबन्ध भत्काउँछ गरैया धारले राजाबासमा यस्तै चर्चा छ ।
ओ, साईराम ! त्यता के छ, समुद्रको छेउछाउमा ?
०००
इटहरी–२, हलगडा, सुनसरी
bisnuprasad.bg@gmail.com

सुविद गुरागाईंका गजलहरू

१. 
जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि !
 रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ! 

 हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ?
डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि ! 

 एक्लै बांचुलां जोगी बनुलाँ अरू सक्दिनं सोच्न, 
हुने–नहुने कसम खाएको तिम्रै लागि त हो नि ! 

पागल भनिएं, हुस्सु भनिएं, बुझ्ने भएन कोही,
सधैं एउटै गजल गाएको तिम्रै लागि त हो नि ! 

२. 
लहर आयो गयो मनमा छोएर हल्का । 
जांदा–जांदै माफी माग्यो रोएर हल्का । 

किन आयो किन गयो ? भनेन केही, 
जिन्दगीमा अनुभूति भएर हल्का । 

नीलो–नीलो हुंदै थियो चाहना मेरो, 
फिका पा¥यो गाढा माया धोएर हल्का । 

 पानी–पानी भयो कठै दुनियां सबै, 
हांस्दा माया आंसु थोपा रोकेर हल्का । 

कसो गरुं, के पो गरुं बनायो त्यसै, 
पुराना ती घाउ–खाटा फोएर हल्का । 

खुसी’थ्यो कि दुखी थियो पाइनं बुझ्न, 
मर्छु होला मनमा पिर बोकेर हल्का ।

३. 
छिनमै लहर उठेर आउंछ छिनमै शान्त हुन्छ । 
छिनमै मुटु दुखेर आउंछ छिनमै शान्त हुन्छ । 

 कि लगिदेउ किनार पारि कि दोडिदेऊ एक्लै वारि, 
छिनमै बाढी उर्लेर आउंछ छिनमै शान्त हुन्छ । 

के गरुं हो कसो गरुं ! दोधार भो जिन्दगीमा, 
छिनमै छाती चर्केर आउंछ छिनमै शान्त हुन्छ । 

रुझ्न पनि पाइएन लौ ! मनै भिज्ने गरी, 
छिनमै पानी दर्केर आउंछ छिनमै शान्त हुन्छ । 
000

(इटहरी–२, हलगडा, सुनसरी)
bisnuprasad.bg@gmail.com
नेपाली पत्रकारिता जगतका अग्रज धरोहर व्यक्तित्व भैरव रिसाल दाइसँग पत्रकारिता अनुभवबारे विमर्श र धारणाहरू ... पत्रकारिताका विद्यार्थीले एक पटक सुन्नेपर्ने म्याटर ... skfm.com.np मार्फत् प्रसारित...https://www.opendrive.com/user_account/folder/MF83Nzg0NDAxX1VaeXpZ
कविता

चर्को मध्यान्न

–सुविद गुरागाईं

२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे
यो त्यही बेला हो
जतिबेला तिमीलाई आभास थिएन
कुनै प्रलयको
तिम्रो बलौटे विश्वासमाथि
एउटा थोपा पहिलो धक्का दिन
उत्तेजित भइसकेको थियो
रति विश्वास थिएन तिमीलाई
तित्रीगाछी भङ्गालोले नाघ्ने बेला भयो
कुविचारको सिमाना
डङ्गर गिद्धको लोपोन्मुख छाया
चर्को मध्यान्नमा
स्थानीय जडताको सिनोगन्धमाथि
लालयित भइबसेका साक्षी सिमलका रुखहरू
एक–अर्कामा कस्दै थियौ अपत्यारको डोरीले
भयभित म खलखल
न रुनु, न हाँस्नु, न पागल हुनु
हेर्दा–हेर्दै बग्न लागेको अन्तिम सीमास्तम्भ
डब्लू पी १९५ अब्लिक ९ नजिकै
पोलियो उद्दार टोली
फोटो सेसनमा रमाइरहेको भद्दा दृश्य
क्षतविक्षत चेतना कुल्चिएर पूर्वतिर
ओ ! घटिया इन्जिनियर,
खण्डन विज्ञप्ति लेख्दालेख्दै किन भागेको ?
हराएको सात हजार बिघा जमिन हुँदै
रानीगञ्ज भन्सारको किनारै–किनार
भर्खर दुई लाख ६५ हजार क्युसेक पुगेको छ
हाम्रो आवेग र दरिद्रता
पर्ख एकछिन अरू रमिता सङ्कलन गर
नागरिकतासँग भोट साट्न तयार अर्धदक्ष जनशक्ति
कोसीमा फालेको पैसामा चुम्बक अल्झाएर तान्न
सत्र ठाउँ टालेको पुँवाले जाल र धस्ना छेऊ
भोक उग्राइरहेको राम–रमिता हेरिबस ।
र, नयाँ पटकथा लेख ओस्कार जित्न
विस्थापित र सट्टाभर्ना सपनाहरूको ।
भ्रष्ट मधेस मुद्दाको ।
रोटी, बेटी र पानी सम्बन्धको ।
दशगजा हराएको ।
०००

गजल ... जानी–नजानी 

–सुविद गुरागाईं

जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि ! 
रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ! 

हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ? 
डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि ! 

एक्लै बांचुलां जोगी बनुलाँ अरू सक्दिनं सोच्न, 
हुने–नहुने कसम खाएको तिम्रै लागि त हो नि ! 

पागल भनिएं, हुस्सु भनिएं, बुझ्ने भएन कोही, 
सधैं एउटै गजल गाएको तिम्रै लागि त हो नि ! 


 (इटहरी–२, हलगडा, सुनसरी)
bisnuprasad.bg@gmail.com
थोपा–थोपा
–सुविद गुरागाई

प्रकाशपुरमा जून
र जूनको पूर्णता पर्खिरहेका
सोझा चन्द्रवंशीहरूबीच
कोसीको अर्को किनारबाट उडेर
कालो बादल फैलिएको भर्खर हो,
खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको
आगन्तुक बादलभित्र आद्र्रताको मात्रा
बढी भएको पनि भर्खरै हो,

भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा
बलिरहेको कोइलामाथि परेर अग्राख भएको
भर्खरै हो, आकासबाट अर्को थोपा
फक्रिन बाँकी केवँरामा झरेर रातै भएको
भर्खरै हो, एउटा थोपा माथिबाट
राजन चन्द्रवंशीको छातीमा परेर
छताछुल्ल पोखिएको
राजाबासनेर ।

भङ्गालोमा
जीवन धरापमा राखेर नाउमा
चन्द्रवंशीहरू
हिँड्न थालेको धेर भएको छैन
धेर भएकै छैन
पीडामिश्रित पहिचान खुल्न बाँकी
सांस्कृतिक÷धार्मिक अनुष्ठान कोसीपूजापछि
उनीहरू अलिकति उज्यालोका लागि
अधैर्य भएको पनि ।

थोपा–थोपा पानीले
सेतुबन्ध भत्काउँछ गरैया धारले
राजाबासमा यस्तै चर्चा छ ।
०००
इटहरी–२, हलगडा, सुनसरी
bisnuprasad.bg@gmail.com

इटहरेली कविको होमलञ्च


सुविद गुरागाईं
कविता किन लेखिन्छ ? सनातनदेखि एउटा पुस्ताले अर्को पुस्तालाई सोध्दै आएको सामान्यज्ञानको जवाफ दिनु उति सजिलो छैन । नामका लागि, दामका लागि वा आत्मसन्तुष्टिका लागि ? आफ्ना लागि वा अरूका लागि ? यसमा अनेक अलमलहरू छन् । कतिलाई लाग्छ, आखिर काम गर्ने उर्जाशील समय कल्पनाको उडानमा किन व्यतित गरिरहेछन् कविहरू ?
हामी कवितामा समुद्रमा, खोलामा, तालमा, पोखरीमा वा धारामा टिलपिल पानी देखेर ‘वाह पानी ! क्या पानी !’ भन्दै रमाएजस्तो नियतिबाट अलिकति भित्र पस्न नसकेको हो कि भन्ने समकालीन अनुभूति छ । हावामा पानीको पर्याप्त मात्रा हुन्छ, कलात्मक विज्ञानसम्मत तरिकाले बुझ्ने–बुझाउने तरिकाको नितान्त अभावै छ । यसका लागि उचित रूपमा सोच्नु र उचित रूपमा लेख्नु जरुरी छ । उसैगरी उचित सिर्जनाहरूले उचित पाठक तथा स्रोता पनि पाउनैपर्छ ।
बुझ्नेका लागि कविता धेरै शब्द चाहिँदैन । भोको घर, सेतो धरती, जनताको भरिया, परेवा सेता–काला, ल्याम्पोस्टबाट खसेको जून, घर फर्किरहेको मानिस, तमोसोत्सव, देश खोज्दै जाँदा, जूनको आगोे, पागल बस्ती, यो जिन्दगी खोई के जिन्दगी ?... आदि पदावलीले सुन्ने–पढ्नेलाई एउटा पूर्ण कविताको चरम सन्तुष्टि दिइसक्छन् । पाठक–स्रोताको मनमा प्रतिक्रियाको पहिरो जानुअघि थाहा हुन्छ, यी साहित्यिक छन्, यिनमा कविता छ । इमर्सनले त भाषण पनि एउटा क्षुद्र किसिमको कविता हो भनेका छन् ।
भर्खर अन्तर्राष्ट्रिय उपाधि जितेको सम्मानित कविताको होमलञ्चमा विशिष्ट उपस्थितिले इटहरेली कवि गणेश खड्काको खुलेरै प्रशंसा ग¥यो । अग्रज स्रष्टा बद्रीविशाल पोखरेलले भने, खड्काका कविता जीवनका लागि हो । सुन्नेका मनमा तर्कनाका हजार ज्वारहरू आए–गए । समुद्री किनारमा क्षितिज हेर्दै बसेको यायावरीको जीउ लहरले बिस्तारै छोएर गएजस्तो आनन्ददायक थियो समय ।
स्रष्टा फाउन्डेसनले जुटाइदिएको प्रतिनिधि जमघटमा कवि खड्काका कवितासँग पहिलो साक्षात्कारको विशिष्ट अवसर थियो । यो धरतीमा भएका अनेक सुन्दर सिर्जनाहरूमा एउटा अर्को सिर्जना थप्न साधनारत कविसँग अपेक्षा गर्ने धेरै ठाउँहरू देखिए । यद्यपि कविता सबैले लेख्छन् तर सबै कवि हुँदैनन् । त्यसमाथि धेरै कविहरू चिनिएकै हुँदैनन् । कवि खड्का पनि अहिलेसम्म विलुप्त नै थिए । भर्खर थाहा हुँदैछ, उनीभित्र सुन्दर कविता सिर्जना गर्ने पर्याप्त रेडियम लुकेको रहेछ ।
अग्घोर मानवेत्तर मान्छेजस्ता आकृतिहरू
युद्धोन्मादमा आकासको फैलावट र
धर्तीको विशालता सीमातिक्रमण गरेर
मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’को
खण्डित भागबन्डा लगाउँछन्...
‘अविजित प्रदेशका अविजेय योद्धाहरू’ शीर्षक राखेर खड्काले लेखेका यस्तै शब्दहरूले नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका लागि निर्णायकहरूको मन छोयो । नभन्दै, कविताले तेस्रो अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा पहिलो भएर एक हजार डलरको ‘हेम–सरिता पाठक काव्य पुरस्कार’ जित्यो । त्योभन्दा ठूलो कुरा, खड्कालाई इटहरीले निकै ‘मिस’ गरिरहेको थियो, जुन आत्मआनन्द सार्वजनिक हुने अवसर मिल्यो । कुनै सिलौटे ढुङ्गामा कलापारखीले बुद्ध आकृति पहिचान गरेजस्तो ।
खड्का २०५२ सालतिर रङ्गकर्मी पहिचानमा निकै रुचाइएका थिए । नाटक लेखन, निर्देशन र अभिनयका लागि चिनिँदा–चिनिँदै उनी बीचमा कता गए, न धनकुटालाई थाहा भो, न इटहरीलाई । केही समय, जनतालाई काम र माम दिन नसक्ने राजधानीको गन्धे हावा सुँघेर अघाएपछि बनीबुतोका लागि पूर्वी अफ्रिकी मुलुक ससेल्स पुगेका रहेछन् । जमघटमा थाहा भयो, सेसेल्सबासी आफूलाई अफ्रिकी भन्न उति रुचाउँदा रहेनछन् । म सोचिरहेको थिएँ, खड्काका कवितामा पनि सात समुद्र पारीका विशेषगरी अफ्रिकी पीडाका यस्तै अनुभूति होलान् । तर, म गलत रहेंछु । उनी त त्यति सुदूरमा पुगेर पनि बेला–कुबेला नेपालकै मायामा लछ«प्प हुँदा रहेछन्, सायद हामीभन्दा बढी ।
मधेसका सहकालहरू
समानुपातिक भएर सर्लक्क
कर्णाली प्रवेश गरुन्
दुःख बाँडियोस्–सुख बाँडियोस्
भोक बाँडियोस्–भोजन बाँडियोस्
तर कदाचित्
देश भागबन्डा नलागोस् ।
मैथ्यु आर्नोल्डले कविता जीवनको आलोचना (समीक्षा) हो भनेका छन् । विल्सनका विचारमा कविता अनुभूतिले रङ्गिएको विवेक हो । कवितामा सौन्दर्य भएर मात्र पुग्दैन, सुन्नेको हृदयलाई डोहो¥याएर लैजाने शक्ति तिनमा हुनुपर्छ भन्छन्, होरेस ।
कसैले कविता अस्वीकृत विद्यालय हो भनेका छन्, जति अध्ययन गरे पनि हुने । जे अर्थ लगाए पनि हुने । आफूलाई चाहिए जति आनन्द लिन पाइने । कोही भन्छन्, कविता खुला विश्वविद्यालयमा पढिने परिष्कृत विधा हो, यसमा कविले आफूखुसी अध्ययन गर्न पाउनुपर्छ । अनि कवि ? महाकवि पर्सिविस शेलीका शब्दमा भन्दा कवि संसारको अस्वीकृत व्यवस्थापक हो । कवि खड्कामा पनि अरू नाम चलेका ‘अस्वीकृत व्यवस्थापक’हरूमा जस्तै पागलपन र प्रेमिल भावका पर्याप्त लक्षणहरू छन् । ‘मनोवाञ्छा’मा उनले सुनाए,
मनका पटाङ्गीनीहरू मुकुलित पुष्पझैं
अकलुषित परागसेंचन गर्दै
अथाह÷अखन्डित÷अक्षत
कसैले हिम्मत गर्न नसकेको भर्जिन भूमिमा
समदर्शी बिजनको गर्भाधान गरेर
अकिञ्चन बस्तीको परिसरभरि
ढकमक्क पक्रिउन्
वंशको अक्षुण्णता कायम राख्दै...
कलरिजका अनुसार कविता विज्ञानविपरीत विधा हो । यसको मुख्य लक्ष्य आनन्द हो, सत्य होइन । तर, विज्ञान र आनन्द दुवैको सेरोफेरामा खड्काका कविताहरू छन् । उनी जीवन भोगाइको संवेदनालाई उत्तोलक सिद्धान्तसँग जोडेर कथन गर्न रुचि राख्छन् । ‘कोप्चेरो स्वार्थको जङ्गली भूत लागेर÷मपाइँत्वको आत्मश्लाघाले ग्रस्त÷ हिनताबोधको सियाशिकारीले भेटेका÷विचारका लघुताभास...’ जस्ता छाडा अन्धविश्वासहरूलाई विज्ञानको लङ्गौटी लगाउन मन पराउँछन् ।
समीक्षकहरू भन्छन्, खड्काका कविता गाउँघरतिरकै सरल र मिठा विम्ब हुन् । केही टर्रा पनि छन् । तर, टर्रा भए पनि ती औषधीय गुणयुक्त छन् । हामीले देखेभोगेका पैतृक विम्बहरू उनले लोकजीवनबाट टपक्क उठाएका छन् । कविताका लागि भित्रैबाट मन छुने स्वाभिमानी प्रतीकहरू सजाउन खड्का सिपालु छन् ।
युद्ध भित्र बाहिर जहाँबाट गरे पनि
मान्छेले मान्छेलाई मार्ने
सबैभन्दा ठूलो अपराध हो ।
आफैं मारेर आफैं क्रियापुत्री बस्नुपर्ने
अन्ततः युद्ध जितेर पनि हार्नुपर्ने...
सुविचारको कल्पवृक्ष झाँगियोस् ।
जमघटमा कलाकार विक्रमश्रिले कविलाई भने, सबै नेपालीले गर्व गर्नलायक कविता बनाएकोमा कवि खड्कालाई धन्यवाद ! जवाफमा कविले प्रष्टीकरण दिए, ‘सबै नेपालीले गर्व गर्न लायकको कविता लेखिन (लेख्न) बाँकी छ ।’
थाहा छैन, नदीको पानीले कति वर्षदेखि कति ढुङ्गाहरूलाई चुम्यो होला ? कति वरपरका बोट–बिरुवाहरूलाई छुँदै, कति फड्के तर्नेहरूलाई बिदाइको हात हल्लाउँदै, कति फोहोर गर्नेहरूसँग चित्त दुखाउँदै अघि बढ्यो होला ? कति छेस्का–काँडाबाट घोचियो होला ? कति माटो–कमेरोसँगै धमिलयिो होला ? कति खोला–खोल्सीसँग रउसिँदै बास बस्यो होला ? जे–जस्तो परे पनि नदीले सङ्गीतको आनन्द सिर्जना गर्नमा रति पनि सम्झौता गरेको छैन । कवि खड्काले जीवन भोगाइको यस्तै अनुभूतिले अनेक शब्द–चित्र बनाएका रहेछन् । कारनायलले सङ्गीतमय विचारलाई कविता भनेका छन् । विश्व साहित्यमा पहुँच बनाएका खड्का पनि कविताका लागि निरन्तर यस्तै शब्द–सङ्गीत एरेन्ज गरिरहेछन् ।
नेपाल प्रायः चुनावको हल्ला चलाएर विदेशी मुद्रा भिœयाउन सिपालुहरूको मुलुक बन्दै गएकोमा कवि खड्काको चित्त कुँडिएको रहेछ । भूपि शेरचनले ‘यो हल्लै–हल्लको देश’ भनेको तीन दशकको अन्तरालमा कवि खड्काले हल्लावाजहरूलाई ‘धतुरेहरू’ को संज्ञा दिए र आफूलाई विद्यमान परिपाटी किमार्थ मन नपरेको तर्क लेखे ।
फेक नोट आर्जित पोस्टर टाँसेर
रातोदिन गरिरहुन् इमानको निर्वाचन
मेरो स्वकीय अडान रक्षार्थ म
पूर्वोक्त धतुरेहरूको पक्षमा
मतदान गर्दै–गर्दिनँ ।
खड्काले अरू कतिपय कविले जस्तो मिडियामैत्री हुने अवसर पाउलान्–नपाउलान् भन्न गाह्रो छ । किनकि उनले नेपाली कविता साहित्यमा सकारात्मक हस्तक्षेप गरिसकेको खबर निकै दिन बितिसक्दा पनि हामीसम्म आइपुग्न पाएको थिएन । तर, यो धरतीले सिँचाइ सुविधा पहुँचको अवसरबाट जति नै वञ्चित गरे पनि हावामा भएका पानी–कणहरू सञ्चित गरेर भोलिका दिनमा नेपाली कविता फाँटमा आफूलाई जीवन्त बनाइराख्न सक्ने लोभलाग्दो क्षमता उनमा छ । नाहकमा बेवास्ता किन गर्ने ?
०००
तस्बिर : नवीन गड्तौला
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1333-nagarik-05-april-2013/2-nagarik.html