स्वाभिमानको ट्रेलर


स्वाभिमानको ट्रेलर
- सुविद गुरागाई

‘दुनियाँ में और भी गम है मोहब्बत के सिवा’ भने जस्तो एउटै कुरामा अड्किएर बस्ने मेरो बानी कदापि थिएन । तर इनरुवाको सवालमा त्यही भइरहेको छ । अथवा यसो भनौँ, त्यही हुन परिस्थितिले बाध्य पारिरहेको छ ।
एक साँझ गेहेन्द्रको पसलअगाडि नवीन सरको सन्दर्भकै कुराकानी हुँदै गर्दा इनरुवा नगरप्रमुख राजन मेहताले मलाई भने–
‘गुरु तपाई यस्ता–यस्ता कुराहरू लेख्नुहुन्छ कि कुन दिन तपाईलाई कसैले मारिदिन पनि सक्छ !’
जवाफमा मैले के भनेँ हुँला ? तपाई अनुमान गर्न सक्नुहुन्छ ।
मैले भनेँ, ‘अब मर्नसँग के डराउनु यार ! जसोतसो ५१ वर्ष भइहालियो । अनि अर्को एउटा सायद तपाईलाई थाहा छैन, म ब्लगर पनि हुँ । हो, यस्तै तपाईहरू जस्तै शुभेच्छुकहरू पनि हुने भएर होला धेरै ब्लगरहरूको हत्या भएको !’
मैले अहिलेसम्म यो यति संवेदनशील कुरा एक–दुई जना मित्रबाहेक कसैलाई भनेको थिइनँ । तपाईलाई थाहै छ यदि मैले त्यो बेला चाहेको भए तत्काल विज्ञप्ति जारी गरेर ‘नगरप्रमुखद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की’ शीर्षकमा समाचार छपाउन सक्थेँ तर मैले त्यसो गरिनँ । किन ?
किनकि मलाई इनरुवा नगरप्रमुख राजन मेहताका बारेमा यस्तो नकारात्मक टिप्पणी गर्न÷लेख्न मन छैन । मनको कुरा गर्नुहुन्छ भने म उनले पक्षधर मान्छे हुँ । उनले गरेका राम्रा कामहरूको प्रशंसा गर्दै एकपछि अर्को फिचर लेख्न चाहन्छु । तर यसबेला इनरुवाको हकमा राजन मेहता सम्झ्यो कि नवीन सरले बेहोर्नु परिरहेको अन्यायको सम्झना झलझली भइदिन्छ । अनि मेरो कलम रोकिन्छ राजन मेहताको प्रशंसामा शब्दहरु खर्च गर्न ।
जब म इनरुवामा कुनै बेढङ्गको (गलत) काम भएको देख्छु, राजन मेहताले हात जोड्दै गरेको रङ्गीन तस्बिर र घोषणा–पत्र दुवै एकसाथ सामुन्ने आइपुग्छन् । हेर्दाहेर्दै चित्त कँुडिन्छ ।
पछिल्लोपटक नवीन सरको घरअगाडि टाँसेको ‘यो घरजग्गा बिक्रीमा छ’ भन्ने सूचनाको फोटो खिचेर इटहरी फर्कँदै गर्दा जिल्ला अदालतअगाडि एउटा प्रयोजनविहीन टेलिफोनको पोल बीचमै राखेर बनाएको सडकमा खकारेर अघि बढ्न मन लागेको थियो तर थुकिनँ । किन ?
मित्र राजु ढकाल त्यहीँ थिए । मित्रलाई देखाइदेखाई के खकार्नु भन्ने सोचेर खकारिनँ ।
यस्तो बेढङ्गको सडक बनाउन सहमत हुने नगरप्रमुख मेहता ज्यादतीसहित नवीन सरको घर भत्काइएको प्रकरणमा भने सार्वजनिक रूपमा साक्षी किनाराको सदर भएर चुपचाप बसेको दृश्य जति सम्झियो त्यति दुःख लाग्छ ।
नवीन सरको सवालमा सबैलाई थाहा छ, यदि नवीन सर नवीनचन्द्र साह नभएर नवीनचन्द्र मेहता हुन्थे भने उनको घर कुनै अर्थमा पनि भत्किने थिएन । इनरुवाको ग्राउन्ड रियालिटी यही हो । सायद कथाको माग पनि अब यही हुनेछ ।
...
बाँकी ‘स्वाभिमान बिक्रीमा छ !’ शीर्षकअन्तर्गत फन्टुस फिक्सनको ब्रान्ड न्यु इपिसोडमा ।


गजल
– सुविद गुरागाई

जब मन धेरै दुखेको हुन्छ ।
हाँसोमा आँसु लुकेको हुन्छ ।

सर्वोच्च हुन्न संसारमा अरू,
मायामा सगर झुकेको हुन्छ ।

जतिले भनुन् बदलिन्न सत्य,
बुझ्नेले कुरा बुझेको हुन्छ ।

कि हो त्यो पागल कि कोही प्रेमी !
जो गजल तालमा डुबेको हुन्छ ।
०००
पुस्तक हटियामा बुख्याँचा
– सुविद गुरागाई

‘हेलो !’
‘तैँले मेरो नाम लिँदै पत्रिकामा किन जे मन लाग्यो त्यही लेख्छस् ?’
‘को बोल्नु भो तपाई !’
‘तेरो बाउ !’
‘मेरो बाउ त म छ वर्षको हुँदा नै मरेका थिए ।’
‘अब तँ पनि मर्छस् !’
‘तर म त ८० वर्षसम्म सक्रिय जीवन बाँच्छु भनेर सोचिबसेको मान्छे हुँ !’
‘अब फेरि त्यसैगरी मेरो नाम लेखिस् भने ८० दिन पनि बाँच्दैनस् !’
यति भनेर उसले फोन राखिदियो । आवाज केही चिनेचिने जस्तो पनि लाग्यो तर यकिन गरेर भन्न सक्तिनँ ।
यो कुराकानी मैले मोबाइलमा रेकर्ड गरेको छु । तपाई चाहनुहुन्छ भने यसको एमपिथ्री अडियो साउन्ड सुनाउन सक्छु । ९८१०५५४४०० । उसको फोन नम्बर सेभ गरेको छु ।
एक–दुई पल्ट फोन गरी हेरेँ । तर, उठाएन । सम्भवतः ऊ मसँग कुरा गर्न चाहँदैन । मलाई मार्न चाहन्छ । र, त्यसका लागि समय पर्खिरहेको छ । योजना बुनिरहेको छ ।
म विस्मित छु, को हो त्यो जो मसँग यसरी अत्यन्त रिसाएको छ । मेरो लेखाइसँग चिढिएको छ । र, मलाई मार्न चाहन्छ ।
पक्कै फन्टुस फिक्सनको कोही पात्र हुनुपर्छ ।
०००
लेखन कुञ्जमा हरेक शनिबार पुस्तक हटिया लाग्न थालेको छ ।
हटियामा बुख्याँचा पात्रहरूको जगजगी छ ।
हेर्दा सर्लक्क मान्छे जस्ता लाग्छन् तर बुख्याँचा बुख्याँचा नै हुन् । बाहिर भयङ्कर लाग्छन्, भित्र केही न केही ।
त्यही भींडमा पहिलो दिन नै भेटिए कृष्ण अविरल ।
कृष्ण अविरल सेलिब्रिटी नाम हो । भित्रैदेखि आदर गर्न मन लाग्छ । तर, जम्काभेटमा कर्कलाको पानी भइदिए । छुद्रता छताछुल्ल भइदियो । हेर्दा–हेर्दै सैतान देखिए देवता ठानेका मानिस । दुर्भाग्य मेरो ।
रक्तकुण्ड पढेँ । लालचुडी पढेँ । लालचुडीले भित्रैसम्म मन छोएको थियो । साँच्चिकै हो जस्तो लागेको थियो । उहिले समाचारपत्रको परिशिष्टाङ्क सौगातको सम्पादन गर्दा मैले ‘कृष्णप्रसाद भट्टराईहरू’ शीर्षकका लागि छानेका पात्रहरूमध्ये कृष्ण अविरलको नाम निकै सम्मानसाथ उल्लेख गरेको थिएँ । तर, पछि बुझ्दै जाँदा उनी त्यति स्पेस दिनुपर्ने पात्र होइन रहेछन् जस्तो लाग्यो । त्यत्तिकै कालो ढुङ्गालाई शालीग्राम ठानिबसेको रहेँछु ।
मञ्जरी प्रकाशन खोलेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन छापेका छन् । पण्डित जगन्नाथ गुरागाईको गुणरत्नमाला छापेका छन् । एकपछि अर्को अनधिकृत कामहरू धमाधम गर्न थालेका छन् । अर्काको रचना छाप्न र बेच्न न कसैको अनुमति लिनुपर्ने न त्यसरी बेचेवापत कसैलाई लेखकश्व दिनुपर्ने । अदालतमा मुद्दा हाले पनि नलाग्ने । त्यसो त नेपालमा पनि प्रतिलिपि अधिकार कानुन छ । तर, कानुन बनाउनेहरूले बदमासी गर्न चाहनेहरूलाई प्रशस्त ठाउँ दिएका छन् । सिर्जना प्रकाशन भएको र सर्जकको मृत्यु भएको ५० वर्षपछि त्यस्तो कृति पब्लिक डोमेनमा जान्छ र त्यसको प्रयोग जसले पनि गर्न पाउँछ भन्ने लेखिएको छ । यही कानुनी दुलो समातेर भ्रष्टाचारको अँध्यारो गुफामा पसेका छन् अविरल । यसमा कानुनीभन्दा पनि नैतिकताको प्रश्न बढी छ । उनबाट नैतिकताको कति आस गर्ने नगर्ने त्यो विद्वान लेखक कविहरूकै जिम्मा ।
पछिल्लोपटक मञ्जरी प्रकाशनबाट मनु ब्राजाकीका गजलको किताब छाप्छु भन्दै लिखित सम्झौता गरेका रहेछन् अविरलले । ब्राजाकी जीवित छँदाकै कुरा हो यो । ब्राजाकीको निधनपछि एकदिन लेखन कुञ्जमा भेट हुँदा एक जिज्ञासु शुभेच्छुकको तहबाट जीवनपानीले सोधे, ‘मञ्जरी प्रकाशनबाट मनु ब्राजाकीको गजलको किताब कहिले छापिँदैछ ?’
सुन्नासाथ भरक्क भड्किहाले अविरल ।
‘छाप्दिनँ म त्यो । सम्झौता, पाण्डुलिपि जे छ सबै च्यातिदिए हुन्छ ।’
यस्तै छुद्र वचन बोले उनले । म साक्षी छु । जीवनपानी अक्क न बक्क भए । के बोल्नु के नबोल्नु ! यसले पो केही बोल्छ कि भनेर मतिर फर्केर हेरे ।
‘ओहो, किन यसरी उत्तेजित हुनुभएको अविरलजी ? यो त समाचार बन्ने प्रसङ्ग होला जस्तो छ । तपाई आफैँ पत्रकारिता बुझेको मान्छे । बिस्तारी बोल्दा, छलफल गर्दा पनि हुन्छ नि होइन र !,’ मैले अविरललाई शान्त हुन आग्रह गर्दै भनेँ ।
‘लेखिदिए हुन्छ समाचार । केही फरक पर्दैन,’ उनले यस्तै भने र जुरुक्क उठे । सरासर पुस्तक हटियाको भिंडमा हराए ।
त्यत्रो उचाइ चुमेको लेखक, प्रकासकको यो व्यवहार ? मैले कल्पना पनि गरेको थिइनँ ।
चोरबाटो हिँड्नेहरूसँग कसैगरी नसकिने । काँक्रा चोरलाई मुड्के सास्ती, यस्तै बेलामा काम लाग्ने उखान सम्झना हुन्छ ।
०००
म ब्राजाकीका दरपिया पार्टनर खोजी–खोजी हिँड्दै थिएँ । दारु खान होइन, दारुका बारेमा कुरा गर्न पनि होइन ।
बेस्ट सेलर कथाकार, गजलगो, संस्मरण लेखक मनु ब्राजाकी जीवित छँदैको सन्दर्भ हो यो ।
सर्वाधिक खोजी सूचीमा रहेका पात्रहरूमध्ये एक थिए चर्चित लेखक, पत्रकार, सम्पादक, टेलिभिजन प्रस्तोता किशोर नेपाल झुत्रे ।
पछिल्ला दिनमा बिरामीका कारण मनु ब्राजाकीको कलम सुस्ताइसकेको थियो । शारीरिक रूपमा पनि गल्दै गएका थिए । उनको जीवनका बारेमा शुभेच्छुकहरूका मनमा चिसो पस्न थालेको थियो । यस्तो पृष्ठभूमिमा म, विमल अधिकारी, सुनील पुरी र जीवन पानी मिलेर ब्राजाकीको जीवनकालमै उनको आत्मकथा (संस्मरण) र हामी शुभेच्छुकहरूको ब्राजाकी बारेका भनाइ समेटेर एउटा दस्तावेज तयार गर्ने सल्लाह भयो । नाम राखियो मनमौजी । मित्र रमेश पौडेलले कभर डिजाइन पनि तयार पारे ।
तर, मनु ब्राजाकीलाई नामको हिज्जे मन परेन । ‘मनमौजी नेपाली शब्द होइन, मनमोजी हो, त्यसैले किताबको नाम मनमोजी नै राख्नु पर्छ,’ ब्राजाकीको तर्क थियो । ‘मनमौजी नेपाली जनजीवनमा भिजेको शब्द हो, बोल्दा मनमौजी नै भनिन्छ, यही ठिक छ,’ हाम्रो प्रतिवाद थियो । तर, हामी नामको लफडामा अल्झेका थिएनौँ । नामका बारेमा पछि सोचौँला भनेर रचना सङ्कलन अभियानतिर लागेका थियौँ ।
त्यही सिलसिलामा हो मैले किशोर नेपाललाई खोजेको ।
महासागरहरूले पनि त्यति मानिस डुबाएनन्, जति रक्सीले डुबायो । ओलिवरका शब्द ।
किशोर नेपालका बारेमा मैले सुनेको थिएँ, उनी रक्सी र सितनका बारेमा निकै उदार छन्, जस्तो पनि खाइदिन्छन् । मनु ब्राजाकी जस्तै । त्यसैले तँतँ–ममको स्तरमा उनीहरूको दोस्ती जमेको हुनुपर्छ ।
नेपाल राम्रो लेख्छन्, यसमा कुनै शङ्का छैन । युवादेखि अग्रज पुस्तासम्मले उनलाई पढ्छन्, यसमा पनि कुनै शङ्का छैन । पुतलीहरूप्रति उनको आकर्षण गजबको छ भन्ने पनि मैले सुनेको थिएँ ।
पच्चीसौँ पटकको फोन–सम्पर्कपछि बल्लबल्ल बत्तीसपुतलीको एउटा कफी रेस्टुरेन्टमा हाम्रो भेटघाट हुने तय भयो ।
मनु ब्राजाकीका अर्का दारु पार्टनर गजलगो ज्ञानुवाकर पौडेल दाइको पुररानो घरबाट गन्दै जाँदा त्यही साइडमा ३२ औँ नम्बरको घरमा रहेछ, त्यो रेस्टुरेन्ट ।
करिब आधा घण्टा कुरेपछि आए ।
उनी त्यहाँका नियमित ग्राहक रहेछन्, भेट्न चाहने मान्छेलाई प्रायः यहीँ बोलाउँदा हुन् ।
उनले कफी हुन्छ भनेर सोधे । मैले हुन्छ भनेँ ।
आइसब्रेकपछि मैले आफ्नो उद्देश्य बताएँ । मनु ब्राजाकीसँगको पहिलो भेटघाट र हिमचिमको सन्दर्भ सोधेँ ।
‘तपाईहरू उसलाई देवत्वकरण गर्न चाहिरहनुभएको रहेछ । म यस विषयमा केही कुरा बोल्न चाहन्न,’ उनले झर्केर भने ।
‘तैपनि दाइ मनु ब्राजाकीसँग जोडिएका संस्मरणहरू केही भनिदिनु न,’ मैले रेकर्ड अन गरेँ ।
‘मैले भनेँ नि देवत्वकरणलाई सहयोग पुग्ने म कुनै कुरा गर्न चाहन्न । यो रेकर्ड अफ् गर्नुस्,’ उनले थर्काए ।
खोदा पहाड निकला चुहा ।
‘मनु ब्राजाकी तपाईको साथी त हो नि,’ मैले क्षुब्ध हुँदै सोधेँ ।
‘हो, तर यो विषयमा मलाई कुनै कुरा गर्नु छैन । अरू नै कुनै विषय छ भने भन्नुस् । भेट्न खोज्नुभएको थियो, भेट भयो । कफी खानुस् । जानुस्,’ उनले रुखो स्वरमा यस्तै भने ।
तपाईलाई पत्यार लाग्दैन भने म यसको थोरै एमपिपिथ्री रेकर्ड पनि सुनाउन सक्छु । घटनास्थलको अलिअलि छेकछन्द रेकर्ड भएको छ ।
कफी लिएर आउने भाइ पनि उनको व्यवहार देखेर छक्क प¥यो ।
किशोर नेपाल कान्तिपुरमा हुँदा म समाचारपत्रको डेस्कमा थिएँ । मनु ब्राजाकीको उपन्यास ‘कान्छी बेगम’ सौगातमा धारावाहिक छाप्दै थिएँ । कान्छी बेगमको सफ्ट–कपी लिएर आउँदा वा अरू नै बेला पनि ‘कान्तिपुरमा मेरो साथी छ, किशोर नेपाल झुत्रे, ऊ राम्रो आख्यानकार हो, राम्रो लेख्छ,’ भनेर निकै अदपका साथ नाम लिन्थे । प्रशंसा गर्थे । किशोर नेपालको उपनाम झुत्रे हो भनेर मैले मनु ब्राजाकीले भनेपछि नै थाहा पाएको थिएँ ।
मलाई निकै छट्पटी भयो । कफी खाऊँ कि के गरुँ । जुरुक्क उठेर हिँडुँ कि ट्वाल्ल परेर बसिरहुँ । केहीबेर चुपचाप बसेपछि कफी खाने निधो गरेँ । खानेकुरासँग केको रिस !
कफी निकै कडा र तीतो थियो । झुत्रेको झुत्रो व्यवहारजस्तै ।
०००
प्रतीक प्रधानसँग मेरो त्यति लामो उठबस होइन । आदरणीय कथाकार दाइ परशु प्रधानका छोराका रूपमा चिन्थेँ । साहित्यकार दाइ शैलेन्द्र साकारका भतिजा प्रतीक पत्रकारिता पढेलेखेका राम्रा मान्छे हुन् भन्ने थियो । मनको एउटा कुनामा त्यही अनुरूपको अपनत्व, त्यही अनुरूपको आदर थियो ।
तर यहाँ पनि ढाकके तीन पात भइदियो ।
प्रतीक प्रधान नागरिक दैनिकको सम्पादक थिए । म त्यसैको पूर्वाञ्चल संस्करण पूर्वेलीको सम्पादन डेस्कमा थिएँ । इटहरीबाट दैनिक विराटनगर आऊजाऊ गर्थेँ ।
ती दिनहरूमा मलाई इटहरी छोडेर काठमाडौँ आउन निकै हुटहुटी लागेको थियो । परस्पर जिल्लान्तर सरुवाको कागजात नियमानुसार मिलाउँदै थिएँ । इटहरीको घर–जग्गा बेचिसकेको थिएँ । काठमाडौँमा, नैकापमा बस्ने हो भनेर नवराज लुइटेललाई एक लाख रुपियाँ बैना पनि दिइसकेको थिएँ ।
नागरिक पूर्वेली डेस्कबाट केन्द्रमै सरुवा हुन्छ कि भनेर प्रयास गरेँ । सम्पादक प्रधानलाई भेटेर भनेँ । उनले विश्वमणि पोखरेलतिर देखाइदिए । अख्तियारप्राप्त पोखरेलले मलाई काठमाडौँमा काम दिनेबारे कुनै रुचि देखाएनन् । अन्ततः मैले पूर्वेली डेस्कको काम छोड्ने निर्णयसहित राजीनामा–पत्र दर्ता गराएँ ।
कुनै पनि सञ्चार–संस्था छोड्दा काम गरेको अवधिभरिका लागि सम्पादकबाट थ्याङ्कस् लेटर लेखाएर लिने मेरो बानी छ । राजीनामा दिएसँगै सम्पादक प्रधानसँग थ्याङ्कस् लेटरका लागि अनुरोध गरेँ ।
‘हुन्छ, भोलि आउनू, म लेखेर राखिदिन्छु,’ उनले भने ।
भोलि गएँ । पत्र लेखेर राखिएको थिएन । कार्यकक्षअगाडि निकैबेर कुरेँ । प्रधान आएनन् । फोन गरेँ फोन उठाएनन् ।
पर्सिपल्ट फोनमा कुरा भयो । उनले पत्र लेखेर नागरिकमै काम गर्ने मेरा मित्र छत्र क्षितिजलाई छोडिदिने बताए ।
त्यसको भोलिपल्ट फेरि नागरिकको अफिस पुगेँ । छत्रले, सम्पादकले आफूलाई त्यस्तो पत्र नदिएको र त्यसबारेमा कुनै सल्लाह पनि नभएको बताए । झिँजो मान्दै फोन गरेँ । दुई पटक पूरा डायल गर्दा पनि प्रधानले फोन उठाएनन् ।
निकोर्सिपल्ट फेरि नागरिकको अफिस पुगेँ । प्रधान कार्यकक्षमै रहेछन् ।
‘दाइ ! खोइ थ्याङ्स लेटर त लेखिदिनुभएको रहेनछ ।’
‘केको हो यो ताकिता ! दिन्छु भनेपछि म आफ्नो समय मिलाएर दिन्छु । तपाई बाहिर जानुस् !’
आफ्ना लागि गेट आउटको नेपाली रूपान्तर प्रधानका मुखबाट सुन्नासाथ म छाँगाबाट खसेझैँ भएँ । नसोचेको आइलाग्यो । सारा मान–सम्मान, आदर–सत्कार, सकारात्मक भावना झ¥याम्झुरुम् भयो ।
०००
‘सुम्पेर स्वतन्त्रता
नचाहँदा–नचाहँदै
अरूद्वारा ठड्याइएको छु ।’
बुख्याँचा शीर्षकमा कवि बद्री भिकारी लेख्छन् –
‘म बुख्याँचा, गतिमान जिन्दगी सोच्ने गर्छु ।
थाहा छैन मान्छेहरू मलाई के सोच्दा हुन् ।’
०००
bisnuprasad.bg@gmail.com
बबौटी डट कम
– सुविद गुरागाई

बबिता !
अब जीवनको बाँकी यात्रा तिम्रो साथमा हुनेछ । थुप्रै मोडहरू छन् हिँड्न बाँकी । थुप्रै उकालोहरू छन् चढ्न बााकी । थुप्रै ओरालोहरू छन् झर्न बाँकी ।
अँ, जीवनको बाँकी यात्रामा म थाक्दा तिमी मलाई उठाउनू, तिमी थाक्दा म तिमीलाई साहारा दिन्छु । बाचा भो ।
सोच्दै जाँदा कति अनौठो र अप्ठेरो लाग्छ जिन्दगी । केटा होस् चाहे केटी जीवन बिताउन आ–आफ्नो मन मिल्ने, दुःख–सुख बाँड्न सक्ने जीवन साथीको आवश्यकता दुवैलाई पर्दो रहेछ । तर पनि तिमी बेग्लै परिवार र वातावरणमा हुर्केकी, म बेग्लै । दुवैका रुचिहरू समान हुने हुन् कि होइनन् ? डर लाग्छ । त्यसैले होला एक–अर्काप्रतिको समझदारी र सम्झौतामा जीवन चल्छ भन्छन्, भननेहरू । हेर न ! हामी विवाह गर्छौँ, तिमी स्वयम्वर गछ्र्यौ म सिन्दुर हाल्छु, एक–अर्काप्रति इमानदार रहने र सँगै मर्ने–बाँच्ने बाचा गर्छौँ, सँगै सुत्छौँ, सँगै खान्छौँ, झगडा गर्छौँ, फेरि मिल्छौँ तर पनि हामी एक–अर्काको अहम् (इगो)लाई कहिल्यै परास्त गर्न सक्तैनौँ । म जे गरे पनि तिमीभित्रको ‘आइमाई’लाई झुकाउन सक्तिनँ, न तिमी कसैगरी मभित्रको पुरुषलाई गलाउन सक्छ्यौ । तथापि परम्परा थेग्नुको निहुँमा हाम्रो जीवन चलिरहेकै हुन्छ । सायद यही हो सम्झौता भनेको, जसको जगमा हाम्रा सपनाहरू टिकेका हुन्छन् ।
हेर, यसो भन्दा तिमीले मलाई कठोर नठान्नू । म तिमीलाई माया गर्छु । तर, अरूको जस्तो होइन, मेरो मायाको सीमा हुन्छ । फेरि माया भन्ने कुरा होइन, अनुभव गर्ने कुरा हो जस्तो लाग्छ ।
साथीहरू मलाई म जटिल छु भन्छन् । म कुराहरू घुमाएर गर्छु अरे ! तर, मलाई लाग्छ म जे बोल्छु, सत्य बोल्छु । कतिपय सत्य अप्रिय हुन्छ र बिझाउँछ होला । त्यसैले सुरुमा उनीहरू मसँग रिसाउँछन् । तर, जब कुरा बुझ्छन् अनि सब सामान्य हुन्छन् । कसैलाई केही भन्न मन लागेको छ भने त्यो कुरा मनमा लुकाएर राख्दिनँ, भनिहाल्छु । बरु गल्ती भनेको रहेँछु भने पछि माफी माग्छु । किनकि ‘मान्छेले गल्तीहरूबाट सिक्नुपर्छ,’ भन्ने सिद्धान्तलाई मैले आफ्नो आदर्श मानेको छु ।
ल त, आज यति नै । बाँकी कुराहरू पछि–पछि लेख्दै जाऔँला । पत्रोत्तरमा तिमी पनि आफ्ना रुचि, विचार र अनुभवहरू लेख ।
काठमाडौँ, १७ फागुन २०५१ ।
०००
‘भाषाले मात्र पुग्ने भए
आँसु किन चाहिन्थ्यो ।
सूर्य नारायण पनि अस्ताउँछन्,
बत्ती चाहिन्छ ।
मानिसको जात –
हिँड्नुभन्दा अघि पुगिसक्छन्
लक्ष्य चाहिन्छ ।
यात्रु, मथाक्दा तिमी मलाई बोक,
तिमी थाक्दा,
म तिमीलाई बोक्छु –
हामी सँगसँगै हिँडौँ
यात्राका लागि साथ चाहिन्छ ।
सुखले मात्र पुग्ने भए
खुसी किन चाहिन्थ्यो ।
यो यस्तो महान् सृष्टिलाई
हेरेर मात्र पुग्ने भए
यसलाई महसुस किन गर्नु पर्दथ्यो
यसलाई हेर्ने दृष्टिले मात्रै पुग्ने भए
यसको प्रस्तुतिप्रति कृतज्ञता व्यक्त गर्न
प्रमाण किन चाहिन्थ्यो ।
मैले साँचो भनेको तिमीलाई
मलाई म मात्रले पुग्दैन
तिमी पनि चाहिन्छ ।
भाषाले मात्र पुग्ने भए
मुस्कान किन चाहिन्थ्यो ।
भाषाले मात्र पुग्ने भए
आँसु किन चाहिन्थ्यो ।’
बासु शशि पढ्दै यात्राको सन्दर्भ जोड्न मन लागेको छ ।
‘एक्लै हिँड्दा अगाडि पुगिन्छ !’
यसपटक काठमाडौँको यात्रामा मेरो एउटा सहयात्री (एउटै बसमा यात्रा गरेपछि, उनलाई सहयात्री नै भनुँ !) यसो भनिन् र चुप लागिन् ।
म भने गफको प्रसङ्गलाई बिर्सेर, उनले यसो भन्नुको अर्थ र त्यसको गहिराइ बुझेर अवाक् बने ।
त्यसो त उनको तर्क शक्तिसँग म भित्रभित्रै पराजित भइसकेको थिएँ । तर पनि आफूलाई संयमित राख्दै भनेँ–
‘जीवनलाई बुझ्ने सबैका आ–आफ्ना दृष्टिकोण हुनछन् । एकै जस्तो लागे पनि हिँड्ने बाटो फरक–फरक हुन्छ । सबैको विचार एउटै हुने हो भने लिलिपुटको जस्तो हाम्रो संसार पनि अनौठोको हुन्थ्यो होला !
बबिता, यतिखेर हामी काठमाडौँबाट दक्षिणकाली आइरहेका थियौँ । बाटोमा चालनाखेल आयो र उनी उत्रिन् । त्यसपछि मलाई एउटा रिक्तताको अनुभव भयो ।
सत्ते भन्छु, त्यतिखेर मैले तिमीलाई सम्झिएँ । तिमी मसँग भएकी भए अझ कति कुरा भन्थेँ हुँला ! हिजोसम्म जे भो भो । अब त हामी चाहे ढिलो पुगियोस्, एक्लै हिँड्ने कल्पना पनि गर्न सक्तैनौँ । तर, यसो भन्नुको अर्थ हाम्रो साथ एक–अर्काका लागि बोझिलो बन्नु हुँदैन । त्यो त यात्रालाई निरन्तरता दिने दरिलो विश्वास बन्नु पर्छ । कि कसो हजुर !
आज यति नै । पत्र लेख्न किन अप्ठेरो मानेकी ?
३÷१२÷२०५१, काठमाडौँ ।
०००
बबौटी !
आँसु पनि किन यस्तो मूल फुटेको पानी जस्तो ।
आफूलाई बिझाउने आफ्नै आँखाको नानी जस्तो ।
कहिलेकाहीँ म सोच्छु – म जुन बाटो हिँडिरहेको छु, के त्यो बाटो ठिक छ ? जवाफमा मनलाई सम्झाउँछु । अहिले त भर्खर हिँड्ने बारेमा सोच्दै छु । हिँड्न थालेकै छैन । त्यसैले के आफ्ना बारेमा यति चाँडै कुनै निष्कर्षमा पुग्नु ठिक हो ?
लाग्छ, मैले यदि सोलुखुम्बु बस्दाका दिन दिनहरूमा यसरी सोचेको भए यतिखेरसम्म कुनै परिणाम देखा परिसक्थ्यो होला । तर, यतिबेला समय बितिसकेको छ । हामी चाहेर पनि ती दिनहरूमा फर्किनँ सक्तैनौँँ ।
तिमी नयाँ होस् चाहे पुराना कुरा । कुरालाई सामान्य ढङ्गले लिन सक्तिनौ कहिलेकाहीँ । तर, जुनसुकै कुरालाई पनि सकारात्मक रूपमा लिन सकियो भने मन दुख्न पाउँदैन भन्ने कुरा हामीले भुल्नुहुन्न ।
समयसँगै दौडिने मेरो प्रश्नको जवाफ यिनै कुराहरूभित्र छ । के म लाटो भएर समयको नाटक हेरिरहन सकुँला भन्ने तिमीलाई लाग्छ ? निश्चय पनि तिमी त्यसो चाँहदिनौ ।
एक जना पात्र छन्, पत्रकार डाक्टर प्रदीप भट्टराई । विचरा बिहान खाना नखाई–नखाई आफ्नी बूढी (जसलाई उनी बाबा भन्छन्) को ब्रेन ट्युमरको औषधी खर्च जम्मा पार्न २४ घण्टामा १८ घण्टाभन्दा बढी समय दौडधूप गर्दै गरेको देखिन्छन् ।
मलाई थाहा छ – तिमीले बुझेको हुनुपर्छ, सुविद गुरागाई आफ्ना लागि मात्र तिमीलाई ‘छोडेर’ यति टाढा एक्लै किन बसेको होला ?
हिँउनदी सुक्ला र फूल उम्रेला कसले सोचेको थियो ?
शिर मेरो झुक्ला र फूल उम्रेला कसले सोचेको थियो ?
कहिलेकाहीँ नसोचेका कुराहरू पनि भइदिन्छन् । तर, हामीलाई के चासो ! त्यस्ता कुरा होउन्, हुँदै गरुन् । हामी नसोचिएका कुराका लागि होइन, सोचिएकै कुराका लागि सँगसँगै हिँडिरहेका छौँ, बाँचेका छौँ भन्ने म ठान्छु । सायद तिमीले पनि योभन्दा बढी सोचेकी छैनौ ।
 म विचार गर्छु – यो पछिल्लो समयमा मलाई तिम्रो अलि बढी नै माया लाग्न थालेको छ । तर म मनमनै डराई पनि रहेको छु । तिमीले मेरो मायालाई मेरो कमजोरी ठान्यौ भने के होला ? आशा गर्छु, यसो भन्दा कम से कम तिमी ‘रुने’ चाहिँ छैनौ ।
आँसु यात्रा र यायावरका लागि अवरोध हो भन्ने कुरा बुझ्न नसकेर कहिलेकाहीँ तिमी एउटी सामान्य आइमाई जस्ती देखिन्छ्यौ । नत्र त अरू कुरा ठिक छ । बाँकी चित्त दुखाइ छैन ।
सम्भवतः हामी सँगै बस्न थालेपछि मैले तिमीलाई लेखेको यति लामो चिठी पहिलो हो । यदि केही एउटा कुरा लेख्दा कुनै अर्को कुराको भाव आएछ भने भेटमा रिसाउन पाउने तिम्रो अधिकार सुरक्षित नै छ । आफ्नै बूढा हो हाँसी–हाँसी जति गाली गरे पनि हुन्छ ।
दसैँ अघि वा पछि विकल्पहरूको खोजीमा छु । यो अलि बासी कुरा भो । तर, यो र यत्ति कुरा चाहिँ बुझी राख, मैले सजिलै हार मान्न जानेको छैन । साथीहरू मेरो यही घमण्डदेखि आजित छन् ।
ल त, आफ्नो ज्यानको राम्रो ख्याल गर्नू !
२०५८ भदौ २९ ।
०००
बबौटी !
युगौँदेखि बन्द
सहरको कोठामा
तिम्रो उपस्थिति
मलाई मान्य छैन ।
कोठामा अँध्यारो छ
बाध्यता छ
मलाई अँध्यारोसँग घृणा छ
बाध्यता मन पर्दैन
बन्द झ्याल–ढोकाहरूले
विश्वास थुन्न सक्तैनन्
भ्रमको पर्दा उघार, बाहिर हेर
बाहिर उज्यालो छ
सडकमा उज्यालो छ
आँगनमा उज्यालो छ
तिमी आँगनमा आऊ
सडकमा आऊ
उज्यालोमा आऊ ।
कोठामा छट्पटी छ
तृप्ति छैन
कोठामा निरन्तरता छ
सन्तुष्टि छैन
तिमी मुस्कुराउँदा
शरीर–गन्धले पिरोल्छ मलाई
आकर्षणको नाउमा
आवरणले घोच्छ मलाई
हातका रङ्गी–बिरङ्गी चुरा
बन्धनका प्रतीक नबनुन्
तिमी छोड यो अँध्यारो जाने बाटो
रोक असम्भव रहरहरू
छोड सन्तुष्ट हुन नसक्ने चाहना
तिम्रो सुगन्धित कपालभन्दा
सपना लामो हुनुपर्छ
समयको भावना बुझ
ओ प्रिय स्वास्नीमान्छे !
केवल तिम्रो शालीनताले
मलाई पुरुष प्रमाणित गर्न सक्छ ।
यसको तिथि–मिति छैन ।
०००
बाबा !
सम्झना पनि यति आउँछ कि दिनभर तपाईकै सम्झना आइरहन्छ । अरू बेला आएर जाँदाभन्दा यो चोटि के भयो, के भयो ?
के गर्ने बाध्यताले गर्दा हामी एक–अर्कासँग छुट्टिएर बस्नुपरेको छ । भन्न त तपाई काठमाडौँ आऊ भन्नुहुन्छ तर घरको बाध्यताले आउन पनि सक्दिनँ । म मान्छे यहाँ छु, तर मन त्यहीँ हुन्छ । न खान मन लाग्छ, न केही काम गर्न मन लाग्छ । राति पनि ओछ्यानमा गयो ओछ्यान रित्तो हुन्छ । के गर्नु ? मन बुझाएर बसेकी छु, असार कहिले आउने हो भन्दै ।
तपाई अस्ति आउँदा मबाट अलिकति गल्ती भयो । त्यो पनि कुनै ठुलो गल्ती होइन, तपाईको मनमा ठुलो भयो । मैले तपाईलाई रोक्न सक्छु कि भनेर गरेँ तर तपाई रोकिनु भएन । हो, मेरो कालुको बानी नै यस्तै छ भनी मन सम्झाएँ । तपाई घरमा दिक्क लाग्यो भने विराटनगर जानु भन्नुहुन्थ्यो । तर, जान पनि मन लाग्दैन । किन होला ? तपाईको आमाको बानी थाहा नै होला !
ल त, कुरा त फोनबाट पनि हुन्छ तर मनमा लागेको कुरासम्म पनि गर्न पाइँदैन । बाबा ! मन बुझाउँछु ।
यसको पनि मिति छैन ।
०००
bisnuprasad.bg@gmail.com
पिन कोड नम्बर ०५६७०७
– सुविद गुरागाई

लैजा चरी हावासरि यो पत्र सुविदको हातमा पर्ने गरी !
‘सुविद गुरागाई, इनरुवा १÷३ सुनसरी, पिन कोड ०५६७०७, कोसी अञ्चल (नेपाल)’ लेखेर चिठीहरू आइरहन्थे ।
अर्काको चिठी पढ्नु हुँदैन भन्ने मान्यता छ । तर, केटाहरू आफ्नो चिठी त लेख्दा–लेख्दै थाहा भइहाल्छ, के पढ्नु ? पढ्ने भनेकै अर्काको चिठी त हो नि भन्थे । र, लुकीलुकी अर्काको चिठी पढ्न खोज्थे । पत्रमित्रताको जमाना थियो । खासगरी केटीहरूका नामबाट आएका वा केटीहरूका नाममा आएका चिठीहरू लुट्नु र कोर समूहमा पु¥याएर त्यसको चिरहरण गर्न पाउनुलाई केटाहरू पुरुषार्थ सम्झिन्थे । बिचमा कति लुटेराहरू भलादमी खालका पनि हुन्थे । खाम पछाडिबाट बिस्तारी खोलेर पढ्नुपर्ने कुरा पढिसकेपछि केही थाहा छैन जस्तो गर्दै क्यामेल गमले टाँसेर थपक्क पुरानै ठाउँमा राखिदिन्थे । कतिले त्यसरी थाहा पाएका कुरा आफ्नै मनमा राख्थे, कतिले चाहिँ कसैलाई नभन्नु ल भन्दै गाउँभरि फिँजाइसकेका हुन्थे । त्यस्तो गाइँगुइँको उत्कर्षमा फलानो वा फलानीको नाम जोडर फलानो वा फलानीलाई जिस्क्याउने काम हुन्थ्यो । जिस्क्याउँदा जिस्क्याउँदै कतिको त साँच्चिकै ‘लभ’ पनि पथ्र्यो ।
हुलाकी दाइ थिए नन्दप्रसाद भट्टराई । पूर्वटोलतिरबाट आउँथे । साइकल थियो एउटा पुरानो । २०३६ सालमा एक सय साठी रुपियाँबाट हल्काराको काम थालेका नन्द दाइले २०४२ सालतिर दुई सय पच्चिस रुपियाँ पारिश्रमिक पाउँथे । दसैँ–तिहारमा पनि एक–दुई दिनबाहेक बिदा नपाउने हुलाकीको अतिरिक्त आम्दानी भनेकै तेहौँ महिनाको तलब हुन्थ्यो । बाँकी केही न केही । सम्भवतः त्यसैले धेरै चिठी आइरहनेहरूसँग एक–दुई रुपियाँ जे–जति सम्भव छ, अपेक्षा गर्थे, चिया खर्च । हाम्रो चिया दोकान थियो । म नभएका बेला चिठी आमालाई दिन्थे र चिया खाएर जान्थे । त्यसबापत इनरुवा मेरो ठेगाना खोज्दै आइपुगेका चिठीहरूलाई कतै अलमलिन दिँदैनथे । जतन गरेर घरमा ल्याइदिन्थे । कहिलेकाहीँ विभिन्न सरकारी कार्यालयका नाममा आएका पत्रिकाहरू पनि दिएर जान्थे । इनरुवा गन्तव्यमा आउने सर्वाधिक चिठी सकुन्तला दिदीका हुन्थे । म पनि कम थिइनँ । कहिले दुई नम्बरमा कहिले तीन नम्बरमा पर्थेँ ।
हुलाकी दाइका झोलाभरि चिठी, पत्रिका हुन्थे । अहिले एकादेशको कथा जस्तो लाग्छ तर त्यो बेला व्यक्तिगत चिठी मात्र होइन, पत्रपत्रिकाको वितरण व्यवस्थामा हुलाककै टेको लागेको हुन्थ्यो । २०५२ सालभन्दा अगाडिको सामाजिक जीवन चिठीमै अडिएको थियो । कतिले त चिठीमै पैसा खामेर पनि पठाउँथे । चिठी सेरोफेरोका भावमा कविता, गीत, गजल लेख्ने चलन थियो । चिठी आएन, चिठी आएन, मेरी मायालुको मलाई चिठी आएन बोलको गीत वीरगन्ज गहवाबाट कुर्वान हवारी, ताजमा हवारी, जलील हवारी, बेगम हवारी, झापा गौरादहबाट दुर्गा ताजपुरिया, दुर्गी ताजपुरिया र कान्छा भुजेल, विराटनगरबाट उर्मिला, निर्मला, सपना, कल्पना आदिको रोजाइमा पर्ने गीत हुन्थ्यो ।
‘नखोलेरै राखिएको बन्द एउटा खाम थियो ।
भित्र के–के थियो कुन्नि बाहिर मेरै नाम थियो ।’
युवा गजलगो ललीजन रावलको यो मत्ला पनि निकै चर्चित थियो ।
...
पत्रपत्रिकामा पत्रमित्रताका सूचनाहरू बग्रेल्ती छापिएका हुन्थे । मातृभूमि साप्ताहिक, सात दिने समीक्षा, पञ्जाव केसरी, हिन्दुस्तान टाइम्सका संस्करणहरू मित्रताका सेतु थिए । पत्रमित्र हुन चाहनेका दर्जनौँ ठेगाना सार्वजनिक हुन्थे पत्रिकामा । कति केटीहरूका नाम जोडिएका ठेगाना कोही अल्लारे केटाले कि नक्कली नाम लेखेर कि सुरुमा आफूले आँखा लगाएकी तर प्रेम प्रस्ताव अस्वीकार गरेकी केटीलाई बदनाम गराउन पठाइदिएका हुन्थे । यीमध्ये मेरो ठेगाना चाहिँ नेपालमै विशिष्ट थियो । कसैले नलेखेको पिन कोड नम्बर मैले लेखेको हुन्थेँ । त्यो बेला अहिले जस्तो पासवर्ड शब्दले व्यापकता पाएको थिएन, कतै–कतै कोड वर्ड भन्ने शब्द चाहिँ सुनिन्थ्यो । यस्तो पृष्ठभूमिमा के हो यो पिन कोड नम्बर ? सर्वत्र जिज्ञासा हुन्थ्यो ।
भारतीय पत्रिकामा पत्रमित्रताका हरेक ठेगानासँग पिन कोड नम्बर जोडिएकै हुन्थे । नेपालमा टोल–टोलमा स्कुल भए जस्तो भारतमा टोल–टोलमा हुलाक हुन्थे । एउटै टोलमा धेरै हुलाक हुने हुँदा प्रापकका लागि पिनकोड नम्बर अनिवार्य जस्तै हुन्थ्यो । नेपालमा भने एउटै हुलाकको सेवाक्षेत्र धेरै गाउँसम्म फैलिएको हुन्थ्यो । सबै हुलाकहरू अन्तर्राष्ट्रिय हुलाक कार्यालयमा दर्ता पर्दो रहेछ । उसले सबै हुलाकलाई एउटा सङ्केत नम्बर दिएको हुँदो रहेछ, जसलाई पिन कोड नम्बर भनिँदो रहेछ । नेपालमा प्रापक वा प्रेषकको ठेगानामा पिनकोड नम्बर लेख्नु अनिवार्य थिएन । तर, म सानैदेखि हरेक काम सकेसम्म फरक ढङ्गले गर्न चाहने मान्छे थिएँ । त्यसैले मैले इनरुवाको पिनकोड नम्बर पत्ता लगाएर लेख्ने गरेको थिएँ ।
नम्बरको कुरा गर्दा हुलाकले ग्राहकका लागि वार्षिक शुल्क लिएर अलग–अलग पोस्ट बक्स नम्बर उपलब्ध गराएको हुन्थ्यो । त्यसैमध्येको एउटा गन्तव्य थियो, पोस्ट बक्स नम्बर ४३५५, त्रिचन्द्र श्रेष्ठ ‘प्रतिक्षा’ काठमाडौँ । उनले आफ्नो नामको अङ्ग्रेजीमा छोटकरी रूप राखेर टिसिएस इन्टरनेसनल पेनपल क्लब नामक अङ्ग्रेजी पत्रिका चलाउँथे । त्यसमा पत्रमित्रताका ठेगाना र फोटोहरू छापिएका हुन्थे । फोटो छपाउन पैसा पठाउनुपथ्र्यो । नेरु÷भारु २० रुपियाँ, युएस डलर दुई, स्टर्लिङ पाउन्ड एक । मेरो फोटो पनि छापिएको थियो ७२८ नम्बरमा, पहिलो पृष्ठमै । त्यसको लगभग दुई महिनापछि पिनकोड नम्बर ०५६७०७ खोज्दै मिस मिस्सी रोपर, बक्स ४२३ होनोलुलु, अमेरिकाबाट एउटा चिठी आयो । अमेरिकामा जिप कोड नम्बर लेख्ने चलन रहेछ । मिस्सी रोपरको जिप कोड थियो ९६७२१ । सम्बोधन मिस्टर सुविद गुरागाई । उमेर २१ वर्ष । हवाइ विश्वविद्यालयमा जुनियर तेस्रो वर्ष । उचाइ पाँच फिट चार इन्च । ब्लोन्ड हेयर, ग्रीन आइ । रुचि स्वीमिङ, रिडिङ पोयम्स् एन्ड नोभेल्स्, कोचिङ अ स्विमिङ टिम ।
आफूलाई अङ्ग्रेजी उस्तो नआउने । जवाफ नेपालीमा लेखेर पुरुषोत्तम सरलाई अनुवाद गर्न लगाएँ । र, लाग्दो हुलाक खर्च तिरेर प्रतिउत्तर पठाएँ । तर, फेरि जवाफ आएन । आयो र बिचमै कसैले गायब ग¥यो वा के भयो थाहा छैन ।
...
पिन कोड नम्बर ०५६७०७ मा मलाई सोध्दै–खोज्दै आउने चिठीहरूमा सबैभन्दा धेरै चिठी हिक्मत थापाका हुन्थे । सुरुमा हात्तीसार धरान, पछि हेटौँडा, रत्ननगर टाँडी चितवन, कहिले कटाक्ष बजार कैलाली, कहिले काठमाडौँबाट लेखिरहन्थे उनी । दोस्रो नम्बरमा पर्थे सानोपोखरा–५÷३३ हेटौँडाका साम्बराज ढकाल । त्यसपछि कहिले साँघुटार, कहिले दोरम्बा, कहिले मन्थलीबाट लेख्थे पेशल आचार्य । जागृतिनगर, भद्रपुर–६ झापाकी जयन्ता पोखरेल । पाँचकन्या–३, पानबारी, सुनसरीबाट लक्ष्मी खतिवडा ज्वाला । खार्पा–३ खोटाङकी कुसुम जङ्गलीसँग चिठीमै मनका भावना साटासाट हुन्थ्यो । उसबेला मभित्र हुर्हुराएको साहित्यिक तीर्खा मेट्थे तिनैले ।
दाङ देउखुरी, चौलाही सानो घुमनाबाट कृष्णराज सर्वहारी । बाम्राङ–८ खोटाङका रामविक्रम थापा । औरही टोल जनकपुर–९ बाट दिनेश पौडेल गरिब । जनकपुर ९÷१९४ का तृष्णा (सञ्जय) भट्टराई । ओमप्रकाश न्यौपाने मानपुर दाङ । २÷४ मझुवा सिन्धुलीका शङ्कर सौगात उर्फ शङ्करकुमार कार्की । चक्रपाणि गौतम, गैरागाउँ, तानसेन पाल्पा । राम प्रधान, मुकुन्द श्रेष्ठ ढाक्रे हरिवन सर्लाही । मेघराज भण्डारी धरान । कहिले दुर्गापुर झापा, कहिले पाँचथरबाट प्रेम ओझा । भरतपुरबाट कल्पना कँडेल स्मृति । विवश वस्ती सिद्धेश्वर–४ प्रगतिनगर सिन्धुलीमाढी । कहिले गोर्खा, कहिले कीर्तिपुरबाट भीम राना जिज्ञासु । दियालो रोड भरतपुर–१५ का अञ्जान श्रेष्ठ क्रमशः मेरा पत्रमित्रहरू थिए ।
बालसखा सञ्जय लुइटेलले अर्मेनिया रुसबाट चिठी लेख्थे । महोत्तरी, औरहीबाट मनु ब्राजाकी । ललितपुर लगनखेलबाट दिनेश अधिकारी । घनश्याम न्यौपाने परिश्रमी भैरहवा । पाटनढोका, ललितपुरबाट कमल दीक्षित । धनकुटा–३ कचिडेकी झमककुमारी घिमिरे । नाम्चेबाट विनोद डाँगी । महाराजगञ्ज तालिम केन्द्रबाट गीत नारायण एमटीका सम्झना पत्रहरू आज पर्यन्त सञ्चयन गरिराखेकै छु । ठिमी बहेखा बजारका एक जना श्रेष्ठ थरका पत्रमित्र थिए । २०४५ सालमा काठमाडौँमा म सनराइज इम्पोरियम बागबजारमा काम गर्थेँ । जमिम शाहको कपडा पसल । तिनै दिनमा मित्र सम्झेर सोध्दै–खोज्दै उनको घर, ठिमी पुगेको थिएँ । तर, उनको घरमा त्यति राम्रो व्यवहार पाइनँ । बेकारमा पो आइएछ जस्तो अनुभ्ूति भयो । फर्केर इनरुवा आएपछि, उनका सबै चिठी र फोटो जलाइदिएँ ।
२०४४ देखि २०६० सम्म निर्वाध चलिरहेको थियो यो सिलसिला ।
...
ती दिनहरूमा ‘प्रयास’ हवाइ पत्रिका छाप्थ्यौँ हवाइ–पत्रमा । म, पेशल आचार्य प्यासी, गोविन्द ढकाल बुइँपाली, कृष्ण कोइराला सम्पादक थियौँ । हुलाकबाट ५० पैसामा हवाइ–पत्र किनेपछि एकातिर छाप्ने कागजको पैसा जोगिन्थ्यो भने अर्कोतिर सम्प्रेषण खर्च पनि बच्थ्यो । काम अलिक फरक ढङ्गको पनि देखिन्थ्यो, हेर्ने बित्तिकै मान्छेलाई छेइहाल्ने । विद्यार्थी जीवन, कहिले खाजा खर्चबाट कटाएर, कहिले साथीभाइसँग सहयोग मागेर लेटर–प्रेसबाट छापिन्थ्यो प्रयास । खिटिक–खिटिक, एउटा हवाइ–पत्र हाल्यो–झिक्यो, अर्को हवाइ–पत्र हाल्यो–झिक्यो । मुद्रण कहिले अर्जुन पोखरेल दाइको अनुपम छापाखानामा, कहिले नारायण राजभण्डारी दाइको भगवती छापाखानामा । त्यही क्रममा एक दिन भगवती छापाखानामा प्रयास छाप्दै थियौँ । मेसिन अप्रेटर थिए, डम्बर दाइ । म कागज हाल्न, निकाल्न सघाउँदै थिएँ । अचानक मेरो दाहिने हातको चोर र माझी औँला मेसिनले च्यापिहाल्यो । डम्बर दाइले हत्तपत्त ब्रेक तानिहाले । धन्न ! औँला किचिपिचि हुन पाएन । नीलो–कालो भयो । आजसम्म पनि मेरा दुई वटा औँलाका नङ अलिकति माथि पलाएपछि सलक्क हुँदैनन् । हँसियाका दाँतजस्तो किरिक–किरिक बिझाउने खालका हुन्छन् ।
प्रयासमा अग्रजदेखि अनुजसम्म सबै प्रकारका कवि–लेखकका लेख–रचनाहरू छापिन्थे । तीमध्ये भानु–५, तनहुँका बसन्तप्रकाश उपाध्यायले पठाएको एउटा सानो टुक्रा छापिएको सधैँ सम्झन्छु । सम्पादक शीर्षकमा । विचरा सम्पादकहरू ! आफैँ हुर्काउँछन्, आफूले पूज्नुपर्ने भगवान्हरू । साँच्चै, उबेला बसन्तप्रकाशले भने जस्तै अहिले पनि अधिकतर सम्पादकको अवस्था म त्यही देख्छु । तर, म कोही भगवान् हुर्काउन सम्पादक बनेको थिइनँ । खासमा म ‘जीवनमा तिनीहरू नै सफल हुन्छन्, जो सफलताको मार्ग खोजी गर्छन् र नपाएको खण्डमा आफैँ निर्माण गर्छन्,’ भन्ने जर्ज बर्नाड शाको भनाइबाट निकै प्रभावित थिएँ । त्यो बेला गरिमा, मधुपर्क, समकालीन साहित्य वा कविताले लेख–रचना नछापुञ्जेल कवि–लेखक नै होइँदैन कि भने जस्तो चार्म थियो । उनीहरूले चाहिँ आँकुरा वा प्रवेश स्तम्भमा ठाउँ दिइसकेपछि कसैलाई छ महिना र कसैलाई वर्ष दिनको पालो लगाइदिन्थे । रचना प्रकाशनमा विद्यमान यस्तो साँधुरो परिस्थितिबाट थोरै भए पनि निवृत्ति पाउने उपायका लागि सम्पादक भइटोपलेको थिएँ म ।
जे गरिएछ राम्रै गरिएछ, अहिले सोच्दा ।
...
bisnuprasad.bg@gmail.com

पैसाको वान साइडेड जादू
– सुविद गुरागाई

‘जम्बुरे ! यो के हो ?’
‘पैसा !’
‘कति पैसा हो यो ?’
‘बिस रुपियाँ !’
‘यसको अगाडि के छ ?’
‘सगरमाथा !’
‘यसको पछाडि के छ ?’
‘बाह्र–सिङ्गे !’
‘कसरी थाहा भो यो बाह्र–सिङ्गे हो भनेर ?’
‘हाँगावाला सिङ्ग देखेर !’
‘जम्बुरे !’
‘हजुर गुरुजी !’
‘यसको नम्बर कति हो ?’
‘आठ सात तीन दुई एक सुन्ना ।’
‘कसरी थाहा भो यसको नम्बर ?’
‘जादू गरेर !’
‘यो कसको पैसा हो ?’
‘तपाईको !’
‘कसरी थाहा भो यो मेरो पैसा हो भनेर ?’
‘तपाईको हातमा देखेर !’
‘मभन्दा पहिले यो कसको पैसा थियो ?’
‘थाहा छैन !’
‘जादू गरेर बता !’
‘बताउन सक्तिनँ !’
‘त्यसो भए ल भन्, यो पैसा अब कसको हुनेछ ?’
‘जसले हातमा लिन्छ त्यसको !’
‘सुन्नुभो तपाईले जम्बुरेका कुरा ! यसलाई केही थाहा छ, केही थाहा छैन । तर, हामी सबैलाई थाहा छ, पैसा भनी छापिएको कुनै पनि रङ्गीन कागज नेपाल राष्ट्र बैङ्कले जारी गरेको रेडिमेड हस्ताक्षरवाला चेक हो । यसमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा रुपैयाँ २० तुरुन्त पाइनेछ,’ भन्ने लेखिएको छ । यसको अर्थ हो, यो जसको हातमा पर्छ, यसको भुक्तानी माग्ने अधिकार पनि उसैको हुन्छ । हिजोसम्म यस्तो अधिकार कसको थियो थाहा छैन । आज मेरो हातमा छ । केहीबेरमा यो तपाईको पनि हुन सक्छ । तर, त्यसका लागि तपाईको इच्छा चाहिन्छ । यदि तपाई चाहनुहुन्छ भने यो लिन सक्नुहुन्छ । यदि तपाईलाई बिस रुपियाँको खाँचो छ, यदि यसमा भएको सगरमाथाको फोटो मन पर्छ, यदि बाह्रसिङ्गेको सिङ्ग हेरिरहुँ जस्तो लाग्छ भने तपाई यो पैसा लान सक्नुहुन्छ ।’
यति भन्दै मैले बिस रुपियाँको नोट सबैले देख्नेगरी भुइँमा राखिदिएँ ।
‘जम्बुरे !’
‘हजुर गुरुजी !’
‘ल हेर्, अब यो पैसाले हेर्दाहेर्दै जादू देखाउँछ !’
‘हैट्, गुरुजी हावा कुरा गर्नुहुन्छ । पैसाले पनि कहीँ जादू देखाउँछ ?’
‘अब हेर्, कसरी गर्छ यसले जादू,’ भन्दै मैले रमितेहरूतिर फर्केर भनेँ, ‘देख्नुभो तपाईले, जम्बुरेले पत्याएन । तर, यो पैसाले साँच्चिकै जादू गर्छ । यदि तपाईहरूमध्ये कसैलाई ‘मलाई यो पैसाको खाँचो छ,’ भन्ने लाग्छ भने अगाडि बढेर यो पैसा लिन सक्नुहुन्छ । म केही भन्दिनँ । यो पैसामा तपाईले अलिकति थपेर इटहरीमा एउटा घडेरी किन्न सक्नुहुन्छ । चटपटी, आलुचप खान सक्नुहुन्छ । राजनिवास किन्न सक्नुहुन्छ । साथी वा कोही मागन्तेलाई दिन पनि सक्नुहुन्छ । जे गर्न मन लाग्छ, त्यही गर्न सक्नुहुन्छ ।’
०००
‘आउनुहोस् ! कोही एक जना अगाडि बढेर यो पैसा लिनुहोस् । म केही भन्दिनँ । जसलाई मन लाग्छ, लान सक्नुहुन्छ ।’
हेर्दाहेर्दै हँस्यौली वातावरण अलिकति गम्भीर भयो । रमिते २४ जना थिए । वडास्तरबाट छानिएका, १६ पुरुष, आठ महिला । सबै १२ कक्षा पास गरेका । अनुपम नेतृत्व विकास कार्यशाला चलिरहेको छ । सेसन हो – पैसाको जादू । मद्वारा मेरो निर्माण । तर, अहँ ! लक्षित समुदायका कोही पनि त्यो पैसा टिप्न अगाडि बढेन ।
‘कृपया म फेरि भन्दै छु, जसलाई यो पैसाको आवश्यकता छ, उसले यो पैसा लानुस्, लैजानुस् । मलाई फिर्ता दिनु पर्दैन । यो तपाईकै हुन्छ ।’
अहँ ! पैसा टिप्न कोही अगाडि बढेन ।
‘तपाईहरूलाई मेरो कुरामा विश्वास नभएर हो कि ! नत्र किन, कोही एक जना अगाडि आएर यो पैसा लानु नभएको ? प्लिज, कोही अगाडि आउनुस् र यो पैसा लिएर जानुस् । जो आए पनि हुन्छ ।’
त्यसपछि बल्ल एक जना सहभागी, अभिनन्दन अरगरिया यादव अगाडि बढे । र, हाँस्तै–हाँस्तै त्यो पैसा लिएर आफ्नो ठाउँमा गए ।
‘क्या बात् ! ल अब सबैले यादवजीका लागि रेडक्रस ताली बजाइदिनुहोला !’
ट्याक–ट्याक ! ट्याक–ट्याक ! ताली बज्यो । दुई पटक हत्केलाले, दुई पटक चुट्कीले ।
‘धन्यवाद ! तालीका लागि । पैसाको जादू करिब–करिब सकियो ।’
‘अब जस–जसले पैसा लिनुभएन उहाँहरूलाई म एउटा प्रश्न सोध्छु । प्रश्न त म पैसा लिने यादवजीलाई पनि सोध्छु । तर, पहिले नलिनेहरूलाई सोध्छु ।’
‘तपाईले त्यो पैसा किन लिनुभएन ?’
पैसा नलिनेहरूबाट विविध जवाफहरू आए । २३ मध्ये पाँच जनाले भने म लिन जान खोज्दै थिएँ, अर्को साथी अगाडि बढेर लगिहाल्नुभयो । दुई जनाले भने मलाई त्यो पैसाको खाँचो थिएन । हामी त सरले के जादू देखाउनुहोला भनेर हेर्दै थियौँ, तीन जनाले भने । छ जनाको भनाइ थियो, लिन मन लागेन । एक जनाले भने त्यो पैसा कसले लान्छ र उसलाई के हुन्छ भनेर हेर्दै थिएँ । सित्तैमा अर्काको पैसा किन लानु ? चार जनाको प्रतिप्रश्न थियो । एक जनाले लिन मन नलागेको कुरा बताए । एक जनाले भने मैले त कुरै बुझिनँ ।
‘अब जसले पैसा लिनुभयो, उहाँले भन्नुहोस्, तपाईले यो पैसा किन लिनुभयो ?’
‘सरले म पैसाको जादू देखाउँछु भन्नुभएको थियो । कसरी जादू देखाउनु हुँदोरहेछ भनेर हेर्नलाई ।’
‘धन्यवाद तपाईलाई । तपाईले जादू हेर्न लिनुभएको होस् वा जेसुकै कारणले लिनुभएको होस् । २३ जनालाई उछिनेर त्यो पैसा लिनुभयो, तपाईले जित्नुभयो । अवसर सबैका लागि बराबर आएको थियो तर विजेता तपाई हुनुभयो । के कारणले तपाईले पैसा लिनुभयो, त्यो मोफसलको कुरा हो । मुख्य कुरा के हो भने जानेर होस् वा नजानेर होस्, तपाईले खेल जित्नुभयो ।’
‘र, जस–जसले पैसा लिनुभएन वा लिने प्रयास गर्नुभएन, उहाँहरूले खेल हार्नुभयो । हामीभित्र विद्यमान यस्ता अनेकौँ कारण छन्, जसले हामीलाई हरुवा बनाइरहेको छ । हामी बहानाहरूले किचिएका छौँ । हाम्रो जीवनमा अवसरहरू आइरहेका–गइरहेका हुन्छन् । तर, हामी चिन्दैनौँ । खास समस्या यो हो ।’
पैसाको यो खेलले तपाईको जीवनमा केही जादू होस् । सोच्ने तरिकामा अलिकति सकारात्मकताको मात्रा थपिदेओस्, म यस्तै चाहन्छु ।
०००
हिन्दू सनातनी मान्यताहनुसार पैसा लक्ष्मीको प्रतिविम्ब हो । यस अर्थमा म पैसालाई माया गर्छु । म पैसाको लभर हुँ । पैसालाई म जत्तिको माया गर्ने प्रेमीको सङ्ख्या संसारमा सानो खरमयुरको सङ्ख्या जत्तिकै दुर्लभ होला ।
सानो–ठुलो जुनसुकै दरको होस्, हातमा परेको पैसालाई म अति जतन गर्छु । दर अनुसार नयाँदेखि पुरानोको क्रम मिलाएर राख्छु । कसैलाई दिनुप¥यो भने सकेसम्म पुरानो–पुरानो छानेर दिन्छु । छेऊ–कुना दोब्रिएको छ भने सिधा पारेर चारैतिरबाट सर्लक्क बनाउँछु । खजमजिएको, भिजेको रहेछ भने आइरन गरेर चिटिक्क पार्छु । च्यातिएको छ भने सेलोटेप टाँसेर जस्ताको त्यस्तै पार्छु । कैयौँपटक दुई रुपियाँको नोट टाँस्न पाँच रुपियााँको सेलोटेप किनेके छु । चार आनाको मुर्गी बाह्र आनाको मसला भने जस्तो ।
तिहार वा सरस्वती पूजामा अगरबत्ती, दीयोले डढेको पैसा देख्नुभा’छ ? दुवै नम्बर भएको तर छेउछाउबाट च्यातिएर बिटुलो भएको पैसा फेला पार्नुभा’को छ ? यस्तो बेलामा के गर्नुपर्छ ? तपाईलाई थाहा छ ?
यस्तो बेलामा त्यही पैसाको आकारमा एउटा सादा कागज काटेर त्यसमा बिटुलो पैसा टाँस्नुपर्छ । अनि मात्र त्यो पैसा साट्नयोग्य हुन्छ । साट्न नेपाल राष्ट्र बैङ्कको काउन्टर वा झुत्रो नोट साट्ने अख्तियारी पाएका राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क लिमिटेडका सटही काउन्टरमा लानुपर्छ । मैले पाँच रुपियाँ, दस रुपियाँका धेरै नोटहरू इनरुवाको वाणिज्य बैङ्क पुगेर साटेको छु । तर, अहिलेको भागदौडपूर्ण जिन्दगीमा अगरबत्तीले डढेको पाँच रुपियाँको नोट साट्न ५० रुपियाँ भाडा खर्च गरेर बैङ्क खोज्दै हिँड्ने फुर्सद कसलाई ?
यसबाट पनि पुष्टि हुन्छ कि म पैसालाई कति माया गर्छु ।
विडम्बना मेरो यो मायालाई पैसाले आजसम्म कहिले पनि सिरियसली लिएको छैन ।
यही कुरा मैले साथी गेहेन्द्रचन्द्र ढुङ्गेललाई सुनाएँ ।
‘हामी पैसालाई माया गर्छौँ र त गल्ती गर्छौँ । पैसालाई माया गर्ने होइन । योसँग त खेलवाड गर्न सक्नुपर्छ,’ उनले भने, ‘जसले पैसालाई धेरै खेलाउन सक्छ, पैसाले उसैलाई पत्याउँछ ।’
०००
यतिखेर एउटा दुर्लभ एकसिङ्गे गैँडा मेरो अगाडि छ ।
हरियो रङको गैँडामा उ ६७–१४७२९४ नम्बरको दुई वटा टाँचा हानिएको छ, पाँचतले मन्दिर न्यातपोलको दायाँ–बायाँ ।
नेपाल राष्ट्र बैङ्कको सहजीकरणमा भएको यो सिर्जना मसँग १२ वर्षदेखि थपक्क जस्ताको त्यस्तै छ । कहाँबाट कहाँ पुगी सक्नुपर्ने थियो बरा । कवि शिरोमणि लेखनाथ पौड्यालको पिँजडाको सुँगा जस्तो बबुरोलाई मैले लामो समयदेखि फाइलमा थुनिराखेर ठुलै आर्थिक अपराध गरेँ कि जस्तो पनि लाग्छ घरिघरि । तर, यो स्वीकारोक्तिभन्दा खतरनाक छ, यसलाई मायाले सँगालेर राखी बस्नुको कारण ।
जुन दिन यो पैसा मेरो हातमा प¥यो, यसको हैसियत पूरै परिवर्तन भइसकेको थियो । नोज फर न्युज । हातमा लिएर यसो सुँघ्नेबित्तिकै थाहा भो, यो त पैसा मात्र होइन, समाचारै समाचारले लवालव भरिएको प्रेमपत्र पो रहेछ । कति इच्छा–आकाङ्क्षा सँगालेर तयार पारिएको यो प्रेमिल दस्तावेजको साक्षी किनारका सदर मभन्दा पहिले कति भए होलान् ? थाहा छैन । तर, यो प्रेम निमन्त्रणा उनले मलाई नै लक्षित गरेर पठाए जस्तो लाग्यो ।
प्रेमपत्र लेख्ने चेलीको नाम र ठेगाना पुरानै नेपालको छ ।
प्रियसी समिरा अञ्जान कुलुङ राई । खाँदबारी नगरपालिका वडा नम्बर २, चेवा बेँसी, माथ्लो खोरिया, एकान्त काफल डाँडा ।
आवरणभन्दा अलिकतिभित्र चिहाउँदा सार्वजनिक प्रेमपत्रमा एक से एक प्रेमिल सायरीहरू लेखिएका छन् । उहिले हिताय, मीनाहरूको अटोग्राफमा मैले लेखे जस्तो –
‘फूल राम्रो गुलाफको काँडा भए पनि ।
माया मिठो ‘ए’को टाढा भए पनि ।’
‘सम्झनाको अतीतमा त तिम्रो छाया परेछ ।
मुटुभन्दा प्यारो त ‘ए’को माया रहेछ ।’
माया मिठो ‘ए’को ? को हो यो प्रियसीको मनमा दोहोरिरहने ए ? थाहा छैन । तर, जो भए पनि त्यसलाई मैले अभागी बनाइदिएँ । कुनै दिन सङ्खुवासभाबाट उड्दै–उड्दै मेरो हातमा आइपुगेको प्रेमपत्रका बारेमा समाचार लेखुँला भन्ने थियो । तर, लेखेको छुइनँ ।
मान्छे राम्रो भए सायद अक्षर राम्रो हुन्थ्यो होला ।
बोली राम्रो भए सायद मिलन हाम्रो हुन्थ्यो होला ।
किशोर भावनाले लपक्क भएको यो मतलामा हाम्रो काफिया पछि मैले थपेको हुँ । सायद यतिबेला म जानी नजानी प्रियसीको मायामा परेको छु । र, यी शब्दहरू दुनियाँलाई साक्षी राख्दै भनिरहेँछु –
समिरा ! तिमीले मनका भावनाहरू छताछुल्ल पार्दै निर्भिक भएर जसरी पैसालाई आफ्नो प्रेम–अभिव्यक्तिको माध्यम बनायौ, त्यसको म डाइहर्ट फ्यान हुँ । किनभने म पनि पैसालाई तिमीले जत्तिकै माया गर्छु । म तिमीले मन पराएको कोही ‘ए’को बारेमा कुनै टिप्पणी गर्दिनँ । तर, यति भन्छु, आफूले मन पराएकोले भन्दा आफूलाई मन पराउनेले धेरै माया गर्छ ।
०००
bisnuprasad.bg@gmail.com
चिहानै चिहान
– सुविद गुरागाई

यता हेर्‍यो चिहान देख्छु, उता हेर्‍यो चिहान देख्छु ।
के भा’को यो बस्तीभित्र ? ज्युँदो एक्लो भगवान् देख्छु ।

उज्यालोको प्रतिक्षामा बित्छ सायद जीवन हाम्रो,
नत्र किन अझै उही कालो–नीलो बिहान देख्छु ?

आँखा छैन, बोली छैन, कसले ग¥यो यो तमासा ?
मूर्दा सबै छातीमाथि कालापानी निसान देख्छु ।
...
२०७५/०१/२१