धैर्यको बाँध फुट्नुअघि
– सुविद गुरागाई

धैर्यको बाँध फुट्न बाँकी छ । तर, त्यस्तो सम्भावना टिलपिल हुँदै छ ।
२०६५ भाद्र २ गते सप्तकोसीको बाँध (तटबन्ध) फुटेको सम्झन्छु । एक साताअघि पश्चिम कुसाहास्थित तित्रिगाछी तालनजिकै कोसी कटान सुरु भएको सूचना पठाए भान्टाबारीस्थित हाम्रा संवाददाता सज्जाद आलमले । म इटहरीबाट प्रकाशित हुने ‘जनलक्ष्य’ दैनिक समाचारपत्रको सम्पादकले पत्याइनँ त्यसलाई । कोसीको बाँध त्यति सजिलै के फुट्छ होला भन्ने लाग्यो । अनि, ‘जनजीवन आतङ्कित हुनसक्ने’ ठानेर समाचार प्रकाशित नगर्ने निर्णय गरें । दुई दिनपछि सज्जादले फोन गरेर ‘समाचार किन नछापेको दाइ ? कटान तटबन्धमा आइपुग्न अब सय मिटर पनि बाँकी छैन,’ भन्दै गुनासो गरे ।
त्यसपछि मेरा कान ठाडा भए । कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय छेउ घर भएका राजकुमार सिंहलाई फोन गरेर क्रस–चेक गरें । उनले पनि पाँच दिनदेखि कटान जारी रहेको जानकारी दिए । कटानले तित्रीगाछी ताल छोइसकेको, बाँध छेउका बासिन्दामध्ये केही विराटनगर, इनरुवा, लौकहीलगायत सुरक्षित स्थानमा पुगिसकेको बताए । केही स्थानीय बाँधमा रहेका गाछीहरू तारले एक–आपसमा बाँधेर क्षति कम होस् भन्ने उपायमा लागेको, प्रायः घरमा आफ्नो थाँतथलो छोडेर अन्त जान नमान्ने बुढाबुढी र केही भाग्नसक्ने युवाहरू मात्र भएको उनको भनाइ थियो ।
समाचार छापें । तर, प्रहरी उपरीक्षक यादवराज खनाल, प्रमुख जिल्ला अधिकारी दुर्गा भन्डारी, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीलगायत सरोकारवालाहरूले ‘बाँध फुट्ने’ कुरा पत्याएनन् । बरू अधिकारीहरू समाचार गलत भएको भन्दै ‘खण्डन गर्ने’ मनस्थितिमा देखिए । सदरमुकाम इनरुवास्थित पत्रकारहरू वीरेन्द्र केएम, इकवाल अहमदलगायतसँग प्रजिअ भन्डारीले ‘तपाईहरूले जनतामा भ्रम सिर्जना हुने गरी यस्तो नचाहिँदो समाचार नलेख्नुपर्ने, तपाईहरू अन्तर्यामी हो,’ भनी गुनासो गरे । इकवालले पठाएको कोसी बाँध फुट्न लागेको जानकारी इमेज रेडियोबाट प्रशारण भएपछि गृह मन्त्रालयबाट सुनसरी प्रशासनलाई दबाब परेको रहेछ । अधिकारीहरू त कोसी फुट्दैन भन्नेमा कतिसम्म विश्वस्त देखिए भने त्यही दिन १० बजेतिर विराटनगरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर मोहन भट्टराई, प्रजिअ भन्डारी, उपरीक्षक खनाललगायतको टोली कोसी ब्यारेज पुलमा भेला भए । सुनसरीका कृष्ण जुनेली, सप्तरीका जितेन्द्र खड्गालगायत पत्रकारहरू पनि रिपोर्टिङका लागि ब्यारेज पुगेका थिए । भारत सुपोलका डिएम सरिफ आलम तथा कोसी प्रोजेक्टका केही इन्जिनियरहरू पनि आएका थिए । दुई देशका सरोकारवालाहरूबीच बैठक भयो ।
बैठकपछि नेपाली पक्षलाई आश्वस्त पार्दै पत्रकारहरूलाई इन्जिनियर भट्टराईले ब्रिफिङ गरे, ‘कोसी बाँध फुट्ने सम्भावना छैन । कटान भइरहेको स्पोर नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । टोलीले केही घण्टामै स्थिति नियन्त्रणमा लिनेछ । कोसी ब्यारेज र तटबन्धको पानी नियन्त्रण र बहाव क्षमता साढे तीन लाख क्युसेकभन्दा बढी छ । अहिले एक लाख ८६ हजार क्युसेक पानी भएको बेला कोसी तटबन्ध फुट्छ भन्ने अनुमान गलत हो ।’
इन्जिनियरको दाबीपछि वस्तुस्थिति र अधिकारीहरूको खण्डनबारे कृष्ण जुनेलीले एभिन्युज र अरू पत्रकारले आ–आफ्नो मिडियामा टेलिफोन लाइभ गरे । सबै फर्किने तयारी गर्दै थिए, कोसी ब्यारेज प्रहरीलाई तित्रिगाछीमा सिपेज बढेर पानीले तटबन्ध नाघिसकेको जानकारी आयो । सब भगाभाग भए । इन्जिनियरहरू भारतको वीरपुरतिर लागे । प्रजिअको टोली हतार–हतार कोसीटप्पुतिर हानियो । पत्रकारहरू पनि लाखापाखा भए । दिउँसो साढे १२ बजेको थियो ।
तित्रिगाछी ताल नजिकै रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय परिसर छेउ र बाँध क्षेत्रमा मान्छेको ‘मेला’ लागिसकेको थियो । चरा–चुरुङ्गी र आरक्षका जीव–जनावरहरूको आर्तनादले पूरै वातावरण कोलाहलमय बनेको थियो । ब्यारेजबाट प्रहरी–प्रशासनको टोली त्रासद् रमिता हेर्न घटनास्थल भर्खर पुगेको थियो । नेपाल टेलिभिजनका संवाददाता कृष्ण भट्टराई भुल्केली एउटा रुखमा चढेर पानीले धक्का दिँदैगरेको दृश्य रेकर्ड गर्दै थिए, तटबन्ध फुटिहाल्यो । पानी पूर्व–दक्षिणतिर बस्तीक्षेत्रमा जताततै फिँजारिन थाल्यो । नजिकै एक जना स्थानीय कुन्युबाट पराल तान्दै थिए, केही सेकेन्डमै उनी पानीमा पौडी खेल्न थालेको दृश्य क्यामेरामा कैद भयो । पछि उनी मरे, बाँचे ? केही थाहा भएन ।
कटान यति तीव्र थियो कि दुई मिनेटमै करिब ५० मिटर वर रहेको रुख तल पानीको धार आइपुग्यो, जसमा पत्रकार भुल्केली चढेका थिए । विचरा हत्तपत्त उत्रिए र सप्तकोसी एफएमका संवाददाता राम प्रधानसँग मोटरसाइकलमा नौ–दुई एघार भए । सम्भावित जोखिम व्यवस्थापनका लागि वस्तुस्थिति बुझ्न गएका अधिकारकर्मीहरू राजेन्द्र पोखरेल र भेषराज आसे बाँधछेउ पुगेका मात्र के थिए, पानीको मुस्लो उडेको देखेर सातोपुत्लो गयो ।
दिउँसो दुई बजेको थियो । अहिल्यै र यति सजिलै फुट्दैन होला भन्ने ठानिएको कोसीको बाँध हेर्दा–हेर्दै फुट्यो । त्यही–बेला रेडियोमा सशस्त्र द्वन्द्वका नाइके पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको समाचार प्रसारित हुँदै थियो ।
त्यसपछि के भयो ? कति मान्छे मरे, कति क्षति भयो, कति विस्थापित भए ? राहत र उद्धारको काममा कति विलम्ब र चलखेल भयो ? सबै तपाईको रेकर्डमा छँदै छ । यही घटना छिमेकी चीनमा भएको भए २४ घण्टाभित्र बाँध र सडक जस्ताको त्यस्तै भइसक्थ्यो । हामीलाई भने भत्किएको तटबन्ध र राजमार्ग टाल्न पाँच वर्षभन्दा बढी समय लाग्यो । लाग्यो के भन्नु अझै नेपाली जनजीवनमा त्यसको बाछिटा बाँकी नै छ ।
त्यसअघि धरान, इटहरी, भेडेटारतिरका कोही राई, लिम्बू वा बाहुन–क्षेत्रीका छोराछोरी हरिनगरा पुगेर सकुसल फर्किएलान् कि नफर्किएलान् भन्ने त्रास थियो ‘मधेस’मा । प्रतिक्रियामा देवानगञ्ज, घुस्की, नरसिंहतिरका मेहता र यादवहरू बराहक्षेत्र दर्शन गरेर फर्किन सक्दैनन् होला भन्ने भय पनि उत्तिकै थियो ।
कुराको उठान यसरी भयो । २०६४ माघ ५ गते लहान राजमार्गमा गोली चल्यो । रमेश महतो सहिद भए । त्यसपछि मधेस आन्दोलन चर्कियो । राजनीतिक उद्देश्यको आन्दोलनमा साम्प्रदायिक उग्रता यसरी थपियो कि त्यसले सनातनदेखि मिलेर बसेका मधेसी र पहाडे मूलका भनिएका दाजुभाइ, दिदीबहिनी, मितबा–आमा र छोराछोरीबीच फाटो बनाइदियो । सडकमा रूख ढालेर, टायर बालेर अधिकार माग्ने क्रममा जातीय द्वन्द्वको आगो पनि सल्काइयो ।
स्थिति काबुबाहिर जान उद्यत हुँदै थियो । म हाम्रो समाज पहिलेकै जस्तो शान्त र घृणामुक्त कसरी होला भन्ने सोच्दै थिएँ । कहिलेकाहीं प्रकृतिले पनि मनको कुरा बुझ्छ जस्तो लाग्छ । त्यही–बेला मधेस आन्दोलनको दुस्प्रभावले बाटो बिराउनुअघि कोसीको पानीले आफ्नो धार परिवर्तन ग¥यो । हिमालको चीसो पानी जति–जति तातिएको मधेसी बस्तीमा थपिन थाल्यो, उति–उति सहयोगी र उद्दारकर्मीहरू जुट्दै गए । त्यसरी उद्दारका लागि घटनास्थल पुगेका सेना, प्रहरी, अधिकारकर्मी, पत्रकार, राहत बोकेका, खटिएका अधिकतर हातहरू पहाडे मूलका थिए । सुष्मा कोइराला मेमोरियल ट्रस्टकी सुजाता कोइराला कता–कताबाट एक ट्रक चामल, तेल र सारीहरू मागेर, जम्मा गरेर राहत बाँड्न इनरुवा आइपुगिन् । सबभन्दा पहिले विराटनगरबाट मारवाडी समुदायका मानिसहरू राहत लिएर आए । तर, उपेन्द्र यादवहरू भने महिना बित्न लाग्दा पनि राहत बोकेर कटान क्षेत्रमा आएको समाचार लेख्न पाइएन ।
तिनै दिनमा मधेसतिरका भूमिपुत्र, पीडितहरूले बुझे, मधेस आन्दोलनलाई जातीय विद्रोह वा काठमाडौंमा हुने भनिएको ‘भैया’ मार्का व्यवहारगत असन्तुष्टिसँग जोड्नु गल्ती भइरहेको रहेछ । ‘हामीले आफ्नो छिमेकमा बस्ने दाजुभाइहरूप्रति गलत धारणा बनाइरहेका रहेछौं,’ उद्दार कार्य हुँदै गर्दा धरानबाट कटान पुगेर पत्रकार सीता मादेम्वाले बिबिसि नेपाली सेवामा गल्ती अनुभूत भएको स्थानीय आवाज मिसाइन् ।
बिस्तारै मधेसमा जलकुम्भी झारझैं फैलिन लागेको जातीय घृणा र द्वन्द्व घट्दै गयो । पहाडे समुदायका छिमेकीलाई भाग्न बाध्य पारेपछि समाज ‘एक्लो’ र ‘खल्लो’ भएको, विकासको पारो निकै तल झरेको अनुभव राजविराजतिरकाहरूलाई भयो । फर्केर आउने पहाडे समुदायका मान्छेहरूलाई फुलमाला लगाएर स्वागत गरिने अभिव्यक्तिहरू सार्वजनिक भए । हार्दिक निम्तो पाएपछि कतिपय छिमेकीहरू बाबु–बाजेले तराईको जङ्गल फाँडेर आर्जिएको पुरानो थाँतथलो फर्किए । जनजीवन सामान्य अवस्था उन्मुख भयो ।
भन्नु उसो होइन, कोसी तटबन्ध भत्किँदा नेपाल र भारतको बिहारमा अपुरणीय धनजनको क्षति भयो । तर, मलाई अझ पनि लागिरहेकै छ, अकल्पनीय त्यही दुर्घटनापछि हो, मधेसमा मर्दाका मलामी र ज्युँदाका जन्ती फेरि सँगसँगै हुनथालेको ।
त्योभन्दा केही वर्षअघि च्छो–रोल्पा ताल फुट्ने व्यापक हल्ला चल्यो । भनिन्छ, सबैथोक लुकाउने ठाउँ हुन्छ, डर लुकाउने ठाउँ हुँदैन । हल्लाको प्रभाव यति तीव्र प¥यो कि तल कोसी किनार प्रकाशपुर, राजाबासतिरका बासिन्दा धमाधम सस्तोमा जग्गा बेच्दै विराटनगर, इटहरीतिर बसाइँ सर्दै गरे । केहीले मरे पनि यहीं मर्ने हो भन्दै खसी–बोका, सुँगुर, पाडा काटेर ‘अन्तिम’ भोज खाए–खुवाए ।
म समाचारपत्रको जल्दोबल्दो रिपोर्टर थिएँ । स्थलगत रिपोर्टिङ गर्दागर्दै यति त्रस्त भइसकेको थिएँ कि कथम्कदाचित् राजाबासमा बाँध फुटेर पानी इनरुवासम्म आइहाल्यो भने कम्मर–कम्मरसम्म होला, त्यो बेला जोगाउनुपर्छ भनेर दराजको तल्लो खण्डमा राखिएका महत्त्वपूर्ण फायल, कागज र फोटोहरू माथिल्लो खण्डमा सारेको थिएँ ।
धन्न ! विदेशबाट आएकासहितका विशेषज्ञले तालमा तल दुलो पार्न सफलता प्राप्त गरेको अर्को समाचार सुन्न पाइयो । अकल्पनीय खतरा तत्काललाई ट¥यो । तर, अझै पनि बिबिसिले सम्झाउँदै छ, च्छो–रोल्पा ताल कुनै पनि बेला फुट्न सक्ने डर पूर्णतया हटिसकेको छैन ।
२०७२ वैशाख १२ गते प्रलयकारी भुइँचालोले पहाडको जग नराम्ररी हल्लायो । यस्तै बेलामा हो छिमेकीले छिमेकीलाई सम्झिने । मधेसका साथीहरू राहत सामग्रीसहित पहाड उक्लिए । यो दृश्य सामाजिक सद्भाव बिगारिएको–बिग्रिएको स्थिति सामान्य हुँदै गएको यथार्थ झल्काउने एउटा कोसेढुङ्गा थियो ।
तर, यस्तो सामाजिक यथार्थ र आवश्यकताविरुद्ध फेरि उचालिँदै छन् मान्छे । अनेकखाले डर र चिन्ता थपिँदै छन् । बीचमा पानी धमिलो बनाएर माछा मार्न पल्केकाहरू फेरि सक्रिय हुँदै छन् । निकै लामो समयसम्म तुस रहने द्वन्द्वमा धकेलेर, मिलेर बस्न चाहिरहेको समाजलाई डुबाउन खोजिँदै छ । फेरि कोसी बाँध फुट्नुपूर्वको अवस्थामा पुग्दै छौं हामी । समाजको वस्तुगत यथार्थ विश्लेषण र चिन्तनको खडेरी बढ्दै छ । भड्काउन र भड्किन चाहनेहरूको मात्रा थपिँदै छ । अमुक जातिलाई सोझो भन्दै उचाल्ने र थेचार्ने कसरतबाजहरू पाखुरामा तेल घसेर सुरिँदै छन् । यस्तोमा कुनै पनि जातिको भावना र धैर्यको बाँध भत्किन बेर लाग्दैन ।
तर, कुनै पनि वस्तु, क्षेत्र, विचार, सिद्धान्त र सपना सीमाहिन हुँदैन । जेको पनि एउटा निश्चित समय र सीमा हुन्छ । यद्यपि टीकापुर, रौतहट, सुर्खेत, भारदहमा भएका पछिल्ला घटनाक्रमले अझै मान्छेको चेत खुलेको देखिँदैन । आफ्नो ठाउँमा उही पुनरावृत्ति गराउन उद्यत छन् मान्छे । लाग्छ, कुनै नरमेध यज्ञको तयारी जोडतोडले चलिरहेको छ । आगोमा घिउ थप्नेले थपिरहेका छन् । सङ्घीयताका नाममा असन्तोष र हिंसा मच्चिएको छ ।
सारमा, परिस्थितिमा फुकाउन निकै समयलाग्ने गाँठो पारिँदै छ । इटहरी र कोसी ब्यारेजमा लिम्बुवान चाहनेहरू चोक कब्जा गर्छन्, झन्डा गाड्छन् । झुम्का, दुहवीमा थारुवान स्वायत्त राज्यको बोर्ड र पाल टाँगेर मान्छे बसेका छन् । इनरुवामा मधेस प्रदेसका लागि झाडु, लाठी र पुतला जुलुस जारी छ । मात्र १८ किलोमिटरको सेरोफेरोमा देखिएको यो ‘रामलीला’ कहिले सकिन्छ ? न रमितेलाई थाहा छ, न अभिनयकर्ता, न निर्देशकलाई थाहा छ । यस्तो पृष्ठभूमिमा आम नेपालीको धैर्यको बाँध फुट्न अब धेरै दिन बाँकी छैन । तर, कहिले कुन रूपमा कसरी फुट्छ र त्यसको परिणाम कति भयावह हुन्छ ? आँकलन गर्न गाह्रो छ । यद्यपि अहिलेको परिस्थिति विचार गर्दा त्यो दिन नजिकिँदै छ जस्तो लाग्छ । तराई, मधेस, भित्री मधेस, पहाड, उपत्यका, हिमाल, पठार जताबाट फुटे पनि अति भएपछि धैर्यको बाँध फुट्छ । यो द्वन्द्वको विज्ञानसम्मत नियम नै हो । तर, यो कुराबाट बेखबरहरू अलिकति धक्का दिँदैमा के फरक पर्ला र ! भन्ने बालहठ समातेर बसेका छन् ।
विडम्बना यसरी कसैले जनताको धैर्यको बाँध फुट्नै लागेको छ भन्दा धेरैले पत्याइरहेका छैनन् । लाग्छ, उनीहरू अज्ञात प्रलयको प्रतीक्षामा छन् । तर, जसलाई जेको प्रतीक्षा भए पनि म विश्वस्त छु, नेपाली जनताको धैर्यको बाँध फुट्छ एकदिन । त्यसपछि को कहाँ पुग्छन्, के हुन्छ, अहिले नै कसरी भन्नु ?
यहाँनेर एउटा अर्को जिज्ञासा पनि समीचिन छ । कि, हामी यसरी जानी–नजानी अझ कतिपटक सामाजिक सद्भावको दहमा ढुङ्गा फाल्दै जाने ? त्यसरी मैलिएको एकताको पानी पुनः सङ्लो बनाउन र जातीय सद्भावको महत्त्व बुझाउन अमुक नदी, पोखरी र तालको बाँध कतिपटक फुट्नुपर्ने हो ? कतिपटक भुइँचालो जानुपर्ने हो ?
...

bisnuprasad.bg@gmail.com

No comments: