पुरानो एउटा डायरी भेटियो

– सुविद गुरागाई

पुरानो एउटा डायरी भेटियो ।
भनिन्छ यदि साँच्चै तपाईले मन लगाएर खोज्नु भयो भने ईश्वर पनि भेटिन्छ । यो डायरी भेटिनु कुनै समाचार होइन । तर, यतिबेला कथाले मलाई तीन बजे राति उठेर त्यो डायरी खोज्न लगायो ।
खोज्दा–खोज्दै बिचमा एउटा समाचारको कटिङ पनि भेटियो, जसलाई म छ वर्षदेखि कहाँ हरायो होला भनेर सोचिरहेको थिएँ । वास्तवमा हामीले हरायो भनेर ठानिएका धेरै कुराहरू हराएका हुँदा रहेनछन् । मात्र ती केही वर्ष हाम्रा आँखाबाट ओझेलमा परेका हुँदा रहेछन् ।
कुन सड्को, कुन सड्को आज आँखामा प¥यो त्यो समाचार, जसको साइनो सुनसरीको पत्रकारिताको इतिहाससँग छ । कृष्ण अधिकारी दाइ पनि यो समाचार कटिङ भेटिएको सन्दर्भले खुसी हुनु हुने भो । साथीहरूले मलाई सुनसरीको पत्रकारिताको इतिहास लेख्नु पर्छ भनेर संयोजक बनाइदिएका छन् । तर, आज मैले इनरुवाका सडकमा रुँदै–रुँदै हिँड्नु परिरहेको छ । तथापि म यो आँसुको सेरोफेरामा मात्र घुमिरहनु पर्छ भन्ने केही छैन । जिम्मेबारी पनि छ, इनरुवाको पत्रकारिताको इतिहास लेख्ने । इनरुवाको मात्र होइन, समग्र सुनसरीको इतिहास लेख्ने । तर म यही पाराले त लेख्न सक्तिनँ होला । लेख्दा–लेख्दै रुन आइहाल्छ । रोएरै बस्नु कि लेख्नु ? डम्बर थापा दाइलाई देख्छु, कस्तो–कस्तो लाग्छ । अस्ति सोमबारे हाटमा भेटेँ । मेरो भविष्य चाहिँ त्यति सारो हुँदैन होला, कसैलाई, मलाई भेट्यो कि यसलाई सय–पचास रुपियाँ दिउँ जस्तो लाग्ने ।
एकताका म इनरुवाको जल्दोबल्दो पत्रकार थिएँ । म पत्रकार हुनुमा के–के तत्व कारक थिए थाहा छैन तर मभित्र बालखैदेखि पत्रकारिताको सेन्स चाहिँ थियो । म चित्त नबुझेको कुरा भनिहाल्थेँ । कुनै साथीको कोठामा पस्यो भने त्यो कोठा कति मिलाएको छ भनेर हेर्थेँ र यदि मिलेन जस्तो लाग्यो भने आफैँ मिलाइदिन थाल्थेँ । गाउँमा केटाको बिहे होस् कि केटीको म खोजिन्थेँ । बेहुला–बेहुलीको कोठा सजाउने ठेक्का मेरै हुन्थ्यो । म गाउँमा छु भने सकियो, भनिराख्नु पर्दैनथ्यो काम आफैँ हुन्थ्यो । त्यस्तो केटा थिएँ म । प्रो–एक्टिभ ।
तिनै दिनहरूमा मैले एउटा समाचार लेखेँ । समाचार सिद्धान्ततः जानेर लेखेको होइन, समाचार जस्तै पारेर लेखेँ । नयाँ सन्देश, मातृभूमिहरू त पढिन्थ्यो नै । समाचार जगत साप्ताहिकमा पनि बेलाबेलामा लेखिरहन्थेँ । गाउँमा सिर्जनशील पुस्तकालयको अवशेष बाँकी थियो । दीयो क्लबको पनि धेर–थोर अस्तित्व थियो ।  कहिले किताब, कहिले पत्रिकाहरू हात परिरहन्थे ।
एकदिन नारायण दाइलाई सोधेँ ।
‘कहाँ जानु भएको थियो हौ तपाई ? निकै दिन हराउनु भयो त !’
नारायण नाम गरेका एक जना असइ थिए, कहिले मुद्दा फाँट, कहिले सञ्चारमा काम गर्थे । हाम्रो पसलमा खाना खान्थे । कापीमा हिसाब मैले लेख्नु पथ्र्यो । छ–सात दिनदेखि आएका थिएनन् । त्यो दिन फेरि खाना खाँदै गरेको देखेँ ।
‘झापा गा थिएँ,’ उनले भने ।
‘किन ? सरुवा भयो र ?’ मैले सोधेँ । झापामा उसका कोही आफन्त थिएनन् भन्ने मलाई थाहा थियो ।
‘होइन, झापामा एउटा मान्छे पक्रिन गा’थेँ ।’
‘को मान्छे थियो त्यो ?’
मलाई लाग्छ यो त्यही प्रश्न थियो, जसले म जस्तो बबुरोलाई पनि भुटानमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनसँग जोडिदियो ।
भएको के रहेछ भने टेकनाथ रिजाल त्यहाँ एकजना आफन्तकोमा शरण लिएर बसेका रहेछन् । पुलिसले थाहा पायो । समात्यो, लग्यो, इन्डियालाई बुझाइदियो ।
मलाई यसमा समाचार छ भन्ने लागिहाल्यो । उनले खाना खाइसकेपछि सँगसँगै पुलिस अफिस गइयो । मुद्दा फाँटमा मिसिल हेरियो, टिप्नुपर्ने कुरा टिपियो, आइयो । मलाई जिल्ला प्रहरी कार्यालयमा जान–आउन कुनै रोकटोक थिएन सानैदेखि । हतियारहरू राखिएको कोठामा पनि म जान्थे बेला–बेलामा । त्यो कोठालाई क्वाटर–गार्ड कि के भन्थे । पुलिसहरू बन्दुक निकाल्थे, पछाडि घाममा बसेर बन्दुकमा तेल लाउँथे, नाल साफ गर्थे । कोही बुट टल्काइरहेका हुन्थे । म पनि बन्दुक ल्याउन, लगेर भित्र स्टेन्डमा मिलाएर राख्न सघाउँथेँ । यो प्रसङ्गमा अहिले यति नै भनुँ । अहिले चाहिँ त्यही पुरानो समाचारवाला प्रसङ्गमा फर्किऊँ ।
विवरण टिपेपछि समाचार लेखेँ । सुरुमा शीर्षक लेखेँ । सिद्धान्ततः पहिले समाचार लेख्ने हो, अनि शीर्षक राख्ने हो । खासमा शीर्षक राख्ने काम रिपोर्टरको होइन । सम्पादकको हो । तर, म चाहिँ यो मामलामा पनि अलि अल्टर नै भएँ । अझै सुरुमा शीर्षक लेख्छु, अनि समाचार लेख्छु । त्यो बेग्लै कुरा हो कि समाचार लेखिसक्दा सुरुमा लेखेको शीर्षक चित्त बुझेन भने अर्को राख्ने हो । तर, त्यस्तो दुर्लभ घटना खासै भएको छैन । सुरुमा शीर्षक लेख्नु र त्यही शीर्षकको सेरोफेरोमा शब्दहरूको मियो घुमाउनुको मजा बेग्लै छ ।
०००
विर्तामोडमा भुटानी नेपाली पक्राउ ।
मैले त्यो बेला लेखेको समाचारको शीर्षक । डेटलाइन इटहरी । समाचारको सुरुमा लेखिने ठाउँको नामलाई डेटलाइन भन्छन् भन्ने थाहा थिएन त्यो बेला । झापा जिल्लाको विर्तामोड, गरामनी बस्ने गङ्गा दाहालका घरबाट यही मङ्सिर १ गते रातको १ बजेको समयमा प्रहरीको एक डफ्फा घरभित्र प्रवेश गरी भुटानी सरकारमा सल्लाहकार रहेका ४५ वर्षीय टेकनाथ रिजाललाई बिनापुर्जी पक्राउ गरेर बेपत्ता बनाएका छन् । ५६ शब्द । लिड लेख्दा वाक्य २० शब्दभन्दा बढी भयो भने झर्को लाग्छ । पढ्नेको सास फुल्छ । सुन्नेलाई पनि सुनेका शब्द बुझ्न समय चाहिन्छ, भन्ने थाहा थिएन । लिड भनेकै के हो थाहा थिएन ।
त्यो समाचारमा अरू छ वाक्य छन् ।
निजलाई के कारणले गिरफ्तार गरिएको हो सोबारे प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले केही बताउन चाहेको छैन । विश्वस्त सूत्र अनुसार भुटानको आन्तरिक मामिलामा गडबड हुँदा आफ्नो ज्यान जोगाउन भुटानबाट भागेर नेपाल पसेका निज रिजाल केहीवर्ष अघिदेखि नेपालमा निर्वासित जीवन बिताइरहेका थिए । स्थानीय पत्रकार एवम् बुद्धिजीवीहरूले यस धरपकडलाई अपहरणको संज्ञा दिएका छन् । कुनै पनि मान्छेले स्वतन्त्र बाँच्न पाउनु उसको मानव अधिकार हो । नेपालमा मानव अधिकारका कुराहरू भाषण र नारामा मात्र सीमित भएको कुरा रिजालको अपहरणले पुष्टि गरेको छ । यो समाचार लेख्तासम्म निज रिजाललाई छाडिएको छैन । निजलाई, भुटान सरकारलाई सुपुर्दगी गर्ने नगर्नेबारे थाहा हुन सकेको छैन । सप्तकोसी साप्ताहिक, वर्ष ८ अङ्क ५ । २०४६ साल मङ्सिर १५ गते बिहीबार ।
तर यो समाचार मैले लेखेको पहिलो समाचार होइन । पहिलो समाचारको शीर्षक त ‘नेपाल, भारत सिमानामा हत्या’ भन्ने थियो, जुन गुरागाई ‘दलित’ बाइलाइनमा छापिएको थियो । इनरुवाबाट प्रकाशित हुने  समाचार जगत साप्ताहिक, वर्ष ५ अङ्क १३ । २०४४ साल मङ्सिर १३ गते आइतबार । यो समाचारको भाषा र अरू समाचार प्रसङ्गहरू तपाईलाई सुन्ने इच्छा भए म भन्दै जानेछु । कृपया पछि भन्नु होला, अहिले कुनै कागजमा टिपिराख्नुस् । अहिले चाहिँ त्यही टेकनाथ रिजालवाला समाचारको कुरा गरौँ ।
दोस्रो वाक्य ठिकठिकै छ । तेस्रो वाक्य चौबिस शब्द । त्यो विश्वस्त सूत्र भनेको चाहिँ त्यही नारायण दाइ हो । भुटान मामलामा आन्तरिक गडबडी छ भन्ने कुरा त्यही बेला हामीलाई थाहा थियो । नेपालीलाई त्यो घाउ आजसम्म पनि टन्किरहेकै छ । चौथो वाक्यमा भनिए जस्तो त्यो बेलाका पत्रकार र बुद्दिजीवीहरू हामी नै हौँ । काठमाडौँतिरबाट आएका पत्रिकामा त्यस्तै वाक्य लेखिएको हुन्थ्यो, मैले पनि त्यही लेखिदिएँ । ‘कुनै पनि मान्छेले स्वतन्त्र बाँच्न पाउनु उसको मानव अधिकार हो,’ भन्ने वाक्यमा चाहिँ विचारको मात्रा बढी छ । यस्ता विचारहरू कलात्मक शब्दमा कुनै पनि समाचारभित्र कसरी घुसाउने सिकिएकै थिएन त्यो बेला । अथवा यसो भनौँ – समाचारमा विचार लेख्नु हुन्छ वा हुँदैन भन्ने बहस मेरो कानसम्म आइपुगेको थिएन । पाँचौ वाक्य डेली पेपरवालाहरूले त्यति मन नपराउने तर साप्ताहिक, ट्याबलाइटवालाहरूले पटक–पटक कपि–पेस्ट गरेर हैरान लगाउने खालको छ ।
अनि, त्यो समाचार वाइलाइनमा लेख्न सकिने कुरै थिएन । कसले यस्तो सूचना लिक ग¥यो भन्ने बाहिर थाहा भयो भने त कुरा सिद्धियो । त्यसैले लुसुक्क लेखेर, इटहरी लगेर कृष्ण दाइलाई दिएको थिएँ । किनभने कृष्ण दाइको पत्रिकामा मेरा धेरै कविताहरू त्योभन्दा अघि पनि छापिइसकेका थिए । इटहरी आउ–जाउ ठिकै थियो । कृष्णा टाकिजमा मिथुन चक्रवर्तीको घर एक मन्दिर हेर्न टिकट काट्न नसकेर रुञ्चे अनुहार बनाएको सम्झना हुन्छ ।
०००
मेरो घर (घर थिएन डेरा) प्रहरी कार्यालयको छेउमै भएकाले मैले सुरुमै भनिहालेँ, प्रहरी स्रोतमा मेरो राम्रै पहुँच थियो । भित्रका खुफिया कुराहरू मेरो कानमा आइरहन्थे । म पनि कहिले त्यो विमर्श भन्ने काठमाडौँबाट आउँथ्यो, त्यसमा सुलसुले भन्ने स्तम्भ हुन्थ्यो, त्यता पठाउँथे । कहिले समाचार जगतमा दिन्थेँ । अरूले थाहा नपाउनेगरी काम गर्नुपथ्र्यो । अहिले जस्तो जे मन लाग्यो त्यही बोल्न पाइँदैनथ्यो । लेख्न पनि पाइँदैनथ्यो । डरैडर हुन्थ्यो ।
मलाई लाग्छ कृष्ण दाइले यो समाचार खासै सम्पादन गर्नुभएको छैन । किनकि कृष्ण दाइलाई मेरो जिद्दी बानी थाहा थियो । म यदि कुनै शब्द काटियो भने किन काटिएको भनेर चित्त नबुझुञ्जेल सोधिबस्थेँ । मान्छेलाई जवाफ दिँदादिँदाको दास्ती । बरु जे लेखेको छ, त्यो छापिदियो सकियो । अब ऐन–कानुनले नै लेख्न नमिल्ने शब्द हो भने कुरा बेग्लै हो । नत्र छोडिदैनथ्यो, कसैसँग पनि डिसकस गर्न । यो प्रसङ्गलाई पनि यत्तिमै छोडौँ ।
इटहरीबाट फेरि इनरुवा फर्कौँ ।
त्यो समाचारमा आज मेरो नाम छैन । यदि त्यहीबेला वाइलाइन लेख्न पाएको भए आज कति राम्रो हुन्थ्यो । अरू केही नभए पनि एउटा सबैले प्रष्ट बुझ्ने इतिहास त हुन्थ्यो । कम से कम मैले यसरी यो समाचार मेरै हो र मैले नै लेखेको हो भनेर पुष्टि गरिराख्नुपर्ने थिएन । अलि महत्त्वपूर्ण समाचारमा वाइलाइन नहुँदा इतिहास नै प्रभावित हुँदो रहेछ । तर, मेरो हकमा चाहिँ रिजाल पक्राउवाला समाचार मैले नै लेखेको हो भन्ने पुष्टि हुन्छ । कारण समाचारको भाषामा मधेसको प्रभाव छ । इटहरी त्यो बेला खासै मधेस थिएन र आज पनि होइन । यो समाचार मैले नै लेखेको हो भन्ने खास प्रमाण चाहिँ समाचारको कटिङलाई मैले २८ वर्षदेखि मेरै हो भन्दै सँगालिराख्नु हो । अरूको भए अरूले नै राख्थे होलान् ।
समाचारमा सम्पादन राम्ररी पुगेको छैन । दोस्रो, तेस्रो, छैटौँ र सातौँ वाक्यमा निज शब्द परेको छ, जसमध्ये सुरुको एउटा ह्रस्व र बाँकी तीन वटा दीर्घ छन् । भुटान र भुटानी शब्दमा पनि भु दीर्घ लेखिएको छ । लेख्दालाई लेख्ता लेखिएको छ । त्यतिखेर त्यही चलन थियो ।
०००
त्यस बिचमा भगवती मावि पछाडिको होली सुकेर खङ्ग्रङ्ग भइसकेको छ । त्यो बेला होलीपारी जाने बाटोमा कल्भर्ट भत्केको थियो । महेन्द्र चोकदेखिको पानी बटारिएर आउँथ्यो । हामी नाङ्गा–नाङ्गै नुहाउथ्यौँ । सोमबारे हाटमा बेच्न लाने गाई–भैँसीका पुच्छर समाउँथ्यौँ ।
आज भाइहरू सम्पादक भइसकेका छन् । तर, मेरो गाउँमा हुने सम्पादक भाइहरूलाई मैले समाचारको लिड लेख्न सिकाउनु परिरहेको छ । उनीहरू मलाई यो ठाउँमा तेरो हैसियत के हो भने जसरी प्रश्न गरिरहेछन् । सुविद गुरागाई कहाँको पत्रकार हो ? कति पढेको पत्रकार हो ? भनेर सोधिरहेछन् । अब सोधेपछि केही न केही त जवाफ दिनै प¥यो । तर, विडम्बना के छ भने त्यही जवाफ दिने चक्करमा म नचाहँदा नचाहँदै पनि छुच्चो हुनु परिरहेको छ । आँखाबाट आँसु चुहाउँदै यस्ता शब्दहरू लेख्नु परिरहेको छ ।
राम्रो गर्नु हाम्रो कर्तव्य होइन, आनन्द हो । जुरस्थ्रुको बाइलाइन । म जहिले पनि यो बाइलाइनको कुरा गर्दा व्याकुल पाठक सम्झन्छु । तर, यो प्रसङ्ग पनि म अहिले भन्दिनँ । पछि भन्छु ।
०००
पुरानो डायरी भेट्न त भेटियो तर त्यसमा त्यस्तो उल्लेख गर्नुपर्ने खास केही थिएन । २०५४ साल माघ २७ गतेदेखि फागुन २ गतेसम्म हामीले इनरुवामा ग्रामीण पत्रकारिता प्रवीणता तालिम सञ्चालन गरेका रहेछौँ । डायरी भन्नु कि के भन्नु ! त्यो त्यही तालिममा भए–गरिएका कुराहरूको टिपोट थियो । क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगर र पत्रकारिता तथा सञ्चार स्रोत विकास केन्द्र इनरुवाको आयोजनामा तालिम भएको रहेछ । प्रशिक्षकहरू शरदचन्द्र वस्ती, यज्ञ शर्मा, टङ्क खनाल, मोहन भण्डारी । सम्पर्क फोन नम्बरहरूसहित । सहभागीहरू थिए तेइस जना । क्रमशः अर्जुन पोख्रेल, अरुण प्रधान, अवुल हुसेन अन्सारी, इकवाल अहमद, कृष्णप्रसाद आचार्य, चन्दा रायमाझी, चम्पा अधिकारी, छत्रबहादुर आले, पिबि दियाली, प्रल्हाद गुरागाई, मणिराज दुलाल, मञ्जुकुमारी उराँव, मिथिला अधिकारी, मुकुन्द दहाल, रविकुमार घिमिरे, राजेश विद्रोही, राम कोइराला, विजय खतिवडा, वीरेन्द्रकुमार शाह, शालीग्राम काफ्ले, शशी कोइराला र सन्तोषकुमार देव । म त म भै गएँ । तालिम संयोजनकर्ता । आजको समाचारपत्र संवाददाता ।
त्यहीस्तरको पत्रकारिता तालिम इनरुवामा फेरि कसैले आयोजना ग¥यो कि गरेन, अहिले यसै भन्न सक्तिनँ । बिचमा इनरुवासँग मेरो अलिकति ग्याप भयो ।
०००
bisnupresad.bg@gmail.com
नरुनु छविनाथ सर, आँसु पुछ्नु !
– सुविद गुरागाई

छविनाथ सर आज रोइरहनु भएको छ । उहाँको आत्मा रोइरहेको छ ।
‘बाबु तिमी पत्रकार मान्छे यो कुरा चाहिँ नलेख्नु है !’ उहाँले भन्नुभयो, ‘किनभने हामीले भोलि पनि यही समाजमा मिलेर बाँच्नु छ ।’
के हो यो ? मैले इनरुवा छोड्नुभन्दा अघिसम्म त उहाँले मसँग कहिल्यै यस्ता कुरा गर्नुभएको थिएन । यो दस वर्षमा, यो के परिस्थिति विकास भयो इनरुवामा कि आज सार्वजनिक ठाउँमा छविनाथ सरले रुँदै बोल्नुप¥यो ?
उहाँसँग पछिल्लोपटक प्रतिक्षण दैनिकको कार्यालयमा भेट भो । म इनरुवाको मेयरमा राजन मेहतालाई जिताउनु पर्छ भन्ने अभियान लिएर घुमिरहेको थिएँ । उहाँ दक्षिणतिर टेबुल छेउमा सोफामा बसेर हालसालै निस्किएका प्रतिक्षण दैनिकका दुई वटा अङ्क हातमा लिएर पढ्दै हुनुहुँदो रहेछ । म चाहिँ इकवाल अहमद भाइलाई खोज्दै त्यहाँ गएको थिएँ । किनकि प्रतिक्षण दैनिकमा एक दिनअघि मैले छाप्नु प¥यो भनेर एउटा लेख दिएको थिएँ । तर, छापिएन । किन छापिएन ? त्यो लेख उनको पत्रिकामा छाप्न उनको विवेकले किन दिएन ? के कसैले उनलाई पैसा दिएर त्यो लेख नछाप्न भन्यो ? के राष्ट्रपति विद्यादेवी भण्डारी वा उनका समर्थकहरूले यो लेख आज चाहिँ नछाप्नू, भोलि जे हुन्छ देखा जाला भने ? कि कमल थापावालाहरूले खबरदार यो लेख छाप्न पाउँदैनस् भने ? कि मनोज मेहता, जो आज इनरुवा नगरको मेयर हुन चाहिरहेका छन्, उनले ‘हे, इकवालजी यो लेख छाप्नु पर्दैन भने ? कि मेरो साथी किरण पोखरेलले यो लेख पत्रकार आचारसंहिता विपरीत छ, छाप्नुहुँदैन भने ? आखिर के परिस्थिति बन्यो र यो लेख इनरुवाको पत्रिकामा छापिएन ?
लेख किन छापिएन ? के त्यो लेख छाप्दा इनरुवामा हाल कायम सामाजिक सद्भाव खल्बलिन सक्थ्यो ? कि त्यो लेखको अन्तर्य कुनै दल विशेषको हार वा जितसँग मात्र सीमित थियो ? आखिर त्यस्तो के कुरा थियो, मैले छाप्न दबाब दिँदा–दिँदै पनि इकवाल भाइ ‘सरी दाइ ! यसपटकलाई यो लेख नछाप्ने निर्णय गरियो,’ भन्न बाध्य भए ? निर्णय गरियो भन्नाले उनले एकल निर्णय गरे कि केही व्यक्तिहरू जोसँग उनको कुरा मिल्छ, जो उनका सल्लाहकार हुन्, उनीहरूसँग सल्लाह गरेर निर्णय गरे ? यदि एकल निर्णय गरेका हुन् भने किन त्यस्तो निर्णय गरेका हुन् ? होइन यदि सामूहिक निर्णय गरेका हुन् भने अरूहरूले किन त्यो लेख रोक्न सल्लाह दिए ? यो निकै गम्भीर र जवाफ दिन ठुलै साहस चाहिने प्रश्न हो । तर, मलाई मेरा हरेक प्रश्नको जवाफ चाहिएको छ । म यतिबेला मेरा मनमा उठिरहेका प्रश्नहरूको जवाफ खोज्दा–खोज्दा कति परसम्म पुग्न खोज्दैछु ? र, म पुग्नुपर्ने गन्तव्य कहाँसम्म हो ? मलाई थाहा छैन । कृपया कसैले मलाई बताइदेओस् ।
यहाँनेर एउटा निकै गम्भीर प्रश्न पनि मेरा मनमा आएको छ । यो देशमा एउटा पत्रिकाको सम्पादकलाई यो कुरा छाप र यो कुरा नछाप भनेर उसका साथी, गुरु, मिडिया मालिक वा अरू कसैले दबाब दिन मिल्छ कि मिल्दैन ? मिल्दैन भने किन मिल्दैन ? र, मिल्छ भने के–के विषय वा शब्दमा दबाब दिन मिल्छ, के–केमा दिन मिल्दैन ? कसैले भेटेरै भनिदेओस् मलाई । मेरो फेसबुकमा कमेन्ट गरे पनि हुन्छ । bisnuprasad.bg@gmail.com मा लेखे हुन्छ । मलाई ९८४२०२३२०५ र ९८१०५५४४०० मा फोन गरेर भन्न सक्नुहुन्छ । स्वतन्त्र कुनै लेख लेखेर मलाई ट्याग गरे पनि हुन्छ । मेरो ब्लग पनि छ, महाप्रभा, एउटा फरक साहित्यिक प्रस्तुति । Fantus Fiction लेखेर गुगल सर्च गर्दा पनि म भेटिन्छु ।
यो सानो जानकारीपछि माथिकै प्रसङ्गमा फर्किऊँ । मैले त प्रमोद भाइलाई यतिसम्म भनेको थिएँ कि ‘भाइ यो लेख भोलिको तिम्रो पत्रिकामा जसरी भए पनि छापिनुप¥यो । यदि त्यसो गर्दा तिम्रो पत्रिकाको कुनै पानाको कुनै विज्ञापन हटाउनुपर्ने भयो भने पनि त्यो विज्ञापनको पैसा म दिन्छु,’ भनेको थिएँ । तर, अहँ प्रतिक्षणमा छापिएन मेरो लेख । पत्याएनन् भाइहरूले मलाई । दोस्रो दिन मैले ‘नसोध्नु मेरो पहाड’ शीर्षकमा अर्को लेख लेखेँ । यो लेख पनि मैले प्रतिक्षण दैनिकमा छाप्न आग्रह गरेँ । यो लेख पनि छापिएन । यो शीर्षकको लेख छापिँदा वा नछापिँदा के फरक पर्छ ? त्यसबारेमा म छुट्टै लेख्नेछु ।
त्यो दिन इनरुवाका पत्रिकामा मेरो लेख नछापिने स्पष्ट भएपछि मैले यसको वर्ड कपि इनरुवाका मान्छेहरूलाई सुनाउँदै हिँड्न थाले । पहिले धिरज भट्टराईलाई सुनाएँ । त्यसपछि राजेन्द्र पोखरेललाई सुनाएँ । यही सेरोफेरोमा लेखिएका लेखहरू शशि कोइरालालाई पनि कुनै सुनाएँ, कुनै लिङ्क खोजेर पढ्न आग्रह गरेँ । तर, अहँ, त्यति गर्दा पनि त्यो लेख इनरुवाका कुनै पत्रिकामा छापिन्छन् जस्तो प्रत्याभूति पाइनँ । तपाईहरूले पनि यी साथीहरूलाई भेटेर इनरुवामा हिजोआज सुविद गुरागाई के गर्दैछ ? के लेख्दै छ ? भनेर चर्चा गर्नुभएन कि कसो ! मलाई वर्णमाला दैनिकमा पनि यो लेख छापिन्छ जस्तो लागेन । शशि भाइको, राजेन्द्र भाइको अमर काफ्ले भाइको आँखामा त्यो प्रतिक्रिया देखिनँ । बीचमा शशि भाइले मलाई प्रश्न गरे, ‘सुविद गुरागाई पत्रकार हो ? शिक्षक हो ? काङ्ग्रेस हो ? कि के हो ? मेरो प्रिय भाइ शशि कोइरालाको मनमा यस्तो प्रश्न छ आज । इनरुवाबाट प्रकाशित हुने चर्चित मिडिया हाउसको मान्छेको मनमा यस्तो प्रश्न बसेपछि मन खङ्ग्रङ्ग हुन्छ । अब, यसभन्दा उताका प्रसङ्ग सुनाउनुअघि तपाईलाई प्रष्ट भनिदिऊँ म यतिबेला कुनै अखबारी आलेखमा रमाइरहेको छुइनँ । फन्टुस फिक्सनकै सेरोफेरोमा छु । आफूलाई नायक बनाएर आफ्नै कथा लेख्दै छु ।
साँझमा प्रमोद भाइलाई भेटेँ । प्रमोदले सुरुमै, दाइ यो लेखमा आचारसंहिता लाग्छ कि लाग्दैन भनेर सोधेका थिए । लाग्दैन भाइ लाग्दैन । यदि कसैले लाग्छ भन्छ भने पत्रकार महासङ्घका सभापति महेन्द्र बिष्ट मेरा साथी हुन् । म डिल गर्छु यो कुरामा भनेँ । तर, अहँ लेख छापिएन । इनरुवाका पत्रिकाले छाप्न रुचि नदेखाएको त्यो लेख मैले कैलाश पञ्चारिया, कौशल भट्टराई, वीरेन्द्र केएम, पिएमणि भट्टराई, नवीन गड्तौलाहरूको पहुँचसम्म पु¥याए । कसैलाई पढेरै सुनाएँ, कसैलाई लिङ्क खोजेर पढ्न आग्रह गरेँ । साँझ फेरि रामदेवको पसलमा किशोर कोइराला, सन्तोष तिवारी, विष्णु भट्टराई, रामदेव साह लगायतलाई मैले ‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ र ‘नसोध्नु मेरो पहाड’ शीर्षकका दुई वटै लेखहरू सुनाएँ । लेख सुनेर रामदेव भाइ डराए । उनले ‘नसोध्नु मेरो पहाड’ शीर्षकमा परेको ‘रामदेवको चिया दोकानमा चिया खाँदै,’ भन्ने पदावलीबाट ‘रामदेव’ शब्द हटाउन आग्रह गरे । तर, मैले मानिनँ । कठै ! मेरो इनरुवा । रामदेव भाइ डराइडराइ चिया दोकान गरिरहेका छन् मेरो माटोमा । कसले सिर्जना ग¥यो यो परिस्थिति ? मेरो लेखले कि यहाँ हामीले रोपेको, हुर्काइरहेको वातावरणले ?
‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ शीर्षकको लेखमा एमाले इनरुवा नगर कमिटिले निकालेको चुनावी घोषणा–पत्रका कुरा, त्यो लेख्न वा लेख्न लगाउने मान्छेको सोच र इनरुवाबासीको सरोकारको विषय उठाएको थिएँ । तर, लेख छापिएन । इनरुवाका नेटको सहज पहुँच नभएका जनताले समयमै त्यो सूचना थाहा पाएनन्, जुन म धेरैभन्दा धेरै इनरुवाबासीले चाँडोभन्दा चाँडो थाहा पाउन् भन्ने सोचिरहेको थिएँ । यसरी इनरुवाका धेरै जनताको चाँडो सूचना पाउने अधिकारलाई प्रभावित पार्ने यो घटना र त्योसँग जोडिएका सरोकारवलाहरूले कसरी लिनु पर्ने हो ? कृपया कसैले मलाई यो पनि भनिदेओस् ।
यहाँनेर एउटा अर्को कुरा पनि छ । म जसरी लेख्दै, मान्छेलाई सुनाउँदै, प्रतिक्रिया लिँदै, करेक्सन गर्दै हिँडिरहेको छु । एउटा लेखकले, एउटा पत्रकारले वा परिवर्तन चाहने जो कोहीले यस्तो गर्न मिल्छ कि मिल्दैन ? म खुला बहसमा उत्रिएको छु ।
विचरा प्रमोद भाइलाई धेरैले हकर पत्रकार भन्छन् अझै पनि । यो मामलामा भने उनी निकै इमानदार देखिए । ‘दाइ मैले त छाप्न खोजेको थिएँ तर सकिनँ । मैले जागीर बचाउनु पर्ने भो दाइ’ भने । कठै ! एउटा पत्रकारले आफूलाई छाप्न मन लागेको कुरा आफ्नो पत्रिकामा छाप्न पाउँदैन । र पनि नागरिक समाज केही थाहा नपाए जस्तो गरिरहेको छ । एउटा इमानदार पत्रकारलाई जागीर बचाउँछस् भने बचा नभए जा भन्छ कुनै मिडिया हाउस सञ्चालकले ? यदि भन्छ भने हामीले आफ्नो माटोमा कस्तो खालको पत्रकारिताको अभ्यास हुर्काइरहेका छौँ ? एउटा सम्पादक जो अस्पतालभित्र पसेर चिकित्सकको हाजिर खातामा रातो लगाउँछ, त्यो सम्पादक सुविद गुरागाईसँग भेटेर फेस टु फेस कुरा गर्न चाहँदैन । के यही हो मेरो माटोमा मैले रोप्न चाहेको पत्रकारिताको बिरुवा र त्यसको परिणाम ? अहँ, होइन रोकौँ यो उल्टो गतिलाई । म नेतृत्व गर्छु । सचेत साथीहरू उत्रौँ इनरुवाका सडकहरूमा । यहाँ जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई प्रभावित पार्ने जे जति तत्वहरू छन्, ती सबैलाई सच्याउनुपर्छ अब । हैट्, लेख्दा–लेख्दै निकै भावुक र चुनौतीपूर्ण कुरा लेखियो । एकछिन यसलाई यहीँ बिट मारौँ र छविनाथ सरको कुरा गरौँ ।
छविनाथ सर पत्रिका पढिरहनुभएको थियो । उहाँले भन्नुभयो, ‘कति भन्नु, कति सम्झाउनु, मान्दै मान्दैनन् ।’ लौ यो त झन् मार्मिक र गम्भीर कुरा भयो । जब पत्रिकाको सम्पादकले, सल्लाहकारले दिएको कुनै पनि सल्लाह मान्दैन भने प्रिन्टलाइनमा सल्लाहकार भनेर नाम किन जोडिराखेको ? कसलाई भ्रमित पारेको ? हामी इनरुवाका मान्छेलाई ? के हामी इनरुवाका मान्छे यति कुरा पनि बुझ्न सक्तैनौँ ? अवश्य सक्छौँ । तर, बुझ्दा–बुझ्दै धेर बुझिएला कि भन्ने पिरलो भइसक्यो ।
मैले त प्रमोद भाइलाई यतिसम्म भनेको छु, ‘हेर भाइ मलाई, छविनाथ सरलाई यसरी नरुवाओ तिमीहरू । यदि रुवाउँछौ भने म पनि तिमीहरूलाई इनरुवाको सडकमा रुँदै हिँड्ने बनाउँछु । त्यसो नगर भाइहरू । बरु मलाई हँसाओ र आफू पनि हाँस मसँगसँगै ।’
०००
‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ थाहा खबर डट कम र पूर्वी बजार दैनिकमा अक्षरशः छापिएको छ । तपाई हेर्न, पढ्न चाहनुहुन्छ भने लग इन गर्न सक्नुहुन्छ ।
हालसालै बङ्गलादेश हो कि कहाँको हो, एउटा ब्लगरलाई मन नपराउनेहरूले लेख्दालेख्दै मारि नै दिए भन्ने सुनेको छु । मलाई पनि त्यसरी नै मार्छन् होला एकदिन । यतिबेला मेरो मनमा त्यस्तै भय उत्पन्न भइरहेको छ । तर, यहाँनेर म मलाई मार्न चाहनेहरूलाई भन्न चाहन्छु, तिमीहरू जो, ‘अब अति भइसक्यो, अब सुविद गुरागाईलाई नमारे त हामीहरूले चैनले सुत्न पनि नपाउने रहेछौँ,’ जस्तो लागिरहेको छ भने ठिकै छ, मार मलाई । तर याद राख मेरो विचारलाई तिमीहरूले कहिल्यै मार्न सक्तैनौ । यस विषयमा तिमीहरूलाई म अहिले यति मात्रै भन्छु र अब छविनाथ सरसँग एकछिन कुरा गर्छु ।
‘छविनाथ सर अब म फेरि इनरुवा फर्किन चाहन्छु । इनरुवा फर्केर जयन्त सरको सालिक बनाउन चाहन्छु !’
जयन्त भट्टराईको नाम सुन्नेबित्तिकै छविनाथ सरका आँखा रसाइहाले ।
आउने त भनेँ तर आउने कसरी ? बाटो खोज्दै छु । यदि समाउने हात सही भेट्टाएँ भने म इनरुवा फेरि आइपुगुँला पनि । तर, गलत हातमा परेँ भने बिच बाटैमा कतै हराउन पनि सक्छु । जे भए पनि तपाई नरुनु छविनाथ सर ! आँसु पुछ्नु । किनभने इनरुवामा तपाई जस्तै म पनि रोएको छु धेरै पल्ट । तर, अब हामी रुने होइन । दाजु–भाइसँगै मिलेर आफ्नो माटोमा हाँसो, खुसी, सुख र समृद्धिको रुख उमार्नुपर्छ ।
०००
bisnuprasad.bg@gmail.com
नसोध्नु मेरो पहाड
– सुविद गुरागाई

‘जय मधेस !’
दसैँको बेला थियो । म इटहरीबाट प्रकासित हुने जनलक्ष्य दैनिकको सम्पादक थिएँ । इनरुवामा शुभकामना कार्ड बाँड्दै थिएँ । भर्खर गोपाल कोइराला दाइलाई कार्ड दिएर निस्किँदै थिएँ । अगाडि लहरै सीताराम मेहता, सत्यनारायण मेहता, अरविन्द मेहता, रामप्रसाद मेहता, हरिलाल मेहता, एसएन मेहता, वौवालाल मेहतालगायत बसेको देखेँ । र, त्यतातिर हात उठाउँदै भनेँ – जय मधेस !
त्यसपछि मोटरसाइकलबाट ओर्लिएँ र नाम लेख्दै, कार्ड दिँदै गर्न थालेँ । जब तेस्रो कार्डमा अरविन्द मेहताको नाम लेख्दै थिएँ, त्यही बेला अचानक वौवालाल दाइले एउटा प्रश्न सोधे – ‘सुविदजी एउटा कुरा भन्नु त ?’
‘के कुरा दाइ ?’
‘अहिले तपाईले यो जुन जय मधेस भन्नुभो नि त्यो तपाईले साँच्चिकै आफ्नो दिलदेखि भन्नुभयो कि हामीलाई सुनाउन भन्नुभयो ?’
प्रश्न सुनेर म विस्मित भएँ । म इटहरी बस्न थालेको चार वर्ष जति भएको हुँदो हो । मैले वौवालाल दाइको मुख हेरेँ । अरूले हामीलाई हेरे ।
‘एकछिन दाइ ! पहिले म यो कार्डमा नाम लेखेर दिइसक्छु अनि तपाईको प्रश्नको उत्तर दिन्छु, एकछिन धैर्य गरेर पर्खिनु होला,’ मैले भनेँ । ल ठिक छ भन्ने कुरा भयो । सबै जना मेरो जवाफ पर्खिने भए । मैले कार्डमा नाम लेखेर दिइसकेँ । बाँकी कार्ड झोलामा राखेँ । र भनेँ, ‘अब सुन्नुहोस् दाइ मेरो उत्तर ।’
‘अहिले हामी जुन ठाउँलाई मधेस भनिरहेका छौँ, अर्थात् सुनसरीको बबियाको तीन नम्बर वार्डमा २०२४ साल कात्तिक ५ गते आइतबार बिहान म जन्मिएँ । अनि अहिले तपाईहरूले जसलाई जनतान्त्रिक, ज्वालासिंहवाला, क्रिस भनेर चिन्नुहुन्छ, त्यो भाइ गजेन्द्र मेहता अर्थात् ‘गञ्जाइ’लाई उसकी आमाले त्यही ठाउँको सेरोफेरोमा पन्ध्र–सोह्र वर्षपछि जन्माइन् । २०२४ सालमा ठुलो रौदी (खरेडी) लागेको थियो रे ! आमाले भन्नुभएको । त्यतिबेला बच्चाहरू घरमै जन्माउने चलन थियो । म जन्मिएपछि मेरो सालनाल त्यही घरपछाडि कपासको बोटभन्दा अलिकति दक्षिणतिर गाडियो । गजेन्द्रको आफन्तले पनि त्यसै गरे । यो माटोमा उसको सालनाल गाडिदिए । यसरी एउटै माटोमा उही प्रक्रियाद्वारा आफन्तले रगतको नाता जोडिदिएपछि हामी स्वतः दाजु–भाइ भयौँ । गजेन्द्र, चौधरी महतोको जेठो छोराको जेठो छोरा हो । चौधरी महतोलाई मेरो आमाले काका भन्नुहुन्थ्यो रे !’
‘अब अधिकारको कुरामा जाऊँ । चित्त दुखाइको कुरामा जाऊँ । जब घरभित्र सम्पत्ति बाँडफाँड, अधिकारको खोजी, विवाद र चित्त दुखाइ हुन्छ, तब हाम्रो मधेसमा के चलन छ भने, पञ्चेती बस्ने । मानौँ त्यस्तो पञ्चेतीमा म छु । गजेन्द्र मेहता छ, जसका लागि केटी हेर्न म लोहजारासम्म गएको थिएँ । साहेबगञ्जको छेऊ दसगजासम्म गएको थिएँ ।’
‘हाम्रो सम्पत्ति बाँड्नुपर्ने भयो । पञ्चेतीमा तपाईहरू नै पञ्च हुनुहुन्छ । त्यो परिस्थितिमा तपाईहरू के भन्नुहुन्छ ?... पक्कै पनि हेर तिमी दाजु हौ, कुरा बुझ्छौ, सुरुमा तिमी नै भन अब के गर्ने ? भनेर सोध्नुहुन्थ्यो होला । किनकि हाम्रो चलन नै हो पहिले दाजुलाई सोध्ने, अनि भाइलाई सोध्ने । तपाईलाई थाहा छ, त्यो बेलामा के भन्थेँ ?’
‘मलाई अहिलेसम्म कसैले सोधेको छैन त्यस्तो प्रश्न । सोधेको भए भन्ने थिएँ, तपाई पञ्चहरू हुनुहुन्छ । सबैले मानिआएकै व्यक्तिहरू हुनुहुन्छ । उसैलाई सोध्नू, उसलाई के–के चाहिन्छ । त्यहीअनुसार नरमकरम मिलाइदिनु अनि फैसला गर्नु । म के भन्नु अरू !’
‘जब तपाईहरूले मलाई राम्ररी चिन्नु नै भा’छैन । प्रश्न सोध्नु नै भा’छैन तब म जवाफ दिऊँ कसरी ? आज सोध्नुभो, मेरो जवाफ यही हो ।’
बोल्दा–बोल्दै मेरो मुख रातो भइसकेको थियो । मैले वौवालाल दाइको आँखामा प्रतिक्रिया खोजेँ । केही नबोली मलाई हेरिरहेका थिए । हरिलाल दाइले भने, ‘हे, सुविद भाइको यो कुरा हामीलाई थाहा छ ।’
मैले भनेँ, ‘माइन्ड नगर्नु है दाइ ।’
त्यसपछि, नमस्कार गरेँ । जय मधेस भनेँ । उठेँ । चोकतिर लागेँ ।
०००
इनरुवामा कतिलाई अझै पनि लागिरहेको छ, उही गजेन्द्र जसले मलाई काका भन्थ्यो, केही दिन करनाल पत्रिकामा मार्केटिङ मेनेजरको काम पनि ग¥यो । त्यही गजेन्द्रले ज्यान मार्ने धम्की दियो र इनरुवाबाट विस्थापित भएँ । तर, अहँ, त्यो सब केही होइन, त्यो त त्यतिबेलाको अधिकारकर्मी भाइ राजेन्द्र पोखरेलको फन्डा मात्र हो, मलाई विस्थापित भन्नु । उनले त त्यो बेला मलाई ‘तपाई म द्वन्द्वपीडित हुँ भन्नु दाइ, म राज्यबाट पाइने सुविधा दिलाउँछु,’ समेत भनेका थिए । तर, अहँ मैले मानिनँ । भएको त्यो थिएन । भएको के थियो भने म गजेन्द्रको खेतमा बनाइएको जनकल्याण प्राविमा पढाउँथेँ । स्कुल परिसरमा काठ र टिनको एउटा पुरानो गोठजस्तो भवन थियो । मैले हेडसर बाबुनन्द यादवसँग सल्लाह गरेर त्यो बेच्ने र स्कुलमै डेस्क–बे्रञ्च अथवा केके फर्निचर आवश्यक हुन्छ, त्यो किन्ने वातावरण सिर्जना गरिदिएँ । गाउँलेहरूसँग सल्लाह गरिएको थियो । लिलामको कागजी प्रक्रिया पनि मिलाइएको थियो । पुरानो काठ र टिन बेची सकिएको थियो । त्यही बेला गजेन्द्र मेहताको फोन आयो । मसँग त्यतिबेला नोकिया एक्काईस सय थियो । सिम त्यही तेइस दुई सय पाँचवाला ।
‘तपाईले स्कुलको काठ किन बेच्नुभयो ?’
कागज र दुनियाँका आँखामा त्यो काम बाबुनन्द यादवले गरेको जस्तो देखिए पनि गजेन्द्रलाई राम्ररी थाहा थियो, मैले नउक्साइकन त्यहाँ त्यो काम हुनेवाला थिएन । मैले उसको स्वर चिनिहालेँ । फोनमा के कुरा गर्ने गञ्जु भाइ यही आऊ न भेटेर कुरा गरौँ भनेँ ।
‘म गजेन्द्र होइन । म क्रिस हुँ । मधेस जन–सरकार प्रमुख । तपाईले मधेस जन–सरकारको अनुमतिबिना त्यो काठ कसरी बेच्नुभो । सात दिनभित्र त्यो काठ सबै फिर्ता गराउनुस् । होइन भने म तपाईलाई मारिदिन्छु । तीन गोली हान्छु ।’
अलि–अलि नेपाली, अलि–अलि मैथिली, अलि–अलि ठेठिही । यस्तै लवजहरूमा डाइलग दियो उसले मलाई । म पनि फेरि उही खालको मान्छे छु, झननन कन्पारो तातेर आइहाल्यो ।
‘अरे भाइ ! फोनबाट, पछाडि लुकेर के धम्की दिन्छौ ? म अहिले यहीँ स्कुलमा छु । मन लागेको छ भने आऊ न, हानी हाल गोली ।’
सबै स्टाफहरू छक्क । बाबुनन्द सरको अनुहार रिसले रातो–रातो भयो । हो बोलाउनु सर बोलाउनु, हेरौँ हामी पनि भन्दै थिए । तर, न गजेन्द्र आए । न क्रिस आए । न काठ लिलाम फिर्ता भयो । त्यो दिन त्यत्तिकै भयो ।
खासमा गजेन्द्रलाई आफ्नो पुर्खाको नासो त्यो काठ आफैँले सस्तो–मस्तोमा किन्न मन लागेको रहेछ । त्यो कुरा सुरुमै भनेको भए, हामी दिइहाल्थ्यौँ नि । उसले चित्त किन दुखाइरहनु पथ्र्यो र ! क्रिस, जनसरकार प्रमुख किन भनिरहनु पथ्र्यो र ! काठ लिलाम गर्न लागेको बारेमा उसको घरमा मै गएर उसको बुबालाई सोधेको पनि थिएँ । अब बाबु छोराकै खास ठ्याक नमिल्दो रै’छ, म क–कसलाई सोध्दै हिँडु ! फेरि मलाई गजेन्द्रले त्यो काठ किन्न खोजिरहेको छ भन्ने के थाहा ? ऊ मधेस जनसरकार प्रमुख र भूमिगत नेता नै थियो भने पनि कुनै संवदियामार्फत् त्यो खबर मेरो कानसम्म पु¥याउनुपथ्र्यो उसले । खैर, त्यो कुरा छोडौँ । रात गई बात गई ।
राति निकै अबेला उसले मलाई फेरि फोन ग¥यो ।
भन्यो, ‘काका नरिसाउनु ! मैले के सुरमा भनेँ त्यो माइन्ड नगर्नु ।’
अरे यार मेरो माइन्ड नै छैन त के माइन्ड गर्नु ? म रिसाएको छैन, भनेँ कुरा सिद्धियो । तर, एउटा पत्रकारलाई जनसरकार प्रमुखले दिएको धम्कीका रूपमा साथीहरूले कुरा उचालिरहे । मैले खासै वास्ता गरिनँ ।
०००
त्यही सेरोफेरोमा एकदिन म करनालकै अफिसमा बसिरहेको थिएँ । कसैले मेरो हातमा एउटा चिठी हालिदियो । उही मधेस जनसरकारवाला । चिठी सभ्य भाषामै थियो । ‘श्री सम्पादकज्यू ! तपाईले पत्रकारिताको धर्म निर्वाह गर्नुहोला । तपाईले सम्पादन गरेको पत्रिकामा हाम्रा साथीहरूका विरुद्धमा अनावश्यक कुराहरू आइरहे जस्तो लाग्छ । कृपया त्यसलाई सच्याउनु होला ।’ तर, त्यो चिठीको व्यहोरा यसरी मिलाएर लेखिएको थिएन । आशय चाहिँ त्यही थियो ।
साँझमा चिठी मेरो गोजीमै थियो । रामदेवको चिया दोकानमा चिया खाँदै छलफल गर्दै थियौँ । अब के गर्ने ? कसो गर्ने ? यो चिठीको समाचार बनाउने कि नबनाउने ? पत्रकार महासङ्घमा यो जानकारी दिने कि नदिने ? यस्तै विषयमा भाइ–साथीहरूसँग छलफल हुँदै थियो । अचानक बाहिर घ्यार–घ्यार गरेको मोटरसाइकलको आवाज सुनियो । एउटा मैले नचिनेको हेन्डसम केटा सुइँसुइँ भित्र आयो र हामीभन्दा अगाडिको टेबुलमा बस्यो ।
‘तपाईहरूमध्ये सुविद गुरागाई को हो ?’ उसले सोध्यो ।
वातावरण एकछिन शान्त भयो । साथीहरूले मतिर हेरे ।
‘तपाईलाई कसैले कुनै चिठी दे’को छ ?’
‘छ ।’
‘खै, त्यो चिठी ल्याउनु त !’
उसले माग्यो मैले दिएँ । उसले त्यो चिठीमा के लेखिएको छ, त्यो हेर्दा पनि नहेरी थपक्क गोजीमा राख्यो । जुरुक्क उठ्यो । मोटरसाइकल चढ्यो, गयो ।
मैले भनेँ, ‘यो त ठिक भएन । मेरो हातमा एउटा प्रमाण थियो, त्यो पनि त्यसले लगिदियो । साथीहरूले पनि टुटुटुलु हेरिरहनुभयो फेरि ।’
‘दाइको यही बानी खराब छ,’ नवीनजी, राजेन्द्रजीलगायत साथीहरूले भने, ‘जसले चिठी दिएको थियो उसैले लिएर गयो, तपाईलाई केही फरक प¥यो ?’
‘फरक त परेन ।’ मैले भनेँ र ङिच्च हाँसेँ ।
०००
म यही सेरोफेरोमा इटहरी गएँ । ठुलो ठाउँमा गएर ठुलो पत्रकार बन्ने रहर थियो । त्यो बेला मैले आफ्नो त्यही महत्वाकाङ्क्षाको भारी बोकिराखेको थिएँ । खैर यो प्रसङ्गलाई यतिमै राखुँ । कुरा गरुँ त्यही जय मधेसकै जुन सुरुमा म गर्दै थिएँ ।
मलाई रुख भन्नु भन्दा गाछी भन्नु सजिलो लाग्छ । म रेला, ख्याल गर्न जान्दिनँ, मजाक गर्छु । मलाई तरकारी भन्दा सब्जी मिठो लाग्छ । म किरिया होइन कसम खान्छु । आमा कसम भन्नु परे मा कसम भन्छु । बुझ्नु पर्नेले कुरा नबुझेपछि मुटु होइन दिल दुख्छ । कसैले इनरुवालाई गाली ग¥यो भने रगत होइन खुन उम्लिएर आउँछ । पहिले सोलुखुम्बुतिर हुँदा शिक्षक होइन मास्टर थिएँ । मलाई सनपाट, जुट होइन, पटुवाको साग मिठो लाग्छ । मेरा लागि आँपको पात होइन पत्ता हरियो हुन्छ ।
तापनि म सोलुखुम्बुमा हुँदा, फर्पिङमा हुँदा मधेसबाट आएको सर भन्थे । देवानगञ्जतिर, अमडुवातिर, घुस्कीतिर, बसन्तपुरतिर जाँदा अहिले पनि पहडिया पत्रकार नै भन्छन् । एकदिन चार कि पाँच कक्षाको एउटा विद्यार्थी, जसको नाम रामप्रसाद थियो, उसलाई मैले म बस्ने कुर्सीमा किन काउछो (कवछ्वा) दलिस भनेर हातमा एक छडी हिर्काएँ । ‘सार, पहडिया मास्टर, हमरा मारै छी,’ भन्दै फुत्त कक्षाबाट बाहिर निस्कियो र घरतिर रन्थनिँदै गयो । सायद ऊ मेराविरुद्ध बुबा–काका कसैलाई उचालेर ल्याउन त्यसरी गयो । तर, कोही आएनन् । पछि त्यो भाइलाई इनरुवातिर रिक्सा चलाउँदै गरेको देखेको थिएँ । ‘सर ! नमस्कार भनेको थियो त्यो दिन ।’
मलाई कसैले पहडिया भनेर लेबल लगाएको मन पर्दैन । तपाईको पहाड कहाँ हो भनेर सोध्यो भने झर्को लाग्छ । त्यसैले म आज फेरि पनि भन्छु, मलाई चिन्ने नचिन्ने कसैले कतै भेट्नुभयो भने कृपया मलाई नसोध्नु होला तेरो पहाड कहाँ हो । म त फुल्ली मधेसी हुँ । मधेसमा जन्मिएको भूमिपुत्र ।
जय नेपाल ! जय मधेस !
०००
bisnuprasad.bg@gmail.com


मौन अवधिमा घोषणा–पत्रको प्रुफ रिडिङ
– सुविद गुरागाई

मौन अवधि सुरु भएको छ । अब हामी नबोलौँ । संसारभरिकै चलन हो मौन अवधिमा नबोल्ने । अब बोल्न पाइँदैन । केही घोषणा गर्न पाइँदैन । प्रचार गर्न पाइँदैन । जति बोल्नु थियो, बोली सकियो । जति प्रचार हुनु थियो, भइसक्यो । जति घोषणा गर्नु थियो, गरिसकियो । त्यसो भए अब असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपत्रमा छाप लगाउन स्वस्तिक चिन्ह उचाल्नुअघि हामी के गर्ने त ?
अब हामी घोषणा–पत्र पढ्ने । घोषणा–पत्र पढेर पनि कसैले भोट हाल्छ र ! भनेको सुनेको छु । सायद हाम्रो सेरोफेरोमा शब्द–शब्दको अर्थ लगाएर पढ्न जान्ने मान्छे कम छन् वा पढ्न चाहने मान्छे कम छन् । त्यसैले घोषणा–पत्रहरू पढ्नका लागि होइन, ‘गर्न’का लागि हो भन्ने चलन सुरु भएको होला । तर, अब हाम्रो पुस्ताले त्यो क्रम भङ्ग गर्नुपर्छ । किनभने तपाई सचेत मतदाता हो यार ! घोषणा–पत्र त तपाईले पढ्नु होला भनेर नै बनाइएको हो । फेरि, चुनाव जसरी पनि जित्नु पर्नेछ, अहिले घोषणा गर्दिराखुँ, पछि देखा जाला भन्ने चलन पनि छ । यसो भन्नु चाहिँ आम मतदाता नागरिकको अपमान गरेको हो । मैले चुनाव जितिसकेपछि कम्तीमा पाँच वर्षसम्म तिमीहरू केही गर्न सक्तैनौ भनेको हो । तर, अहँ ! अब हामीले कुनै पनि पार्टी, नेता तथा कार्यकर्ताले गर्छु भनेको कुरा गरेनन् भने आम मतदाता चुप लागेर बस्नु हुँदैन । यसमा एकातिर हामीले आगामी दिनका मतपत्रमा ‘नो भोटिङ’ को व्यवस्था गर्न र चुनावपछि पनि ‘राइट टु रिकल’ व्यवस्थाका लागि अभियान चलाउनु पर्छ ।
तपाईले यदि गीता पढ्नु भएको छ र त्यसका सन्दर्भहरू उल्लेख गर्दै आलोचना गर्नुभयो भने त्यो स्वस्थ आलोचना हुनेछ । धर्म, संस्कृति र सभ्य समाजको विकासमा मद्दत पुग्नेछ । कुरान, त्रिपिटक, बाइबल आदिका हकमा पनि यही कुरा लागू हुन्छ । तपाईले घोषणा–पत्र पढ्नुभयो भने धेरै कुरा थाहा हुन्छ । कवि पर्सिविस शेलीका अनुसार हामी जति अध्ययन गर्दै जान्छौँ, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । कसैले माने पनि नमाने पनि हामीमा अज्ञानताको मात्रा निकै छ । तर, अज्ञानता हाम्रा लागि अपेक्षित कुरा होइन । हामी अज्ञानी भइरहन पाउँदैनौँ ।
कुनै राजनीतिक पार्टीको घोषणा–पत्र पढ्दै गर्दा हामीले ध्यान दिनुपर्ने कुरा मात्र कति हो भने घोषणा गर्नेे वा यस्तो घोषणा गर्नु पर्छ भनेर सिकाउने व्यक्ति स्वयम् घोषणा गरेका कुरामा कति गम्भीर छ ? कति बुझेको छ ? अनि त्यहाँ लेखिएका बुँदामध्ये कुन चाहिँले तपाईको मन छोयो ? यो चाहिँ गर्न सकिन्छ र गर्नु पर्छ, यो काम गर्ने हो भने त म पनि सघाउँछु जस्तो लाग्छ । जस्तो कि हामी आफ्नो गाउँ वा नगरको वातावरणमा सुधार गर्छौँ, पर्यटन प्रवर्धन गर्छौँ, कृषि–उद्यमको विकास गर्छौँ, घर–करेसामै व्यापार–व्यवसायको नयाँ सम्भावनाको खोजी गछौैँ भनेर सोलोडोलो एकै वाक्यमा भन्नु वा लेख्नुको साटो हामी आफ्नो गाउँ वा नगरको सबै विद्यालयका चौरको चारैतिर त्यो विद्यालयको माथिल्लो कक्षाका विद्यार्थीहरूलाई परियोजना कार्यका रूपमा सुपारीको बिरुवा रोप्न तथा हुर्काउन लगाउँछौँ भनेर लेखिएको व्यावहारिक हुन्छ । त्यस्तै, अलि हातखुट्टा चलाउनसक्ने जेष्ठ नागरिकलाई केही काम नगरी मासिक भत्ता दिन्छु भन्नु चाहिँ उनीहरूले त्यत्रो वर्ष काम र अध्ययन गरेर प्राप्त गरेको अनुभव र व्यक्तित्वको अपमान गरेको हो जस्तो लाग्छ मलाई । बरु त्यसको सट्टामा गाउँ वा नगरका सबै क्षेत्रका सेवा निवृत्त कर्मचारीहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूले काम छोड्नु पर्दाका बखतको तलब–स्केल नघट्ने गरी उनीहरूले पाउने पेन्सन रकममा रकम थपेर तत्–तत् क्षेत्रसँग सम्बन्धित जस्तै सेना प्रहरी हुन् भने बारुणयन्त्र, अस्पताल सुरक्षाकर्मी, शिक्षक हुन् भने विद्यालय वा स्रोतकेन्द्र सहयोगी, प्राविधिक हुन् भने खेत, गोठ, वन, बाली अनुगमनकर्ता आदिका रूपमा थप सेवामा फर्काएर उनीहरू अनुत्पादक क्षेत्रमा जाने सम्भावना घटाउनु पर्छ । अर्थात् उनीहरूको चित्त बुझाएर उनीहरूले भयो अब आजदेखि चाहिँ म साच्ँिचकै विश्राम लिन चाहन्छु भनेको दिनसम्म सक्रिय बनाउने, उनीहरूको क्षमताको दोहन गर्नेस्तरको योजना कसको छ ? त्यो एउटा सचेत नागरिकको सरोकारको विषय हो ।
इनरुवाको सन्दर्भमा मैले नै हो, नगर काङ्ग्रेसको घोषणा–पत्र ‘ड्राफ्ट’ गरेको । त्यसका बारेमा थाहा हुने भइहाल्यो । एमालेको नगर घोषणा–पत्र पनि पढेँ । सङ्घीय समाजवादी फोरमको वडा नम्बर एकको एउटा पर्चा हात प¥यो । त्यो पनि पढेँ । बाँकी अरूको खोज्दै छु । हात प¥यो भने पढ्ने नै छु । मौन अवधिमा इनरुवा एमालेको घोषणा–पत्र पढ्ने क्रममा सुरु कभर पेजमै मन खिस्रिक्क भइहाल्यो । त्यसमा बहुदलीय र स्थानीय दुवै शब्दमा ईकार ह्रस्व लेखिएको छ, दीर्घ लेख्नु पथ्र्यो । फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन । तर, भित्र केही राम्रा केही व्यावहारिक योजना, सोचाइहरू पनि छन्, जुन मलाई मन प¥यो, जुन काम भोलिका दिनमा इनरुवाले गर्नै पर्छ । जस्तै, सुकुम्बासी समस्या समाधानका लागि एकीकृत नमुना बस्ती निर्माण । विद्युतीय प्रणालीबाट घर नम्बर राख्ने । उद्योग वाणिज्य सङ्घको सहकार्यमा बजार व्यवस्थापन, कर निर्धारण र कर सङ्कलन । एक वडा एक उत्पादन अभियान ।
यसबाहेक, कभरमा अर्को चित्त नबुझने कुरो पनि छ । सूर्यको घेराभित्र मदन भण्डारी, जीवराज आश्रित र मनमोहन अधिकारीको मुहार राखिएको छ । यो के गरेको ? भण्डारी, आश्रित र अधिकारीको यस्तो देवत्वकरण किन ? हिन्दू, बौद्ध, इस्लाम, इसाइ आदि जुनसुकै धर्ममा ईश्वरलाई आफूभित्रको उज्यालोका रूपमा बुझिएको छ । र, त्यसको प्रतीक स्वरूप सूर्य–किरणलाई ईश्वरको प्रतिमूर्तिका पछाडि देखाउने हाम्रो धार्मिक, सामाजिक–सांस्कृतिक मान्यता छ । कसैले त्यो आस्थालाई टेकेर यस्तो ‘कार्टुन’ बनाउने किन ? यो त उही एकपटक रेखा थापाले रामनामी च्यातेर फोटो–सेसन गरेको स्तरको हर्कत जस्तो लाग्यो मलाई । साथीहरू माइन्ड नगर्नुहोला । नेताहरूको फोटो सूर्यभन्दा बाहिर छापौँ । चुनाव चिन्हकै हकमा पनि त्यसलाई विकृत नपारौँ । कमल थापाहरूले आफ्नो मुहार गाईको मुहारसँग जोडेर प्रयोग गरे भने के हुन्छ ?
अब घोषणा–पत्रको पेज नम्बर एकमा जाऊँ । प्रुफ मिस्टेकका कुरा म गर्दिनँ, त्यसमा कम्तीमा ३५ ठाउँ र अन्तिममा २२ ठाउँमा शब्दहरूको हिज्जे गल्ती छ । बिचका शब्दहरूको के चर्चा गर्नु ? यसबेला म त्यसको भाषामा होइन भावार्थमा गम्भीर बनेको छु । भाषाकै कुरा गर्ने हो भने पनि आधारभूत ह्रस्व–दीर्घ, विभक्ति र नामयोगी शब्द मूल शब्दसँग जोड्नुपर्छ भन्ने कुरा सबै नेपालीलाई थाहा हुनुपर्छ भन्छु म । तर, त्यतातिर नलागौँ । कुरा गरौँ नियतको ! कुनै पार्टी आफ्नो घोषणा–पत्र किन निकाल्छ ? अरू विचार समूहकाहरूलाई गाली गर्न कि मेरा योजनाहरू यो–यो छन् भन्न ? एमालेको घोषणा–पत्रको एक नम्बर पानामै ‘असक्षम तथा नालायक जनप्रतिनिधिले सञ्चालन गरेको स्थानीय निकाय’ भनिएको छ । पहिलो कुरा त ‘असक्षम’ भन्ने शब्दै हुँदैन । दोस्रो कुरा, के भनेको यो ? कसलाई भनेको यो ? के हिजोका दिनमा इनरुवा नगरपालिकासँग साइनो जोडिएका जो–जति एमालेको लेबल लागेकाहरू थिए, चाहिँ दूधले नुहाएका र अरू बाँकी जो थिए ती नालायक थिए भन्न खोजेको हो ? सबै तह–तप्काको भावनाको सम्मान गर्छु भन्ने पार्टीले यस्ता गाली–गलौजका शब्दहरूलाई फोर–जी पुस्ताका लागि दस्तावेजीकरण गर्न सुहाउँछ ?
ल, यसलाई पनि छोडौँ । अब अर्को पदावली हेरौँ । तीन नम्बर पेजमा ‘इनरुवा नगरपालिकामा विगतमा नेपाली कांग्रेसले के–के ग¥यो ? भनेर आधार पेस गर्न सक्ने र बताउन सक्ने हैसियत नभएकाले’ भन्ने वाक्यांश लेखिएको छ । यो चाहिँ आफ्नो आङको भैँसी नदेख्ने, अरूको आङको जुम्रा टिप्दै हिँड्ने, भने जस्तो भो । त्यसो नगरौँ साथी हो ! हामीले अरूका आलोचना–प्रत्यालोचना धेरै गरिसक्यौँ । अब आफूलाई परिवर्तन गरौँ । एकातिर हामी इनरुवामा फोर–जिको कुरा गर्ने र अर्कोतिर हामी गाँड कोराकोर गर्ने ? यो सुहाउँदैन । सबै मिलेर काम गरौँ । राम्रा कामको प्रशंसा गरौँ । सुधारका केही अवसर छन् भने स्वस्थ शब्दहरूले आँैल्याऔँ ।
यो प्रसङ्गलाई पनि यतिमै छोडौँ । बुँदा नम्बर पाँचमा पाँच वर्षभित्र इनरुवाका सबै वडाहरूमा ढलसहितको कालोपत्रे सडक बनाउने भनिएको छ । तर कति किलोमिटर ? खुलाइएको छैन । बुँदा नम्बर छ मा हरेक वडाको ढललाई नजिकको खोलामा मिसाउने कुरा गरिएको छ । यो योजनाले चाहिँ घडी उल्टो घुमाउन चाहेको प्रतीत हुन्छ । हामीलाई हाम्रा खोलाहरूमा ढल मिसाउने होइन, सफा गर्ने योजना र जनप्रतिनिधिहरू चाहिएको छ ।
सात नम्बर बुँदामा पाँच वर्षभित्र चक्रपथ निर्माण सम्पन्न गर्ने कुरा गरिएको छ । १० वर्षमा एउटा महानन्द वाटिकाको निर्माण सम्पन्न गर्न नसक्ने स्रोत–साधन भएको ठाउँमा पाँच वर्षभित्र चक्रपथ निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने तपाई पत्याउनुहोला, मलाई चाहिँ कसम विश्वास लागेन । पाँच वर्षमा सर्भे र जग्गा प्राप्ति तथा दुई–चार किलोमिटर ट्रयाकसम्म खोल्न सकिएला । हामीलाई राम्रैसँग थाहा छ, विराटनगर र इटहरी चक्रपथको कार्य–प्रगति दर कस्तो छ !
खासमा यो लेखको प्रेरक तत्व एमालेको घोषणा–पत्रको विरोध गर्नु होइन । हाम्रो समाजको, हाम्रा साथीहरूको सोचको विश्लेषण गर्नु हो । अनि यो लेख लेख्न बाध्य गराउने खास सन्दर्भ चाहिँ ५१ र ७५ नम्बर बुँदा हुन्, जहाँ नगरका सबै सामुदायिक विद्यालयलाई अङ्ग्रेजी माध्यममा रूपान्तर गर्ने कुरा गरिएको छ । तर, एकातिर सबै भाषाभाषी, संस्कृतिको संरक्षण–संवर्धनको कुरा गर्ने र अर्कोतिर नेपाली भाषाको विद्यालयलाई बन्द गर्ने ? यो कस्तो योजना हो ? बरु त्यसको साटो नगरमा मगर, झाँगड, मिथिला, थारु, उर्दूलगायत भाषाको विद्यालय खोल्छु भन्नुपर्ने हो । कृपया कसैले पनि भाषा, धर्म, संस्कृति आदिका सवालमा खेलवाड गर्ने कुरा नगरोस् । ख्याल–ख्यालमा छँदा–खाँदाको संस्कृत हटाएर जुन नैतिक सङ्कटको भार हामीलाई थोपरिएको छ, त्यसमा नेपाली भाषा विस्थापन गरेर हुने क्षतिको बोझ थपेको हामी खेप्न सक्तैनौँ । हामी सरकारी विद्यालयको गुणस्तर उकास्ने कुरा गरौँ । सुविधा–सम्पन्न बनाउने कुरा गरौँ । तर, नेपाली भाषा विस्थापनको कुरा नगरौँ । आज बङ्गाली भाषाको सन्दर्भसँग जोडिएर नेपालीभाषीहरू जसरी आन्दोलित भइरहेका छन् गोर्खाल्यान्डतिर, त्यो आन्दोलन हामीलाई इनरुवामा चाहिएको छैन ।
०००
bisnuprasad.bg@gmail.com