आइ लभ गोबर ! खासगरी गाईको
– सुविद गुरागाई
नियमित आकस्मिकताको घनचक्करमा रुमलिँदै हिँडिरहेका बेला अचानक एउटा खास मोडमा द्वारिकलाल दाइसँग भेट भयो ।
यो कुनै संयोगवश जुरेको भेट थिएन । पूरै नियोजित थियो । भेट हुनु एकदिन अघि नै नागरिक समाजले उहाँहरूलाई सम्मान गर्न तरहरामा आयोजना गरेको कार्यक्रममा उहाँले यसको जनाउ दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘मलाई इटहरीका एक जना पत्रकार मित्रले खुला–पत्र लेख्नुभएछ । मैले उहाँलाई भोलि चिया खान घर बोलाएको छु ।’
मैले पनि फेसबुकमा पोस्ट गरेको थिएँ ।
अर्थात् हाम्रो भेट पूरै योजनाबद्ध थियो ।
यसकारण उहाँको लिभिङ रुममा म र नवीनजी पुगेका थियौँ ।
उहाँले आफ्नो सम्पूर्ण समय आफू सिम्पल लिभिङ हाइ थिङ्किङ वाला मानिस भएको प्रमाणित गर्न खोज्नुभयो ।
भन्नुभयो, ‘सरी है सुविदजी ! मैले तपाईलाई टायल–गलैँचा ओछ्याएको कोठामा स्वागत गर्न सकिनँ । यहीँ काठको गोठजस्तो घरमा बोलाएँ ।’
त्यसपछि इलेक्ट्रिक केतलीमा उम्लिरहेको पानी ग्रीन लिफ राखिएको सिसावाला जारमा हाल्दै भन्नुभयो –
‘यी हेर्नुहोस्, म चिया पनि तपाईलाई आफैँ बनाएर खुवाउँछु ।’
‘मेरो कोठामा आउँदा तपाईलाई गोबर गन्हायो होला ! के गर्नु श्रीमती तल भकारो सोहोर्दै छिन्,’ उहाँले थप्नुभयो, ‘आमा पनि कता खेततिर काम गर्न जानुभा छ । चिया बनाएर दिने मान्छे पनि कोही छैन ।’
‘साँच्ची कति वर्ष पुग्नुभो सुविदजी तपाई ?’ एकाएक दाइले प्रसङ्ग बदल्नु भयो ।
‘पचास वर्ष भएँ दाइ ।’
‘पचास वर्ष ?’
‘हो त, चौबीस सालको मान्छे हुँ म ।’
‘ए हो र ! कुन महिना ?’
‘कात्तिक ।’
‘म पनि चौबीस सालकै हुँ । तर, म चाहिँ मङ्सिरको परेँ । तपाई मभन्दा एक महिना जेठो पर्नुभयो ।’
‘तर सरी दाइ !’ मैले जम्लाहात गर्दै भनेँ, ‘म बाँचुञ्जेल तपाईलाई दाइ नै भन्छु ।’
त्यसपछि तपाई सजिलै अनुमान गर्नसक्नुहुन्छ, दाजु–भाइका बिचमा के कुरा भए । के अपेक्षित थियो ?
०००
खासमा उहाँलाई मलाई भेटेर दुई वटा कुरामा प्रष्ट हुन मन रहेछ ।
‘त्यो तपाईले इटहरी वडा नम्बर एकमा एमाले हार्नुको कारण लेख्नुभएको थियो नि !’
‘माफ पाउँ दाइ,’ मैले बिचैमा कुरा काटेँ, ‘मैले एमाले हार्नुको कारणबारे कुनै पोस्ट लेखेको छुइनँ । मैले काङ्ग्रेसले जित्नुका कारणहरू लेखेको थिएँ ।’
‘उही त हो नि कुरो । म बुझ्छु त्यति त !’
‘हजुर दाइ ।’
‘त्यो तपाईले एक नम्बर वडामा एमाले चुनाव हार्नुको कारण म हो भनेर लेख्नुभो नि ! तर वास्तविकता त्यो होइन । बरु मेरो कारणले अढाइ सय जति भोट बढी आए । त्यहाँ हार्नुको कारण अर्कै छ । वडाका केही साथीहरूका कारण हामी हारेका हौँ ।’
‘ए, यस्तो आन्तरिक कुरो त मलाई के थाहा !’
‘त्यही भएर लेख्नेले पूरै कुरा बुझेर लेख्नुप¥यो । विश्लेषण सही हुनुप¥यो ।’
त्यसपछि उहाँले मेरो पोस्टमा चित्त नबुझेर महेश्वर कार्कीजीलाई ‘सतही विश्लेषण’ भन्ने टिप्पणी लेख्न लगाएको सुनाउनुभयो ।
‘यो त ठिकै छ कि दाइ ! तर, चुनावको सेरोफेरोमा मेरो मनलाई एउटा कुराले कुटुकुटु खाइरहेको थियो ।’ मैले भनेँ ।
‘के कुरा ?’
‘थारुहरूको जातीय सङ्गठनले यसपटक चुनावमा थारू उम्मेदवारलाई मात्र भोट हाल्न आन्तरिक उर्दी जारी गरेको थियो रे भन्ने सुनेँ । तर, यस्तो भन्नुहुँदैन कसैले । न थारुले, न बाहुनले, न लिम्बूले, न अरू कसैले !’
‘यसमा मेरो कुनै संलग्नता छैन । म त जातीय राजनीतिको पक्षधर होइन । राजनीतिको आधार वर्गीय हुनुपर्छ भन्ने मान्छे हुँ ।’ दाइले भन्नुभयो ।
त्यसपछि जनताको बहुदलीय जनवादका कुरा भए । उहाँ कस्तो खालको कम्युनिस्ट हो भन्ने कुरा भए । जब सिद्धान्तहरूको कुरा आयो, मैले एकाएक मेरा साथी डम्बर खतिवडा सम्झेँ । सायद द्वारिक दाइलाई थाहा छैन होला, डम्बरजीको नाम अकिञ्चन खतिवडा पनि हो । डम्बरजी एउटा राम्रो कथाकार पनि हो । उहाँले लेखेको ‘सन्ध्या गुप्ताको आत्मकथा’ शीर्षकको कथा सायद द्वारिक दाइले पढ्न पाउनु भएको छैन । पञ्चायतविरुद्ध मानपुर, सिङ्गियातिर लुकीलुकी रसियन किताबहरू पढ्दै गर्दा, सञ्जय थापाका किताबहरू पढ्न साथीहरूलाई प्रेरित गर्दै गर्दा, कवि गोकुल जोशीको स्मृतिमा आयोजित कविता गोष्ठीमा हामीलाई इनरुवातिरबाट बोलाउँदै गर्दा, रातभरि सर्टभित्र लुकाएर नेकपा मालेका दस्तावेजहरू ओसारपसार गर्दैगर्दा डम्बरजीको नाम कमरेड ‘बसन्त’ थियो । मलाई लाग्छ, द्वारिक दाइको डम्बरजीसँग २०४६ सालपछि मात्र भेट भएको हो । जतिखेर डम्बरजी इनरुवामा एमाले पार्टी कार्यालयमा कार्यालय सचिव भएर बस्न थाल्नुभयो । पार्टी कार्यालयभित्रै एउटा स्तरीय पुस्तकालय सिर्जना गरेर हामी कम्युनिस्ट इतर सिद्धान्त मान्ने केटाहरूलाई पनि आकर्षित गर्न रचनात्मक कामहरू गरेर देखाउन थाल्नुभयो ।
तर, यी सब कुरा मैले द्वारिक दाइसँग गरिनँ ।
‘सिद्धान्तको कुरा गर्दा डम्बरजीको प्रतिभा एमालेभित्र अटाउन नसकेको सम्झिन्छु कहिलेकाहीँ !’ मैले यति मात्र भनेँ ।
‘डम्बरजीको कुरा अर्कै छ,’ दाइले भन्नुभयो, ‘उहाँ आफ्नै कारणले पार्टीमा अटाउनुभएन । त्यो बेला उहाँले अलिकति बढी नै महत्त्वकाङ्क्षा राख्नुभयो ।’
‘अनि तपाई चाहिँ सांसदको चुनाव नलड्ने कहिले ?’ म सोध्थेँ ।
‘के गर्नु जब टिकट दिने कुरा हुन्छ, मलाई हार्ने ठाउँमा मात्र टिकट दिन खोज्छन्, बरु त्योभन्दा राम्रो लड्दिनँ भन्यो, मन सम्झायो बस्यो ।’ डम्बरजीको जवाफ हुन्थ्यो ।
तर यी सब कुरा पनि मैले द्वारिक दाइसँग गरिनँ । किनकि मलाई डम्बरजीका बारेमा त्यति कुरा थाहा थियो, जति उहाँलाई थाहा थिएन ।
०००
‘त्यो मैले चन्दा माग्न आएका बालबालिकालाई हपारेँ भन्ने कुरा चाहिँ कसले के सुनाइदियो तपाईलाई ?’
द्वारिक दाइ मैले उहाँलाई लेखेको खुला–पत्रको अलिकतिभित्र छिर्नुभयो त्यसपछि ।
‘माफ पाउँ दाइ !,’ मैले भनेँ ‘त्यो तपाईको भेटघाट होटल छेउको घरमा सरस्वती पूजाको चन्दा होस् कि शैक्षिक भ्रमणका लागि सहयोग माग्न आएका भाइबहिनीहरूसँग भित्र आँगनमा तपाईले अलि ठूलो स्वरमा बोल्दै गर्दा म बाहिर आफैँ गेटमा उभिइरहेको थिएँ ।’
‘ए, त्यो हर्दियाको स्कुलको मास्टर हो तपाई ?’
‘हजुर दाइ !’
‘म पनि पहिले मास्टर थिएँ । सुरुमा स्कुलको काम छोडेर राजनीतिमा आउँभन्दा त्यति सम्भावना देखेको थिइनँ । तर, हुँदै हुँदै गर्दा पछि राम्रै भयो ।’
त्यस बिचमा दाइले दुई पटक हरियो पत्ति चिया कपमा सारेर चिनी अलग्गै राखेर हामीलाई दिइसक्नु भएको थियो ।
‘तपाईहरू चिनी कति राख्नुहुन्छ, लिनु है ! के गर्नु आफूले त चिनी खान्नँ । चिनी रोग लागेको छ, बिहान लिफ टि मात्र खान्छु,’ दाइले भन्दै गर्दा सिँढीतिरबाट एउटा मान्छे, लुसुलुसु माथि उक्लियो ।
‘ए, ए, ए, उसलाई रोक रोक !,’ दाईले एक जना सहयोगीलाई भन्नुभयो, ‘लाऊ, यो पचास रुपियाँ देऊ उसलाई ।’
पैसा पाएर त्यो मान्छे सरक्क सिँढी ओर्लियो ।
‘देख्नुभो यस्ता छन् मेरा जनता !,’ दाइले भन्नुभयो, ‘त्यो मान्छे रक्सी खान पैसा माग्न आएको थियो । नदिएको भए ऊ यहीँ कोठामा आउने थियो र हामीलाई डिस्टर्व गर्ने थियो ।’
‘दाई तपाईले कोही एक जना पत्रकारलाई प्रेस सल्लाहकार नियुक्त गर्नुप¥यो पहिले,’ मैले आगन्तुक दरपियाका कारण भङ्ग भएको क्रम जोड्दै भनेँ ।
त्यहाँ हामी बिच इटहरीको पत्रकारिताको सवाल आउनु जरुरी थियो । समग्र पत्रकारिताको कुरा आउनु जरुरी थियो । किनभने मैले खुला–पत्रमा पत्रकारहरूलाई सार्वजनिक कार्यक्रममा डाइलग नदिन, पत्रकारको अपमान हुने शब्द नबोल्न, पत्रकारितासँग कुनै समस्या भए पत्रकार महासङ्घका प्रतिनिधिहरूसँग बसेर समस्याको समाधान गर्न सुझाएको थिएँ ।
‘यो मैले गर्ने कुरा हो । मैले गर्छु वा के गर्छु, त्यो मेरो काम हो ।’ दाइले जवाफ दिनुभयो ।
मैले सुनेको थिएँ, कसैलाई पनि नमागेको सल्लाह दिनुहुँदैन । त्यसले उल्टो काम गर्न सक्छ । तर, मेरो कुरा सुनेर दाइ रिसाउनु भएन । उहाँ मसँग हाँसीहाँसी कुरा गरिरहनुभएको थियो ।
‘ल त सुविदजी, तपाईसँग अलि लामै कुरा गर्न मन थियो । तर, समय मिलेन । पछि फेरि कुरा गराँैला !’
दाइले समयको महत्त्व बुझाउन हिजोआज जुन प्रयास गरिरहनुभएको छ, त्यसको म प्रशंसक हुँ । ढिलो–चाँडो हामी सबैले समयको महत्त्व र माग बुझ्नैपर्छ ।
‘हुन्छ दाइ, फेरि भेटौँला !’
त्यसपछि दाइ हाँसपोसातिर लाग्नुभयो । म बालग्रामतिर ।
०००
अब अलिकति गोबर र खरानीको कुरा गरौँ ।
पञ्चायतकालमा परिवर्तन चाहने अग्रगामी युवाहरू कोही गोबर हुन्थे । कोही खरानी हुन्थे । कम्युस्टि जतिलाई खरानी र काङ्ग्रेस जतिलाई गोबर भनिन्थ्यो । तर, मैले गोबरको सन्दर्भ यो राजनीतिक प्रसङ्गसँग जोड्न खोजेको होइन ।
गोबर त हाम्रो सनातन संस्कृतिसँग जोडिएको वस्तु हो ।
जतिबेला म सानो थिएँ, आमाले, दिदीहरूले हाम्रो घरको कोठा–चोटा, आँगन सबैतिर गोबर पानी घोलेर मजाले लिप्नुहुन्थ्यो । गोबरले लिपेको देखेपछि हामीले घरमा कुनै चाडवाड वा सराद आदि भएको जनाउ पाउँथ्यौँ र खुसीले रमाउँदै आँगनमा उफ्रिन्थ्यौँ । खासगरी त्यो दिन टीका लगाएर पैसा पाइने भो भन्ने हाम्रो अन्तर्यमा हुन्थ्यो । चाडवाडमा, सरादमा चेलीबेटीहरूलाई खोजी–खोजी टीका लाइदिएको र पैसा दिएको मलाई मन पर्दैनथ्यो । मलाई पनि पैसा चाहियो भनेर माग्थेँ । छोराहरूलाई पैसा दिने होइन, बरु छोराहरूले चेलीबेटीहरूलाई पो दिनुपर्छ भनेर आमा–दिदीहरूले सम्झाउन खोज्नुहुन्थ्यो । तर, म मान्दिनथेँ । बरु, रोइदिन्थेँ । रोएपछि मलाई पनि पैसा दिनै पथ्र्यो ।
सानोमा गुइँठा बनाउन काम लाग्छ, घरको भित्ता लिप्ने माटोमा भुससँग मिसाउन काम लाग्छ भनेर दिदीहरू बाटोमा, खेतमा, चरउतिर गोबर टिप्न पठाउँथे, ढक्की बोकेर । हामी पनि जे भेटियो त्यही टिपेर ल्याउँथ्यौँ । कुन गाईको गोबर, कुन भैँसीको गोबर ! एकै ठाउँ हाल्यो, ल्यायो । हुन्डीमुन्डी ।
अलि ठुलो भएपछि पनि जब–जब म आमाले, गाईको गोबरले लिपेको ठाउँमा पुग्थेँ, गोबरबाट आउने एक प्रकारको सुगन्धले मन छुन्थ्यो । मजा आउँथ्यो । तर, यसको फाइदा के छ ? बेफाइदा के छ, त्यो बेला हामीलाई केही थाहा थिएन ।
पछि बुझ्दै जाँदा गोबर, खासगरी गाईको गोबर हाम्रो संस्कृतिमा आउनु, त्यसले हाम्रो भान्सा वरपर सम्मानजनक ठाउँ पाउनुका अनेकौँ वैज्ञानिक कारणहरू रहेछन् । स्वाथ्यका दृष्टिकोणले । औषधीय गुणका कारणले । मनोवैज्ञानिक कारणले । आवश्यकताका कारणले पनि । गोबर निकै शक्तिशाली इन्धन रहेछ । प्राङ्गारिक मल हुने, विद्युत्–ताप उत्पादन गर्न सक्ने अद्भूत क्षमता छ गोबरसँग । आइ लभ गोबर । मलाई गोबर मन पर्छ । त्यसमा पनि गाईको गोबरसँग मेरो विशेष सम्बन्ध छ । एउटा हिन्दूवादी अभियन्ता हुनुको विशेष साइनो पनि छ, योसँग मेरो ।
तर, द्वारिक दाइले मेरो भावना बुझ्नुभएन । चाहना बुझ्नुभएन ।
त्यसैले म अझै छक्क परिरहेको छु, त्यो दिन द्वारिक दाइले मलाई उहाँको घरमा जाँदा ‘तपाईलाई यहाँ आउँदा गोबर गन्हायो होला किन भन्नुभयो ? के सोचेर भन्नुभयो ?’
सायद मेरा बारेमा उहाँका मनमा अझै कुनै इन्फेरिओटी कम्प्लेक्स कायमै छ । हीनता–भाव बाँकी नै छ ।
०००
bisnuprasad.bg@gmail.com
No comments:
Post a Comment