भाइरल गर्लका नाममा


– सुविद गुरागाई

स्वघोषित अधिकारकर्मी, पार्टीगत कारबाहीमा परेकी पूर्वकथित माओवादी, वर्तमान प्रधानमन्त्री केपी शर्माओलीकी स्वघोषित धर्मपुत्री, विभिन्न मान्छेसँग बार्गेनिङ गरी हिँडेको भिडियो–अडियोबाट बेलाबेलामा चर्चित, केपी ओलीको नेतृत्वको सरकारलाई अप्ठेरो पर्ने भो भनेपछि निर्मला हत्या–कान्डसँग सम्बन्धित अभियान र आन्दोलनलाई दिग्भ्रमित गर्न पेटीकोट लगाएर सडकमा आउने, म कुनै केटा भाडामा लिएर बच्चा जन्माउन चाहन्छु भन्दै नेपालको हावापानी माटो नसुहाउँदो अतिवादी फेमिनिस्ट कुरा गर्ने, बाबुआमाले बिहे गर छोरी भन्दा बाबुआमालाई नै मुद्दा हाल्ने, म दोस्रो मेनुका थापा अर्थात् अर्थात् रक्षा नेपालको अध्यक्ष हुँ भन्दै मान्छे ढाँट्ने, जय–नारी ह्यास ट्यागसहित सामाजिक सञ्जालमा चेलीबेटी उचाल्ने, भाइरल गर्ल सावित्री सुवेदीजीले सोचेजस्तो कफल्लो र भ्रष्ट मान्छे होइन सुविद गुरागाई । नारी अधिकारको सवालमा निरन्तर आवाज उठाएबापत देशभरिबाट छनोट गरेर यो राज्यले सार्वजनिक सम्मान तथा पुरस्कृत गरेको एक पत्रकार हो । यो कुरा ‘भर्खरभर्खर ‘जन्मिएकी सावित्रीलाई थाहा नहुनसक्छ तर एकपुस्ता अगाडिको दुनियाँलाई थाहा छ । नेपाली चेलीको विपक्षमा संविधानसहित मुलुकका कतिवटा कानुन छन् र तिनमा समानताका लागि के गर्नुपर्छ भनेर देशमै पहिलोपटक समाचार–टिप्पणी लेख्ने मानिस पनि मै हुँ ।
यो मुलुक र समाजको विडम्वना यही छ । एउटा भ्रष्टतामा रमाइरहेको कोही पात्र (कुपात्र)लाई पनि सार्वजनिक ठाउँमा ‘हजुर’ भनेर लेख्नुपर्दा, बोल्नुपर्दा मन भत्भती पोल्छ । म कस्तो समाजमा बाँचिरहेको छु भन्ने सामान्य ग्लानि पनि हुन्छ । मनले भन्छ, तथानाम गाली गरुँ । गलत कुरा लेख्ने÷बोल्नेहरूको सातो उडाउँ । तर गाह्रो छ । आचारसंहिताको प्रश्न छ । देखिइरहेको छ कि अमुक मान्छे भ्रष्ट छ, तर टुलुटुलु हेर्नुपरिरहेको छ । प्रमाण पु¥याउने धम्की हुन्छ । देखे जति सबै कुराको प्रमाण पु¥याउन सकिँदैन, त्यसैले यस्तो बेलामा चित्त दुख्छ र ‘जेहादी’ हुन मन लाग्छ । कि वार कि पार ! तर अहँ, म एक्लै कि वार कि पारको लडाइँमा उत्रिँदा पनि समाजमा जरो गाडेर हुर्केका भाइरसहरू सकिन्छन् भन्ने लाग्दैन र संयमित हुने प्रयास गर्छु । म मर्दैमा समाजका भाइरस, दलाल, हण्डीवाज, बलात्कारी, भ्रष्टाचारीहरू सकिन्छन् भन्ने लाग्दैन । यसखालको मेरो आहुति बेकार जान्छ भन्ने लाग्छ । र मन सम्झाउँदै समाजमा आफूले सकेको जति सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेको हुन्छ । मेरो घर, कार्यालय, गाउँठाउँ जहाँजहाँ म जोडिएको छु, ती सब ठाउँमा मेरो त्यो प्रयास यथावत् हुन्छ । एउटा सामान्य गमलामा झार उम्रेको देखें भने पनि झार उखेलेर गमला स्याहार्न मन लाग्छ । उल्टेको चप्पल त झन् म देख्नै सक्तिनँ । भित्तामा लेखिएका फोहोर शब्दहरू मेटाउँदै हिँड्न मन लाग्छ । म आफ्नो वा अरूको बारेमा सीधै कुरा गर्छु । सीधै लेख्छु ।
म रुखमा भोट हाल्छु । यो मेरो नागरिक अधिकारको कुरा हो, कुनै सार्वजनिक आलोचनाको विषय होइन । पत्रकारिता र लेखन मेरो प्रोफेसन हो । एउटा डाक्टर कांग्रेसी हुनसक्छ तर अस्पतालमा रोगीहरूका अगाडि ऊ केवल एउटा चिकित्सक हो । यति सामान्य कुरा पनि मान्छेले नबुझेको देख्दा ताज्जुब लाग्छ ।
व्यक्तिगत रूपमा म हिन्दुवादी कार्यकर्ता पनि हुँ । तर व्यावसायिक रूपमा मैले सयौँ मुस्लिम युवाहरूलाई नेतृत्व विकासको तालिम दिएको छु । मदर्शाका मौलानाहरूको घोषणा–पत्र लेखेको छु । म घोस्ट राइटर पनि हो । पैसा दिने हो भने म जसको पनि जीवन कहानी लेखिदिन्छु । आदरणीय कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जीवन कहानी भर्खरै लेखिसिध्याएको छु ।
मैले मेरो पत्रकारिता र लेखनको ३२ बर्से (२०४५ सालदेखि निरन्तर) करियरमा समय–सन्दर्भ मिलाएर धेरैका बारेमा धेरै कुरा लेखेको छु । त्यसबेला नदुखेको टाउको टाउको द्वारिकलालको बारेमा लेख्दा चाहिँ किन दुखेको छ ?
लेख्न दिनु नि मलाई के लेख्न मन लाग्छ । गलत लेखे मैं बिग्रिन्छु, सजायको भागिदार हुन्छु । दुनियाँको के जान्छ ?
 

No comments: