देवपत्तनमा मस्तराम !

‘उत्तम छनोट’ ... हामी जीवनभरि नै छनोट गरिरहन्छौँ । कुनै समयमा ठीक... कुनै समयमा बेठीक ।
‘ओ दाइ ! शिवरात्रीका दिन पनि यो क्रिश्चियन विचार भएको किताप किन बाँडेको ?’
‘के गर्ने बहिनी हाम्रो धर्मै यही हो !’
सनातनी समाज धर्म–निरपेक्षताको सङ्क्रमणकालीन अनुभूतिमा फसेको सवाल–जवाफ यथास्थितिमा छोडेर बायाँ च्याप्दै म अगाडि बढेँ ।
धमिलो पानीमा माछा मार्नेको कमी छैन ।
‘आम्मै ! नपेल न !, लाइनमा हिँड्नुपर्छ साथी हो, पालो मिँच्नुहुन्न, सबैको जिन्दगी एउटै हो । बाटो अप्ठ्यारो छ ।’
देवपत्तनबाट ओरालो झर्दाझर्दै म बाग्मतीको बाँधमा, अनियन्त्रित हुँदै गएको भिडको एउटा भाग भइसकेको थिएँ । अचानक स्वस्थानीमा वर्णित नदीको पुलमा एउटा पुलिस आँधी बनेर देखियो र मलाई तीन सिँढी तल धकेली दियो ।

‘साला ! कस्तो हरामी रहेछ ।’ भिडको मनोविज्ञानअनुसार मैले आफू सञ्चारकर्मी भएको एकपल बिर्सिएँ ।
‘के भनिस् रे !’
सबै चुपचाप । कोही झगडा गर्ने मुडमा थिएनन् । मैले पनि रिस, आवेग र लज्जालाई मनको हार्डडिस्कबाट सिफ्ट–डिलिट गरेँ ।
‘हतार नगरौँ है ! सबको जाने बाटो एउटै हो, अलिकति ढिलो–चाँडो मात्र त हो ।’
‘काका ! भनेर च्याप्प हात समातेको त अर्कै केटा पो रहेछ, कस्तो लोभलाग्दो पाराले हे¥यो विचराले !’ एउटी पिङ्गला उन्मुक्त देखिई ।
‘मेला घुम्दा घुम्दै ‘म्याडनेस’ जस्तै भो मलाई त !’
‘हेलो क्यामरा ! एक क्लिक पाँच रुपियाँ प्लिज !’
मान्छे पोलेको हरक प्रष्ट थाहा हुने ठाउँमा सधैं झैं न बाँदर सन्तुलित थिए, न घाटे बाहुनहरुको अत्तोपत्तो थियो । नेपाल पूरै पवित्र पाशुपतक्षेत्रमा रुपान्तरित हुँदै थियो ।
मोबाइलको नेटवर्कले काम गर्न गाह्रो मानिरहेको ठाउँमा सुनको छानो छिचोलेर आएको भजन तरङ्गले मेरो जीवनशैलीलाई प्रभाव पार्न सुरु ग¥यो ।
‘डिमीडिमी डमरु बजाउने बाबाको गलामा नागको माला छ,
हातमा डमरु साथमा त्रिशुल र भाङको झोला छ ...
भाङकै झोला झुलाउँला, भोलेलाई भुलाउँला ... !’
भाङ, धतुरो, गाँजा, अफिमको सनातनी हरकको जीवन्त प्रशारण गर्न ट्राइपडमाथि क्यामेरा एक्सनमा थियो । ‘कट् !’ निर्देशकको अप्रिय बोलीले मेरो तन्द्रा भङ्ग र भ्वाइसओभर गर्दागर्दै प्रस्तोता युवतीको अनुहार मलीन भयो ।
‘अनुहार चिन्ने गरी तान्दै गरेको नखिचौं है साथी हो ! व्यक्तिको गोपनीयताको हकको सवाल छ !’ धन्न कोही सचेत पनि हुँदा रहेछन् भिडमा ।
‘एकदिन त हो नि ! खा न खा आज ।’
‘ह्वाट ए नाइस् म्यान ! हु आर यु, हु एम आई ? छु मतलब ! तपाईले लेख्नुभो, लेख्नुस्, मलाई मतलब छैन । आपूm त ‘शिव ताण्डव’मा जाने हो अब ।’
‘लोकल दादा’ले स्थितिलाई सहज स्वीकार गरे । म निश्चिन्त क्षेत्रमा विचरण गरिरहेको थिएँ ।
‘भारत र नेपालका शिवजी एउटै रहेछन्, पशुपतिमा पनि त्यही गाँजा, हरिद्वारमा पनि त्यही गाँजा ।’
‘...ओ मस्तराम ! इधर, इधर !’ राम मन्दिर तल छिँडीमा मान्छेको अलमल छायाङ्कन हुँदै गर्दा एकाएक नागा बाबाको दृष्टिमा लक्षित भएँ म । मन्दिरको छाया परेको भागमा केही टिप्दै थिएँ । २० रुपैयाँको प्रसाद किनेर चाखिसकेको थिएँ । कहिले केटी, कहिले केटाको चाल हेर्दै थिएँ ।
‘हाथीका दील है फिर भी घबरा रहा है !’ बाबाजीले भक्तको मनोदशा बुझेर भने, ‘बहुत आगे जाएगा तुँ !’ सम्मोहित मेरो मनलाई ‘बाबावचन’ले तत्काल छोइहाल्यो । बसेर रमिते बन्ने मन थियो तर बाबाले रामनामीले छोपेर सुनको सिक्रीले बाँधी राखेको ‘साक्षात् भगवान्’को दर्शनको अवसर भिडमै उपलब्ध गराइदिए ।
‘जय प्रभु !’ मैले सनातनी भगवानलाई ठूली गरँे ।
‘आज् बैठ्नेका टाइम नही है, सम्झा करो, जिन्दा रहे तो फिर मिलेंगे ।’ बाबा निशुल्क सेवाग्राहीप्रति क्षुब्ध देखिए ।
‘ह्या, त्यता, शम्भुतिर हेर्नुपर्दैन, नहेर मैचा !’ सोल्टिनी सोल्टीको चेपाइमा परी ।
‘हेर्दैमा के हुन्छ, कतिजना पूजा गरिराखेका छन् त्यसैको !’ मन प्रतिबन्ध स्वीकार्न तयार थिएन ।
‘अब कता जाने ?’
‘बाटो मलाई पनि थाहा छैन !’
‘थाहा नहुनेले किन ल्याको त ?’
नजान्नेले प्रयास नै नगर्नु चाहिँ राम्रो होइन । मैले शिवप्रसाद अरु अलिकति थपँे । जोगी, भोगी, रोगी अन्त्यानुप्रास मिलेको अपूर्व विचित्र संसार झलझली आँखामा भयो ।
‘यी केटाहरु मात्र कति मरिहत्ते गर्छन्, खोई निकाल् त तँ पनि ।’
‘के ?’ बुझेर–नबुझेर लाजले रातो भयो गाला ।
‘पैसा !’
‘किन ?’ पहिलोपल्ट नयाँ अनुभूति हुने क्षणमा विस्मित थिइन् प्रश्नवाचक वनिता ।
‘शिवप्रसाद किनेर चाख्नुप¥यो, दस रुपैयाँमा दुई खुकुरी पाइँदो रहेछ ।’
‘खोइ बाबा यता, प्रसाद मलाई पनि अलिकति ।’
‘स्यावास बेटी ! प्रसाद मिल–बाँट्के खाना चाहिए, आयुर्वेदिक दबा हो !’
‘ए नानी ! चन्दन लगाएर जाऊ है... सोचेको पुग्छ !’ मनोरोगीको सल्लाह प्रेमरोगीलाई पचेन ।
‘वाहियात, १० वर्ष भो म लगातार शिवरात्रीका दिन पशुपति आउने गरेको, नयाँ आइटम केही छैन ।’
‘ल, तिमीलाई थाहा छैन ? घन्टी बाबा यस पटकको आकर्षण हो ।’
‘थाहा छ, तर एकपटक हेरे भैहाल्यो नि ! त्यही हेर्ने बहाना गर्दै ड्युटीमा बसेको मान्छे पनि कति त्यतै मात्र आँखा लान्छ्यौ ।’
‘ल, के भनेको यस्तो ? पशुपतिको जात्रा सिद्राको व्यापार गर्नु परेन ?’
‘के सिद्राको भन्छ्यौ, गाँजाको भन न !’
‘जे सुकैको भए पनि के गर्नु ? हामीले केटाहरुलाई समात्न जाने कुरा आउँदैन ।’
महिला प्रहरीलाई पनि भोले बाबाको प्रसादले फरक पारिसकेको थियो ।
‘सबै देउता पापी छन्, म के गरुँ ? तिम्रो  साथ नलिइकन म कसरी तरुँ ?’
भजनको जिङ्गल क्रमभङ्ग गर्ने प्रयासमा थियो कि रातोमा सेतो थप्दै लगेर गुलावी बनाउन चाहँदै थियो, भन्न सक्तिनँ ।
‘ए सीता ! खुकुरी चुरोट ले, शिखरको काम छैन आज ! कति सय बनाइस् ?’ साहुनीको बोली सुनियो ।
‘चार सय जति फिटियो ।’
‘आप्mनो त गिदी होलाजस्तो छ, कोही केटा आएकै छैनन् परिचय गर्न !’ आरती निरास छे ।
‘शिवरात्रीका दिन पशुपति नगए कहिले जानु ? माघमा सुन्तला नखाए कहिले खानु ?’
काम लाग्ने–नलाग्ने तुकबन्दी आउँदै–जाँदै थिए रिङरोडमा ।
‘ल ! भरतजी आउनु भो ! गुड ! रातभरि बस्नुपर्छ, प्रत्यक्ष शिवपार्वती लीला हेर्ने, भजन सुन्ने ।’
राममन्दिर, वनस्थली, मृगस्थली, गुहेश्वरी, कैलाशडाँडा, किरातेश्वर जताततै धुँवामा रमाउँदै थियो जिन्दगी ।
‘यहाँ त वातावरण नै यस्तो छ कि मलाई त नखाइकनै लागिसक्यो, खाएपछि झन् के हुने होला ?’ भरतजीलाई दिव्यज्ञान भयो ।
‘अलिकति, अलिकति भन्दाभन्दै अति गर्ने केटाहरुको बानी छ ।’
‘चुरा बाबा, घडी बाबा, नागा बाबा, हेर्न मजा आउँदो रहेछ ।’
‘ओम् शौभाग्यवती, शान्ति !’
पश्चिम ढोका अगाडि नन्दी छेउको शिलालेखमा, यो चलन कहिलेदेखि सुरु भयो भन्ने लेखेको देखिएन । बाहिर ‘लखनउ लुट’ चलेको थियो । दिने दिँदा छन्, लिने लिँदा छन्, खाने खाँदा छन्, हेर्ने हेर्दा छन् ! बिन्दास मान्छे छन्, गजब छ वातावरण ।
‘शिव इज लाइक रियल लिभ हियर । ओ, हामी डेनमार्कको । यहाँ गोप्य–गोप्य, त्यहाँ सपमा पाउँछ । यहाँ थोरै पैसा, त्यहाँ धेरै पैसा ।’ एकपटकको गँजडी, सधैँको गँजेडी । सीमा छिचोलेर दुनियाँ बिर्सने अभ्यासकर्ताहरुको घुइँचो किरातेश्वरको उकालोमा भेटियो ।
‘किरातेश्वर जाने बाटो थाहा छैन भने कि गुगलमा सर्च गर्नू कि १९७ मा सोध्नू !’ ठट्टा मन पराउने स्वामी ज्ञानमित्रको प्रस्तुति कसैलाई आपत्तिजनक लाग्यो । ‘ओ स्वामीजी, के गरेको यस्तो ?’
‘फोटो खिच्नू न फोटो ! फेसबुlकमा हाल्न हुन्छ ! क्याप्सन ... शिवप्रसाद वितरणको तयारीमा स्वामी !’
मबाट हामीमा रुपान्तर हुने क्रम राती दुई बजेसम्म चल्यो ।
प्रत्येक वर्ष शिवरात्रीमा किरातेश्वरमा स्वागत छ, पत्रकारहरु पदम गौतम, नारायण अमृत, मोहन ढुङ्गेल, सुदर्शन घिमिरे, मनबहादुर बस्नेत, सुविद गुरागाईलगायत ज्ञानमित्रका साथीहरुको ।
‘मस्तराम मस्ती मे, आग लगे बस्ती मे ... लगने दो भाइ । म यही मनस्थितिबाट गुज्रिरहेको छु धेरै सालदेखि ।’ स्वामीजीको प्रष्टीकरण छ, ‘सब शम्भुको कृपा हो, जय शम्भु !’
किरातेश्वरमा पुरानो पुस्ताले नयाँपुस्तालाई पर्वको रमाइलो अनुभूति हस्तान्तरण गर्ने परम्परा थालेको दुई दशक बित्न लाग्दै छ ।
‘झाँपो झाँपो निगाली झाँपो, दिन्न छोरी भन्नेले के नाप्यो ? ... ओ ! इन्सपेक्टर साहब कस्तो लाग्यो यो गीत ?’ ‘यो एक बजे राति, हल्ला गर्ने होइन पत्रकार साहब !’
गुहेश्वरीछेउ, पुरानो धरहराको अवशेषनजिक विशाल खत्री पत्रकारबाट जोगी हुँदै समाजसँग अलग्गिएर चिरसाधनामा लिप्त भएको केहीबेर स्थलगत खोजीचर्चा भयो र बाग्मतीमा पानीफोकाझैं बिलाएर गयो ।
वनकाली छिचोलेर चक्रपथ लक्षित हुँदै गर्दा हाम्रो पछिपछि भक्तराज आचार्यको लयको रिमिक्स आउँदै थियो, ‘सब निदाए प्रभु, छैन कोही साथमा, एक्लै छ प्राण यो अधेँरी रातमा ।’
महान तीर्थस्थलमा पूरै सफाइका साथमा शान्ति, भक्तिमय सङ्गीतमा बाँदरहरु पनि रमाइरहेका थिए ।
‘लोकतन्त्रका अभाव था, आज भी है, इसिलिए जो है... महगाईका जमाना है, आप तो जानते है ... दील दरिया, प्यार समन्दर है... हर हर महादेव !’
साधु, सन्त, महन्त मात्र किन तपाईं पनि मस्त रहनुहोस् र रहन दिनुहोस् !
– सुविद गुरागाईं (Rajdhani Daily, 6 Fagun, 2068)

No comments: