सुविद गुरागाईं
०००
उनको गालामा सजिलै रङ लगाउन पाउनु, मेरा लागि यो अन्तिम अवसर हो । फागुको रङमा तराई लछ«प्पै भिज्ने दिन फागुन २५ गते त्यो शुभसाइत जुर्नेवाला छ, जसको मलाई तीव्र प्रतीक्षा छ ।
विज्ञानलेखक बालकृष्ण समको नियमित आकस्मिकताको सिद्धान्तअनुसार उनी पनि त्यो घडीको मधुर पर्खाइमा छिन् ।
हाम्रो रङसहित भेटको अर्थ सांस्कृतिक शब्दकोशमा मात्र छ । म मधेसमा जन्मेको पहाडे अनुहारको भूमिपुत्र । उनी विशुद्ध मधेसी वाला । हाम्रो विषय पनि एउटै, समाजशास्त्र । दुवै सामाजिक अन्तर्घुलनको मात्रावृद्धिसँगै रमाउन मन पराउने । उनलाई दसैँमा पिङ खेल्न, तिहारमा सेलरोटी खान र भैलो खेल्न खुब मनपर्ने । मलाई छठ, होली, समाचकेवा आफ्नैजस्तो लाग्ने ।
कोसीमा धेरै पानी बगिसकेपछि, उनलाई मैले पहिलोपल्ट सुनसरी क्याम्पसमा भेटेको ।
‘समयको खेल कोही पास कोही फेल ।’ भन्दै कुराकानीका क्रममा एकदिन हामी निकै बेर हाँस्यौँ ।
‘सुविद दाइ ! तपाई किन त्यसो गर्नुहुन्छ ?’ हामीबीच पुस्तान्तर छ । तर, उनले त्यसलाई बिर्सिदिएर मलाई सजिलो बनाइदिएकी छिन् ।
‘के गरेँ मैले त्यस्तो आपत्तिजनक ?’ दादा कोड्केजस्तो दुईअर्थी संवाद बोल्ने अवसर पाउँदा मन फुरुङ्ग हुन्छ ।
‘त्यही क्या ! जाँचमा तपाई मिलाई–मिलाई बिस्तारी अक्षर लेख्नुहुन्छ !’ उनलाई मेरो कमजोरी थाहा छ । अत्यन्त माया गर्छिन्जस्तो लाग्छ । कस्तो माया उनको ? मैले छिटो लेख्दा मन खुसी हुने !
‘तिमी घर कहिले फर्किन्छ्यौ काठमाडौँबाट ?’ मैले कुरालाई विषयतिर घुमाएँ । उनी अधिकृतको परीक्षाको तयारीको सिलसिला बोकेर केही समयदेखि राजधानीमै छिन् ।
‘आइहाल्छु नि होलीभन्दा तीन–चार दिनअघि ।’ म जे सुन्न चाहन्थेँ, त्यही भनिन् ।
‘राम्रो !’ म खुसीले उत्तेजित भएँ, ‘अनि के छ नि, यसपटक होलीको कार्यक्रम ?’
‘सधैँझैँ साथीहरूसँग रङ–अबिर खेल्ने, मालपुवा पकाउने, खाने ।’
‘त्यति मात्र, मेरा लागि केही छैन ?’
‘तपाईका लागि त मेरो आँगनमा सदाबहार स्वागतद्वार हुन्छ, थाहा छैन र तपाईलाई ?’
थाहा थियो मलाई । उनी घरि–घरि साहित्य बोल्छिन्, कविता बुझ्छिन् । सायद, त्यसैले हाम्रो सङ्गति मिलेको छ ।
०००
शिव खेडाको ‘जित आपकी’ पढ्नुभन्दा पहिलेदेखि नै म कुनै पनि काम फरक ढङ्गले गर्न मन पराउँथेँ । होलीमा पनि त्यस्तै हो । अरूले प्रायः प्रयोगमा नल्याउने सुगन्धित पहेलों अबिर गोजीभरि हालेर सङ्गति पछ्याउँदै इनरुवा पुग्छु, प्रत्येक फागु पूर्णिमामा । संस्कारअनुसार बिहानैदेखि रङमा भाङ मिसिइसकेको हुन्छ त्यो बेलासम्म ।
‘लु, सुविद दाइ आइपुग्नुभो ! तपाईकै पहेलों रङको कुरा हुँदै थियो साथीहरूसँग, आज किन ढिलो ?’ मलाई देख्नासाथ खुसीको घाम फैलिन्छ आँगनभरि ।
‘खोइ, आऊ त यता !’ म फुर्तीसाथ विषयवस्तु नजिक पुग्छु ।
‘लु !’ अनुहार छोप्ने आसमा निकै बेरदेखि झुन्डिएका केही चुलहरू कानपछाडि धकेलेर मेरा लागि ठाउँ प्रसस्त बनाइदिन्छन् र मुसुक्क हाँस्छिन् ।
हातमा रङ छ, गालामा लगाउनु छ ! कतिपय मौकामा म ढिलो काम गर्ने मान्छे होइन ।
पटकथामा, आँगन छेउमा आँपको रुख हुन्छ । रुखमा ढकमक्क मुजुरा छन्, सुविद–लीलाका साक्षी । ठिक्क बेला छ तिनको पनि । खास कथाको सुरुवात यहीँबाट हुन्छ । पूरै कुरा बुझ्न केही समय लाग्छ ।
स्मरणीय छ, त्यतिबेला उनले आखाँ चिम्लेकी हुन्छिन् । सामुन्ने प्रेमी केटा हुन्थ्यो भने उनको त्यो प्रस्तुतिले ‘स्पट–डेथ’ हुन्थ्यो होला !
०००
सनातनदेखि मन उही मियोमा घुमिरहेको छ बारम्बार । तपाईंले कत्तिको विचार गर्नुभएको होला, थाहा छैन । तर, तराईतिर होलीमा गाइने गीत, क्यामेराले संवेदनशील क्षेत्रमा जुम इन गरेको फुटेज र सम्पादकले पत्रिकामा छाप्नका लागि छनोट गरेका तस्बिर छाडा लाग्छन् ।
परिस्थिति मिल्दा रङ हाल्ने बाहानामा चोली भिजाइदिएर रमिते हुनेको सङ्ख्या धेरै देख्छु । आँखा र हातले नियन्त्रण–रेखा छिचोल्नसक्ने खतरा पनि विद्यमान हुन्छ । आँखा लोभी मन पापी समाजले पचाएकै उखान हो । कसलाई के भन्नु ? बिहानैदेखि रङ र भाङले रमरम हुन्छ सिङ्गो समाज ।
कल्पना पनि के गर्नु ! रङ नहुँदो त यो संसार कस्तो हुँदो हो ?
फेरि, मान्छेको स्वभाव तपाईलाई थाहा छँदैछ । केही नलेखिएको सादा पाना भेट्टाए भने मान्छेले अनेक रङ पोतेर विरूप पार्न बेर लाउँदैनन् । आफूखुसी लगाएको रङ अरूलाई मन पर्छ कि पर्दैन ? धेरैलाई केही मतलव हुन्न । घाट ढुकेर दिक्क लगाउनेहरू बढ्दै छन् ।
मेरो सन्दर्भमा भने, यो जससँग सम्बन्धित छ, उनीहरूमा सङ्ग्रहालय पु¥याउनलायक बख्तरबन्दजस्तो अकारण चलायमान हुँदैन भन्ने विश्वास पर्याप्त छ ।
०००
उनको गालाको कुमारी क्यानभासमा मैले आफ्नो मनपर्ने रङ सजाउन थालेको छ वर्ष भयो । यो सातौं वर्ष हुने छ । त्रिभुवन विश्वविद्यालयले पनि उही विषयको बाँकी परीक्षा सात वर्षसम्म मात्र दिन पाइने नियम बनाएको छ । त्यसपछिको हकमा कथाले विशेष व्यवस्थाको माग गर्छ ।
कोही पनि भ्रममा नपर्नुहोला ! उनले उपलब्ध गराएको मौका र विश्वासको मैले अहिलेसम्म दुरुपयोग गरेको छैन ।
केवल, भो नभनुञ्जेल रङ लगाएको छु । श्लील आकृतिहरू सजाउने क्रममा गालामा समायोजन मिलेको रङको पूर्ण वृत्त, ओठमाथि पञ्जावी जुँगा र निधारका शिवनेत्र बनाइसकेपछि कुनै अद्भूत सिर्जना निर्माण भएको खुसीमा मुसुमुसु हाँसेको छु ।
सिकारु कलाकारले बनाएको कुनै पनि चित्रमा सुन्दरता, अज्ञानता र कुरूपता तीनै वास्तुको सघन उपस्थिति हुन्छ । मान्छे हाँस्न पर्याप्त कारण चाहिँदैन । छँदा–खाँदाको राम्रो मान्छेलाई बहुरूपि बनाएर हाँस्न मजा आउँछ ।
सिम्पल–सिम्पल कान्छीको डिम्पल परेको गोरो गालामा जुनसुकै रङ पनि बिछट्टै सुहाउँछ । तर, मलाई उनको गालामा पहेलों रङ सुनमा सुगन्धजस्तो लाग्छ ।
०००
डेजी गुप्ता । खुला दिल र औसत उचाइँ भएकी नेपाली केटी । समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत । उमेर मलाई थाहा छ तर सबै कुरा सार्वजनिक गर्ने बेला अझै भएको छैन भन्छिन् ।
पहिले मित्र कृष्णकी भतिजीको साइनो जोडेर परिचय भएको हो । रहँदै–बस्तै जाँदा असल साथीकै रूपमा ‘टेक केयर’ गर्ने भइन् ।
वर्षौंदेखि होलीको दिन मेरा लागि उल्लेख्य हुनमा केटी साथीहरूको फराकिलो योगदान छ । पश्चिमको घामसँग मितेरी लगाउने बेला एउटा गजलगो, पत्रकारलाई कलाकारको भूमिकाका लागि दैलो उघारी दिनेप्रति आजीवन कृतज्ञ छु ।
आस्मा, राधा, रश्मि, मन्दिरा, गीता, उर्मिला, सुलोचना आदि केटीहरूको एउटा समूह नै थियो, होलीका दिन निसङ्कोच रङ लगाउन पाइने । यीमध्ये केही मेरै संसारमा बाँकी छन्, केही बिहे भएर अर्कै संसारमा पुगिसके ।
डेजीको पनि यो बैशाखमा बिहे हुने पारिवारिक चर्चा सुरु भएको सुन्छु । डिटेल मैले आवश्यक सोचिनँ ।
‘त्यसपछि मैले तिमीलाई रङ लगाउन पाउँदिनँ त ?’ केही गुम्न लागेकोमा, मनमा अहिलेदेखि नै चिन्तित अक्टोपस बढ्दै जान थालेको छ ।
धन्न ! उनले आशाको त्यान्द्रोलाई चुडिँन दिइनन् ।
भनिन्, ‘ए, किन नपाउनु नि ! जत्ति पाइन्छ । हाम्रो मिथिला संस्कृतिमा कसैले माइन्ड गर्दैन त्यस्तो !’
०००
राजधानी दैनिक २०६८ चैत २० गतेको सौजन्यमा प्रकासित सामग्री

No comments:
Post a Comment