लम्सालको गर्भमा अर्को महाकाव्य

–सुविद गुरागाईं
एकै देश अनेक जात थरमा राई र लिम्बू म हुँ,
साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे म हुँ ।
राज्यै छैन र राजवंश भनिने त्यै राजवंशी म हुँ,
गनगाई र सतार पूर्वतिरका पूर्वीय थारु म हुँ ।
चण्डी पालम गाउँदै रस भरेँ कोसी तरेँ पश्चिम,
सेतो सोलु पुगेँ र स्याब्रु धूनमा चाखेँ हिमाली रङ ।
तोङ्बा तान्न र टोक्न टक्क सुकुटी कैले सिकेँ खै कुन्नि !
सल्लेरी हिउँ फाँटमा सगरको माथा उभेको मुनि ।
यस्तै–यस्तै अनुभूत गर्दै महाकवि नवराज लम्साल र सार्वजनिक हुन बाँकी एउटा पात्र काव्य शर्माको टोली यतिबेला देश दौडाहामा छ । कवि लम्सालसँग वर्तमान यथार्थको फिक्सन पात्र काव्य शर्मा मेची हुँदै कोसी तरिसकेको छ । भीमदत्त नगरपालिका छिचोल्दै महाकाली पुग्ने र वास्तविक अनुभूत गर्ने लक्ष्यमा अघि बढ्दै छ । सुदुरपश्चिम पुगेर फर्केपछि कविले के लेख्छ ?
जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि निकै पुरानो मिथक हो । एकाकी लाग्ने यो मिथकमा आधुनिकताले थपेको छ, जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् अनुभवी ।
सबै कुरो थाहा हुँदा–हुँदै महाकवि लम्सालको सहयात्री काव्य शर्मा के लेख्ने मुडमा छ ? जिज्ञासा थाहा पाएर काव्य शर्मा मौन भयो । उसलाई थाहा थियो, सोध्नेले यो नजानेर सोेधेको होइन, हियाउन खोजेको पनि होइन ।
‘जे देख्छ त्यही लेख्छ !’ लम्सालले सहयात्रीको बचाउ प्रयत्न गरे । जवाफ सनातनी थियो । प्रिय लेखकबाट पारदर्श व्यवहारको आस गर्छ पाठक । अर्थात् ? जिज्ञासाको चुच्चो उही टुङ्गोमा थियो ।
देशको मूल जरोमा जातीय सद्भाव, एकता, मेलमिलाप र आपसी सम्मान छ तर बाहिर अतिवादको फोहोर, पात–पतिङ्गर, धूलो–मैलो र माकुराको जालोले लछ«प्पै छोपेको छ । त्यसलाई पन्छाएर उजिल्याउन कविको यो दौडाहाले सहयोग गर्छ भन्ने लम्साललाई लागेको छ ।
तर, मन–गर्भमा हुर्किरहेको भ्रुण महाकाव्यको नामाकरण भने भइसकेको छैन । प्रष्ट छ, महाकविको नयाँ काव्यको विषय प्रस्तुति नयाँ भए पनि नाम नयाँ हुने छैन । नेपाली शब्दकोशमा भएका हजारौंमध्ये कुनै एक शब्दले कुनै एकदिन कविको मन छुनेछ र फुर्नेछ नाम । तर, यतिबेला उपयुक्त नामको खोजीमा कुनै तन्नेरी वयको केटालाई दीर्घकालीन उपयुक्त यौनसाथीको खोजीजस्तो हुट्हुटी जागेको कविको मनमा ।
यतिबेलै मुलुकमा नाम र पहिचानको सङ्घर्ष चलेको छ । अतिवादको सेक्रिन घोलिएको यो सङ्घर्षको पृष्ठभूमि प्रस्तावित महाकाव्यको थिम बनेको छ । ‘थिम खेलिरहेको छ मनमा, थिम र विषयवस्तु मूल कुरा हो,’ लम्साललाई लाग्छ, ‘राजनीतिक नेताको आँखाले देखेको देश हामीले धेरै हेरिसक्यौं, हेरौं काव्य शर्मा अर्थात् कविका आँखाले छामेका देश कस्तो हुन्छ !’
दक्षिण एसियाका शिक्षालयमा भेटिने एउटा साझा शैक्षिक सामग्री हो, छडी । दक्षिण एसियाका मात्र किन, संसारकै कवि–लेखकहरुको मनमा एउटा साझा समस्या छ । उनीहरु जति वर्षपछि भेट्दा पनि आफ्नो कृति वा रचनाको वास्तविक समीक्षा हुन बाँकी नै छ भन्ने ठान्छन् ।
इटहरी–विराटनगर करिडोरमा केहीबेर कवि टोलीसँग घुलमिल हुँदा थाहा भो महाकवि लम्साल पनि नेपाली समीक्षकहरुसँग असन्तुष्ट रहेछन् । सुरुमै भने, मेरो आदर्श पात्र कर्णलाई समाजले अझै बुझेकै छैन ।
बृहत् महाकाव्य महाभारतका अनेकौं पात्रमध्ये कर्णलाई लम्सालले मुख्य हिरो मानेका छन् । ‘महाभारतमा कर्णमाथि चार–पाँच वटा अपराध भएको छ,’ आफ्नो सपना र छन्दमा जीवन्त रहेका पात्र कर्णका बारेमा लम्साल भन्छन्, ‘कर्ण आफ्नो समयमा चिन्न बाँकी सत्य थिए ।’
जन्मिनेबित्तिकै आमाद्वारा खोलामा फ्याँकिएका कर्ण राजवंशका हुँदा–हुँदै पनि सइसको घरमा हुर्किनुप¥यो । द्रोेणाचार्यसँग पढ्न जाँदा रथ तान्नेको छोरा राजा–महाराजाका छोरा पढ्ने ठाउँमा पढ्न पाउँदैन भनियो । अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धारी घोषणा गर्नुअघि कर्णले सार्वजनिक चुनौती दिएका थिए । तर, सर्वसाधारण भनेर उनलाई प्रतिस्पर्धामा भाग नै लिन दिइएन । महाभारत पढ्दा यस्तै अन्यायको शृङ्खला भेटेपछि लम्साल टुङ्गोमा पुगे, संसारमा कर्ण नैै उनको प्रिय पात्र हो । कर्ण नै हिरो हो ।
तर, महाभारतमा दुर्योधनले मित्र कर्णलाई हस्तिनापुर मातहतको  अङ्ग देशको भूमि उपहार दिएको र कर्णले पनि राजा हुन स्वीकार गरेको घटना गणतन्त्रवादी कवि लम्सालका लागि अस्वीकार्य थियो । जनस्तरबाट सङ्घर्षले खारिएको आफ्नो आदर्शपात्र कर्णको त्यो स्वीकारोक्ति तर्कद्वारा स्थापित गर्न छ महिना लागेछ । ‘भोक, पानी, निद्रा हराएको थियो, कर्णलाई कसरी राजा स्वीकार गर्ने ? मात्र त्यति एउटा तर्कनामा छ महिना बित्यो,’ लम्सालले भने, ‘तर एकदिन साँझमा हल निस्कियो र त्यो रात मजाले सुतेँ ।’
जब कर्णलाई निरन्तरको अपमानबाट बचाउन राजा बनाउने प्रसङ्ग अगाडि आयो, कर्णले एउटा प्रश्न गरे, यदि मजस्तो सर्वसाधारणलाई कुनै पनि देशको राजा बनाउन मिल्छ भने, हस्तिनापुरको राजसिंहासनमा कुरुवंशकोबाहेक अर्को मान्छे बस्न किन हुँदैन ?’
यही प्रश्नको फेरो समातेर लम्सालले कर्णको मुखबाट गणतन्त्रको पहिलो चेतनायुक्त स्वर उराले ः
‘म अङ्ग देशको राजा साँच्चै भएँ भने तर,
हस्तिनापुरको चाहिँ अर्को बन्न हुँदैन र ?’
त्यो बेला नै जनताको कब्जामा पनि राज्य हुनसक्छ भनेर तर्क गर्ने कर्णले अत्यन्त अपमान गरिएको बेला आफ्नो अस्तित्व स्वीकार गर्दै इज्जत दिने दुर्योधनको मित्र–ऋण तिर्न राज्य स्वीकार गर्नुलाई परिस्थितिले सिर्जना गरेको स्वाभाविक तथ्य मान्छन् लम्साल ।
कर्ण सुखभोगका लोभी थिएनन्, दानवीर थिए तर अधिकतर मान्छेले वास्तविकता नबुझेझैँ गरिरहेका छन् । लम्सालको चित्त दुखाइ त्यसैमा हो ।
‘पाइलैपिच्छे सगरमाथा’ तथा ‘आगो छोपेर कतिञ्जेल’ कविता सङ्ग्रह, ‘धूनभित्र धूनबाहिर’ गीत सञ्चयन, ‘कर्ण’ महाकाव्यपछि नेपाली वाङ्मयलाई लम्सालको पाँचौ कोसेली हुनेछ प्रस्तावित महाकाव्य ।
तर, शार्दूलबिक्रीडित छन्दको त्यो महाकाव्य कति समयको प्रतिक्षापछि गर्भबाट बाहिर आउँछ, स्वयम् महाकविलाई नै थाहा छैन । समयको महिमा अपरम्पार छ, जति पनि लाग्न सक्छ । जोन मिल्टनले प्याराडाइज लस्ट महाकाव्य ४० वर्ष लगाएर पूरा गरे । संसारका दस उत्कृष्ट महाकाव्यमा पर्छ प्याराडाइज लस्ट । लामो समय लगाएर, धेरै सर्ग लेखेर कृति उत्कृट हुने होइन, उदाहरण देवकोटाको मुनामदन छँदैछ । मोतीरामले कम उमेरमै गजललाई स्थापित गराएका हुन् ।
‘कति समय लाग्छ थाहा छैन, २०७० भरिमा ल्याउन पाए हुन्थ्यो भन्ने छ,’ लम्सालले भने ‘अहिले त्यसैमा टुकुर–टुकुर लागिरहेको छु, जागिर, घर–परिवारबाट टाढा कतै एकान्तमा मोवाइल स्वीचअफ गरेर ल्यापटपमा सात दिन जति बस्न पाएँ भने सक्छु होला !’
परिस्थिति सहज–असहज केही हुँदैन कविका लागि । दोबाटो–चौबाटो जहाँ पनि तर्कना फुरिरहेकै हुन्छ । मिस्टर सुखदुःख एट जिमेल डट कममा प्रायः देखभेट हुने महाकवि लम्सालको गर्भको छिपछिपेमा परिस्थितिले अर्को महाकाव्यको भ्रुण रोपिसकेको छ । गर्भाधान प्राकृतिक हो ।
साहित्यिक मधुवनमा पुनः प्रशारण भइरहने शास्त्रीय कवि, बिबिसीका कला संवाददाता लम्साल अनौपचारिक गफमा थोरै आशङ्कित देखिए । केहीबेर नीलोभित्ता हेरेर टोलाएपछि भने, ‘प्लिज ! यो महाकाव्य फाँटको स्कुप हो, साथी सम्झेर सेयर गरेको मात्र हुँ, मिडियामा सार्वजनिक गर्न बाँकी छ ।’
०००

No comments: