फोकस आउट
– सुविद गुरागाई

इनरुवातिर हिँड्दा–हिँड्दै कुनै एक दिन
फ्याट्ट पछाडिबाट कसैले कट्टु तान्यो भने
आश्चर्य हुने छैन,
पत्रकारले भनेको ।

जीवन उकालोमा तान्दा–तान्दै कुनै दिन
किरातेश्वरको आठौं सिँढीबाट
भुक्लुक्क गुल्टियो भने
आश्चर्य लाग्ने छैन,
बाबालाई लागेको ।

एउटै लोकार्पण हुन नपाई
एउटै गजल गाउन नपाई
कोसी किनारबाट उठेको
गजलगो सन्दुकको कुनै कुनामा
थपक्क थन्कियो भने
आश्चर्य मानिने छैन,
कविले लेखेको ।

मिलेको छैन पढाइ
राम्रा अक्षरमा मिलाउन खोज्दा–खोज्दै
भित्तेपत्रिकाको नयाँ डमी धमिराले
क्वाप्प खाइदियो भने
आश्चर्य ठहरिने छैन,
गुरुले ठानेको ।

आश्चर्य त तब हुनेछ,
मैले केही देखिन भने
मैले केही सुनिन भने
मैले केही बोलिन भने
मैले केही लेखिन भने

साँच्चै आश्चर्य हुनेछ,
अझै कम्तीमा तीस वटा
होली बाँकी छन्
शिवरात्रि बाँकी छन्
त्यसबीचमा सुविद गुरागाई
बहुलाएन भने ।
०००
bisnuprasad.bg@gmail.com

गजल
– सुविद गुरागाई

यो सम्बन्ध हाम्रो आँखी भो कतिको ।
किन हो यो आरोप बेहिसाब क्षतिको ?

कुनै छैन तरवार बनाको कसैले,
छिया–छिया पार्ने वचनले जतिको ।

रिसाउँदा कोही दुखेको छ मुटु !
रगतपच्छे हुँदा दुख्दैन त्यतिको ।

उता तिमी क्षुब्ध, यता म छु दिक्क !
लागेको पो हो कि सरापै सतिको ।
०००
bisnuprasad.bg@gmail.com
साला काङ्ग्रेस !
– सुविद गुरागाई

२९ वर्ष निरन्तर काङ्ग्रेस पढेपछि, बुझेपछि, भोगेपछि पनि मलाई किन लागिरहेको छ, मैले यसलाई अझै चिन्न बाँकी छ, बुझ्न बाँकी छ ? नाम अगाडि नेपाली थपेर काङ्ग्रेस, काँग्रेस, कांग्रेस, कङ्ग्रेस जे लेख्दा पनि हुने, भन्दा पनि हुने विचित्रको पार्टी छ यो । पार्टी के छ, भींड छ, बिहीबारे हटियामा भेला भएका तरेली–तरेली मानिसको जमघट जस्तो । आ–आफ्नै काम–स्वार्थसहित भेला भएकाहरूको बाहुल्यता अनौठो लाग्छ । अलि बर्ड साइट एङ्गलले सोच्दा छेउ–टुप्पो नमिलेको समुद्र जस्तो अथाह ।
२०४४ सालमा हिउँदको सुरुवातसँगै तत्कालीन ‘प्रतिबन्धित नेपाली काङ्ग्रेस’का अर्ध–भूमिगत सदस्यहरू सीताराम मेहता र मोहन श्रेष्ठ नेपाल विद्यार्थी सङ्घमा बालकृष्ण खाँडलाई अध्यक्ष बनाउन भोटरहरू सिला खोज्दै हिँडिरहेका रहेछन् । उनीहरू खासगरी तत्कालीन क्रियाशील सदस्य हरि डाँगीका भाइ विनोद डाँगीलाई लक्षित गरेर सुनसरी क्याम्पस आएका थिए । चउरको एक छेऊमा चार–पाँच जना झुरुप्प बसेका थिए । म क्यान्टिनबाट फर्किंदै थिएँ । मलाई बोलाए । नजिकै गएपछि सहपाठी विनोदले भने, ‘तपाईलाई पनि यहाँ कमिटीमा सदस्य राखेका छौं ।’
‘कस्तो कमिटी हो ?’
‘नेवि सङ्घको सुनसरी क्याम्पस इकाई समिति । ...अधिवेशन छ, काठमाडौं जानुपर्छ ।’
‘हुन्छ, तपाईहरूले मलाई विश्वास गरेपछि नाइँ किन भन्नु ?’
यसरी गठन भएको थियो, सुनसरी क्याम्पसको पहिलो नेवि सङ्घ कमिटी । अध्यक्ष विनोद डाँगी, सचिव महेन्द्र चौधरी, सदस्यहरू म, राजेन्द्र श्रेष्ठ र अरूहरू । कमिटीमा बस्दै गर्दा त्यतिखेर केही जस्तो लागेको थिएन । दुई सातापछि सुनसरी क्याम्पसमा कमिटी गठन भएको र त्यसमा फलानो–फलानो सदस्य भएको नामसहित गिरिराज आचार्य दाइले पूर्व टाइम्स साप्ताहिकमा समाचार छापिदिनुभएछ । सुनसरी प्रहरीले हाम्रा नाममा ‘रेड फायल’ बनाइहाल्यो । प्रहरी कार्यालयको आडैमा हाम्रो चिया पसल थियो । नारायण नामका एक जना असईले आमालाई, ‘भाइलाई अधिवेशनमा भाग लिन काठमाडौं जान नदिनू, सुटिङ अडर छ,’ भनिदिएछन् । आमा रोएर चौपट ।
त्यतिखेर मलाई लुकी–लुकी काठमाडौं जाने कुराले भन्दा पनि आमाले कोइराला निवासका बारेमा गर्नुभएको माउथ पब्लिसिटीले काम गरेको थियो । सानोमा म बिरामी परिरहने र अस्पताल लगिरहनु पर्ने भएपछि आमा माइत पूर्व–कुसाहा बुग्डरीमा केही वर्ष बस्नुभएको थियो । सोही गाउँका छिमेकी नारायण कोइरालालाई दाइ भन्नुहुन्थ्यो र उहाँकै सम्पर्कले कोइराला निवासमा चामल निफन्नुप¥यो वा बिहे–बटुलोमा केही काम गर्नुप¥यो भने हाम्री आमालगायत केही महिलाहरू विराटनगर लगिन्थे । आमाले कोइराला परिवारका मानिसको भलादमी व्यवहारको बेला–बेलामा चर्चा गर्नुहुन्थ्यो । खासगरी सबैले ‘लठैत’ भनेर घोषणा गरेका गिरिजाप्रसाद कोइरालाका बारेमा भन्नुहुन्थ्यो, ‘खै, हामीलाई त कहिल्यै नराम्रो बोली गर्नुभएन । बरु हामी काम गर्नेहरूले खाएको नखाएको उहाँले नै विचार गर्नुहुन्थ्यो । निकै हँसिलो, फरासिलो मान्छे हुनुहुन्थ्यो ।’
कमिटी गठन गरेको केही दिनपछि गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहहरू इनरुवा–७ स्थित रामबहादुर बस्नेतको घरमा आएका थिए । रामबहादुर दाइको आँगनमा काठको स्थायी मञ्च थियो । वरपर हामी करिब सय जना भेला भएका थियौं । त्यही मञ्चबाट गणेशमान सिंहले जनआन्दोलन सुरु भएको पहिलो घोषणा गरेका थिए । त्यसपछि हामी हरिनगरा गयौं, हरि सापकोटाको आँगनमा । खाना खाएपछि घरअगाडिको चउर जस्तो खुला ठाउँमा खिनौटे गिरिजाप्रसाद कोइरालाले उभिई–उभिई र डम्म गणेशमान सिंहले कुर्सीमा बसी–बसी कोणसभालाई सम्बोधन गरेका थिए । कोणसभामा हामी भेला भएको दृश्य केही प्रहरीहरूले पनि टुलुटुलु हेरेका थिए । केही नगर्ने रहेछन् भन्ने लागेको थियो । तर, हरिनगरापछि चिमडीमा कोणसभा गर्ने भन्दै विराटनगरतिर लागेका गिरिजाप्रसाद र गणेशमानलाई चन्दा–मोहना दोभानमै समातेर काठमाडौं पु¥याइसकेका रहेछन् ।
ती दिनमा धुँवाधार काङ्ग्रेस बनिएको सम्झिन्छु । बिहीबारे हटियामा १० रुपैयाँमा रातो गम्छा किनेको थिएँ । म, गोविन्द बुइँपाली, सीताराम भट्टराई, गणेश भट्टराई, महेश कोइरालालगायत साथीहरूको एउटा समूह थियो, उही एकैखाले गम्छा कहिले टाउकोमा फेटा बाँधेर, कहिले काँधमा भिरेर हिँड्ने । मान्छेहरू चन्द्रशेखरले ती गम्छाहरू बाँडेको हो भन्ने ठान्थे र हाम्रो ‘ग्याङ’ देखेर डराउँथे । पञ्चायतका केटाहरूसँग कुनै पनि बेला भिडन्त हुने सम्भावना हुन्थ्यो । घरमा ढोका छेउमा रड गाडेर सुत्थेँ ।
चुनाव प्रचारमा पनि उस्तै खटियो । हाम्रो ग्याङ मधेसा, चाँदबेला, भासि, इनरुवा क्षेत्रमा डुल्थ्यो । कमान्डर थिए, पार्टीले पढाएका र चुनाव प्रचारकै लागि सुनसरी आएका महेश आचार्य । खाजा हुन्थ्यो, भुजा–चिउरा–प्याज । महेश आचार्य पनि हामीसँग त्यस्तै खान्थे । ल्यान्डरोभरमा ठुल्ठुला चारतारे फह¥याएर, दुईतिर माइक घन्काएर कोणसभा गर्दै हिँड्थ्यौं । मेरो बोली ठुलो भएकाले प्रायः माइक्रोफोनमा मै बोलिरहेको हुन्थें । र, म आफ्नो मन्तव्यको सुरु र अन्त्यमा त्यतिखेरको लोकप्रिय नारा ‘जन्मदेखि मृत्युसम्म रुख हाम्रो साथी, रुखले जिते हामी बाँच्छौ बाँच्छन् छोरा–नाति,’ भन्न छुटाउँदिनथेँ ।
फ्ल्यासब्याकबाट यता आउँदा आज मुलुकको जुन हालत भएको छ, त्यो जगजाहेरै छ । बीचमा रुखले धेरै पटक जित्यो पनि । तर, भएका रुख जति आधिउधि सिद्धिइसके । मुलुकमा छोरा–नाति बसेर काम गर्न पाउने वातावरण छैन । यस्तै पाराले अब कति वर्ष बाँच्लान् त खोइ ?
यत्रो वर्ष मैले पार्टीका लागि गरेको लगानी वास्तवमा पार्टीका लागि गरेको होइन रहेछ । रामबहादुर बस्नेत, राजीव कोइराला, केदार भण्डारी, लक्ष्मी खतिवडाहरूलाई चिन्नु, राजन मेहता, धिरज भट्टराई, सुनोज निरौला, कृष्ण अधिकारीहरूसँग उठबस गर्नुले म जानी नजानी संस्थापन पक्षको भइसकेको रहेंछु । २०७१ सालमा अढाई महिना काठमाडौं बसेर प्रयास गर्दा पनि मैले शिक्षामन्त्री चित्रलेखा यादवलाई भेट्न पाइँन । आसेपासेहरूको घेरा नै छिचोल्न सकिनँ । तर, मेरो आत्मालाई थाहा छ, कहिले नेपाली काङ्ग्रेसको सरकार बन्छ र कोही काङ्ग्रेसी कार्यकर्ता शिक्षामन्त्री हुन्छ भनेर त्यसअघि मैले १० वर्ष पर्खेको थिएँ । जब मेरो काम गर्नुपर्ने बेला आयो, त्यतिबेला स्वयम् मेरा ‘गुरु’ जसले पछि आफूलाई देउवा पक्षको भनेर चिनाए, सभासद् सीताराम मेहता पनि टक्टकिए । राजीव ढुङ्गाना, प्रदीप पौडेल, ध्यानगोविन्द रञ्जितको बोली पनि बिकेन ।
त्यसपछि लाग्यो, थुक्क ! काङ्ग्रेसमा आजसम्म लागेर मैले त्यति पनि शक्ति आर्जन गर्न सकेको रहेनछु । अझै काम गर्न बाँकी रहेछ । सोच्छु, म जस्तो चिनिएको कार्यकर्ताले त ऐन, नियम, कानुनले मिलेको जाबो एउटा काम गराउन सक्तैन रहेछ भने अरू सामान्य कार्यकर्ता र आम नागरिकको के हालत बनाउँदा हुन् यिनले ? ३६ र ७४ को भागबन्डा गर्दै पार्टीभित्र कति गहिरो खाडल बनाएका रहेछन् ?
काङ्ग्रेसी सभासदहरू शेरबहादुर देउवाको नेतृत्वमा ३६ से र गिरिजाप्रसादको पक्षमा ७४ रे भएर आफ्नै पार्टीको बहुमतको सरकारको नीति तथा कार्यक्रम असफल बनाएर दुनियाँमा कहीं नभएको संसदीय अभ्यास गर्दै हाँडीगाउँको जात्रा देखाएको दिन सम्झन्छु । समाचार रेडियो नेपालबाट प्रशारण हुँदै गर्दा म मैतिदेवीस्थित मित्र विपिन निरौलाको डेराबाट निस्केर डिल्ली बजार उकालो चढ्दै थिएँ । ‘थुक्क ! खत्तम पारे’ भन्दै आत्मा रुवाउँदै बल्ल–तल्ल डेरा आइपुगेको थिएँ । मलाई लाग्छ, त्यो त्यही दुर्भाग्यपूर्ण दिन थियो, जसले आजसम्म मुलुकलाई अस्थिर सत्ता–राजनीतिको भासमा डुबाएको–डुबायै छ । यदि त्यो बेला काङ्ग्रेसको बहुमतको सरकार नढलेको भए, जननेता बिपी कोइरालाले देखेको सपनाको धेरै अंश पूरा गर्न सम्भव हुन्थ्यो र त्यसपछिका दुई–तीन चुनावमा काङ्ग्रेसले सहज बहुमत पाउँथ्यो । कम से कम मुलुकको यो हविगत हुन्नथ्यो । आफ्नो खुट्टामा आफैं बञ्चरो हान्ने यस्तो प्रवृत्तिलाई ‘साला’ नभनेर के भन्नु !
बिपीको सपनाको कुरा गर्दा, कसैले माने पनि नमाने पनि समय सधैं एकनास रहिरहँदैन । राज्यको मूलधारमा एक समय हाली–मुहाली गरेको नेपाल प्रजा परिषद् जस्तो राजनीतिक पार्टी कालान्तरमा हराएर जान्छ । परिवर्तन सृष्टिको नियम हो । सोही नियम अनुसार आफूलाई अद्यावधिक र अनुकुलन गराउन नसक्ने डाइनोसर जस्तो भीमकाय जनावर मासिएर जान्छ । तसर्थ हामीले अङ्गीकार गर्दै आएको सिद्धान्त र व्यवहारमा पनि समयानुकूल नवीनताको खोजी भइरहन्छ । जो समीचिन हुन्छ त्यो टिक्छ, जो हुँदैन वा हुन चाहँदैन त्यो इतिहास र सम्झनामा सीमित हुन्छ ।
नेपाली काङ्ग्रेसको हालै सम्पन्न १३ औं महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा जति पनि गुट–उपगुट र आफूलाई स्वतन्त्र उम्मेद्वारका रूपमा चिनाउनेहरू थिए, ती सबैलाई एकतामा बाँध्ने एउटै सूत्र थियो, बिपीको सपना । उनीहरू हरेकले आफूलाई नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी–सान्दाजु) को सपना राम्ररी बुझेको अर्थात् उनको सच्चा अनुयायी आफू भएको रूपमा प्रस्तुत गरेका थिए । तर, उनीहरूमध्ये अधिकतर बिपीको सपनाबारे जानिफकार भने थिएनन् । यसै पृष्ठभूमिमा मुलुकको सबैभन्दा ठुलो पार्टीको महाधिवेशन नीतिमुखी होइन, नेतामुखी भएर सम्पन्न भएको देखियो ।
साँच्चै के थियो, बिपीको सपना ? बिपीले जीवनभर केका लागि लड्नुभयो ? के थियो, उहाँको राजनीतिक विचार ? के बिपीले ७० वर्ष अघिको सेरोफेरोमा देखेको सपना अझै समकालीन महत्वको छ ? कि यसमा अद्यावधिक सुधार गर्नुपर्ने आवश्यकता छ ? यी निकै विचारणीय जिज्ञासा हुन् । तर, सम्पन्न महाधिवेशनमा यसमा पर्याप्त बहस हुन पाएन । राणा र पञ्चायतको निरङ्कुशताविरुद्ध राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद गरी पार्टीको झन्डामा चार तारा सङ्गठित गर्दैगर्दा बिपीको सपना थियो, एउटा छाप्रो, एउटा दूध दिने गाई र खान पुग्ने जमिन । तर, अहिले गाउँ सहरमा, झाप्रो फ्ल्याट वा पक्की घरमा रूपान्तर भइसक्यो । खेती योग्य जमिन कङ्क्रिटको जङ्गल भइसक्यो । त्यसैले समयअनुसार बिपीको सपनाको पुनःव्याख्या जरुरी थियो, तर काङ्ग्रेस महाधिवेशनले त्यतातिर रुचि देखाएन । भनिन्छ, बिपीको सपनामा ‘घरमा एउटा इमानदार नोकर’ होस् भन्ने पनि थियो । तर, यो कुरा काङ्ग्रेसीहरूले आजसम्म लुकाएरै राखेका छन् । थाहा छैन, काङ्ग्रेसीहरूले जनतासँग यस्तो छलछाम किन गरिरहेका छन् ?
संसदीय व्यवस्था बिपीको राजनीतिक सपना थियो । तर, के आफ्नै बहुमतको सरकारको नीति तथा कार्यक्रममा भोट नहालेर आफ्नै पार्टीका सभासदले सरकार ढाल्ने संसदीय व्यवस्था बिपीले कल्पना गरेका थिए ? अँ, बिपीले भनेका थिए, जब जनताले अन्याय र शोषणका विरुद्ध आन्दोलन गर्छन्, त्यस्तो आन्दोलनको सफल समाप्तिपछि केही सुकिला–मुकिलाले राज्यका विभिन्न पद हत्याउने छन् । र, जनताले फेरि त्यस्ताविरुद्ध क्रान्ति गर्नुपर्छ । बिपीको यो सपना भने अझ पनि समकालीन भए जस्तो लाग्छ ।
बिपी बिरामी पनि थिए । उपचारमा धाउँदा उनको धेरै समय खर्च भएको थियो । यो सन्दर्भसँग समेत बिपीको सपनाको सम्बन्ध छ । धरानमा बिपी प्रतिष्ठान उद्घाटन गर्न आउँदा तत्कालीन प्रधानमन्त्री, बिपीका भाइ गिरिजाप्रसाद कोइरालाले भनेका थिए, सान्दाजुले अल इन्डिया मेडिकल कलेजको बार्दलीबाट स्वस्थ नेपालको सपना देख्नुभएको थियो । कम से कम क्यान्सरको उपचार गर्ने स्वास्थ्य संस्था आफ्नै देशमा होस् भन्ने उहाँको चाहना थियो । बिपीको खास सपना भनेको राजासहितको संसदीय बहुदलीय प्रजातान्त्रिक व्यवस्था तथा समाजवाद हो । तर, समय अन्तरमा राजा छैनन्, जुन पृष्ठभूमिमा काङ्ग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले बिपीको सपना साकार पार्ने भन्दै गरेको प्रण त्यति समकालीन देखिँदैन । ओठमा मुस्कान भएका समृद्ध जनता बिपीको सपना थियो । त्यसैले अबको काङ्ग्रेस नेतृत्वले बिपीको सपनाभन्दा पनि जनताको समृद्धिको सपना साकार पार्न प्रण गर्नु समीचिन हुन्छ ।
नयनराज पाण्डेका अनुसार अब हामीले बिपी, गणेशमान, किसुनजीको सपनाको कुरा गर्नु त्यति जायज छैन । हामी के सपना देख्दैछौँ ? अब आफ्नो सपनाको कुरा गर्ने बेला हो यो । तर, यो धरातलीय यथार्थबाट काङ्ग्रेस किन सीमान्त हुँदैछ ? जसले नयाँ सपनाका कुरा गर्छ, तिनीहरू एक–एक गर्दै काङ्ग्रेसमा चुनाव हार्छन् किन ? राजनीतिमा केही परिवर्तन गरौं, समकालीन काम गरौं भन्ने युवाहरूलाई ‘अहिले तपाईहरूको उमेर बाँकी छ,’ भनेर सकेसम्म निरुत्साहित गर्ने प्रवृत्ति काङ्ग्रेसमा ऐंजेरु बनेको छ ।
यस्तो वातावरणमा म काङ्ग्रेस भइरहनुको अर्थ के हो ? यसका मात्र दुई वटा कारण छन् । एक चाहे जुुनसुकै अर्थमा होस्, काङ्ग्रेसीहरू आपसमा अभिवादन गर्दा सानले ‘जय नेपाल’ भन्छन्, जुन मलाई औधी मन पर्छ । जसरी भारतीयहरू ‘जय हिन्द !’ भन्दा गौरवको अनुभव गर्छन्, त्यसरी नै सबै नेपालीले ‘जय नेपाल’ भन्ने दिन कहिले आउला भन्ने लागिरहन्छ । अर्को कारण, काङ्ग्रेसमा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी छ । खान नपाए पनि मन लागेको कुरा बोल्न पाइन्छ । काङ्ग्रेसलाई गाली गर्न पनि पाइन्छ । कसैले म काङ्ग्रेस हुँ भनुन्जेल ऊ काङ्ग्रेस हुन्छ । एक–दुई जना लठैतहरूको व्यवहार बेग्लै कुरा हो, आम रूपमा स्वतन्त्रता उपभोगको बेग्लै मजा छ काङ्ग्रेसमा ।
यसबाहेक विविध विमतिहरू छन् काङ्ग्रेससँग मेरा । पहिलो म जसरी सोच्छु, काङ्ग्रेसले त्यसरी सोच्दैन, किन ? म मुलुकको राजनीतिक पार्टी जस्तो होस् भन्ने चाहन्छु, हेर्दाहेर्दै काङ्ग्रेस त्यो भन्दा निकै पर भइसकेको छ । म चाहन्छु, मलाई जस्तै मेरो पार्टीलाई पनि कालापानी बिझाओस्, लिपुलेक र सुस्ता दुखोस् । सुनसरीको रानीगञ्ज भन्सारसहित सात हजार बिघा नेपाली भू–भाग कोसी ब्यारेज निर्माणको बहानामा भारतमा विलय पारिएको मुद्दालाई प्राथमिकता देओस् । नेपाललाई विश्वको एक मात्र हिन्दू राष्ट्र बनाउन काङ्ग्रेसले आफूले सकेको योगदान मिसाओस् । काङ्ग्रेसले संविधानबाट ‘दलित’ शब्द हटाउन र दलित आयोग खारेज गर्न भूमिका निर्वाह गरोस् । म चाहन्छु काङ्ग्रेसीहरूले आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको सम्मान पनि गरुन् ।
त्यस्तै, पार्टीले कुनै पनि आवधिक निर्वाचन हुनुपर्ने समयमै गरोस्, गर्न दबाब देओस् । जातको होइन, वर्ग उत्थानको राजनीति गरोस् । विदेश जाने सबै युवालाई देशमै बस्न आग्रह गरोस् । भ्रष्टाचारमा मुखले होइन कामले नै शून्य सहनशीलता देखाओस् । हाम्रा होइन, राम्रा मान्छेलाई महत्व देओस् । नेता त्यस्तो नहुर्काओस्, जसलाई दुनियाँले छि ! भनुन् । बरू पार्टीले बहुमत सरकार बनाउन पाएमा तपाईहरूले कमाएको ६०–७० प्रतिशत लिन्छौं तर शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको ग्यारेन्टी हुने राष्ट्रिय नीति बनाउँछौं भनोस् । पार्टीले कुनै पनि निकायमा एन्टी भोटिङको व्यवस्थाका लागि लविङ गरोस् । प्रजातान्त्रिक संस्कार सिद्धान्तमा होइन, व्यवहारमा रुपान्तर गरोस् । टेबुलमा राष्ट्रिय झन्डा ओछ्याएर त्यसमाथि रक्सीको गिलास राख्ने हात गगन थापाहरूका नहुन् । आशलाग्दो पुस्ता घैंटेहरूका प्रतिरक्षामा नआओस्् । कार्यकर्ताहरूमा सुशील कोइरालाहरूको शवदाह विद्युतीय मेसिनमा गर्दा राम्रै हुन्थ्यो भन्ने समयानुकूल र प्रविधिमैत्री धारणा विकास गराओस् ।
यतिबेला २०१५ सालको एउटा चुनावी पर्चा मेरो सामु छ । जसमा लेखिएको छ, ‘नेपाली राजनीतिका जन्मदाता, क्रान्तिका वीर सेनानी, नेपालका एक मात्र राष्ट्रिय नेता, न्याय र बलिदानका प्रतिमूर्ति विश्वेश्वरप्रसाद कोइरालालाई भोट दिनु हाम्रो कर्तव्य हो । मोरङको ३२ नम्बर क्षेत्रबाट खडा भएर उहाँले हाम्रो जिल्लाको सम्मान बढाउनुभयो । उहाँलाई ठुलो बहुमतबाट विजयी बनाएर हामी राष्ट्रको इज्जत बढाऔं ।’
म छक्क पर्छु, काङ्ग्रेस यति उच्च नैतिक साहसको सगरमाथाबाट क्रमशः ओरालो, ओरालो, ओरालो किन लागिरहेको छ ? अनि, म जुन सिद्धान्तलाई आदर गर्छु, साला त्यो व्यावहारिक जीवनमा किन पाउँदिन ? सम्भवतः समयानुकूल व्यापक रूपान्तरको आवश्यकता छ – ममा पनि र मेरो पार्टीमा पनि !
०००
bisnuprasad.bg@gmail.com

सेवोटेज किरातेश्वर !

– सुविद गुरागाई
अहिलेसम्म कति हजार किलोमिटर यात्रा सम्पन्न भयो, रेकर्ड राखेको छैन । जाडो छल्न फेरि एकपटक हजारौं किलोमिटर नाघेर यायावर श्लेषमान्तक माथि आयो । बर्ड–साइट एङ्गललाई जुम इन गर्दा देखियो छेउमै डङ्गर गिद्ध उग्राइरहेको । छेउमै खान नपाएको बालक । पुलिट्जर पुरस्कारको नियति । कसैले बुझे पनि नबुझे पनि पङ्खबिनाको पन्छी भएर उड्नुको मजा बेग्लै छ ।
उड्दा–उड्दै थाकेर झरे पनि डर थिएन । सङ्गीतको समुद्रमा चौबीस घण्टा पौडी खेल्ने विश्वको पहिलो मान्छेको नयाँ रेकर्ड संस्थागत हुने थियो ।
‘प्रभु तिमी मेरो माया गर स्वीकार ! तिमीबिना केही छैन जीवनको सार । ज्ञान छैन भक्ति छैन अनाथ छु नाथ, चिन्नु मैले कहिले तिम्रा रूप हजार ? निरपेक्ष के गरेको लीला तिमीले ? अधर्म छ शिवजीलाई मार्न तयार !’
सोच्दा–सोच्दै मैले झल्याँस्स सम्झिएँ, म को हुँ ? यो के सोचिरहको छु ? कसले मार्न सक्छ शिवजीलाई ?
त्यतिबेलासम्म भीडभित्र भीडबाट अलग्गिसकेको थिएँ म । मोबाइल आफैं सुइझ्याप । पाश्र्वमा भक्ति–सङ्गीत गुञ्जिरहेको थियो । ‘जे गर्छन् उनै गरुन्, छ लीला उनैको । जान्दिनँ अरू त केही म, छ कृपा उनैको ।’
नन्दी, भृङ्गी, नाङ्गा–बाबा, गणहरू मस्त थिए, आफ्नो संसार सजाउँदै । नजाने कुन ध्येय थियो ? सायद चिन्नुथियो उज्यालो । खोज्नुथियो देउता । बुझ्नुथियो शिव । गहिरिनुथियो, आफूभित्र । सोध्नुथियो, त्योभन्दा उता के छ ?
कथाले मागेपछि म एकोहोरिएँ । पात्रहरू बढ्न थाले । अध्यात्म र भोगी मन फ्युजन भयो । भीडमा नचिनिएपछि मुखुन्डोको आवश्यकता रहेन । एक्लो हुनुको मजा बेग्लै छ । जे बोले पनि भयो । जे सोधे पनि भयो । जे लेखे पनि भयो । जे गरे पनि भयो । जे खाए पनि भयो । जता थुके पनि भयो । कति आनन्द !
राणा शासनकै बेला । ‘मैले गरिखाएको देख्न नसक्ने यहाँका मान्छेहरू, थुक्क ! भन्दै धनकुटाको भीरगाउँलाई थुकेर हिँडनुभएको थियो रे मेरो हजुरबुबा,’ आमाले भन्नुभएको । त्यही अभिशप्त भीरगाउँसँग जोडिएको मेरो कार्मिक सम्बन्ध सम्झाउने पनि कोही थिएन छेउछाउमा ।
अपाङ्ग सबलाङ्ग विचारहरू भाङले लठ्ठ भए । असक्षम होइन, अक्षम हो भनेर प्रुफ मिलाउन पनि झ्याउ लाग्न थाल्यो । अश्लील भनिएका शब्दहरू भोगिने सघन खतरा छेउमै थियो । ‘गाँजा खाए राजा, सिगरेट खाए चोर । खैनी खाए चुतिया, थुके सारा ओर,’ लाइभ क्यामेराअगाडि गेरुवस्त्र बेरेका नाङ्गा–बाबा सिकारु भक्तलाई सम्झाउँदै थिए । छेउमा मान्छे डढेको धूँवाको उकसमुकुस साक्षी थियो ।
०००
धिरज बाबा साक्षात अगाडि थिए । मैले चिनें, उनले चिनेनन् । केहीबेर सुफी सिद्धान्त, रुमीले गरेको व्याख्या, सुनें । रुमीले गरेको व्याख्या, (गीता–मिथकसँग मिल्दोजुल्दो) हजार पानाको किताबमा समेटिएको व्याख्या, जसको सबै पाना खाली । आफूखुसी जे लेखे पनि हुने । जे व्याख्या गरे पनि हुने । जे अनुभव गरे पनि बिन्दास । नेपालको प्रजातन्त्रको जेरोक्स कपि ।
सुफी सुन्दा–सुन्दै साफीको झोल सम्झिएँ । चिराइतो दबाइ, रगतका भाइरसहरू सफा गर्ने चूक । मन चेक–अप गराउन बाँकी छ, कुनै ठुलै रोग लागेको पो छ कि ? थाहा भयो भने के गर्ने ? किन थाहा पाउने ? आफूलाई मभित्र समाहित गरिसकेपछि । बेलामा खानु पनि परेन । सुत्नु पनि परेन । बोल्नु, लेख्नु, नुहाउनु, ढाँट्नु केही गर्नुपरेन । कुतर्कहरूको सहारा पनि चाहिएन । साक्षी राख्नुपरेन । अन्तर्मनको यात्रा जति गरे पनि भयो ।
लेख्नकै लागि सञ्जीव उप्रेती खरानीका पछि लागेको प्रसङ्ग सुन्दै–सुनाउँदै आयो । बिरुपाक्षभन्दा निकैमाथि सामान्य विशेषता भएको मान्छे, नजिकै कहिले यता कहिले उता, फेरि यता फेरि उता गरिरहेको रहेछ । घण्टौं । त्यसरी ऊ कहाँ जान हिँडिरहेको थियो ? कसले त्यसरी घुमिफिरी रुम्जाटार हुन आदेश दिएको थियो । के ऊ साँच्चिकै पागल थियो ? कि कोही प्रेमी थियो ? आखिर के थियो यो घनचक्करको रहस्य ? कि ऊ पनि कसैद्वारा श्रापित थियो ? नाजवाफ घनचक्करको कथा सुनियो केहीबेर ।
०००
गौरीघाटतिरबाट उल्लु कराएको आवाज आइरहेको बेला माथि किरातेश्वरमा नौ बजेको थियो ।
‘माथि जाने बाटो यताबाट,’ कोही शिवभक्त अनुग्रहित भयो ।
‘ए, यताबाट रहेछ, उकालो लाग्ने ठाउँ !, ढिलो–चाँडो मात्र हो, आखिर सबै जाने बाटो उही हो,’ तत्काल मनले केही बुझ–बुझे जस्तो ग¥यो । तर, यहाँबाट माथि जाने कि तल जाने कि कता जाने ? म अलमलमा परेको बुझिदिने त्यहाँ कोही थिएन । मजा आइरहेको थियो ।
‘दोधारैमा अल्झाइराख एक–दुई दिन अरू । खुल्नुभन्दा रहस्यमै मजा हुन्छ बरु,’ वातावरण मायालु, सङ्गीतमय छ । ‘वासना बाधा छन् जीवनमा, मन लागोस् प्रभु चरणमा । दर्शन प्रभुको म पाउँ हर्दम्, घरमा बसुँ या वनमा ।’
मन लागेर होइन, निद्रा नलागेर फिलिङ मिल्यो । केहीबेर पत्रकार विशाल खत्री जोगी भएको, बहुलाएको र चिर निद्रामा परेको चर्चा चल्यो । अच्युतम् भट्टराई ‘ज्ञानमित्र’ बनेको र साथीभाइले त्यस्तो नाम नराख्न आग्रह गर्दा नमानेको, बरु ऊ झन् रहस्यमय हुँदै गएको सन्दर्भ आयो । किरातेश्वरबाट ज्ञानमित्र यो वर्ष चाँडै फर्किए पनि बीचमा साथीहरूसँग टाढिँदै र परमात्मासँग नजिकिँदै गएको सुखानुभूति थियो ।
रहस्यमय लीला चलिरहेको छ ।
‘जय शम्भो !’ छेउमै मैले नचिनेको एउटा करायो ।
‘गाँजा कम भो !’ अर्कोले उल्यायो ।
‘धर्म निरपेक्षता मूर्दावाद !’ जोडले फेरि त्यही चिच्यायो ।
‘हा हा हा हा !’ साथीले खिल्ली उडायो ।
‘पागल भइसकेछ, जे पनि बोल्न थाल्यो अब,’ आर्यघाट छेउमा धुनी ताप्दै, आँखा राता पारेको अर्को भलाद्मी बोल्यो । पृष्ठभूमिमा तीन दिनको निरन्तरता सम्झाउँदै सुफी भजन चलिरहेको थियो । तु माने या ना माने भगवान्, मै तो तेरा भक्त बन गया । ‘कहाँबाट आयौं हामी कहाँ जानुपर्छ ? कसलाई सोध्ने, कसलाई बुझ्ने, कसले भन्न सक्छ ?’
०००
तानपुरा बज्दाबज्दै शिवभक्तले लुकाएको आनन्दको शक्ति निस्तेज पार्ने राज्यको कथित दायित्व सम्झने बेला भएछ । बेलैमा किरातेश्वर सेवोटेज गर्न तानाबाना बुन्न थालियो ।
‘दिन ढल्दै आयो, रात बढ्दै आयो । हेर घाम अस्तायो, रात पर्दै आयो ।’
‘वाह ! वाह ! क्या बात !’ बुझे पनि, नबुझे पनि, साँच्चिकै हिप्पीहरूको मन छोयो । भाषाको बन्धन थिएन । दुई जोडी जर्मनी मलेवाहरू पनि कृतज्ञ भए ।
‘बाँके बिहारीलालको ?’ जय होस् !
‘सनातन हिन्दू राष्ट्रको ? जय होस् !’
जय गान गर्दै गरेका भारतीय लेखक कृष्णमुरारी सिंह चिनिए । कान्तिपुर एफएमले डायरी अपडेट गरिरहेको थियो, सधैंको वर्ष झैं पशुपतिको जात्रा, सिद्राको व्यापार गर्नेहरू निकै आएका छन् ।
‘मलाई यो ठाउँ विदेश जस्तो लागेन !’
‘किन ?’ म विस्मित भएँ ।
‘कसरी विदेश भन्नु ! हाम्रो त्यहाँ जुन भाषा छ, त्यो यहाँ पनि चल्छ । जुन पैसा छ, त्यो पनि चल्छ । टाटा गाडीकै राज रहेछ । अक्षरहरू पनि उस्तै छन्, सिटी सफारीसमेत देवनागरी लिपिमा लेखेको !’ लेखकले एकेक अनुभव सुनाए ।
फिर्ररर ! फिर्ररर ! एक–एक गर्दै कप्सहरू नजिक हुन थाले । अँध्यारो बढाइँदै थियो । नजरबन्द बाक्लिँदै थियो । चारैतिरबाट शिवभक्तहरू धपाइँदै थिए । मृगस्थलीमा बाँदरहरू सुत्ने बेला हुँदै थियो ।
‘सुनिनस् ! तल ओर्ली भनेको !’
म डराउँदै तल ओर्लें, पवित्र पाशुपत खाल्डोमा । सम्पूर्णभक्त सम्झाउँदै थिए, ‘शिवरात्रिमा पशुपति आउने भक्तहरूको जय ! आउन नसक्ने भक्तहरूको पनि जय ! कोही आए कोही गए, बराबरी भए । चिन्ता किन गर्नु ?’
०००
bisnuprasad.bg@gmail.com
‘यक्ष प्रश्न’को घेरामा माओवादी

– सुविद गुरागाई
‘अरूलाई हे¥यौं पटक–पटक, माओवादीलाई हेरौं एकपटक’ भन्दै २०६२–०६३ सालको जनआन्दोलनपछि निर्वाचन मैदानमा आएको माओवादीलाई जनताले विश्वास गरेकै हुन् । केही गरेर देखाउने मौका दिएकै हुन् । तर, माओवादी नेतृत्वले जनअपेक्षा विपरीत जे–जस्ता गतिविधिहरू त्यस अवधिमा देखायो, त्यसले संविधानसभाको दोस्रो निर्वाचनमा रामकुमारी चौधरी ‘रोजिना’जस्ता प्रतिबद्ध कार्यकर्तालाई जनताबाट अनुमोदित हुन समस्या प¥यो । यो कुराबाट माओवादी नेतृत्व अझै किन सार्वजनिक रूपमा आत्म–आलोचित छैन ? वा, उसको व्यवहारमा त्यो किन देखिँदैन ?
एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वसँग चार प्रश्न भन्दै इटहरीमा यसका प्रवक्ता दीनानाथ शर्मासँग पहिलो समकालीन जिज्ञासा राखियो । यसमा हामी प्रशस्त आत्म–आलोचित छौं । हामीले यो विषयमा पार्टीभित्र गम्भीर समीक्षा गरेका छौं । यो कुरा रामकुमारीजीलाई पनि थाहा छ । औपचारिक फेस–सेभिङको सिलसिला यसरी सुरु भयो ।
माओवादी लगायत जुन पार्टी पनि प्रतिपक्षमा हुँदा वा सत्तामा नहुँदा राष्ट्रियताका चर्काचर्का कुरा गर्ने चलन छ । त्यो बेला पार्टीहरूले मेची–महाकाली जागरण यात्राको यस्तो अभियान चलाउँछन् कि लाग्छ, अब चाहिँ सीमा सरोकारका लागि जनता, युवापुस्ता जागिसके । मार्चपास, जनजागरण, टायर–दहन, नेपाल बन्द, घोर–भत्सर्ना आदि–इत्यादि आन्दोलनको आँधी–बेहरीले दशगजा वरपरका फोहोर र अतिक्रमणहरू निश्चित व्यवस्थापन हुनेछन् । तर, पार्टीहरू जब सत्तामा जान्छन् तब तिनलाई न कालापानी बिझाउँछ, न सुस्ता दुख्छ । न सुनसरीको रानीगञ्ज भन्सारसहित सात हजार बिघा नेपाली भू–भाग कोसी ब्यारेज निर्माणको बहानामा भारतमा विलय पारिएको कुराले पोल्छ । औपचारिक–अनौपचारिक कुनै पनि भ्रमण, भेटघाटको एजेन्डा बन्दैन, सीमा सरोकारको यो कुरा । यस्तो किन गर्नुहुन्छ तपाईहरू ? माओवादी नेतृत्वसमक्ष दोस्रो जिज्ञासा राखियो ?
सीमा मिचिएको कुरा जहिले पनि हाम्रो प्राथमिकतामा पर्दै आएको छ । त्यस विषयमा हामी गम्भीर छौं । तर, सडकमा गरिएको अहिलेको जस्तो राजनीतिक अभ्यासले मिचिएको भूमि फर्काउन सकिँदैन भन्ने कुरामा पनि हामी प्रस्ट छौं । यसका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदाय र विशेषज्ञमार्फत् कुटनीतिक पहल गर्नुपर्छ । यसमा हामी चुकेका छैनौं । फेरि यो विषय आजका भोलि समाधान हुने कुरा पनि होइन । जवाफदेही नेतृत्वको धाराप्रवाह भनाइलाई यस्तै शब्दहरूमा टिप्न भ्याइयो ।
जब–जब तपाईहरूसँग कसैले सहकार्य गर्छ, सँगै हिँड्न थाल्छ, त्यो बेला कमल थापा होस्, दुर्जकुमार राई होस्, चाहे जोसुकै होस्, त्यसतो व्यक्ति तपाईहरूका लागि अति प्रिय हुन्छ । राष्ट्रवादी हुन्छ । दुधले नुहाएको हुन्छ । तर, जब कसैले तपाईहरूको काम–कारवाहीप्रति विमति राख्दै नोट अफ् डिसेन्ट लेख्छ । दोबाटोबाट मोडिएर अलग्गै हिँड्ने अभ्यास गर्छ, त्यसपछि ऊ घनघोर अराष्ट्रिय तत्व हुन्छ । उसमा फोहोरै–फोहोर देखिन थाल्छ । पागलसम्म भन्न पनि पछि पर्नुहुन्न । यस्तो किन गर्नुहुन्छ तपाईहरू ? अनपेक्षित पृष्ठभूमिमा तपाईहरूको अघिल्लो कुरा पत्याउने कि पछिल्लो ?
हामीले, कसैले पनि बाबुरामजीलाई पागल भनेको छैन । कहीं–कतैबाट यस्तो कुरा आएको छ भने त्यो गलत छ, पूर्णतः भ्रमपूर्ण छ । हामीले भनेको के मात्र हो भने, उहाँ हामीसँग रहँदादेखि नै माक्र्सवादको मुख्य पथ (प्रचण्ड–पथ) त्यागेर ओरालो जाने राजनीतिक गोरेटोमा हिँड्दै हुनुहुन्थ्यो । हामीले उहाँलाई पटक–पटक सचेत पनि गरायौं । उल्टै हामीलाई नै त्यही बाटोमा लाने प्रयास गर्नुभयो । तर, सक्नुभएन । यतिबेला उहाँ त्यही पतनको मार्गमा हिँड्ने अभ्यासको उत्कर्षमा हुनुहुन्छ । पचास वर्षभन्दा बढी समयको उहाँको राजनीतिक जीवन बल्ल यहाँसम्म आइपुग्यो । अब पचास वर्ष बाँच्नु होला–नहोला । यो अवधिमा उहाँले देशलाई नयाँ शक्ति भन्दै अर्को अँध्यारो भासमा पु¥याउने हुनुभयो भन्ने चिन्ता सर्वत्र छ । हाम्रो चिन्ता पनि त्यही हो । हामी अहिलेसम्मका अनुभवका आधारमा उहाँ वा अरू कोहीका कारणले देश अँध्यारो गर्तमा नभासियोस्, प्रतिगमनमा नजाओस् भनेर रोक्न बल गरिहेका छौं, माओवादी नेतृत्वले भन्यो – हामी यस विषयमा प्रस्ट र अत्यन्तै गम्भीर छौं ।
चौथो प्रश्न दुनियाँवादी होइन, सरकारवादी फौजदारी अभियोगसँग जोडियो । ओखलढुङ्गाका बालकृष्ण ढुङ्गेल प्रकरणबाट पीडित भएका परिवारका तस्बिरहरू अखबारमा आइरहन्छन् । अपराधपीडित आमा–दिदीका रोदनहरू रेडियोमा एकपछि अर्को शृङ्खलामा सुनाइन्छन् । चुहाएका आँसुका दृश्यहरू टेलिभिजनका पर्दामा देखाइन्छन् । अदालतले अपराधका विपक्षमा फैसला पनि गर्छ । तर, यति हुँदा–हुँदै पनि तपाईहरू खासगरी माओवादी नेतृत्वको मन चाहिँ किन पोल्दैन ?
यस प्रकरणमा अब हाम्रो जवाफ सुन्नुस् । यसरी एक–एक व्यक्ति छानेर द्वन्द्व कालका राजनीतिक मुद्दालाई फौजदारी अभियोग लगाउँदै, ब्युँताउँदै जाने हो भने अहिलेको शान्ति–प्रक्रियाको स्थिति के हुन्छ ? समाज र मुलुकको राजनीतिक स्थिति कहाँ पुग्छ ? अहिले सबैको राजनीतिक सहमतिमा प्राप्त संविधान, गणतन्त्र आदि संस्थागत हुँदै गरेका उपलब्धिहरूको नियति के हुन्छ ? पक्कै पनि हामी कसैले फेरि यो मुलुकलाई लामो सशस्त्र द्वन्द्वमा लान चाहेको होइन होला । मुलुकमा भाँडभैलो मच्चाउन खोजेको होइन होला । फेरि रगतको खोलो बगाउन चाहेको होइन होला । त्यसैले हामी के भनिरहेका छौं भने यसरी एक–एक गरेर होइन, समग्रमा... !
होइन, यो त एउटा केटाले एउटी केटीलाई मन पराएर अन्तर्जातीय विवाह गरेको घटना र त्यससँग जोडेर गरिएको अपराधको कुरा होइन र ? यसलाई द्वन्द्वकालको राजनीतिक मुद्दा हो भनेर एउटै धोक्रोमा हाल्न मिल्छ र भन्या ?
कसले भन्यो तपाईलाई यो कुरा ? ... सर्वोच्च अदालतले नै स्वीकार र प्रमाणित गरिदिइसक्यो अनि ? ... सर्वोच्च अदालत नै सबैथोक होइन । राजनीतिक गणित मिलाउने, राजनीतिक मुद्दा निरुपण गर्ने राजनीतिक तरिका र सुत्रहरू हुन्छन् । अघि मैले जवाफ दिँदै थिएँ, तपाईले पूरै कुरा नै सुन्नुभएन । हामीले अदालतको अपमान गर्छौं भनेका पनि छैनौं । कानुनी राज्यको उपहास नहोस् भन्नेमा पनि हामी सचेत नै छौं । तर, हाम्रो भनाइ कति मात्र हो भने, हामी भन्दै छौं, सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो काम नसकुञ्जेल यसरी नानाथरि निकायबाट द्वन्द्वकालका मुद्दालाई जथाभावी गिजोल्ने काम नगरियोस् ।
पाँचौ जिज्ञासाका लागि निर्धारित समय पुगेन । कमरेडहरूलाई अर्कै कार्यक्रममा पुग्नुपर्ने हतारो भयो । जिज्ञासा चाहिँ के थियो भने, तपाईहरू गरिब, सर्वहारा वर्गको नेतृत्व गर्छौं भन्नुहुन्छ । उनीहरूको उत्थानका लागि राजनीति गरेको भन्नुहुन्छ । पहिले–पहिले त्यस्तै देख्न पाइन्थ्यो पनि । तर, अचेल त्यो एकादेशको कथा भयो । अचेल तपाईहरू पनि अरूले जस्तै आवश्यकताभन्दा बढी सुकिलो–मुकिलो हुनुभयो । सरकारी र अन्य सुविधा भनेपछि मरिहत्ते गर्ने हुनुभयो । पार्टीका लागि उठेको पैसामा भ्रष्टाचारको गन्ध मिसाउनुभयो । राजधानी र सुविधासम्पन्न ठाउँमा नेताका महल ठडिए । चन्दादाता महान् ठान्दै जो पायो त्यही मान्छेलाई पार्टीमा उच्च आसनहरू दिनुभयो । कम्युनिस्ट सिद्धान्तको व्यावहारिक परिपालनामा भन्दा पुँजीपतिको भींड जम्मा गरेर त्यसैमा रमाउन थाल्नुभयो । जनताका घरमा, कम्युनमा बस्ने परिपाटी त्यागेर ठेकापट्टा कमिसनको आर्जन मिठो मान्न थालेको देखियो । तपाईहरूलाई मईला लामा र जेबि टुहुरेहरू जेसुकै गाउन्, जतासुकै जाउन् भने जस्तो लाग्न थाल्यो । जब यिनै कुराहरू गर्नुथियो भने सुरुमा हामी अरूहरूले जस्तो यस्ता आलोचनायोग्य कामहरू चाहिँ गर्दैनौं भनेर किन भन्नुभएको ?
साँच्चै यदि यही भूमिकासहित पाँचौं जिज्ञासा राखिएको भए, प्रवक्ता शर्माले के जवाफ दिनुहुन्थ्यो होला ? मैले त्यसै अनुमानका भरमा भन्ने कुरा आएन । तर, उहाँको जवाफको सारमा के चाहिँ अवश्य जोडिन्थ्यो भने, यस विषयमा हामी प्रशस्त आत्म–आलोचित छौं । तथापि बहुलवादी प्रतिस्पर्धाको राजनीतिमा सबै कुरा हामीले सोचे जस्तो सरल रेखामा हुँदैन । हामीले गल्तीहरूबाट सिक्दै, ती गल्तीहरू नदोहो¥याउने सार्वजनिक बाचा गरेका छौं । अनि, सङ्क्रमणकालीन यो बेलामा सम्पूर्ण देशभक्त र राष्ट्रवादी शक्तिहरूलाई गोलबद्ध गर्दै, प्राप्त उपलब्धिको रक्षा र लोकतन्त्र संस्थागत गर्नका लागि बाँकी राजनीतिक मुद्दा निरुपण गरेर जन–अपेक्षा अनुरूप आर्थिक विकासको कार्य दिशामा अघि बढ्न प्रतिबद्ध छौं ।
यहाँनेर एउटा अर्को जिज्ञासा पनि समीचिन छ । इतिहासमा एक रात, केही दिनपछि आफैं हावाले उडाएर लैजाने कसिङ्गर रुक्माङ्गत कटवाललाई कुचोले नबढारी भएन । घमासान जुँगाको लडाइँ देखाउनुप¥यो । बन्दा–बन्दैको अरुण तेस्रो रोकेर एमालेले र आफ्नै बहुमतको सरकार ढालेर काङ्ग्रेसजनले जुन देशविरोधी हर्कत देखाए, त्यसले मुलुकलाई राजनीतिक–आर्थिक विकासको कोर्समा स्वाभाविक ढङ्गले अघि बढ्न अझै अवरोध गरिरहेकै छ । त्यही स्तरको गल्ती, एकप्रकारले बालहठ भन्न सुहाउने काम नयाँ नेपाल बनाउन चाहने माओवादीले चाहिँ किन गर्नुप¥या थियो ?
यतिबेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सुगर–कोटेड भारत भ्रमणको हट–केकका सन्दर्भमा पार्टीको मुख मिठ्याइ वा चित्त दुखाइ के छ ? सरकार एकपक्षीय ढङ्गले चल्यो भन्ने तपाईहरूको जुन आरोप छ, त्यसमा सरकारबाट माओवादीका मन्त्रीहरू फिर्ता बोलाउने प्लान पनि छ कि ? मधेस आन्दोलनमा पृथकतावादी विचारको मात्रा बढी छ भन्ने तपाईहरूको ठहरको आधार के हो ? वैद्य, मातृका, विप्लव आदि संरचना फेरि माओवादीमै टाँसिन आउने भनिएको एक साताको समय कहिले पूरा हुन्छ ? एकीकरण साँच्चै हुन्छ कि राजनीतिक फन्डा मात्र हो ? वैद्य माओावादीसँग सम्मिलित हुन तपाईहरू बढी लालायित हुनुहुन्छ कि उहाँहरूमा त्यस्तो लालसाको मात्रा बढी छ ? एकातिर चुलो छुट्टिएकालाई जोड्न तपाईहरू आतुर भइरहनु भएको छ तर अर्कोतिर चुलो छुट्याएर जानेहरूको सङ्ख्या पनि उत्तिकै छ, अनि ? नयाँ शक्तिका नाममा माओवादीबाट पहिरो जाने क्रम किन रोक्न नसक्नु भएको ? बाबुरामजीसँग पनि एकीकरण हुने कुनै सम्भावना छ कि ? मुलुकमा तपाईहरूले भन्दै आएको राजनीतिक सङ्क्रमण–काल कहिले सकिन्छ ? आर्थिक विकासको चाहनाले कहिले गति लिन्छ ? नेपाली युवाहरू २०–२५ हजार रूपैयाँ तलबका लागि खाडी जाने क्रम भङ्ग कहिले हुन्छ ? समकालीन ताजा समाचार अर्थात् ‘हि सेड, सि सेड’ जर्नालिज्मका लागि यति प्रश्नहरू नै पर्याप्त थिए ।
कमरेड छक्क पर्नुभयो, असामयिक भनिदिए हुने भन्ने लागिरहेका ‘फरक’ प्रसङ्ग कोट्याउँदा । तपाई कुन पत्रिकाको हो ? कमरेडलाई खसखस लाग्यो । अहिले कुनै पत्रिकामा छैन तर म लामो समयदेखि सुनसरी क्षेत्रमा रहेर पत्रकारिताको गतिविधिसँग सम्बन्धित छु । तपाईका यहाँका साथीहरूले मलाई चिन्नुहुन्छ । यति भनेपछि कमरेड आश्वस्त हुनुभयो, बिना सन्दर्भ बालकृष्ण ढुङ्गेलको प्रश्न उठाउने मान्छे कम से कम ‘र’ को एजेन्ट वा नयाँ शक्तिको प्रवक्ता चाहिँ होइन ।
अहिलेको दिल्ली अर्थात् ऊ बेलाको हस्तिनापुरमा युधिष्ठिर र भाइहरू सत्य, न्याय र शान्ति स्थापनाको मार्गमा थप अघि बढ्नुअघि यक्षरूपी जनताले (जनता भनेका राजनीतिक दलका भाग्य निर्माता हुन्, भगवान् हुन् भनिएको सन्दर्भमा ।) परीक्षा लिएका थिए । परीक्षामा ‘मान्छेको सच्चा मित्र को हो ?’ लगायत यक्ष–प्रश्नहरू सोधिएका थिए । नेतृत्वले ती प्रश्नको यथोचित जवाफ दिएपछि मात्र पाण्डवहरूका लागि जारी धर्मयुद्धमा विजयी हुने बाटो खुलेको थियो । यता, उहिलेको त्रिपुर (भक्त, कान्ति, ललित) अर्थात् अहिलेको बृहत् नेपाल–मण्डलको सेरोफेरोमा यो लेखाइको पाश्र्व र अन्तर्यमा माओवादी पनि त्यही सङ्घारमा उभिएको छ । नेतृत्वको जवाफले जनताको चित्त नबुझुञ्जेल कमरेडहरूले थप अघिल्लो यात्राका लागि बोर्डिङ–पास पाउनेवाला छैनन् । प्रवक्ता र अध्यक्ष कमरेडले महाभारतको प्रस्तुत ‘मिथक’को अर्थ बुझ्नुभएकै होला । अन्यथा उहाँहरू वा अरू कसैले यो टेक्नोलोजीको जमानामा नबुझिएका कुराहरू गुगल दाइलाई सोध्दा हुन्छ ।
स्पष्टीकरण – यहाँनेर सम्झेर लेख्ने बेलामा शब्दहरू केही तल–माथि परेका हुनसक्छन् तर उल्लिखित सन्दर्भका जिज्ञासा तथा पात्रहरू कुनै पनि काल्पनिक होइनन् । कसैलाई काल्पनिक लागे त्यो संयोग मात्र हुनेछ ।
०००
bisnuprasad.bg@gmail.com