डेजीको गालामा रङ

सुविद गुरागाईं
०००
उनको गालामा सजिलै रङ लगाउन पाउनु, मेरा लागि यो अन्तिम अवसर हो । फागुको रङमा तराई लछ«प्पै भिज्ने दिन फागुन २५ गते त्यो शुभसाइत जुर्नेवाला छ, जसको मलाई तीव्र प्रतीक्षा छ ।
विज्ञानलेखक बालकृष्ण समको नियमित आकस्मिकताको सिद्धान्तअनुसार उनी पनि त्यो घडीको मधुर पर्खाइमा छिन् ।
हाम्रो रङसहित भेटको अर्थ सांस्कृतिक शब्दकोशमा मात्र छ । म मधेसमा जन्मेको पहाडे अनुहारको भूमिपुत्र । उनी विशुद्ध मधेसी वाला । हाम्रो विषय पनि एउटै, समाजशास्त्र । दुवै सामाजिक अन्तर्घुलनको मात्रावृद्धिसँगै रमाउन मन पराउने । उनलाई दसैँमा पिङ खेल्न, तिहारमा सेलरोटी खान र भैलो खेल्न खुब मनपर्ने । मलाई छठ, होली, समाचकेवा आफ्नैजस्तो लाग्ने ।

देवपत्तनमा मस्तराम !

‘उत्तम छनोट’ ... हामी जीवनभरि नै छनोट गरिरहन्छौँ । कुनै समयमा ठीक... कुनै समयमा बेठीक ।
‘ओ दाइ ! शिवरात्रीका दिन पनि यो क्रिश्चियन विचार भएको किताप किन बाँडेको ?’
‘के गर्ने बहिनी हाम्रो धर्मै यही हो !’
सनातनी समाज धर्म–निरपेक्षताको सङ्क्रमणकालीन अनुभूतिमा फसेको सवाल–जवाफ यथास्थितिमा छोडेर बायाँ च्याप्दै म अगाडि बढेँ ।
धमिलो पानीमा माछा मार्नेको कमी छैन ।
‘आम्मै ! नपेल न !, लाइनमा हिँड्नुपर्छ साथी हो, पालो मिँच्नुहुन्न, सबैको जिन्दगी एउटै हो । बाटो अप्ठ्यारो छ ।’
देवपत्तनबाट ओरालो झर्दाझर्दै म बाग्मतीको बाँधमा, अनियन्त्रित हुँदै गएको भिडको एउटा भाग भइसकेको थिएँ । अचानक स्वस्थानीमा वर्णित नदीको पुलमा एउटा पुलिस आँधी बनेर देखियो र मलाई तीन सिँढी तल धकेली दियो ।

पुरानो डेट

‘पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर... मुटुमा मेरो भक्कानो फुट्यो कलेजो थरर...’ मलाई मनपर्ने भाइ विधान श्रेष्ठले गाएको शब्दबाट अभिप्रेरित भएर म आज जीवनको मध्यमा आफ्ना पुराना दिनहरू सम्झिरहेछु ।
प्रेम दिवसको सान्दर्भिकता आत्मसात गर्ने क्रममा चार वर्षअघि भ्यालेन्टाइन डेका दिन मैले लेखेँ, ‘गजब भो मैले पनि मायाको अनुभव गरेँ, परेलीमा अल्झिएर आँसुको दहमा झरेँमा झरेँ...।’ तर, यो गजलको बाँकी शेरहरु मैले चार दिनपछि मात्र पूरा गरेको थिएँ । कारण यो लेखाइ मेरो तत्कालीन भ्यालेन्टाइनप्रति समर्पित थियो, र सोको अनुभवको दोस्रो चरण मैले चार दिनपछि मात्र पार गर्ने मौका पाएको थिएँ । ‘के भयो यो किन भयो ? तिम्रो माया बुझ्न खोज्दा... भक्कानिँदै, मूच्र्छा पर्दै कतिपटक ज्युँदै मरेँ...।’
मबिना
मबिना एक्लै घुम्नै सक्तैन पृथ्वी
म मरे पनि बाँचे पनि
मलाई साथमा नलिई
छोडेर जान सक्तैन पृथ्वी
उसका पनि बाध्यता र सीमाहरु छन्
उसका पनि चाहनाहरु छन्