फन्टुस फिक्सनका पात्रहरू
– सुविद गुरागाई

‘भाइ ! कसलाई बनाउनु मैले सदस्य ? तिमीलाई कि माइलो दाइलाई कि जेठो दाइलाई ?’
‘मलाई बनाउनु दाइ !’
‘रसिद काटिदिऊँ ?’
‘कति पैसा लाग्छ दाइ ?’
‘पाँच सय रुपियाँ प्रवेश शुल्क, वार्षिक सदस्यताबापत दुई सय र सहयोग तीन सय गरेर एक हजार रुपियाँ ।’
‘हुन्छ दाइ ! मलाई बनाइदिनु ।’
भगवती सुनसरी पूर्व विद्यार्थी शैक्षिक प्रतिष्ठानको विशेष अभियान विस्तारको क्रममा म छु । साँझको बेला छ । मालपोत कार्यालयअगाडि बाटोमा भेटेँ भाइलाई ।
‘सागर पोखरेल होइन तिम्रो नाम ?’ रसिदमा नाम लेख्ने बेलामा मैले सोधेँ ।
‘मेरो नाम प्रेम सागर हो दाइ । रसिद चाहिँ राजेन्द्र दाइ वा गणेश दाइका नामबाट काटिदिनुहोस् । किनकि म भगवती माविको विद्यार्थी होइन । तपाईको यो जुन अभियान छ, त्यो मलाई निकै राम्रो लागेको छ । त्यसैले मैले सहयोग गर्न चाहेको हुँ । यो पैसा सहयोगस्वरूप लिएर दाइहरूसँग पनि सदस्यताबापत मागे हुन्छ,’ पैसा दिँदै उनले भने ।
म छक्क पर्छु । फन्टुस फिक्सनका पात्रहरू कसरी, कुन रूपमा मेरो छेउमा आउँछन् ? भन्न सक्तिनँ । कोही प्रेरक भएर आउँछन्, कोही दुखान्त ।
यहाँनेर म एउटा कुरा फेरि स्पष्ट पार्न चाहन्छु साथीहरूलाई कि फन्टुस फिक्सन म लेखिरहेको छुइनँ । मभित्र कोही छ जसले मलाई यी सब लेखाइरहेछ । यो सिलसिला कहिले सकिन्छ थाहा छैन । यति थाहा छ, मैले भेटेका, चिनेका, पढेका सबै फन्टुस फिक्सनका पात्रहरू हुन् । र, अहिलेसम्मको अनुभवमा मूल कथा भन्दै जाँदा बाटोमा, जमघटमा जो–जो भेटिन्छन्, जोडिँदै जान्छन् । यसरी जोडिँदै जाँदा मेरै वा कसैको निजी जिन्दगीमा हस्तक्षेप जस्तो केही अनुभव भएमा, संयोग मात्र हुनेछ ।
...
फन्टुस फिक्सनको पात्र परिचय अध्याय सुरु गरुँ अब अलिकति ।
भोजराज खनालबाट कुराको थालनी गरुँ । मैले सुरुमा चिन्दा खनालजी कट्टर कम्युनिस्ट कार्यकर्ता थिए । सुनसरी एमालेको कार्यालय हुलाक टोलमा डम्बर खतिवडाले एउटा गुणस्तरीय पुस्तकालय सजाएका थिए । खनालजीसँग बेलाबेलामा त्यहीँ भेट हुन्थ्यो । शिव खेडाको जित आपकी, म्याक्सिम गोर्कीको आमा र अरू रसियन किताबहरू बिचमा हुन्थे ।
बिचमा म १० वर्ष इटहरीमा बाक्लो भएँ । स्थानीय चुनावको सेरोफेरोमा सिरियाको सेलुनअगाडि झुलुक्क भेट भयो । सुरुमा मैले उनलाई झन्डै नचिनेको ।
‘ओहो ! भोजराजजी के छ ?’ आफूतिर आउँदै गरेको देखेर मैले सोधिहालेँ ।
‘राम्रो छ सुविद सर ! धेरै पछि तपाईलाई यहाँ देखेँ र कुरा गर्न मन लाग्यो ।’
‘आहा ! तपाई जस्तो मित्रलाई अचानक मसँग कुरा गर्न मन लाग्यो । मेरो अहोभाग्य !’
तपाईलाई थाहै छ, म प्रायः साथीभाइसँग कुरा गर्नुप¥यो भने यस्तै रमाइलो मुडमा हुन्छु । कहिलेकाहीँ कुरा बुझेर पनि बुझ पचाए जस्तो गर्नेहरूसँग चाहिँ अलि झिँजो लाग्छ । नत्र मेरा साथीहरूसँग कुरा गर्नु तपाईलाई पनि मजै हुन्छ ।
‘अचेल तपाई पहिले जस्तै किताब पढ्दै हुनुहुन्छ कि छैन ?’
कस्तो राम्रो प्रश्न मैले सोच्दै नसोचेको । प्रश्नले मेरो अन्तरआत्मा छोयो ।
‘साँच्ची अचेल म महिनामा कतिवटा किताब पढ्छु हँ ?’
यो प्रश्न मैले आफूले आफूलाई नसोधेको २० वर्ष भइसकेको रहेछ । सुरुमा म तीन–चार घण्टामा एउटा उपन्यास पढिसक्थेँ । किताबको माग पूर्ति गर्न कहिले कंशमडान, कहिले मधेसा, कहिले सिङ्गिया, कहिले इटहरी, कहिले धरान, कहिले विराटनगर, कहिले वीरपुर पुग्थेँ साथीहरूसँग । हिन्दी, नेपाली जे भेटिन्छ, दिनेले जे दिन्छन्, ल्यायो–पढ्यो । कुनै–कुनै किनिन्थ्यो, कुनै सट्टापट्टा गरिन्थ्यो । सुरज सुब्बा, अजय मण्डल, अनुज पराजुली, म, लाली, मीरा दिदी आदि उपन्यास र अरू साहित्यिक किताब पढ्ने कोर ग्रुपमा थियौँ ।
बिचमा म नेपाली साहित्यमा भिडेर लागेँ । कवि बन्छु भन्ने लक्ष्य प्रष्ट पारेँ । किताबसँगको दोस्ती झन् बाक्लियो । मैले आजसम्म जति फिल्म हेरेको छु, त्योभन्दा धेरै किताब पढेको छु । हरेक पल्ट काठमाडौँ जाँदा एउटा र आउँदा एउटा किताब सकिन्थ्यो । किताब फिक्सन नफिक्सन जस्तो पनि हुन सक्थ्यो ।
बिडम्बना मेरो किताब पढ्ने बानी क्रमशः घटेर हुँदाहुँदा वर्षमा एउटामा सीमित हुनपुग्यो । त्यो पनि निकै हल्लखल्ल भयो र कथाले माग्यो भने मात्र ।
तर यी कुरा मैले भनिनँ भोजराजजीलाई । भन्ने सन्दर्भ पनि परेन ।
‘किन ?’ म सोझै मुद्दामा आएँ ।
‘तपाईसँग समय छ र पढ्न चाहनुहुन्छ भने म तपाईलाई किताबहरू उपलब्ध गराउनसक्छु,’ उनले भने, ‘अचेल हामीले सखुवागाछीमा एउटा पुस्तकालय बनाएका छौँ । त्यहाँ निकै राम्रा–राम्रा किताबहरू छन् ।’
नेकी और पुछ–पुछ ।
‘ओके छ त !’ मैले भनेँ ।
...
‘समाजवाददेखि सावधान’
एक हप्ताका बिचमा दुई पटक फोन सम्पर्क गरिसकेपछि इनरुवामा भेटेर भोजराजजीले मलाई ओशो रजनिशको विचार समेटिएको किताब दिनुभयो ।
‘यो किताब तपाईले पढ्नुभएको छ कि छैन, यदि छ भने अर्को ल्याइदिन्छु,’ भन्दै भोजराजजीले किताब मतिर बढाउनुभयो ।
‘यो निकै बिकेको किताब हो र यसका बारेमा के भनिन्छ भने,’ पन्डितजीको टेबुलमा टेको लाएर किताबका पानाहरू पल्टाउँदै गर्दा भोजराजजीले भन्नुभयो, ‘यदि कुनै कम्युनिस्टले यो किताब साँच्चिकै समय दिएर पढ्यो भने उसले आफूलाई कम्युनिस्ट हुँ भन्न छोड्छ ।’
सातौँ पाना पल्टाउँदै गर्दा मैले गडेर भोजराजजीका आँखामा हेरेँ ।
‘तपाईले पत्याउनु भएन होला । यसको एउटा उदाहरण त म नै हुँ ! अचेल म आफूलाई कम्युनिस्ट हुँ भन्न मन पराउँदिनँ ।’
मलाई ओशोको किताबले भन्दा पनि भोजराजजीको प्रस्तुतिले निकै आकर्षित ग¥यो । त्यसो त मैले ओशोको ‘सम्भोगसे समाधितक’ किताब जुन दिन पढी सिध्याएँ, त्यो दिनदेखि आजसम्म त्यसको प्रभावले मलाई छोडेको छैन । ३४ वर्षभन्दा बढी भयो ।
त्यसमा भएको, त्यो एउटा माझी झिसमिसेमै जाल थाप्न गएको, केही वस्तुसँग उसको खुट्टा ठोकिएको, उसले त्यसलाई ढुङ्गाको पोको ठानेको, जाल थाप्ने क्रममा समय कटाउन त्यो पोकोबाट एउटा–एउटा ‘ढुङ्गा’ झिक्दै पानीमा फ्याँक्दै गर्न थालेको र जतिबेला ऊ अन्तिम ढुङ्गा फ्याँक्न लाग्दै थियो त्यही बेला सूर्योदय भएको र उसले आफ्नो हातमा सुनको डल्ला देखेर पछुतो मानेको प्रसङ्ग हामी धेरैको जीवनमा मिलेको सम्झेँ ।
तर, यो कुरा पनि मैले भोजराजजीलाई भनिनँ ।
‘किताब जलाइनुभन्दा पनि खतरनाक अपराध यहाँ छन्, तीमध्ये एक किताब नपढ्नु हो,’ जब–जब म कसैलाई कुनै किताब दिँदै हुन्छु वा कसैबाट कुनै किताब लिँदै हुन्छु, जोसेफ ब्रोड्स्कीको यो भनाइ सुरुमा सम्झिन्छु ।
‘हुन्छ, तपाईले यति मायाले दिएपछि पनि मैले यो किताब नपढ्नु भएको म कृतघ्न हुनु हो,’ मैले भने, ‘एक हप्तापछि म फिर्ता दिन्छु ।’
...
‘व्यक्तिको अस्तित्व समाप्त पार्नु छ भने पहिले उसको सम्पत्ति खोसिदेऊ । सम्पत्ति खोसिनासाथ व्यक्तिको सोचविचारको क्षमता नष्ट हुन्छ ।’
किताब पढ्दै गर्दा मेरो एउटा बानी के छ भने आफ्नो वा अर्काको, जसको भए पनि घत लागेका र प्रुफ नमिलेका शब्दहरूमा अन्डरलाइन लगाउँछु । यात्राका क्रममा पढ्दा पनि मेरो गोजीमा एउटा डटपेन अद्यावधिक हुनै पर्छ ।
समाजवाददेखि सावधान शीर्षकमा मैले पछिल्लो छिमलमा पढ्न थालेको किताबको हिन्दी संस्करण मैले धेरै वर्षअघि पढिसकेको रहेँछु ।
हामी जति अध्ययन गर्दै जान्छौँ, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । पर्सिविस शेलीले भने जस्तो म ओशोका विचारहरू पढ्दै, अन्डरलाइन लगाउँदै गर्न थालेँ ।
‘व्यक्तिको मूल्य जस्तो अर्को केही छैन । व्यक्तिको स्वतन्त्रता जस्तो मूल्यवान अरू केही हुँदैैन । व्यक्तिको मूल्य हराउनु भनेको सबैभन्दा घातक कुरा हो ।’
‘कोही इस्लामका लागि मर्दै छ, कसैले इस्लामका लागि मार्दै छ । इस्लामका लागि मर्नेले वहिशत प्राप्त गर्छ । आफ्ना लागि नबाँच । इस्लामका लागि बाँच । कोही भन्दै गर्छ, हिन्दूत्वका लागि बाँच । तिमी मर तर मन्दिर, मूर्तिहरू बचाऊ । कोही हिन्दूस्तानका लागि बाँच्न प्रेरित गर्दै छ । कोही पाकिस्तानका लागि, इस्लामका लागि बलिदान दिन उक्साउँदै छ । अनि कसैले भन्दै छ, समाजवादका लागि आन्दोलन गर । मर, त्याग गर ।’
‘जसले आफूलाई बुझ्छ, आफूलाई पाउँछ, त्यसले अरूलाई बाँड्न सुरु गर्छ । आफूलाई पाइसकेपछि नयाँ आनन्द सुरु हुन्छ । अनि यस्तो आनन्द अरूलाई बाँड्ने छटपटी हुन्छ ।’
‘कतिपय क्षणमा आफ्ना दुःख अरूसमक्ष राख्दा सुन्ने पनि दुःिखत हुन्छ, द्रवित बन्छ । यस्ता दुःखले अरूलाई पनि दुःखी पार्छ ।’
‘बुद्ध भिकारी होइनन् । बुद्धको भिकारीपनमा पनि एउटा सम्राटको व्यक्तित्व छ ।’
जति पाना पल्टाउँदै गयो यति मन छुने तर्कहरूसँग साक्षात्कार हुँदै गयो ।
‘मान्छे इतिहासबाट केही पनि सिक्न चाहँदैन । पुराना शब्द र उपाय बदलिन्छन् ।’
‘मान्छे आफैँले मैले यति घण्टा काम गर्नु छ भनेर काम गर्न थालोस् । कामसँगै पैसा पनि मागोस् । बिना काम पैसा माग्न लाज होस् ।’
‘देशको मस्तिष्क यति धेरै माकुरे जालोले जेलिएको छ, त्यसलाई हटाउँदा पनि अप्ठेरो स्थिति सिर्जना हुन सक्छ ।’
किताबको करिब अन्तमा ओशोको भनाइ यस्तो छ –
‘म भगवान्सँग प्रार्थना गर्छु, यस्तो समय आओस्, हामीले भगवान्को मन्दिरमा माग्न जानु नपरोस्, बरू हामीहरू धन्यवाद दिनका लागि जान सकौँ ।’
...
फन्टुस फिक्सनका अर्का पात्र घनेन्द्र ओझाका बारेमा थोरै कुरा गरौँ ।
धेरै पत्रिकामा डेस्कको अनुभव सँगालेका ओझा हिजोआज अजय सुमार्गीवाला थाहा खबर डट कममा डेस्कको काम हेर्छन् ।
‘हाम्रोमा यदि कसैको कविता, गीत, गजल, लेख, समाचार, फोटो छापिन्छ वा रेडियोमा समाचार प्रयोग हुन्छ भने त्यसको धेर–थोर जति भए पनि पारिश्रमिक दिइन्छ,’ सुरुमा यस्तै भन्थे घनेन्द्र ।
थाहा खबरमा मेरा पनि केही गजल र लेखहरू प्रयोग भएका छन् । एक–दुई वटा मैले नै छाप्न अनुरोध गरेको थिएँ । एक–दुई वटा उनैले मागेर छापेका हुन् ।
तर, पारिश्रमिक पाएको छुइनँ ।
‘यसमा मेरै कमजोरी छ दाइ,’ अस्ति काठमाडौँमा भेटिएका बेला उनले भने, ‘हिसाब गरेर मेनेजमेन्टलाई दिने जिम्मा मेरै छ, तर मैले नै समय व्यवस्थापन गर्न सकिरहेको छुइनँ ।’
घनेन्द्र अनाम मण्डलीका संस्थापकमध्येका एक हुन् । गजलका बारेमा निकै अध्ययन गरेका छन् । अब अनाम मण्डली भनेपछि तपाईले बुझिहाल्नुभयो, नेपालमा बहरमा गजल लेख्नुपर्छ भनेर अभियान चलाउने साथीहरूको जमात हो ।
तपाईलाई थाहै छ, भर्खर मेरो गजल सङ्ग्रह ‘जूनको आगो’ सार्वजनिक भएको छ । त्यसमा अपेक्षित बहरमा एउटै पनि रचना छैनन् । त्यसैले घनेन्द्र ओझा, सुरेश सुवेदी, जय गौडेल, बलराम दाहाल, प्रभाती किरणहरू उस्तो रुचाउँदैनन्, मेरो गजल लेखाइ ।
यसबाहेक घनेन्द्र सामाजिक सञ्जालमा कडा रूपमा प्रस्तुत हुन्छन्, दुनियाँका लागि । तर, मेरा निम्ति भने अलि नरम शब्दहरू नै चयन गर्छन् ।
‘यायावरजस्तो जिन्दगी भोग्न मन पराउने सुविद स्थायी जागिर हुँदाहुँदै शोखको पेसा पत्रकारितामा पनि उत्तिकै समय दिइरहेका छन् । अझ भन्दा जागिरभन्दा बढी नै समय, श्रम र मिहिनेत उनको पत्रकारितामा देखिन्छ । उनी कतिबेला सुत्छन्, कतिबेला उठ्छन्, सायद उनी आफैँलाई थाहा हुँदैन । रातको बाह्र–एक बजेसम्म साहित्य र पत्रकारिताका विषय खोज्न चोक, गल्ली र सडकहरूमै भौँतारिरहेका भेटिन्छन्, इटहरीतिर । विद्यालयमा पढाउनु, पत्रपत्रिकाका लागि लेख, समाचार लेख्नु, सम्पादन गर्नु, एफएम रेडियोमा कार्यक्रम उत्पादन गर्नु, सञ्चालन गर्नु, समाजसेवाका विविध क्रियाकलापमा सहभागी बन्नु, साथीभाइसँग चियागफ गर्न पनि भ्याउनु र त्यसबाहेकको समय सिर्जनामा तल्लीन रहनु सुविदको दिनचर्याको हो, पङ्क्तिकारले देखेको ।’
जूनको आगोका बारेमा चर्चा गर्ने क्रममा घनेन्द्रले मेरा बारेमा देशान्तर साप्ताहिक र अनलाइनमा मायाले सजाएका शब्द हुन् यी ।
‘सुविद दाइले कुन दिन मलाई पनि फन्टुस फिक्सनको पात्र बनाइदिन बेर छैन,’ आफूलाई बिझेको सन्दर्भ सार्वजनिक गर्नुअघि उनले मलाई मेन्सन गर्दै दुई पटक यस्तै भूमिका लेखेका छन् सामाजिक सञ्जालमा ।
फन्टुस फिक्सनको पात्र हुन रहर गर्ने घनेन्द्रको नेपाली भाषाप्रेम र लेखन प्रष्टताको म ठुलो फ्यान हुँ । अहिलेलाई यत्ति भनेँ ।
०००
bisnuprasad.bg@gmail.com

No comments: